ध्रुवप्रसाद भट्टराई (२०२५ असार ३२, सुपुत्र : सावित्रा/घनश्याम भट्टराई, पाल्पा,तानसेन न.पा. वडा नं. १४, हालः नवलपरासी जिल्ला, बर्दघाट न.पा. वडा नं. १३, जयनगर।) नेपाली समीक्षा र लोकसाहित्यका क्षेत्रमा सुपरिचित प्रतिभा हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि (२०७०) उपाधि प्राप्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर काठमाडौँमा प्राध्यापनरत भट्टराई साहित्य, लोकसाहित्य र संस्कृतिको अनुसन्धानमा सक्रिय देखिन्छन्। ‘हामी आयौँ किन ?’ शीर्षकको कविता हरिद्वारबाट प्रकाशित हुने सगरमाथा पत्रिका २०४३ सालमा प्रकाशन गरी साहित्यिक क्षेत्रमा देखापरेका भट्टराईका समीक्षा कुसुम (सहलेखन २०५८), नेपालका प्रदर्शनकारी कला (सहलेखन २०७४), लोककविताको विमर्श (२०७५), जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (दोस्रो ठेली, सहलेखन २०७६) जस्ता कृतिहरू प्रकाशित छन्। उनको नेपाली लोककविताको विश्लेषण कृति प्रकाशोन्मुख रहेको छ। कविताविधाबाट लेखन आरम्भ गरे पनि भट्टराई समीक्षा र अनुसन्धानका क्षेत्रमा केन्द्रित भएर कृतिहरू प्रकाशन गरिरहेका छन्। उनले कथाकार धु्रवचन्द्र गौतमका प्रतिनिधि कथाहरूको संरचनात्मक अध्ययन (२०५२ ), तेह्रथुम आठराई क्षेत्रका लोकदोहाको प्रवृत्तिगत विश्लेषण (२०६८), पाल्पाका दलितहरूका विवाह संस्कारमा भनिने नेपाली लोकपद्य (लोकमन्त्रको अध्ययन, २०७३) डोटेली लोकपद्यको अध्ययन, (२०७५) जस्ता अनुसन्धानबाट मूलतः आफूलाई लोकसंस्कृति र साहित्यका विशेषज्ञका रूपमा विकास गरेको पाइन्छ। । उनको सम्पादनमा प्रणयन (पहिलो अङ्क २०५५, दोस्रो अङ्क २०५६ र तेस्रो अङ्क २०६१ ), नवलपरासी सन्देश (पहिलो अङ्क २०६५ र दोस्रो अङ्क २०७४), त्रिचन्द्र कलेज सयवर्ष (सम्पादक, २०७५) नेपाली लोकवार्ता ( भाग ५ २०७५, भाग ६ २०७६ र भाग ९ २०७७) जस्ता स्मारिका र पत्रिकाहरू प्रकाशित छन्। भट्टराईको सांस्कृतिक चेतलाई पहिल्याई साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको बडादशैँ र घटस्थापना शीर्षकको लेख दशैँको हप्ताको अवासर पारेर प्रकाशन गरिएको छ।
– सम्पा.
