वासुदेव पाण्डेय उल्लेख्य युवा कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित नेगेटिभ शीर्षकको संस्मरणात्मक निबन्ध समेटिएको छ । यस निबन्धले लेखककै आत्मप्रकाश गरेको छ । यसले आजको रङ्गीन परिवेश र हिजोको श्यामस्वेत परिवेशलाई उजागर गरेको छ । -सम्पा. |
समयले कसैलाई पर्खँदैन भन्थे बुढापाकाले, हो रहेछ ।हाम्रो जीवन लोक साहित्यमय त छँदै थियो तर साहित्यमय पनि हुने रहेछ ।फरक यति हो कि कसैले गहन रूपले अध्ययन गरेर बुझ्छन् भने कसैले ढिलो गरेर बुझ्छन् ।भीमदर्शन रोका जो ‘घाम डुबी तारा नउदाएको आकाश हुँ म’ नामक चर्चित पुस्तकका सर्जक हुन् उनले एकपटक शङ्कर लामिछानेलाई भनेका थिए रे ”बाबु जीवनमा कविता त कति छरिएर बसेका छन् , देख्न सक्नुपर्छ; लेख्ने फुर्सद कसलाई ?” त्यसै रहेछ। हाम्रो बाल्यकाल बितेको करिब दुई अढाई दशक मात्रै बितेको छ तर समय भने रकेट गतिमा उडिरहेछ ।प्रविधिका क्षेत्रमा विश्वमा जस्तै नेपालमा छोटो समयमा आशातीत प्रगति भएको मान्नुपर्छ । अहिलेजस्ता क्यामेरा र मोबाइल, कम्प्युटरजस्ता प्रविधिका उपकरण हाम्रा पालामा यति सहज कहाँ थिए र ? त्यो पनि सुदूर पश्चिमको पनि पश्चिमी सुदूरमा ।डडेल्धुराको घनघस्या नि.मा.वि. बाट आठ कक्षा पास गरेर बैतडी जिल्ला सिलङ्गा गा. वि. स. मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयमा नौ कक्षामा भर्ना भएपछि केही साथीहरू रजिस्ट्रेसन फाराम भर्नका लागि फोटो खिच्न पाटनतिर गयौँ। लक्ष्मी फोटो स्टुडियो त्यो क्षेत्रकै नाम चलेको स्टुडियो थियो । फोटो अहिलेझैँ कहाँ रङ्गीन हुन्थ्यो र? विशुद्ध श्यामश्वेत । तीन दिनपछि लिन गइयो । फोटो हेर्दा आफू हुँ कि होइन चिन्नै गाह्रो, दुब्लो, लिखुरे र पायौँ साथमा नेगेटिभ पनि । स्टुडियोको सञ्चालक हाम्रा पुरोहित र नाताले काका पर्नुहुन्थ्यो र ठट्यौलो स्वभावको हुनुहुन्थ्यो । फोटोको कलाकारिताका बारेमा उहाँले यसरी वर्णन गर्नु हुन्थ्यो कि हामी धर्मप्रति आस्थावान् भक्तले सत्यनारायणको कथा सुनेझैँ एकाग्र भएर सुन्दथ्यौँ ।त्यो नेगेटिभ हेरेर म एकदमै अचम्मित हुन्थेँ ।कपाल र आँखी-भौँ हेरेर म पुलकित हुन्थेँ । हेर्दा काला कपाल र आँखी-भौँ सेता देखिन्थे । यो कसरी सम्भव भयो होलाजस्तो लाग्थ्यो ।
समय फेरियो । प्रवेशिका पास भएपछि आइ. ए. पढ्न बैतडीको पाटन बहुमुखी क्याम्पसमा भर्ना भइयो ।माओवादी जनयुद्ध उत्कर्षतिर लाग्दै थियो ।करिब एक महिना तीन घन्टा बिहान घरबाट हिँडेरै म क्याम्पस गएँ ।पछि म डेरा लिएर पाटन बजारमै बस्न थालेँ ।डेरामा म र साथी मानबहादुर बोहरा करिब छ वर्ष(२०५५-२०६१) पाटनमै रूम पार्टनर भएर बस्यौँ ।कोठा बजारमै तर पारि गाउँतिर जाने बाटोमै थियो ।घर पुरै खाली थियो । तल्लो तला सबै खाली थियो तर ताला मारिएको । हामीहरूले माथिल्लो तलाका दुई ओटा कोठामध्ये एउटामा भान्सा र एउटामा सुत्ने कोठा बनाएका थियौँ । बाहिर बार्दलीयुक्त हावा चल्ने राम्रो घर थियो ।त्यो घर हाम्रो छिमेकी गाउँका एक जना व्यक्तिको थियो ।