गङ्गाप्रसाद उप्रेती (२००४ फागुन २७, तेह्रथुम, सुपुत्र: सरस्वती उप्रेती र विष्णुप्रसाद उप्रेती) नेपाली साहित्यको निबन्ध, कविता र समीक्षा विधामा सुपरिचित प्रतिभा हुन् । युवा अवस्थादेखि नै प्रगतिशील स्वभावका उप्रेतीले प्रगतिशील साहित्यसिर्जना, प्रगतिशील आन्दोलन र राजनीतिका क्षेत्रमा पनि विभिन्न साङ्गठानिक जिम्मेवारी वहन गरेका छन् । उनले लामो समयसम्म राजनीतिक बन्दीको रूपमा जेल जीवन पनि बिताए । जेलबाट नै उनले एम. ए. र बी. एलको अध्ययन पुरा गरेको पक्ष स्मरणीय छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक उप्रेती चीन अध्ययन केन्द्र, बी.पी. क्यान्सर अस्पताल आदि विभिन्न संघसंस्थामा नेतृत्व गर्दै २०६६ सालदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानको नेतृत्व गरिरहेका छन् । २०६६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनेका उप्रेती २०७१ मा र २०७५ मा दुई पटक प्रतिष्ठानको कुलपतिका रूपमा जिम्मेवारी बहन गरिरहेका छन् । उनका धेरै सिर्जनाहरू परिमल उपनामबाट पनि प्रकाशित छन् । २०२१ सालमा रूपरेखा पत्रिकामा आजलाई दुई कविता शीर्षकको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका उप्रेतीका स्मृतिका छालमा इटली (२०४४), तिब्बतमा दश दिन (२०६४), नामको खोल (२०६५), भाषा र संस्कृति (२०६५), देश देशान्तर (२०६८), स्मृतिमा फुलेका बहुरङ्गी फूलहरू (२०६९), घुम्दै फिर्दै अमेरिकामा (२०७७) जस्ता निबन्ध कृतिहरू प्रकाशित छन् । उनका दृष्टिकोणका विविध बिसाउनी (२०४६), व्यक्ति, कृति र प्रवृत्ति (२०४८) जस्ता समीक्षासङ्ग्रहहरू पनि प्रकाशित छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका वर्तमान कुलपति उप्रेतीको प्रिय विधा निबन्ध र त्यसमा पनि संस्मरणात्मक निबन्ध हो । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उप्रेतीको ‘बोस्टनमा भेटिएको नेपाल’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले बोस्टन अमेरिकमामा भएको एनआरएनएको भाषा–साहित्य सम्मेलनमा सहभागी हुन जाँदाको अनुभवलाई निकै जीवन्त रूपमा समेटेको छ ।
-सम्पा. |
यसै दशकमा नेपालीहरूले भोग्नुपरेका दुई विपत्ति र सङ्कटले प्रस्ट रूपमा नेपाल कहाँ कहाँ र कसरी रहेको छ भन्ने कुरा खोज्न धेरै नेपालीलाई जस्तै मलाई प्रेरित गर्यो। वस्तुत: नेपाल भन्नाले भूगोल र त्यो भूगोलले बचाएको माटो मात्र होइन रहेछ। भाषा, संस्कृति र सभ्यताले प्रदान गरेको साझा पहिचान र त्यही पहिचानको पृष्ठभूमिमा हुर्किएको स्वाभिमान पो वास्तविक देश अथवा राष्ट्र रहेछ। वि.सं. २०७२ (सन् २०१६) को महाभूकम्पले तहसनहस बनाएको नेपाली जीवनको गिरेको नुर र त्यसै साल आफ्नो हित अनुकूल नेपाली जनताले चुनेको संविधानसभाले बनाएको नेपालको लोकतान्त्रिक संविधानप्रति विमति जनाएर सम्पूर्ण राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता विपरीत छिमेकी देश भारतको सत्ताले लगाएको आर्थिक नाकाबन्दीले तहसनहस भएको नेपाली जनजीवनलाई उठाउन देशभित्रभन्दा देशबाहिर रहेका नेपालीहरूले दिएको ढाडस, सहयोग र एउटा ठुलो देशले आफ्नो सानो छिमेकीको अनाहकमा घाँटी अठ्याई घायल बनाएको कुरा विश्वभरि पुर्याउन आप्रवासनमा रहेका बन्धुहरूले गरेका प्रयास र त्यस्ता प्रयासले ल्याएका सार्थक परिणामहरूलाई हेरी मैले निष्कर्ष निकालेँ— हो त, नेपाल वास्तवमा नेपालभित्र भन्दा नेपालबाहिर सशक्त र बलियो भएर रहेको रहेछ। पहिचानको भ्रममा ससाना स्वार्थका जालले बेगल बेगल झुन्ड भएर कहिले कहिले, कहीँ कतै देखिने विभाजनका रेखाले विभाजित देखिए पनि आफ्नो देश, राष्ट्र र पहिचानलाई सङ्कट परेको बेला त्यस्तो सङ्कटसँग जुध्न एकजुट भएर जुरुक्क उठ्ने आप्रवासनको क्रममा विभिन्न मुलुकमा पुगेका नेपालीहरूको साझा सरोकारलाई हेरेर मैले देशभित्र रहँदा वा बाहिर जाँदा सभा समारोहमा भन्ने गरेको छु— साँच्चि नै मानसिक विभाजनका रेखाले चिराचिरा भएर आन्तरिक रूपमा जति कमजोर देखिए पनि पहिचान बचाउन एकजुट हुने मानसिकताले नेपाल देशभित्र भन्दा बाहिर सबल छ र सशक्त छ।
यस्तै निष्कर्षको पुष्टि गर्न म देशबाहिर निस्केको बेला विभिन्न देशमा पुगेका नेपाली समूहले स्थानीय समाजमा जोडेको सम्बन्ध र त्यस सम्बन्धले सृजना गरेको ताकतको आकलन गर्ने गर्दछु। यस्तै आकलन गर्ने अवसर २०१९ को सेप्टेम्बर १, २ र ३ तारिखमा मैले उत्तरपूर्वी अमेरिकामा रहेको म्यासाच्युसेट राज्यको राजधानी बोस्टनमा पाएँ। सन्दर्भ थियो— गैरआवासीय नेपालीहरूको विश्वव्यापी सञ्जाल एनआरएनए (गैर आवासीय नेपालीको अन्तर्राष्ट्रिय सङ्घ) को भाषा, साहित्य उपसमितिले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य सम्मेलन। पहिलोपल्ट आयोजना गरिएको यस्तो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रूपमा भाग लिन नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिको हैसियतमा मलाई बोलाइएको थियो भने नेपालबाट अन्य अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य (पद्य÷काव्य) विभागका प्रमुख प्रा.