डा. रेनुका सोलु नेपाली साहित्यमै उच्च शिक्षा लिई साहित्य क्षेत्रमा समर्पित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘दशैँ जस्तै लाग्दैन दशैँ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले बाल्यकालको स्मृति र आजको दशैँलाई तुल्य रूपमा प्रस्तुत गरेको छ । -सम्पा. |
सालको पात टिप्न
खोर्दाको भिर पुग्न
बिहान तीन बजे नै उठेर
राँको बालेर जाँदा
गाउँभरिका दिदीबहिनी
चौतारीमा बसेर चाम्रे खाजा खाँदा
रातो माटो लिन
हुलु डाँडा पुग्दा
अनि मानेखोलाको भित्ताबाट
कमेरो बोकेर ल्याउँदा
कमेरो र रातो माटोले
छ्यापेको घर
ब्याटेरिको कालो रङ्गले
झ्यालढोका टिलिक्कै रङ्गाउँदा
अनि पो आउँथ्यो दशैँ
बिमाने दमाई आँगनमा बसेर
दिनभरी लुगा सिलाउँदा
कतिबेला लगाउँला भनी
वरिपरि घेरेर बस्दा
आहा त्यो कौतुहल
अनि तयार भएपछि
पुलिस्टरको नयाँ जामा र
हात्तिछाप चप्पल पड्काउँदै
गाउँभरी देखाउन जाँदा
अरुको भन्दा अलि राम्रो भनेको
सुनेर मख्ख पर्दा
अनि पो आउँथ्यो दशैँ
रातभरी ढिकिमा चिउरा कुट्दा
तलामाथि पहेंलपुर केरा पाकेर
घरै मगमगाउँदा
एक वर्ष अगाडिदेखि पालेको खसी
मार हान्न गाउँभरी डुल्दा
माइला काकाले गाउनुभएको मालसिरी
स्वरमा स्वर मिलाउँदा
साँझ परेपछि
तल्लाघरे कान्छादाजुले
बाँसुरी बजाउँदा
र पुरै गाउँबेशी रन्किँदा
अनि पो आउँथ्यो दशैँ
टीकाको दिनलाई फुर्सद मिलाउन
एक हप्ता अगाडिदेखि घाँस काटेर थुपार्दा
रोटे र लिङ्गे पिङ्ग खेल्न
कहिले साद्दी कहिले सिबटार
हाम फालेर पुग्दा
कसुडिमा राखेको पक्कु मासु
झर्के थालभरी झिकेर खाँदा
आहा
अनि पो आउँथ्यो दशैं
मोहोर देलान कि सुकि
कि पाँच पैसा हो कि दस पैसा
कठै एक को नोट दिए त कति भाग्यमानी
दक्षिणा बटुल्न
लुलुम्बुदेखी पात्लेसम
एकैदिन भ्याउँदा
बेलुका कस्को धेरै भनेर
पैसा फिँजाएर गन्दा
आमाले आफ्नोआफ्नो थैलिमा राख भन्दा
अनि पो आउँथ्यो दशैँ
अचेल त न टल्किन्छ पुलिस्टरको जामा
न पड्किन्छ हात्तिछाप चप्पल
न भेटिन्छ चौतारी
न खाइन्छ चाम्रे
न छ्यापिन्छ कमेरो
न गुन्जिन्छ मालसिरी
न सुनिन्छ बाँसुरी
न बज्छ ढिकी
न मगमगाउँछ केरा
न खेलिन्छ पिङ्ग
न चल्छ दोहोरी
खोइ कहाँ छन् ती साथी सहेली
त्यसैले
अँह्ँ अचेल
दशैँ जस्तै लाग्दैन दशैँ