त्रिलोचन ढकाल नेपाली साहित्य र राजनीतिमा स्थापित प्रतिभा हुन् । उनको कलम निबन्ध, आख्यान र कविताका क्षेत्रमा निरन्तर चलिरहेको छ । उनी पछिल्लो समय लघुकथाको लघुसमीक्षा गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा तीन जना लघुकथाकारका लघुकथामाथि समीक्षा गरिएका छोटाछोटा समीक्षा समेटिएको छ । यी समीक्षाले सम्बन्धित कथाको वस्तुगत लघुसमीक्षा गरेका छन् । -सम्पा. |
१ लघुकथा: प्रतिनिधि
लघुकथाकार: नन्दलाल आचार्य, सिद्धार्थ टोल उदयपुर । हाल सिर्जनाकुटी, उदयपुर ।
समीक्षा :
कछुवा र कोइलीको छलफल छ कथामा । कछुवा आफ्नो ठाउँका प्रभावशाली मतदाता हुन्छन् । उनको सल्लाहअनुसार सबैले मतदान गर्दछन् । यो निर्वाचनमा पनि कछुवाले स्याललाई मतदान गर्न भने र आफूले पनि मतदान गरे । स्याल विजयी पनि भयो । तर कछुवाको अनुहार भने उज्यालो भएन ।
निर्वाचनमा सहभगी एउटा पार्टी वा उमेद्वार ’ढाडे बिरालो’ भ्रष्टाचारी थियो । अर्को ’कुकुर’ दुराचारी थियो । अर्को ’काग’ बकबक त गथ्र्यो तर जनचाहना पूरा गर्न नसक्ने प्राणी थियो । त्योभन्दा स्याल नै नयाँ छ भनेर उनले मतदान गरेका थिए । ढाडे बिरालो, कुकुर र कागहरूलाई मतदान गर्दा जनतालाई प्रत्यक्ष धोका हुने थियो । त्यसो भएर उनले स्याललाई नै मतदान गर्न लगाए । स्याल विदेशी प्रभावको जन्तु भएको हुनाले संसद्मा विदेशी प्रभाव बढ्ने भयो भनेर उनी चिन्तित थिए । कथा यही हो ।
कथा सामसामयिक छ, यथार्थ छ र आम छ । यसले वर्तमान निर्वाचनमा सहभागी भएका पार्टीहरू र उम्मेदवारहरूप्रति तिखो व्यङ्ग्य गरेको छ । जनताको नयाँ पात्रको चाहना कसरी दुरूपयोग हुन्छ भन्ने कुरा पनि प्रष्ट्याएको छ कथामा ।
पात्रको रूपमा ल्याएर पशुपन्छीलाई बोलाइएको छ । यसले सुनमा सुगन्ध थपेको छ । कथा बिम्बात्मक छ ।
कथाको उठान उत्तम छ । यो आकस्मिक, कौतुहलता पूर्ण र ध्यानाकर्षण गर्ने खालको छ । तर दुई वाक्य बनाउँदा उठानलाई कमजोर बनाएको छ । दुई वाक्यलाई मिलाएर एउटै बनाउँदा उत्तम हुनेछ ।
कथाको बुनौट मिलेको छ । लेखनशैली पढिरहुँ जस्तो लाग्दो छ । त्यत्तिकै आकर्षक र कलात्मक छ । यस कथाको भाषा शालीन छ र मूलत: शुद्ध छ । आयाम लघुकथा अनुकूल छ । कथाको समापन प्रभावकारी छ । तर कथाले पहिल्यै मोड लिइसकेको छ र समापनमा त्यसकै परिणाम बताइएको छ । सकृय पात्र दुई मात्र हुनु राम्रो हो । शीर्षक छोटो र कथा अनुकूल छ ।
कथाको समापनको कुरो गर्दा “परोक्ष धोका भयो“ भन्ने ठाउँमा नै लघुकथाको समापन गरिएको भए खुला समापन हुने थियो र बढी प्रभावकारी तथा आकर्षक हुने थियो । अन्तिम अनुच्छेद नहुँदा अति राम्रो हुने थियो जस्तो लाग्छ । लघुकथा उत्कृष्ट छ ।
धन्यवाद छ नन्दलाल आचार्यजीलाई यति स्तरीय लघुकथा प्रस्तुत गर्नु भएकोमा ।
२ लघुकथा: छिपेको यथार्थ
