नगिता लेप्चा भारतीय नेपाली साहित्यकार हुन् । उनी विद्यार्थी अवस्थादेखि नै साहित्यमा रुचि राख्ने प्रतिभा हुन् । उनको प्रथम पल्ट गाउँबाटै छापिने साहित्यिक पत्रिका हाम्रो बैकुण्ठपुर पत्रिकामा पहिलो कविता रचना प्रकाशित भएको हो । उनले लामो समय त्यसपछि हाम्रो पहल र कानेखुसीमा नियमित कविता तथा व्यङ्ग्यहरू प्रकाशित भएदेखि आजसम्म देश–विदेशका साहित्यिक तथा अनलाइन पत्रिकामा कविता तथा हास्यव्यङ्ग्य रचनाहरू प्रकाशित छन् । लेप्चा अल इण्डिया रेडियो खरसाङ (दार्जिलिङ)की नियमित वार्ताकार पनि हुन् । उनको एउटा काव्यकृति मेरो बालापन प्रकाशित छ । उनको हास्यव्यङ्ग्य निबन्ध कृति प्रकाशनको तयारीमा रहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा लेप्चाको ‘एकतर्फे समाज’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले समाजमा भएको लैङ्गिक विभेद र अन्य विभेदका पक्षलाई उठाएको छ । समाजमा एकतर्फी सोच र निर्णयले समाज पछाडि पारेको चिन्तन गरिएको छ । -सम्पा. |
प्रायः प्रायः सबै गाउँ घरमा समाज हुन्छ । समाजविना हामी मान्छेलाई जिउन गाह्रो नै हुन्छ । समाज यस्तो होस् जहाँ दुई तर्फी होस् जहाँ समाजले न्याय अन्याय, कालो सेतो चिन्न सकोस् ।
अचम्म लाग्छ हजूर यो समाज देख्दा । यहाँको चलन देख्दा, केही कारणको सुरुवात गर्नु पर्दा सुरुवात रक्सीबाट नै गर्नुपर्ने । कसैको नानी भयो मिठा मिठा खाना मात्र दिएर हुँदैन । साथमा रक्सी राखिदिनैपर्ने । बिहेबटुलमा रक्सी छैन भने बिहामा मजै आएन भन्नेहरूको सङ्या कम्ति हुँदैन । बिहेबटुलोतिर रक्सी नहुने कुरा सुने कति त जाँदैनन् पनि हाम्रो समाजका मान्छेहरू ।
कसैले आफ्नो रगत–पसिना खर्चेर घर बनाउँदा पनि मान्छेलाई रक्सी खुवाउनै पर्ने, त्यति मात्र कहाँ हो र हजूर ! कसैको घरमा मरौ परेको स्थिति अर्कै छ फेरि । आफन्तजन गुमाएर सोकमा परेका बेला पनि रक्सी नदिए मरौ घरमा रुङ्नै नजाने कस्तो अचम्मको समाज हो ? छक्कै पर्नु ।
दुःख लाग्छ, गाउँ घरको अवस्था देखेर । कोही अघि बढ्दैछन् भने नराम्रो नराम्रो लाञ्छना लगाएर बदनाम गर्न खोज्ने, आफ्ना घिनलाग्दा खेलहरू फेल खाएपछि घरकै मान्छेलाई मोहोरा बनाएर ढाल्न खोज्ने छि कस्ता कस्ता मान्छेहरू छन् हाम्रो समाजमा । अलिकति भगवानको डर नभएका । अर्काको घर झगड़ामा पसेर आफ्नै छोरा बुहारीलाई गाउँ जम्मै मिलेर कुटपिट गर्ने हाम्रो यो घिलाग्दो समाज ।
भनिन्छ नि, ओरालो लागेको मृगलाई सबैले खेदाउँछछ..। वास्तवमा ठिकै रहेछ । कस्ता कस्ता घटना घट्दा पनि गाउँ घरका पाँच दश वटा समाजका चौकिदार भनौदाहररू किन चुप लागेका ? अचम्म लाग्छ । उनीहरूको मुखमा बोली छैन कि ? कि उनीहरूको एक तर्फे संविधान पो छ कि ? उनीहरूको समाजले न्याय गर्नुपर्ने हो कि एक जना निर्बल र दुर्वल, असहायमाथि सबै खनिनुपर्ने ? तर अवाज उठाउने कसले ? विरोध गर्ने कसले ?
