पुरु लम्साल युवा पुस्ताका बहुमुखी प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा नाट्य सिर्जना समेटिएको छ । जिउँदाहरूको ‘चिता’ शीर्षकको यस नाट्यरचनाले वर्तमान राजनीतिक नेतृत्वको जनतालाई राहत बाँड्ने निहुँमा हेलिकप्टर चढेर गाउँ जाने र अफ्नो प्रचार गराउने तर जनताका वास्तविक समस्यालाई वेवास्ता गर्ने प्रवृत्तिको विरोध गरिएको छ । यस लघुनाटकले निम्न वर्गीय पक्षधरता देखाएको छ ।
-सम्पा. |
जाडो महिनाको कुनै एउटा बिहान । भूकम्पले ध्वस्त भएको एउटा दुर्गम गाउँ । त्रिपाल टाँगेर टहरो जस्तो बनाइएको छ । छेउछाउमा घर भत्किएका भग्नावशेषहरू छन् । दिन उज्यालो भए पनि घाम लागेको छैन । टहरोको बाहिर छेउमा ओदान गाडेर अगेनु बनाइएको छ । एउटा छेउमा केही दाउरा र घुस्यान छ । बरखी बारेको सेतो कपडा लगाएकी सुभद्राले मकैको ढोड जम्मा पारेर आगो सल्काउँछे । बिस्तारै आगो बल्न थाल्छ । सुभद्रा आगो ताप्न थाल्छे ।
सुभद्रा : ए पार्वती ! आगो बल्यो है फुच्चेलाई सेकाउन ल्याइजो । हैन चिसो पनि कस्तो बढेको होला ? घामको मुख नदेखेको पनि हप्तादिन नाघिसक्यो । यस्तै हो भने त कठयाङ्ग्रिएरै मरिन्छ जस्तो छ । केटाकेटीहरू पनि अझै गुँडुल्किरा छन् ? उठ न ए तिमीहरू पनि ।
भित्रबाट एउटा नवजात शिशु र तेलको कचौरो बोकेर पार्वती बाहिर निस्कन्छे । अगेनुको छेउमा गएर बस्छे ।
पार्वती : आमा यसलाई समात्नु त ।
पार्वती बच्चा सुभद्रालाई समात्न दिन्छे । तेलको कचौरो आगोको छेउमा राख्छे ।
सुभद्रा : कस्तो चिसो बढेको हो ।
पार्वती : आच्छु छु छु ∕ त्यही त कस्तो चिसो है आमा ।
सुभद्रा बच्चालाई कपडामा गुटुमुटु पारेर आगोमा सेकाउन थाल्छे ।
सुभद्रा : ठुला मान्छे त आगो तापेर पनि बाँच्छन् । यी यस्ता पिउसाहरूको चैँ कालै आए जस्तो भएको छ । चिसो यै हो कसरी जोगाउनु होला ?
पार्वती : कोही भुईँचालोमा परेर मरे । नाकाबन्दी भो, अब कति खानै नपाएर मर्ने भए । कोही चिसोले मर्ने भए । गरिबले खानेबलामा आँधी आउँछ भन्थे । के के आयो आयो ।
सुभद्रा : त्यो दुईटा दाउरा तानेर हाल त ।
पार्वती उठेर अगेनुमा दाउरा हाल्छे र ढुङ्ग्रोले आगो फुक्छे । अगेनुबाट खरानी उँड्छ । धुँवाले पार्वतीका आँखा रोएका जसरी रसाउँछन् ।
पार्वती : चिसोमा दाउरा पनि बले त के । यही आगोमा अलिकति चामल बसाल्न पाए त पाक्दै गथ्र्यो ।
सुभद्रा कराएर भित्र भएकी तुलसीलाई बोलाउँछे ।
सुभद्रा : ए तुलसी ! तुलसी !
