मीरा गोतामे (सुपुत्री : गोपालबहादुर गोतामे र बिनु गोतमे बुढानिलकण्ठ काठमाडौँ) नवोदित साहित्यकार हुन् । समाजशास्त्रमा स्नातकोत्तरसम्मको उच्च शिक्षा लिई आशीर्वाद बोर्डिङ स्कुल बालुवाटार, मेरिडियन इन्टरनेसलन स्कुल बालुवाटार, अक्षरा स्कुललगायत विभिन्न विद्यालयमा शिक्षण अनुभव बटुलेकी गोतामे अहिले साहित्य सिर्जनामा लागेकी छन् । उनको बसोबास पेप्सिकोला, काठमाडौँमा रहेको छ । उनले हिमालयन टाइम्स पत्रिमा विभिन्न लेख अङ्ग्रेजी भाषामा प्रकाशन गरेकी छन् । नेपालीमा भने उनको यो पहिलो निबन्ध रचना हो । यस रचनाले आत्मपरक निबन्धका विशेषतालाई आत्मसात गर्दै नारीहरूका मातृत्व र पेसालाई समानान्तर रूपमा अगाडि बढाउनु पर्ने समस्यालाई उजागर गरेको छ ।-सम्पा. |
पेसाले म एउटी शिक्षिका । विगत १३ वर्षदेखि शिक्षण पेसामा आवद्ध छु । विवाहअघिदेखि नै सुरु गरेको पेसामा छोराको आमा बनेपछि पनि निरन्तरता रह्यो ।
यो पेसा मलाई प्रिय लागे पनि यसमा केही जटिलता थिए । तीन महिने दुधे शिशुलाई छोडेर स्कुल जानु कम्ति गाह्रो काम थिएन । बोल्न नजान्ने शिशुलाई ज्वोरोले हनहन हँुदा पनि आमाबाबु को काखमा छोडेर जागिरमा जानू परेको तितो अनुभव छ मेरो । कहिले त दुध चुसाउँदै गर्दा पनि स्कुल बसको हर्न सुनेपछि हतार हतारमा छोडेर जानू पर्ने बाध्यता । बच्चा हेरिदिन कहिले कसलाई कहिले कसलाइ आग्रह गरेरै दुई वर्षको बनाएँ ।
दुई वर्ष पुगेपछि नजिकैको अर्को मोन्टेस्वरी मा राखेँ । छोरालाई त्यहाँ छोडेर म आफ्नो स्कुल तिर जान्थेँ । छुटने बेलामा ऊ रोएको देख्दा आज पनि रुन मन लाग्छ । मन चसक्क हुन्छ । त्यसबेला कस्तो हुन्थ्यो त्यो मनैलाई थाहा छ ।
कामको जिम्मेवारीले गर्दा त्यस बेला मन दुखाएर बस्न पनि पाइँदैन थियो । काम गर्दा गर्दै अरूका छोराछोरीलाई सिकाउँदा सिकाउँदै आफ्नो छोरो बिर्सिन्थेँ सायद । छुट्टी भएपछि फेरि सँगै घर आयो । बेला बेला उसलाई माया दिन नसकेको पीडा लाग्थ्यो ।
आमाको माया आधा पनि नपाई ऊ बढ्दै गयो । आफ्नै स्कुलमा पढ्ने भएपछि अलि सजिलो भयो । सँगै स्कुल गयो, घर पनि सँगै फर्कियो । योबिचमा त मैले आमा बन्नै बिर्से कि जस्तो लाग्छ ।
शिक्षकको भूमिका निभाउँदा निभाउदै छोराप्रति आमाको भूमिकामा न्याय गरिन कि जस्तो अनुभुति हुन्छ आजभोलि । आफुले पढाउने थुप्रै विधार्थीको आमा बन्ने कोसिसमा आफ्नै छोराप्रति चाहिँ अन्याय भयो कि भन्ने लागिरहन्छ ।
थुप्रै वर्ष अध्यापनमा बिताएँ । बिस्तारै स्वास्थ्यमा समस्या देखिन थालेपछि आरामको लागि घरै बस्ने निर्णयमा पुगेँ । मध्यम वर्गीय परिवार । त्यसमाथि पनि सधै आफ्नो खुट्टामा उभिएकीले कहिले पनि अरूसँग हात थाप्नु परेको थिएन । निर्णय लिन गाह्रो नै थियो । तर लिएँ । स्वास्थ्य नै ठुलो धन हो भन्ने ठानेँ ।
मैले स्कुलबाट विदा लिने निर्णय लिएलगत्तै देशमा लकडाउन भयो । सबै कुरा ठप्प भयो । मैले पनि चाहेको जस्तै आराम पाएँ । जागिर छोडे पनि फेरि छोरा र म चौबीसै घन्टा सँगै भयौँ । लाग्यो यो समय मलाई ऊ दुई वर्षको नहुँदासम्म चाहिएको थियो तर के गर्नु र ?
