- कथा
यश घिमिरे चितननमा रहेर साहित्य साधना गर्ने नवपुस्ताका राम्रा प्रतिभा हुन् । उनका कथाले समाजका फरक विषयवस्तुलाई प्रस्तुत गरेका हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘सरी है माइन्ड नगर्नुहोस्’ शीर्षकको कथा समेटिएको छ । यस कथाले वास्तविक अपराधी पहिचानमा प्रहरी प्रशासनले गर्ने कमजोरीबाट निरपराध मानिसमा पर्ने असरलाई निकै जीवन्त रूपमा व्यक्त गरिएको छ ।
– सम्पा. |
जेठ महिनाको सुरुवाती दिन । तराईमा उखर्माउलो गर्मी सुरु भइसकेको थियो । निरञ्जनले आलस्यको हाई काढ्दै घडी हेर्यो । दिउँसोको तीन बज्नै लागिसकेछ । जस्तै गर्मी भए पनि दिनमा चार–पाँच कप कफी उसको आदतजन्य कमजोरी रह्यो ।’
सुगर फ्री क्युब’ राखेर कफी बनायो । घामको चर्को उज्यालो छल्न कालो चस्मा लगायो अनि कप लिएर कोठासँगै गाँसिएको कौसीमा निस्क्यो ।
उसलाई एसीयुक्त कुनै बन्द क्याफे भन्दा यही बाटोतिर फर्किएको खुला बार्दलीमा भएको कुर्चीमा बसेर पिउँन रमाइलो लाग्थ्यो । हिँडिरहेका मान्छे , कुकुर , गाई बाख्रा अनि उडिरहेका चराहरूलाई एक टक लगाएर हेर्दै उनीहरूकै आचरण, भङ्गिमा र मनोभाव पढ्ने कोसिसमा रहन्थ्यो ।
सामुन्ने बाटोपारिको दुई तल्ले पहेँलो घरको बरन्डाको छतमा एक जोडी परेवाहरू प्राकक्रीडामा रमाउँदै रहेछन् । उस्का आँखाहरू र मस्तिष्क त्यहीँ पुगेर स्थिर भयो ।
निख्खर कालो भाले र सेतो छिर्केमिर्के पोथी, बेला बेलामा एकअर्कालाई ठुँडले कन्याइदिएर त कहिले चुच्चो मिलाउँदै प्रेम साटासाट गर्दैथिए । यो दृश्यले पारपाचुके लिइसकेकी भू.पू श्रीमती सजनीलाई झलक्क सम्झायो।
“ कालो रङ्गलाई लिएर जनावर र पन्छीहरूको संसारमा कत्ति पनि बिभेद छैन । किन होला यो रङ देखेर मान्छेलाई मात्र अप्रीतिकर लाग्ने ? । कालो मान्छे – कुरूप , कालोरात – अप्रिय , कालोधन – अधर्मी , कालोपट्टी – बिरोध, कालोनाग – भयानक , कालो तिलक – बिद्रोह ,कालो कौवा – अपसकुन आदि इत्यादि विम्ब र प्रतीकका रूपमा लिन्छ मान्छे !
कालो हुनु आँफैमा नराम्रो या कुरूपताको पर्याय हुन्थ्यो भने यो पोथी परेवालाई चाहिँ किन यतिबिधि माया लागेको होला ? किन प्रेम उब्जिरहेको होला ?? । कालो वर्णकै हुनाले सजनीको मप्रति सधैँ हेय भाव रहिरह्यो । उनको ब्यबहारले मलाई जीवनभर हिनताभासले गाँजिरह्यो । आखिर बाहिरी आबरणले अल्पचेतयुक्त प्राणीलाई त केही फरक पर्दैन रहेछ भने चेतन मस्तिष्क बोक्ने उनलाई किन पर्यो ? “ – ऊ ,जोडी परेवा हेर्दै सोचमग्न भयो ।
तारन्तारको ’तँ काले नराम्रो, म गोरी राम्री, मेरो बाउआमाको आँखा फुटेकोले गर्दा तँ जस्तोलाई बेहोर्नु परेको ’ भन्ने अहमले अन्तत्वगोत्वा सम्बन्ध पारपाचुकेमा गएर टुङ्गियो । यो सम्झेर निरन्जनको मन एकतमासले अमिलो भएर आयो । चिसिइसकेको कफीलाई “टकिला“ जसरी स्वाट्ट पार्यो ।
“ ओई कुकुर्नी ! के टिकटक बनाउँदै बरन्डामा दुनियाँलाई देखार’ उफ्रेकी ? तल हिँड खुरुक्क। “– आँखा फुकालेर निरन्जनलाई हेर्दै अधबैँशे उमेरकी तामाङ्नीले आफ्नी छोरीलाई हप्काई ।
