गोविन्द गिरी प्रेरणा नेपाली साहित्यमा बहुविध ढङ्गले समर्पित प्रतिभा हुन् । उनका विभिन्न विधाका दर्जनौँ कृति प्रकाशित छन् । साहित्यसागरमा उनको परिचय समेटिइसकेको हुँदा यहाँ सारभूत परिचयसहित उनको सुप्रसिद्ध साहित्यकार पारिजतसँग २०४७ साल श्रावण १७ गते पारिजात निवास म्हैपीमा लिएको ऐतिहासिक अन्तर्वार्तालाई समेटिएको छ । ‘पारिजातसँग कुराकानी’ शीर्षकमा प्रस्तुत यस अन्तार्वार्ताका विषयमा प्रेरणाको वर्तमान धारणा यस्तो रहेको छ : प्रस्तुत अन्तर्वार्ता नेपाल राष्ट्र बैङ्कको पत्रिका मिर्मिरेका लागि मैले लिएको थिएँ । त्यतिवेला अन्तरवार्ता लिनेलाई पारिश्रमिकको ब्यवस्था थियो, तर अन्तर्वार्ता दिनेलाई पारिश्रमिक दिने प्रचलन थिएन । त्यसबेला मैले मिर्मिरेकी तत्कालीन सम्पादक चन्द्रा ठकुरीलाई अनुरोध गरी अन्तर्वार्ता दिनेलाई पनि पारिश्रमिक दिने निर्णय गराएँ र एक प्रति मिर्मिरे र पारिश्रमिक लिएर मैह्पीस्थित पारिजातको निवासमा गएको मलाई सम्झना छ । मैले पत्रिका र पारिश्रमिक दिएपछि उनले सहर्ष स्वीकारेको र पत्रिकामा प्रकाशित अन्तरवार्ता पूरै पढेपछि “प्राय मेरो अन्तरवार्ता लिनेहरूले बङ्ग्याएर छाप्छन्, नभएका कुरा पनि थपिदिन्छन्, तर तपाईंले त कस्तो दुरुस्त छाप्नुभएछ” भनेर धन्यावाद दिएको पनि सम्झन्छु । यस अन्तवार्ताले पारिजातका जीवन र सिर्जनाका विभिन्न पक्षलाई उजागर गरेको छ । -सम्पा. |
२०४७ श्रावण १७ शनिवार म्हैपी
तपाईंलाई साहित्यप्रति कसरी अभिरुचि जागृत भयो, त्यसको सम्झना छ ?
स्वतन्त्र अध्ययन असाध्य थियो । पढ्थेँ । सकभर कोर्सबुकलाई पनि लत्याएर फाल्तु पुस्तकहरू नै पढ्थेँ । त्यसैले मलाई लेखनतिर लाग्न अन्तरचेतना जागृत भयो होला ।
यो कहिलेतिरको कुरा हो ?
हामीलाई कक्षा ७ देखि पुस्तकालयको सदस्यता पाइन्थ्यो (दिइन्थ्यो) । त्योभन्दा अघि बाहिरवाट पनि पढिन्थ्यो । सदस्यता पाएपछि स्कुलवाटै त्यो सुविधा पाइयो । विशेष अङ्ग्रेजीका ससाना उपन्यासहरू पढिन्थ्यो । हिन्दी क्लासिकल ल्याङ्ग्वेजको रूपमा अनिवार्य नै थियो । त्यसले गर्दा हिन्दी नवुझ्ने कुरै भएन । अमृता प्रितम, के मुन्सी , प्रेमचन्द पढ्न पाइयो । प्रेमचन्द त कोर्समै थियो । त्यसबाहेक त्यतिखेरको शैक्षिकस्तर धेरै माथि थियो । अङ्ग्रेजीमा वर्डस्वर्थ, शेली, व्राउनिङ्ग, हिन्दीका पन्त निराला कोर्समै पढिन्थ्यो । त्यसबाहेक के चस्का लाग्यो भने कुशवाहाकान्त, प्यारेलाल आवारा, शरदचन्द चट्टोपाध्याय आदिका कृतिहरू पनि पढ्थेँ । १० कक्षासम्म पुग्दा म अध्ययनको खानी भैसकेकी थिएँ । सबै त्यसरी पढ्दैनथे । म बढी पढ्थेँ । मलाई पास हुन मात्रै पाए पुग्थ्यो । प्रथम हुने महत्वाकाङ्क्षा थिएन । घरमा हिसाब, विज्ञान, अङ्ग्रेजी भाषामा जोड दिनुपर्ने र डाक्टर हुनुपर्ने वाध्यताको सिकार थिएँ । त्यसो गर्दा मलाई टुलो मानसिक यातना हुन्थ्यो ।
त्यस्तो फाल्तु पुस्तक पढ्दा घरमा वाधा दिँदैनथे र ?
