आत्माराम खरेल स्वदेश विदेशका बहुुमुखी अनुभव बोकेका स्रष्टा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी पछिल्लो समय साहित्यका अन्य विधाका साथै निबन्ध विधामा सक्रिय प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनको किन खुल्छ यो कलम शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले खरेलको आफ्नै साहित्य क्षेत्रमा समर्पित आत्मकथ्यलाई समेटेको छ । आत्मपरक शैलीमा संरचित यस निबन्धले लेखनको महत्वलाई उजागर गरेको छ ।-सम्पा. |
लेखन भनेको आफ्नो मनोभाव र चिन्तनप्रति केलाइकुलाई गर्नु हो । त्यसमा कत्तिको वैज्ञानिकता छ भनेर निफननाफन गर्नु पनि हो । यसरी पहिले आफूलाई पाठकमा ढाल्नु र पछि मनलाई समाजसित साट्नु हो । यो त आफ्नो इच्छा र रहर पनि हो । र, यो एक सुदूर भविष्यसम्म आफ्नो समयलाई सुरक्षित राखिरहने माध्यम पनि हो । मेरो लेखनयात्रा भने महिनौँ, वर्षौँ र जुगौँ बित्दै जाँदा पनि थन्किएको थन्कियै भए । तर, जस्तै अप्ठ्यारा परिस्थितिमा पनि मैले कलम, कम्प्युटर वा टाइपराइटर खोल्न चाहिरहें । कारण सिर्जनहीन जीवन बाँच्न साह्रै असहज हुँदोरहेछ । र, एकदिन मनोआदेश पाएँ– ‘अब जे–जति समय छ त्यसको भरपुर सदुपयोग गर । उन्मुक्त भइ आफूलाई लेखनपठनमा ढाल’ ।
मैले त्यसै गरेँ । लेखन–पठनलाई जीवन र जगत्बारे जान्ने, बुझ्ने र चिन्तनको स्रोत बनाएँ । अब त दशक नै भयो– लेखनलाई साथी बनाएको; यसैलाई जीवन लौरो बनाएको । कारण लेखन–प्रशवले गहिरो पीडा दिँदोरहेछ । ‘लेखूँ–लेखूँ’को भावले मन छटपटाउँदोरहेछ । अनुभूत भयो– ती पीडा र छटपटी त ‘केही गरौँ’ भन्ने उकुसमुकुस पो रहेछ । यो त आफैलाई मापन गर्ने नशा हो । लेखन–नशा भन्नु त आफूले आफैलाई छामिहेर्ने ‘राइटिङ–स्टेथस्कोप’ पनि हो । अध्ययन जति गर्दै गयो उति देखिँदोरहेछ– नयाँ–नयाँ विम्ब पनि । त्यसको एक छेउमा थपिनेरहेछ– आफ्नै पृष्ठभूमिमा आफ्नै लेखनशैली पनि । र त, यिनै गतिविधिमाझ हुँदोरहेछ आफ्नै भाषाको निर्माण पनि । यिनै नशा नै मेरो लेखन ऊर्जा हो । अब मेरो बाँकी जिन्दगी भन्नु औँला र मस्तिष्क चलेसम्म शब्द कोर्नु हो । कहिल्यै निवृत्त हुनु नपर्ने साहित्यिक कर्म भन्नु मेरा निम्ति वैतनिक र अवैतनिकबीचको दोसाँधमा हिँडिरहनु पनि हो ।
एकदिन यो मस्तिष्कले थपथपाउँदै भनेथ्यो– ‘तिमी घरिघरि तलाउझैँ जमिरहनु हुँदैन; बरु नदीझैँ सलल बगिरहनुपर्छ; सुसाइरहनुपर्छ ।’ अर्कोदिन त यसले कानेखुसी नै गरेथ्यो– ‘आत्माराम ! लेखनमा हुने अग्रसारिताले आफ्ना अनुभूतिलाई लिपिबद्ध गराउँछ । छटपटीएको मनलाई शान्त बनाउँछ । साधना गर्दा– लेखन खारिँदै जान्छ । र, लेखन प्यास पनि मेटिँदै जान्छ ।’
