महेश पौडेल युवा पुस्ताका बहुमुखी प्रतिभा हुन् । उनले कविता, आख्यान, निबन्ध, बालसाहित्य, समीक्षा, अनुवाद जस्ता बहुविध क्षेत्रमा कलम चलाएका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी छोटामिठा कविता रचना गर्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘समाधि’ शीर्षकको कविता समेटिएको छ । यस कविताले योग साधनाको उच्चतम तह वा मानव जीवनको अन्तिम ध्यानस्थ अवस्थालाई र प्रकृतिलाई सहविम्ब बनाई वर्तमान राजनीतिक चेतनालाई नयाँ दरबारका विम्बमा उभ्याई निकै जीवन्त अभिव्यक्ति दिएको छ । -सम्पा. |
धरतीको निधारमा पुगेपछि
चञ्चल बादल पनि
समाधीस्थ भयो सगरमाथाको शिरमा
र बस्यो छुपुक्क
हिउँको मुकुट बनेर ।
नयाँ दरबारहरूबाट देखियो कि देखिएन होला
यो मनोरम दृश्य ?