रुद्र बराल भारतको आसाममा रहेर नेपाली साहित्यको सेवामा समर्पित प्रतिभा हुन् । उनी सिर्जना, समीक्षा र सङ्गठनका बहुआयामबाट साहित्य सिर्जनामा समर्पित छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रसतुत शृङ्खलामा उनले असमेली लघुकथाकार इन्दिरा गौतमको लघुकथाकृतिमाथि लेखिएको समीक्षा समेटिएको छ । यस समीक्षाले गौतमको कथाकृतिको सरसरती अध्ययन गरेको छ ।
-सम्पा. |
इन्दिरा गौतम । घर उदालगुडी । पेशा शिक्षिका, निशा साहित्य साधना । उनको आजसम्मको साहित्य यात्रा छोटो छ, ठिक लघुकथा जस्तै छोटो। उनी पनि मूलतः कोरोनाकालकै आम्दानी हुन्। आज इन्दिरा गौतम र लघुकथा यी दुई शब्द लगभग लगभग पर्यायवाची जस्ता भइसकेका छन्। फेसबुकका भित्तैभरि उनका लघुकथा लेछेप्रै पाइन्छन्। यही समयमा उनलाई सङ्कलन निकाल्ने उमङ्ग चढेछ र उनको पहिलो लघुकथाको सङ्कलन ‘उमङ्ग’ प्रकाशमा ल्याइन्। हुन त उनी असमेली नेपाली लघुकथाकी जनक होइनन्। उनीभन्दाअघि अनुराग प्रधान, खड्गराज गिरी, डम्बर दाहाल, भीम महाराजीका लघुकथाका सङ्कलनहरू पाठकले पढिसकेका छन्। तर, उनी आजको छिमलकी प्रतिनिधि लघुकथाकार हुन्। यसमा सायदै कसैको द्विमत होला।
‘उमङ्ग’को गत २१ अगस्ट २०२२ का दिन विमोचन भयो। उदालगुडीमा। सङ्कलनमा ६५ वटा लघुकथाले स्थान पाएका छन्। ‘उमङ्ग’भित्र सोही शीर्षकको एउटा कथा पनि छ। पूर्वायण प्रकाशनले प्रकाश गरेको यस पुस्तकको भूमिका दार्जिलिङकी चर्चित आख्याकार रिता ठकुरी र शुभकामनाका दुई कुरा असमकी विशिष्ट कवि तथा आख्यानकार डा. इन्दु प्रभा देवी तथा अर्की लघुकथाकार विनीता उपाध्यायले लेखेका छन्।
कथा कति छोटो हुन्छ भन्दा आधुनिक कथाका जनक एडगर एलेन पोले ‘एक बसाइमा पढिसकिने’ भने। कसैले आधाघन्टा त कसैले बीस मिनेट। लघुकथा योभन्दा छोटो, एक बसाइमा धेरैवटा पढ्न सक्ने हुन्छ। कथा कति लामो हुनुपर्छ भन्ने प्रश्नको जवाफमा एउटा कथा सुनेको याद आयो –
‘तैँले भूत देखेको छस्?’