भित्रबाट तुलसीको आवाज आउँछ ।
तुलसी : हजुर ।
सुभद्रा : हैन, कति सुत्न सकेको होला त है ! आगो ताप्न आइजो । भाइ बहिनीलाई पनि उठा । त्यहाँ हजुर हजुर, भनेर नबसि र ।
पार्वती : जाडो छ । चिसोले रातभरि निदाएनन् होला । एकछिन् सुतून् न त ।
सुभद्रा : आ ! के को सुतून् । उठेर आगो तापे नि हुन्छ नि बरु ।
पार्वती अगेनुमा दाउरा चलाउँछे । आगोको एउटा फिलिङ्गो उँडेर आउँछ र बच्चा माथि पर्न खोज्छ । सुभद्रा हातले फिलिङ्गो पन्छाउन खोज्छे ।
पार्वती : हैन आमा ! हामी नेपालीहरूलाई त यो वर्ष दशा नै लागेको रहेछ नि । यत्रो भूकम्प आयो, हजारौँ मान्छे मरे, उसैमाथि झन् अहिलेको नाकाबन्दी ।
सुभद्रा : के को दशा लाग्नु नि ? सप्पै नेताहरू चोर भएर बिग्रको हो । अर्कालाई के को दोष ? यी नेतालाई त बाँधेर घाँस खुवाउनु पर्छ ।
टहरोबाट तुलसा र सरस्वती हातमा पिर्का बोकेर बाहिर आउँछन् ।
पिर्का ओछ्याएर अगेनुको छेउमा बस्छन् ।
पार्वती : खै त भाइ उठेको छैन ?
तुलसा : सुतिरहेको होला नि ।
सुभद्रा सरस्वतीलाई कराउँछे ।
सुभद्रा : ए कान्छी, जा ∕ जा भित्रबाट यस्का टालाहरू लिएर आइज ।
सरस्वती : हे….. ए…… ए ! सक्दिन म । खालि मलाई मात्रै काम लगाउन जान्या छ ! तुलसेलाई भने नी हुन्छ नि ।
सुभद्रा सरस्वतीलाई हातले पिटौँला जसरी लम्कन्छे ।
सुभद्रा: तँ त खानैको काल जन्मेकी रैछेस् नि । काम भनेपछि त ढलेको लोटा पनि उठ्दैन तँबाट त ।
पार्वती : जानु न त नानी । काकालाई पनि उठाउनु आगो ताप्न भनेर । अहिलेसम्म उठ्नु नै नभएको होकी ?
सुभद्रा : काका त हुन पर्यो नि बोलाउन ।
पार्वती : काका कहाँ जानु भएको हो र यति बिहानै ?
सुभद्रा : खै आज कहाँ न्यानो लुगा बाँढ्ने रे भन्ने सुनेछन् । बिहानै हिँडेका छन् । सद्धे मान्छेले हारालुछ गर्छन् । अब त्यो गोज्याङ्ग्रोलाई कस्ले दिन्छ र ल्याउनु ।
सुभद्रा कचौरामा भएको तेल आगोको छेउमा राख्दै बच्चालाई लगाउँदै गर्छे । पार्वती पनि आफ्ना पिडौँलामा तेल लगाएर माड्छे ।
तुलसा : ए होला होला ! आज हवाईजहाजबाट न्यानो कपडा बाँढ्छ रे भनेर त हिजो हेडसरले पनि भन्नुहुँदै थियो ।
पार्वती : आ …….. भन्ने मात्रै हो नानी । नेताकै आफ्ना मान्छेलाई भाग पुगेको छैन जनतालाई कहाँबाट पुग्नु ? यो राहत पनि पहुँच हुनेले मात्रै पाउने त हो नि । बलिया बाङ्गाकै लागि हो ।
सुभद्रा : हैन जा न ए कान्छी ! यसका टालाहरू लिएर आइज ।
सरस्वती जान्न भनेर कुम हल्लाउँछे ।
सरस्वती : सक्दिनँ के । जान्न म ।
सुभद्रा : तँलाई त पछि कस्तो घर पर्ला र गरेर खान्छेस् होला ?
सरस्वती : जस्तो परे नि के त ?
