कुञ्जल शुभेच्छु लुइटेलको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी बालकविता, बालनिबन्ध, कथा र पुस्तक समीक्षा लेख्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनले लेखेको समीक्षा समेटिएको छ । यहाँ उनको बालसाहित्यकार गङ्गा पौडेलको पुस्तकमाथि लेखिएको ‘नबिराउनु नडराउनु’ शीर्षकको पुस्तक समीक्षा समेटिएको छ । यस समीक्षामा पुस्तकको परिचयसहित बालआँखाबाट मूल्याङ्कन पनि गरिएको छ । -सम्पा. |
‘नबिराउनु नडराउनु’ कथाको पुस्तक हो । यो पुस्तक बाल कथाकार गङ्गा कर्माचार्य पौडेलले लेख्नुभएको हो । उहाँले यस्ता थुप्रै बालकथाका पुस्तकहरू लेख्नुभएको छ । यो पुस्तक चित्रकथाको पुस्तक हो ।
यस पुस्तकमा ठुल्ठुला चित्रहरू कोरिएका छन् । ती चित्रमा भएका भावलाई बुझाउने गरी छोटा छोटा वाक्यमा कथा लेखिएको छ । यहाँ कथा पनि नेपाली र अङ्ग्रेजी दुई भाषामा लेखिएको छ । यस पुस्तकको अङ्ग्रेजी नाम नो फल्ट नो फियर (ल्इ ँइीत् ल्इ ँभ्ब्च्) हो । त्यसैले यो कथा बुझ्न पनि सजिलो छ ।
प्रस्तुत कथा जम्मा २८ पृष्ठमा समेटिएको छ । यहाँ पृष्ठ धेरै देखिए पनि कथा पढ्नलाई छोटो छ । यो पुस्तक २०७८ सालमा प्रकाशन भएको हो । यो छुचुन्द्रा, सर्प र न्याउरी मुसा पात्र भएको पुस्तक हो । यस कथाको पुस्तकमा एउटा छुचुन्द्रो आमा छ । उसका चारओटा छाउरा हुन्छन् । तिनीहरूको नाम मिक्की, सिक्की, रिक्की र डिक्की हुन्छ । तीमध्ये सबैभन्दा जेठो मिक्की हुन्छ । एकदिन यी छाउराहरूको बाबा आहारा खोज्न बाहिर गएको हुन्छ । धेरैबेरसम्म पनि बाबु नआएपछि छाउराहरूले आमासँग भोक लाग्यो भनेर कराउन थाल्छन् ।
आमाले तिनीहरूलाई फकाउँदै बाबाले खानेकुरा लिएर आउने कुरा गर्छिन् । बाबुले केहीबेरमै खानेकुरा लिएर आउँछन् तर तिनीहरूले हारालुछ गरेर खाइहाल्छन् । यो देखेर आमा छुचुन्द्राले छाउरा ठुला भएकाले एक जनाले मात्र ल्याएको खानेकुराले नपुग्ने भएको हुँदा आफू पनि खानेकुरा खोज्न जाने कुरा उनको बुढासँग गर्छिन् । यो कुरा मिक्कीले सुनिरहेको हुन्छ त्यसैले बाबुआमाको सहयोगका लागि आफू पनि आहारा खोज्न जाने कुरा गर्छ तर बाबुले भाइहरूको हेरचाह गरेर बस्नलाई अराउँछ । बाहिर बगैँचाको कुनामा सर्प बसेको र त्यो हाम्रो शत्रु भएको समेत बाबुले मिक्कीलाई भन्छ ।
मिक्कीले आमाबुबा नभएको मौका छोपेर सबै भाइहरूलाई बाहिर घुम्न जाने कुरा गर्छ । तर बाबुको अर्ती मान्दै माइलो छाउरो सिक्कीले बाहिर जान मान्दैन । अरू भाइहरूले पनि शत्रुले हामीलाई खान सक्छन् भन्ने शङ्का व्यक्त गर्छन् तर जेठो छाउरो निकै आँटी हुन्छ । उसले नविराउनु नडराउनु हामीले सर्पको के खाइदिएका छौँ र हामीलाई टोक्छ ? हामीले यसरी डर पालेर बस्नुहुन्न भन्ने कुरा गर्छ । यसो भन्दै ऊ बाहिर निस्कन्छ त्यसपछि अरू पनि उसकै पछि लागेर बगैँचामा पुग्छन् । उनीहरू बगैँचामा निकै रमाउँछन् पनि । यसरी रमाइरहेका बेला एउटा सर्पले उनीहरूलाई हपार्र्दै तिमीहरू किन उफ्रिएको यहाँ ? तिमीहरूलाई डर लाग्दैन भन्दै गाली गर्छ । त्यतिबेला भने सबै भाइहरू निकै डराएर मिक्कीको हात समात्छन् ।