(बाधा) हुन्थ्यो । हामी किताव लिएर वन जङ्गल, उन्युघारीतिर लुकेर पढ्थ्यौँ । विदाको दिन त्यसो गरिन्थ्यो । घरमा पनि वाहिर कोर्सबुक र भित्र फाल्तु पुस्तक राखेर पनि पढिन्थ्यो । हामी वावु छोरी दु:खित मानसिक यातना खपिरहेका थियौँ । मेरो अटेरपनादेखि उहाँलाई यातना हुन्थ्यो, उहाँको वाध्यतादेखि मलाई यातना हुन्थ्यो ।
लेख्न सुरु गर्दाका स्थितिहरू कस्ता थिए ?
हाम्रो गाउँ दार्जीलिङ, लिम्बू वस्तीमा हस्तलिखित पत्रिकाहरू चल्थ्यो । अनि त्यहाँ लेख्यो भने छन्दमा लेख्नुपर्छ भन्ने, समाज सुधारको वारेमा मात्रै लेख्नुपर्छ भन्ने थियो । त्यसो गर्दा आफूभित्रको उकुसमुकुस त त्यत्तिकै रह्यो । त्यतिवेला १४।१५ की त थिएँ । उमेर कच्चा पर्यो । उमेर कच्चा भए पनि मानसिक उमेर निकै अघि वढ्यो । संसारमा कति कुरा वुझ्न सकिने स्थितिमा थिए । त्यसैले पहिलो प्रेमलाई त्यत्रो ठुलो धोखा हुने स्थिति पनि खपेँ । त्यतिखेर न डाक्टर हुने महत्वाकाङ्क्षा थियो न लेखक हुने । त्यतिखेर कहिले काहीँ कथाहरू लेखिन्थ्यो । तर चित्त वुझ्दैनथ्यो । निबन्धको भाषा शैली, सप्रसङ्ग व्याख्या इत्यादि राम्रो भएर प्रसंशा पाउँथेँ । यसरी साहित्यतिर उन्मुख भएँ होला भन्ने मेरो अहिलेको अनुभव छ ।
२०११ सालमा काठमाडौँ आएँ । आइएमा पढ्दा १२।१३ सालतिर मनको कुरा पोख्न सक्ने, अभिव्यक्ति गर्न सक्ने भएँ । कविता पनि लेख्न सक्ने भएँ । ती कविताहरू अहिले चित्त वुझ्दैन । केटाकेटी जस्तो लाग्छ ।
काठमाडौँ आएपछि पहिलो रचना कसरी प्रकाशित भयो ?