दशैँ हिन्दु धर्मावलम्बीहरूको महान् चाड हो। यो चाड शरद् ऋतुको आश्विन शुक्लप्रतिपदादेखि सुरु हुन्छ। आश्विन शुक्लप्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष पूजा हुन्छ। यी नौ दिनका नवरात्रलाई शारदीय नवरात्र भनिन्छ। यस नवरात्रमा शक्तिस्वरूपिणी जगज्जननी नवदुर्गाका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नौ रूपको पूजा गरिन्छ।
नवरात्रीमा तम, रज र सत्व गरी त्रिगुणमय स्वरूपमा महाकाली, महालक्ष्मी र सरस्वतीको पूजा गरिन्छ। यही पूजालाई नवदुर्गाको पूजा भनिन्छ। यसले सुख, सन्तोष, भौतिक तथा आध्यात्मिक समुन्नति, आत्मचेतना तथा आत्मज्ञानको प्राप्ति हुन्छ भन्ने मानिन्छ। यसरी नौ दिनसम्म नवदुर्गाको पूजा गरी दशौँ दिन अर्थात् विजया दशमीका दिन विजयोत्सव मनाउँदै मान्यजनबाट जमरा र टीका थापेर आशीर्वाद लिइन्छ। काठमाडौँदेखि पूर्वतिर दुर्गा वा जमरा नसेलाउन्जेल अर्थात् पूर्णिमासम्मका पाँचै दिन टीका ग्रहण गर्ने चलन छ भने पश्चिमतिर विजया दशमीको एक दिनमात्र टीका ग्रहण गर्ने चलन छ।
दशैँलाई शुद्धीकरणको पर्व मानिन्छ। यस पर्वले हामीमा रहेका महिषासुररूपी जडता, शुम्भनिशुम्भरूपी अहङ्कार, मधुकैटभरूपी रागद्वेष, चण्डमुण्डरूपी कुतर्क, धुम्रलोचनरूपी धुमिल दृष्टिको नाश गरी मन, वचन र कर्ममा शुद्धी ल्याउँछ। वर्षाऋतुको समाप्ति र शरद्को आगमनसँगै मनाइने विजयादशमीको प्राकृतिक दृष्टिले पनि यो पर्व महत्त्वपूर्ण छ। यो प्रकृति र संस्कृतिको सम्मान गर्न सिकाउने पर्व हो। यस पर्वमा गरिने पूजा, पाठ, यज्ञ, होम, कीर्तन आदिले व्यक्तिमन, सामाजिक परिवेश र प्राकृतिक वातावरणलाई समेत शुद्ध र शान्त बनाउँदछ।
संस्कृतिविद् दिव्येश्वरीले दिएको जानकारीअनुसार कालीकर्णालीतिर दशमीदेखि चतुर्दशीसम्म महिसासुरको प्रतीक मानी राँगोलाई घरघर डुलाएर निश्चित स्थानमा पुर्याएर काट्ने चलन छ। यसरी राँगो काट्ने प्रक्रियालाई त्यहाँ दशैँ भनिन्छ। यस्तो दशैँ स्थानीय परम्पराअनुसार दशमी, त्रयोदशी र चतुर्दशी तिथिमा मनाइन्छ। यस अवसरमा त्यहाँ चौलो खेलिन्छ, भो नाचिन्छ र डेउडा खेलिन्छ। चैत, चाँचरी, घरगीत जस्ता लोकगीतहरू पनि गाइन्छन्।
यस पर्वलाई राष्ट्रले पनि विशेष महत्त्व दिएको छ। देशविदेशबाट ठुलाबडाको आशीर्वाद थाप्न आफ्ना आमा बुबा भएको घर आउने प्रचलनले गाउँघर यति वेला गुञ्जायमान हुन्छ। परम्परागत रूपले बनेका प्रत्येक घर कमेरो माटो, गेरु वा रातो माटोले लिप्ने, आधुनिक घरलाई रङरोगन गर्ने तथा गाउँठाउँका बिगे्रभत्केका बाटाघाटा, पधेँरा, कुवा आदि समाजसेवाका रूपमा सबैले मिलेर गर्ने प्रचलन छ। यो पर्व आएको गाउँको रौनकबाट स्पष्ट देख्न सकिन्छ। यस्तै दशैँमा नयाँ कपडा लगाउने, पृथ्वीलाई छोड्ने भनी गाउँ, टोल र घरघरमा पिङ हाली पिङ खेल्ने चङ्गा उडाउने जस्ता प्रचलन पनि छन्।
