लक्ष्मी उप्रेती नेपाली साहित्यका सिर्जना र साहित्य सञ्चारका क्षेत्रमा सुपरिचित नाम हो । उनका साहित्य र बालसाहित्यका विभिन्न कृति प्रकाशित छन् । वनिता त्रैमासिक पत्रिकाकी सम्पादक उप्रेतीको कलम पछिल्लो समय नाट्य विधामा पनि चलेको छ । यहाँ उनको ‘प्रभाव’ शीर्षकको नाट्य रचना समेटिएको छ । यस रचनाले बालबोध्य भाषामा बालबालिका ससाना कुलतका प्रभाव र पारिवारिक कमजोरीले कसरी कुलतमा फस्छन् भन्ने कुरालाई देखाएको छ ।
-सम्पा. |
पात्रहरू :
बद्री ३६ बर्ष, जँड्याहा
पार्वती ३३ बर्ष, सामान्य गृहिणी बद्रीको श्रीमती
हरिस १५ वर्ष, बद्रीको छोरा
सुभास १५ बर्ष, हरिसको भाइ
प्रमोद ३० बर्ष प्रिन्सिपल
शर्मिला २८ बर्ष शिक्षिक
डाक्टर ४५ बर्ष
कमला ३५ बर्ष छिमेकी
पहिलो दृश्य
स्थान : घरभित्र
समय : साँझको बेला
सामान्य घर । साना साना दुईटा कोठा ।
हरिस र सुभास पढदैछन् । पार्वती खाना बनाउँदै हुन्छिन् ।
हरिस ठुलो अवाजमा कराउँदै पढ्छ ।
सुभास : दाइ, कत्रो स्वरमा पढेको यहाँ मलाई डिस्टर्व भयो ।
हरिस : कान थुनेर पढ् न त । डिस्टर्व भए ।
सुभास : आमा हेर्नु न । दाइले कराएर पढेर मैले पढ्नै पाइनँ ।
पार्वती : अलि बिस्तारै पढ्न त तँ पनि ।
हरिस : मलाई यसरी नै पढ्न मन लाग्छ । म यसैगरी पढ्छु ।
पार्वती : आफुलाई ठिक लागेका सबै कुरा अरूलाई ठिक नलाग्न पनि सक्छन् । आफूलाई राम्रो लाग्यो भन्दैमा अरूलाई दु:ख दिन त हुन्न नि छोरा ।
हरिस : तपाईँ पनि सधैँ यसैको मात्रै सपोर्ट गर्नु हुन्छ ।
हरिस रिसाएर पढिरहेको किताब ले आफ्नै अर्को हातमा हान्छ ।
बद्री रक्सीले मातेर लर्खराउँदै कोठामा पसेर कराउँछ ।
बद्री : ए हरिस ! आमा कता छे हँ ?
हरिस रिसाएर बुबातिर हेर्छ ।
हरिस : उ त्यहाँ के त भान्छामा !
बद्री : अहिलेसम्म भात पाकेको छैन ।
पढ्दै गरेको हरिस आँखा राताराता पारेर रिसले चुर हुन्छ । सुभास मनमनै अब आज पनि आमालाई कुट्ने भए भनेर निन्याउरो हुन्छ ।
यत्तिकैमा बद्री भित्र बाहिर गर्दै खुट्टा बटार्दै भित्र पार्वती भएको ठाउँमा पुग्छ र जगल्ट्याउन, कुट्न थाल्छ ।
हरिस र सुभास दुबैजना कामेर डराउँदै आमालाई बुबाले लछारपछार पारेर कुटेको दृष्य हेरिरहन्छ । बद्री रिसले भुतभुताउँदै हुन्छ ।
बद्री : यसलाई आज मैले जानेको छु ।
बद्री पार्वतीको नजिकै जान्छ र कपाल तानेर जगल्टाउन खोज्छ ।
पार्वती : ऐया आमा, मरेँ नि मरेँ !
