- निबन्ध
कृष्ण प्रधान भारतीय भूमिमा रहेर नेपाली साधनामा समर्पित प्रतिभा हुन् । उनी सिर्जना र समीक्षाका दोहोरो माध्यमबाट साहित्यसेवा गरिरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा भइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको कान शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले कानका विविध विशेषलाई हास्य व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ ।
-सम्पा. |
एक जना प्रख्यात कविले आफ्नो कवितामा लेखेका छन् –
“म कान थापिरहन्छु
मान्छेको हृदयभित्रको
गहिरो गोप्य कुरा सुन्न
कान थापिरहन्छु
तर…..
मेरो कान नतान्नु ।“
यी कवि अवश्यै पनि ढाँटढुटे, फटाहा कवि नभएर सत्यद्रष्टा कवि हुन् । मानव हृदयको अन्तरकुन्तरमा तिनको कान विचरण गरिरहन्थ्यो अहर्निस । अरूको कुरा सुनेर मज्जा मान्नलाई हामी कान थाप्छौँ । यो कानले अर्काको बदख्वाइँ, बदनाम सुन्न कति मनपराउँछ । कानले कसैको राम्रो कुरा सहँदैन । जैले नि नराम्रा कुरा सुन्न यी दुवै कानहरू आत्तिइरनहन्छन् ।
राम्रो कुरा एउटा कानले सुनेर अर्को कानले उड़ाइदिन्छ । कान थापेर सङ्ग्रह गरिएका अर्काको बदख्वाइँ, बदनाम तर पचाउन सक्तैन यो कानले । तुरुन्तै यी कुराहरू अर्काको कानमा वमन नगरी चुपो लागेर बस्न सक्तैन यो कान । तपाईँ र मेरा कान एकै ड्याङका मुला हुन् वा एउटै पोखरीका माछा हुन् ।
गालाका मास्तिर दुवैतिर टक्क–टक्क अढ़ेका दुई कान सृष्टिकर्ताले दिएका सुन्दर उपहार हुन् । ठिक ठाउँमा कान राखिदिएका छन् उनले । तपाईंको कानले अहिले जुन स्थान ओगटेर बसेका छन्…ती दुवै कानलाई सृष्टिकर्ताले अर्कै ठाउँतिर राखिदिएका भए ? तपाईंलाई कस्तो देखिन्थ्यो होला….एक पल्ट आँखा चिम्म गरेर सोच्नोस् त !
लु एक क्षणलाई तपाईं वा मेरा दुवै कानलाई एउटैमा मिसाएर ठुलो ढ्याब्रे आकारको बनाएर नाइटोको माथि टाँसिदिएका भए ? हामी कुनै गोप्य कुरा सुन्नलाई दाउ पर्यो भने भित्तैमा कान टाँसेर सुन्ने गर्छौं वा गोप्य कुरा सुनाउनेको मुखैमा एउटा कान टाँसेर सुन्छौँ । तर नाइटोमाथिको ढ्याब्रे कानले गोप्य कुरा गर्नुपर्यो भने सिङ्गै भुँड़ी नै भित्तामा चेप्टाएर सुन्नु पथ्र्यो । कि त कसैको मुख नाक थुनिने गरी नाइटोमाथिको नाक टँसाएर श्वास न बास बनाउनुपथ्र्यो । कसैसित गोप्य कुरा गर्नलाई हामी एकार्काको कान टँसाएर कानेखुसी गर्छौं । नाइटोमाथिको ढ्याब्रे नाकले कानेखुसी गर्नुपर्यो भने एकार्काको भुँडी जोल्ठाएर कानेखुसी होइन भुँड़ीखुसी वा नाइटोखुसी गर्नुपरेको दृश्य कस्तो हुन्थ्यो होला हजूर !
कतिलाई ता भुँड़ीमा सामान्य स्पर्श गर्यो कि हाँसेर भुतुक्कै हुने बानी हुन्छ । नाइटोमा टाँसिएका कानहरू नाइटोखुसी (कानेखुसी?) गर्दा कुतकुती लागेर गोप्य कुरा कहाँ पुग्थ्यो होला ।
लु नाइटोमाथि कान नभएर फिलामा तुर्लुङ्ङै झुन्डिएको भए ? गोप्य कुरा गर्न वा फिलाखुसी (कानेखुसी?) गर्न एकार्काको फिला जोड़ेर गोप्य कुरा गर्नु कत्ति समय लाग्थ्यो होला । लु फिलामा पनि भएन । कान काखीको चेपमा राखिदिएका भए सृष्टिकर्ताले ? गोप्य कुरा वा काखीखुसी (कानेखुसी?) गर्दा अर्काको काखीमा आफ्नो काखी ख्वाप्पै हाल्नुपथ्र्यो । कसैको काखी ता अन्तरराष्ट्रिय पाराले दङदङ्ती गन्हाउने हुन्छ । अर्काको कानको अन्तरराष्ट्रिय दुर्गन्धले तपाईंको कानको गति के हुन्थ्यो होला ?