डा. हेमनाथ पौडेल र रेडियो नेपालमा कार्यरत कवि रमेश पौडेललाई बोलाइएको थियो। आयोजक संस्थाका अमेरिका, क्यानाडा, अफ्रिकाको नाइजेरिया, रुस लगायत विभिन्न युरोपेली मुलुकका प्रतिनिधिलगायत अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) का अमेरिकाका विभिन्न च्याप्टरको सहभागिता सो सम्मेलनमा रहेको थियो। त्यसो त आफ्नै कामले अमेरिका पुगेका हरि अधिकारी लगायतका केही साहित्यकारको पनि त्यहाँ उपस्थिति रहेको थियो। तिजको चाडको अवसरमा आयोजित यो कार्यक्रममा प्रवासिएका अमेरिकी नेपालीहरूका विभिन्न पुस्तामा रहेको नेपाली सांस्कृतिक चेत र अनुराग राम्ररी हेर्ने मौका प्राप्त भएको थियो।
नेपाललाई देशबाहिर शक्तिशाली बनाउनमा सबैभन्दा अहम् भूमिका गैरआवासीय नेपाली सङ्घको छ। कुनै जाति समूहको विकासका आधारभूत कुराहरूको प्रवद्र्धन गर्न यसले विभिन्न विधागत संरचना बनाएको छ। समूहको आर्थिक, भाषिक, सांस्कृतिक कार्य क्षमता वृद्धि जस्ता विधामा बनाइएका उपसमितिलाई क्रियाशील बनाई देश, जाति तथा राष्ट्रको समृद्धिमा सङ्गठनबारे भएका बहुविधात्मक प्रयत्नका कारणले यो सङ्गठन सबैका लागि आशलाग्दो केन्द्र बनेको छ। भाषा, साहित्य, संस्कृति र सम्पदाको प्रवद्र्ध नमा यसको बेग्लै उपसमिति छ। तत्क्षेत्रमा काम गर्ने देशभित्र र बाहिरका समान प्रकृतिका सङ्घसंस्थासँग सहकार्य गर्ने प्रचलनले यसका प्रयासहरू सार्थक भएका छन्। भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा देशबाहिर क्रियाशील रहनेमा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) तथा विभिन्न मुलुकमा खोलिएका विभिन्न भाषा तथा साहित्यसँग सम्बन्धित संस्थाको पनि उल्लेख्य भूमिका छ। यी सबैको साझा प्रयत्नले नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय जगत्मा उल्लेखनीय प्रवद्र्धन भइरहेको छ। अनेसासलगायतका यस्ता संस्थाको अस्तित्व स्वतन्त्र भए पनि कार्यगत रूपमा यी सबै संस्थाहरू एनआरएनएको भाषा, साहित्य र सम्पदा समितिलाई केन्द्रीय मियो मानी वरिपरि रहेर क्रियाशील रहेका पाइन्छन् र नै भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा नेपाल बाहिर पनि नेपालको उपस्थिति दरो बनिरहेको छ।
कोरियन विमानबाट यात्रा गर्नु केही सुविधाजनक हुने तथा बिचमा सिओलमा निकै लामो समय रोकिनुपरे पनि त्यहाँ आराम गर्न होटलको व्यवस्था भएकाले यो यात्रा निकै लामो भए पनि त्यही बाटो हामीले रोज्यौँ।
२०१९ को सेप्टेम्बर महिनाका दुई दिनमा सम्पन्न गर्ने गरी कार्यक्रम तर्जुमा गरिएको गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्यको बोस्टनमा हुने कार्यक्रममा भाग लिन नेपालबाट जाने हामी तीन जना प्रतिनिधिले दुईटा बेग्लाबेग्लै बाटो गरेर बेग्लाबेग्लै समयमा बोस्टन जानुपर्यो तापनि हामी तीनै जना एकैदिन बोस्टन पुग्ने हाम्रो यात्रा तालिका बन्यो। प्राज्ञ हेमनाथजी र कवि रमेशजीसँग मेरो एउटै बाटोबाट एउटै दिन यात्रा गर्ने अवसर प्राविधिक कारणले मिलेन। मेरो अमेरिका प्रवेश अनुमति पहिला नै पाँच वर्षका लागि प्राप्त भएकाले मलाई सो यात्रामा टिकट आदिको प्रबन्ध मिलाउन कुनै झन्झट परेन। फेरि मैले पश्चिम अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्कोस्थित जुलिया बर्गर, फेयरफिल्डमा रहेका छोरीज्वाइँको घरमा श्रीमतीलाई पुर्याएर मात्र बोस्टन आउने पारिवारिक दायित्व थपिएकाले मैले श्रीमतीसहितको हवाई टिकट कोरिया हुँदै जाने गरी काठमाडौँ सिओल–सान्फ्रान्सिस्कोको बाटो समातेँ। कोरियन विमानबाट यात्रा गर्नु केही सुविधाजनक हुने तथा बिचमा सिओलमा निकै लामो समय रोकिनुपरे पनि त्यहाँ आराम गर्न होटलको व्यवस्था भएकाले यो यात्रा निकै लामो भए पनि त्यही बाटो हामीले रोज्यौँ। भिसाको टुङ्गो अलि ढिलो भएकाले मेरा दुई साथीले काठमाडौँ–अबुधावी–आयरल्यान्ड हुँदै बोस्टन पुग्ने बाटो रोजेछन्।
मैले माथि नै भनिसकेँ, यो यात्रामा मैले एक पन्थ, दुई काज फत्ते गर्नुथियो। यसअघि म पश्चिम अमेरिका घुमेको पनि थिइनँ। त्यसैले यही यात्रामा श्रीमतीलाई छोरीज्वाइँले बसाएको नयाँ घरबार अवलोकन गर्न र उनीहरूको पारिवारिक व्यवस्थापनलाई सघाउन केही महिना क्यालिफोर्निया राज्यको सोलानो काउन्टीको जुलिया वर्गर वृत्त, फेयरफिल्डमा छोड्नु थियो भने बाँचेका चार दिनमा सान्फ्रान्सिस्को सेरोफेरो चहार्दै पश्चिम अमेरिकाबारे केही अनुभव बटुल्नु पनि थियो।