पार्वती निरिह हुँदै रुन्छे ।
बद्री : तेरो लोग्ने भोकाएर आउँछ भन्ने थाह छैन तँलाई ? किन खान ठिक नपारेकी नकचरी ।
बद्री लरखरिदै कुटिरहन्छ ।
पार्वती : पाक्यो, पाक्यो । ठिक पार्न लागेको । तपार्इँलाई पर्खेर बसेकी !
कुट्न लागेको ठाउँतिर हातले छेक्दै, डराउँदै बोल्छिन् ।
बद्री : ए पाक्यो ! पाक्यो भने खान दे छिटो । नत्र…!
बद्री पार्वतीलाई धम्क्याउँदै त्यहीँ थचक्क बस्छ । पार्वती उठेर सुँक्कसुँक्क गर्दै भान्छाबाट भात पस्केर ल्याउँछिन् । त्यसबेलासम्ममा बद्री लम्पसार परेर भुईँमै लडेको हुन्छ ।
पार्वती : उठ्नुहोस । खाना ल्याएँ ।
खाना भुईँमा राख्दै, हातले कुम समातेर हल्लाउँछिन् ।
बद्री : तरकारी के पकाइस् ? मासु छ कि छैन ?
बल गरेर उठ्दै खाना नहेरी बोल्छ ।
पार्वती : आज मासु किन्ने पैसा नभएर पकाइनँ ।
डराउँदै मलिन स्वरमा बोल्छिन् । हरिस र सुभास डराउदै बुबाले आमालाई दिएको यातना देखेर आक्रोसित पनि हुन्छन् ।
बद्रीले गनगन गर्दै अलिकति खाना खान्छ । त्यहीँ हात धुन्छ ।
जुत्ता कपढा केही नखोली खाटमा पुक्लुक्क लड्छ । अनि, घुर्न थाल्छ ।
पार्वती : हिँड नानी हो खाना खान ।
बिस्तारै छोराहरूलाई बोलाएर थाल लिँदै उठ्छिन् । आमाको पछिपछि छोराहरू पनि भान्छामा जान्छन् ।
खाना खान्छन् र बत्ति निभएर सुत्छन् ।
बिहान हुन्छ । पार्वती उठेर घरको काम गर्न थाल्छिन् । हरिस र सुभास पनि उठेर मुख धोएर पढ्न बस्छन् । बद्री चाहिँ सुतिरहेको छ । पार्वतीले चिया पकाउँछिन् ।
पार्वती : ए सुभास ! यो चिया लगि दे त बुबालाई ।
सुभास चिया लिएर पल्लो कोठामा जान्छ ।
सुभास : चिया ल्याएँ ।
सुभासले बुबालाई उठाउन खोज्छ । चिया ल्याएर टेबलमा राख्छ ।
बद्री : ऐया, उठ्नै सकिनँ । के भयो मलाई !
चटपटाउन नसक्ने हुन्छ ।
सुभास : आमा, ए हरिस, बुबालाई के भयो !
आत्तिदैँ बोलाउँछ । हरिस पढ्दापढ्दै किताबहरू असरल्ल छाडेर कुद्दै आउँछ । पार्वती पनि नजिकै आउँछिन् ।
हरिस : के भएछ ?
सुभास : खै ! के पो भएको हो ?
हरिस : हिजोको रक्सी लागेको होला नि !
हरिस कर्के आँखा लगाएर बुबाले नबुझ्ने गरी रिसाउँछ ।
सुभास : दादा, त्यसो नभन न । बुबालाई केही भएर आमा आत्तिनुभएको छ ।
सुभासले हरिसको कान छेउ मुख लगेर खुसुक्क भन्छ ।
आमा र दुवै छोराहरू मिलेर बुबालाई उठाउँन खोज्छन् ।
बुबाको शरीर तातिएको र शिथिल हुन्छ ।
बद्री : साह्रै दुखेको छ । पछाडि कम्मर चटपटाउन नहुने भएको छ । कटकटी शरीर दुखेको छ । टाउको पनि फुट्ला जस्तो टनटन भएको छ ।
सुभास : नआत्तिनुस् बुबा केही हुन्न ।
बद्री : हे भगवान ! मलाई के भयो !