लकडाउनभरि आमाछोरा सँगै बस्यौँ । फेरि उसको स्कुल भौतिक रूपले खुल्यो । स्कुल नयाँ भएकाले उसले पनि सङ्कोच मानिरहेको थियो । कक्षा ५ मा पढ्ने ११ वर्षको छोरालाई स्कुल पठाउँदा फेरि मेरो मन रोयो । पुरै घर नै सुनसान लाग्यो मलाई । योभन्दा अघि मैले यस्तो अनुभुति गरेकै थिइनँ । सधैँ आफ्नै जिम्मेवारीको बोझले थिचिएकी थिएँ। टिचिङ, प्लानिङ, कापी चेकिङ, क्वेसन मेकिङ, ट्रेनिङ आदिले म सधैंँव्यस्त हुन्थे । प्ले ग्रुरूप को छोरालाई स्कुल पठाउँदा अरूका छोराछोरी पढाउने बहानामा समालिएको मन ऊ कक्षा ५ मा पुग्दा रोयो ।
ऊ जान नपाउँदै उसको आगमनको प्रतीक्षा मा बसेँ म । घडी हेर्दै निकै पटक गेटमा पो पुग्थेँ । यो त शायद सबै गृहिणी को भोगाइ हो । मैले यो सब धेरै ढिलो मात्र भोग्न पाएँ । मैले त खाली एउटा शिक्षक भएर मात्र पो सोचेकी रहेछु बालबालिकासँगको सम्बन्धलाई । आमा भएर कहाँ सोचेकी रहेछु र ?
राम्रो पढ्नु र होमवर्क गर्नु मात्र कहाँ जीवन हो र ! जीवन त कति बृहत् छ । गर्नु पर्ने कति धेरै काम छन् । आमाबाबुले छोराछोरीको अनुभव मात्र सुनिदिए पनि उनीहरू कत्ति खुसी हुँदा रहेछन् । छोराछोरीको मायाले आफू पनि कति खुसी भइँदो रहेछ ।
मान्छेहरूको सोच समय परिस्थिति र भोगाइसँगै परिवर्तन हुँदै जान्छ शायद । जुन कुरा पहिले उच्च प्राथमिकतामा पर्थे आजकल पर्दैनन् । ठुला ठुला सपना देख्ने यी आँखाहरू आजभोलि ससाना कुरामा खुसी खोज्छन् । भनिन्छ नि सफलता को लागि व्यक्तिगत र पेसागत जीवनमा सन्तुलन ल्याउनुपर्छ । तर अहिले सम्झँदा भ्रम रहेछ जस्तै लाग्छ । के कुरालाई सफल मान्ने ? यो त व्यक्ति पिच्छे फरक पर्ने परिभाषा पो रहेछ त ।
आज मैले आफै बनाएका सफलताका कतिपय मापदण्ड आफैलाई सही लाग्दैनन् । अहिले म आफू र आफ्नो पेसा भन्दा सन्तान ठुलो देखिरहेकी छु । आफ्ना छोराछोरीलाई सही बाटो देखाउन सक्ने गृहिणी पनि ठूलो पदमा कार्यरत महिला जत्तिकै सफल छन् जस्तो लाग्छ मलाई ।