२०१९ को अगस्त २६ तारिखको अपराह्न काठमाडौँबाट उडेका हामी दम्पती सिओलमा सोह्र घन्टा ट्रान्जिटमा बसेर अरू एघार घन्टा जहाजमा उडेपछि २७ अगस्टमा बिहानै सान्फ्रान्सिस्को पुग्यौँ। नेपालको पात्रोअनुसार २६ मा उडेका हामी एक दिन कोरियाको ट्रान्जिमा बसेर २८ तारिखमा सान्फ्रान्सिस्को पुग्नेवाला थियौँ तर नेपालबाट अमेरिका यात्रा गर्दा जाँदा एक दिन त्यसै हराएर जाने र फिर्दा हराएको एक दिन थपिएर आउने कुरा यो अघिको अमेरिका यात्रामा नै थाहा पाइसकेको हुनाले यहाँ यसपल्ट आश्चर्य मान्नुपर्ने कुरा थिएन। यसरी २७ अगस्टमा सान्फ्रान्सिस्को पुगेको मलाई पश्चिम अमेरिकाको सान्फ्रान्सिस्को आसपास घुम्न र त्यहाँ रहेका आफन्तलाई भेट्न चार दिन समय थियो। अगस्ट ३१ बेलुका मैले मेरो मूल काम सम्पन्न हुने ठाउँ पूर्वोत्तर अमेरिकाको म्यासाच्युसेट राज्यको राजधानी बोस्टनका लागि उड्नु थियो। त्यसैले यी चार दिनमा थकाइ पनि मेट्दै, आसपासका ठाउँमा पनि घुम्दै मैले समयको अधिकतम सदुपयोग गर्नुथियो।
अगस्ट महिना (२०१९) का अन्तिम चार दिनमा एक दिन अर्थात् अगस्ट ३० अमेरिकी संस्कृतिमा बुबालाई सम्मान गर्ने (फादर्स डे) परेछ। संयोग नै भन्नुपर्छ– यो दिनमा म सान्फ्रान्सिस्को नै रहने कुरा थाहा पाई अमेरिकाका विभिन्न राज्यमा अध्ययनरत मेरा भतिजाभतिजी, भान्जा तथा भान्जे नातिले सान्फ्रान्सिस्को जुलिया वर्गरमा नै आएर पिता उत्सव (फादर्स डे) मनाउने योजना मिलाएका रहेछन्। कार्यक्रमका मूल संयोजक छोरी प्रतीक्षा र ज्वाइँ प्रवोध हुने नै भए। तिस अगस्टको अपराह्नसम्ममा सबै केटाकेटी भेला भए र बेलुका विशेष उत्सवका साथ पिता उत्सव मनायौँ। त्यसो त अघिल्लै दिन काकाकी छोरी सावित्रा (सरू) र ज्वाइँ प्रकाश आएर शुभकामना प्रदान गरेर फिरेका थिए। जेहोस् विभिन्न राज्यमा भए पनि केटाकेटी भेला भएर शुभकामना लिँदादिँदा एक प्रकारको स्फूर्तिकै अनुभव भयो हामीलाई।
अगस्ट २९ तारिखका दिन डी.सी. नेपाल सञ्चार माध्यमका प्रतिनिधि तथा बोस्टन सम्मेलन समेतका आयोजक रहेका सान्फ्रान्सिस्कोमा नै बस्ने पत्रकार सर्वज्ञ वाग्लेले म सान्फ्रान्सिस्को आइपुगेको पत्ता लगाई छोरी मार्फत अन्तर्वार्ताका लागि समय मिलाएका रहेछन्। उनी हामी बसेको ठाउँमा आई भलाकुसारीसहित लामो अन्तर्वार्ता लिएर गए। नेपाल प्रज्ञा–प्रतिष्ठानका गतिविधिमा केन्द्रित रहेर मेरो व्यक्तिगत जीवन र साहित्य लेखनबारे लामै अन्तर्वार्ता उनले लिए। भोलिपल्ट नै यसलाई प्रसारण गरेछन्। बोस्टनमा भेट हुँदा भन्थे– पाँच हजारभन्दा बेसी स्रोताले यो अन्तर्वार्ता सुने रे। जे भए पनि हतपतको समयमा पाँच हजारभन्दा बढी स्रोता र दर्शकबिच नेपाल प्रज्ञा–प्रतिष्ठानका गतिविधि पुर्याउँदा समयको राम्रै सदुपयोग भएको महसुस भयो।
अगस्ट ३० तारिख परिवारका सबै केटाकेटीहरू लिएर हामी नापादुन (नापा भ्याली) गयौँ। अमेरिकाको वाइन उत्पादन विश्वभरि नै प्रख्यात छ। क्यालिफोर्निया राज्यको नापादुन अमेरिकाभरि नै अङ्गुरको रक्सी (वाइन) उत्पादन गर्ने प्रख्यात ठाउँ मानिन्छ। यहाँ उत्पादन गरिने वाइनले विश्व बजारमा नै विशेष महत्त्व राख्छ। यो दिनलाई नापादुन भ्रमणमा खर्चेकोमा म आफूलाई आज गौरवको अनुभव भइरहेछ। व्यवस्थित अङ्गुर खेतीका चाक्ला मिलेका फाँट तथा हरेक फाँटमा वाइन उत्पादन गर्ने उद्योग भएको यी सुन्दर फाँट र यहाँ रहेका ऐतिहासिक किल्लाहरू त्यति बेला नघुमेको भए फेरि देख्न नपाइने रहेछ। २०२० जुनदेखि फैलिएको डढेलोमा पूर्ण रूपमा खरानी भएको यो दुनमा मस्तसँग झुलेका अङ्गुरका फाँट र तिनमा रहेका वाइन (रक्सी) उत्पादन गर्न प्रख्यात ठाउँ मानिन्छ। यहाँ उत्पादन गरिने वाइनले विश्व बजारमा नै विशेष महŒव राख्छ। यो दिनलाई नापादुन भ्रमणमा खर्चेकोमा आफूलाई गौरवको अनुभव भइरहेछ। व्यवस्थित अङ्गुर खेतीका चाक्ला मिलेका फाँट तथा हरेक फाँटमा वाइन उत्पादन गर्ने उद्योग भएको यो सुन्दर फाँट र यहाँ रहेका ऐतिहासिक किल्लाहरू त्यति बेला नघुमेको भए फेरि देख्न नपाइने रहेछ। २०२० जुनदेखि फैलिएको आगोमा पूर्ण रूपमा खरानी भएको यो दुनका अंगुरका मस्तसँग झुलेका फाँट र तिनमा रहेका वाइन (रक्सी) उत्पादन गर्ने उद्योगका उत्पादन प्रदर्शनका लागि बनाइएका व्यवस्थित घरहरू आज आएर मेरा लागि झल्झली स्मृतिमा नाच्ने दृश्य मात्र रहेछन्। क्यालिफोर्निया राज्यको गार्हस्थ उत्पादनमा महत्त्वपूर्ण हिस्सा ओगट्ने नापादुनका अंगुर फाराम र उद्योगहरूमा भीषण आगलागी भएको टेलिभिजन पर्दामा देखेर म भावविभोर भएथेँ। त्यो बेला अर्थात् २०१९ को ३० अगस्टमा नापादुनको भ्रमण नगरेको भए अमेरिकाको आर्थिक समृद्धिमा त्यो दुनले पुर्याएको योगदान मैले कहिल्यै देख्न नपाउने रहेछु।
अगस्ट ३१ बेलुकाको सात बजे अमेरिकी विमान कम्पनी जेट ब्लुको उडानमा मैले बोस्टन उड्नुपर्ने भएकाले दिउँसो सान्फ्रासिस्को मूल सहरको रमझम हेर्न हामीलाई घुमाउने कार्यक्रम छोरी ज्वाइँले बनाए। त्यस दिन बिहानै पिता उत्सवमा शुभकामना लिन आएका परिवारवृत्तका सबै सदस्यहरू आआफ्नै कार्यक्रमलाई
