रुद्र बराल भारतीय नेपाली साहित्यकार हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको ‘काठको झ्याल’ शीर्षकको कविता समेटिएको छ । |
मेरो घरको माथिल्लो तलामा
एउटा काठको झ्याल छ
पुर्खौली इतिहासको साक्षी
म त्यो झ्याल कहिल्यै बन्द गर्दिनँ
यद्यपि यसलाई हजुरबाले कहिल्यै खोलेनन्
बुबाले सानो दुलाबाट चिहाए
बाहिरको उज्यालो अनि किञ्चित् रोमाञ्चित भए
त्यसबेला उनीहरूलाई
उज्यालाको त्यति खाँचो भएन आज जति मलाई
उज्यालो आफै पस्यो आफै बस्यो
त्यो झ्याल त्यहीँ
तर त्यो हिजोआज बन्द हुँदैन
अष्टप्रहर खुल्ला रहन्छ ।
त्यही झ्यालबाट म बाहिर हेर्छु
त्यही झ्यालबाट आएको हावामा सास फेर्छु
झ्यालबाहिर विचित्रको संसार छ
मान्छे छन्,
गाउँ छ,
ठुलो सडक,
घरमाथि घर।
मोबाइलको टावरमाथि बसेर
ढुकुरहरू प्रेमालाप गर्छन्
अनि एउटा बौलाहा नदी
कहिले फुक्छ बेस्सरी,
कहिले सुक्छ ख¥याङ्ङ
हेरिरहन्छु ।
हिजोभन्दा आज
आजभन्दा भोलि
दृश्यहरूमा द्रुत परिवर्तन हुँदैछ,
परिवृत्त बदलिँदैछ
अट्टालिकाहरू झुल्कनासाथ
रुखहरू अस्ताउँदै जाँदैछन्
घामको ज्योतिमा
आकाशबाट तारा बिलाएझैँ
सहर दुर्योधनको सभामा द्रौपदीझैँ नाङ्गिँदैछ।
लक्जरी कारका काफिलाहरूले
सभ्यता विकासको पर्जापत्र बाँडिरहेको
हजुरबाको लामागरे खेतमा उभिएको
उद्योगको चिम्नीले
एकमुस्लो कालो धुवाँको
कोसेली छिराइदिन्छ झ्यालबाट ।
नगरनिगमको माइकले सुनाउँछ
एसओपीको लामो तालिका –
नयाँ रोग आएको छ
यसो गर्नू
उसो नगर्नू
घरमै बस्नू ज्यान जोगाउन ।
अङ्कगणित पढाउँछ छोरो
ऊ त झन झ्याल सानो भयो
तोड्नु पर्छ भन्छ ।
झ्याल नभए कहाँ बाँच्नु बुबा ?
उसको अङ्कगणित पनि उदेकको छ नानी !
जहाँ विकास र पर्यावरणको छत्तिसको आँकडा छ ।
यी दुईलाई
कहिल्यै समानताको चिह्नको
दुईतिर बसाउन सकेन छोराले ।
हिजोआज झ्याल खोल्नुभन्दा
बरु अँध्यारामै बस्न रुचाउँछु म
सहृदय पाठक !
यसलाई मेरो बुढेसकालको रोग नठान्नुहोस्
रोग त पृथ्वीलाई लाग्दैछ –
पर बस्नुहोस्। सर्ला हजुरलाई ।