जोडी परेवाका मुनि एउटी १७–१८ बर्षकी किशोरी र उनको सानो भाइ भिडियो बनाउँदै गरेको निरन्जनले या त याद गरेन या चराको प्राककृडामा भुल्यो कुन्नि , गाली सुनेपछि अहिले पो देख्यो । ती तामाङ्नी दिदीले ऊतिर रश्मीले चुर हुँदै हेरेको चाहिँ अचम्म मान्यो ।
किशोरी भने आमाको गाली सुनेर भुत्भुताउँदै भित्र पसी ।
०००
“ सर ! अठार बर्षकी छोरी हराई । अफन्त सारासंसार कहीँ खोज्दा पनि भेटिएन । “ इलाका प्रहरी कार्यलयको इन्चार्जसामु तामाङ्नी दिदी आत्तिदै उजुरी गर्न पुगी ।
“कैलेदेखि ?। “
“ हिजो बिहानदेखि सर । हिजै साँझसम्म मुबाइलमा ,दुई तीन चोटि घन्टी बज्या’थ्यो । त्यसपछि त स्विच अफ भन्छ । झोला कपडा केही बोकेर लएकी छैन । कलेजकै डिरेसमा हराई “– उनको आँखाबाट बरर आँसु निक्लियो।
“ नरुनोस् ! हामी पत्ता लगाउँछौ । छोरी कतिमा पढ्थी? लभसब पर्र्या थियो कि , केही थाह छ ? अथवा कसैमाथि शङ्का छ तपाईंलाई ? “
“ पलस टु गर्दैथी’ । लबसब केही पर्र्या था’छैन। टिकटकमा भिडियोसिडियो बनाउँथी त्यत्ति हो ।“ – फरियाको सप्कोले आँसु पुछ्दै बोली –“ मलाई शंखा चाहिँ एउटा मान्छेको लाग्छ । नाम त थाहा छैन सर, कालेनकाले एउटा बाहुन मुर्दार सध्धैँ चस्मा ला’र हाम्रै घरतिर हेरि’बस्थ्यो । तिन चार महिना भो घरअगाडिको नारान बाजेकोमा कोठा भाडामा लेर’बस्या । हिजोदेखिन त्यो मान्छे नि गायब छ । मलाई त त्यसैले अप’रण गरेर बलात्कार गर्दै कतै थुनेर राख्या’छ भन्ने लाग्छ सर। “ – मुख फरियाको सप्कोले छोपेर ह्वाँह्वाँ रुँदै बिन्ती बिसाई ।
तमाङ्नी दिदीको साथ लागेर आउने एकहुल आइमाईहरूले निरन्जनलाई समाजमा घुलमिल नहुने खालको बाटोमा भेट्दा कोहीसँग नबोल्ने, प्राय: दिनभरि कौसीमा कालो चस्मा लगाएर मान्छेहरूलाई एकोहोरो हेरिरहने ’साइको’ टाइपको व्यक्तित्व भनेर बर्णन गरिदिए ।
“हामी त्यस्लाई पक्रेर ठेँडी कोचेर भए पनि सत्य कुरो ओकल्न लगाउँछौँ । ल, तपाईंहरूले किटानी जाहेरी दिएर अहिलेलाई घर जानुस् । “ – प्रहरी इन्चार्जले आश्वस्त तुल्यायो ।
उनीहरू जाहेरी लेखाएर फर्किए ।
०००
एक्लै बस्दा बस्दा र गर्मीले अत्याउन थालेपछि एक हप्ता जतिको घान्द्रुक, लान्द्रुक र तातोपानी तिर पहाडी यात्रामा हिँडेको निरन्जन, कोठामा आएर नुहाइधुवाई गरेर बसेको मात्र के थियो , एक हूल प्रहरीहरू गुटुटु गर्दै गेटबाट भित्र छिरेको देख्यो ।
“ काँ’ छ त्यो ?“ – ढोकाबाहिर कसैको रवाफिलो आवाज सुन्यो।
“भित्र “ – नारायण बाजे सुस्तरी बोले ।
ढोकै फुटाउला जसरी कसैको ’ढकढक’ सुनेसँगै उस्को मुटु कुनै स्थितर हुने घटना सम्झेर झन बेस्सरी “ धकधक“ गर्यो । उठेर बिस्तारै खोलिदियो ।
“निरन्जन भन्ने तैँ होस् ? “ – जोडसङ्ग ढोका धकेल्दै प्रहरी हवल्दार भित्र छिर्यो –“ ल इन्स्पेक्टरसापले बोलाउनु भएको छ । हिँड् मामाघर । “