हाम्रो समाजमा ठूला ठूला पढ़े लखेका मूर्खहरू छन् । उनीहरूकै कारण आज हाम्रा दिदी बहिनी दाजु भाइहरू पछाडÞिएका छन् । उनीहरू पढेलेखेका छ्न् तर राम्रो प्लाटफर्म नभएको कारण आज उनीहरूको जोवन बिहान उठी घाँस दाउरा गरी, घरको भाँड़ा वर्तन धुँदाधुँदै दिन बित्ने गर्दछ । उनीहरूलाई कति पनि प्रोत्साहान गर्दैनन् कसैले । उनीहरूमा भएका कला, प्रतिभालाई सम्मान गर्दैनन् यो समाजले । राम्रो प्लेटफर्म खोजिदिँदैनन् । यसरी नै हाम्रा प्रतिभाका प्रतिभा अनि कलाहरू चिचिलामै मुर्झाउँछन् मरेर जान्छन् । यस्तो समाज यहाँ मात्र होइन अरू ठाउँमा पनि छन् होला । अन्तमा छोरी चेली बिहे भएपछि राम्रा श्रीमान् पाए त आफ्नो सपनालाई साकार बनाउँछन् तर श्रीमान राम्रो नभए उनीहरूको जीवन नर्क नै हुन्छ । अर्काको नोकर भएर नै जीवन विताउनुपर्ने हुन्छ । किन सोंच्दैनन् ती हुतिहारा पढ़े लेखेका अनपढ़ मूर्ख समाजका चौकीदारहरूले । कहिले बुझ्ने ?
कहिले सोंच्ने समाजको लागि ? कि बाँचुञ्जेल नै चौकिदारी मात्र गरेर मर्ने ? समाजमा केही राम्रो छाप छोड़ेर जाने इच्छा छैन ? प्रश्न छ ती हुतिहाराहरूलाई । यो समाजको नीतिनियम जसले राम्ररी बुझेका छन्, जानेका छन्.. उनैले मात्र समाजको भार वा जिम्मेवारी लिएको राम्रो हुन्छ ।
एउटा कस्तो अचम्मको कुरा, हाम्रो समाजमा श्रीमती भन्दा श्रीमान पहिला बिते श्रीमतीले आफ्नो सिउँदोको सिँदुर र मङ्गलसूत्र, गहना, चुरा आदि खोलेर फुटाएर श्रीमानको लासमा हालेर पठाउनु पर्ने । श्रीमान बितेपछि आफ्ना छोराछोरी पाल्नु घर चलाउनु काम गर्नु भन्छन् । घरबाहिर निस्कियो भने नाना किसिमका कुरा गरेर जिउँदै मार्न खोज्छन् हाम्रो समाजका मान्छेहरू ।
आफ्नो लागि आफूलाई बुझ्ने जीवन साथी खोजेर बिहा गर्ने सुझाव दिनु पर्नेमा ए त्यो आइमाई त बुढो मरेका केही वर्षसम्म पनि बस्न सकिन । कस्ती आइमाई रहिछ भनी लाञ्छना लाउने हाम्रो यो समाज । तर के श्रीमानले श्रीमतीको लासमा आफू बिवाहित भएको पहिचान र आफ्नो स्वाभिमान हालेर पठाउँछन् र ? फेरि बुढी बितेको केही दिनमै त्यही समाजले भन्छ “तातो चिसो हेर्ने, नानीहरू सम्हाल्ने एक जना राम्री केटी हेरेर बिहा गर्नुपर्छ ।” सबै यसै भनी सल्लाह दिन्छन् । किन यस्तो भेदभाव ? किन समाज एकतर्फी भएको ? यो नियम किन श्रीमतीलाई मात्र लागू भएको ? के श्रीमानलाई कुनै नीति नियम लागू हुँदैन र हाम्रो समाजमा ?
अचम्म लाग्छ, कसले आवाज उठाउने, विरोध गर्ने कसले ? कसले बदल्ने हाम्रो समाज ? सम्झँदा पनि सुर्ता लाग्छ, भविष्यमा के हुने हो ? कुन धरातल बन्ने हो समाजको । तपाईंको गाउँ घरमा पनि यस्ता हुतिहारा पढ़ेलेखेका अनपढ़ मूर्खहरू छन् भने आजैदेखि जागरुक हुनुहोला । समाजका यस्ता तथाकथित चौकिदारहरूसँग सावधान रहनुहोला । यस्तै एकतर्फे सोच भएका मानिसहरूबाट हाम्रो समाजलाई कसरी बचाउँने, बद्लाउने यो आवाज अब कसले उठाउने, आजैदेखि सोच्नुहोला ।
अस्तु ।