मोहनराज खनाल बर्मेलीराजका विभिन्न लेख रचना साहित्यसागरमा प्रकाशन भ इसकेका छन् । उनी बर्मामा रहेर नेपाली भाषा साहित्य र संस्कृतिका क्षेत्रमा काम गरिरहेका छन् । प्रस्तुत शृङ्खलामा उनले बर्मामा नेपाली संस्कृतिका विषयमा प्रकाश पारेका छन् । -सम्पा. |
बर्मामा करिब दुई सताब्दीदेखि नेपालीहरू पुगेर बसोवास गर्न थालेको पाइन्छ । बर्मामा धेरैजसो बर्मिज, सान, करिन्, कछिन, छिन, मुन, रखाईंन, कया, गडू, ढनू जस्ता धेरै जातिहरू रहेका छन् । त्यस्तै गरेर म्यान्मारमा नेपाली जातिहरू पनि करिब अढाई लाखको सङ्ख्यामा रहेको अनुमानमान गरिन्छ । अढाईलाख नेपालीहरू ३६ सहरहरूमा छरिएर बसोवास गरेको पाइन्छ । ती सहरहरूमा आफ्नै नेपाली बर्मिज सङ्घ संस्थाका शाखाहरू खोलेर बसेका छन् । सबै ३६ शाखामै बसोबास गर्ने नेपालीहरूले नेपाली चाडपर्वहरू मनाउने गरेका छन् । नेपाली रीतिरिवाज दशैँ, तिहार मनाउने र देउसी भैलो खेल्ने गरेका छन् । होलीमा फागु उडाउने, शिवरात्रीमा पूजाआजा गर्ने र धुनी बालेर बस्ने चलन छ । बिजया दशमी महारात्री, कालरात्री, कृष्ण जन्मास्टमी, सरस्वतीपूजा जस्ता चाडपर्वहरू धुमधामसँग मनाइन्छ । साहित्य र संस्कृति कार्यहरू नेपालसरह ढङ्ग नपुगे पनि म नेपाली, म गोर्खाली भन्ने गौरव राखेर छाती खुल्ला गरेर बसोबास गरेका छन् ।
नेपालबाट पुर्खाहरूले लिएर आएका हातहतियारहरू औजारहरू अन्न खाद्यान्नका बिभन्न अनाजहरू सबै नै उस्तै महत्त्वका साथ प्रयोग हुँदै आएका छन् । जस्तै गुन्द्रुक, सिन्की, भट्मास, मासकोदाल, आदि खेती गरेर उत्पादन गरिन्छ । त्यस्तै नेपाली मादल तबला सारङ्गी जस्ता बाजाहरू अझै प्रयोगमा छन् । कम्मरमा खुकुरी भिरेर बर्मा पसेका पुर्खाहरूका सन्तति अझै पनि खुकुरी, दराँती, हँसिया, कुटो, फरुवा, हलो र डल्लेठोहरू प्रयोगमा ल्याइरहेका छन् । टुकी, दियोबत्ती चाडपर्वमा केराका दाम्चामा बात्तीबाल्ले प्रचलन यद्यपि छँदैछ । नेपालका साहित्यका पौराणिक ग्रन्थहरू जस्तै रामायण, महाभारत, गीता, चण्डी, रुद्री, वेद, पुराण, भक्तमाला, छोरीको अर्ती, गुणरत्नमाला, चाणक्यनीति आदि जस्ता पुस्तकहरू प्रायशका घरघरमा रहेकाछन् । ती पुस्तकहरू पुर्खाले भारीभित्र हालेर नेपालबाट बर्मा आउँदा ल्याएका थिए । आज पनि तिनै पुस्तकहरू प्रयोग गरेर नेपाली भाषा सिकाउने गरिएको छ । आज बर्मामा रहेका नेपालीहरूले नेपाली भाषालाई घरघरमा वोल्ने गरेका छन् । हरेक नेपाली मूलका बर्मेलीहरूले नेपाली भाषा लेख्न र पढ्न सिकेका छन् ।
नेपालीहरूमा खास ब्राह्मण, क्षत्री, वैश्य, सुद्र, लामा, राई, लिम्बु, नेवार, सुनार, मगर जस्ता विविध जातजातिहरू भए पनि सबै एउटै परिवार झैँ भएर रहेका छन् । आआफ्ना समुदाय ससाना भए पनि सबै जना एकजुट हुने थलो भनेको नेपाली सिङ्गो सङ्घ भने म्यान्माका नेपालीको लागि छाता भने पनि हुन्छ । “म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ । यो सबैको साझा छाता सङ्गठन हो । यसै संस्थाका मातहतमा सबै नेपाली मूलका बर्मिजहरू एकजुट भएर रहेका छन् ।
बर्मामा नेपाली मठमन्दिरहरू तीन सय पचास भन्दा बढी रहेका छन् । ती मन्दिरहरूमा नेपाली मूलकै पण्डित, पुरोहित र पुजारीहरूले धार्मिक कार्य र पूजाआजा गर्दै आएका छन् । यसले नेपालीहरूको संस्कृति र सम्पदालाई जोगाएर राखेको छ । त्यस्तै गरेर नेपाली धर्मशालाहरू पनि बनाएको छ । ती धर्मशालाहरूले नेपाली सम्पदालाई र संस्कृतिलाई अझ मज्बुत बनाएर राखेको छ ।, एक्काइसौँ शताब्दीमा आएर नेपाली भिक्षुहरू रहेको बौद्ध विहारहरू बन्नु र सन्चालन हुन सक्नु अर्को महत्वपूर्ण कुराहो । ।
बर्मामा नेपालीहरूलाई सङ्गठित बनाएर राख्नका लागि बिभिन्न सङ्घ संस्थाहरू स्थापना गरेका छन् । “अखिल म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ, अखिल म्यान्मा देशीय गोर्खा सङ्घ, संस्कृत स्नातक सङ्घ, युवा सङ्घ, महिला सङ्घ स्थापना भएका छन् ।
नेपालीमूलका बर्मेलीहरू बिभिन्न व्यावशायमा जमेर रहेका छन् । खेतीकिसानी, पशुपालनदेखि लिएर हीरा, रुबी व्यापार आदिमा पनि नेपालीहरूले राम्रो स्थान लिएका छन् । त्यस्तै गरी घिउ व्यापारदेखि पानीको व्यापारमा पनि आफ्नो स्थान बनाएका छन् ।
त्यहाँका केही क्षेत्रमा नेपाली भाषामा कक्षा एक देखि कक्षा दस सम्म र त्यस्तै नेपाली साहित्यमा स्नातकतह सम्मको पढाइ हुने गरेको छ ।