डम्बर घिमिरे नेपाली हास्यव्यङ्ग्य र कविता विधाका विशिष्ट प्रतिभा हुन् । उनले कविता काव्य र महाकाव्यसम्म प्रकाशन गरेकाछन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ सारभूत परिचयसहित उनका गुरु बालकृष्ण पोखरेलसँगको संस्मरणलाई समेटिएको छ । यो संस्मरणात्मक निबन्ध हो । यस निबन्धले बालकृष्ण पोखरेलका स्वभाव आनिवानी र कृतित्वका पक्षलाई उजागर गरेको छ । यस शृङ्खलाका सामग्रीहरूमध्ये सम्पादकीय र यस सामग्रीको अन्तसम्बन्ध पनि रहेको छ ।
-सम्पा.
|
सप्त गण्डकीको प्रवाहझैँ सबै विषयमा कलम चल्ने गुरु बालकृष्ण पोखरेलको विषयमा म लेख्न बसेको छु । के लेखूँ, कताबाट लेखूँ, कसरी लेखूँ, कुन विषयमा लेखूँ अथाह ज्ञान, अथाह बुद्धि, सीप कला भएका व्यक्तिको विषयमा कुन छेउबाट थालेर कुन कुनामा लगेर टुङ्ग्याउने भन्ने अन्योल हुँदो रहेछ ।
बलकृष्ण पोखरेलमा भाषा, ज्ञान र भाषाविज्ञान अथाह थियो । नेपाली विद्वानहरू, स्रष्टा साहित्यकारहरू महान् लेखकहरू नै बालकृष्ण पोखरेलले लेख्नुभएको खस जातिको इतिहास बुझ्दैन थिए । तीनपल्ट पढिसक्दा अलि–अलि छायाजस्तो भान भएको थियो भन्ने विद्वानहरू मैले भेटेको छु । त्यसभित्र नेपालीको मूलथलो, नेपालीको बनौट, नेपालीको छाला–गाला नेपालीपन, शील स्वभाव, सभ्यता, कला किन र कसरी कहाँबाट आयो भन्ने कुराको खोजीमेली अन्वेषण गरिएको एक पहिचानको पुस्तक हो भन्ने बुझेँ ।
गुरु बालकृष्ण पोखरेलको कलम गद्य र पद्य दुवै शैलीमा चल्ने गथ्र्यो । गद्यमा शब्दकोश खस जातिको इतिहास निबन्ध, कथा, उपन्यास, समालोचना, लेख आदि पर्दछन् भने पद्यतर्फ काव्य, खण्डकाव्यहरू पर्दछन् । त्यसो त महाकाव्यहरू उहाँले नलेखेको हैन । दुइटा अधुरा महाकाव्यहरू लेखेर छोडिदिनुभएको भन्ने कुरा आफै मसित भन्नुहुन्थ्यो । एउटा पूर्ण रूपारानी महाकाव्य मोटै कापी चार पाँच थान वा छ थान जति कापीको एकापट्टि लेखिएका एकै ठाँउ पारी बोकी बोकी हिँड्नुहुन्थ्यो । नेपाली पाठक र नेपाली साहित्य स्रष्टाहरूले पनि पढ्न साह्रै आतुरता देखाएका हुन् । तर कुन व्यवधानले हो त्यो रूपारानी महाकाव्य कृति प्रकाशन हुन सकेन । कुन व्यवधान पर्यो, बुझ्न सकिएन । भाषाका विशिष्ट ज्ञाताले रचना गर्नुभएको महाकाव्य एक छुट्टै प्रकृतिको मन मस्तिस्कमा थियो होला । उहाँकै सुपुत्र शाही मुनालज्यूले पिताजीको श्राद्धमा त्यो महाकाव्य छपाई विमोचन गर्नुपर्छ । धेरैको मनोभावना यही नै हो । त्यसो भयो भने उहाँबाट रचित एक महान् ग्रन्थ महाकाव्य नेपाली साहित्य भण्डारमा सुशोभित हुनेछ । पाठकहरूको मनोकाङ्क्षा पूर्ण हुनेछ । स्रष्टाहरूको पढ्ने धोको समाप्त हुनेछ । नेपाली साहित्य संसार साहित्य भण्डार र साहित्यकर्मीहरूका लागि एउटा प्राप्ति हुनेछ ।
