डिल्लीराज अर्याल (पाल्पा) बहुविध विधामा कलम चलाउने प्रतिभा हुन् । उनको कलम नेपाली साहित्यका गद्यपद्य दुवै विधामा निरन्तर चलिरहेको छ । साहित्यसागरमा उनको परिचय समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित ‘होली आयो ! होली आयो !‘ शीर्षकको निबन्ध रचना समेटिएको छ । यस रचनाले हिजो र आजको होली पर्वको तुलना गर्दै यसका विसङ्गत पक्षको उद्घाटन गरेको छ ।
-सम्पा. |
फेरि यसपटकको फागु आयो, होली आयो र मेरा मनमा केही तरङ्गहरू उब्जाएर, प्रभाव छाडेर गयो। मैले यसलाई आफ्नै तरिकाले हेरें, बुझें र मनाएँ पनि । म पहाडी वातावरणमा जन्मे हुर्केको भए पनि केही समय तराईतिर र केही वर्ष भारतका कतिपय गाउँ शहरमा पनि बसेको छु ।
त्यहाँ बस्दा त्यहाँ मनाइएको यो चाडलाई पनि हेरेको र त्यसै अनुरूप मनाएको पनि छु। मैले भने यो पर्वलाई होली र फागु अलि फरक रूपमा हेर्ने गरेको छु ।
हेर्ने र मनाउने क्रममा मैले होली र फागु दुवैको तुलना पनि गरेँ। तुलना गरेर हेर्दा मैले अहिले मनाइने होली भन्दा फागुलाई आफ्नो नजिक पाएँ, मेरो अनुकूल पाएँ। अलि शान्त र अलि स्वाभाविक पाएँ । हुनत अहिलेको फागु पनि फरक भएको, होली जस्तै बनेको हुन सक्छ तर मलाई दुवैमा क्रमिकता छ भन्ने लाग्छ ।
होलीमा देखिएको प्रभाव फागुमा पनि होला, तैपनि तिनमा केही फरक अवश्य छ भन्ने सोच्छु म । कारण, म आफैलाई थाहा छैन।
व्यवहारमा – हामीले फागु मनाउँदा सामान्य रङ मात्र खेल्यौँ। साधारणतया निधार र कपालमा मात्र दल्ने गर्यौँ । बढीमा पिचकारीले छ्याप्यौं तर रङ मात्र । रङले छ्याप्दा अलिअलि कपडामा पनि पर्योौ होला। भाँग खाएनौँ, मात्तिएर हिडेनौँ। सामान्य रङ दल्ने बाहेक गल्ली, बाटा र सडकभरि प्लास्टिक, लोला फ्याँकेर फोहर गराएनौँ। कानका जाली नै फुट्ला जस्तो गरी पटाका पड्काएनौं ।
बरु जानेर वा नजानेरै, बुझेर वा नबुझेरै होस् फागु गाएको सुन्यौँ। त्यसमा एउटा अलग्गै रस थियो, मिठास थियो, रमाइलो थियो। गाउँघरबाट उठेको फागुबाट एकदिन कतै गएर भोज जस्तो खाने वा कुनै संस्थालाई सहयोग गर्ने गर्यौँ । यसो गर्दै आएका तिनै ठाउँमा, समाजमा अहिलेको फागु कस्तो छ ? म राम्ररी भन्न सक्दिनँ। त्यसले पनि बाटो छोड्दै पो छ कि ! थाहा छैन।
यहाँ शहरमा भने एकदमै फरक देख्छु। दुईतीन वर्ष यता यो त्यति मनाए जस्तो पनि लाग्ने गरेको छैन । फागु गाएर घर घरमा हिंडेको त झन् देख्दै देखिएन।
