नारायणप्रसाद होमगाईं प्रवासी नेपाली साहित्यकार हुन् । काभ्रे मूल थलो भएका होमगाईं हाल भारतको कोलकातामा रहेर नेपाली भाषा साहित्य र जातीय हक हितका लागि काम गरिरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेकाले यहाँ उनको छोटो कोलकातामा भनुभक्त शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले भानुभक्त आचार्यको व्याप्तिलाई देखाएको छ ।
-सम्पा. |
सिक्किम दार्जीलिङमा भानुभक्त आचार्यको सम्मान गर्ने चलन प्रशिद्ध साहित्यकार सूर्यविक्रम ज्ञवाली, पारशमणि प्रधान, धरणिधर कोइराला, इन्द्रबहादुर राईलगायतका साहित्यकारहरूको समयदेखि हुँदै आएको कुरा हामीले सुनिरहेकै थियौँ । कोलकातामा पनि केही संस्थाहरूले निकै लामो समय अघिदेखि नै ससानै हिसाबले भए पनि भानुभक्त आचार्यको जन्मजयन्ती पालन गर्दै आएका थिए । यस कार्यमा, गोरखा दुःख निवारण समितिले पनि गर्ने गरेको थियो भन्ने कुरा कताकता सुनेका थियौँ । अखिल भारतीय नेपाली भाषा परिषद्ले १९९४ देखि प्रत्येक वर्ष १३ जुलाईको दिन पश्चिम बङ्गाल सरकारको विधानसभा भवनमा बङ्गाल सरकारकै व्यवस्थापनमा, मन्त्री र विधायकहरूको उपस्थितमा आदिकविको जन्मजयन्ती पालन गर्ने गर्दछ । यो वर्ष पनि त्यहाँ कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
त्यस्तै अर्को एउटा संस्था नेपाली जनकल्याण समिति दासनगर हावडाले सन् १९९७ देखि भानुभक्तको जन्मजयन्ती भव्य रूपले पालन गर्दै आइरहेको छ, यहाँ नेपालका साहित्यकारहरू धेरै पटक उपस्थित भइसक्नु भएको अवगत नै छ । सन् २०१८ मा नेपालबाट प्रा.डा.व्रतराज आचार्य, ऋषभदेव घिमिरे, डा. रमेश शुभेच्छु,, सुभद्रा भट्टराई भानु जयन्तीकै लागि उपस्थित रहनुभएको थियो । यस संस्थाले हरवर्ष भानुजयन्ती मनाउदै आइरहेको छ ।
त्यस्तै सन् २०१९ मा भानु जयन्तीको लागि संस्थाको निमन्त्रणमा भानु प्रतिष्ठान नेपालबाट महासचिव डी. पी. अर्याल, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा हेमनाथ पौडेल, डा देवी नेपाल, दायित्व प्रकाशनका सम्पादक रामप्रसाद पन्थलगायतका व्यक्तित्वहरू आउनुभएको थियो ।
प्रवासी नेपाली सङ्घ भारतले कोलकातामा आदिकवि भानुभक्तको जन्मजयन्ती पालन गर्न सन् २००७ बाट सुरु गर्यो र त्यसको अघिल्लो वर्ष अथवा सन् २००८ देखि भानुभक्त जयन्तीको अवसर पारेर नेपाली र भारतीय विद्यार्थीलाई मिलाएर समूह तयारी गरी हाजिरीजवाफ प्रतियोगिता प्रारम्भ गर्यो । उनीहरूबाट प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुनेहरूलाई नगद पुरस्कार र प्रमाणपत्र, अन्य सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्ने काम गर्न थाल्यो । त्यस कार्यबाट यसको महत्व अरू बढेर गयो । उक्त कार्यमा नेपाली महावाणिज्य दूतावास कोलकाताको सहयोग भएको कारणले पनि कोलकातामा अत्यन्त प्रचारात्मक ढङ्गबाट यो विषय अगाडि़ बढ्यो ।