पच्छ्याउँदै आआफ्नो बाटो लागे। हामीले बिहान सान्फ्रासिस्कोका मूल सहरको छेउमा रहेको कास्ट्रो भ्यालीमा भाइ तुलसी उप्रेती, बुहारी पुनम, उनकी छोरी तृप्ति र ज्वाइँका परिवारसँग भेट गर्न उनीहरूका घरतिर लाग्यौँ। तुलसी भाइ आफ्नी श्रीमती पुनमलाई लिएर गम्भीर रोगको उपचारार्थ एक महिनाअघि नै सान्फ्रान्सिस्को आएका थिए। बुहारीका रोगको गम्भीरतालाई ख्याल गरेर पनि हामीले उनीहरूलाई भेट्नै पर्ने थियो। त्यसमा पनि हामी दाजुभाइ जस्तै हाम्रा छोरी र ज्वाइँहरूको मित्रताले डोर्याएर पनि हामीलाई कास्ट्रो भ्याली पुर्याएको थियो। हामी एघार बजे कास्ट्रो भ्याली पुग्यौँ। एक क्षण एकअर्काको क्षेमकुशल सोधपुछ गरी खाना खाँदावर्दा दिनको एक बज्यो।
दिउँसो एक बजेदेखि बेलुका साढे चार बजेसम्म अब हामी सान्फ्रान्सिस्को केन्द्रीय भाग घुम्न सक्थ्यौँ। त्यसैले तुलसी, ज्वाइँछोरीसँग बिदा भएर सान्फ्रान्सिस्को केन्द्रतिर लाग्यौँ। सान्सफ्रान्सिस्को सहर वरिपरिको समुद्र छिचोल्न साँघु नै साँघुको प्रयोग गर्नुपर्छ। पहिला सान्फ्रान्सिस्को विमानस्थलमा ओर्लिनुअघि आकाशबाटै देखिएको सान्फ्रान्सिस्को सहरमाथि रहेका साँघुहरूको सञ्जालले एउटा नयाँ दृश्यको अनुभूति भएको थियो। त्यसैले यी सबै साँघु चहार्ने त आजलाई हामीले समयबाट अनुमति पाउन सकेनौँ तर पनि समयको सदुपयोग गर्दै थोरै समयमा महत्त्वपूर्ण ठाउँको विहङ्गम दृष्टि पुर्याउन सकिने गरी यात्रास्थल चयन गर्न सिपालु छोरीले आजलाई दुईटा महत्त्वपूर्ण ठाउँ घुम्न सकिने उर्दी सुनाइन्। ती दुई ठाउँ थिए— त्यहाँको सामुद्रिक जीवन सङ्क्षिप्तमा देखाउने ३९ नं. को श्रेणी अर्थात् उनीहरूले भन्ने गरेको पेयर्स ३९ र सान्फ्रान्सिस्को स्थापनाकालको इतिहाससँग जोडिएको सुनौलो द्वार भएको साँघु अर्थात् गोल्डेन गेट साँघु।
गोल्डेनगेट पुलको पारिपट्टि रहेको एक रेस्टुरेन्टमा पसेर मेरा लागि ज्वाइँछोरीले चिपोटे नामको स्पेनिस खानाको एक पोका किने। उनीहरूले त्यहाँ केही खाएनन्। मैले पनि पोकाबाट केही खाना खाई अरू पोकै बोकेर विमानस्थलमा खाने विचार गरेँ। यसरी बेलुका ५:३० मा सान्फ्रान्सिस्को विमानस्थलमा पुगेर आफ्ना झिटीगुन्टा जाँच गराई विमान कम्पनीका कर्मचारीलाई जिम्मा लगाइयो।
तुलसीजीसँग छुट्टिएर हामी सान्फ्रान्सिस्को सहरको केन्द्रभित्र (डाउन टाउन) तिर लाग्यौँ। टाढाबाट हेर्दा अल्पअल्प छाया जस्तो देखिने सान्फ्रान्सिस्को डाउन टाउन कम फराकिला उकालो ओरालो चढ्ने, ओर्लने सडक र सडकका किनारमा मेट्रापोलिटन सहरहरूमा देखिने बहुतले घरहरू भएको यो सहर गाडीबाटै अवलोकन गर्नुसिवाय समयले हामीहरूलाई अरू विकल्प दिएको थिएन। त्यसैले एक घन्टा जति सहरभित्र घुमघाम गर्यौँ र समुद्रको जीवन हेर्न पेयर्स ३९ भन्ने बन्दरगाहतिर लाग्यौँ। ज्वाइँले मुस्किलले गाडी पार्क गर्न ठाउँ पत्ता लगाएर गाडी पार्क गरी आउनुभयो। सामुद्रिक जीवनका विविध पक्षको अवलोकन गर्न टिकट काटी पेयर्स ३९ परिसर प्रवेश गर्यौँ। त्यो ठाउँ सान्फ्रान्सिस्कोका वरिपरिको समुद्रको अवलोकन केन्द्र रहेछ। त्यहाँबाट धेरै पर देखिने पहिला बन्दीहरू राख्ने टापु र त्यहाँ रहेको बन्दी घर, समुद्रमाथिको सुनौलो ढोका भएको धेरै लामो साँघु, साँघुमाथिबाट देखिने सान्फ्रान्सिस्को र समुद्रको भौगोलिक सम्बन्ध, एक टापुबाट अर्को टापुमा जाने साना, मझौला र ठुला जहाजहरूको ओहोरोहोर, समुद्रका डल्फिनको घाम ताप्ने ठाउँ हेर्दै त्यहाँ रहेको चमेनागृहमा केही खाजा खाएर तीन बजेतिर हामी निस्क्यौँ।
पाँच बजे र तिस मिनेट जाँदा विमानस्थलमा पुग्नुपर्ने भएकाले मलाई चाहिँ मनमा तुलबुल भइरहेको थियो तर ज्वाइँछोरीले पोयर्स ३९ बाट निस्केपछि गाडीलाई गोल्डेन गेट साँघुतिर मोडे। सहरबाट निस्केर हाम्रो गाडी गोल्डेन गेट साँघुतिर लाग्यो। क्याालिफोर्निया राज्यको सान्फ्रान्सिस्कोमा रहेको सुनको खानी आवाद गर्न इतिहासको एक कालखण्डमा विभिन्न ठाउँबाट श्रमिकहरू ल्याइएका रहेछन्। तिनै श्रमिकको पसिनाले यो राज्यमा आर्थिक समृद्धि बढेको रहेछ। इतिहासको त्यो कालखण्डको स्मरण गर्न सान्फ्रान्सिस्को सहरलाई उत्तरतिरको मूल भूभागमा जोड्ने गरी यो पुल बनाइएको रहेछ। सान्फ्रान्सिस्को सहर र आसपासको समुद्रको सम्बन्धलाई यो पुलमाथिबाट गाडीमा गुडेर र पुलमुनिका ससाना जहाजमा समुद्रका छालसँग खेल्दै यात्रा गर्दै बुझ्न सकिने रहेछ। जहाजमा घुम्न त हामीसँग समय थिएन। गोल्डेन गेट पुलमाथि गाडीमा गुडेर हामीले सान्फ्रान्सिस्को सहर र समुद्रमा उर्लिरहेका छाललाई खुब मन लगाएर हेर्यौँ। गोल्डेनगेट पुलको पारिपट्टि रहेको एक रेस्टुरेन्टमा पसेर मेरा लागि ज्वाइँछोरीले चिपोटे नामको स्पेनिस खानाको एक पोका किने। उनीहरूले त्यहाँ केही खाएनन्। मैले पनि पोकाबाट केही खाना खाई अरू पोकै बोकेर विमानस्थलमा खाने विचार गरेँ। यसरी बेलुका ५:३० मा सान्फ्रान्सिस्को विमानस्थलमा पुगेर आफ्ना झिटीगुन्टा जाँच गराई विमान कम्पनीका कर्मचारीलाई जिम्मा लगाइयो। यसरी बोस्टनका लागि उड्ने यात्रीले विमानस्थलमा पूरा गर्नुपर्ने औपचारिक कार्य पूरा गरी छोरीज्वाइँ र श्रीमती घरतिर फिरे। म भने ६ घन्टाको अनुमानित आन्तरिक उडानका लागि आफूलाई तयार पारेर अध्यागमनको औपचारिकता पूरा गरी उडान गेटतिर लागेँ।
