दिनेश बस्नेत
‘‘जसे बिरामी भइछे, हस्पिटल लगेछन् रे ।’’ ‘‘आइसियुमा राखेछन् रे, बाँच्ली जस्ती छैन रे ।’’ भेटेर आउनेहरूले कुरा गर्थे । ‘‘के बाँच्ली त नि । जण्डिस लागेको बेलामा धोकेपछि ।’’ मैले यस्तै विभिन्न कुरा सुनेँ ।
विचरी जसे भाउजू ! देख्दा, भेट्दा बोल्ने र घरमा काम लिने भए पनि सर्किनी हुन् । त्यसैले उनलाई हाम्रो घरमा भेदभावयुक्त व्यवहार हुन्थ्यो । यसो त हाम्रो घरमा मात्र होइन, सम्पूर्ण गाउँमा यही चलन थियो । विवाह, व्रतबन्ध, पूजाआजा आदिमा निम्ता नगर्ने, मर्दा मलामी नजाने, मुढोसम्म पनि नलाने, यतिसम्मकी बिरामी पर्दा पनि कतिपय गाउँले भेट्न नजाने । तर पनि जसे भाउजू गाउँमा घर–घर डुल्थिन् । उनलाई धेरै गाउँलेले खेतालाको रूपमा मात्र नभई बेहिसाबले पनि दलाउँथे । हाम्रो घरमा पनि बेलाबखत मेला आउँथिन् । कहिले भेटघाट र गफगाफ गर्न मात्र पनि आउँथिन् । चिया, खाजा जे पाकेको छ, मिठो मुखले खान्थिन् र आफूले खाएको भाँडा आफैँले माझ्थिन् । आँगनको छेउमा भाँडा घोप्ट्याएर त्यहीँबाटै बिदा हुन्थिन् । ती भाँडा सुकेपछि खरानी पानी राखेर, पखालेर या सुनपानी छर्केर आमाले घर भित्र्याउनुहुन्थ्यो । जसे भाउजू निकै रसिली, हँसिली र जाँगरिली थिइन् । अझ रत्यौलीमा मादल बजाउन र गाउन खप्पिस थिइन् ।
धेरै पहिला एकदिन जसे भाउजू हाम्रो घर आएकी थिइन् । आमा गुन्द्री बुन्दै हुनुहुन्थ्यो । आमाको आडमा बसेर पराल केलाएर परालको गाँस गुन्द्री बन्न दिँदै थिइन्, आमाले भन्नुभयो, ‘‘अलि दिउँसै आएको भए पनि हुन्थ्यो नि मोरी तँ । यति गुन्द्री आजै उठाउँथे क्यारे नि ।’’
‘‘हिजो पँधेरोमा भेटिँदा भनेको भए हुन्थेन त बूढीमाउ ।’’ उनले भनिन् । एकछिनपछि आमाले हतासो ठोक्दै भन्नुभयो, ‘‘तँलाई म एउटा गज्जबको सल्लाह दिन्छु मान्छेस् ? फेरि अलि सोचविचार गरेर भन् । म बूढीपाकीले दिएको सल्लाह घैघुराने खाले हुँदैन । जीवन र घरव्यवहार नै काँचुली फेर्ने खाले सल्लाह दिन लागेकी छु ।’’ ‘‘बूढीमाउ पनि…. भन्नोस् न । हजुर मेरी आमा समानकी हुनुहुन्छ । हजुरले मेरै लागि दिएको सल्लाह पनि कहीँ नमानुँला त,’’ उनले आज्ञाकारी भावमा भनिन् ।
‘‘कुरो के भने, तँ बलिइ पनि छेस्, जाँगरिली पनि छेस् । तिमीहरूको अलिकति भए नि बारी छ, तँैले तरकारी खेती गर’’, आमाले फेरि भन्नुभयो, ‘‘तेरो बूढो हप्तामा तीन दिन हलो जोत्ने, चार दिन फिल्म हेर्न जाने गर्छ अरे । छोराहरू सानै छन् । तँलाई अहिले निकै गारो छ । हामीले गर्जो टार्ने भनेको पसिना बगाएर हो ।’’