सन् २०१९ मा यो कार्य गर्नका लागि नेपाली दूतावास नयाँ दिल्ली र बी.पी कोइराला नेपाल भारत फाउन्डेसनको पनि सहयोग रह्यो । त्यसवर्षको कार्यक्रम प्रवासी नेपाली सङ्घ भारत, अखिल भारत नेपाली एकता मञ्च र भोलिका लागि आजका हातहरूको संयुक्त आयोजनामा कोलकाताको जादवपुर विश्वविद्यालयभित्र रहेको गान्धी हलमा भारतका लागि नेपाली राजदूत महामहिम निलाम्बर आचार्यज्यूले समुद्घाटन गर्नुभएको थियो । हाजिरजिवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने विद्यार्थीहरूलाई नगद पुरस्कारको साथ प्रमाणपत्रहरू वितरण गरिएको थियो भने भव्य सांस्कृतिक कार्यक्रम राखेर कलाकारहरूलाई सम्मान गर्ने काम गरेको थियो ।
१३ जुलाई २००८को दिन कोलकाताका मेयर श्री विकाशरञ्जन भट्टाचार्यले तत्कालीन कोलकाताका नेपाली महावाणिज्यदूत श्री सुरेशमान श्रेष्ट र प्रवासी नेपाली संघ भारतका केन्द्रीय महासचिव श्री खेमचन्द्र ढकाल र कोलकाताका अन्य संघसंस्थाका प्रतिनिधिलाई साक्षी राखेर कोलकाताको मुटुमा अवस्थित अलीपुर नेसनल लाइब्रेरीको पश्चिमपट्टि रहेको उड्ल्याण्ड नर्सिङ्गहोम प्रवेश गर्ने एउटा सडकको नाम भानुभक्त सरणी नामकरण गरी शिलान्यास गर्नेकाम सम्पन्न गर्नुभएको थियो ।
विभिन्न संस्थाहरूले कोलकातामा भानुभक्तको मूर्ति राख्नुपर्छ भन्ने प्रतिस्पर्धामा नेपाली जनसेवा समाज कल्याणीको पहलमा ४ अप्रैल २०१७ का दिन पश्चिम बङ्गालको कल्याणी विश्वविद्यालयको नजिकै रहेको मुनिसिपलिटीको अगाडि़ पार्कमा त्यहींको स्थानीय सरकारको सहयोगमा एवम् नेपाली महावाणिज्यदूत श्री एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा भानुभक्तको मूर्ति स्थापित गर्ने काम सम्पन्न भयो ।
त्यस्तै सूर्योदय संस्थान खिदिरपुरले १३ जुलाई २०१७ को दिन खिदिरपुरको सेन्ट थोमस हाईस्कुलको अगाडि़ पश्चिम बङ्गाल सरकारका शहरी विकाश मन्त्री श्री फिराद हाकिम, विधायक महमद् गनी र नेपाली महावाणिज्यदूत श्री एकनारायण अर्यालको उपस्थितमा अर्धकदको भानुभक्तको मूर्ति स्थापना गरी अनावरण गर्ने काम भएको थियो । यो संस्थाले प्रत्येक वर्ष भव्यरूपमा भानुजयन्ती पालन गर्दै आएको छ । विगत वर्षहरूमा विद्यार्थीहरूलाई लिएर झाँकी प्रदर्शन गर्दै शहर परिक्रमण गर्ने काम सम्पन्न गरेको थियो ।
यसबाट के बुजिन्छ त भने, कोलकाता र यसको वरिपरि रहने जनसमुदायहरूमा भानुभक्तप्रतिको मोह केवल नेपाली समुदायमा मात्र नभएर यत्रतत्र प्रचारप्रसार भइरहेको छ । सन् १९९२ मा भारत सरकारले नेपाली भाषालाई मान्यता प्रदान गरेदेखि नै भानुभक्तको महत्त्व भारतमा अरू बढेको र त्यसपछि निरन्तर बढिरहेको देखिन्छ ।