पार्वती : हैन के भयो ?
बद्री बुढी र छोराहरूतिर आँखा घुमाउँछ । बद्रीलाई साह्रै पीडा भएको छ । अवस्था पनि दयनीय भएको छ । बद्रीलाई एकदमै छटपटि भएर आउँछ ।
बद्री : डाक्टरलाई बोलाओ न । म मर्न आँटे ऐया…ऐया… !
सुभासले आमाको मोवाइलमा डाक्टरको नाम सर्च गर्छ र फोन गर्छ । सुभासको आवाज एकदमै आत्तिएको छ ।
सुभास : डाक्टर अङ्कल, बुबालाई के भयो के भयो ! छिटै आउनुहोस् न ।
हरिस, सुभास र पार्वती आत्तिएका छन् । बद्री पनि आत्तिएको छ ।
सुभास घरी बुबालाई हेर्छ घरी ढोकामा हेर्छ ।
बद्री : हैन आइपुगेनन् डाक्टर ? मलाई कस्तो गाह्रो भई सक्यो ।
पार्वती : आउँदै होलन् नि । फोन गरेको छ ।
एकछिनमा डाक्टरको कोठामा प्रवेश हुन्छ ।
सबैले नमस्कार गर्छन् ।
डाक्टर : के भयो त बद्रीलाई ?
पार्वती : खै के भो के भो एक्कासी । हिजोसम्म ठिकै थिए ।
डाक्टरले आफूले बोकेर ल्याएका जाँच्ने सामानहरू खोल्छन् र जाँच्न थाल्छन् ।
डाक्टर : ओहो बद्री ! तिमीलाई त निकै ज्वरो आएको छ । पछाडि ठोकिएको पनि छ । ओहो, कहीँ लडेका थियौ कि ?
बद्री मलिन स्वरमा बोल्छ ।
बद्री : अहँ, लडेको छैन ।
डाक्टरले व्यङ्ग्य मिश्रित स्वरमा भन्छन् ।
डाक्टर : रक्सीले लडायो होला, तिमीले कसरी थाहा पाउँछौ त !
पार्वती : बेलुका खाना खाएर सुत्नु भएको । ठिकै हुनुहुन्थ्यो ।
डाक्टर : बद्री, अब पनि रक्सी छाडेनौँ भने नि तिमी छिटै परमधाम जान्छौ ।
डाक्टर पार्वतीको मुखमा हेर्छन् ।
पार्वती : के भएको होला डाक्टर साप उहाँलाई ?
डाक्टर : अरू केही भएको हैन । रक्सी धेरै भएको । यिनको अवस्था नाजुक छ । ठिक भएन भने ठुलो अस्पताल नै लैजानु पर्ने हुन्छ ।
सुभास : बुबालाई ठिक हुन्छ त ?