तराईमधेसमा भने दसैँ केही भिन्न तरिकाले मनाइन्छ। संस्कृतिकर्मी वीरबहादुर महतोले दिएको जानकारीअनुसार यस समयमा सबैले कुलदेवताको घरलाई लिपपोत गरी मालीले ल्याएको फूलपानलाई चढाउने चलन छ। यस्तै घटस्थापनको साँझदेखि नवमीसम्म चमार (ढोल बजाउने जाति) सबैको घर–घरमा ढोल बजाउँछन्। षष्ठीदेखि कलश भर्ने, बेल नवती, बेल तोरी, खोइछ भर्ने आदि कार्य गरिन्छ। दशौँ दिन दुर्गा मेला लगाई धुमधामका साथ विजयादशमी मनाइन्छ। यस समयमा मूर्ति बनाउने तथा माता दुर्गाको खोइछा भर्ने चलन पनि रहेको छ। मूर्तिका आँखा नवरात्रीको आधी रातमा मात्र उघारिन्छ। आँखा उघारिने वेलामा कसैलाई पनि सामन्ने अगाडि रहन दिइँदैन। सामुन्ने रहँदा यसको सिधा असर त्यस मानिसमाथि पर्छ भन्ने जनविश्वास रहेको छ। मेलामा विभिन्न किसिमका नाच–गान, खेल–तमासा, पर्दा, भिसियार, सरकस जस्ता मनोरञ्जनका साधनहरू राखिएको हुन्छ।
दशैँमा घटस्थापनालाई विशेष पर्वकै रूपमा लिइन्छ। घटस्थापना भनेको सामान्य अर्थमा कुनै पनि देवीदेवताको पूजा गर्नका लागि विधिपूर्वक गरिने घट/कलशको स्थापनालाई घटस्थापना भनिन्छ भने विशेष अर्थमा आश्विन शुक्ल प्रतिपदाका दिन दुर्गा पूजाका लागि स्थापना गरिने घट/कलशको स्थापना गरी दुर्गाको पूजा प्रारम्भ हुने विशेष दिन भन्ने बुझिन्छ। यी दुवै सन्दर्भ पूजाका लागि गरिने कलश स्थापनासँग सम्बन्धित छन्। कुनै पनि पूजामा दियो, कलश र गणेशको पूजा गरेपछि मात्र आफूले पूजा गर्न चाहेको विशेष देवीदेवताको पूजा गर्ने प्रचलन हाम्रो समाजमा छ। त्यही सन्दर्भमा दुर्गा पूजाका लागि घटको स्थापना गरी पूजा गर्ने परम्परालाई सामान्य अर्थमा घटस्थापना भनिएको हो।
घटस्थापनाको विशेष दिन भनेर आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दुर्गापूजाको प्रारम्भ हुने दिनलाई बुझिन्छ। यस दिन शारदीय नवदुर्गाको पूजा प्रारम्भ हुने भएकाले बिहान स्नाननादि नित्यकर्म सम्पन्न गरी दुर्गास्थापना गर्ने क्रममा घटस्थापना गरिन्छ। घटस्थापना गर्दा कुनै माटाको घैँटो वा धातुको भाँडालाई सफा गरी केसरी, चन्दन र अबिरले सिँगारी त्यसमा गङ्गाजल राखी त्यसको मुखमा आँप, पीपल, वर, पाँकरी र स्वामीका पात अर्थात् पञ्चपल्लव राखिन्छ। त्यसपछि कलश राख्न निर्धारण गरिएको ठाउँमा बालुवा बिच्छ्याई त्यसमा अष्टदलपद्म वा श्रीयन्त्र बनाई त्यसमाथि टपरी वा दुनोमा धान राखी त्यसमाथि घट वा कलश राखिन्छ। कलशको मुखमा तामाको थाली राखी त्यसमा श्रीयन्त्र वा देवीयन्त्र लेखी त्यसमा सुनको प्रतिमा राखी देवीको आवाहन पूजन गर्ने विधान छ। घटमा राखिएको जललाई वरुण देवताको प्रतीक मानिन्छ। वरुणलाई वेदमा सबै किसिमका बन्धनबाट मुक्ति दिने देवता भनी पुकारिएको छ। जलले भरिएको घटले