सुभद्रा पार्वतीलाई भन्छे ।
सुभद्रा : जा पार्वती यसका टाला लिएर आइजो । कान्छो अझै उठेन उठाएर पनि आइजो ।
पार्वती उठेर टहरोभित्र जान्छे । सरस्वती र तुलसा अगुल्टो चलाउँदै झगडा गर्छन् ।
तुलसा सरस्वतीको कपाल तानिदिन्छे ।
तुलसा : धेरै नचल है नेप्टी । अहिले जगल्ट्याइदिन्छु ।
सरस्वती आगोको अगुल्टो तुलसालाई ताक्छे ।
सरस्वती : आफैँ पहिले चल्न आउँछे अनि मलाई भन्छेस् । अहिले यै अगुल्टोले पोल्दिन्छु अनि था हुन्छ नेप्टी कि चेप्टी ।
सुभद्रा : कति छुकछुक गरेर मरेका होलान् त यी दुईटी ? बुद्धि पनि कहिल्यै नआउने भो । हैन ए तुलसा तँ के भएकी ? तँ त सानी छैनस् त अब त । बहिनीलाई पनि नचल भन्नुपर्ने मान्छे उल्टो आफै चलेर बस्छे ।
तुलसा : म चलेको हो र यै पहिले मसँग चल्न आएकी त हो नि । तपाईँ चैँ सधँै म मात्रै चलेको देख्नुहुन्छ । कान्छी छोरी भनेर होला नि माया गरेको ।
सरस्वती : तँ आफै मसँग चल्न आएकी होइन ? आफैँ चिमोट्न आउँछे अनि मलाई दोष दिन्छे । कस्ती बाठी ।
तुलसा सरस्वतीलाई डडाल्नुमा एक मुड्की हान्छे ।
तुलसा : मैले कैले चिमोटेँ तँलाई ? आमालाई कुरा लगाएर मलाई कुटाउन खोजेकी होलिस् नि कहीँ नभएकी कुरौटे ।
सरस्वती उठेर छेउको ढोड टिपेर तुलसालाई ताक्छे ।
सरस्वती : अहिले तँलाई त यसैले हानेर मार्दिन्छु म ।
सुभद्रा : कस्ता कुकुर र बिरालाजस्ता जन्मिन सकेका होलान् ? अहिले दुबैको पिँडुलाको मासु झर्ने गरी हानेपछि ठिक हुन्छ ।
सरस्वतीलाई हिर्काउन भनेर झम्टिन्छे । सरस्वती भागेर टहरामा छिर्छे ।
टहराबाट केही लुगा लिएर पार्वती बाहिर निस्कन्छे ।
पार्वती अलि आत्तिएको स्वरमा बोल्छे ।
पार्वती : ए आमा ! हेर्नु न बाबुलाई त हनहनी जरो आइरहेको रहेछ । सुतिरहनुभएको होला भनेर बोलाएको त । उठ्नै मान्नुभएन ।
सुभद्रा बोकिरहेको बच्चा पार्वतीलाई दिन्छे ।
सुभद्रा : ए ! होर ? ला ∕ ला यस्लाई बेरबार पार है । चिसो छिर्ला फेरि, जाडो यही हो ।
सुभद्रा आत्तिएर टहरोमा छिर्छे ।
तुलसा पार्वतीको छेउमा जान्छे ।
तुलसा : भाउजू आज मलाई पाँचसय रmप्पे दिनु न ल ।
पार्वती बच्चालाई कपडा लगाइदिन्छे ।
पार्वती : किन चाहियो र त्यत्रो पैसा ?
तुलसा : मलाई सामान किन्नु छ के ।
पार्वती : के सामन किन्नु छ ?
तुलसा : छ के जे भए पनि । दिनु न ल ! आमालाई माग्यो भने कुट्न आउनुहुन्छ ।
पार्वती : पहिले केको लागि चाहिएको हो पैसा ? त्यो त भन्नुस् ?
तुलसा : (अनकनाउँदै) अ अ अ !
पार्वती : के को अ अ अ गर्नुभएको ? किन भन्नु न ? मसँग पनि कहाँ हुन्छ त पैसा ?
तुलसा : दाइले अस्ति नै विदेशबाट पठाएको पैसा सकियो त ?
पार्वती : दाइले पैसा नपठाउको कति भयो भन्नु त ? त्यही नि यसको लागि हो पैसा चाहिएको त भन्न पर्यो नि । फेरि आमाले मलाई नि गाली गर्नु हुन्छ ।
तुलसा : जाँच आउने बेला भैसक्यो । पढ्नलाई किताब छैन । भोलि स्कुलको सर सदरमुकाम जाने रे । सबैले गाइड बुक किन्न पठाउने भनेका छन् । साथीहरूले त किन्ने भनेर सरलाई पैसा पनि दिइसके । इङ्गलिस, साइन्स र म्याथकोे किन्ने भनेको ।
पार्वती : ल ल म दिउँला । तर गाइड पढेर कसरी पास भइन्छ ?
तुलसा : अब के गर्नु त ? पढ्नै पर्यो । सबैले किन्ने भनेका छन् । भएभरको किताब सबै भुईँचालोमा पुरिइहाल्यो । न स्कुल छ ! न बस्ने घर छ ! सबैले किन्ने भएपछि किन्नै पर्यो नि । सरले पनि गाइड किनेर पढ्नु भन्नु भएको छ ।
पार्वती : चिसोले कठ्याङ्ग्रेर कति मरिसके । स्कुल जानेहरूसँग पनि किताब छैन । सामानको भाउ बढेर किन्नै नसकिने भैसक्यो । नाकाबन्दी भएर उस्तै छ । हैन कहिलेसम्म होला यस्तो ? पैसा भएर पनि किनेर खान नपाउने दिन आउँछ जस्तो छ यस्तै हो भने त ।
बिस्तारै आगनमा घाम लाग्दै जान्छ । आकास खुल्दै जान्छ । पार्वती अगेनुको आगो ओज्याउँछे । सुकेका टालाहरू बच्चालाई लगाइदिन्छे । तुलसा एकछिन् बच्चा समातिदिन्छे । पार्वती डोरीमा आफ्ना र बच्चाका केही लुगा सुकाउन थाल्छे । बच्चा रुन्छ
तुलसा : नरो बाबु नरो नारो । फुपूलाई चिनेन ?
