- निबन्ध
प्रा. माधव भँडारी (१९९३ माघ १६, सुम्बेक, इलाम, सुपुत्र : डम्बरकुमारी भण्डारी र टीकाराम भण्डारी) नेपाली साहित्यका सिर्जना समीक्षा र प्राध्यापनका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । पहिलो रचना माइत शीर्षकको कथा रचनाको प्रकाशनका माध्यमबाट सार्वजनिक भएका भण्डारीले अफ्नो थर भँडारी भनेर झर्रो शैलीमा लेख्न थाले । उनका बल्दो दियो (२०१३), नेपाली कथासाहित्य (२०१५), गाउँघर (२०१५), माधव भँडारीका कथा (२०४०), पार्वती परिणय (२०५८), क्यालेन्डरका घुम्तीहरू (२०५९), नबिर्सने कोसेली (२०६१) जस्ता कथासंग्रहहरू प्रकाशित छन् । उनको पूर्णिमा (२०३०) उपन्यास उनको आख्यान साधनाको महत्वपूर्ण उपलब्धी मानिन्छ । उनका घरजम (२०२८), आकांक्षा (२०३७) आदि नाट्यकृति पनि प्रकाशित छन् । केही नाटक मञ्चन भएका छन् । उनी प्राध्यापन पेसासँग संलग्न हुँदा उनका समीक्षा र साहित्यशास्त्रका कृतिहरू पनि प्रकाशित छन् । उनका त्यस्ता कृतिहरूमध्ये छन्द र अलङ्कार (२०१८, सह), हाम्रो साहित्य र साहित्यकारहरू (२०२८) उल्लेख्य छन् । उनले छात्रवाणि (२०१३), जुनेली, सौगात (२०२२), सूर्योदय (२०३०), केही किरण अस्ताउने जुन आदि पत्रपत्रिकाको सम्पादन पनि गरेका छन् । उनी राम्रा निबन्धकार पनि हुन् । उनका निबन्धमध्ये नजल्नु जल्यो जल्नु जलेन शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले सिंहदरबारमा भएको आगलागीको सन्दर्भबाट त्यसका विम्बयोजनाबाट तत्कालीन प्रशासनिक विसङ्गतिको अन्त्यको कामना गरिएको छ ।
-सम्पा. |
सिंहदरवारको भव्य तथा आकर्षक अग्रभागमा केहीबेर दृष्टि घुमाएर जब कुनै नयाँ दर्शक त्यसको बिचको ढोकाबाट भित्रतिर चियाउँछ, उसलाई असाध्य नमिठो, अझ रोऊँ–रोऊँजस्तो लाग्नु पनि अस्वाभाविक हुँदैन । अझ त्यो दर्शक शरीर र मनले पनि नेपाली छ र त्यसमाथि पनि सिंहदरवारलाई पहिले यथास्थित अवस्थामा उसले देखिसकेको छ भने त उसलाई वयान गर्न नसकिने गरी नरमाइलो लाग्दो हो, मलाई त्यहाँ गएर हेर्दा त यस्तै नै लाग्यो ।
त्यहाँ गएर हेर्दा कस्तो लाग्छ भने मानूँ पुराणादिमा वर्णित भीमसेन वा यस्तै कुनै विशालकाय व्यक्ति थियो त्यो सिंहदरवार जसको मृत्यु भएर त्यहीं दाहव्रिmया सम्पन्न गरिएको छ अनि चिही पखाल्न मात्र बाँकी रहेको छ ।
राणायुगमा विलासिताको चरम अवस्था तथा एकतन्त्री जहानियाँ शासनद्वारा देशका भोका–नाङ्गा जनताको रगत र पसिनाद्वारा आर्जित पूँजीलाई उनीहरूको टाउकोमाथि जाँतो झुन्ड्याइदिएर एकोहो¥याई मस्तीमा डुबेका घटनाहरूको प्रत्यक्षदर्शी सिंहदरवार, प्रजातन्त्रेत्तर कालमा राष्ट्रको केन्द्रीय सचिवालयको रूपमा परिणत भई देशका नसानसामा शासन व्यवस्थाको रक्तसञ्चरण गर्ने मुटुको रूपमा रहेको सिंहदरवार, नेपालको निम्ति मात्र होइन, सम्पूर्ण एशियाका भव्यतम भवनहरूमध्ये एक रहेको सिंहदरवार आज डढेर विरूप भएका फलामका केही सामान, ईंट तथा माटोको थुप्रोमा रहेको छ ।