सान्फ्रान्सिस्कोबाट कतै नरोकीई सिधै बोस्टन आउन लगभग ६ घन्टा लाग्दो रहेछ— हवाई जहाजमा। मेरो लागि यो एक किसिमले लामै यात्रा हो। एक्लै यात्रा गर्दा बुढामान्छेलाई झन्झट हुन्छ भनी छोरीले विमानस्थलमा ओहोरदोहोर गर्न ह्विल चेयरको व्यवस्था मिलाएकी रहिछ। यसरी ह्विल चियरमा यात्रा गर्दा विमानस्थलमा सबै प्रकारका औपचारिकता हवाई जहाजकै कर्मचारीले उडानका औपचारिकता पूरा गर्ने तथा जहाजमा हाल्ने र निकाल्ने गर्ने रहेछन् र अवतरण भएको विमानस्थलमा आफूलाई लिन आउने आफन्तलाई जिम्मा लगाउने काम समेत ह्विल चियर चलाउने कर्मचारीले गर्दा रहेछन्। त्यसले राति एक्लै भए पनि सान्फ्रान्सिस्कोबाट बोस्टन आउन कुनै झन्झट भएन।
के कारणले हो कुन्नि सान्फ्रान्सिस्कोबाट बोस्टन उड्न जहाजले केही ढिलो गर्यो। जेहोस् सेप्टेम्बर महिनाको पहिलो दिन बिहान पाँच बजे म बोस्टन विमानस्थल उत्रेँ। आगमनकक्षमा एकजना यात्रीले पूरा गर्नुपर्ने औपचारिकता, झिटिगुन्टा बुझी भन्सारबाट पार गराई ह्विल चियर चलाउने विमान कम्पनीको प्रतिनिधिले मलाई बाहिर निस्कने गेटनेर ल्याइपुर्यायो। मलाई लिन आयोजकका तर्फबाट स्थानीय महेश्वर पन्त र विष्णुमणि आचार्य फूलका गुच्छासहित उभिएको देखेँ। यसरी बिहान ६ बजे स्थानीय आयोजक महेश्वर पन्त र विष्णुमणि आचार्यसँग सामान्य भलाकुसारी गरी उनीहरूले नै ल्याएको गाडीमा चढेर विमानस्थलबाट बाहिर निस्केँ। नेपालबाट अर्को बाटो हुँदै आएका हेमजी र रमेशजी अघिल्लै बेलुका आएका रहेछन्। सम्मेलनमा भाग लिन आउने अन्य प्रतिनिधिहरू कोही अघिल्लै दिन आइपुगेका र कोही सेप्टेम्बर १ को मध्याह्नसम्ममा आइपुग्ने जानकारी आयोजकहरूले गराए।
अमेरिकाको आन्तरिक उडानमा कुनै प्रकारको खाना उपलब्ध नगराउने हुनाले म अलि भोकाएको अनुमान गर्न आयोजकलाई अप्ठेरो परेन। त्यसैले कतै रेस्टुरेन्टमा लगेर बिहानको हल्का खाजा (ब्रेकफास्ट) गराउन उनीहरूले खोजे तर यति बिहानै रेस्टुरेन्ट कहाँ खुल्थे र ? त्यसैले गाडी घुमाउँदै एउटा ग्यास स्टेसनमा पुर्याएर मित्रहरूले कफी र बेकरी खुवाए। यसरी आफूलाई बस्न तयार पारिएको होटलमा बिहानै नौ बजे प्रवेश गरेँ। होटलमा नेपालबाट आएका हामी पाहुनालाई दुईवटा कोठा बन्दोबस्त मिलाएका रहेछन् तर आयोजकलाई पनि हलुका पर्ने र आफूलाई पनि सजिलो पर्ने गरी मैले हेमजीलाई आफ्नै कोठामा बस्ने र अर्को कोठामा रमेश र अर्को कुनै साथी राख्ने व्यवस्था मिलाउन आयोजकलाई अनुरोध गरेँ। अघिल्लो दिनको घुमाइ र रातको अनिँदो अवस्थाले म निकै थाकेको रहेछु। त्यसैले एघार बजेसम्म नउठाउनु भनी साथीलाई सङ्केत गरी ओछ्यानमा पल्टेँ।
सम्मेलन सेप्टेम्बर १, २ र ३ भनिए पनि मूल कार्यक्रमचाहिँ दुई सेप्टेम्बरमा राखिएको रहेछ। सम्मेलनको पहिलो दिन सहभागीहरू आउने, नाम दर्ता गर्ने र अपराह्नमा सहभागीको परिचयात्मक कार्यक्रमका साथै कवि गोष्ठी राखिएको रहेछ। त्यसैले पहिलो दिनको कार्यक्रमको त्यति चाप रहेन। अमेरिकाका सहभागीहरू त अघिल्ला दिन बेलुकै सम्मेलन स्थलमा आइसकेका रहेछन्। युरोप, क्यानडा र अफ्रिकाबाट आउने सहभागीहरू सम्मेलनको पहिलो दिन अपराह्नसम्ममा आइपुग्ने रहेछन्। त्यसपछि अर्थात् अपराह्न ६ बजेतिर नेपालीले सञ्चालन गरेको एउटा रेस्टुरेन्टमा परिचय कार्यक्रमसहित कवि गोष्ठी र रात्री भोज गरिने जानकारी आयोजकबाट प्राप्त भएकाले पहिलो दिन अधिकांश समय फुर्सदमा बित्ने निश्चित नै थियो।
रातभरिको अनिँदोबाट उत्पन्न थकानलाई केही मत्थर पारी म बिहान एघार बजे ओछ्यानबाट उठेँ। साथीहरू बिहानको खानाका लागि तयार भइसकेका रहेछन्। आयोजकमध्येका महेश्वर पन्त र विष्णुमणिजी बाह्र बजे हामीलाई दिउँसोको खानाका लागि लिन आउने खबर आएको थियो। त्यसैले उठेर हतार हतार नित्यकर्मसहित नुहाएर बाहिर निस्कन तयार भएँ। साथीहरू होटलको लबीमा पुगिसकेका रहेछन्। हेमजी र म पनि लबीमा पुग्यौँ। आयोजक पन्त र आचार्य आइसकेका रहेछन्। त्यहाँ भेला भएका सबै सहभागीहरूसहित हामीहरू आयोजकले बन्दोबस्त गरेका गाडीमा चढी दिउँसोको खानाको लागि पूर्व निर्धारित एउटा रेस्टुरेन्टमा पुग्यौँ।