सबै भाइ डराएको देखेर मिक्कीले सम्झाउँछ पनि । उसले बाबुले भनेको सम्झँदै भन्छ कि हामी चार भाइ छौँ ऊ एउटा छ । भाइभाइ मिल्यो भने शत्रुलाई पनि सजिलै जित्न सकिन्छ । उसले भाइहरूलाई मात्र सक्झाउँदैन, सर्पकै सामु गएर सर्पलाई पनि हामीले केही विराएकै छैनौँ अनि किन हजुरसँग डराउनु र भन्छ । सर्प फणा फिँजाएर छाउराहरूसँग जङ्गिन्छ तर मिक्की कति पनि डराउँदैन । उल्टै सर्पको तारिफ गर्न थाल्छ सर्प मख्ख पर्छ तर पनि उसले मिक्कीलाई गाली गर्न छोड्दैन । मिक्कीले पनि उसलाई फुक्र्याउन छोड्दैन । उसले सर्पका प्रशंसक धेरै भएको र देखाउनुपर्छ भने आफूले लिएर आउने कुरा गर्छ । आफना प्रशंसकहरू धेरै छन् भनेको सुन्दा सर्पले पनि भाइहरू यहीँ छोडेर सबैलाई बटुलेर ल्याउन भन्छ ।
मिक्कीले आफ्ना भाइहरूलाई नडराइ बस्न भनेर त्यहाँबाट बिदा हुन्छ । उसले बाहिरबाट अरू साथी ल्याएर सर्पलाई नाश पार्ने योजना बनाउँछ । ऊ बाहिर निस्केर गुहार माग्न थाल्छ । त्यसपछि ऊ कराएको एउटा न्याउली मुसाले सुन्छ र कराउनुको कारण सोध्छ । मिक्कीले मामा साइनो लगाएर त्यो न्याउलीलाई सबै कुरा सुनाउँछ । उसले पनि आफूलाई मामा भनेको खुसीयालीमा त्यो दुष्टलाई मार्ने र आफ्ना भाञ्जाहरूलाई सुरक्षा दिने विचार गर्छ ।
त्यसपछि न्याउलीलाई पनि लिएर मिक्की बगैँचामा पुग्छ । त्यहाँको सर्प न्याउलीलाई देखेर हत्त न पत्त दुलोभित्र पस्छ । न्याउली मुसाले ढुङ्गामाथि बसेर आफ्ना भाञ्जाभाञ्जीलाई छोइस् भने तेरो शाखा सन्तान नै बाँकी राख्दिनँ भन्दै सर्पलाई धम्की दिन्छ । न्याउरीको धम्की सुनेर सर्पले पनि डराउँदै भन्छ कि मेरा सन्तानलाई केही नगर म पनि तिम्रा भान्जाभान्जीलाई मात्रै होइन छुचुन्द्रो जातिलाई नै छुन्न । यसरी सर्पले न्याउरी मुसासँग शरणमा परेपछि मिक्कीले खुसी हुँदै भन्छ, ‘‘नबिराउनु नडराउनु हगि मामा, ल अब सबै नाचौँ ।’ मिक्कीले यसो भन्नासाथ सबै छाउराहरू र न्याउली पनि सँगसँगै नाच्न थाल्छन् र कथा सकिन्छ ।
यस बालकथाले हामीलाई गल्ती गरेको छैन भने हामीले डराउनु पर्दैन भन्ने सन्देश दिएको छ । कसैको डर धम्कीदेखि हामीले गल्ती गरेको छैन भने डराउनु पर्दैन । आफू नडराए त्यस्ता धम्की देखाउनेहरू नै एक दिन असल व्यक्तिको शरणमा पर्छन् भन्ने सन्देश छ । त्यो सन्देश यहाँ सर्पका माध्यमबाट दिएको छ । यहाँ छुचुन्द्राका चार जना छाउरामध्ये मिक्की निकै चलाख पात्र रहेको छ । उसकै बुद्धिमानीले गर्दा न्याउरी जस्तो मामा फेला परेको छ भने नडराउनु नबिराउनु भन्ने सन्देश पनि उसकै माध्यमबाट दिइएको छ । मिक्कीले आफ्ना भाइहरूलाई सर्पलाई देखेर डराउनु पर्दैन, ऊ एउटा छ, हामी चार जना छौँ भनेको छ । यस भनाइबाट एकतामा बल हुन्छ भन्ने सन्देश पाइन्छ ।
कथा छोटो र मिठो छ । एकै बसाइमा पढिसकिने खालको छ । चित्रमय कथा रमाइलो पनि छ । चित्र भएका कारण कथा पढ्न निकै मज्जा आउँछ । यो कथा कक्षा चार पाँचका भाइबहिनीले पनि सजिलै पढ्न र बुझ्न सक्ने खालको छ । कथामा बालबालिकाले सजिलै बुझ्न सकिने सरल भाषाको प्रयोग गरिएको छ । पात्रका नाम र घटना पनि रमाइला छन् ।
युनाइटेड एकेडेमी
कक्षा ७
इमाडोल, ललितपुर