पार्वती : फुपूलाई नचिनेको हैन । मज्जाले तेल लगाएर सेकाई दिएपछि अब खान खोजेको होला यसले । एकछिन फुल्याउनु यति टाला सुकाएर दुध चुसाउँछु । छाम्नु त पिसाव फेर्यो कि न ?
आकासमा हेलिकप्टर कराएको आवाज सुनिन्छ । पार्वती र तुलसा आकासतिर हेर्छन् ।
तुलसा : आज न्यानो कपडा बाँड्न आउने भनेको आयो जस्तो छ । तर के गर्नु हाम्रो भागमा एउटा धरो पर्दैन । साँच्चै सरकारले न्यानो कपडा किन्न दश हजार पैसा दिने भनेको होइन भाउजू ?
बच्चा रोइरहेको छ । पार्वती टाला सुकाएर बचचालाई काखमा लिन्छे ।
पार्वती : खै मैले पनि सुनेको मात्रै हो । चैत्रतिर बाँढ्ने हो कि न्यानो लुगा किन्ने पैसा पनि ? अब त्यो पनि कार्ड बाँडेको जस्तै त होला नि ?
तुलसा : तपाईँलाई थाहा छ भाउजू ? मान्छेहरूले त एउटै घरमा तीनटासम्म पीडितको कार्ड बनाएका रहेछन् । हाम्रो चैँ बल्लबल्ल एउटा बन्यो । हाम्रो त दुईटा घर भत्केको हो नि ।
पार्वती : अब के गर्नु न हाम्रो बोल्दिने मान्छे कोही छ । न नेतासँग चिनजान छ ? त्यो गिरी थियो नि कुन्नि के नामको ? पहिलेको गा. वि. स अध्यक्ष, उसले त बसाइँ सरेर गएको छोराको कुखुराको टहरो भत्केको समेत पैसा निकालेर खायो रे ।
हेलीकप्टर आकासमा फन्को लगाइरहेको छ । घरी नजिक आए जस्तो लाग्छ । घरी अलि टाढा गए जस्तो आवाज सुनिन्छ । हेलिकप्टर कराएको आवाज झन नजिकै सुनिन्छ ।
परबाट हातमा एउटा बोराको पोको झुण्ड्याएर लरखराउँदै रामराजा आउँदै हुन्छ ।
तुलसा : ऊ काका आए । कहाँ कसले के दिएछ क्यार हातमा बोकेर आउँदै छन् ।
रामराजा आँगनमा आइपुग्छ । ऊ पोकोबाट पुराना कपडा निकालेर देखाउँछ ।
रामराजा : यी कान्छी हेर त तातो लुगाहरू । तल सडकमा मान्छेलाई लाइन लगाएर बाँडिरहेका रहेछन् । एउटा बोरा च्याप्प समातेर हिँडिहालेँ म त ।
रामराजा पोकोमा भएका लुगाहरू सबै आँगनमा खन्याउँछ। पोकामा केही पुराना लुगाफाटा छन् । एउटा राम्रो घाँगर छ । रामराजा बोरामा भएका सबै कपडा निकालिसक्छ । एउटा मैलो सर्ट एउटा अलिअलि च्यातिएको सेतो खोल र एउटा रामनामीको गम्छा भेटिन्छ बोरामा ।
पार्वती : सप्पै पुराना लुगा मात्रै छन् त काका । न्यानो लुगा पनि छ भनेको हैन खै त ?
