- कविता
![]() -सम्पा. |
आँखैअगाडि –
बाटो काट्दै गरेका
जोडी कुकुरका बच्चाहरूलाई
किचेर माइक्रोबस
भाग्यो तीव्र गतिमा ।
छ्यालब्याल सडकका बच्चाहरू
जीवित छैनन् भन्ने बुझेको माउ कुकुर
कुदिरहेको माइक्रोबस पछिपछि यसरी दौडियो-
भेट्नु हो भने –
सिङ्गो माइक्रो निल्छ त्यसले ।
माइक्रोबस बेपत्ता भएपछि
फर्किएर –
मृतक बच्चा भएतिरै आइपुगेको माउ
जोडजोडले भुक्दै कागहरू लखेटिरहेको छ ।
यतिबेला-
सडकमा उभिएर हेरिरहेका छौँ
हामी थुप्रै पुरुष (बाबु) मान्छेहरू
त्यो वीभत्स दृश्यभित्र —
आमा नै आमाको
नैसर्गिक समानधर्मिता ।