बोस्टनमा बस्ने नेपालीहरूले नेपाली समुदायको उपस्थिति दिगो पार्न कतै साझेदारीमा औ कतै निजी लगानीमा विभिन्न व्यवसाय चलाउँदै आफ्नो आर्थिक पृष्ठभूमि राम्रै बनाएका रहेछन्। त्यस्ता व्यवसायमध्ये रेस्टुरेन्ट व्यवसायमा नेपालीहरूले राम्रै सफलता पाएको देखियो। हामीलाई दिउँसोको खानाका लागि पुर्याइएको रेस्टुरेन्ट पनि नेपाली संस्कृतिको पहिचान झल्कने विभिन्न सामग्रीले सजिसजाउ गरिएको नेपाल चिनाउने केन्द्र जस्तै रहेछ। नेपाली पहिचानका धेरै सामग्रीहरू उपलब्ध हुने यो रेस्टुरेन्टमा रेस्टुरेन्ट सञ्चालकसँग एक क्षण भलाकुसारी गरी हामीले रोजीरोजी नेपाली खाना खायौँ। बोस्टनमा पुगेर विभिन्न स्वादका नेपाली खाना खाँदै गर्दा यहाँ नेपालीले विस्तारै आर्थिक जरा गाड्दै गरेको मैले अनुभूत गरेँ। हामी बसेको होटलबाट रेस्टुरेन्ट आउँदा जाँदा मैले बोस्टनको व्यवस्थित सडक सञ्जालमा ट्राफिकको उचित प्रबन्ध, सडकका दुवै किनारमा प्रकृति, पर्यावरण र मानवीय क्रियाकलाप बिचमा देखिने यथोचित सन्तुलन र समन्वयको स्थिति देख्न पाएँ।
दिउँसोको खाना खाएर ३ बजे होटेलको लवीमा पुग्दा, रुस, युरोपका विभिन्न ठाउँ, क्यानाडा, बेलायत र अफ्रिकाबाट आएका प्रतिनिधिसँग भेट भयो। क्यानडाबाट आज बिहानै गाडीमा प्रस्थान गरी यहाँ आइपुगेका सुरेन उप्रेती, तारा उप्रेती, गीता पराजुली र सूर्य भट्टराई, रुसबाट आएका एनआरएनए भाषा–साहित्य उपसमितिका प्रमुख गोविन्द गौतम, गैरआवासीय नेपाली सङ्घको प्रतिनिधित्व गर्दै आएकी सङ्घकी उपसभापति सपिला राजभण्डारी, अफ्रिका नाइजेरियाबाट आएका उद्यमी हिक्मत थापा लगायतका विभिन्न सहभागीहरूसँग होटल लबीमै भेटघाट र परिचय भयो। नेपालबाट गएका हामी तीनजना अतिथिबाहेक सम्मेलनका सबै सहभागीले आआफ्नै खर्चमा बासको प्रबन्ध गर्ने समझदारी रहेकाले आजै आएका सहभागीहरू आआफ्नो बास व्यवस्थापन गर्न लागे। बेलुका ६ बजे अर्कै ठाउँमा गरिने परिचय लगायतका कार्यक्रममा जाने गरी पाँच बजे नै लबीमा उपस्थित हुने वाचासहित हामी आरामका लागि आआफ्ना कोठामा गयौँ।
६ बजे सम्पन्न गर्ने भनेको परिचयात्मक कार्यक्रमसहितको कवि गोष्ठी सात बजे मात्र सुरु भयो। हामी बसेको होटलबाट सहभागीलाई कार्यक्रमस्थल पुर्याउँदा अलि विलम्ब भयो। एउटा नेपालीले चलाएको रेस्टुरेन्टमा मेसाच्युसेट राज्यको गैरआवासीय नेपाली सङ्घले आयोजना एवम् प्रायोजन गरेको यो कार्यक्रममा सहभागीको राम्रै उपस्थिति थियो। ठिकैको हलमा खचाखच मान्छे थिए। कविगोष्ठी सुरु हुनुअघि नै आआफैले सहभागी बिच एकअर्कामा परिचय गराएपछि कविगोष्ठी सुरु भयो। त्यसपछि कार्यक्रमको अध्यक्षता एनआरएनए मेसाच्युसेट एकाइका अध्यक्षले, प्रमुख अतिथिको रूपमा मैले र काव्य विमर्शका लागि विज्ञ मानिएका डा. हेमनाथ पौडेलजीले समयको सीमालाई ख्याल गरी छोटाछोटै मन्तव्यबाट कार्यक्रम समापन गरियो। यो कार्यक्रम छलफल र विमर्शभन्दा पनि सहभागीहरूबिच एकअर्काको व्यवसाय, रूचि तथा सृजना साधनाबारे परिचित हुने माध्यम बन्यो मेरा लागि। साहित्य अध्ययन तथा सृजनात्मक सिपमा सबै सहभागी ठिकठिकै भए पनि भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा उनीहरूको समर्पण र प्रतिबद्धता सम्झनयोग्य नै लाग्यो। अमेरिकाका विभिन्न राज्यबाट यहाँ आएका सबै सहभागीको आआफ्नै जागिर र व्यवसायले पारेको व्यस्तताका बाबजुद आफ्ना जातिको पहिचान भाषा, साहित्य र संस्कृति निर्माण र प्रवद्र्धनको अनुराग र समर्पण सराहनीय लाग्यो मलाई। बाह्र बजेतिर खानपिनसहित कार्यक्रम सकियो। भोलि हुने सम्मेलनको मूल कार्यक्रमको स्थल र कार्यसूचीको विवरण लिएर सबै सहभागी जस्तै हामी पनि आआफ्नो गुँडतिर लाग्यौँ।
दोस्रो दिनको कार्यसूची नै सम्मेलनको प्रमुख पक्ष थियो तर मैले सम्मेलनको कार्यसूचीका अतिरिक्त बोस्टनमा नेपाली समुदायले बनाउँदै गरेको पहिचानको सार्थकता आफ्नै आँखाले हेरेर बुझ्न पाएँ। बोस्टनमा बसोबास गर्ने नेपाली समूहले सामूहिक रूपमा रकम उठाएर भरखरै सम्मेलनका स्थानीय आयोजकमध्येका महेश्वर पन्त र विष्णुमणि आचार्यको अगुवाइमा साढे सत्र लाख अमेरिकी डलरमा एउटा गिर्जाघर किनी पशुपतिनाथ बुद्ध फाउन्डेसनका नाममा दर्ता गरी सो घरलाई नेपाली समुदायका सबै कार्यक्रम सम्पन्न गर्ने आफ्नै पहिचानको सामुदायिक भवनमा रूपान्तरण गरेका रहेछन्। तीन तला रहेको र यथेष्ट परिसर भएको गिर्जाघरबाट भरखरै नेपाली सामुदायिक भवनमा रूपान्तरित सो भवन नेपाली संस्कृतिका सबै झल्का दिने किसिमले सजाइएको रहेछ। घरको बिच तलामा रहेको करिब चार सय सहभागीहरू अट्न सक्ने सभाहलको प्रेक्षालयमा दुवै कुनामा मिलाएर पशुपतिनाथको मन्दिर र बुद्धको मूर्तिको प्रतिकृति (रेप्लिका) स्थापना गरेका रहेछन्। भुइँ तलामा कार्यक्रममा खानपिनको व्यवस्था गर्ने भान्सासहितको फराकिलो हल र तेस्रो तलामा कार्यालयहरू सञ्चालन गर्न आवश्यक कोठा भएको सो भवन साँच्चि नै नेपाली समुदायको कर्मशीलता प्रस्तुत गर्ने गौरवको थलो भएको मैले महसुस गरेँ। वस्तुत: बिरानो देशमा बस्ने कुनै पनि जाति समूहको सार्थक उपस्थिति दुई चिजले दिन सक्छन्। एउटा हो— आफ्नो समुदायले सामुदायिक कार्यक्रम, उत्सव, पर्व