डाक्टर : म यसै भन्न सक्दिनँ । तर, मैले बुबाको राम्रो सङ्केत देखेको छुइनँ । एकदमै ख्याल गर्नुहोला ।
हरिस, पार्वती र सुभास उकअर्काको मुखमा हेर्छन् ।
डाक्टर : धेरै गाह्रो भयो भने अस्पताल लैजानु । घरमौ चैँ नराख्नु है । अहिलेलाई यो औषधी लेखिदिएको छु किनेर खुवाउनुस् ।
पार्वती : हस हुन्छ हजुर ।
डाक्टर : हुन्छ म अहिले जान्छु ।
डाक्टर जान्छन् । बद्री छटपटाइरहेकै हुन्छ ।
पार्वती, हरिस् र सुभास एकले अर्काको मुख हेरेर बस्छन् ।
०००
दृश्य दुई
घरको दृश्य । बिहानको समय ।
पार्वतीले सेतै लुगा लगाएकी छिन् ।
सुभास विद्यालय जानलाई किताबहरू मिलाउँदै छ ।
घरको आँगनमा पार्वती छिन् । सुभस पिँढीमा छ ।
सुभास : आमा, दाइ आज पनि आउँदैन जस्तो छ घर ।
पार्वती : हैन कहाँ गएको होला त ? स्कुल जाने बेला भइसक्यो ।
सुभास : दाइ त अस्तिदेखि स्कुल गएको छैन ।
पार्वती : हो र कहाँ गएको होला त ? भनेको पनि पटक्कै टेर्दैैन । मलाई त यो केटोले हैरान बनायो त ।
उताबाट शर्मिला आउँछिन् । परैबाट बोल्छिन् ।
शर्मिला : सुभास, स्कुल जाने बेला भएन ।
सुभास : गुड मर्निङ मिस । अब जाने ।
पार्वती : नमस्कार मिस ।
शर्मिला आँगनमा आइपुग्छिन् ।
शर्मिला : नमस्कार भाउजू । सन्चै हुनुहुन्छ ? अनि हरिस खै त ?
पार्वती : खै साथीको घरमा जान्छु भनेर गएको हिजो घरमै आएन ।
शर्मिला : भाउजू । तपाईँलाई सुभासले केही भनेन ?
सुभास : मैले भनेको आमालाई भन्न त ।
पार्वती : यस्ले त दाइ स्कुल आएको छैन मात्रै भन्यो । अरू त केही भनेको छैन ।
शर्मिला : भाउजू । हरिस साह्र्रै बिग्रिसकेको छ । चुरोट खान्छ । रक्सी खान्छ । सङ्गत पनि नराम्रो मान्छेहरूसँग छ ।
पार्वती : यसले त मलाई गरेर खान पनि न दिने भयो । घर त आवस् मैले जानेको छु । खुट्टा भाँचेर राख्दिन्छु बरु ।
शर्मिला : कुटेर मात्रै हुन्न भाउजू । एकपल्ट राम्रोसँग सम्झाउनु ।
पार्वती : बाउ मरेको आठ महिना भो र मैले यिनीहरूकै लागि दु:ख गरिरहेको छु । यनिीहरूले नै मेरो दु:ख बुझ्दैनन् ।
शर्मिला : भाउजू, सुभास त ज्ञानी छ । तर हरिस निकै टुप्पिएको कुरा गर्छ । सुभास चाहिँ मेहनती र जेहन्दार पनि छ । हरिस स्कुल गए पनि पाठ बुझाउँदैन ।
सुभास : सरले कति पल्ट त क्लासमा उभ्याएर राख्नु हुन्छ । मेरो दाइ हो भनदा पनि लाज हुन्छ मलाई पनि ।
शर्मिला : म त एकछिन् अगाडि नै जानु पर्ने छ त्यहाँ माइला दाइको घरमा पसेर जानु पर्ने छ । सुभास तिमी जाने हैन ।
सुभास : म एकछिन्मा आउँछु मिस ।
शर्मिला : हुन्छ बिस्तारै आऊ है । म जाँदै गर्छु । म गएँ है भाउजू ।
शर्मिला जान्छिन् ।
पार्वती : मलाई त तैँले दाइ स्कुल आएन मात्रै भनिस् त अरू कुरा त भनिनस् ।
सुभास : भनेर पनि के गर्ने हजुरलाई पिर मात्रै हुन्छ भनेर नि ।
हरिस आइ पुग्छ ।
पार्वती : कहाँ गएर आको ?
हरिस : भनेकै थेँ त साथीको घरमा जान्छु भनेर ।
पार्वती : अनि स्कुल जानु पर्दैन ?
