लेखक
अब्राहम लिङ्कन अमेरिकाका सोह्रौँ राष्ट्रपति हुन् । लिङ्कन (Abraham Lincoln, February 12, 1809-April 15, 1865) विश्वकै महान् राजनेतामध्ये एकका रूपमा चिनिन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनले आफ्नो छोरो विलियम वेलेस लिङ्कन (William Wallace Lincoln December 21, 1850 – February 20, 1862) पढ्ने विद्यालयका प्रधानाध्यापकलाई लेखेको चिठीको नेपाली अनुवाद गरी प्रस्तुत गरिएको छ । विलियम लिङ्कनका तेस्रो सन्तान थिए । यस पत्रले नेपाली समाजमा पनि सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ । सम्पा. |
श्रीमान् प्रधानाध्यापक,
मेरो छोरोले सबै मानिस एकै किसिमका हुदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस पनि छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै । तैपनि उसलाई परिश्रम गरी कमाएको एक रूपैयाँ सित्तैमा पाएको पाँच रूपैयाँभन्दा बढी मूल्यवान हुन्छ भन्ने कुरा बताइदिनुहोस् । उसले विजय र पराजय भनेको के हो, राम्ररी बुझोस् । त्यस्तै ईष्र्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसलाई पढाइसँगै आकाशमा उडिरहेका चराहरू, घामाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरू र पहाडी काखमा फुलेका फूलहरूको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस्।
मेरो छोरो जतातिर हूल छ, त्यता तिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्रै छुट्याउन सक्ने होओस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस् । उसलाई कहिले काँही आँखाबाट आँसु झर्नु लाजमर्दो कुरो होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि दृढतापूर्वक लागिपरोस् । ऊभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न साहस र दृढशक्तिको विकास गरिदिनुहोस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकोमा टेक्ने गरी चाहिँ होइन । सम्झनुहोस्, आगाको लप्काबाटै फलाम खारिन्छ। ऊभित्र सहास र सधै केही गरौँ भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयं निर्भिक साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान हुन सक्छ ।
धन्यवाद!
तपाईको
अब्राहम लिंकन, ह्वाइट हाउस, वासिङ्गटन।