रामराजा : खै एक बोरा दिए के के छ थाहा नै भएन । ला कान्छी यो घाँगर त तँलाई ठिक हुन्छ जस्तो छ । यो सर्ट चैँ मै लगाउँछु ।
रामराजा सर्ट लगाउँछ र रामनामीको गलबन्दी घाँटीमा बेर्छ । हेलीकप्टरको आवाज आउन बन्द हुन्छ । पाँच सात जनाको एउटा हुल टहरो भएतिर आउँछ । तुलसा मान्छेको हुल आफ्नै घरतिर आएको देखेर खुसी हुँदै आमालाई बोलाउँछे ।
तुलसा : आमा ए आमा । बाहिर आउनुस् न नयाँ मान्छेहरू हाम्रो घरमा आउँदै छन् ।
सुभद्रा काखमा प्रदीपलाई बोकेर बाहिर निस्कन्छे ।
सरस्वती गुन्द्री बोकेर आउँछे आमा सँगै र भुँइमा गुन्द्री ओछ्याउँछे ।
सुभद्रा : हैन को आए नयाँ मान्छे ?
तुलसा : ऊ…… उता हेर्नुस् न ।
सुभद्रा : लौ जो आए नि आवोस् ! जो आए पनि हाम्रा लागि आउने हैनन् । कौवालाई बेल पाकेर न हर्ष न बिस्मात । बरु जा न ए तुलसा, अस्तिनै राहत बाँड्न आउनेहरूले दिएको सिटामोल कहाँ छ खोज त ! भाइलाई त हनहनी ज्वरो आएछ ।
तुलसा सिटामोल लिन टहरोभित्र जान्छे ।
सुभद्रा प्रदीपलाई गुन्द्रीमा सुताउँछे । एउटा सामान्य ओड्ने ओढाउँछे । र आफू एक छेउमा बस्छे ।
नजिकै गएर सरस्वती र पार्वती पनि बस्छन् ।
अगेनुमा आगो निभेर धुवाँ आइरहेको छ । रामराजा आगो फुकेर बाल्न खोज्छ । तर आगो बलिरहेको हुँदैन । धुवाँले आँसु खसाल्दै रामराजा आँखा मिच्छ ।
रामराजा : लौन ए कान्छी ! आगो त निभ्यो है । सल्किँदै सल्किएन । मैले त मरिगए पनि सकिन सल्काउन ।
सरस्वती : होस् न त काका ! अहिले छोडनु । धुवाँ मात्रै भयो बेकारमा । एकछिनपछि खाना बसाल्नुपर्छ म फुकौँला ।
तुलसा भित्रबाट सिटामोल र पानी लिएर आउँछे ।
सुभद्राले प्रदीपलाई सिटामोल खुवाउँछे ।
सुभद्रा : हैन एक्कासी कस्तो हनहनी ज्वरो आएको छ । चिसो छ, भनेको मान्दैन, एकछिन घरमा बास हुन्न सन्चो हुँदा । कहाँ कहाँ कुद्ने हो ?
दुई तीन जना कार्यकर्ता र एक दुई पत्रकार लिएर जगत्मान त्रिपालको छेउमा आइपुग्छ । सबैलाई पालो पालो नमस्ते गर्छ । सबैले जगत्मानलाई नमस्ते फर्काउँछन् ।
जगत्मान : नमस्ते है नमस्ते । सुभद्रा भाउजूको घर होइन ?
सुभद्रा : हजुर हो । तर हामीले त तपाईँलाई चिन्न सकेनौँ ।
ज्गत्मान : कस्तो बिर्सनु भएको त हजुरले ! म जगत्मान के त । अस्तिनै चुनावमा आएको थिएँ नि भोट माग्न । सायद बिर्सनुभयो होला हजुरले । कामरेड धर्म र म त लामो समय सँगै एउटै क्षेत्रमा काम पनि गरेको । पछि पो थापाएँ पापी भूकम्पले उहाँलाई पनि छोडेन छ । साह्रै असल हुनुहुन्थ्यो उहाँ के गर्नु लगिहाल्यो ।
जगत्मान बनावटी आँसु झार्न खोज्छ ।
सुभद्रा : खै भोट माग्न त धेरै आए । को आयो को गयो थाहै भएन । तर भुँइचालोपछि चैँ कोही आएन । चुनावमा पो भोट चाहिएको थियो र घरघर आउँथे । अब अहिले त सहयोग माग्छन् भनेर पनि आउँदैनन् ।
ज्गत्मान : परिस्थितिले त्यस्तै बनायो भाउजू । अब त्यस्तो हुन्न । के छ भन्नुस् न मैले के सहयोग गर्न सक्छु ? के भयो उहाँलाई ? को हो ?
जगत्मान सुतिरहेको प्रदीपलाई देखाएर सोध्छ ।
सुभद्रा : यो कान्छो छोरो हो । दुई दिनदेखि ज्वरो आएर थला परेको छ । लौन सक्नुहुन्छ भने उपचारको लागि सदरमुकामसम्म लान पाए हुन्थ्यो । त्यती सहयोग गरिदिनु न ।
जगतमान : ओहो ! लान त हुन्थ्यो भाउजू हामी त यहाँबाट अर्को गाउँमा जान्छौँ । फेरि सिट पो छ कि छैन ! कसो गर्ने होला ?