किन ? केका लागि ? भनेर भन्न नपाउँदै प्रहरीहरूले कठालो समाएर घिच्याउन सुरु गरिहाले ।
जीपमा ओरिपरी चार जना पुलिसहरूबाट घेरिएको ऊ पिँजरामा परेको मुसो जसरी ग्लानी र डर एकैचोटि लिएर कक्रिँदै बस्यो । बाटोमा मलाई किन समाइएको हो ? भनेर नसोधेको होइन, उत्तर कसैबाट पाएन ।
०००
डुङ्गडुङ्ग्ती पिसाब गन्हाउने ओसिलो प्रहरी चौकीको फलामे बारभित्र घुँडामा टाउको अड्याएर निरन्जनले सोच्न थाल्यो –’आखिर किन ? के भाउँतो आइलागेको हो यो ?।
सजनीले पो कुनै लफडा लगाई कि ? भुपु लोग्नेसङ्ग अझै रीश बाकी पो छ कि ? रिस पनि के बाँकी होला र ! जे जे भनी त्यही त्यही मानीदिएकै थिएँ ।’
जीवनमा कसैलाई नराम्रो गरेको, झैझगडा गरेको यादमा आएन । भएभरको जोर लगाएर सोच्यो कुनै गल्ती या अपराध गरेको एउटै घटना सम्झिन सकेन । धेरै सोचेर होला टाउको चट्चटी दुखेर फुटला जस्तो भयो ।
“ हँ त मिस्टर निरन्जन , मलाई हजुरसँग धेरै सोधपुछ गर्ने समय छैन । सिर्फ यत्ति कुराको जवाफ दिइबक्सियोस् , ती नानी कहाँ छिन् ? “– इन्स्पेक्टरले कुर्चीमा बस्दै व्यङ्ग्यमिश्रित स्वरमा सोध्यो ।
“ को नानी ?“ – यत्ति कुरो मुखबाट निस्किनु र फलामे पन्जाको जोरदार झापड गालामा बज्रिनु सङ्गसङ्गै जस्तो भयो । उसका आँखै अगाडि पहेँलपुर नाच्यो ।
“ साला , साधु पल्टिन्छस् ? । तेरो एकएक किस्सा थाह छ । कसरी दिनभरि कालो चस्मा ढल्काएर बरन्डामा बस्दै बाटोमा हिँड्ने तरुनीहरू घुर्थिस् । कसरी बाटो पारिकी तमाङ्नी दिदीकी कलिली छोरीमा तेरो गिद्धे नजर थियो । सब कुराको रिपोर्ट छ मसँग ।“ बाघ जसरी गर्जिएपछि एकछिनमा अल्ली नम्र भएर थप्यो – “ हेर भाइ ! तेरो भलाइ यसैमा छ , खुरुक्क जस्ताको तस्तै भन्, ती नानीलाई के गरिस् ? । बलत्कार गरेर मारेर फालिसकिस् कि कतै बन्धक बनाएर राख्या छस् ? भनिदे । होइन भने नर्क भनेको के हो , ज्यँुदो हुँदैमा देख्नेछस् ।“
बलात्कार र हत्या जस्तो सङ्गीन आरोप पो लगाइँदै रहेछ भनेर निरन्जनको सातो गयो । होसहवास उडेको चेहरा लिएर हात जोड्दै भन्यो – “ सर , मैले जीवनमा कुखुरो मारिनँ भने हत्या–बलात्कार जस्तो कुरो के गर्न सक्थेँ ? । हजुरलाई कसैले गलत सूचना दिएको हुनुपर्छ …. “ भन्दानभन्दै उस्को पानीपेटमा इन्स्पेक्टरले जोरसँग लात मार्यो । ऊ त्यही जमिनमा पेट समातेर पुकलुक्क ढल्यो ।
“ …बान , साला ! मलाई सिकाउँछस् ? कसले गलत कसले सही सूचना दिन्छ भनेर ? “ – इन्स्पेक्टर त्यही उभिईरहेका अरू सिपाहीतिर फर्केर बोल्यो – “ हवल्दार साप , यो घ्यु कमिलोलाई त्यो बेलासम्म धुलाई गरिरहनुस् जुन बेलासम्म यस्ले सत्य ओकल्दैन ।“
०००
“साप ! त्यो मान्छेलाई जति ठोके पनि एउटै कुराको रट लाउँछ ’मलाई केही थाहा छैन म पहाडतिर घुम्न निस्केको थिएँ’ भन्छ । यति कुटाई खादा ढुङ्गा पनि बोल्नुपर्ने हो । मलाई त निर्दोष छ जस्तो लाग्यो । फेरि केही दशी प्रमाण पनि त छैन हामीसँग । हजुर के भनिसिन्छ ?। “– निरन्जनलाई पक्रिएको सातौँ दिनमा हवल्दारले हाकिमको च्याम्बरमा आएर रिपोर्ट गर्यो ।
