रमेश शुभेच्छुको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी विविध ढङ्गले साहित्य सेवामा समर्पित प्रतिभा हुन् । विविध विषयमा उनी सक्रिय भएपनि कविता र समीक्षामा भने उनको विशेष समर्पण रहेको देखिन्छ । यहाँ उनको लघुसमीक्षालाई प्रस्तुत गरिएको छ । -सम्पा. |
विषय प्रवेश
कलानिधि दाहाल (२०२६) नेपाली साहित्य र शिक्षाक्षेत्रमा सुपरिचित प्रतिभा हुन् । शिक्षासेवाबाट अवकाश लिएपछि उनी निरन्तर साहित्य साधनामा संलग्न छन् । उनको पछिल्लो कृति आफै भए सुन्दर समकालीन कविता कृतिहरूमध्ये नाम लिनु पर्ने कृति हो । नेपाली साहित्यकार विश्वसञ्जालको प्रकाशनमा सार्वजनिक भएको यस कृतिका मूल विशेषताहरूको पहिचान यस लघुसमीक्षाको उद्देश्य हो ।
आफै भए सुन्दरको अन्तर्य
कलानिधि दाहालको आफै भए सुन्दर (२०७८) उल्लेख्य कविता कृति हो । डा. गोविन्दराज भट्टराई, डा. घनश्याम न्यौपाने परिश्रमी, ड. देवी नेपाल, प्रकाशकीय र लेखकीयसहित १७० पृष्ठमा संरचित यो कृति उनका कवितायात्राको पछिल्लो उपलब्धिका रूपमा प्राप्त छ । दाहालले मुक्तकदेखि फुटकर कविता, खण्डकाव्य र महाकाव्यसम्मका कवितात्मक उपविधामा अभ्यास गरिसकेका छन् । उनको कवितायात्रामा यो पछिल्लो कला र भावलाई निकै सशक्त ढङ्गले संयोजन गर्ने कविता कृति हो ।
प्रस्तुत कविताकृतिमा विविध विषयक्षेत्रका कविता समेटिएका छन् । यस सङ्ग्रहमा हुन्नन् यी विश्वासमा, के के कता के गरुँ, सत्यांश छेकिन्न त्यो, साउन, यो बेला, बिर्सिन हिँड्नु कहीँ, छन् मेरा शिरमा, आऊ नयाँ पालमा, मान्छे स्वयम् देउता, संसार नै सार हो, अर्को छ के झल्मल, लागिरहेछ यस्तो किन, सन्नाटा, आफै भए सुन्दर, हो सुन्दरै सुन्दर, चाहिन्न चाहिन्न भो, बाल्यबस्था, यो होइन मेरो घर, के चाहिए अन्य यी, सम्झेर छु तल्लय, देश हो मृत्युको घर, रित्तो छ मेरो घर, हलचल छ यौटा नयाँ, को को को म भनूँ ? जस्ता शार्दुलविक्रीडित छन्दको एउटा अंशलाई नै कविताका शीर्षक बनाइएका ८९ वटा कविता समेटिएका छन् । यी कविताको विषयक्षेत्र र भावभूमि अलग अलग भए पनि सबै एकै लयमा संरचित छन् । एकै लयमा संरचित हुँदा यी कविताहरू निकै सरस र पढ्न थालेपछि पढिरहुँ लाग्ने खालका छन् ।
नेपाली कविता परम्परामा आदिकवि भानुभक्त आचार्यले रामायणमा प्रयोग गरी नेपाली लोकजीवनमा लोकलयसरि सहज र सम्प्रेष्य बनाएको शार्दूलविक्रीडित छन्दलाई धेरै कविहरूले पछ्याएका छन् । ती धेरैमध्ये एक र सफल प्रयोक्ता कलानिधि दाहाल हुन् । उनको यस पछिल्लो कविताकृतिमा समेटिएका एकै लयका कविता पढ्दा साँच्चै यो शार्दूलविक्रीगित छन्द लोकछन्दझैँ प्रिय छ भन्ने लाग्छ । यस सङ्ग्रहका कविताले देशभक्तिको स्वर सुसेल्दा होस् वा प्रेमप्रणयका भाव अभिव्यक्त गर्दा होस् लोकलय वा गद्य कवितामा जस्तै सहज भाव अभिव्यक्त गरेको पक्ष निकै लोभलाग्दो छ ।
यी कवितामा कलाको उच्चता वा कला कलाका लागि भन्ने रटान मात्र गरिएको छैन । कलालाई कलाका रूपमा सम्मान गर्दै सामाजिक विकृति विसङ्गतिको भण्डाफोर गरिएको छ । हामीले देखेको भोगेको र बुझेको राजनीतिक विचलनको भण्डाफोर निकै जीवन्त रूपमा गरिएको छ । त्यसै गरी मानवीय मूल्यको खोजी पनि त्यत्तिकै जीवन्त रूपमा गरिएको छ । हामीले भोगिरहेको विकृत समाजका असङ्गतिको उद्घाटन गर्दै पुन: सामाजिक मूल्यको खोजी कति पनि लयमा कसर नराखी गरिएको छ । दाहालको झर्रो खरो भाषाशैलीले कतै कतै बिझाए पनि यी कविताको आस्वादन गरिरहँदा उति गुनासो लाग्दैन ।