मनाउने साझा तथा स्थायी थलो। अर्को हो— आप्रवासी समुदायको स्थानीयवासीसँगको सांस्कृतिक सहकार्य तथा त्यस्ता सहकार्यमा स्थानीय समुदायले जनाउने सहभागिता र त्यस्ता कार्यको अनुमोदन। यी दुवै कुरा बोस्टनमा बसेका नेपाली समुदायले आर्जन गरेको निष्कर्ष निकालेँ मैले। आजै हुने सम्मेलनको सार्थकतालाई अनुमोदन गर्दै म्यासाच्युसेट राज्यका विधान सभाहरूका प्रमुखले सम्मेलन उद्घाटन समारोहमा आफैँ उपस्थित हुने इच्छाका बाबजुद अन्य व्यस्तताले उपस्थित हुन नसके पनि आयोजक मध्येका प्रमुख महेश्वर पन्त र सम्मेलनका प्रमुख अतिथि मलाई सराहना पत्रसहितको सम्मान राज्य सरकार र संसदबिचको समन्वयको काम गर्ने अख्तियारी पाएका नेपाली मूलका अमेरिकी नागरिक प्रह्लाद के.सी. मार्फत पठाए र सम्मेलनमै प्रह्लाद के.सी.जीले सो सम्मान हामीलाई विधान सभाका तर्फबाट समर्पण गरे। कुरा त्यति उल्लेखनीय नभए पनि बोस्टनबासी नेपाली समुदायका प्राज्ञिक गतिविधिको स्थानीय सरकारले गरेको अनुमोदनको नमुनाको रूपमा यो घटनालाई मैले लिएँ। स्थानीय रूपमा नेपाली उपस्थितिको सार्थकता बताउने माथिका दुईटा कुरा हेरेपछि मात्र किन एनआरएनए भाषा–साहित्य उपसमितिले यो सम्मेलन बोस्टनमा गर्न खोजेको रहेछ भन्ने कुराको अर्थ बुझेँ।
आयोजकले व्यवस्था गरेका सवारी साधनबाट सबै सहभागी सँगै हामी पनि सम्मेलनस्थलमा एघार बजेतिर पुग्यौँ। नेपाली अतिथि सत्कारका सबै उपाय अपनाइएको सभाहलमा पञ्चकन्याबाट माल्यार्पण पनि गर्दै साइतका बाजा बजाएर प्रमुख अतिथि म र अन्य अतिथिलाई सभाहलमा प्रवेश गराइयो। सहभागीका पहिरन, अतिथि सत्कार गर्ने तरिका र कार्यक्रम सञ्चालन विधि हेर्दा म कतै नेपालकै कुनै समारोहमा त छैन भन्ने भ्रम भयो त्यतिबेला।
सम्मेलनको मुख्य दिन अर्थात् सेप्टेम्बर २, नेपाली महिलाको प्रमुख चाड तिजको प्रमुख दिन थियो। त्यसैले महिला सहभागी र स्वयमसेविकाहरू तिजको रातो पहिरन र छड्के तिलहरीमा र पुरुष सहभागीहरू लवेदा, सुरुवाल, कोट र नेपाली टोपीमा सजिएका थिए। सम्मेलनको औपचारिक कार्यक्रम दिनको एघार बजे सुरु भयो। सम्मेलन उद्घाटन समारोहको अध्यक्षता गैह्रआवासीय नेपाली सङ्गठनको भाषा–साहित्य उपसमितिका प्रमुख गोविन्द गौतमले गरेको उक्त समारोहमा प्रमुख अतिथिका रूपमा सम्मेलनको औपचारिक उद्घाटन मैले गरेपछि केही औपचारिक कार्यक्रम सम्पन्न गरिए। नेपाल प्रज्ञा–प्रतिष्ठान र एनआरएनए भाषा–साहित्य उपसमितिको सहकार्यमा प्रकाशित तथा प्रा.डा. हेमनाथ पौडेल लगायतका साथीहरूले सम्पादन गरेको ‘अन्तरदेशीय नेपाली कथाहरू’ कथासङ्ग्रह
र रमेश पौडेलले सम्पादन गरेको ‘नेपाली मुक्तकमा नारीहस्ताक्षर’ सान्फ्रान्सिस्कोबाट सञ्चालित साहित्य सागर अनलाइन पत्रिका र केही पुस्तकको विमोचनपछि रुस, अफ्रिका, दक्षिण पूर्व एसिया, उत्तर अमेरिका, क्यानडा तथा अफ्रिकामा नेपाली भाषा र साहित्यको स्थितिबारे तत्क्षेत्रका प्रतिनिधिले सूचनामूलक कार्यपत्र प्रस्तुत गरे। त्यसपछि विदेशमा बसेर नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा विशेष योगदान दिने रुसका कृष्णप्रकाश श्रेष्ठ र अमेरिकाका होमनाथ सुवेदीलाई सम्मान पत्रसहित अभिनन्दन गर्ने काम भयो। त्यसपछि केही प्रतिनिधिबाट सम्मेलन सफलताको शुभकामना व्यक्त गरेपछि प्रा.डा. हेमनाथ पौडेलले नेपाली भाषा–साहित्यको वर्तमान अवस्था र यसको अन्तर्राष्ट्रियकरणका सम्बन्धमा मन्तव्य राख्दै गैह्रआवासीय नेपालीहरूको सङ्गठन र नेपाल प्रज्ञा–प्रतिष्ठानबिच हस्ताक्षर भएको समझदारीपत्रको जगमा अहिलेसम्म भएका सहकार्यको विवरण प्रस्तुत गर्नुभयो। त्यसपछि मैले प्रमुख अतिथिको हैसियतमा गैरआवासीय नेपालीहरूले
सङ्गठनात्मक र व्यक्तिगत रूपमा नयाँ यात्रा सुरु गरेको लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई पुर्याएको सहयोग र आफ्नो पहिचानलाई अझ दरो बनाउन विभिन्न देशमा रहेका गैह्रआवासीय नेपालीहरूले गरेको प्रयत्नको सराहना गर्दै उनीहरूलाई धन्यवाद दिएँ।
गैरआवासीय नेपाली सङ्घसँग भएको समझदारीपत्रमा उल्लेख भएका विषयमा सहकार्य गर्न प्रज्ञा–प्रतिष्ठान प्रतिबद्ध रहेको बताउँदा सहभागीहरूले तालीद्वारा खुसी जनाएका थिए। प्रमुख अतिथिको मन्तव्यपछि उद्घाटन समारोहका अध्यक्ष गोविन्द गौतमले सबै सहभागीसहित सम्मेलन आयोजनामा विशेष योगदान दिने व्यक्तिहरूलाई धन्यवाद दिँदै समारोह समापन गरे। उद्घाटन सत्र अपराह्न ४:३० मा समापन गरिएपछि बेलुका ७:३० सम्म सम्मेलन भवनकै भुइँतलामा भएको हलमा खानपिन सम्पन्न भयो। नेपालीहरूले नै सञ्चालन गरेको कुनै रेस्टुरेन्टको प्रायोजनमा व्यवस्थित खाना पूर्णत: नेपाली स्वादको थियो।