पूर्णता, पूज्यता, माङ्गल्य, पुरुषार्थ, देवाश्रय आदि विविध अर्थलाई सामूहिक रूपमा द्योतन गर्ने संस्कृतका विशिष्ट विद्वान् चेतोनाथ आचार्य बताउँनुहुन्छ। यस्तै कलशको मुखमा विष्णु, कण्ठमा रुद्र, मूलमा ब्रह्मा र बिचमा देवीशक्तिको निवास रहेको मानी कलशको पूजा गर्ने प्रचलन छ। त्यहाँ सबै समुद्र, तीर्थस्थल, नदी लगायत ब्रह्माण्डमा रहेका सबै देवीदेवतालाई आवाहन गरी सबैको पूजा गरिन्छ र संसारमा रहेका सबै जीवजन्तुको मङ्गलको कामना पनि गरिन्छ। त्यसपछि गणेशको पूजा गरी नवदुर्गाको पूजा गरिन्छ र त्यहाँ चण्डी, देवीभागवत आदिको पाठ गरिन्छ। त्यसपछि जमरा राखिन्छ। त्यहाँ पूजा गर्ने र पाठ गर्ने क्रम नवरात्रभरि नै चलिरहन्छ। विजया दशमीका दिन त्यही कलशको जलले टीका ग्रहण र आशीवार्द लिन आउनेलाई अभिसिञ्चन गरी शुभाशीर्वाद दिइन्छ।
दशैँको अर्को विशिष्ट वस्तु भनेको जमरा हो। जमरा भनेको जौको अङ्कुर अर्थात् बिरुवा (यवाङ्कुर) हो। विजया दशमीमा जमराको विशेष महत्त्व छ। जमरा राख्नुभन्दा अघिल्लो दिन पर्ने औँसीलाई जमरे औँसी भनिन्छ। यसबाट जमराको सामाजिक र धार्मिक महत्त्व बुझ्न सकिन्छ। जमरा आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी देवीको पूजा गरिएको पवित्र स्थानमा शुभ साइतमा जमरा राख्ने गरिन्छ। कतिपय ठाउँमा घटस्थापनाको साँझ र कतिपय ठाउँमा द्वितीयाको चन्द्रमा अर्थात् द्विज हेरेर राख्ने चलन पनि छ। जमरा राख्दा सूर्यको प्रकाश नआउने ठाउँमा केराको पात, टपरी वा दुनामा बालुवा वा पञ्चमृत्तिकाको वेदी बनाई त्यसमा जौ छरेर जौको जमरा राखिन्छ। कतिपय ठाउँमा भने जौका अतिरिक्त मकै, तिल, गहुँ र धान गरी पाँच प्रकारका अन्नको जमरा राख्ने प्रचलन पनि छ। जमरा राख्दा घरको लागि र शक्तिपीठ वा अन्य घर नजिकै रहेका मन्दिरका लागि छुट्टै गरी आवश्यकता अनुसार राखिन्छ। जमरालाई दुर्गाको पूजासँगै प्रत्येक दिन साँझ र बिहान पूजा गर्ने र पानी छर्किने गरिन्छ।
आश्विन शुक्ल दशमीका दिन शक्तिपीठका लागि र अन्य देवीदेवताका लागि राखिएको जमरा र अक्षता त्यहाँ पुर्याइन्छ। यता घरमा पूजा गरिने नित्यकर्मको पूजामा पनि त्यस दिन यही जमरा र अक्षताको प्रयोग गरिन्छ भने कुलकुलायन, नाग तथा अन्य देवीदेवतालाई पनि यही जमरा र अक्षता चढाउने चलन छ। घरको मूल ढोकामा पनि जमरा र अक्षता लगाइन्छ। यी विभिन्न देवीदेवतालाई चढाएर त्यहाँको प्रसाद स्वरूप ल्याएको जमरा र अक्षता घरमा तयार पारिएको जमरा र अक्षता मिसाइन्छ। त्यसपछि साइत हेरी शुभसाइतमा घरको मूली मान्छेबाट सुरु गरी अन्य मान्यजनबाट घटस्थापनमा राखिएको कलशको जल निकाली त्यसै जलले अभिसिञ्चन गर्दै टीका र जमरा आशीर्वाद स्वरूप ग्रहण गर्ने चलन छ। त्यसैले दसैँमा घटस्थापन र जमराको विशेष महत्त्व रहेको देखिन्छ।