दीर्घराज प्रसाईं (२००० हाङपाङ ताप्लेजुङ, सुपुत्र भागीरथा र जयप्रसाद प्रसाईं) निबन्ध र कविता क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका उनका असत्यको लास (२०१९) काव्य, चिन्ता (२०४३) उपन्यास कृतिका साथै मूलतः निबन्ध कृतिहरू प्रकाशित छन् । उनका प्रतिभा (२०२५), राष्ट्रियता र राजनेता (२०२५), नयाँ युगको राजनैतिक चिन्तन (२०२८), नेपालको राष्ट्रियता राजतन्त्र र प्रजातन्त्र (२०५०) नेपालमा राष्ट्रिय सहमतीको कुरा (२०५०) जस्ता कृति निबन्धका उल्लेख्य कृतिहरू हुन् । यी कृतिले राष्ट्रवादी चेतनालाई केन्द्रमा राखेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रसाईँको विक्रम संवत्को महत्त्व’ शीर्षकको लेख समेटिएको छ । यस लेखले विक्रम संवत्लाई विभिन्न कोणबाट हेरेको छ । |
आज २०७८ साल वैशाख १ गते विक्रम संवत्को नयाँ वर्ष प्रारम्भ भएको छ । मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ अर्थात् मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गते नव वर्ष प्रारम्भ हुन्छ । विक्रम संवत् वैदिककालदेखि प्रचलित तिथि र बारको अवलम्बन गर्दै आएको राष्ट्रिय संवत् हो । ज्योतिषहरूको सम्मेलनको सुझावका आधारमा तिथिमा अन्तर नपर्ने गरेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत् १९६१ मा शासन व्यवस्थामा सजिलोका लागि वैशाख १ गते मेष सङ्क्रान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् । तिथि कहिले एकैदिन दुईटा आइपर्ने हुँदा गतेमा लेख्ने चलनपछि अन्यको दाँजोमा विक्रम संवत् व्यावहारिक हुन पुगेको हो ।
नेपाल संवत् र शक संवत्हरू अध्यावधि तिथिका आधारमा चलेका छन् । विक्रम संवत् १९६१ सालदेखिको मेष सङ्क्रान्तिलाई वैशाख १ गते मानी वर्षभरिका १२ महिनाका दिन निर्धारण गरिएका हुन् । विक्रम संवत् हिमवत्खण्ड नेपालका विभिन्न साना राज्यमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि नेपालको राष्ट्रिय संवत्का रूपमा स्थापित भएको छ ।
‘अथ सूर्यवंश प्रभावान्नेपाले किरात राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः ।’ –(पशुपति पुराण) अर्थात् सूर्यवंशी लिच्छवि राजाको प्रभावले किरात राजालाई जिती लिच्छवि वंश सुरु भएपछि भूमि बर्मा विक्रमादित्य उपाधिबाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजा धर्मपालबाट विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् उठान भएको हो । हिमवत्खण्डका स–साना राज्य सेनवंशी, बाइसी, चौबीसी तथा काठमाडौँ उपत्यकालगायत ब्रह्मपुत्रदेखि गङ्गाको आसपाससम्म विक्रम संवत् चलनचल्तीमा आएका प्रमाण छन् । विक्रम संवत्भन्दा १३५ वर्षपछि शक संवत् र ९३७ वर्षपछि नेपाल संवत्को उठान भएको हो । विक्रम संवत्को वर्षमा ३६५ दिन र शक संवत् र नेपाल संवत्मा ३५४ दिनमात्र हुनेहुँदा अन्तर्राष्ट्रिय हिसाबले ईस्वी संवत्सँग तालमेल मिलाउन पनि विक्रम संवत् धेरै व्यावहारिक भएको छ । ईस्वी संवत्, शक संवत्, नेपाल संवत्भन्दा विक्रम संवत् जेठो संवत् भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न पनि यो संवत् सफल बनेको छ ।
इतिहासविद् नयनाथ पौड्यालले राष्ट्रिय पुस्तकालयबाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजाका बारेमा किंवदन्ती प्रस्तुत गर्दै वज्रयोगिनीबाट पारसमणिसहित आशीर्वाद प्राप्त गरेको राजप्रासादको दक्षिणतर्फ (हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थलसमेत बनाएर विक्रम संवत् चलाएको कुरा उल्लेख गर्नुभएको छ । साँखु वज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जसको अध्यावधि बज्राचार्य वंशका पुजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन् । साँखुमा अवस्थित विक्रमादित्यले नेपालमा राज्य गरेका यो ज्वलन्त प्रमाण हो । उनैबाट काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ । योगी नरहरिनाथले “श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः”भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाँउमा राजसिंहसान थियो भन्ने पाइन्छ, भन्नुभएको छ । यसबारेमा काभ्रे नालामा विक्रमादित्यले शासन गरेको कुरा वासु पासाको काभ्रे सिन्धु वृत्तान्त पुस्तकमा उल्लेख छ । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ । यसैगरी, विक्रम संवत् ९४५ मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ ।
जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । त्यसपछि त्यसरी नै मल्लकालभरि विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखहरूमा प्राप्त छन् । मोरङका राजा हरिश्चन्द्र सेन र वृषसेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा माणिक सेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौँ प्रमाण भएको कुरा इतिहासविद् शङ्करमान राजवंशीले पुरातत्त्व सङ्ग्रह (२०१८)मा प्रकाशित गराउनुभएको छ । फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अङ्कित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । यस्ता धेरै उदाहरण छन् ।
राजा भूपतीन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गर्नुभएको र जयप्रकाश मल्लले विक्रम संवत् १८१४ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’मा उल्लेख गर्नुभएको छ । विक्रम संवत् यस क्षेत्रको प्रचलित संवत्का रूपमा मानिएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराण शाहको वंश गुह्येकाली र पशुपतिका दुई पाउका धूलाका प्रसादले स्थिर भइरहोस्’ भनेर उल्लेख गर्नुभएको थियो । जङ्गबहादुरले मुलुकी ऐनलाई सङ्ग्रह गरी त्यसमा विक्रम संवत् १९१० उल्लेख भएको छ । इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा विक्रम विक्रम संवत् १७२१ मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१ मा लमजुङमा केहरिनारायण शाह राजा भएको उल्लेख गर्नुभएको छ । विक्रम संवत् १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णाङ्कको ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ प्रयोग भइआएको देखाउनुभएको छ ।
इतिहासकार ज्ञानमणि नेपाल लेख्नुहुन्छ, ‘विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसे–चौबीसे, सेन, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए । केन्द्रका तीन सहरका मल्ल राज्यमा पनि पूर्वमल्लकालदेखि अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो ।
विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान् खोजकर्ता पं. भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लिच्छविकालमा उल्लिखित संवत्लाई विक्रम संवत् ठह¥याएका थिए । त्यसैगरी, कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तर–पूर्व भागको इतिहासमा लेख्नुभएको छ, ‘मानदेवको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपलीगाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् ।’ यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शङ्करमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरू शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लिखित संवत्लाई विक्रम संवत् नै मान्नुभएको छ । ‘लिच्छविकालमा उल्लिखित संवत्हरू शक संवत् होइनन्’ (लिच्छवि संवत्को निर्णय, नयराज पन्त–नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०४३ ।)
तर, कतिपय नेपालकै इतिहासकारले विक्रम संवत् नेपालको होइन, यसको उठान भारतको उज्जयनीबाट भएको हो, भन्छन् । तर, यो सत्य होइन । ईस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्या विजय गरी छालाका मुद्रामा विक्रमादित्य लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु मिल्दैन । इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ, ‘जुन समय ईसापूर्व ५७ वर्षमा यो संवत्को उठान भएको थियो, त्यो समयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयिनीका खण्डहरूको उत्खनन हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिह्न भेटिएको छैन ।’ विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यस समयका भारतका कवि वा कलाकारले कहीँ न कहीँ त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कहीँ कतै गुनगान हुन्थ्यो, कहीँ कतै मूर्ति पनि बन्थ्यो होला ।
एसियाका अधिकांश राष्ट्र चीन, भारतमा अङ्ग्रेजी साम्राज्यको प्रभावले त्यहाँका आदि संवत्हरू विस्थापित गरेर ईस्वी संवत् लागू गरिएको थियो । तर, साम्राज्यवादी प्रभावबाट जोगिएकाले नेपालले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विक्रम संवत् यथावत् कायम रहिरह्यो । नेपाल सधैँ सार्वभौम थियो भन्ने कुराको ठोस प्रमाण विक्रम संवत्को निरन्तरता हो ।