हरिस : जाने अब ।
पार्वती : तँ त स्कुल पनि जाँदैनस् रे । स्कुलमा पनि चुरोट खान्छस् रे ।
हरिस : खाएँ त मैले खाएँ अरूलाई के मतलव ।
सुभास अलिक कडाइका साथ बोल्छ ।
सुभास : दाजु, तपार्इँ किन यस्तो हुनु भएको ? आमालाई कति पिर पार्नुहुन्छ । छरछिमेकमा, स्कुलमा जहाँ पनि तपाईँको नाम जोडेर आमाको अपमान हुन्छ । तर पनि आमा तपार्इँकै चिन्ता बढी गर्नुहुन्छ । तपार्इँ यस्तो नहुनु न दाजु ।
पार्वती सम्झाउन खोज्छिन् ।
पार्वती : नानी, भाइको कसैले नराम्रो कुरा गर्दैनन् । तेरो चाहिँ स्कुलको मिसले समेत हरिस नराम्रो भयो भनेर कुरा गर्छन् । छरछिमेकहरूले पनि तँ बिग्रिस् भन्छन् । किन तँ यस्तो भएको नानी । मलाई तैँले किन पिर पार्छस् ।
पार्वती धुरुधुरु रुँदै सम्झाउँछिन् ।
सुभास : हो दाजु, बुबाको कारणबाट पनि आमालाई दु:ख भएको हामीले देखेका हौँ । तपार्इँ त त्यस्तो नहुनु न !
हरिस सुभासको कुरामा ओठ लोपार्दै भन्छ ।
हरिस : तँ छँदैछस् नि सबैको प्यारो । म यस्तै छु । मलाई सम्झाउँने भैखाको । तँ ठिक हो न भइगयो नि, म त यसै पनि उसै पनि खराब भएँ ।
सुभास : किन यस्तो गर्नुहुन्छ दाइ ?
झोक्किँदै जुरुक्क उठेर सुभासलाई हिर्काउन खोज्छ ।
पार्वती : तँ के भाको छोरा । राम्रै कुरा त गरेको हो नी भाइले । यत्तिकै झगडा गर्न तम्सिन्छस् त । भाइले राम्रै कुरा त गरेको हो नि ।
सुभास केही नबोली किताब बोकेर स्कुल जान्छ ।
पार्वती हरिसको छेउमा जान्छिन् ।
पार्वती : तँ किन यस्तो भएको भन त ? के पुगेन कि तँलाई ?यति सानै उमेरबाट यसी बराल्लिएर हिँडेपछि जिन्दगी वर्वाद हुन्छ छोरा ।
हरिस : तपाईँको प्यारो छोरा छँदै छ त । म जस्तो भएपनि के भो र ?
पार्वती : मेरो लागि तिमहिरू दुबैजना बराबर हो ।
पार्वती हरिसको कपाल सुम्सुम्याउँछिन् ।
हरिस : खुब बराबर हो । भन्ने मात्रै हो ।
पार्वती : छोरो ज्ञानी होला असल मान्छे होला भनेको त यस्तो ताल छ । ल अब खुरुकक स्कुल जाने । राम्रोसँग पढ्ने ।
हरिस केही बोल्दैन ।
घरभित्र गएर स्कुल ड्रेस लगाए निस्कन्छ ।
पार्वती : खाना पाकेको छ खाएर जा ।
हरिस : आफ्नै छोरालाई खुवाउनु नि खान्न म ।
हरिस जान्छ ।
०००
दृश्य तीन
स्थान विद्यालय ।
प्रिन्सिपलको कोठा
समय मध्यान्न
बच्चाहरू हल्ला गरेर पढिरहेको आवाज सुनिन्छ ।
प्रिन्सिपलको कोठामा हरिस उभिएको छ ।
प्रिन्सिपल : हरिस, तिमी यति सानो मान्छे, यसरी चुरोट रक्सी खाने ? यो त भएन नि ।
हरिस : मलाई खान मन लाग्यो मैले खाएँ ।
