|
-सम्पा. |
जुन समयमा रोकिन्छ
पानीको प्रवाह
अथवा समयको धून,
प्रतिवाद हुन्छ नै हुन्छ,
रोकेर रोक्न सकिँदैन
थुनेर थुन्न सकिँदैन
पानी भनेको तरलता हो
बग्न खोज्छ
बग्न दिनुपर्छ ।
कहाँ रोकियो र समय हिजो पनि
बगेकै त हो ,
पानीको शक्तिलाई
कम नठान्नु होला
पानीले दरबार भन्दैन
पानीले झुपडी पनि भन्दैन
पानीले बलियो / दुब्लो केही भन्दैन
बरू पोथ्राहरू बगरमा उभ्याएर जान्छन्
जरा गाडिएकाहरूलाई सोत्तर बनाएर लान्छन्
पानीलाई कम नआक्नुहोस्
पानी बहुलाएको दिन
तपाईं पनि कहाँ सद्धे रहन सक्नुहोला र!!
पानीले आग्रह गर्छ
कहिलेकाही झिनो श्वरमा हिउँद यामका बेला
भन्छ,
म त सानो खोल्सी हुँ
छेउ भएर बग्न देउ,
पानीको आवाज र अनुनय नसुन्ने हो भने
त्यहीँ खोल्सी बर्खामा खहरे बनेका दिन
आवाज टालिने गरि तिम्रो कान
र शब्द ननिस्कने गरि तिम्रो मुखमा
सधैको लागि टालो कोचेर
पानी बग्नेछ तिम्रै छेउ भएर
त्यो समयमा,
तिम्रो नजिक उभिएर
आँसु बगाउने बगर पनि
निक्कै टाढा पुगिसकेको हुनेछ ।



विमल वैद्य (२०२३ इ.न पा, इलाम) साहित्य एवम् सञ्चार क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनले बहुमुखी सामाजिक काममा पनि हात हालेका छन् । उनका आकाश छुन खोज्ने मनहरू (२०६०), समय र सपना (२०७२), अक्षर सिम्फोनी जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन् । विषय अनुरूपका विम्ब र प्रतीकको खोजी गर्ने वैद्यका कविता समकालीन पुस्ताका निकै समर्थ कविता देखिन्छन् । प्रस्तुत ग्रन्थमा उनको ‘रोक्नु हुन्न प्रवाहलाई’ शीर्षकको कविता समेटिएको छ । यस कविताले परिवर्तनको पक्षपोषण गरेको छ ।