आमाको कुरा उनले गम खाएर सुनिरहिन् । केही भन्न खोजेकी थिइन् तर आमाले उछिनेर भन्नुभयो, ‘‘मेरा पनि बूढा राजनीतिमा हिँड्दा ठिक्क भयो । कहिल्यै घरव्यवहारको मतलव गर्ने, सोच्ने फुर्सद भएन । छोराछोरी सानै । कमाइ नहुँदा घरव्यवहार चलाउन कति गारो हुन्छ । पैसा हुनेले पैसा नहुने मान्छेलाई कसरी हेप्दा रहेछन् ? कसरी तल खसालेर बोल्दा रहेछन् ? आफन्तले नै कतिसम्म पक्षपात गर्दारहेछन् भन्ने मैले भोगेको छु । तँलाई पनि मैले मेरै दुःख सम्झेर यो सल्लाह दिएकी हुँम् । आमा बन्दाको व्यथा आमालाई थाहा हुन्छ भन्ने सोचेर भनेकी हँु, तेरै भलो चिताएर ।’’ आमाको कुरा निकै टक लगाएर श्रद्धालु भक्तजनले प्रवचन सुने जसरी जसे भाउजूले सुनेकी थिइन् ।
आमाले फेरि भन्नुभयो, ‘इज्जत बेच्नु हुन्न बाबै ! पसिना बेचेर सानो भइँदैन । केही लाज हुँदैन । मैले पनि यति ठूलो परिवार तरकारी बेचेरै धानेकी छु । तँैले पनि जाँगर चला । ’’
उनले आमाको कुरा काट्दै भनिन्, ‘‘हजुरले गरेको काम मैले गर्दा के लाज हुन्छ र ? मलाई त यसरी सुझाउने मान्छे नभएर हो । तपाईंको कुरा मनमै गड्यो । अब म खेतालो जान र गाउँलेलाई सघाउन छोड्छु । मेरा बाबुकी जोइ कसैकहाँ गए । सबैले आफ्नै जरामा मल पानी हाल्नेबारे त सोच्ने रहेछन् । पहिले किन भनिनौँ बूढी । बरु तरकारीका बीउ कहाँ पाइएला ?’’
आमा आफ्ना कुराले भाउ पाएर खुसी हुनुभयो । ‘‘मैले नि बजारबाट किनेर ल्याउने हुँम क्यारे । तँ पनि बजार गएको बेला किनेर लेरा न । त्यति काम त तेरो बूढाले पनि गर्ला है ।’’ ‘‘गर्ला नि, कति सताउने हो त नि अब पनि ।’’ त्यति भनेर उनी बाटो लागिन् ।
केही दिनसम्म उनी हाम्रो घरमा आइनन् । बाटोमा पनि भेटिनन् । थाहा भयो उनले आमाको राय आत्मसाथ गरिछन् । बारीमा काउली, बन्दा र सिमीजस्ता मौसमअनुसारको तरकारी खेती गर्न थालिछन् । परिवारले पनि उनलाई भरपुर सघाउँदा रहेछन् ।
समय पुगेपछि मिहिनेतको फल उब्जियो । उनी पनि बडो उत्साहित भएर बेच्न थालिन् । उनको घरको आर्थिक अवस्था परिवर्तन भयो । छोराहरू पनि सुकिलामुकिला र भकुल्ला देखिन थाले । जसे भाउजूका नाक, कान, घाँटीले सुनका गहना देखे । सम्पूर्ण परिवर्तन र विकासको श्रेय आमाले पाउनुभयो ।