अर्को प्रसङ्ग गुरु बालकृष्ण पोखरेल आफ्नी जेठी छोरीको घर सिक्किम भारत जानुभएको बेला त्यहीँ लकुवा (प्यारालाइसिस) भएर सिलिगुडीमा केही दिन राखी अनि काठमाडौँको थापाथली नर्भिक अस्पतालमा ल्याएको कुरा थाहा पाई हेर्न जाँदा मान्छे चिन्ने तर बोली लट्याङ्ग्रो भएको अवस्थामा भेटेँ । सुर, चेत पनि अलि विथोलिएको अवस्था थियो । म गएँ, मान्छे चिन्नुभयो र मेरो दायाँ हातको हत्केलाको पछाडिपट्टि चुसेको चुसेकै गर्नुभयो । त्यो मान्छे को हो त भन्दा छोरीलाई भन्नुभयो लट्पट्टिएको स्वरमा– डम्बर घिमिरे । पुनः अर्कोपल्ट पनि गएँ । हात गोडाको सुधार र बोलीमा जिभ्राको सुधार भएको थिएन । पछि मैले सुनेँ, बिराटनगर लगिसकेको भन्ने ।
केही दिनपछि एकाबिहानै फोन आयो– स्रष्टा हरि बरालज्यूबाट लु ! गुरु बालकृष्ण पोखरेल त जानुभयो ।
मैले भनँ– हरि जी, नेपाली धर्तीको विद्वत् शिरोमणि जानुभयो, भाषाका ज्ञाता जानुभयो, अनुसन्धाता जानुभयो । काठमाडौँमा त धेरै स्रष्टा टाउकेहरू थिए तर मोफसलमा एउटै टाउके उहाँ हुनुहुन्थ्यो, जानुभयो । मोरङ्ग, सुनसरी झापा धनकुटा क्षेत्रका प्रमुखअतिथि जानुभयो । विराटनगर रानु थियो, विरानु भयो । खुसी थियो उदास भयो, रसिलो थियो फोस्रो भयो । आभा र शोभा थियो, सिन्दुर पुछेसरि भयो ।
पोखरेललाई राष्ट्रका धरोहर हुन्, वाणी साधक हुन्, नेपाली वाङ्मय साधक हुन् भनेर राष्ट्रिय झन्डा ओढाइयो । सेनाको टुकडीद्वारा सलामी दिनचाहिँ भुलाइयो । तै पनि प्रदेशका सामाजिक विकास मन्त्रीका हातबाट राष्ट्रिय झन्डा ओढाइनुलाई हामीले राष्ट्रिय सम्मान मान्यौँ।
अर्को प्रसङ्ग सम्झँदा – शान्ता गुरुआमा स्वर्गवास भएका दिन उहाँको लाश चतारा घाट लगे । कवि कृष्णभूषण बल र मसमेत भएर बालकृष्ण गुरुलाई उहाँकै घरमा रुँगेर बसेका थियौँ । साह्रै खिन्न र दुःखी अवस्थामा हुनुहुन्थ्यो । आफ्नी पत्नी शान्ता पोखरेललाई अति नै प्यार गर्नुहुन्थ्यो । कहीँ साहित्यिक सम्मेलनमा जाँदा गुरुआमा शान्ता पोखरेललाई सोध्नुहुन्थ्यो । पत्नीलाई सोधेर स्वीकृति लिएर मात्र हिँड्नुहुन्थ्यो । बालकृष्ण पोखरेल गुरुलाई आमन्त्रण गर्न कोही आए त्यो आउने मान्छेलाई भन्नुहुन्थ्यो– गुरुआमासित पनि स्वीकृति लिनुपर्छ ।
कार्यक्रममा अतिथि लैजाँदा गुरुआमासित स्वीकृति लिनु पथ्र्यो । उहाँले खानपीन, रहनसहन, वातावरण ठिक छ भने हेरचाह पुर्याउन सक्नुहुन्छ भने हुन्छ, लानु भन्नुहुन्थ्यो । नवरङ्ग साहित्य प्रतिष्ठान, धरमपुरमा उहाँलाई प्रमुख अतिथि बनाउँदा पनि मैले त्यसै गरी लगेको थिएँ । वृद्धा अवस्थामा श्रीमतीले श्रीमान्लाई र श्रीमान्ले श्रीमतीलाई हेरचाह गर्नु उचित कुरा थियो । त्यो शिक्षा पनि उहाँको घर परिवारबाट पाइन्थ्यो ।
बालकृषण गुरु बरिष्ठ भइकन पनि सरल र सहज हुनुहुन्थ्यो । धरमपुर झापामा नवरङ्ग साहित्य प्रतिष्ठानमा जाँदा भाषणको क्रममा सी.पी मैनालीले मेरा गुरुका गुरु महान् गुरु बालकृष्ण पोखरेल भन्दा बालकृष्ण गुरु साह्रै खुसी हुनुभएको थियो । बालकृष्ण पोखरेल जवानीमा कस्तो हुनुहुन्थ्यो ? थाहा भएन । प्रौढावस्थामा उहाँबाट घरायसी, सामाजिक, व्यवहारिक कुरा र शिष्टता, मर्यादा, शालीनताका विषयमा उहाँका र घर परिवारका व्यवहारहरू शिक्षालय नै हो भन्ने भान हुन्थ्यो ।