तेजविलास अधिकारीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी सफल सर्जक र समीक्षक हुन् । प्रस्तुत शृङ्खलामा उनको मरीचिका कथामाथि लेखिएको समीक्षा समेटिएको छ । यस समीक्षाले महेश थापाको मरिचीका कथासङ्ग्रहको सारभूत तर वस्तुगन समीक्षण गरेको छ ।
-सम्पा. |
लाऊँलाऊँ र खाऊँखाऊँको युवा उमेरमा मोटर न्युरोन जस्तो डरलाग्दो रोगको सिकार भएका महेश थापा पछिल्लो पुस्ताका सशक्त साहित्यकार हुन् । खासगरी व्यङ्ग्य साहित्यमा उनको उपस्थिति सशक्त रूपमा देखापर्दै आएको छ । यसअघि थापाका एउटा आत्मवृत्तान्त र एउटा व्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित छन् । अल्पविराम (आत्मवृत्तान्त, २०७०), नमोनमः (व्यङ्ग्य निबन्धसङ्ग्रह, २०७४) पछि उनको तेस्रो कृतिका रूपमा मरीचिका (कथासङ्ग्रह, २०७५) प्रकाशित भएको छ । मध्यम आकारका १६ ओटा कथाहरू समेटिएको प्रस्तुत कथा कृति नेपाली साहित्यको एउटा राम्रो प्राप्ति बन्ने देखिन्छ । माया ठकुरी, नयनराज पाण्डे तथा होम भट्टराईको भूमिकासमेत समेटिएको यस संग्रहलाई साङ्ग्रिला बुक्सले प्रकाशमा ल्याएको छ ।
सङ्ग्रहको पहिलो कथा मरीचिकामा पछिल्लो नेपाली समाज छताछुल्ल भएर पोखिएको छ । घरकी पत्नीलाई हेला गरेर परस्त्रीमा लहसिने पुरु मेनका र उर्वशी नामका रोबोट महिलामार्फत यौन सन्तुष्टि लिन खोज्छ । वास्तविक पत्नीसँग सम्बन्ध विच्छेद गरेर रोबोट पत्नीबाट सन्तुष्ट लिन खोज्ने पुरुको चरित्रले अहिलेको पुरुष मानसिकतामाथि तिखो व्यङ्ग्य गरेको छ । सङ्ग्रहको अर्को कथा होड २ विश्वेश्वरप्रसाद कोइरालाको होड कथाको सादृश्यमा लेखिएको छ । निम्तोपत्र कथाले नेपाली समाजको वैवाहिक पाटोलाई देखाउँछ । आम्दानीको श्रोत, सरकारी जागिर, प्रेम विवाह र अन्तर्जातीय विवाहलाई हेर्ने रुढिवादी दृष्टि आदि विषयप्रतिको व्यङ्ग्यात्मक झटारो यसमा पाइन्छ । यात्रा कथा स्वैच्छिक मृत्यु र विदेश पलायनको सन्दर्भसँग जोडिएको छ । यसले लेखकको जीवन क्षितिजलाई सङ्केत गर्छ ।
अभयदान कथा यस सङ्ग्रहको अर्को बेजोड कथा हो । “शङ्काले लङ्का हान्छ” भन्ने नेपाली उखान यसमा राम्ररी चरितार्थ भएको छ । अभीप्सा शीर्षकको कथा बुढो र युवतीको प्रेममा आधारित छ तर त्यो प्रेम साँच्चिकै प्रेम नभएर आजको युगले जन्माएको उपभोक्तावादी संस्कृतिको उपज हो । एउटा आइफोनको लोभमा बुढाको बाहुपासमा बाँधिन गएको एउटी युवतीको कथा यसमा समेटिएको छ । एउटा वस्तुको प्राप्तिमा अस्मिता बेच्न तयार रहेको अहिलेको पुस्ता र चिन्तनमाथि यसले तिखो व्यङ्ग्य गर्छ ।
सङ्ग्रहमा रहेको पुच्छर कथामा अहिलेको रमझमयुक्त सहरिया जीवनले मानिसलाई पशुमा रुपान्तरण गरेको यथार्थको चित्रण र व्यङ्ग्य छ । द द द कथा स्वैर कल्पनामा आधारित छ र यसले प्रकृति र प्रविधिको दुरूपयोग गर्ने प्रवृत्तिले मानिस दुःखमा जकडिएको छ भन्ने विषयको चित्रणमा केन्द्रित छ । प्रेमको लाली कथाले प्रेमका नाममा रहेको स्वार्थलाई पर्दाफास गर्छ । पलायन कथा युवाहरको विदेश पलायनको चित्र