त्यसपछिका दिनमा त जीवन र जगत्का चित्रण गर्ने सबेैभन्दा सशक्त माध्यम बनिदियो– लेखन । यसैमा भेटेँ विविध उतारचढाव– आफ्नै भोगाइमा पनि । विविध रस र रङ भेटिँददो रहेछ– आफ्नै लेखाइमा पनि । यही परिवेश नै बनिदियो– मेरो लेखन–दुनियाँ पनि । जब कलम सर्दै जान्छ– यो मनले स्मृति भण्डारमा छामछामछुमछुम गर्छ । भावहरू लिपिवद्ध गर्न थाल्दा– मेरो ‘म’समेत छाम्ने गर्छ । अनि त दुःख मेटिन थाल्छन् । निराशा पनि गायब हुन्छन् । मुटुभरि पलाउँछन्– नयाँ हिम्मत पनि । अधरभरि छरिन्छन्– मुस्कान पनि । र, आफूसामु आउँछन्– दुईटा इच्छा पनि । पहिलो– सुषुप्तावस्थामा रहेका भावहरूको अभिव्यक्ति । दोस्रो– सुखद मृत्यु । र त, पछिल्ला केही वर्षयता कलमको बिर्को हरदम खोलिरहनुको कारण भइरहेछ– सिर्जनालाई आफ्नो मूल कर्तव्य ठान्नु पनि ।
म चाहन्थेँ– हर दिन स्वतन्त्र हुन; आफ्नै पारामा लेख्न; न कि कसैको दवाबमा खुम्चिन । मानवीय स्वभाव हो– येनकेन प्रकारेण स्वतन्त्र हुन चाहनु । त्यसमाथि कलमीय चाहना हो– दमित–अमितलगायत विविध प्रसंगबारे अभिव्यक्तिनु । र त, मेरो कलम हरदम खुलिरहन्छ । ‘आफ्ना भावलाई लिपिबद्ध गर’ भनि यो मनले घरिघरि घच्घच्याइरहन्छ; ‘पुस्तक घेरै पढ्नु, एकदमै पढ्नु’ भनिरहन्छ; र, साहित्यको यिनै परिवेशले आफू स्वतन्त्र भएको महसुस पनि भइरहन्छ ।
‘आत्माराम ! हेर त, निरन्तरको यो वर्षायाम– शरीर जोगाउनु पर्छ । मन डो¥याउनु पर्छ । कलम समाऊ । लेखन बढाऊ । सुख–दुःखका पोका–पन्तरा फुकाउ । उकाली ओह्रालीका कथा लिपिवद्ध बनाउ । तिमीले वर्षाउनु पर्छ– आफ्ना भावना, विचार र संस्मरण । आख्यान र गैह्रआख्यान पनि । सुनिराछौ ! स्मृति–पोयो फुकाउँदा, थाहा पाउँछौ– ती दिन कत्ति पीडादायी थिए । नयन कति अश्रुपूर्ण थिए । तर, ती सारा पीडा, भोगाइ र असन्तुष्टिले क्रमशः लिपिवद्ध भइ निकास पाउँदाको क्षण कत्ति सुखदायी भए । कुण्ठा र पीडा–लेखन भन्नु समय र समाजसँगको संवाद हो; सामाजिक अनुवाद पनि हो । एकातिर लेखन–पठनको नशा लाग्दै जाँदा यदाकदा अनियन्त्रित जस्तो पनि भइन्छ । अर्कातिर आफ्ना सिर्जनाभित्र आफै पात्र हुँदाको खुसीमा त्यसै–त्यसै रमाइन्छ ।’
फरर्र्र पल्टिँदै रहेका मेरा स्मृतिपृष्ठहरू एकाएक टक्क अडिन्थे– ‘लेखन–पठनविहीन मेरो जीवन कति बदलियो ? व्यावसायिक जीवनलाई पूर्णविराम लगाउँदा कसो होला ? अवकाशमय जीवनलाई साहित्यमय बनाउँदा कसो होला ? त्यो फेरिएको जीवन, जीवन जस्तो होला–नहोला ?’ लगायतका प्रश्नले घेरिइरहन्थे । तर, यतिबेला केही खुसी भेटिए– हिजोआज कोठाभित्र लेखन–पठनमा घोटिइरहन्छु । कोठाबाहिर साहित्यिक माहोलमा भिजिरहन्छु । सामाजिक सञ्जाल र फोनमा साहित्यिक लगायतका मित्रहरू भेटिरहन्छु । कोठाभित्र र बाहिरका यी परिवेशमा आफूलाई सन्तोषी सदा खुसीका रूपमा पाइरहन्छु ।
