|
सम्पा. |
हावा चलेको थिएन
मिरमिरेमै
बरर्र झरे पारिजातका फूलहरू
देवभक्तले फूल टिपे
भुइँमा छरिएका फूलहरू एकीकृत गरेर
पूजाथालीमा उठाए
सुवास मगमगायो
छेउमा लालपातीको बोट थियो
भक्तले
लालपातीको मुन्टो चुँडाएर
थालीमा राखे
लालपातीले
हाँगाबाट दूधजस्तै चोप तप्काउदै
प्रतिकृया गर्यो र भन्यो
हेर ! मेरो बगिरहेको पीडा
मिरमिरे मै
म निर्दोषको हत्या गर्यौ
फूलको बोटबाट खुसी लुट्यौ
मेरो घाँटी निमोठेर
बोटको हाँसो खोस्दा
तिमीलाई दुःख लाग्दैन ?
देवभक्तले गर्व गर्दै भन्यो
पुष्प र फलको बलि भगवानको पाउमा चढाउँछु
फूलले आस्थाको खोट देखाउदै भन्यो
तिम्रो अनुहारको खुसी
र
मेरो जीवनको निर्मम अन्त्य
उसकै चरणमा निर्लज्ज देख्ने भगवान
एउटै हैन र ?
२०७८ पौष ०५, काठमाडौँ



भुवन शिवाकोटी साहित्य सिर्जना र संगठनका बहुआयामबाट नोली साहित्यमा समर्पित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको पूलको आवाज शीर्षकको मुक्त लयढाँचाको कविता समेटिएको छ । यस कविताले पूजाका नाममा हुने फूलको हत्याको विषयलाई विषयवस्तु बनाएर पर्यावरणीय चेतनाको अभिव्यक्रि जीवन्त रूपमा दिएको छ ।