प्रिन्सिपल : मन लाग्यो खाएँ भन्ने हैन नि । तिमीले भाइलाई हेर त । उसको कस्तो राम्रो बानी छ । तिमी चाहिँ किन यस्तो भएका ? आफ्नो बानी सुधार ।
हरिस : मेरो बानीले तपार्इँलाई के फरक पर्छ र ? म जस्तो छु ठिक छु ।
नाप्पिएर जवाफ दिन्छ ।
प्रिन्सिपल : तिमी यो विद्यालयको विद्यार्थी पनि हौ हरिस त्यसैले फरक पर्छ । तिमीलाई पढ्न मन लाग्दैन भने अर्कै कुरा हो । नभए अरूलाई पनि यसरी बिगार्ने काम नगर ।
हरिस : मैले कसैलाई केही भनेको नि छैन गरेको नि छैन सर ।
प्रिन्सिपल सकेसम्म हरिसलाई सम्झाउने प्रयास गर्नु हुन्छ । तर हरिस सम्झनै चाहँदैन ।
प्रिन्सिपल : तिमी अहिले बाहिर जाऊ । म एकछिनमा बोलाउँछु ।
हरिस चुपचाप बाहिर जान्छ ।
प्रिन्सिपलले मोवाइल निकालेर फोन गर्छन् ।
प्रिन्सिपल : नमस्कार दिदी । म हरिसको स्कुलबाट हेडसर बोलेको । तपाईँ कता हुनुहुन्छ ? अहिले विद्यालय आउन सक्नु हुन्छ ? ल आइहाल्नुस् त एउटा काम छ ।
प्रिन्सिपललाई तनावमा हुन्छन् । टेवलमा भएको पानी पिउँछन् । एक्लै बोल्न थाल्छन् ।
प्रिन्सिपल : कसरी यती सानैमा यो बच्चा यस्तो कुलतमा फस्यो ?
केही बेरमै पार्वती चाहिँ हस्याङ्फस्याङ् गर्दै अफिसमा आइपुग्छिन् ।
पार्वती : नमस्कार सर ।
प्रिन्सिपल : नमस्कार । बस्नुस् न ।
पार्वती नजिकैको कुर्सीमा बस्छिन् ।
प्रिन्सिपल : दिदी, तपाईंलाई दु:खी बनाउन चाहन्नथेँ । तर हरिसको बानीले स्कुलका अरू विद्यार्थीहरूमा पनि असर पर्न सक्छ । त्यसैले उसलाई स्कुलमा राख्न सकिन्छ जस्तो लाग्दैन ।
विस्तारै अन्कनाउँदै तौलीतौली प्रिन्सिपल बोल्नुहुन्छ । प्रिन्सिपलको कुरा सुनेर पार्वती दु:खी हुन्छिन् ।
पार्वती : सर, हामी हरिसलाई सम्झाउँछौँ । अब त्यस्तो गर्दैन । स्कुलबाट चाहिँ ननिकाल्नुहोला ।
आँखाभरि आँसु लिएर प्रिन्सिपलसँग अनुरोध गर्छिन् ।
प्रिन्सिपलले हरिसलाई भित्र बोलाउँछन् । सुभासलाई पनि बोलाउन लगाउँछन् । हरिस भित्र आएर अँध्यारो मुख लगाएर उभिन्छ ।
प्रिन्सिपलले पनि अझै सम्झाउँछन् ।
प्रिन्सिपल : हरिस, तिमी र सुभास १०÷१५ मिनेट फरकका दाजुभाइ हौ । तिमीहरू सँगसँगै हुर्कियौ पनि तर तिमीले कसरी यस्तो बानी सिक्यौ ?
हरिस केही बोल्दैन ।
पार्वती : किन नबोलेको ? बोल न । घरमा त मलाई र भाइलाई एकै गाँस बनाउँथिस् त ।
प्रिन्सिपल : गाली नगर्नुस् भाउजू । ल भन त तिमीलाई कसको यस्ता प्रभाव पर्यो ? किन यस्तो भयौ ? भाइ चाहिँ किन यस्तो भएन । आज मनमा लागेका तिम्रा कुरा भन । परीक्षा पनि आउन लागिसक्यो । राम्ररी पढिएन भने जिन्दगीमा गाह्रो हुन्छ ।
सुभास आइपुग्छ ।
सुभास : मे आइ कम इन सर ?