सृष्टिकर्ताले तपाईंलाई लामा–लामा कान उपहारस्वरूप दिएका छन् । बलिया–बलिया एक जोड़ी खुट्टा दिएका छन् । भोजन थुपार्नलाई दुई बलिया खुट्टामाथि एउटा पेट पनि उपहार स्वरूप दिएका छन् । प्राणवायु सञ्चारणार्थ विभिन्न प्रकारका कलपूर्जाले भरिएको विशाल चिरिच्याट्टै परेको छात्ती पनि दिएका छन् । यसबाहेक सबैभन्दा माथि उत्तम मालमसालाले टम्म भरिएको टाउको । ऐनाको छेउमा उभिई आफ्नै सर्वाङ्ग धितमरिञ्जेल हेर्नोस् । सृष्टिकर्ताले कुनै गलत गरेका छैनन् । ..यो कुरा तपाईंले स्वीकार्नैपर्छ, मान्नैपर्छ । आफ्नो भएभरको सिप र कलाले तपाईंको टाउकालाई विभिन्न आवश्यकीय सरजामले सजाइदिएका छन् । तिनको सृष्टिलाई हेर्नको निम्ति एक जोड़ी दर्शनेन्द्रीय दिएका छन् । माथि एक जोÞड़ी ढकनी लगाइएका श्वास तथा गन्ध सुङ्ने एकजोड़ी नाक । सबैभन्दा जरुरी काम हो आहार तथा बोल्नको निम्ति ओँठ, जिब्रो, दाँत इत्यादि अनेकन् कलपूर्जाहरू ।
हजूर ! एकजोड़ी कान टाउकाका दुवैतिर ट्याप्पै–ट्याप्पै टाँसिदिएका छन्….सृष्टिकर्त्ताहरू यसलाई श्रवणेन्द्रिय भन्छन् । मलाई थाहा भैसक्यो, यो सबै हामीले जानेकै कुरा हो भनी मनमनै भन्दै हुनुहुन्छ होला । किन व्यर्थमा कानबारे हामीलाई त्यत्रो ज्ञान दिइरहेको भन्नुहुन्छ होला । के कारण हो यो भन्दै हुनुहुन्छ होला ।
कारण छ…हजूर कारण । गतिलो कारण छ र ता यति कुरा । नत्र किन कानबारे फलाकिरहेछु कि फलाकिरहेछु ।
हेनतेन नभनेर एउटा कुरा हाकाहाकी के भन्न चाहन्छु भने, तपाईले तपाईको कानलाई न ता कच्याक्–कुचुक् पार्न सक्नुहुन्छ न ता तनक्कै लामो तन्काउन नै सक्नुहुन्छ । न ता त्यसलाई प्वाक्कै–प्वाक्कै निकालेर उफार्नुसक्नुहुन्छ । जतिसुकै चेष्टा गर्नोस् केही गर्न सक्नुहुन्न । हात चलाउनोस्, खुट्टा नचाउनुहोस्, हात हल्लाउनोस् (ट्राफिक पुलिस जस्तो) आँखा झिम्झिम् गर्नोस्, मरिञ्जेल नाक कोट्याउनोस्, बूढ़ो औंली जम्मै घुसार्नोस् नाकका दुलामा, बत्तीस दन्त ङिच्याउनोस् कि किट्नोस्, जिब्रो देखाउनोस्, ओँठ चुच्चो पार्नोस्, सबै ठिक छ ।
तर कान ? कानसित तपाईं ठ्याम्मै छट्टु गर्न सक्नुहुन्नँ । कानलाई सामान्य यताउति गर्ने सामर्थ्य छैन तपाइँसित । कान निकाल्नु ता टाढ़ाको कुरा । कानमा मौरी वा झिँगा बस्ता तपाईंले कान हल्लाएर झिँगा वा मौरी धपाउन सक्नुहुन्न । त्यसको निम्ति हातै चाहिन्छ ।
गाई–वस्तुले पो कान हल्लाउनुसम्म हल्लाएर झिँगा वा मौरीलाई नलेखेटी छोड़्दैनन् । गधालाई तपाईंले ’लम्बकर्ण’ भनेर वा हात्तीको जस्तो कान हुनेलाई ’हात्तीकाने’ भनी यी दुइ प्राणीलाई खिसी गर्नुहुन्छ । कुकुर–बिरालोको ता कुरै नगरे हुन्छ । अहर्निश दुवै कान ठाडा–ठाडा पारी स्थितिको खबर लिइरहेका हुन्छन् । सबैले सक्छन्, मात्र तपाईले सक्नुहुन्नँ ।
पल्लोपट्टिका छिमेकी दम्पत्ति झगड़ा परेको कर्कश आवाजले कानको जाली फुट्ला जस्तो हुन्छ । पल्लोपट्टिकी श्रीमतीको कर्कश स्वरको वायु तरङ्ग कानको दुलाभित्र स्वात्तै पस्छ । झिँझेट लाग्नु मात्र होइन हुनसम्मको रिस उठ्छ । के गर्नुहुन्छ ? हत्त न पत्त कान खोलेर गडरेजभित्र लुगाको चेपमा राख्न सक्नुहुन्छ ? आँखा बन्द गर्न सक्नुहुन्छ । हेर्दिनँ…केही हेर्दिनँ, जतिनै मुख चिलाए पनि मुख बन्द गर्न सक्नुहुन्छ । तर कान ? कसरी बन्द गर्ने कानलाई ?
