- कविता
सीताराम अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ। उनका थुप्रै अनुवाद र सिर्जनाहरू साहित्यसागरमा समेटिइसकेका छन्। प्रस्तुत शृङ्खलामा उनको मान्छे शीर्षकको कविता समेटिएको छ। यस कविताले मानवीय आदर्शको अन्वेषण गरेको छ ।
-सम्पा. |
मान्छे हो सिर्जना श्रेष्ठ मानिन्छ ज्ञानको धनी
राम्रो संस्कारले मात्र बन्न सक्तछ सद्गुणी
चेतनाको धनी जीव ज्ञान आर्जन गर्दछ
उघारी ज्ञानको दैलो उज्यालोतिर हिँड्दछ ।
अमूल्य ज्ञानले हुन्छ ज्ञानी मानिस उत्तम
नकारे ज्ञान आचार उही हुन्छ अनुत्तम
उसको शिर हो श्रेष्ठ ज्ञान–भण्डार पावन
राखे जत्ति सबै अट्छ स्वस्थ ज्ञान तपोधन ।
सिमाना भेटिने छैन ज्ञानको कहिलै पनि
भेटेँ भन्छ महामूर्ख भुस हो ढाँटको धनी
बनाई विधिको बाटो ज्ञानी हिँड्छ सुरक्षित
अरूलाई दिई ज्ञान बन्दछ प्रिय सेवक ।