जति सङ्घर्ष गर्दै गएँ जीवनयात्राका नयँ–नयाँ पथहरू देख्दै गएँ । जति दुःख भोग्दै गएँ जीवनका नयाँ–नयाँ रङहरू बुझ्दै गएँ । र, मनको अन्तस्करणमा जमेका पीडा र आघातलाई पखाल्न चाहेँ । कलम खुल्ने क्रमले निरन्तरता पाउँदै जाँदा मेरो दीर्घनिद्रा क्रमशः टाढिँदै गए । आँखा पनि छ्याङ्ङ हुँदै गए । र, म पनि मनैदेखि ब्युँतिएँ । अब त मेरो लेखन मेरो कर्म बनिरहेछ । यतिबेला मेरा हर शब्द र वाक्य–लेखनले सङ्घर्ष गरिरहेछन् । र त, म ब्युँझीरहँदा यो कलम पनि खुलिरहन्छ । जब यो कलम खुल्छ मेरो मन र मस्तिष्क पनि खुल्छ । र, म निदाइरहँदा कलम पनि निदाइरहन्छ । तर एउटा कुरो– यो कलम कम्ताको छ र ….! यसले मलाई कहिले रुवाउँछ, कहिले धुलाउँछ, कहिले फकाउँछ । जब म फक्किन्छु तव यसले रमाइ–रमाइ शब्दहरू ओकल्छ । अनि त यसले मेरो मन र मस्तिष्कलाई पनि हल्का बनाउँछ ।
म जतिपटक कलम समाउँछु उतिपटक रोमाञ्चित हुन्छु । लेखन नशामा रमाउने गर्छु । अभिव्यक्तिका लागि मसित तर्क र विचार छन् । अनि कल्पना र सपना छन् । म तिनैको लागि लेख्ने गर्छु जो मेरो रचना पर्खिरहेका हुन्छन् । र, उनीहरू नै मेरो प्राथमिकतामा हुन्छन् । मेरो लेखनको मूल मर्म हो– बहुजन हिताय, सर्वजन सुखाय ।
सिर्जना भन्नु सिप र बुद्धिको सम्मिश्रण हो । तर, म न बौद्धिक हुँ न अलौकिक । म त्यस्तै हुँ– जस्तो म छु । र त, ‘के र कसरी लेख्ने ?’मा कलम पनि यदाकदा अलमलिँदो रहेछ । अनि त उत्साहले मात्र नपुग्दोरहेछ; अध्ययनमा निरन्तरता र लेखनमा लगावको खाँचो बोध हुँदोरहेछ । साधनाको निरन्तरता नै उपयुक्त सूत्र रहेछ । लेखन–सुखमा दुःख लुक्दोरहेछ । लेखन–दुःखमा सुख छिप्दोरहेछ । यसर्थ पनि म लेख्ने गर्छु– लेखनमा आइलागेका दुःख व्यहोर्न । र, सोही क्रममा हातलागि हुने केही सुख पनि सोहोर्न । लेखन भन्नु दुःख–सुख पोखनको माध्यम हो । पाठक प्रतिक्रिया पनि लेखन–सुखकै पाटो हो । र, यो एउटा चुनौती पनि हो । चुनौती दिनु वादीको प्रकृति; यसलाई झेल्नु प्रतिवादीको दायित्व; ‘कारण बताइदेऊ’ भन्नु समीक्षकको कर्तव्य; ‘कारण सुनिदेउ’ भन्नु लेखकीय दायित्व । सायद चुनौती दिने र झेल्नेबीच मेरो लेखन शब्द उम्रिरहनेछ । तिनै शब्द–शब्दमा मेरो सुख–दुःख गाँसिइरहनेछ । समस्याका विविधता र तिनका समाधानसूत्रको खोजी पनि भइरहनेछ । मनका यी र यस्तै प्रसंगहरू लिपिबद्धपश्चात हुने सन्तुष्टि बोध नै मेरो लेखन–सुख बनिरहनेछ ।
