वासुदेव पाण्डेय (२०३७ पुस १३, पाटन २, बैतडी, सुपुत्र : मणिराम पाण्डेय र विष्णादेवी पाण्डेय) नेपाली कविताकाव्यका क्षेत्रमा सुपरिचित युवा प्रतिभा हुन् । उनका गजलका फाँकीहरू (२०६४ सह), आगमन (२०७२) गजलकृतिका साथै दुलही (२०७८) एवम् परेवा र बाज (२०७८) जस्ता कविताकृति प्रकाशित छन् । उनका छन्द र अलङ्कार : सिद्धान्त र प्रयोग (२०७२) र व्यवहारिक नेपाली (२०७४) जस्ता कृति पनि प्रकाशित छन् । सुललित शास्त्रीय छन्दका कविता लेख्न रुचाउने पाण्डेयको साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘चिनारी’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपाली सांस्कृतिक सम्पदाको महत्त्व उजागर गरेको छ ।
-सम्पा. |
बोहोता, टपरी, तपेस, तसला को चिन्छ हर्पे, दुनो
मार्सी बासमती चिनो र झिनिया हामी भुल्यौँ कागुनो।
जाँतो ओखल कोल नोल फरुवा ठेकी नचिन्ने ढिकी
के पो खोज्नु स्वतन्त्रता हक तथा सम्मान आफू बिकी।।
झ्याली मादल बाँसुरी र मुरली ट्याम्को दमाहा भुली
सारङ्गी, तबला र ढोल, नगरा, डम्फू भए मामुली।
मुर्चुङ्गा न त खैँजडी न सनई, कर्नाल,झ्याम्टा चिन्यौँ
बेची मौलिक वाद्ययन्त्र महँगो बाजा पियानो किन्यौँ।।
पैँचो, पर्म, खलो र खेत कुरुवा, पाथी र माना भुल्यौँ
सारा खर्क र खोरिया जमिनको नक्सा सिमाना भुल्यौ।
फेर्दै छन् गहना, कला , लवजझैँ पोसाकले काँचुली
बन्दै छौँ घरका न घाटतिरका संस्कार आफ्ना भुली।।
भस्सो, बालुन, दाइँगीत,सँगिनी, भैनी, भडा, चाँचरी
ढुस्को,मागल,फाग,घाटु,छलिया छन् सोरठी मञ्जरी।
रोदी,पालम धाननाच रसिला ख्याली र कर्खा भुल्यौँ
कस्तूरीसरि आत्म-सौरभ कहाँ पाइन्छ भन्दै डुल्यौँ।।
जाँतो,ओखल,घट्ट,कोल र ढिकी सम्पूर्ण भुल्दै गयौँ
अम्खोरा, गबुवा, हलो अनि जुवा, दाँदे नचिन्ने भयौँ।
न्वाला, सत्तल, देवधाम, निजको बिर्स्यौँ चिनारी सब
आफू को पहिचान संस्कृतिविना होला कहाँ सम्भव ..