होम सुवेदी (२००७ मङ्सिर १४, अमरपुर पाँचथर, सुपुत्र: पद्मप्रसाद सुवेदी र राधिका सुवेदी) नेपाली साहित्यका सिर्जना र समीक्षा क्षेत्रमा परिचित प्रतिभा हुन् । ने.रा.प्र.प्र.बाट प्रकाशन हुने माधुर्य पत्रिकामा २०३१ सालमा ‘ईश्वर त्यतै हाँसिरहेछन्’ शीर्षकको कविता प्रकाशन गरी सार्वजनिक भएका सुवेदी कविता, आख्यान, निबन्ध र समीक्षा विधामा कलम चलाउँदै आएका छन् । उनका कालिपोके (२०४२) निबन्धसङ्ग्रह, मर्माहत (२०६२) कथासङ्ग्रह जस्ता विभिन्न कृतिहरू प्रकाशित छन् । उनका निबन्ध हास्यव्यङ्ग्य प्रधान हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ’बर्मेली बाको बेपारी धन्दा’ शीर्षकको निबन्ध रचना समेटिएको छ । यस निबन्धले रमाइलो पाराले व्यक्तिको कमाउने र धनी बन्ने प्रवृत्तिको विरोध गरेको छ । निबन्ध व्यङ्ग्यप्रधान गरेको छ । -सम्पा. |
“हैन सर, तपाईं पढेको मान्छे, के यो लिखा टिपाइ गरेको ? लु बेपार गरौं, बेकारमा यसरी लिखा टिपेर के उन्नति हुन्छ ?” बर्मेलीबाले मसँग यसै भनेका थिए आजभन्दा पैंतिस वर्षअघि । त्यो बेला उनी भर्खरका थिए ।
“होइन, सर तपाईं ता पढेलेखेका मान्छे, अब केही कारोबार नगरी भएन, तपार्इं नगर्ने भए पनि म ता बसेर हुन्न । म यो जागिरसागिरको कुरा सोचिरहन्न । के गरुँ ? लु केही सल्लाह दिनुपर्यो ।” त्यो बेला उनले अर्को एक दिन मसँग सल्लाह मागेका थिए ।
कुरा यिनै हुन् । जुँगे बा मेरा घरको छिमेकी हुन् । उनलाई अझ पनि बर्मेली बा भनिन्छ । उनको दूरदर्शिता देखेर मलाई अचम्म लागेको छ । उनले ४० वर्षदेखि बेपार गर्दै आएका छन् । तर कुनै बेपारमा पनि उनको सफलता देखिएको छैन । म बेपारमा लद्दुले उनलाई के सुझाब दिन जान्दथें र ? कसरी हो उनले आफैं बेपारमा हात हाले ।
बर्माबाट निकै नै सम्पत्ति लिएर आएकाले झापाको सस्तो जमिन निकै किनेका रहेछन् ।
यसै जमिनमा उनको भएभरको घरको सम्पत्ति लगानी गर्छन् विचरा । त्यसरी लगानी गरेर केही वर्ष कुनै बेपार गर्छन् अनि त्यसबाट घाटा खाएपछि अर्को कुनै बेपार गर्न थाल्छन् । म परपरबाट नियालिरहन्छु ।
नयाँ बेपारमा पनि उनले सफलता नपाएपछि अर्कोतिर लाग्छन् । उनी वर्माबाट नेपालको झापामा आएर झापाका निवासी भएका छन् । यसैले उनलाई झापाका बर्मेली बा पनि भन्ने गरिन्छ । धेरैले चिन्छन् ।
हल्लाका भरमा बेपारमा हात हाल्ने बानी उनको छ । देखासेखी गर्नमा नेपालीको जतिको चाँडो दृष्टि अरू कसैको पनि जाँदैन । नेपालका अरू भागको कुरा मलाई उति हेक्का नभए पनि पूर्वतिरकाहरूको देखासेखी गर्नेहरूको कैरनको हेक्का भने मलाई मनग्गे छ । २०४० सालतिरको कुरा हो, पूर्वी तराईमा सिसौ रोप्ने र १० वर्षमा नै लखपति हुनेहरूको सपना सगरमाथाको उचाइ जत्तिकै अग्लिएको थियो । अनि झापा, सुनसरी, मोरङ, सप्तरी र सिरहातिर राम्रो गरी उब्जाउ हुने अथवा धानखेती