भुवनहरि सिग्देल नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्क र विभिन्न अङ्मा समेटिइसकेको छ । यहाँ उनको हे डढेल्धुरा शीर्षकको कविता समेटिएको छ । यस कविताले अमरसिंह थापालाई र उनको जन्मभूमिलाई मूल विषय बनाएर राष्ट्रिय चेतना अभिव्यक्त गरेको छ ।
-सम्पा. |
रगत बग्दथ्यो स्वाभिमानको
मुलुक अस्मिता गर्व सानको
अमरसिंह झैँ साहसी दह्रा
सबल पुत्र दे हे डढेल्धुरा ।
डमरु बाघको मै हुँ भन्दथ्यो
कुकुर झैँ सिनो खान्न भन्दथ्यो
अमर सिंहजी खै वसुन्धरा ?
खबर दे छिटो हे डढेल्धुरा ।
अधम शत्रुका अङ्क काप्दथे
हृदय जम्दथे दूर भाग्दथे
अमर सिंहका जन्म दे धरा
झुसमुसे नदे स्याल फ्याउरा ।
किन जमाइयो रक्त वीरको
किन ढले गले साँध देशको
अमरसिंहको खै परम्परा ?
तँसँग सोधनी छन् डढेल्धुरा ।
पथ खुले नयाँ भावना मरे
युवकले जहाँ जन्म बिर्सिए
अमरसिंहका प्रश्न छन् खरा
मनन मात्र गर् हे डढेल्धुरा ।
बरु म आरती गर्न आउँला
जयति कालिके मन्त्र गाउँला
अमरसिंहजी मौन छन् बरा
अब जगाइदे हे डढेल्धुरा ।