चन्द्रदीप लामिछानेको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी चिन्तनशील निबन्ध सिर्जना गर्न रुचाउँछन् भने विभिन्न समसामयिक विषयवस्तुमा लेखहरू लेख्ने गर्छन् । प्रस्तुत शृङ्खलामा उनको विदेशी मित्रलाई सम्बोधन गरेर नयाँ वर्षका बारेमा लेखिएको निबन्ध समेटिएको छ । यस रचनाले नेपाली र युरोपेली एवम् अमेरिकाली सभ्यतालाई जोड्ने प्रयास गरेको छ ।-सम्पा. |
डियर पिटर,
सधैँझैँ यसपाली पनि आउँदै गरेको नयाँवर्षको शुभकामना तिमीलाई कसरी दिऊँ भन्ने सोचिरहेको छु ।
दुई सालअगाडि सम्म तिमी र म बिच जुहारी नै चल्थ्यो– तिम्रो समुन्द्रको सुन्दरता अधिक कि मेरो सगरमाथाको सुन्दरता अधिक । तर हामीहरूले आ–आफ्नो पक्षमा दलिल पेश गर्ने कोसिस गरिरहे पनि तिमी हाम्रो हिमालदेखि जति लालायित हुन्थ्यौ म पनि त्यो शान्त– बिराट समुन्द्र देखेर उत्तिकै प्रफुल्लित हुन्थेँ । यो पृथ्बीको सौभाग्य आखिर तिमी र म दुबैलाई प्राप्त थियो । हामी आफैमा एक–अर्कामा अमोल थियौँ । अनमोल थियौ ।
डियर पीटर, हामीलाई भूगोलभित्र बिभाजन प्रकृतिले कदापि गरेको थिएन । बरु महत्वकाङ्क्षी शासकहरूको जीतहारको होडबाजी थीयो त्यो । उनीहरूले हामीलाई बिभाजित गरिदिए । त्यति मात्र काहाँ होर प्रकृतिमाथिको दोहनको आधारमा तिमी अब्बल र म निर्बल भनेर होच्याउने संस्कारको बिकास पनि गरिदिए उनिहरूले ।
प्रिय मित्र, मलाई थाहा छ तिमी केहि फरक छौ र त यो मित्रता पनि कायम छ ।
सोच्छु तिम्रा हाम्रा आकाशहरू किन यति बिघ्न धमीलिरहेका होलान् ? सोच्छु, हाम्रा वनजङ्गल, खानी, हरियाली, ढुङ्गा, माटो, बायुमण्डल तथा नदीमाथि किन यति धेरै हस्तक्षेप भइरहेको होला ? के यिनीहरूको बारेमा तिमी र मैले बर्षौंदेखि चिन्ता ब्यक्त गरेको हैन र ?
तिम्रो देशले लेखेको साहित्यमा म गरिब थिएँ । किनकि मेरो भौतिक बिज्ञान निम्सरो थीयो । तिमी सम्पन्न र बिकसित थियौ किनकि तिम्रो भौतिक बिज्ञान बिकसित थियो । तर पनि चिन्ता र चासो हामी दुबैले बराबरी नै गरिरहेका थियौँ।
बिकास पनि बिचित्र छ मित्र । क्वान्टम थ्योरीको बिकास मात्र बिकास हो भन्ने त्यही भौतिकवाद यदाकदा वाताबरण बिनाशको कुरा गरेर हामीलाई रल्लाइदिन पनि खोज्थ्यो कहिलेकाहीँ । तर यसको विपरित तिमी र मैले त्यसको बिरोधमा पटकपटक बहश गरेका छौँ । हामी स्टेफन हकिङस् लाई सधैँ मिस गरिरहेका हुन्थ्यौँ । मानव अस्तित्वलाई नै सखाप पार्ने काममा किन यस्तो होडबाजी हो यिनीहरूको भनेर ।
चिन्ता ब्यक्त नगरेको कहाँ होर । भत्काउने मात्र धेरै काम हुने मेरो देशको वाताबरण प्रदूषणको कुरूप रूप काठमाडौँमा प्रदूषणले छोपिएका हिमालहरू नदेख्दा विरक्तिएर अघिल्लो नयाँबर्षमा मैले तिमीसमक्ष पीडा पोखेको थिएँ । हामी प्रकृतिलाई पूजा गर्नुपर्छ भन्ने संकारका मान्छे हौँ तर अनगिन्ती अत्याचारहरू गरियो प्रकृतिमाथि ।
हो मित्र, पृथ्बीभित्र देखापर्ने बिभिन्न क्षेत्रको इको सिस्टमलाई नै बिगारियो । आखिर यो साल त हामी काठमाडौँवासीहरूले वातावरण प्रदूषणको भयानक रूप नै देख्नु पर्यो । अहिले सरकारले घरबाट ननिस्कने उर्दी जारी गरेको गरै छ । तिन दिन त हामीलाई बिदा नै दियो । आकास डम्म देखिन्छ । बाक्लो तुवाँलोले हिमालहरू ढाकिएर नदेखेको महिनौ भइसक्यो । सायदः यस्तो काठमाडौँमा कहिल्यै भएको थिएन ।
प्यारो मित्र, भूमिका अलि बढि भयो कि । क्षमाप्रार्थी छु । अहिलेको भाइरस सङ्क्रमणको कारण पनि यस्तै अप्राकृतिक गतिबिधि हुन् कि भन्ने तिम्रो र हाम्रो अनुमान पनि हो । बिश्व पनि सायद यस्तै भन्न खोज्दैछ अहिले । एउटा भाइरसको बिदाई गर्न भर्खरै खोप लगाउन थालेका मात्रै थियौँ अर्को नयाँ नयाँ भाइरसको आतङ्क सुरु भइसकेको छ ।
प्रिय पिटर, तिम्रो देशमा लाखौँ मानिसलाई यो भाइरसले निलिसकेको छ । तिमी रोइरहेको एक बर्षभन्दा बढि भइसक्यो । हाम्रोमा पनि हजारौँले ज्यान गुमाइसकेका छन् । म आफै पनि सङ्क्रमित भएर नौ दिन अस्पताल बस्नु पर्यो । कयौँ दिन सास फेर्न नसकेर अक्सिजन लिनु पनि पर्यो । मुस्किलले निको भएर घर फर्केको छु । घरमा पनि आकास र वायुमण्डलको अर्को आतङ्क जारी नै छ।
अलिकति मत्थर भइसकेको यो भाईरस पनि फेरि अहिले अर्कै नाममा टाउको उठाउन थालेको छ । साँच्चै यसले त हाम्रो सर्बनास गरेरे छाड्छ कि क्या हो पिटर ?
