चन्द्रदीप लामिछानेको (२०३१ साल मंसिर एघार गते सिन्धुली जिल्लाको हाल कमलामाई नगरपालिका वडा नं ४ को ढकाल गाऊँ, सुपुत्र केशबराज लामिछाने रसावित्रा लामिछाने) व्यवस्थापन विषयका विद्यार्थी हुन् त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् । उमेर देखि लेखन– पढन र साहित्यिक वातावरणमा हुर्किएका लामिछाने पाँच–छ कक्षा पढ्दा देखिनै कबिता तथा लेखहरू लेख्ने प्रयास गर्थे । जिल्ला स्तरीय विभिन्न कविता, कथा तथा निबन्ध लेखन प्रतियोगिताहरूमा भाग लिएर पुरुस्कारहरू प्राप्त गर्दै आएका लामिछानेका विभिन्न पत्र पत्रिकाहरूमा समसामयिक बिषयहरूमा लेखहरू प्रकाशित छन् । लामिछानेले विद्यालय तथा कलेजका पाठ्यक्रमसँगसम्बन्धी केहि पुस्तकहरू पनि प्रकाशित गरेका छन् । यहाँ लामिछानेको ‘ आन्दोलनमा आधा कपाल फुलाईसकेको मेरो पुस्ता’ शीर्षकको लेख समेटिएको छ । लामिछानेको यो लेख विगतदेखि बर्तमानसम्मका बिभिन्न पार्टीहरूको राजनिति र उनीहरूले गर्ने गरेका आन्दोलनहरूसँगं संबन्धित रहेको छ । कुनै परिवर्तन र विकासको अपेक्षामा गरिने पटक–पटकका आन्दोलनहरूले देशका जनताहरूलाई खासै राहत दिन नसकेको पक्षलाई लेखले निकै जीवन्त रूपमा समेटेको छ । सम्पा. |
२०४६ सालताका मेरो उमेर पन्ध्र बर्षको रहेछ । देशमा प्रजातन्त्रको पुनस्र्थापनाको लागि काङ्ग्रेस र तत्कालीन बाममोर्चाले आन्दोलन घोषणा गरेका थीए । एकातिर जिल्ला– जिल्लामा आन्दोलनको घोषणा हुदै थियो भने अर्कोतिर पञ्चायत सरकारको तर्फबाट आन्दोलनको बिरूद्ध पञ्चर्यालीको आयोजनाहरू भएका थिए ।
हामी सानै थियौँ । स्कूल पढ्दै थियौँ । घरको काका बाममोर्चाको नेता हुनुहुन्थ्यो र घरसँगै जोडिएको अर्को घरको काका काङ्ग्रेसको नेता । उहाँहरू भूमिगत हुनुहुन्थ्यो ।
घरमा पुलिसहरू आउँथे । हामी घरमा भएका राजनीतिक किताबहरू धानको ढुकुटीमा लुकाउँथ्यौँ । त्यसबेला लुकाउने सुरक्षित ठाउँ सायद त्यही नै थियो । गाउँकै दाइहरूले राती कालो झन्डा गाड्न कहिले कता कहिले कता लिएर पनि जान्थे । त्यो अबोध बाल ममष्तिष्क एकातिर त्राश र अर्कोतिर उत्सुकताले आक्रान्त हुन्थ्यो ।
खबर आयो आन्दोलन सफल भयो रे । काकाहरू ठूला–ठूला काग्रेस र कम्युनिष्टका झण्डाहरू बोकेर आ–आफ्नो घर आउनुभयो । जिल्ला–जिल्लामा ठूला – ठूला आमसभाहरू गरिए । हामीलाई रमिते बनाएर आमसभामा लगिन्थ्यो ।
सदरमुकाम मात्र हैन आमसभाको लागि ठूला नेताहरू आउछन् रे भनेर भाषण सुन्न जनकपुरसम्मै पनि पुगियो । पढ्न चलाखै थिएँ । थोरै कुराहरू भने त्यसबेला पनि बुझ्थेँ क्यारे । पछि प्रशिक्षणहरू भए । काकाको घरमा सधै जसो मान्छेहरूको जमघट हुन्थ्यो । देश बिकासका ठुला–ठुला कुराहरू हुन्थे ।
केही समय काग्रेस र बाममोर्चाले संयुक्त सभाहरू गरे तर त्यो धेरै टिकेन । बरू केहि दिन पछि नै उनिहरू एक– अर्कालाई गाली-गलौज गर्दै छुट्टिए । पछि त कट्टर दुश्मन जस्तै बने ।
एसएलसी पास भएपछि क्याम्पस पढ्न काठमाडौँ आइयो । यहाँ त झन् ठूलो राजनीति हुँदो रहेछ । क्याम्पसमा पढाइभन्दा राजनीति धेरै हुने तर पनि मनमा एउटा सुसुप्त अभिलाषा भने थियो देशमा पक्कै विकास हुन्छ भन्ने किनकि देशमा प्रजातन्त्र आएको थियो ।
तर म गलत थीएँ । एक–दुई बर्ष पनि नबित्दै देशमा काग्रेस र कम्युनिष्ट मात्र हैन कम्युनिष्ट- कम्युनिष्टहरू बिचमै पनि हानाहानै पो हुन थाल्यो । अहिलेका ठूला नेता तथा मन्त्री बन्नेहरूमा तिनीहरूमध्येका कति होलान् कति ।
अब, देशमा दैनिकजसो आन्दोलन हुन थाल्यो । सहरका रेलिङ, बार तथा सार्बजानिक सम्पत्तिहरू कत्ति तोडफोड गरिए आजसम्म त्यसको हिसाब किताब नै छैन । केही बर्षपछि त देशमा ठूलो युद्ध नै सुरु भयो माओवादी जनयुद्ध ।