चित्तरञ्जन नेपालीले उत्साहित भएर कवितामा हात वसेजस्तो छ भनेर धरती मा छापिदिनुभयो । एउटा दुइटा गोष्ठीमा जाने मौका पाइयो । हिन्दी, अङ्ग्रेजी र नेपालीमा टल्सटाय, गोर्की, राहुल साङ्कृत्यायन, फ्रान्सेली र विशेष रसियाली उपन्यासहरू धेरै पढिन्थ्यो । त्यसैबेला कसैले लेख्न नसकेको वेजोड उपन्यास लेख्ने राक्षस महत्वाकाङ्क्षा पलायो । अनि त्यसपछि ४ वटा उपन्यासहरू लेखेँ । एउटा थियो सङ्घर्ष, अर्काे मानव अन्तरयामी, तेश्रो वरपीपल र चौथो थियो शारदा । तर तिनीहरूले पटक्कै चित्त वुझेन र हिउँदको एक विहान सल्काएर आगो तापियो । मेरो वाबुले त्यो देखेर खुब लेखेर खुब जलाइस् भनेर हाँस्नुभयो । कसले कसको मर्ममा छुन्थ्यो थाहा हुन्नथ्यो । त्यसैले अहिले एउटा कुनै पुस्तक लेख्ने वित्तिकै नछाप्ने म सल्लाह दिन्छु ।
अघि प्रेममा धोखा भएको कुरा भन्नुभएथ्यो, अलि विस्तार गरिदिनुहुन्थ्यो कि ?
त्यतिखेर प्रे पत्रको आदानप्रदान मात्र भयो । म बोल्न सक्दिनथेँ । धेरै अन्तरमुखी थिएँ । दार्जिलिङमा कस्तो थियो भने प्रेम गरेपछि होटल जाने, फिलिम हेर्न जाने एक किसिमको परम्परा जत्तिकै थियो । त्यसको निम्ति मेरो मानसिकता पटक्कै तयार भएन । अनि म प्र्रेमदेखि नै विसङ्गत हुन थालेँ । अर्काे डर मनमा पर्यो, विहा गरौँ भन्ला । अर्काको घरमा अर्काको आमावाबुको अदवमा भात पकाएर, भाँडा माझेर वस्नुपर्ला भनेर असाध्य कहाली लागेर आउने । अनि म एक किसिमले उनीदेखि पलायन हुन थालेँ । त्यसरी नै आखिर छाड्नुपर्ने भयो । त्यसपछि जति पनि मानसिक पीडा खपियो, अपराधबोध भयो । एकातिर माया छ, सुखी हुन सकिनँ ६।७ वर्षसम्म काठमाडौँमा । काठमाडौँ आएको सात वर्षपछि एउटा चिट्ठी लेखेँ उहाँलाई । जुन विश्वासघात गरेँ त्यसको क्षमाको लागि । क्षमा दिए पुग्छ, प्रेम अघि वढाउन खोजेको होइन भनेर । त्यसको जवाफ आएको थियो, त्यत्रो अपराध के नै थियो र क्षमा गर्ने ? त्यो सँगसँगै उहाँको बिहेको कार्ड पनि थियो । अनि २०१७ सालको असोज कार्तिकमा जलवायु परिवर्तनको लागि दार्जीलिङ गएकी थिएँ । उहाँसँग भेट गरेर कुराकानी भए । उहाँ एउटा छोरीको वाबु र एउटा ठूलै अफिसर भइसक्नु भएको रहेछ । उहाँले भन्नुभयो, तपाईंले जति यातना खप्नु भयो, मैले त्यो भन्दा वढी मानसिक यातना खपेँ र खप्दैछु । त्यसपछि भेटघाट भैरह्यो । कार्डहरू आइरहन्छ शुभकामनाका । त्यतिवेला उहाँले पहिलो श्रीमती तयार छ, विहे गरेर वसौँ भन्ने प्रस्ताव पनि गर्नुभाथ्यो । घर गृहस्थीको जिम्मा लिने आग्रह थियो । मलाई दोश्रोमा जानु भनेपछि नारी जातिकै लागि त्यो भन्दा ठुलो अपमान अरू क्यै लाग्दैन । एउटा लोग्नेलाई पनि के भाग लगाएर मायाँ गर्ने ? झुत्ती खेल्ने जस्तो लाग्यो । त्यसैले त्यो प्रस्ताव स्पष्ट अस्वीकार गरेँ ।
शिरिषको फूल कसरी लेख्नुभयो ?