यसैबिचमा पत्रकार क्यामेरा लिएर अगाडि आउँछ र भिडियो खिच्न थाल्छ । जगत्मानसँग अरू सबै आ–आफ्नो मोबाइलबाट पछाडिको त्रिपाल र टहरो देखिने गरि सेल्फी खिच्न थाल्छन् ।
बिनोद क्यामेरा अगाडि उभिएर बोल्न थाल्छ ।
बिनोद : आदारणीय दर्शक महानुभावहरू आज हामी तपाईँहरूलाई भूकम्प पीडितहरूको बस्तीबाटै उहाँहरूको अवस्थाका बारेमा रिपोटिङ गरिरहेका छोँ । पछिल्लो समय सरकारले भूकम्प पीडितहरूका लागि न्यानो कपडा किन्न भनेर रु दश हजारका दरले प्रत्येक परिवारलाई पैसा बाँडेर राम्रो काम गरेको छ । आउनुहोस् आज हामी तपाईँहरूलाई पीडित जनताका कुरा सुनाउँछौँ ।
बिनोद रामराजालाई यता आउनुस् त भनेर बोलाउँछ ।
रामराजा : म ? के बोल्नु मैले त ?
लजाउँदै र डराउँखै रामराजा बिनोदको छेउमा पुग्छ । बिनोद माइकको बुम तेर्साउँदै सोध्छ ।
बिनोद : तपाईँलाई कस्तो लागि रहेको छ ?
रामराजा : म ला ई त …… रमाइलो लागि राहेको छ ।
बिनोद : चिसोबाट बच्नको लागि के गर्नुभएको छ ?
रामराजा : चिसोबाट बच्न ?
बिनोद : हजुर चिसोबाट बच्न ।
रामराजा : चिसोबाट बच्न …… आगो तापेको छु । यी लुगा लगाएको छु ।
रामराजा अघि लगाएको लुगा देखाउँछ ।
बिनोद : आदारणीय दर्शक महानुभावहरू ! तपाईँ हामीले सोचेको भन्दा धेरै राम्रो स्थिति देखियो भूकम्पपीडित बस्तीमा, देखिहाल्नुभयो जनता कसरी आफैँ सुरक्षित भएर बसेका छन् । आउनुहोस् अर्को एक जना सानी नानी हामीसँग हुनुहुन्छ हामी उहाँसँग कुरा गरौँ ।
बिनोद सरस्वती तर्फ जान्छ ।
बिनोद : तपाईँको नाम के हो ?
सरस्वती लाज मानेर पार्वती भएको तिर जान्छे ।
सरस्वती : मेरो नाम सरस्वती हो ।
बिनोद : तपाई कति बर्षकी हुनुभयो ?
सरस्वती : म १२ बर्षकी भएँ ।
बिनोद : भूकम्पले गर्दा तपाईँको घर भत्किएको छ बुबा बित्नुभएको छ । तपाईँले कस्तो महसुस गर्नुभएको छ ।
सरस्वती केही बोल्न सक्दिन । एकछिन आमाको मुख हेर्छे, एकछिन भाउजूको मुख हेर्छे । सुभद्रालाई सोध्छ ।
बिनोद सुभद्राको छेउमा जान्छ । माइक उसैगरि तेर्साएर सोध्छ ।
बिनोद : के छ तपाईँको अवस्था ?
सुभद्रा : अब के छ भन्नु ! के छैन भन्नु ! तपाईंले देखी रहनुभएकै छ नि । घर भत्कियो यही घरले थिचेर लोग्ने मरे । भएभरको अन्नपात सबै पुरियो । गाईवस्तु पनि पुरिएर मरे । राहतको नाममा पाँच पोका चाउचाउ पायौँ । अब के छ भन्ने के छैन भन्ने ?
बोल्दाबोल्दै सुभद्रको भक्कानो फुट्न खोज्छ ।
बिनोद : साह्रै दु:खद घटना भयो । आदरणीय दर्शक महानुभावहरू, धेरैको बिजोग भएको छ । चिसोले धेरै भूकम्पपीडितहरूको ज्यान गएको छ । तपाईँले चैँ यो जाडोमा कस्तो महसुस गर्नु भएको छ ।
सुभद्रा : जाडोमा जाडो महसुस गरेको छु नि कस्तो महसुस गर्नु ।
बिनोद : आइ मिन । मैले भन्न खोजेको सरकारले न्यानो कपडा किन्न दश हजारका दरले पैसा दियो तपाईँले कपडा किन्नुभयो त ?