‘छैन।’
भनिसक्तानसक्तै ऊ बिलायो।
सायद लघुकथा यस्तै हो। चटनीजस्तो। एउटा घटना, झिनो कथानक, थोरै सहभागी, संवादको पनि अनिवार्यता नरहेको वा मिलेछ भनेँ दिँदा पनि हुने, चरित्र चित्रणको अवकाश नभएको, कथाको झैँ खचाखच वाह्य र आन्तरिक द्वन्द्व तथा घटना विकास हुँदै चरमोत्कर्षसम्म पुग्ने र परिणामतिर लम्किने परिपाटी नभएको, कौतूहलले पाठकलाई घिसारी नरहने तथा कौतूहल उत्पन्नका साथै समाप्त हुने कथालाई नै लघुकथा भन्ने बुझिन्छ। यसरी लघुकथामा कथाका सबै तत्त्व हुँदैनन्। र पनि हुन्छन्। आफ्नै हिसाबमा। पात्र, कथानक, कौतूहल, द्वन्द्व, परिणाम त हुन्छन्। यसको पनि लेखाइको उद्देश्य हुन्छ। लघुकथा सङ्केतात्मक हुन्छ, प्रतीकात्मक हुन्छ। एउटा मेसेज दिएर बिलाउँछ। लघुकथाको संरचनागत विशेषता हो यसको संक्षिप्तता र प्रभावकारिता। त्यसैले लघुकता लेख्न हाम्रा आजका लघुकथाकारहरूले मानेको र ठानेको जस्तो सजिलो छैन। एउटा घटना च्याप्प समायो र त्यसको विवरण प्रस्तुत गर्यो, बस भइगयो। यतिमामात्र लघुकथा हुँदैन, यो त घटनाको सपाट वर्णन हो, रिपोर्ट हो। धेरजसो लघुकथा यसरी नै लेखिदैछन्। आत्मा नभएका काया। चिनी नभएका रसदाना।
तर, इन्दिराका लघुकथाहरू प्रभावकारी छन्, रोचक छन्। लघुकथा हुन्, छोटा छ्न्, चालीस पङ्त्तिभित्रैका। त्यसमद्धे ‘रिजल्ट’ शीर्षकको चार पङ्त्तिको कथा सङ्कलनकै छोटो कथा हो। इन्दिरा गौतमका लघुकथाका पात्रहरू हाम्रै गाउँ-घरका छन्, घटनाहरू हामीले देखे-सुने-भोगेका छन्। धेरजसो पारिवारिक विषयमा उनको चासो छ। घर, जहान, छोरा-छोरी, सासू-बुहारी, नोकर-चाकर, दसैँ-तिज, बिहे-श्राद्ध यस्तै पात्र र विषयको सेरोफेरोभित्र उनले कथानक उनेर कथा बुनेकी छन्। उनको भाषामा मिठास छ, उखान-टुक्काको भरमार छ, अनुकरणात्मक शब्दको प्रयोगले कथाहरूमा नेपाली भाषाको विशेषता झल्काउने प्रयास छ। ग्रामीण बोलचालको भाषा छ, असमेली भाषिकाको प्रभावले कता कता आञ्चलिकताको छाप पनि छोडेको छ भने कतै पात्रहरूले काठमाडौँतिर बोल्ने भाषिकाको प्रयोग पनि गरेका छन्।
इन्दिरा नारी हुन्। नारीका समस्या पुरुषले देख्छ, तर भोग्दैन। नारी हुनाले उनले परिवारमा भोगेका समस्या, समाजको मान्यताले थोपरिदिएका वाध्यता आदिलाई राम्रोगरी बुझेकी छन्। त्यसैले उनी भन्छिन् – ‘ससुरा बालाई भनेर पकाएको गिलो जाउलो अलिकति, सासू आमालाई बनाउँदा उब्रेको एउटा रोटी, लोग्नेको भाग काटेर एक डल्लो भात र छोरालाई बनाएको पुरी एउटाले लगभग पुगी हाल्यो नि’ (नयाँ नम्बर)। आज एक्काइसौँ शताब्दीमा पनि हाम्रो समाजमा नारीको हाल यस्तै छ।