त्यसबेला मेरो उमेर एक्काईस वर्षको भइसकेको रहेछ । यो युद्द दश बर्ष चल्यो । हजारौँ मानिसहरू यो युद्दमा मारिए । डरलाग्दो अवस्था भयो । यसबिचमा अरू पार्टीका आन्दोलनहरू पनि जारी नै थीए । म भने नतमस्तक जस्तो बन्दै थिएँ हरेक दिन प्रार्थना पो गर्दथेँ आज कोही मानिसहरू नमरुन् भनेर ।
बिचमा फेरि राजाले शासन हत्याए । त्यसको बिरुद्दमा पनि आन्दोलन हुन थाल्यो । म जस्ता कयौँ युवा– युवतीहरू यी सबै आन्दोलनहरूमा सहभागी भए । यसबिचमा मेरो उमेर एकतीस बर्षको भैसकेको रहेछ । म अब निराश हुन थालिसकेको थिएँ । यत्तिका बर्षसम्म देशमा आन्दोलन मात्रै भइरहेको थीयो । एकले अर्कोलाई दोष लगाउने र त्यसको बिरुद्दमा आन्दोलन गर्ने । देशमा बिकास भने ठप्पै जस्तो थियो ।
अब आयो २०६२-६३ साल । फेरि बिगतदेखिकै आन्दोलनरत काङ्ग्रेस र कम्युनिष्ट पार्टीहरूले भने कि अब अन्तिम लडाई लोकतन्त्रको लागि लड्नु पर्ने भयो । हामीलाई साथ दिनुहोस् । अनि देशमा लोकतन्त्रको लागि अर्को बिसाल आन्दोलन गरियो । राजा पनि फालिए । लोकतन्त्र पनि आयो रे । संबिधान सभाको चुनाव पनि भयो तर पार्टीका नेताहरू त फेरि बाँदर जसरी झगडा गर्न पो थाले उहि पाराले । संविधान पनि बनेन । दोस्रो चुनाव भयो तर पनि पार्टीका आन्दोलनहरू रोकिएनन् । आफ्नै पार्टी फुटाएर आफू-आफू बिच सत्तोसराप र लाज नै लाग्ने गरि गालि बेइजती गर्दै पनि पार्टीका नेताहरू आन्दोलन गर्दै रहन्थे । मलाई भने अब कुरीकुरी लाग्न थाल्यो । आफै सहभागी भएका आन्दोलनहरूप्रति पनि ग्लानी लाग्न थाल्यो । यद्यपि म कुनै स्वार्थले कहिल्यै कुनै आन्दोलनमा लागेको थिइनँ ।
आज मेरो उमेर ४७ बर्षको भएछ । ऐना अगाडि हेर्दा आधि कपाल फुलेको देख्छु । एउटा सरकार चलाइरहेको ठूलो पार्टी दुई फ्याक भएर फुटेको छ । ३० सौँ बर्षदेखि कहिल्यै नछुट्टिने बाचा-बन्धन गरेर हिजो रगतले एक-आपसमा हस्ताक्षर गरेका हौ भन्नेहरू आज एकले अर्कोलाई दुर्वाच्य बोल्दै सभाहरू गरिरहेका छन् । एउटाले अर्कोलाई भन्छ- तँ तानाशाह होस् ?, फेरि अर्को भन्छ- तँलाई म देखाइदिन्छु । एउटाले अर्कोको बिरूद्ध बन्दको घोषणा गर्दछ । अनि अर्को भन्छ- म तेरो बिरूद्धमा जेहाद छेड्छु ।
त्यतिमात्र होर । हामीलाई सुन्दा पनि अपाच्य हुने शब्दहरू नै पनि उनीहरूले एकले अर्काको बिरूद्ध बोलेको सुन्छु । त्यसैले; देशमा अहिले फेरि ठूलो आन्दोलनको सुरुवात भएको छ रे । त्यो पनि आफ्नै साथी तानाशाह भएको बिरूद्धमा । तर मलाई अचम्म त यस अर्थमा लागिरहेको छ कि सरकारमा रहँदा यिनीहरू सबै नै बादशाह नै बन्न खोज्दथे । तानाशाह नै बन्न खोज्दथेँ । एउटा बादशाह हटाएर सयौ बादशाहरूले रजगज गर्न थालेको यहाँ कयौ वर्ष भइसकेको छ ।
अर्को थप नौलो अचम्म अहिले म यो आन्दोलनमा देखिरहेको छुकि सरकार आफै पनि आन्दोलनमा छ । प्रधानमन्त्री आफै हिजोका आफ्नै साथीहरूको बिरूद्धमा आमसभा गर्दै हिँडेका छन् । उनि पनि भन्दै छन-‘हेरौँ म पनि यिनीहरूलाई देखाईदिन्छु ।’
केही दिन अगाडि एक मित्रले फोन गर्नु भयो र भन्नु भयो -“सर आन्दोलनमा जाने हैन ?“ । हतार-हतार ऐना अगाडि गएर आफ्नो फुल्दै गरेको कपाल र बिस्तारी चाउरी पर्दै गरेको अनुहार फेरि एकपटक हेरेँ । ऐना हेर्दै पटक-पटक उनिहरूलाई धिक्कारेँ । एक पटक आफैलाई पनि धिक्कारेँ । तर मीत्रजीलाई भने साँझसम्म जबाफ फर्काउनु छ – “ यो तिल-चामले कपाल लिएर फेरि अर्को अन्तिम लडाईमा मैले अब कहा आउनु पर्छ र के नारा लगाउनु पर्छ साथी ? “
।