प्रिन्सिपल : आऊ आऊ ।
सुभास पार्वतीको छेउमा गएर उभिन्छ ।
पार्वती : ल भन त कुरा के हो ?
हरिस : मैले के गरेको छु र ?
प्रिन्सिपल : तिमीले गरेको के भन्ने त सबैलाई थाहा छ । तिमीले आफूलाई राम्रो छु भने पनि खराब बानी त खराबै हो । बरु हामीले केही सहयोग गर्न सक्छौँ भने भन तर ।
हरिस केही समय बोल्दैन । अलि घोसिएर, रिसाए झैँ गरेर बस्छ ।
पार्वती : तँलाई केही भएको छ भने भन् सरसँग ।
सुभास : आफुलाई केही लागेको भए भन्नुस् दाइ । प्रिन्सिपल सर पनि हुनुहुन्छ । आमा पनि हुुनुहुन्छ । गल्ती सबैबाट हुन्छ । तपाईँबाट पनि गल्ती भएको छ ।
प्रिन्सिपल : तिमी कसरी यस्तो भयौ ? कसबाट सिक्यौ यस्तो नराम्रो बानीहरू ?
हरिस : मैले बुबाबाटै यी कुरा सिकेँ । बुबाको नै प्रभाव होला । बुबाले नै अलिअलि रक्सी पनि खुवाउनु हुन्थ्यो । मलाई त्यसकै बानी पर्यो । घरमा सधैँ यस्तै माहोल भएपछि म यस्तो त हुने नै भएँ नि । यसमा मेरो के दोष ? घर नै यस्तै थियो हाम्रो । घरबाटै सिकेँ सबैकुरा ।
प्रिन्सिपलले सुभासलाई हेर्छन् ।
प्रिन्सिपल : तिमीले चाहिँ किन सिकेनौ सुभास ?
सुभास : सर, मैले पनि सबै कुराहरू बुबाबाट सिकँे । दाजुले भने जस्तै बुबाले रक्सी खाएर आमालाई कुट्नुहुन्थ्यो, हामीलाई थर्काउनुसम्म थर्काउनुहुन्थ्यो ।
पार्वती : मरेर जानु रहेछ । मर्नु भन्दा अगिल्लो दिन पनि मलाई लछारपछार पारेका थिए ।
सुभास : मलाई बुबा देखी मलाई सधैँ डर मात्र लाग्थ्यो । आमाको माया मात्र लाग्थ्यो । बुबाले हामीलाई दु:ख दिएको देखेको थिएँ । मैले त्यसैबेला अठोट गरेँ कि म त कहिले रक्सी खान्नँ । कुलतमा फस्दिनँ । बुबाबाटै यो कुराको प्रभाव होला सर ।
प्रिन्सिपल : देख्यौ त हरिस् ? तिमीले नराम्रो कुरालाई नराम्रो नराम्रोसँगै बुझ्यौ र त्यसैलाई सिको गर्दै गयो । तिम्रो भाइले यो कुरा गलत हो भन्ने बुझेर कहिल्यै त्यसतो गर्दिन भनेर सिक्यो । समय अझै बााकी छ । केही बिग्रेको छैन । आफ्नै भाइबाट पनि त तिमी प्रभावित हुन सक्थ्यौ नि ।
पार्वती हरिसको छेउमा जान्छिन् । हरिसको टाउको मुर्सादिन्छिन् । सुभास पनि दाइको छेउमा जान्छ ।
सुभास : दाइ, मैले त आमालाई पिर पर्छ भनेर धेरै कुरा घरमा लुकाएँ । तपाईँलाई एकदिन महसुस होला आफ्नो गल्तिको भनेर ।