सुभद्रा : पैसा पाएको भए पो किन्नु पैसै पाएको छैन केको किन्नु । सरकारले आफ्नै मान्छेलाई मात्रै दियो होला खै हामीलाई त दिएको छैन ।
बिनोद : अब प्रसङ्ग अलि बदलौँ । भूकम्प जाँदा तपाईँलाई याद थियो कसरी सुरक्षित रहने भन्ने ?
बिनोदको बकम्फुसे कुराले सुभद्रालाई रिस उठ्न थाल्छ । छेउमा भएकी पार्वतीलाई पनि बिनोदको कुरा गर्ने तरिका देखेर रिस उठेर आउँछ । पार्वती हातले बिनोदको माइक हटाउँदै बोल्छे ।
पार्वती : हैन के के सोध्न आउनुभएको हो तपाईँ ? उहाँ मेरो सानु देवर सिटामोल खान नपाएर मर्ने अवस्थामा छन् । एस.एल.सी दिनु पर्ने एउटी नन्दको पढ्ने किताब छैन । अर्की नन्द किताब नभएर स्कूल जान पाएकी छैनन् । म सुत्केरी भएको सात महिना भयो । चिसोले कठ्याङ्ग्रिएर मेरो नाबालक छोरो मर्ने अवस्थामा छन । तपाईँहरूलाई मजाक लागेको छ ?
बिनोद : नरिसाउनुस् न । तपाईँ त आवेगमा पो आउनुभयो त ?
पार्वती : के सान्त्वना बाँड्न आउनुभएको हो तपाईँहरू यहाँ ? आज कति महिना बित्यो भुइँचालो गएको ? कहाँ हुनुन्थ्यो तपाईँ पत्रकारहरू ? आज हेलिकप्टर चढेर नेतासँग घुम्नको लागि आउनुभएको होइन तपाईँ ?
बिनोद माइक आफूतिरै फर्काएर पार्वतीलाई बिचैमा रोक्दै बोल्छ ।
बिनोद : आदारण्ीाय दर्शक महानुभावहरू समयमै राहत नपाएकोमा केही पीडितहरूको अझै पनि सरकारसँग गुनासो रहेको तपाईँहरूले देखिहाल्नुभयो । अब हामी यसै निर्वाचन क्षेत्रका माननीय सभासद् तथा पूर्वमन्त्री श्री जगत्मान थापाजीलाई सोध्न चाहन्छौँ । तपाईँले आफ्नो क्षेत्रका मतदाताहरूको लागि केकस्तो सहयोग गर्नुभयो र अब केकस्तो सहयोग गर्नुहुन्छ ?
जगत्मान : धन्यवाद यो प्रश्नको लागि । मेरा लागि सबै जनता बराबर हुन् । मैले सुरुदेखि नै रहत वितरणदेखि लिएर सबै काममा उहाँहरूलाई हरेक तवरबाट सहयोग गर्दै आएको छु र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिद्धता जनाउँछु ।
बिनोद : हजुरले धेरै पटक आफ्नो क्षेत्रमा गएर राहत बाँढ्नुभयो । यो पटक चिसोबाट प्रभावितहरूलाई त्यस्तो के वितरण गर्दै हुनुहुन्छ ।
जगतमान : पहिला म मन्त्री थिएँ मैले सकेसम्म आफ्नै क्षेत्रमा राहत वितरण गरौँ भनेर लागेकै हो । अब अहिले मन्त्री नभए पनि म उहाँहरूसँग यो दु:खमा सँगै छु । मैले गर्न सक्ने कुरा चैँ अब तपाईँको अहिले केही किलो दाउरा सहयोग गर्न सक्ने अवस्थामा म छु । जसलाई बालेर यहाँहरू न्यानो महसुस गर्न सक्नुहुन्छ ।
बिनोद : अहिले तत्काल तपाईँले के गर्न सक्नुहुन्छ यी साना साना नानीहरूलाई ?
