-सम्पा. |
अन्याय भो न्याय कहाँ छ भन्दै
यात्रा उकालोतिर बेग हान्दै
हिँड्दै थिएँ आज म लर्खराएँ
झोला बिसाएर बसेँ अघाएँ ।
ब्वाँसा अरिङ्गाल र स्याल राज
चल्दैछ के बन्नु यहाँ समाज
बढ्दैछ कोलाहल तिर्मिराएँ
देखेर यो चाल पुग्यो अघाएँ ।
सम्भावनाका जग भत्किए झैँ
बेमौसमी बादल बर्सिए झैँ
डुब्दैछ यो देश म थर्थराएँ
चिन्ता बढ्यो खान्न पुग्यो अघाएँ ।
मान्छे थिए दास समान पैले
मान्छे बने दास खुलेर ऐले
यी दासकै मित्र बनेँ रमाएँ
आँखा खुले होस खुल्यो अघाएँ ।
मान्छे भए पुच्छर हुन्न भन्थे
पुच्छ्रे सबै जन्तु भनी गनिन्थे
गिन्ती गरूँ ? पुच्छर के लजाएँ
झन् लाजमा लाज बढ्यो अघाएँ ।
होला निकै सुन्दर स्वाद भन्दै
उन्मुक्तिको स्वप्निल तान बुन्दै
फुर्केर मीठा सपना सजाएँ
चाखेँ नयाँ स्वाद पुग्यो अघाएँ ।
खोजूँ नराम्रो लय ताल फेरि ?
रोजूँ कि राम्रो घरमा मझेरी ?
यस्तो न उस्तो अब चेत पाएँ
बाटो नयाँ खोज्द्छु भो अघाएँ ।