अर्कोतिर हाम्रा समाजका नारीहरूलाई आधुनिक समाजको उपभोक्तावादले जकडेको छ र असमर्थहरूले पनि आलु खाएर पेडाको धाक देखाउन सिकेका छन्। ‘दरका फोटा’कि आमा यस्तै एक चरित्र हो। उपभोक्तावादकै चपेटमा परेर नारीहरूको कसरी नैतिक स्खलन भएको छ त्यसको उदाहरण हो ‘अन्तर्द्वन्द्व’ कथाकी नायिका कविता। जो साउन मनाउने रहरमा परपुरुषसँग हात थाप्न हिचकिचाउँदिन। यसरी उनले आफ्ना कथाहरूमा समाजलाई केन्सर जसरी कुटुकुटु खाएका रोगनिर्णय(diagnosis)गरेर त्यसको निदानको लागि सोच राखेकी छन्। त्यसैले उनका कथाहरूमा रक्सी र अन्य नसाको कुलतको परिवारमा प्रभाव, मोबाइलको व्यवहारले ल्याउको सामाजिक कुप्रभाव आदि विषय पाइन्छ। मानव तस्करीहरूले कसरी निरीह युवतीलाई फेसबुक प्रेमको जालमा फसाउँछन् त्यसैलाई आधार लिएर लेखिएको कथा हो उनको कथा ‘औडाहा’।
यथार्थवादी कथाकार इन्दिराका कथाहरूमा समकालको सजिव चित्र छ। मुख्यत उनको लघुकथाको बाली कोरोनाकालमा लगाइएको हुनाले वैश्विक महामारी कोरोना र सामाजिक जीवनमा यसको प्रभावलाई लिएर लेखिएका कथाहरू हुन् – सामाजिक दुरी, क्वारेन्टाइन, खुसी, उपलब्धि, अन्तिम यात्रा, मानसिकता आदि यस्ता कथा हुन्।
आजको युगको एक जटिल समस्या हो पिँढीको व्यवधान। नयाँ पिँढीको मान्यता र संस्कार पुराना पिँढीका सँग नमिल्नाले समाजमा अनेक विसङ्गतिहरू देखापरेका छन्। आज हाम्रा चाड-पर्वहरूको महत्व नबुझ्ने एउटा पिँढी छ। बाबुआमालाई अनाथआश्रम पुर्याउने, तह नमिल्नाले आफ्ना जन्मदिने बाबुआमालाई साथीहरूका अघि परिचय गराउन नचाहेना घटनाहरू पनि छन्। यिनै विषयहरूलाई कथ्य बनाएर उनले दसैँको टीका, बा, अन्तर, विवशता आदि कथा बुनेको देखिन्छ। उनको ‘बा’ कथाको पात्र ‘बा’ यस्तै युगका कोर्रा सहेर आत्मसमर्पण गरेको पात्र हो।
इन्दिराले उनका कथाहरूमा छोरा र छोरीप्रति समाजको भिन्न दृष्टिकोण, नारीशिक्षा, समाजका निम्नवर्गमा मानिसको व्यथा-पीडा,आफ्नो सन्तानप्रति बाबुआमाको विश्वास र यथार्थ(भ्रम), नागरजीवनको खोक्रो आडम्बर(कन्यार्थी) लाई समेत कथाको कथ्यको रूपमा चुनेको देखिन्छ।
उनको कथागत अर्को विशेषता हो समाजका सकारात्मक पक्षलाई पनि कथामा उतार्नु। बहुजाति र बहुभाषीको बसोबास भएको हाम्रो समाजमा इसलाम र ईसाई धर्ममतमा विश्वास राख्नेहरू पनि होली खेल्छ्न् भन्ने मेसेज उनको ‘होलीको रङ’ मा पाइन्छ। ‘छोरी घर’ कथामा रबिनकी बुढी एक नकारात्मक सोच भएकी पात्र हो भने रबिन सकारात्मक सोचको पात्र हो र कथामा उसकै जित देखाइएको छ।