सृष्टिकर्ताको बुद्धिमाथि विश्वास लाग्न छोड़्छ । कानलाई बाहिर किसिम डिजाइन नगरेर बरू स–साना दुइवटा चिटिक्कै परेको फोल्डिङवाल गेट बनाइदिएको हुँदो हो ता ! त्यसको निम्ति माल मेटिरियल सामान्य धेर लागे पनि सृष्टिकर्ताको परिश्रम सामान्य फुर्मास हुनेथ्यो ।
भन्नु उसो होइन…तपाईंका छिप्पिसकेको तरुलजस्तो कानले सानामा निकै पिर सहनुपरेको हजूरलाई थाहा छ के ? सानामा सर–गुरुमाको बनतरुलजस्तो डोँठे औँलीले कान तानेर, निमोठेर, निचारेर रात्तै पारेको कुरा बिर्सिनुभो ? कसैले हात समाते हाताहात, खुट्टा समाते लात्तैलात्ता, केश समाते जगटा लुछालुछ । तर कान समात्यो कि टाउको बाङ्गिएर केही राख्दैन ।
गुरु–गुरुमाहरू सानामा हाम्रो कानलाई कप वा मगको ह्याण्डल, छाताको डण्ठा, कराहीको कान ठान्दा थिए क्यारे ! र ता केही नबिचारी कान तान्नुसम्म तान्थे । अचानोको पिर खुकुरीलाई के थाहा ? अहिले पनि बेलाबखत श्रीमतीले कान तान्ने गर्छिन् । के मजा लागेको हो को’नि ! यसकारण मलाई के लाग्छ भने, कान कामको निम्ति भन्दा पनि अकामको निम्ति नै प्रयोग हुनुगर्दछ ।
आँखालाई मृगनयन, गाजलु आँखा, धनुकाँढजस्तो परेली, गुलाफ फूलको पाप्री जस्ता दुई बान्किला ओँठ, सेवजस्ता गालालाई विशेषणको पगरी गुँथाइन्छ । त्रिभुजाकारको नाकलाई फूल जस्तो भनी वर्णन गरिएको सुन्न पाइन्छ । तर कानलाई कसैले कमल फूलको पात जस्तो झर्झराउँदो कान भनेर प्रशंसा गरेको सुन्नुभएको छ हजुर ? कानलाई धेरैले च्याउसित वा हात्तीको कानसित वा मुसाको कानसित तुलना गरेको सुनिन्छ ।
विचारा कानले यो कुरो सहला र ! तर कान निर्विरोध राम्रो माल हो । ठुल्ठुला, राता राता आँखा पारेर वा आँखा तरेर विरोध प्रदर्शन गर्न सकिन्छ । कुनै कुरो मननपरेको खण्डमा प्रतिवाद गर्न कान र ओँठ काचाक्–कुचुक् पारेर प्रतिवाद गर्न सकिन्छ । तर कान विचारा मौन । कानले न ता विरोध न ता प्रतिवाद प्रदर्शन नै गर्न सक्छ । कानलाई आजसम्म कसैले सम्मान वा सहानुभूति दर्शाएको देखिएको छैन । कत्ति सोझो छ यी दुइ कान । र ता राजनीतिक नेताहरूले सोझा–सिधाका कानमा किसिम कुरा घुसारेर कानको मालिकलाई बिलखवन्द पारेर सखाप पारेको कुरा पनि ढाँट होइन । यसैले कान जोगाउनोस्, नहुने, नसुन्ने कुराहरू एक कान दुई कान मैदान नहोस् ।
विचारा कान ।