उनले खै किन हो गाउँको घर र जमिन बाँझै छाडेका थिए र पाटन बजारको घर पनि अलपत्र । छ वर्ष बस्दा कहिल्यै घरभेटीसँग भेट भएन । उनी अत्तरिया बजार छेउमा घुम्ती र सानो होटल चलाएर बस्थे ।वि.सं. २०५८ तिर आर्मीमा भर्ती हुन म तेघरी ब्यारेक आएँ । त्यो दौरान उनकै होटलमा बसेँ र उनलाई बैतडीको घरमा बस्छु भनेर सुनाएँ तर उनले कुनै प्रतिक्रिया जनाएनन् । विविध कारणले म सेनामा भर्ती हुन सकिनँ र फर्किएँ । पाटन क्याम्पसमै बी. ए. पढ्न थालेँ ।
पाटनको पारि गाउँबाट एक जना कपाल पूरै सेतो भएका बुढा मान्छे सधैँ बिहान दश बजेतिर बजारतिर आउँथे र साँझपख घरतिर जान्थे । कालो वर्णका ती व्यक्ति निजामती कर्मचारी थिए तर कुन कार्यालयमा काम गर्थे सम्झना छैन । उनलाई हामीहरू ‘नेगेटिभ बड्डा’ भन्ने गर्थ्यौँ साङ्केतिक रूपमा । उनी कहिले साँझमा रक्सी खाएर धर्मराउॅदै जान्थे र हामी पारि नपुग्दासम्म हेरेर टिप्पणी गर्दथ्यौँ ।एक पटक माओवादीले रक्सी खाएको निहुँमा चिरपटले टाउकामा हिर्काएका थिए । सेतै कपालमा रातो रगत लागेर टाउको रङ्गीन बन्यो ।हामीलाई टीठ लाग्यो तर पनि कुकुरको पुच्छर बाङ्गो देख्दा हाँस्ने अल्लारे उमेर हुनाले हामी नेगेटिभ त रङ्गीन भयो भनेर मरी मरी हाँस्यौँ ।
समय बित्दै गयो । हामीहरू पनि छुट्टियौँ । म पाटन छाडेर स्नातकोत्तर तहको अध्ययन गर्न काठमाडौँतिर लागेँ । साथीहरू को कहाँ पुगे आकाशमा छुट्टिएर फरक दिशातिर लागेका बादलझैँ । कथाकार इन्द्रबहादुर राईले ‘खीर’ कथाको अर्थ ढिलो बुझेझैँ म पनि अहिले ‘नेगेटिभ’ को अर्थ जीवनमा पो भेट्दै छु । हामी जीवनलाई रङ्गीन बनाउन प्रयासरत रहन्छौँ तर यो सदैव नेगेटिभ नै हुन खोज्छ । सक्कली रूप त नेगेटिभ (गाउँले जीवन) पो रहेछ ।यो रङ्गीन रूप (सहरी कृत्रिम र बनावटी) बनाउन त नेगेटिभलाई नै सच्च्याइँदो रहेछ । काला कोठी, दुबी,दाग र धब्बा तथा चाउरीहरू हटाएर, अन्यबाट अवयवहरू ल्याई गाँसेझैँ, केही घटाएझैँ , केही हटाएझैँ लाग्छ । हरेक सम्बन्ध नेगेटिभ (नकारात्मक) तर रङ्गीन बनाउन जीवनभर मानिसले प्रयास गरिरहन्छ ।पहिले फोटाको मात्र नेगेटिभ हुन्थे अन्यत्र सबै रङ्गीन जीवन तर अहिले सबैतिर नेगेटिभकै हालीमुहाली देखिन्छ ।मान्छेको बानी, व्यवहार, सोचाइ, धारणा, टिप्पणी सबै नेगेटिभ मात्रै । फोटा रङ्गीन हुन्छन् तर त्यसमा सबै सक्कली पक्ष पाइन्न । जडौरी लुगा,अर्काको पन लिएर बन्ने रङ्गीन फोटा र बनावटयुक्त हाम्रो जीवनशैली उस्तै हुन् । असली रूप छिपाइन्छ, नेगेटिभ लुकाएझैँ अनि बनाबटीपन, बोक्रेपन, आडम्बर, सम्पत्ति प्रदर्शनको रङ्गीन व्यवहार देखाइन्छ र बनाइन्छ । सक्कल नेगेटिभ भएर पनि नेगेटिभ भन्न र बन्न नरूचाउनेहरूकै बोलबाला छ । नेगेटिभ भनेकै बाल्यकालीन सहजता,नैसर्गिकता,स्वाभाविकता र यथार्थता रहेछ । गाउँघरमा हुँदा सहर पस्ने रहर र सहरतिरको जीवनशैलीप्रतिको आकर्षण पनि श्यामश्वेतका नेगेटिभजस्तै हुन् जो सत्यता र यथार्थताभन्दा रङ्गीन पक्षलाई मन पराउँछन् ।अहिले पनि फोटो खिच्दा लाग्छ नेगेटिभ त दिन्नन् होला जहाँ काला कपाल र आँखी-भौँ सेतै देखियुन् ।