अब त्यस थुप्रोलाई हेरेर कसले कल्पना गर्नसक्छ कुनै दिन यहाँ सिंढीमा पङ्क्तिवद्ध उभिएका सयौं मस्त यौवना सुन्दरीहरूको नग्न अङ्गहरू मुसार्दै राणाशासकहरू उँधो–उँभो गर्ने यही ठाउँ थियो भनेर, कसले अनुमान गर्न सक्छ यसमा विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका सयौं कार्यालय, हजारौं कर्मचारीहरूको घुइँचो, टाइपिस्टहरूका साधिएका औंलाहरूको निरन्तर खटखट, हाकिमहरूको रोब र आदेश, हजूर–हजूर गर्दागर्दा ढाड बाङ्गिएका निम्न कर्मचारीहरूको मधूरो गुनगुनाहट, आश्वासनका रसिला लहरहरू, विदेशमा बनेका बहुमूल्यदेखि लिएर आशा र त्यसभन्दा पनि निम्नस्तरका चुरोटको रुमल्लिएको गन्ध इत्यादि–इत्यादि सबै यहीं थियो वा हुन्थ्यो भनेर ।
जे भए पनि राष्ट्रको, सम्पूर्ण नेपालीको अपूरणीय क्षति भयो, सिंहदरवार समाप्त भयो । यसको समाप्तिमा बिलौना गर्नु त्यतिकै निरर्थक हुनेछ जतिको कसैको निधनमा छाती पिटी–पिटी रुनु । यसमा आगलागीको कारण पत्तो लाग्न सकेन भनेर फिट्फिटिनु पनि अरु व्यर्थ नै छ किनभने हाम्रो जस्तो शान्तिपूर्ण मुलुकमा सिंहदरवारमा आगो लाग्नु नै एउटा ठूलो अशान्ति थियो, जनताको मुटु हल्लाउने घटना थियो । आगो शान्त भएपछि व्रmमशः यो शान्त हुँदै गएको छ ।
यस कार्यको कारण पत्ता लाग्दा सम्भवतःफेरि मुटु हल्लिन सक्ने थियो– कसैप्रति घृणा तिरष्कार वा अन्य यस्तै कुनै भावनाले । पत्ता लागेन, यसो हुनु पनि परेन । यसलाई हामीले दैवीप्रकोप भन्यौं, किनभने देवताप्रति कसैको कहिल्यै केही चल्दैन ।
अहिले विभिन्न ठाउँमा नयाँ ढङ्गबाट थुप्रै भवनहरू बन्दैछन् । केही तयार पनि भइसके । जे होस्, पुरानो सिंहदरवार डढ्नाले जतिसुकै नोक्सानी भए पनि नयाँ–नयाँ भवनहरू बनाउने मौका त पाइयो भनेर सन्तोक मान्नुपरेको छ ।
तर घरहरू जतिसुकै नयाँ ढङ्गले बने पनि कम्प्टुटरलगायत आधुनिकतम उपकरणहरूद्वारा जतिसुकै छिटो छरितो र सुविधापूर्ण बनाइए पनि सिंहरदवारको पुरानो पारामा अझै कुनै परिवर्तन आएको छैन ।
भानुभक्तलाई समेत चिहिल–विहिल पार्ने ‘भोलि–भोलि’ अझ पनि सिंहदरवारमा जस्ताको तस्तै छ । तपाईं कुनै सानोतिनो भए पनि काम लिएर सिंहदरवार जानुहोस्, पाँच मिनेटमा हुन सक्ने काम छ भने पन्ध्र दिन पहिल्यै अर्पित गरे हुन्छ । तपाईंको एउटा सानो निवेदन त्यहाँका विभिन्न फायलहरूमा गुप्तवास बस्ता–बस्ता र अनेकौं तहको यात्रा गर्दागर्दा त्यो वेपत्ता हुनु अलिकति पनि अस्वाभाविक हुँदैन । दिक्क लागुन्जेल धाएर तपाईंलाई अब दुई चार मिनेटमा काम पूरा भयो भन्ने जब विश्वास हुन्छ त्यसपछि तपाईंले के बुझ्नुचाहिँ बुद्धिमानी हुन्छ भने अब सात दिन धाएमा यो काम पक्का फत्ते हुनेछ । नातावाद र कृपावाद जस्ता जरै उखेल्नुपर्ने वादहरू सिंहदरवारको त्यही आगलागीमा पनि नडढेर अझै झन् झरिला भएर झाँगिइरहेका छन् । माथिल्लो तहका कर्मचारीहरूको रोब र निम्न तहका कर्मचारीहरूको मरन्च्याँसेपनमा अझै कुनै अन्तर आएको छैन ।
कति असल हुन्थ्यो त्यस आगोले यदि त्यहाँको ‘भोलि–भोलि’ र ढिलासुस्तीलाई डढाइदिएको भए १ कति राम्रो हुन्थ्यो यदि त्यहाँको नातावाद, कृपावाद र अकर्मण्यतालाई खरानी पारिदिएको भए, कति भलो हुन्थ्यो यदि त्यहाँका निम्न वेतनभोगी कर्मचारीहरूको दुःख, पीडा र अभावलाई खँगार पारिदिएको भए १ तर ध्वस्त हुनुपर्ने र जल्नुपर्ने यी सब केही जलेनन् ! जल्यो त राष्ट्रको एक अतुलनीय सम्पत्ति– त्यो सिंहदरवारको भव्य भवन !