भानुभक्त आचार्यको परिचय दिइरहनु पर्दैन । उनी नपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनका स्मृतिमा साहित्यसागरले स्मृतिअंक पनि प्रकाशन गरिसकेको छ । यस पटक १०९औँ भानुजयन्तीको सन्दर्भ पारेर उनको ४८ श्लोकको प्रश्नोत्तरमालाबाट केही श्लोक छनोट गरी यहाँ भानुभक्तको सम्मान स्वरूप पहिलो कविताका रूपमा प्रस्तुत गरिएको छ । -सम्पा. |
कस्लाइ हो शत्रु भनेर जान्नु?
आफ्ना दसै इन्र्दिय शत्रु मान्नु।
कस्लाइ खूब् मित्र भनेर जान्नु?
जीत्या तिनै इन्र्दिय मित्र मान्नु।
दरिद्र नाऊँ नरमा छ कस्को?
विशाल तृष्णा घरमा छ जस्को।
कुन् हो धनी सब् नरले कह्याको?
सन्तोषले जो छ खुसी रह्याको।
ज्युँदै मर्याको भनी नाऊँ कस्को?
उद्यम विना बित्तछ काल जस्को।
कुन् हो सबैले गुरु भन्नु पर्न्या ?
जो हो हितैको उपदेश गर्न्या ।
कुन धन्य हो? जुन् छ परोपकारी।
कुन् पुज्य हो? तत्व लिन्या विचारी।
कौनै बखतमा पनि के नगर्नु?
पापका अगाडि कहिल्यै नसर्नू।
कुन् हो जगतको गहना बन्याको?
विध्यै छ सबको गहना बन्याको।
कुन् सत्य हो सत्य कसरी जान्नु?
जुन् प्राणीको हित छ उ सत्य मान्नु।
शोभायमान भई बस्छ सभा बिषेको?
सब्को मन प्रसन्न गर्दछ शास्त्रले जो।
मातासरी सुख दिन्या कुन् चिज छ जान्नु
विध्यै छ त्यस्तो अरू कौन खोज्नु ?
कुन् हो जति दियो उति बढ्न जान्या?
बिध्यै रहेछ बुझि निश्चय तेहि मान्या।
कुन् काम हो अति डरायर दुर सार्नु?
लोकापवाद् छ घटिया कहिल्यै नधार्नू।