जगतमान : मैले यी नानीहरूको लागि पनि केही व्यवस्था गरेको छु । बाबु त्यो चक्लेटको प्याकेट लेऊ त यी नानीहरूलाई दिन पर्यो ।
जगत्मानको पी एले एउटा चकलेटको प्याकोट दिन्छ । जगत्मानले छेउमा उभिएका नानीहरूलाई चकलेट बाँड्छ ।
बिनोद : दर्शक महानुभावहरू तपाईँ दृश्यमा देख्दै हुनुहुन्छ । माननीय जगत्मान थापा भूकम्पपीडित बालबालिकाहरूलाई चकलेट बाँड्दै हुनुहुन्छ ।
जगतमान : लौ त नमस्कार है । अहिलेलाई बिदा पाउँ भाउजू । एकैछिन पारि गाउँसम्म पनि पुग्नु छ र भरे नै काठमाडौँ उँड्नु छ । हामी सरकारमा नभए पनि तपाईँ पीडितहरूसँगै छौँ ।
जगत्मान लगायतका सबै फर्कन्छन् । सबै मुखामुख गर्छन् ।
पार्वती : खुब हेलिकप्टर चढेर आएँ भनेर देखाउन आएको होला ?
सुभद्रा : त्यही त चकलेट बाँड्न आएको होला नि ।
गुन्द्रीमा सुताएको प्रदीप एक्कासी खोक्न थाल्छ । सबै अत्तालिएर प्रदीपको छेउमा पुग्छन् ।
पार्वती : चिसो साह्रै लागे जस्तो छ आमा बाबुलाई । अस्पताल लिएर जाने पो हो कि ?
तुलसा : अस्पताल लैजान पर्छ होला आमा भाइलाई ।
खोक्दाखोक्दै प्रदीप चिसो हुँदै जान्छ ।
पार्वती : लौन कस्तो चिसो हुनुभयो बाबु त ? लौन के गर्ने ?
सुभद्रा : लौन कसैलाई बोलाएर अस्पताल लैजान पर्यो ।
रामराजा : कसलाई बोलाउने होला है ? कान्छी कसैलाई बोला न । भाइलाई गाह्रो भै सक्यो ।
तुलसा आँगनको डिलबाट तल्लो घरको काकालाई बोलाउँछे ।
तुलसा : ए माइला काका । काका हो । झट्टै आउनु न । भाइलाई अस्पताल लान पर्यो ।
सुभद्रा : लौन पार्वती के भयो प्रदीपलाई, हेर न आँखै हेर्दैन । कान्छा, प्रदीप, बाबु बोल् न, आँखा हेर् न कान्छा ।
तुलसा : भाइ ! ओ भाइ । बोल न ।
हस्याङफस्याङ गर्दै माइला काका आइपुग्छन् ।
काका : हैन के भयो एक्कासी कान्छोलाई ? कान्छा, ए कान्छा, प्रदीप, के भएको एक्कासी यस्तो ?
माइला काकाले नाडी छाम्छन् मुटुको चाल सुन्छन् बोलाउँछन् । नाकमा हात राखेर सास फेरेको नफेरेको हेर्छन् ।
सुभद्रा आत्तिएर रुन्चे स्वरमा बोल्छे ।
सुभद्रा : तीन चार दिन भयो राती राती ज्वरो आएको । बिहानबाट त निस्लोट परेको छ । अहिले एक्कासी खोक्यो साह्रैसँग त्यसपछि केही छैन । अगिसम्म त आँखा हेर्दैथियो ।
सबै प्रदीपको छेउमा जम्मा हुन्छन् । अस्पताल लाने भन्दाभन्दै प्रदीपले एकनासले लामो खोकी खोक्छ । हिक्क हिक्क गर्छ र मुख आँ पारेर बाउँछ । आँखा ठुल्ठुला पारेर हेर्छ । एक्कासी आँखा चिम्लन्छ र मुख पनि बन्द हुन्छ ।
काका : ए अलिकति पानी देओ न ।
तुलसाले नजिकै भएको पानीको गिलास काकालाई दिन्छे । काकाले अलिकति पानी प्रदिपको मुखमा हालिदिन्छन् । प्रदीप हल न चल हुन्छ ।
सुभद्रा : के भो कान्छा ? लौन के भो यसलाई ।
काका : ल अलि उता उता सर तिमीहरू । बैकुण्ठमा बास होस् । छोटो दिन लिएर आएको रैछस् । जा बैकुण्ठ जा । हामीले तँलाई बचाउन सकेनौँ ।
सुभद्रा प्रदीपलाई अँगालो हालेर रुन थाल्छिन् । तुलसा, सरस्वती र पार्वती पनि डाँको छोडेर रुन थाल्छन् । आँगनमा रुवाबासी चल्छ ।
सम्झाउने मान्छेसमेत छैन । माइला काकाले टोपी निकालेर भुइँमा राख्छन् । रामराजाले आफ्नो घाँटिबाट रामनामीको कपडा निकालेर प्रदीपलाई ओडाइदिन्छ । आँगनमा एक किसिमको सन्नाटा छाउँछ ।