धेरै सोचियो । के के सोचियो के के । एकपल्ट लेखेर चित्त वुझ्यो । मेरो त एकपल्ट जे लेख्यो त्यही सदर । काँटछाँट गर्ने कुरै थिएन । त्यसपछि आफू सन्तुष्ट भएर नै शङ्कर लामिछानेलाई भूमिका लेख्न पठाएको ।
शंकर लामिछानेलाई नै भूमिका लेख्न लगाउने इच्छा पछाडि के कारण वा उद्देश्य थियो ?
नेपालीमा आफूले मन पराएको लेखक कथाकार निबन्धकार त्यसैले ।
पिटर जे. कार्थथकको उपन्यास प्रत्येक ठाउँ प्रत्येक मान्छेलाई त उहाँले प्रशस्त पुनर्लेखन गर्न लगाउनुभयो भनिन्छ नि । तपाईंलाई त्यस्तो भन्नुभएन ?
वहाँले शिरिषको फूल असाध्य मन पराउनुभयो र प्रेरित हुनुभयो । त्यो उहाँको भूमिकावाट पनि थाहा हुन्छ ।
तपाईंको शिरिषको फूललाई सेटिङ सन सँग जोडेका पनि थिए र छन् नि ?
भन्न त कतिले चोरी, कार्वन कपी पनि भने । तर शिरिषको फूल लेख्दा मैले त्यो पढेकी नै थिइनँ । शिरिषको फूल पढिसकेपछि शङ्करदाइले त्यो उपन्यास ओसामु दाजाइको सेटिङ सन पढ्न दिनु भएको थियो, हेर तिम्रो उपन्यासको नायिकाको चरित्र कतै कतै मिल्छ भनेर ।
एक ठाउँमा कतै शङ्कर लामिछानेले सेटिङ सन अनुवाद गरेर पढ्नै नपर्ने भो भनेका छन् नि ?
मलाई त्यो थाहा भएन । उपन्यास लेख्न बस्दा अरू लेखकको ताजा असर पर्छ आफ्नो मौलिकतामा भनेर म तीन महिनादेखि नै क्यै पढ्दिनँ । उपन्यास त पढ्दै पढ्दिनँ । शिरिषको फूल अनुवाद गर्ने टङ्कविलास भार्या र सोन्ड्रा जेडस्टिन दुवै वुद्धिजिवीहरूले सेटिङ सन पढेका छन् । अरू थुप्रै काठमाडौँका वुद्धिजीविहरूले सेटिङ सन पढेका छन् । डाक्टर माइकल हटले पढेका छन् । हारुहितो नोजुले सेटिङ सन पनि पढ्नु भा छ र जापानीमा शिरिषको फूल अनुवाद गरौं भन्नुहुन्छ भने चोरीको त कुरै छाडौं मिल्ने मिल्ने पनि कुरा आएन । डा. यासुओ आवेले शिरिषको फूलको अँग्रेजी अनुवाद पढ्नु भयो र मैले नकुलकाजीले विश्वदीपमा सेटिङ सनको कार्वन कपी भयो भनेको छ भनेर सुनाउँदा यस्तो मूर्खतापूर्ण कुरा पनि कसैले गर्छ भनी मरी मरी हाँस्नु भयो ।
शिरिषको फूलका चरित्रहरू कसरी निर्माण गर्नुभयो ? कतै सकम्वरीमा तपाईंको छाया त देखा पर्दैन ?
मेरो प्रतिरूप त सकम्वरी हुनै सक्दिन । यसरी आफूलाई उभ्याउन सकिन्न । साकम्वरीलाई मैले अर्कै किसिमले अध्ययन गरेर लेखेकी हुँ । अझै पनि अध्ययन गर्ने परिपाटी त्यही हो ।
कतिले भन्छन् शंकर लामिछानेले अतिशयोक्ति लेखे भूमिकामा । भूमिकाकै कारणले तपाईंले मदन पुरस्कार पाउनुभयो पनि भन्छन् नि ?