फागुमा पनि होलीमा जस्तै राम्रा- नराम्रा कुरा होलान् तर अब नेपालीका मुखमुखमा फागु होइन होली आउन थाल्यो, आयो। आउँदा होली मात्र आएन, सँगसँगै अन्त कतैबाट होली वाइनसमेत आयो । हाम्रै छिमेकबाट ‘होली आयो’ लेखिएका भेस्टहरू आए, प्लास्टिकका प्याकेट र थरीथरीका रङहरू आए। खाने कुराहरू आए, पिउने र लाग्ने कुराहरू आए, पड्काउने पटाकाहरू आए, जसरी अरू धेरै कुरा आउने गरेका छन् त्यसरी नै । फागु कमजोर हुँदै, हराउँदै गयो। होली बलियो हुँदै गयो। त्यसका माग बढ्दै गए । रूप, रङ बदलिंदै आए ।
धेरै कुरा उताबाट आए, यताबाट यताका धेरै कुरा गए। हाम्रा आफ्नापन गए, नगद गए, संस्कार, संस्कृति गए। भाइचारा गए, स्वाभाविक मर्यादा, शिष्टता र वास्तविक स्नेहहरू गए। आउन त केही कुरा आउनैपर्थ्यो तर धेरै कुरा आए । जे नआए पनि हुने थियो त्यो र त्यस्ता कुरा धेरै आए। नगए हुने, नजानुपर्ने, संस्कार, संस्कृति, शिष्टता, शान्ति, नगद लगायतका धेरै कुरा गए। यो मेरो दृष्टिमा मात्र पनि हुन सक्छ !
हो, छिमेकबाट, विदेशबाट धेरै कुरा आए । आज बिहान सडकमा निस्कँदा, गल्लीमा, सडकमा प्लास्टिकै प्लास्टिक छित्रिएका देखें। कतै त मैले बोतल, बोतलका फुटेका टुक्रा पनि लथालिङ्ग भएर छित्रिएका देखेँ। घर नजिकका आफ्ना सडक गल्लीलाई आँधीपछिको बस्ती जस्तै देखेँ । एकदमै नरमाइलो लाग्यो, तैपनि हाँसेर एकजना परिचित भाइलाई सोधेँ- ‘के हुन् यिनी? कहाँबाट आए होलान् ?’ उसले पनि हाँसेरै भन्यो- ‘दाइ पनि, यो सबै होली त हो नि। आउँछ कहाँबाट ? आकाशबाट आएको पक्कै होइन ! अरू धेरै कुरा जहाँबाट आउँछन् त्यहीँबाट !’
मनमा कुरा खेल्न थाल्यो- यो होली हाम्रा सडक, गल्लीमा धेरै दिनसम्म यसै गरी बस्नेछ, रहनेछ । हाम्रा मनमा होलीको रङ र रङ्ग यसै गरी रहनेछ, शायद अर्को होली नआउँदासम्म रहनेछ । अर्को होलीले फेरि यस्तै र यो भन्दा नयाँ अरू कुरा पनि बटुल्नेछ, ल्याउँनेछ । अनि हामी रमाउँदै र चिच्याउँदै भन्नेछौँ’ ‘ होली आयो ! हेप्पी होली…..’आदि आदि।
यसपटक पनि अघिल्लो अघिल्लो वर्षको जस्तै फागुपूर्णिमाको दिन आयो । गाउँ, छिमेकमा ‘होली आयो’ र ‘हेप्पी होली’ जस्ता नारा लिएर आयो। गीत लिएर, गाएरै आयो। हाम्रै सामु होली हेप्पी (खुशी) भएरै आयो र फागुलाई किनारा लाउन थाल्यो। ‘होली हेप्पी’ भएपछि फागु अलि निराश, अलि शिथिल हुने नै भयो। जाँदा अथवा ऊ निराश, शिथिल हुँदा म पनि निराश, शिथिल भए जस्तो भएँ। अरू कुनै नेपालीलाई यस्तो हुन्छ कि हुन्न मलाई थाहा छैन । मलाई त जब हाम्रा नेता, बुद्धिजीवी, भाषाविद्हरू समेत यसरी नआउने कुरा आउने र नहराउनु पर्ने कुरा हराएकोमा चिन्ता नगर्ने, कुनै सोच नबनाउने गरेको देख्छु मनमा कताकता चस्स बिझ्छ। हेप्पी होलीले हाम्रो भाषा, संस्कृतिलाई हेपे जस्तो, हराउन, जित्न खोजे जस्तो लाग्छ ।