गरिने राम्रा राम्रा जग्गामा सिसौका बोट निकै बाक्लै गरी रोपेर तराई नै हराभरा पारिएको थियो । यसैको देखासेखीका भरमा सबै भन्दा पहिले जुँगेबाले पनि सिसौ खेती गरेका थिए । तर त्यो खेती कुनै अध्ययनविना गरिएको थियो, काम लागेन । सिसौ खेतीमा किरा लागेर समाप्त भएपछि उनले त्यही ठाउँमा सिसौका लाथ्राहरू काटकुट गरे अनि तिनलाई दाउराको रूपमा कौडोका भाउमा बेचेर त्यस ठाउँमा कदम खेती गरे । त्यसले पनि काम दिएन । अनि त्यसपछि केरा खेती गरिहेरे । त्यो ता उनलाई मात्र होइन अरूलाई पनि फापेन । अनि लहर आयो कुरिलो खेती गर्ने । त्यो पनि उनले गरिहेरे, तर बजार नपाएर त्यत्तिकै छाडिदिए । त्यसपछि नेपालको पूर्वीतिर भएका कारणले चिया खेतीमा हात हाले । चिया खेती सुरु गर्दा नगर्दा मजदूरहरूका युनियनहरू गठन भए । उत्पादन नै नभइकन चन्दा, तलब, निवृत्तिभरण, बिमारी खर्च, क्याजुयल बिदा, बिरामी बिदा आदिका अनेकौं मागहरू ओइरिए । माओवादीको यो त गरिखाने भाँडा न थियो काम नै नगरी बस्ने अनि नानाथरीका सुविधा दिनुपर्ने । त्यसैकाराले चिया खेती नगरिकन सकियो । त्यो खेती गर्न तयार पारिएका सुक्सुकाउँदा प्लटहरूलाई उनले अहिले प्लटिङ गरेका छन् घडेरीका लागि ।
घडेरी नहुने ठाउँलाई उनले घाँस खेतीमा परिणत गरिदिएका छन् । घाँस ता बिक्री हुने भए पो काम लागोस्, त्यो ता यसै गोठालाहरूले काट्तै लाँदै गर्न थालेका छन् । धन्न बर्माबाट आउँदा सम्पत्ति पर्याप्त लिएर आएका थिए र उनलाई खानैका लागि अनिकाल भने लागेको छैन । यो एउटा उदाहरण मात्र हो । यस्ता उदाहरण देशैभरि पाइन्छन् ।
हिजो फोन गरेर मलाई बोलाए उनले र म पुगेँ एकाबिहानै । सुर ता अझ पनि उनको बेपारकै रहेछ । तर मैले अहिले पनि उनलाई केही सल्लाह दिन सकिनँ ।
अहिले बर्मेली बा निकै पाका भइसके । माओावादीको डरले छोराहरू विदेश गइसकेका हुनाले उनी पत्नीका साथ बसेका छ्न् । भएको जमिनमा अहिले बालुवा र गिटी ओच्छ्याएका छन् । अझ पनि उनको बेपारको सपना मेटिएको छैन ।
अब उनी देशमा चामल बेपार गर्ने सुरमा छन् । उनी बर्माबाट नेपाल चामल ल्याउन सकिन्छ कि भनेर सोचिरहेका छन् । यसैले उनले मलाई बोलाएका रहेछन् । यो आयात निर्यातमा खास गरी कट्टुभित्र लुकाएर सुन आयात गर्छन् भन्ने सुनेको सम्म छु । यसबाहेकका व्यापारको मेलोबारे मलाई केही पनि थाहा नभएको बालाई केही सल्लाह दिन सकिनँ ।
अलिक पछुतो पनि लाग्यो । बाको यो अदम्य साहस देखेर मलाई आफू केही न कामको ठान्दै घरतिर फर्किएँ ।
तर बा भने यो सत्तरी वर्षको उमेरमा पनी कृषिप्रधान देश नेपालमा बर्माबाट अन्न ल्याएर बेपार गर्न सकिन्छ कि भन्ने ध्यानमा छन् । बर्माबाट ल्याउन नसके भुटानबाट त ल्याउलान् र कृषिप्रधान देशमा कृषिको व्यापारमा ता लाभ गरिहाल्लान् कि भनेर पर्खेको छु ।
हेरौँ बाको व्यापारमा अब कसो हुन्छ ?