![]() -सम्पा. |
यस्तो सपना देखौँ झलमल होस् यो समस्त संसार
लेख्नालाई सजिलो शुभप्रभातीय उद्गार
उन्नत सोच बनाऔँ बनोस् त्यही नै अगम्य पर्खाल
रोक्न सकोस् उसले नै तात्कालिक आँसुको छाल
नियमित जीवन पारी खुशी मनाऔँ जहानका साथ
कविता गीत सुनाई गरौँ कि ता प्यारका बात
उदयाचलमा आई सविता छर्छन् सुवर्णका किरण
सौन्दर्य चेत पाई चिम्लौँ आनन्दमा नयन
पुतली फुरफुर गर्छन् जिउमा कुसुमी पराग पोतेर
चिडिया चिरबिर गर्छन् डालीमा चंचु जोतेर
जलधर चल्छन् नभमा धरतीलाई सियाँल पारेर
धेरै अथवा थोरै पानीका विन्दु झारेर
मरमर हावा चल्दा चलमल गर्छन् बुटाहरू वनमा
मानौँ मानिसलाई रमिता भर्ने गरी मनमा
विस्तारै रवि आए अस्ताचलमा बिदा हुनालाई
हेरौँ उनको सुषमा आफूले त्यो लिनालाई
रजनीमा शुभचिन्तन गर्दै आराममा जाऔँ
आशीर्वाद मिलेझैँ शुभप्रभातम् सदा पाऔँ
सुखको स्रोत म आफै परमेश्वरको हुँ योग्य सन्तान
चिन्मय आनन्दी के चाहन्थ्यो रोगमा जान
धरती अम्बर मेरा आमा बाबा जताततै व्याप्त
यिनको काख मलाई स्नेह जनाई भयो प्राप्त
संसारदाजुभाइ दिदी र बहिनी सबै भए प्यारा
म बनूँ किन पो दुःखी मेरै घर हो जगत् सारा
शिवको शैल छ साथै आडैमा विष्णुको सदा शयन
हाम्रा रक्षणकारी दुइटैलाई छ यो नमन
हे आर्या शर्वाणी ! तिम्रो कविता यसैगरी ल्याऊँ
आर्याको लय तानी घरमा संगीत रन्काऊँ
नाच्तछु जानिनजानी बैठकमा नै लगाउँदै भाउ
वाग्देवि ! हेर्न आऊ वीणाको तार झन्काऊ ।
