- कविता
![]() -सम्पा. |
गुणस्तरीय भन्नुभो यहाँ कहाँ कमी छ र
सबै गुणस्तरीय छन् जता गयो उतैतिर
छ देश नै गुणस्तरीय खूब बग्छ निर्झर
यहाँ भएन खाननिम्ति पाउ धुन्छ मुन्तिर ।।
पढाइमा स्तरीय छन् गुरु प्रबुद्ध शिक्षित
सिकाउँछन् कसो गरे चुनाव हुन्छ लक्षित
न शिष्यमै कुनै कमी छ राजनीतिकै हित
यसो गर्यो उसो गर्यो ध्वजा उचाल्न वेगित ।।
न नेतृवर्गमै कुनै छ शानमानमा कमी
स्तरीयता भने सबै हुरुक्क नै हुने उनी
करोडको त लोड हो बढी भए कता कता
कमी भए त हेर्नु सम्म हुन्न झन् छुने कता ।।
घुमेर दृश्य हेर्नुहोस् स्तरीय हुन्छ फोहर
छ मार्गबीचमै यसै कुही सुगन्ध हर्हर
मुसा सुसा त के कुरा कतै मरेछ कुक्कुर
उठेन देह पक्षसम्म बासकै छ हर्हर ।।
गरेर अर्ब खर्ब खर्च फेक्टरी बनोस् किन
यसै यहीं सडाउँदै बनिन्छ खादको धन
न खेतको कतै छ काज धान मार्गमै फलोस्
गराहरू समस्त सौध बन्न निम्ति छोडियोस् ।।
अमेरिका र चीन रूस फ्रान्स वा कि जर्मनी
सबै बसे पछिल्तिरै छ देश यो बढी धनी
बडो विशिष्ट खालले लिएर एक बन्दुक
कमाउने स्तरीय जुक्ति देशमा छ अद्भुत ।।