‘पैसाको बोट’ कथामा बाल विश्वास, ‘भाइरल’ कथामा गरिबीको मार्केटिङ, ‘मातृभाषा’ कथामा मातृभाषाको महत्व, ‘जनताको अदालत’मा बलात्कार र अदालतको हेलचेक्र्याइँ, ‘उमङ्ग’ मा पिण्ड दिने छोराको चाहना छ। उनका दुइटा कथा ‘मिलन’ र ‘रुख’ सोझै पर्यावरण चेत भएका कथा हुन्।
इन्दिराको कथा लेखनको ढाँचा पारम्परिकै छ। त्यसमद्धे ‘फेसबुक’मा नयाँ प्रयोग छ भने ‘एक थान कपडा’ ‘सब्जीखेती’ आदि केही कथामा व्यङ्ग्यत्मकता छ। ‘सिटी’ पनि त्यस्तै सामाजिक व्यङ्ग्य भएको कथा हो। जीवन चित्र एउटा फेन्टासी कथा हो भने ‘खोर’, ‘कुमालेको कथा’ पढ्दा पञ्चतन्त्र वा हितोपदेशका समयका कथाको याद आउँछ।
‘अटोवाला’ र ‘पवित्र बन्धन’ उनका दुइटा सफल कथा हुन्। यसमा ‘अटोवाला’ले अमेरिकान आख्यानकर ह्यारी सिनक्लेयर लुईसको ‘द ह्यक ड्राइभर’ को याद गराउँछ भने ‘पवित्र बन्धन’ कथाले शिवकुमार राईको ‘टीका’ कथाको सम्झना ल्याउँछ।
कुल मिलाएर उनी सामाजिक सुधार र परिवर्तन चाहाने र समाजमा नारी सन्तानलाई अवहेलना नगरियोस् भन्ने, सामाजिक विसङ्गतिको अन्त्य चाहने कथाकार हुन्। उनका कथाहरूमा मनोवैज्ञानिकताका छटा पनि पाइन्छ र अधिक रूपमा कथाहरू पारिवारिक समस्यासँग जोडिएका छन्।
प्रस्तुत सङ्कलका केही कमी-कमजोरी पनि छन्। यहाँ केही भाषिक, वैयाकरणिक र टङ्कनका भुलहरू छन्। पदयोग र पदवियोगमा अन्योल छ। विभक्तिहरू छुटेका छन्। विचलनयुक्त वाक्यले अर्थको अनर्थ पारेको छ। जस्तै – ‘माइला भगवानको नाम लिएर’। यहाँ माइलाले भगवानको नाउँ लिएर भन्न खोजिएको होला। किनकि, भगवानका माइला, साइँला हुँदैनन्। सानातिना हिज्जेका गल्ती धेरै छन्। जस्तै : चैँ – चाहिँ, कहिले काहीँ – कहिलेकाहीँ, आफैँ -आफै। कतै कतै एउटै उद्धरण चिह्न (Inverted comma) भित्र दुइटा वाक्य पसेका छन् – बाख्राका पाठाले उसकी आमालाई सोध्यो -‘बजार कस्तो हुन्छ? तेरो दाजु आमैसँग बजार गएको अझै आएको छैन। खै कस्ता भन्नु।’ (खोर)। कतै पहिलो उद्धरण चिह्न छ त पछिल्लो छैन। कतै सनहरू गल्ती छन्, कोरोनाकाल २०१६ बाट होइन, २०२० बाट हो।
केही कथाले लघुकथाको घेरो नाघेर कथाको (short story) झ्यालबाट ठुलो संसार चिहाउन पुगेका छन्। जस्तै : जामुनको रुख।
आदरार्थीको प्रयोगमा कता कता विसङ्गति छ। कतै मध्यम त कतै निम्न आदरार्थीको प्रयोग छ। (उदा: माग्ने)।
यति हुँदाहुँदै पनि विषय छनौट, कथाको प्रस्तुति, प्रयुक्त भाषा, मेसेज, कौतूहल निर्वहन आदिले कथालाई रोचक, आकर्षणीय र पठनीय पारेको छ। कोठेबारीको भूत, भाकल, छोरी घर, विभेद आदि कथामा कौतूहल राम्रोगरी निर्वहन भएको छ। नयाँ कृतिकारको रूपमा इन्दिरा गौतम सफल छिन। मैले पढेका लघुकथामद्धे इन्दिराका कथालाई सूचीको माथि नै स्थान दिन चाहन्छु।