एक दिन तरकारी बेचेर फर्कंदा उनले आमालाई एउटा सारी र फलफूलको पोको ल्याएर दिइन् । सायद उनले ठानेकी थिइन्, त्यसरी दिँदा हाम्री आमा औधी खुसी हुनेछिन् । तर आमाले सङ्कोच मान्दै भन्नुभयो, ‘‘अबदेखि यसरी पोका ल्याएर मलाई दिने काम नगर, मलाई मन पर्दैन । यो तेरो पसिनाको कमाइ हो । बित्थामा खाँदा मलाई अर्काको भारा बोकेको महसुस हुन्छ । आइन्दा यस्तो काम नगर ।’’
‘‘के म तपाईंकी छोरी होइन र ? आज मातातीर्थ आँैसी छोरीले दिएको खाँदा भारा लाग्ने भन्ने हुन्छ बूढीमाउ । यस्तो कुरा गर्छेउ भने त म तिमीसँग बोल्दा पनि बोल्दिनँ । फर्केर पनि आउँदिनँ ।’’ जसे भाउजूले भावुक भएर भनिन् । उनले व्यक्त गरेको भावले सायद आमा पनि छताछुल्ल गरी मनभरि पोखिनु भयो । जसे भाउजूलाई एक तमाससँग हेरिरहनुभयो । दुई जनाबीचको स्थापित आत्मयीताले प्रत्यक्ष रूपमा एउटा मनदेखि अर्को मन छिचोलेको अनुभूति मैले पनि गरेँ ।
जसे भाउजू बेलाबखत हाम्रो घरमा आइरहन्थिन् । धेरैजसो तरकारीको बारेमा गन्थनमन्थन हुन्थे । उनी तरकारी खेतीबाट प्रसन्न थिइन् । उनको समुदायमा उनी मात्र एउटा नमुना–पात्र बनेकी थिइन् । पछि अरूहरूले पनि जसे भाउजूको देखासिकी गर्न थालेका थिए ।
बजार नजिक हुनाले बेच्न कुनै समस्या थिएन । सहर र गाउँको बीचमा एउटा झोलुङ्गे पुल थियो । पुल तार्ने बित्तिकै तरकारीले उचित भाउ पाउँथ्यो । एकदिन तरकारी बेचेर फर्कंदै गरेकी जसे भाउजूलाई भनेँ, ‘‘अब तपाईंका पनि दिन फिरे भाउजू, दुःख भए पनि अभाव र चिन्ता भन्ने चिज भएन ।’’
‘‘जाउँ बाबु खाजा खान’’, उनले आडको होटल देखाउँदै भनिन् । म अल्मलिएँ । ‘‘छुट्टाछुट्टै टेवलमा बसेर खाउँला नि बाबु, के हुन्छ त नि ।’’ उनले छुवाछूत कायम राख्दै भनिन् । मैले उनको प्रस्ताव स्वीकारेँ तर एउटै टेबुलमा आमुन्ने सामुन्ने भएर बस्यौँ । उनी अर्काे टेबलमा सर्दै भनिन्, ‘‘फेरि कसैले देख्न सक्छन् ।’’ खाजा खाएपछि सँगसँगै घर व्यवहारका गफ गर्दै बाटो काट्यौँ । उनले मेरै आमाका कुरा धेरै गरिन् ।
बेलुका उनले गरेका केही कुरा आमालाई सुनाएँ । आमा मख्ख पर्नुभयो । मेरी आमालाई मन पराएर मात्र होइन, उनले हाम्रो घरप्रति देखाउने सद्भाव र सद्व्यवहारबाट म प्रभावित थिएँ । उनलाई गाउँका उत्पीडित महिलाभन्दा पृथक लाग्न थालेको थियो । तर मेरो उनीप्रतिको मान्यता लामो समय टिकेन । जब समय र सङ्गतले उनलाई बिगारेर लग्यो । उनले रक्सी खान थालिन् । गति छाडा भएर धोक्न थालिन् । तरकारी बेच्न गएकी उनी डोको फालेर बाटोमा लम्पसार परेको, लगाएको फरिया पनि बेपर्वाहसित देख्नुपरेको स्थितिले मनमनै दुःख लाग्थ्यो । त्यसपछि उनी हाम्रो घर तरकारीका कुरा गर्न आउन छाडिन् । आमासँग सय÷पचास रक्सी खाने पैसा माग्न आउन थालिन् । आमाले गाली गर्नु हुन्थ्यो, ‘‘तँलाई रक्सी खान पर्ने लाज हराएकी ।’’