कतिले शङ्कर लामिछाने त्यो भूमिका लेखेर उठे भनेका पनि त छन् नि । त्यो दुवै भनाई ठिक होइन होला । त्यो भूमिकाको कारणले नै मदन पुरस्कार पाएको होइन । उपन्यास मात्रले पनि होइन । फेरि दुवै भएर नै होइन । वढी वढी कारण उपन्यासले नै होला । उपन्यास मात्रैले पाउन सक्थ्यो । उपन्यास नौलो थियो । कलापक्ष सुन्दर थियो । उपन्यासको वैचारिकता अत्यन्त विसङ्गत पीडादायी थियो निस्सार भावनामा आधारित थियो । यसैले पाएको भनौं कि कलाले । त्यो त जाँचकीसँग नै सोधे थाहा हुन्छ ।
शिरिषको फूलजस्तो उपन्यास लेख्ने तपाईं प्रगतिशील धारामा कसरी मोडिनु भयो ?
लेखनमा मात्रै त्यो थिएन । साथीहरू थिए । कम्युनिष्ट विल्ला लगाउनेहरू थिए । भूपि थिए, निर्मल लामा थिए । वेलावेलामा भेट्न आउने लक्ष्मण राजवंशी, हिरण्यलाल थिए । त्यस्तो विचार थिएन होला तर वासुशशी भेट्न आउनुहुन्थ्यो । प्राय: सङ्गत कम्युनिष्टहरूसँग नै थियो । २०२२ सालमा शिरिषको फूल छापियो, २०२३ सालमा निर्मल लामा भूमिगत भइसक्नु भएको थियो । कुनै पनि मान्छेको ज्ञानको ढोका एकैपल्ट खुल्दैन । मान्छेको विकास पनि एकैचोटी हुँदैन । क्रमस: नै हुन्छ । आजको समय र त्यतिखेरको समय फरक छैन र ?
शिरिषको फूल च्यात्ने कुरा सुनिएको थियो, नछाप्ने कुरा सुनिएको थियो, तर कहिल्यै च्यातिएन र छापियो नि ?
अहिले र त्यो वेलाको समयलाई दाँजेर पढ्नेले पढून् र पढाउनेले पढाउन् भन्ने कुरा हो । अहिलेको म र त्यतिखेरको मलाई छुट्याएर पढ्ने, व्याख्या गर्ने गरे मलाई त्यतिभए पुग्छ । शायद सवैलाई पुग्छ । पूर्वाग्रहनै राख्ने हो भने मेरो के लाग्छ ?
तपाईंका उपन्यासहरूमा शिरिषको फूल नै किन रुचाइन्छ ?
एउटा कुरा त त्यो कोर्समा छ । त्यसो त अनिँदो पहाडसँगै २००० प्रति विक्यो, अहिले अनुपलव्ध छ । वैँशको मान्छे एक हप्तामै विबेर सकियो । पीपलवोटमै कति विक्यो, कति गयो । सवै पुस्तक रुचाएका छन् ।
महत्ताहीनलाई तपाईंले कतै मनपर्ने कृतिका रूपमा उल्लेख गर्नु भए जस्तो लाग्छ नि ?
मलाई सवै छोराछोरी आफ्ना सन्तान उस्तै हुन्छन् भन्ने लाग्दैन । पाठकको प्रतिक्रिया, जन सम्प्रेशणशीलता मूल्याङ्कन गरिसकेपछि मात्रै म खुट्याउँछु । मैले कतै यो कृति मन पर्छ भनेको पनि छैन र भन्न पनि सकिन्न ।
अन्तरमुखी उपन्यास कस्तो पृष्ठभूमिमा लेख्नुभएको हो ?
मेरो कलम वढी आत्मपरक शैलीमा छिटो चल्छ । जस्तो वोनी । म लेखेर थाल्दा राम्रो लाग्छ । र पृष्ठभूमिको सन्दर्भमा मैले धेरै टाइपिस्ट केटीहरूको अध्ययन गरिसकेपछि सोधपुछ पनि गरेँ र गहन अध्ययन गरेर लेखेकी हुँ । त्यसवेलाको समाजको समयको स्वरलाई पनि यसले वोकेको छ । साह्रै दु:खी टाइपिस्टहरूको जीवन हेरेर मैले अन्तरमुखी लेखेकी हुँ ।
नेपालीमा पहिलो पटक लेखिएको संयुक्त उपन्यास आकाश विभाजित छ मा तपाईंले पनि लेख्ने कुरामा सहमत हुनुहुन्थ्यो रे, किन लेख्नुभएन ?