लघुकथाकार : मन्दिरा चापागाईँ, काठमाडौँ ।
समीक्षा :
कथाभित्र धेरै कथाहरू भए जस्तो लाग्यो । शतबीज छर्ने र बत्ती बाल्ने, माग्नेमा पाखुरे र दृष्टिविहीन, नर्तकीहरू र कर्कश आवाज बोल्ने महिला आदि । कथाको समीक्षा गर्दा मेरो समीक्षा पनि लघुसमीक्षा नहुने देखियो । कथानकको विश्लेषण गर्दा उपन्यासको सार जस्तो हुने भयो । घटनाहरू यथार्थ भए पनि एकै ठाउँमा खाँदखुँद गर्दा लघुकथा बने जस्तो लागेन । यो कथानकका तिनभन्दा बढी लघुकथा बनाउन उपयुक्त हुने देखियो ।
सुरुको वाक्य अचानक प्रकट भएको छ । यो निकै राम्रो छ । आयामले लघुकथाको सीमा नाघेको छैन । कथाको भाषामा लालित्य छ । कथाको भाषा पनि धेरै शुद्ध छ । कतैकतै वर्तमान कालमा समेत बनाउँदा मिलेको छैन । इन्भर्टेड कमाभित्र त सबै वर्तमान कालमा लेख्नुपर्छ । अरू मूलत: भूतकालमा । कालको छासेमिसे त लघुकथामा स्विकार हुँदैन । अलि ध्यान दिनुपर्ला ।
पात्रमा, आफू, पाखुरे माग्नेहरू, दृष्टिविहीन माग्नेहरू, नर्तकी महिलाहरू, कर्कश आवाज बोल्ने महिला, दर्शकहरू गर्दा भिड भयो । लघुकथामा दुई तीन जना पात्र हुनु उचित हुन्छ । शीर्षक ’छिपेको यथार्थ’ भनेर नर्तकी महिला अबैध गर्भवती छन् भनेर शङ्केत गरे जस्तो लाग्यो ।
अधिकांश प्राविधिक कुरा सही भए पनि कथानकमा के विचार प्रवाहीत गर्न खोजेको हो ? त्यो भने बहुमुखी लाग्यो ।
कथाकारले साधना गर्दै जानु भएपछि राम्राराम्रा लघु कथाहरू लेख्न सक्नुहुनेछ । धन्यवाद छ, मन्दिराज्यू यो कथाका लागि ।
३ लघुकथा : नैतिकता
लघुकथाकार: उमानाथ दाहाल, शिवसताक्षी, झापा
अगुवामा बढी नैतिकता हुनुपर्ने कुरा छ कथामा । उनी खाना नखाईकन हिँडिछन् । खाना ढिलो तयार हुने कुरा गर्दै उनले अरूभन्दा शिक्षक समयमा पुग्नुपर्ने कुरा गर्छिन् । भान्सेले अरू सर र मेडमहरू पनि समयमा नपुग्ने कुरा गर्दै ढिलो गए पनि हुने कुरा गर्छिन् । उनी खाजा खाने समयमा आएर खाना खाने कुरा गर्दै बाहिर निस्कन्छिन् । कथा यत्ति हो ।
कथा यथार्थ छ । जो अगुवा वा प्रशिक्षक छ उसले अरूलाई आदेश गर्ने मात्र होइन आफै व्यवहारमा नमुना अग्रणी हुनुपर्दछ । समाजमा धेरै मानिसहरूले अरूलाई अर्ती उपदेश दिने काम गर्छन् तर आफूले व्यवहारमा उल्टो गर्छन् । त्यसलाई नै व्यङ्ग्य गरिएको छ कथामा । कथा सन्देशमूलक छ र समाजोपयोगी शिक्षा दिन पनि सफल छ ।
सुरु वाक्य साधारण छ र आकस्मिक छ । विषयवस्तुको बुनौट राम्रो छ । लेखनशैली सुन्दर छ । यस कथाको भाषा शालीन छ । कथाको आयाम अति सङ्क्षिप्त छ । कथाका पात्र जम्मा दुईजना छन् । यी सबै लघुकथा सुहाउँदा छन् । कथाको समापन साधारण छ । यस कथाको शीर्षक ’नैतिकता’ एक शब्दको छ र लघुकथाको केन्द्र हुन पनि सफल छ । लघुकथा धेरै राम्रो छ । धन्यवाद उमानाथ दहालज्यू ।
फापरथुम, स्याङ्जा