कलम समाउनु अभिव्यक्तिने अभियान हो । चिन्तन गरिरहन्छु; कलम चलाइरहन्छु; यो आफैसित गरिएको सामाजिक प्रतिबद्धता हो । यो मेरो सामाजिक कर्म पनि हो । ‘सामाजिक प्रतिक्रिया आउला–नआउला ? आए कस्तो आउला ?’ त्यसमा कहिल्यै हतारिन्नँ । ‘समालोचकको भनाई कस्तो होला ?’ त्यसमा कहिल्यै आँत्तिन्नँ । किनकि पाठकलाई केही ‘खुराक प्राप्ती’ महशुष हुँदा मलाई लेखनसुखबोध हुन्छ । ‘यसो गरे थप राम्रो हुनेछ’ भनि समालोचकले सुझाइदिँदा मलाई गुरुमन्त्र बोध हुन्छ । यी र यस्तै सुझाई नै मेरो लेखन परिष्कृतीको आधार बन्छ ।
जताततै घरघरको कहानी छ । मेरै जीवनमा पनि पलपलको कहानी छ । त्यसमा आफ्नै मर्म र सत्यता छ जुन अरूभन्दा भिन्न छ । त्यसैले त म आफ्नो विश्वासको ज्योति लिएर अँध्यारोमा पनि हिँड्छु … हिँडिरहन्छु … निरन्तर हिँडिरहन्छु । पछिल्ला केही समययता त लेखनबाहेक केही सोच्नै सक्दिनँ । लेखनविनाको दैनिकी त गुजार्नै चाहन्नँ । सबैका निम्ति पहिलो र दोस्रो कुरो हो– हावा र पानीविना बाँच्नै सकिन्न । अरूका निम्ति तेस्रो कुरो के हो थाहा पाउँदिन । तर, मेरा निम्ति– अब त म नलेखी बाँच्नै सक्दिनँ । निश्चय पनि यदाकदा लेखन–विषयले मलाई चिमोटेको हुन्छ; घोचेको हुन्छ र थिलथिलाएको पनि हुन्छ ! लेख्न बसेपछि अनुभवका अनेक तरङ्ग उठ्छन्; जीवनयात्रामा आउने घटना–परिघटना र भोगाइले अनेक भाव उत्पन्न हुन्छन्; ती अभिव्यक्त हुन्छन् । र, यसपछि प्राप्त हुने सुखानुभूति म छुटाउनै चाहन्नँ ।
उहिले, कतै हिँडिरहँदा कतिपय स्वप्निल छायालाई प्रेम गरेँ । जस्तो सिने अभिनेता बन्ने, चित्रकार बन्ने, नाट्यकार बन्ने, गायककार बन्ने आदि । तिनलाई खूबै पछ्याएर पनि हिँडें । तर, आइलागेका एकपछि अर्का घुम्तीले साथ दिएनन् । सायद आफ्ना सिर्जना नै ती सपनाका क्षतिपूर्ति भएर आए । त्यसमाथि यो मनले सानो स्वरमा भन्छ– ‘हर लेखन लेखिरहँदा हिजोमा पनि फर्किन पाउनु; यो मेरो दोहोरो जीवन हो । र, भोलीमा समेत पुग्न पाउनु; यो मेरो तेहोरो जीवन हो । र त, त्यो विगत र आगतमा समेत बाँच्न पाइने यो लेखन कति रमाइलो छ । कति सजीव छ । यो एउटा लेखन–बोनस झैं छ ।
सिर्जनाका यति रमाइला परिवेश हुँदाहुँदै पनि यदाकदा लाग्दोरहेछ– म आफ्नो ‘मन’ले भन्दा पनि आफ्नै ‘लेखन’ले बढी शासित हुँदै आइरहेछु । तैपनि म हरदम कलम समाइरहन्छु; कलमको बिर्को खोलिहरन्छु र लेखिरहन्छु … निरन्तर लेखिरहन्छु ! किनकि म हर रोज लेखनमै रमाइरहन्छु ।
-atma55ram@gmail.com