हुनसक्छ भनेँ हुँला । मलाई थाहा भएन । अस्ति पनि एउटा संयुक्त उपन्यासको अफर आएको थियो । मेरो उपन्यास लेखन प्रकृया अलगै भएको हुनाले यस्तो जमातमा म उपन्यास लेख्न सक्दै सक्दिन ।
संयुक्त उपन्यास लेखनबारे तपाईंको धारणा कस्तो छ ?
मलाई त खास राम्रो लाग्दैन । एउटाको शैली कहाँ पुग्छ । तस्वीरहरू काटेर मिलाएको कोलाज हुन्छ । तर त्यसको महत्त्व त अलग्गै हुन्छ । तर यो संयुक्त लेखन त के के पञ्चरङ्गी जस्तो …मलाई राम्रो लाग्दैन ।
नेपाली साहित्यको आलोचना प्रकृयाबारे तपाईंको धारणा के छ ?
म त सन्तुष्ट छैन । कि एकाँगी हुन्छ, कि पूर्वाग्रहग्रस्त हुन्छ । समालोचकहरू समालोचक बनिसकेका छैनन् । यसो भन्दा अत्युक्ति नहोला ।
डा. इश्वर वरालले तपाईंको कविता सम्पादन गर्नुभाको छ, उहाँको समालोचना कस्तो लाग्छ नि ?
उहाँले यति धेरै कलम चलाउनु भा छ कि त्यो प्रशस्तै हो । कथा कविताको बारेमा ठेली ठेली लेख्नु भा छ । तर उहाँ सम्पूर्ण हुनुहुन्छ, त्यो होइन । सन्तुष्ट त कोही हुन सक्दैन । लेखन समालोचना कुनैमा पूर्ण हुँदैन । मेरो लागि उहाँले पूरै वुझ्नु भा छ भन्ने कुरा म मान्दिन । समालोचकहरूलाई आफ्नो किसिमले लेख्न अधिकार छ । हामी लेखकहरूले तोक्ने, लेख्ने अधिकारलाई हनन गर्ने अधिकार छैन । तैपनि समालोचकको भरमा परेर, राम्रैसँग मलाई वुझिदिए भनेर कसरी भन्न सकिन्छ त ? वरु समालोचकहरू माथि पूर्वाग्रह दुराग्रह नराखी भन्ने हो भने ५ जना समालोचकहरूलाई म नहुने मामा भन्दा कानो मामा मान्दछु । ती हुन् जगदीश शम्शेर राणा, डी. आर पोखरेल, जगन्नाथ त्रिपाठी, दान खालिंग र इन्द्रवहादुर राई । तर इन्द्रबहादुर राईले कम्युनिष्टको क पनि देख्न नसक्ने यिनको यो के हो वुझ्न सकेको छैन । यिनले यो दुराग्रह छाडे केही गर्न सक्छन् तर म उनलाई घोर प्रतिकृयावादी समालोचक ठान्छु । यिनी आफ्नो विवेकलाई आफैंले बेच्छन् र अविवेकी भैदिन्छन् ।
कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा आदिको त नामै लिनु भएन नि ?
नाउँ लिनै पर्छ भन्ने के छ र ?
कृष्णचन्द्रसिंह प्रधानले त तपाईंमाथि धेरै लेख्नु भएको छ….
तैपनि मैले मान्नु पर्छ भन्ने के छ र ?
तपाईंलाई चित्त वुझेका नेपाली उपन्यास र उपन्यासकारहरूको बारेमा वताइदिनु हुन्छ कि ?