प्रस्तुत सङ्कलनका कवितामा वैचारिक आग्रह समेटिएको छ नै तर त्यो भन्दा पनि भाव र कलाको उच्च संयोजन प्रयत्न छ । केहीबाहेक प्राय: कोमल पद र पदावलीको प्रयोगबाट विचारको प्रवाह यी कविताको विशेषता हो । कवितामा रहेको कठोर र कोमल दुवै पक्षलाई लयले पोया मिलाई मिलाई कसिलो गरी बाटेको अवस्था प्राय: कवितामा छ । लाग्छ यसरी नै लय र भाव एवम् विचार उन्ने हो भने नेपाली कविताको वर्तमान शास्त्रीय लयढाँचामै बाँच्न सक्छ ।
कलानिधि दाहाल झर्रो भाषाशैलीको प्रयोग गर्न रुचाउने र स्थानिकता एवम् कथ्य बोलीलाई कवितामा अटाउन प्रयत्न गर्ने कवि हुन् भन्ने पक्ष यहाँ समेटिएका विविध कविताले देखाउँछन् । सूक्ष्म दृष्टिले हेर्दा ठाउँ ठाउँमा कथ्य भाषाको प्रयोग केही खड्कँदो विषय भए पनि कविताहरू सुन्दर छन् । मानव जीवनका रहस्यहरूको खोजी, शृङ्गारिक चेतना र त्यस्तो चेतनाका अभिव्यक्तिमा नारीका वाह्य र आन्तरिक पक्षको शालीन र श्लिल सौन्दर्य चित्रण निकै आकर्षक लाग्छ ।
प्रस्तुत कवितामा माथि उठाएका विषयबाहेक विविध पक्ष समेटिएको छ । मानिसका इष्र्या, डाहा, चिन्ता, द्वेष। जस्ता दुर्गुणप्रति घृणा र तिनको अन्त्यले मानिसलाई देवका गुण हुने विचार पनि राखिएको छ । मानिसका कमजोरीमाथि सिस्नुपानी लगाउने गरी व्यङ्ग्य गर्न कवि दाहाल निकै माहिर देखिन्छन् । यी व्यङ्ग्यको अन्तर्यमा उनको प्रवृत्ति सुधार हुनुपर्छ भन्ने चेतना निकै प्रबल छ । संस्कृतिका बहुआयामसँगै प्रकृति चित्रणमा उनी स्वच्छन्दतावादी कविहरूका प्रभावमा देखिन्छन् । प्राकृतिको मानवीकरण, प्रकृतिक रहस्यको खोजी, प्रकृतिका स्त्रीरूपको चित्रण र प्रकृतिलाई ज्ञानशालाका रूपमा र मनोरञ्जनकाका रूपमा लिन कवि दाहाल निकै सफल छन् ।
कविता कलात्मक रहे पनि विचारका दृष्टिले नेपाली राजनीति उनका कलमको विपरीत देखिएको छ । राजनीतिका टाउकामा र त्यसका टाउकेहरूका उनका कविताको प्रहार निरन्तर निरन्तर प्रवाहशील छ । यस सङ्ग्रहका सबैजसो कवितामा कविभित्रको म निकै सशक्त रूपमा बलशाली आवाज अभिव्यक्त गरिरहेको भेटिन्छ । जस्तै :
नारामा नबिकूँ हुने कवि भए हुन्नन् त्यता क्वै कवि
हल्लामा नबिकूँ हुने कवि भए हुन्नन् त्यता क्वै कवि
नाङ्गा भोज भतेरमा नहिँडिद्यौँ हुन्न् त्यता क्वै कवि
तिघ्रा नाच नचाई कुण्डल भिरी हुन्न् त्यता क्वै कवि । पृ. १५४
प्रस्तुत साक्ष्यमा कवि भित्रको स्वाभिमान र झर्रो कथ्य प्रयोगको आस्वादन गर्न सकिन्छ । यी कवितामा माथिका विभिन्न विषयसँगै अध्यात्म र भौतिक वादको द्वन्द्व पनि छ । यो पक्ष पनि कवितामा निरन्तर देखिइरहेको हुन्छ । प्रय: अनुप्रास, उत्प्रेक्षा, रूपक उपमा आदिका सिर्जनामा कवि जमिरहेका हुन्छन् । परम्परित र नेपाली मौलिक विम्ब चयनमा पनि निकै रुचि राख्दै तिनको संयोजन पक्ष सबल पारेको देखिन्छ ।
निष्कर्ष
कलानिधि दाहालको आफै भए सुन्दर कविताकृतिमा समेटिएका कविताको मूल स्वर राष्ट्रियचेतना, शृङ्गारचेतना, प्राकृतिक चेतना, सांस्कृतिक चेतना, मानवीय संवेदना र संवेगका अभिव्यक्तिमा केन्द्रित छन् । एकै छन्दमा विविध भाव र विचारको कलात्मक सम्प्रेषण प्रस्तुत सङ्ग्रहका कविताको मूल विशेषता हो । झर्रो र स्थानीय रङसहितको भाषाशैलीमा, सरल सहज विम्ब र केही रूपक, उत्प्रेक्षा, उपमा जस्ता अलङ्कारको र विषयवस्तुअनुसारको रसप्रतिपादनसहित विचार र कविता कलाको संयोजन यी नेपाली कविता परम्परामा डिल्लीराज अर्याललगायत केही कविले एकै छन्दमा रचिएका कवितालाई सङ्ग्रह बनाउने अभ्यास गर्दै आएकामा यस संग्रहले यस्तो अभ्यास निकै उपयोगी हुने देखाएको छ । यस कृतिलाई रसपरक, अलङ्कारपरक, लयविन्यासपरक, वक्रोक्तिपरक, ध्वनिपरक आदि पूर्वीयकाव्यशास्त्रीय काव्यकलागत अन्ध्यन गर्न सकिने देखिन्छ ।