मान्छेले अनुभव गरेकै कुरा हो, गरेकै छ- वन साङ्ला आएपछि घर साङ्ला हराउँछन् । झारपात निस्केपछि मकैका बोट कक्रक्क हुन थाल्छन्। वनमारा झार निस्केपछि तिनले बोट बिरुवालाई खतमै पार्न थाल्छन्। ऐजेरू निस्केपछि बोट कमजोर हुने, बिग्रने, पहेंलिने क्रम शुरु हुन्छ ।
पृथ्वीनारायण शाहले भनेकै हुन्- ‘देशी महाजन आया भन्या मुलुकलाई कङ्गाल बनाइ छाडछन् !’ तर हामीलाई त्यसले छुँदै छोएन । हामीलाई तिनै विदेशी महाजनले सल्लाह दिने, चलाउने भए। त्यसैले त हामी उपदेश चन्द्रकलामा वर्णित ‘गङ्गादत्त भ्यागुतो’ बनेर आफै आफ्नो निवासमा सर्पलाई आमन्त्रण गर्छौँ, स्वागत, सत्कार पनि गर्छौँ। अनि ? अरू आफ्ना शत्रुलाई खान भनेर आफैले पोखरीमा बोलाएको त्यो सर्पले त्यही गङ्गादत्तकै सन्ततिलाई, परिवारलाई समेत खान्छ, खायो । हुन पनि अरू सिद्धिएपछि बोलाउनेका सन्ततिलाई नखाएर कसलाई खाओस् त? खायो । केही पछि त्यही बोलाउनेलाई पनि खाने थियो कि ! यो सोचेर ऊ डरायो र बहाना बनाएर त्यो ठाउँ छोडेर हिड्नु पर्योय, हिड्यो।
मेरा मनमा यस्तै कुरा खेलिरहन्छन् । सोच्छु – हामी नेपाली कतै छौँ कि छैनौँ ? हाम्रा आफ्ना भन्ने चीज यहीँ कतै छन् कि छैनन् ? छन् भने पनि ती कति दिनसम्म रहने, हुने हुन् र तिनलाई जोगाउने कसले हो? कसरी हो? हामी कतै गङ्गादत्त झैँ हुनुपर्ने त होइन? भन्नेतिर कसैले सोचेको छ? सोच्नुपर्ने देखेको छ? छैन भने मेरो भन्नु केही छैन, केही भन्दिन पनि ।
यदि सोचेको र सोच्नुपर्ने देखेको छ भने हामी सबैले बेलैमा सोच्नुपर्ने कुरा भनेकै – ‘जति हाम्रा आफ्ना खास कुरा हराउँदै जान्छन् त्यत्ति हामी पनि हराउँदै गइरहेका हुन्छौं। जति हल्ला आउन थाल्छ त्यत्ति शान्ति हराउँदै जान्छ। जति पटाका पड्कन थाल्छन् त्यत्ति कानका जाली ….. थाल्छन्‘ आदि हुन्।
त्यसैले ‘फागु आयो’ भनेर चिच्याउने बानी नपरेका हामीले ‘होली आयो’ भन्दै दगुर्दा, चिच्याउँदा सतर्कता अपनाउनै पर्छ । सतर्क हुन सकेनौं, सतर्कता अपनाउन सकेनौं भने ‘ दशैं आयो, तिहार आयो त्यसपछि … आयो’ भन्ने भनाइले गरेको सङ्केतले बताएकै अवस्था आउन असम्भव छैन।