खिच्न सफल छ । क्रान्तिको पोको कथाले क्रान्तिका नाममा हिँड्नेहरूको विकृत पाटोलाई उजागर गर्न सफल छ । धर्मो रक्षति रक्षितः कथाले धर्मका नाममा हुने विकृतलाई उजागर गर्छ । दाउ कथाले महिलालाई वस्तु सरह दाउमा राख्न सकिने पुरुष मानसिकतालाई राम्ररी पर्दाफास गर्न सफल छ । कल्पभिर कथा अन्धविश्वासमाथि विजय पाउन आवश्यक छ भन्ने कुरामा केन्द्रित छ । मोबाइल कथामा प्रविधिले ल्याएका विकृतिको चित्रण राम्ररी गरिएको छ । अपहृत हाँसो कथा एक पटक खोसिएको खुसी फेरि सजिलै फर्किदैन भन्ने विषयमा केन्द्रित छ ।
सानो जस्तो लाग्ने विषयमा एउटा संसार अटाउने गरी प्रस्तुत गर्न सक्ने कथाकार महेश थापाको खुबी देखिन्छ । कथाकार आफूले देखेका कुरालाई सुन्दर ढंगले कथामा प्रस्तुत गर्न सफल देखिन्छन् । संग्रहमा रहेका १६ कथा अलग अलग १६ ओटै स्वादमा छन् । यस्तो खुबी जोसुकैसँग हुँदैन । अधिकांश लेखकका कथा संग्रहमा एउटा दुइटा कथा पढेपछि अरू सबै कथाहरू उस्तै रहेछन् भन्न सकिन्छ । थोरै कथाकारमा मात्रै संग्रहका हरेक कथामा भिन्न स्वाद पाइन्छ । महेश थापाको प्रस्तुत संग्रहका सबै कथा भिन्न स्वादमा छन् । यो यस संग्रहको सबैभन्दा सबल पक्ष हो । समसामयिक जीवनको यथार्थलाई सफल रूपमा प्रतिबिम्बन गर्न कथाकार सक्षम छन् । आजको मान्छेका भोगाइ, मनोविज्ञान, राष्ट्रिय तथा वैश्विक सन्दर्भसहित युगबोध यस संग्रहका कथामा पाइने मुख्य विषय क्षेत्र हुन् । एक्काइसौँ शताब्दीको आजको मान्छेका भोगाइप्रति तिखो व्यङ्ग्य यस संग्रहका कथाको मुख्य प्रवृत्ति हो ।
कथाकारलाई अहिलेको मान्छेका समस्या, विवशता, आवश्यकता र त्यसबाट जन्मिएको मनोविज्ञान राम्रोसँग थाहा छ । आजको मानिस अप्राकृतिक वा कृत्रिम बन्दै गएको, प्रविधिको दास बनेको, भौतिक सुख सुविधामा निर्लिप्त बन्दै गएकोमा कथाकार तिखो व्यङ्ग्य गर्छन् । मान्छेमा रहेका यौनलिप्सा, भोगेच्छा, सबै आफैँले लियौँ भन्ने लोभको पराकाष्ठालाई यस संग्रहका कथामा राम्रोसँग चित्रण गरिएको छ र सँगसँगै आजका मानिसमा देखिएका यस्ता प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । संग्रहका सबै कथा विषयवस्तु र शिल्प दुवै दृष्टिका सफल र उत्कृष्ट छन् । शब्द चयनमा कथाकार सफल छन् । व्यङ्ग्य विधान उत्कृष्ट छ । कथाकारमा विज्ञान र समाज अनि मनोविज्ञानलाई मिलाएर कथा भन्न सक्ने खुबी छ । सबै कथा पठनीय छन्, सङ्ग्रहणीय छन् । यस कृतिले समकालीन नेपाली कथा साहित्यमा एउटा अलग्गै पहिचान बनाउने निश्चित छ । खासगरी कथाका माध्यमबाट आजको युग र आजका मान्छेका प्रवृत्तिमा देखिएका विकृति, विसङ्गति आदिप्रति सूक्ष्म र पेचिलो तरिकाले व्यङ्ग्य गर्न सक्नु यस सङ्ग्रहका कथाको प्राप्ति हो । साथै बिम्ब, प्रतीक, स्वैरकल्पना, मिथक आदिको प्रयोगबाट कथामा मिठास थप्न सक्नु स्रष्टाको अर्को सफलता हो । यसमा लागि कथाकारलाई धेरै धेरै बधाई ।
कृतिः मरीचिका
विधा: कथासङ्ग्रह
प्रकाशकः साङ्ग्रिला प्रकाशन, काठमाडौँ ।
पृष्ठः २०२ + १४
मूल्यः रु.२९५/-