पार्वती : तँ त दाइ होस् अझ । भाइले केही नराम्रो गर्दा पनि सम्झाउन पर्ने हैन ? मैले गरेको माया र दु:ख तैँले देखिनस् है छोरा । म मरेपछि तँलाई थाहा होला आमाले गरेको दु:ख । मलाई जिउँदै मर्न पर्ने बनाइस् आज छोरा तैँले ।
पार्वती बोल्दा बोल्दै रुन थाल्छिन् ।
सुभास : नरुनुस् न आमा ।
पार्वती एकछिनसम्म रुन्छिन् ।
प्रिन्सिपल : नरुनुस् दिदी । रोएर के हुन्छ र ? हरिसलाई आफ्नो गल्ति महसुस हुन्छ । अब उ सुध्रिन्छ । भाइ जस्तै असल हुन्छ । मेहनत गरेर पढ्छ ।
हरिस रुँदै गरेकी आमालाई अंगालो हाल्छ र रुँदै बोल्छ ।
हरिस : मलाई माफ दिनु आमा । मैले गल्ति गरेँ । अब म कहिल्यै नराम्रो गरेर हिँड्दिनँ ।
हरिस भाइलाई हेर्छ । प्रिन्सिपललाइ पनि हेर्छ ।
भाइ अब कहिले पनि तँलाई गाली गर्दिन् । नजानेको कुरा तँसँग सिक्छु ।
सरी सर । म अब कहिल्यै खान नहुने कुरा खान्न । नियमित स्कुल पनि आउँछु । कसैसँग झगडा पनि गर्दिनँ । मलाई माप दिनुस् सर ।
सुभासले आमा र हरिसको आँसु पुछिदिन्छ ।
सुभास : ल आमा नरुनुस् । दाइ पनि नरुनुस् ।
प्रिन्सिपल : पार्वती दिदी अब त खुसी हुनुस् । हरिसलाई आफ्नो गल्ती महसुस भएको छ । कहिलेकाहीँ के हुन्छ भने नि बच्चाहरूमा परिवारकै सदस्यहरको प्रभाव पर्न सक्छ । हरिसमा बुबाको आदतको नकरात्मक प्रभाव पर्यो । सुभासमा तिनै बुबाको आदतबाट सकारात्मक प्रभाव पर्यो । कस्तो अनौठो कुरा ! हरेक व्यक्ति सकरात्मक गुण मात्र लिन सके यो संसार कस्तो सुन्दर हुने थियो ।
पार्वती : हजुरलाई धेरै धेरै धन्यवाद सर । मेरो छोराको आँखा खोलिदिनु भयो ।
प्रिन्सिपल : मलाई धन्यवाद भन्नै पर्दैन नि दिदी । यो त हरेक शिक्षकको कर्तव्य होनि ।
हरिस : धन्यवाद त मैले भन्न पर्छ सर हजुरलाई, मेरी आमालाई र मेरो भाइलाई ।
प्रिन्सिपल : ल अब रुने हैन । खुसी हुने है दिदी । हरेक कुराको दुईटा पाटा हुन्छन् । राम्रो र नराम्रो । नराम्रो कुराको प्रभाव पर्यो भने मान्छे नराम्रो हुँदै जान्छ । राम्रो कुराको प्रभाव पर्यो भने राम्रो हुँदै जान्छ । कुराहरूसँग प्रभावित भएर अगाडि बढ्ने मान्छेले कहिल्यै गलत बाटो हिँड्दैन बुझ्यौ नि हसिर ?
हरिसले बुझेँ भनेर टाउको हल्लाउँछ ।
पार्वतीले दुबै छोराहरूलाई दुईतिर अंगालो हाल्छिन् ।
प्रिन्सिपलले खल्तीबाट केही चकलेट निकालेर हरिस् र सुभासलाई दिन्छन् । सुभास र हरिसको टाउको मुसारीदिन्छन् ।
समाप्त ।