‘‘के गर्ने त जातले पाएको ! खाने हो बूढीमाउ । आज मरे भोलि दुई दिन हुन्छ, लाए खाए सार मरे लम्पसार । खान बाँकी केही राख्ने होइन ।’’ उनले मति छाडेर बोलिन् । जसे भाउजूलाई घरबाट पन्छाउन हो कि गाली गर्दै भए पनि आमाले पैसा दिनुहुन्थ्यो । कहिलेकाहीँ मैले पनि दिन्थेँ । तर त्यसरी रक्सी खाने पैसा दिँदा मन भारी हुन्थ्यो । तरकारी बेच्न छाडेर रक्स्याहा भएपछि जसे भाउजू आपूm मात्र बिग्रेकी थिइनन्, उनीसँगै घर पनि बिग्रिएको थियो । हाँसीखुसी छोराहरूको भविष्य पनि अन्योल र अन्धकारमा डुबेको भएको थियो । तर जसे भाउजूले कसैले सम्झाएको मानिनन् । कताबाट उनलाई जन्डिस लागेछ । जन्डिस लाग्दा पनि रक्सी खान नछाड्दा अस्पताल पुगिछन् । अस्पतालामा गर्नुपर्ने उपचार गरेपछि उनलाई घरमा ल्याइएछ ।
उनलाई पिँढीमा सुताइएको रहेछ । झिँगा वरिपरि भन्किएका रहेछन् । जिउ फुलेर चिन्न नसक्ने भइछन् । मान्छे चिन्नसक्ने होस भने रहेछ । छोराहरू निन्याउरो मुख लगाएर वरिपरि बसेका रहेछन् । हिजोसम्मको हरियाली पाखो डढेलोले खाएर बिरूप भएझैँ लाग्यो जसे भाउजूको घर मलाई । छेउमा उभिएका उनका श्रीमान्तिर फर्किएँ । आफ्नो ज्यान आफैँले फाल्ने भई डङ्किनीले, सब खत्तम पारेर जाने भई भन्दै श्रीमान्ले मुडा ल्याएर बस्न दिए । ठिकै छ दाइ भन्दै उभिएर मैले जसे भाउजूलाई एकोहोरो हेरिरहेँ । उनी मलाई हेरेर बोल्न खोजिन् तर सकिनन् । हातको इसाराले बस्न भनिन् । तब म मुडामा बसेँ । धेरै समय भने बस्न मन लागेन । गाउँलेले गरेको हल्लाजस्तै रहेछ उनको अवस्था । अब उनी धेरै नबाँच्ने लागेर घर फर्किएँ ।
भोलिपल्ट बिहान अशुभ समाचार गाउँभरि पैmलियो । जसे भाउजू राति नै बितिछन् । खबर सुनिसक्नु भएकी आमाको अनुहार हेरँे । उहाँको अनुहारमा बादल मडारिएको थियो । पानी पर्न नसकेको आकासजस्तो देखिन्थ्यो । जसे भाउजूले मेरी आमालाई दिएको आमाको दर्जा र आमा खुवाउने औँसीमा दिएको कोसेली सम्झेँ ।
फेरि आमालाई हेरेँ । आमाको निकै बेरपछि बोली फुट्योे, ‘‘हुन त जसे भाउजूको मलामी जाने, मुढा लैजाने हाम्रो चलन होइन । अरूले जे भने नि एउटा मुढो घाटमा छोडेर आइज ।’’ यसपालि आमाको आदेश पालना गर्दा मलाई औधी खुसी लाग्यो । अबेर नगरी एउटा मुढो दाउराको घारबाट झिकेर म घाटतिर लागेँ ।