शैली पक्ष हेर्ने हो भने शङ्कर कोइरालाको खैरेनी घाट, लैनसिंह प्रधानको मुलुक वाहिर ( तर टल्सटायको कोर्नि भेसिलिएर कथाको विस्तृतिकरण मात्र रहेछ, आफ्नो परिवेशमा ढालेर लेखेको । त्यो थाहा पाएपछि खल्लो लाग्यो ) । सानु सानु हुँदा त रूपमती पनि राम्रो लाग्थ्यो त्यो वेला । डा. ध्रुवचन्द्र गौतमको कट्टेल सरको चोटपटक राम्रो लागेको हो, नयाँ षितिजको खोज अशोक राईको, संजय थापाको पूर्वतिर, पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे, तीर्थ नेउपानेको खदमाको गाउँ राम्रो लागेको हो । गोविन्दराज भट्टराईको मुगलान पनि मन परेर त्यसको बारेमा लेखेकी हुँ ।
म पुरुष विरोधी पनि होइन । यसको प्रमाण के छ भने मेरो मनभित्रको कहिल्यै भन्न नसक्ने कुराहरू मैले पुरुषकै समक्ष भनेकी छु । व्यक्त गर्न सकेकी छु र पुरुषले नै मलाई सान्त्वना दिन सकेका छन् र पुरुषले नै मेरा आँसु पुछिदिएका छन् ….मैले यस उपन्यासमा लोग्ने मान्छेको अन्तरमुखी चरित्रलाई लिएको छु ।
कुनकुन युवा साहित्यकारका कविताका शैलीमा ओज र भावमा मिठास पाउनुहुन्छ ?
गद्य कवितामा राजकुमार केसी, पूर्ण विराम, अरूण श्रेष्ठ, मीनवहादुर विष्ट, दिनेश अधिकारी, विमल निभा र कृष्ण वाउसे आदि हुन् ।
साहित्यिक पुरस्कार सम्वन्धमा तपाईंको धारणा कस्तो छ ?
राम्रो कुरालाई पुरस्कृत गर्ने परम्परा नराम्रो होइन । राम्रो कृतिलाई पुरस्कृत गर्नुपर्छ । यसमा वैचारिक पूर्वाग्रह र पक्षपात नभए राम्रो हुन्छ ।
एकेडेमीबाट दिइने पुरस्कारको सम्वन्धमा नि ?
खै कस्ता कस्तालाई दिन्छन्, दिन्छन् । वार्षिक कविता महोत्सवका कविता हेर्छु, सवैजसो कविहरू भाट लाग्छन् । सरुभक्त, विजय वजिमय आदिका कविता पढें, सवै भाटहरू लागे । अनि जतिसुकै राम्रो भए पनि के भो र ?
आजकाल गजल खूवै लेखिन थालेका छन् । गजल सम्वन्धी विचार सुनौं न ?
म आफू लेख्न नसक्ने तर पढ्न असाध्य मन पर्ने विधा गजल हो । उर्दु हिन्दी गजलहरू पढ्छु । नेपाली गजल ललिजन रावलको राम्रो लाग्छ । एउटा दुइटा धर्माेगत शर्मा तूफानको राम्रो लाग्छ, एउटा गजल मनु व्राजाकीको राम्रो लाग्यो । अध्ययन गर्दैछु गजल ।
हालै प्रकाशित नयाँ उपन्यास परिभाषित आँखाहरूवाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यो त आन्दोलनभन्दा अघि लेखिएको उपन्यास हो । आन्दोलनसँग यसको कुनै सम्बन्ध छैन । यसमा महिला मात्रले भोग्ने दु:खको चर्चा छ । रजस्वलाको, अनैच्छिक यौन सम्वन्ध, गर्भधारणको अवधि, प्रसव वेदना, त्यो भन्दा भयङ्कर वलात्कार अझ सामूहिक वलात्कार, यो त लोग्ने मान्छेले मरे पनि अनुभव गर्न सक्दैन । यसको निम्ति एकपल्ट स्वास्नीमान्छे भएर जन्मनु पर्छ । महिलाहरूले यसलाई खूव रुचाए । कतिले त यसको अर्काे भाग लेख्नु पर्यो भन्दैछन् । पुरुषहरूलाई त त्यति राम्रो लागेनछ । अहिले असली मायाँ जस्ता वालिकाहरू यही उपन्यासमा सल्वलाए जस्तो लाग्छ ।
तपाईं आजिवन अविवाहित महिलाले त्यस्तो अनुभवको कुरा कसरी लेख्नुभयो त ?