मैले केही दिन अगाडि फोन गर्दा तिमीले फोन उठाएनौ । कहिलेकाही छुटफुट यस्तो हुदा तिमी हतारिएर रिप्लाई गरेको म मज्जाले बुझ्थेँ । तिमी पीडामा छौ तर तिमी कम्तीमा यत्तिमा भने ढुक्क पनि छौ ः प्रकृतिमाथि ठूलाठूला अपराधहरू गरे पनि तिम्रो देश तिमीलाई बचाउन कुनै कसर बाँकी नराखेर लागिपरिरहेको छ । म यहाँबाट त्यो देखिरहेको छु तर पनि समस्या यति ठुलो भइदियो कि तिम्रो देश पनि सफल हुन सकिरहेको छैन तर म ढुक्क छु तिमी अनुशासनमा बस्ने मान्छे हौ । यो भाइरसले तिमीलाई भेटे पनि तिमी यसलाई पराजित गर्न सफल हुने नै छौ । तर पिटर, हाम्रो जिन्दगी त अब सधैँ यस्तै कारणहरूले गर्दा खुकुरीको धारमै रहेको जस्तो हुने भो हैन र ? खै त विज्ञान ? गर्न त खोज्छ तर समाधान त धेरै–धेरै पर क्षितिज जस्तो पो लाग्न थाल्यो त मलाई अब त । हैनर !
प्रिय मीत्र, म हेरिरहेको छु, बिश्वका हाम्रा देशहरूका फ्यूनरल हाऊसहरू अहिले कफिनका बाक्साहरू नपाएर रोइरहेका छन्। एकातिर आफन्त गुमाऊनुको पीडा– अर्कोतिर भाईरसले सङ्क्रमित बनाएका लाशहरू व्यबस्थापन गर्न नसकेको डरलाग्दो अबस्था र लाचारीपन। फेरि त्यसमाथि नयाँ भाइरस र संक्रमणको थप त्रास । न गाड्नु न जलाऊनु । थुईक्क बिज्ञान तेरो बिकास । मानब सङ्कटमा काम नलागेको तैँले नै भन्ने गरेको एक्काइसौँ सताब्दीको यत्रो बिकास केका लागि ? कस्का लागि ?
डियर पिटर, हामी बराबरी नै चिन्तित छौँ यहाँ र त्यहाँ दुबैतिर। त्यसै पनि बिश्व मानव कल्याणको कुरा गर्ने तिमी र हामीलाई तिम्रो त्रासदि र मेरो त्रासदि भन्ने नै हुँदैन । म पनि यहाँ र त्यहाँको दुबै अबस्था देखेर रोइरहेको छु । सरकारको उर्दी आउँछ – सकिन्छ घरभित्रै बस्नु । साबधानी अपनाउनु । यो गर्नू । त्यो नगर्नू । आदि । इत्यादि । बस ! त्यहीं दिनचर्या जारी छ कयौँ महिनादेखि। छिमेकमा फेरि बन्दाबन्दी सुरु भइसकेको छ । अस्पतालहरूमा अक्सिजनको हाहाकार भएको समाचार सुनिन्छ । के गरौँ म ? कहिलेकाहीँ मन बहलाउन डायरी लेख्छु। दैनिक बनिबुतो गरेर जीबन चलाऊनेहरू धेरै भएको मेरो देशमा भोकमरीको अर्को डरलाग्दो संकेत पनि देखिन थालेको छ । हाम्रो बिडम्बना थप र अलि फरक पनि छ तर पनि म कालो बादलमा चाँदीको घेरा देख्ने प्रयास भने गरिरहेको छु यद्यपि त्यो घेरो कहिले देखा पर्छ पत्तो छैन । त्रासकै बिच हामी नयाँ वर्ष पर्व मान्दै छौँ । त्रासकै बिच पनि तिमीलाई नयाँ वर्षको शुभकामना ल । नयाँ वर्षमा तिम्रो केश पनि नझरोस् । ठेस पनि नलागोस् ।