- कविता
दिनेशराज पुरी रामेछापका स्रष्टा हुन् । उनी हाल सातदोबाटो ललितपुरमा बस्छन् । उनका आँसुले बाटो छेक्दिन तिम्रो.., धारै नखोली.., चक्लेटी स्याउ..कसम कसम… (चलचित्र म यस्तो गीत गाउँछु–२) जस्ता गीति रचना ध्वनिमुद्रण भइसकेका छन् । उनकाकेही गजलहरू केही कविता–मुक्तकहरू प्रकाशनको तयारीमा छन् । यहाँ उनको प्रेम शीर्षकको कविता समेटिएको छ । यस कवितामा प्रेममा कुनै कारणवस विछोड भएपनि एक अर्कालाई बिर्सन नसकिने हुँदा बेलैमा प्रेमका सुझबुझ पखाल्नुपर्ने सन्देश निकै विम्बात्मक रूपमा अभिव्यक्त छ ।
– सम्पा. |
थाहा छ–
तिमीले आज पनि
यसलाई सम्झिनुहुन्न भन्दै
धेरै पटक सम्झिएकी छौ
यसलाई नबोलेरै तड्पाउनुपर्छ भन्दै
आफै तड्पिरहेकी छौ
छुकछुके रेलको धुवाँजस्तो
पुतुतु आएको छ मेरो याद तिमीलाई
सदाभन्दा दोब्बर !
बङ्गालको खाडीबाट चलेको सुनामी भन्दा
अझै बेसी आएको छ
तिम्रो मनमा मेरो रिक्तताको भूमरी !
कति समय भयो योसँग नबोलेको ?
औँला भाँचिरहेकी छौ तिमी
यति दिन अझै बोल्दिन
आफैँसँग गरिरहेकी छौ अडान !
तर,
दिदीको बिहेमा
गोडा धुन भोको बसेको भाइले
लुकेर खाए झैँ अचार र तरकारी !
सेकेन्डभरमै,
तोडिरहेकी छौ–
आफैसँग आफ्नो अडान !
ऐजन ऐजन छ
मेरो पनि हालत यता !
रिसै गरेर सही–
भुल्न नसक्नु भनेको प्रेम हुनु हो !
ओ महारानी !
बोली सकिएपछि
बोल्छु भनेर फेरि पाइने छैन
ओठ रहुन्जेल त हो नि
हाँस्न पाउने पनि ।
अलिकति खहरे बढेको मात्र हो
अविश्वासका
केही दाह्रे ढुङ्गाहरू थपिएका मात्र हुन्
केही बिग्रेको छैन
आफ्नो नामको खेत, आफ्नै नाममा छ
गल र गैँती हामीसँगै छ ।
आऊ बिर्सेर सबै सबै,
अलिकति आँठा मिलाउँ–भुलहरूका
अलिकति गरा सम्याउँ–घमन्डका
अलिकति, आलि ताछौँ–अहङ्कारका
एक अर्काको नशामा बगिरहेको
सङ्लो आत्मीयताको कुलो ल्याएर भिजाउँ
मनको जम्मै गैरीखेत
र, काढेर, मनकै गराबाट
रहरका मुठी चारेक् बियाड
आऊ रोपौँ, प्रेमको रोपो !
कहिल्यै सुकेर जाँदैन–
मनमा मनले रोपेको प्रेम !
र, प्रेम हरियो रहेसम्म,
सुक्दैन जिन्दगी पनि !