मैले आमाको मायाँ कहिल्यै पाईंन । हामी सानै छँदा आमा वितिसक्नु भएको थियो । वाबुको हातमा हुर्क्यौँ । म आफू आमा पनि भइनँ । तर नैसर्गिक हिसाबले नै हाम्रो वत्सल प्रवृत्ति र सहअस्तित्वको भावना अनुवंशिक रूपमा महिलामा निहित हुन्छ । यसैले हामी महिलाको दु:ख वुझ्छौं । तर मैले अहिलेसम्म जति पनि लोग्ने मान्छेको क्यारेक्टर देखेँ, तैँले गलत चिनिस् भनेर आरोप पाएको छैन । तर पुरुष लेखकले महिला पात्रको वारेमा पूर्ण रूपले अभिव्यक्त गर्न सक्छ जस्तो लाग्दैन । तर म कामको सिलसिलामा मित्र मण्डलीमा वढी पुरुषहरूसँग घनिष्ठता हुन सकेको भएर पनि म पुरुषलाई लेख्न सक्छु । म पुरुष विरोधी पनि होइन । यसको प्रमाण के छ भने मेरो मनभित्रको कहिल्यै भन्न नसक्ने कुराहरू मैले पुरुषकै समक्ष भनेकी छु । व्यक्त गर्न सकेकी छु र पुरुषले नै मलाई सान्त्वना दिन सकेका छन् र पुरुषले नै मेरा आँसु पुछिदिएका छन् ….मैले यस उपन्यासमा लोग्ने मान्छेको अन्तरमुखी चरित्रलाई लिएको छु । यो आम चरित्र होइन । विशिष्ट चरित्र हो त्यो । वसन्तिया स्वाभाविक छ ।
परिभाषित आँखाहरूका नारी चरित्रहरू कसरी लिनुभयो ?
मलाई केहीले भने, एउटी स्वास्नीमान्छेले लाश कसरी उठाउन सक्छे । तर लाश उठाउन सक्ने आँट भएको थारु नै हुँदो रहेछ । एकदम ड्यासिंग । त्यहाँ उनीहरूमा मातृसत्तात्मक अवशेष छ । आमाको, वज्यैको हैकम चल्छ । उनीहरू एग्रेसिभ हुन्छन् ।
तपाईंले डा. ध्रुवचन्द्रलाई दिनुभएको अन्तरवार्तामा सकम्वरी भन्दा वोल्ड पात्र छ भनेको वसन्तीयालाई हो ?
ध्रुवचन्द्र गौतमलाई त्यो राम्रो लाग्यो रे । सार्थक पात्रहरू राम्रै मानेका छन् सबैले । महिलाहरूलाई त यस्ले विचलित तुल्याएको छ । तुल्याउँछ पनि महिलाहरूलाई यस्तै केही वोध होला भन्ने पनि थियो , उत्पीडित बोध भए महिलाले आफ्नो बाटो आफैं खोज्छन् । …….यो उपन्यास मैले अति जटिल समयमा लेखेको । तीन महिनामा लेख्छु भनेको नौ महिना लाग्यो । सोझो हिसावले हेर्दा कतिले पोर्नोग्राफी पनि भनेका छन् । तर महिलाहरूलाई अति सहज लाग्यो । यसलाई कसैले अश्लिल नै मान्छ भने बिहा नगरे भयो, प्रेम सम्वन्ध नगरे भयो । वच्चा नपाए भयो ।…………त्यहाँ बलात्कार कति भयानक हुन्छ भन्ने फिलिंग मात्रै छ । मैले यस विषयमा डा. मथुरा श्रेष्ठलाई सोधेँ…उहाँले बलात्कारको लक्षण वताइदिनुभयो । साधारण यौन सम्वन्ध र वलात्कारको फरक स्पष्टै वताइदिनुभयो ।