इन्सेक्टर निकैबेर घोरियो । केही सोच्यो अनि बोल्यो – “ हिरासतमा राख्नको लागि अदालतबाट अरू सात दिनको म्याद लिनु । त्यो नानीको बारे कतैबाट केहीनकेही सुराक हात नपरुन्जेल यसलाई अहिलै नछोडिहालूँ होला । अब अरू कुट्ने काम चाहिँ नगर्नु । मर्ला फेरि ।“
हवल्दार तिनिक्क तन्किएर बाहिरियो ।
निरन्जन, हिरासतमा परेको बाह्रै दिन जति भएको थियो क्यारे । उसलाई त कति दिन काटियो हेक्का पनि भएन । यी दिनहरूमा इन्स्पेक्टरले भने झैँ नमरीकन नै हरेक दिन नर्कको अनुभव लियो । दिनरातको कुटाई र ताडनाबाट बिक्षिप्त जस्तै बनेको उसले बाहिरको उज्यालो देख्न पाउँला भन्ने आशानै हराइसकेको थियो ।
तर त्यो दिन बिहानै प्रहरी कार्यालयको टेलिफोनमा एउटा शुभ समाचारको घन्टी बज्यो।
“हेल्लो , इलाका प्रहरी कार्यलय । भन्नुस् के सेवा गरौं ।“ – सधैँ भन्ने रेडिमेड जवाफ लिएर प्रहरी जवानले फोन उठायो ।
उताबाट कसैले केही भनेको ध्यानपूर्वक सुनेपछि जवाफ दियो–“एकछिन होल्डमा बस्नुस् है , ’साप’लाई दिन्छु ।“
निकैबेर प्रहरी निरिक्षकले फोन कानमा लगाएर उताको कुरो सुनिरह्यो । अनि अन्त्यमा भन्यो – “ल, छोरीलाई लिएर आजै कार्यालय आउनुस् ।“
त्यस्को केहीबेरमै कार्यलय प्रमुखले हवल्दारलगायत अन्य सहकर्मीहरू लाई आफ्नो कोठामा बोलाएर फोनमा भएको कुरा बेलिबिस्तार लगायो । अनि उनीनहरूलाई केही निर्देशन पनि दियो ।
“निरन्जन सर ! चिया प्युनुस् ।“ – हातमा चियाको कप समातेर उभिएको हवल्दारको यति मीठो बोली र सत्कार देखेर उसलाई विश्वासै लागेन । त्यस्तो राक्षसमा अचानकको एक सय असी डिग्रीको बदलाव के कारणले आयो होला ? मन मनमा यसो भनेर जिल्ल पर्र्योे । त्यति नै बेला उस्लाई तथानाम मुख छोडेर बोल्ने इन्स्पेक्टर साहब पनि टुप्लुक्क त्यहीँ आइपुग्यो ।
“निरन्जन जी ! हामीबाट सानो चुक भएछ । व्यक्तिगत रूपबाट नलिइदिनु होला है । यस्तै हो , काम गर्दै जाँदा कहिलेकाहीँ भुलचुक हुन्छ । कुरा के भने नि , ती नानी कलेजबाटै भागेर इन्डिया फ्लिम खेल्न भनेर पो गएकी रै’छिन् । इन्डियातिरकै एउटा बदमासले हिरोइनको रोलमा खेलाइदिने लोभ देखाएर फकाएर लगेको रहेछ । उनीहरूले टिकटक भिडियोबाटै एकअर्कालाई चिन्या रे । त्यो मान्छे फ्रड रहेछ भन्ने थाहा पाएपछि बाटोमा माग्दै र चन्दा उठाउँदै ती नानी अहिले चाहिँ घर फर्किइसकी रे । कस्तो बदमास्नी केटी । “– नजिकै आएर अस्तव्यस्त सर्टको काँधमा जमेको धुलो हातले टक्ट्क्याइदिँदै थप्यो – “अब जे हुनु त भैगयो । प्लिज माइन्ड नगर्नुहोला है । उनीहरू आएपछि कागजी काम–कारबाही पूरा गरेर आजै तपाईंलाई रिहा गर्छौं ।“
निरन्जनको दिमाग झिनिन्न भएर आयो । “यत्रो दिनसम्मको लगातारको अपमान, यो पीडा, यो घुटन, यो कहिलै नतङ्ग्रिने गरी पाएको शारिरीक र मानसिक चोटको भर्पाई ’सरी है । माइन्ड नगर्नुस् हो ?। “–
उसलाई त्यहीँ बेस्सरी चिच्याउन मन लाग्यो ।