रात्री भोज बेलुका ७:३० मा सकियो। त्यसपछि सम्मेलनको दोस्रो सत्र सुरु भयो। यो सत्र नेपाली संस्कृतिका विभिन्न आयाम प्रस्तुत गर्ने अभिप्रायले नेपाली कलाको प्रदर्शनजन्य पक्षसँग केन्द्रित रह्यो। तिजको अन्तिम दिन परेकाले सहभागीसहित सबै महिला दिदीबहिनीहरू रातो साडी, चौबन्दी चोलीसहित छड्के तिलहरीमा उपस्थित गराई पहिरन मार्फत कसरी सांस्कृतिक पहिचान प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा सम्मेलन आयोजकले ख्याल गरेजस्तो लाग्यो। युवा तथा प्रौढ पुस्ताका सहभागी महिलाले तिजका गीतमा मौलिक नाच प्रस्तुत गरे भने दौरा–सुरुवाल, कोट टोपी लगाएका पुरुषले सार्थक एवम् सन्देशमूलक दोहोरी गीत तथा नाच प्रस्तुत गरी वातावरणलाई पूर्ण रूपमा नेपाली बनाए। सबै प्रकारका नेपाली बाजाहरूको संयोजन र तिनको प्रयोगले बोस्टनबासी नेपालीहरू वाद्यवादन, गायन र नृत्यको मौलिकता बचाउन ज्यादै होसियार रहेको अवगत भयो। हिमालय सांस्कृतिक समूह नामको संस्था गठन गरी नयाँ पुस्तालाई नेपाली वाद्यवादन, गायन र नाचको मौलिक पक्ष चिनाउन, सिकाउन र कलाकार उत्पादन गर्न यो संस्थाले उल्लेखनीय काम गरिरहेको जानकारी प्राप्त गर्दा हामीजस्ता अतिथिलाई खुसी लाग्नु स्वाभाविक नै थियो। यो संस्थाबाट तालिम लिएका नयाँ पुस्ताका किशोर किशोरीहरूका सांस्कृतिक प्रदर्शनीका हरेक सामग्री सबैको मन छुने थिए। उनीहरूमा यस्तो सांस्कृतिक चेत भर्न उनीहरूका अभिभावकले गरेको प्रयास तथा यी किशोर किशोरीले आफूले सिकेको कला त्यहाँ प्रदर्शन गरी नेपाली संस्कृतिप्रति देखाएको अनुरागले साँच्चि नै बोस्टनमा नेपाली समुदायको उपस्थिति गहन हुँदै गरेको अनुमान मैले लगाएँ। यसरी राति एघार बजे सम्मेलनको प्रदर्शनजन्य सत्र समापन गरी सम्मेलन विधिवत सम्पन्न गरी हामी सबै आआफ्नो बासस्थानतिर लाग्यौँ।
सेप्टेम्बर ३ को पुरै दिन बोस्टनका दर्शनीय स्थल घुम्ने तथा बोस्टनकै गौरव मानिने केही प्राज्ञिक संस्थानको अवलोकन गर्न आयोजकहरूले समय छुट्याएका थिए। त्यसैले बिहानै ब्रेकफास्ट लिएर आयोजकहरूले व्यवस्थापन गरेको यातायात प्रबन्धलाई प्रयोग गर्दै हामी केही सहभागीहरू सेप्टेम्बर तीनका दिन बिहान दश बजे नै बोस्टनका दर्शनीय ठाउँ घुम्न निस्क्यौँ। सम्मेलनका अधिकांश सहभागीहरू आआफ्ना देशमा फिरिसकेका हुनाले क्यानडा, क्यालिफोर्निया तथा भर्जिनियाका केही सहभागीहरू हाम्रो यो घुमघाममा सरिक भए।
सर्वप्रथम हामीहरू प्रशान्त महासागरको एउटा भङ्गालोले बनाएको क्यासल विच भन्ने समुद्रको किनारमा गयौँ। इतिहासको एक कालखण्डमा बोस्टनको सुरक्षा किल्लाका रूपमा रहेको र हाल समुद्र किनारको सङ्ग्रहालयका रूपमा रहेको यो किल्लाभित्र प्रवेश गरी अवलोकन गर्न पालना गर्नुपर्ने औपचारिकता पूरा गर्न हामीसँग पर्याप्त समय थिएन। त्यसैले किल्लाको वरिपरि फैलिएको सामुद्रिक भाग घुमेर हामीले सामुद्रिक सौन्दर्यको अवलोकन गर्यौँ। उत्तर पूर्वी अमेरिकाको सामुद्रिक व्यापार गर्ने बोस्टन बन्दरगाह हाम्रो गन्तव्यको अर्को निशाना बन्यो।
म्यासाच्युसेट राज्यका छिमेकी उत्तरपूर्वी अमेरिकी राज्यहरूको समुद्री मार्गबाट व्यापार गर्ने महŒवपूर्ण बन्दरगाह रहेछ– बोस्टन बन्दरगाह। यही बन्दरगाह हुँदै पहिला ब्रिटिसहरू अमेरिका पसेका हुनाले यस बन्दरगाहको व्यापारिक साथै ऐतिहासिक महत्त्व पनि रहेछ। साना, मझौला र ठुला जहाज आवतजावत गर्ने यो बन्दरगाहको भौगोलिक व्यवस्थापन आकर्षक नै लाग्यो मलाई। बन्दरगाहको एक छेउमा रहेको डबलीमा बसेर बन्दरगाहका गतिविधि आउने गरी हामीले केही फोटा खिच्यौँ र लाग्यौँ— न्यु बोस्टन नामको नयाँ सहरतिर।
बोस्टनको नयाँ रूप देखाउने यो सहरलाई बोस्टनको केन्द्रीय सहर (डाउन टाउन) मानिँदो रहेछ। गृहनिर्माण कलाका विविध शैलीले बनाएका बहुतले घरहरू भएको यो क्षेत्रमा हामीले गाडीभित्र बसेर फन्को मार्यौँ। समय घर्केर दिउँसोको खाना खाने बेला भइसकेको थियो। यो सहरको केन्द्रमा नै बोस्टन मसला नामको नेपालीहरूले चलाएको रेस्टुरेन्टमा दिउँसोको खाना खाने प्रबन्ध आयोजकले मिलाएका रहेछन्। रेस्टुरेन्टमा अपराह्न ३ बजेभित्र मात्र दिउँसोको खाना खाने प्रबन्ध भएकाले हतार हतार गरेर रेस्टुरेन्टमा पसी हामीले आआफ्नो चाहना र रुचिअनुसारको खाना लियौँ। नेपाली स्वाद पस्कने यो रेस्टुरेन्टमा अमेरिकाका केही सेलिब्रेटी तथा पत्रकारले यहाँ खाना खाई यस रेस्टुरेन्टको खाना र सेवाबारे गुनगान पनि गाएकाले दक्षिण एसियाली (नेपाली र भारतीय) खानाको स्वाद लिन बोस्टनका धेरैजसो निवासीहरू आलोपालो गर्दै महिनामा कुनै न कुनै दिन यो रेस्टुरेन्ट आउँदा रहेछन्। यी सब कुरा रेस्टुरेन्टको प्रवेशद्वारमै टाँगिएको रेस्टुरेन्टको इतिवृत्त (प्रोफाइल) पढेर मैले आफ्नो जानकारीमा लिएँ। जेहोस्, बोस्टनबासी नेपालीको रेस्टुरेन्ट व्यवसायमा बढ्दै गएको प्रभाव यो रेस्टुरेन्टको चहलपहलबाट जान्न सकिन्थ्यो।
बोस्टन मसलामा दिउँसोको खाना खाएपछि बोस्टनको गहनाको रूपमा रहेका विश्वविख्यात दुई प्राज्ञिक संस्थानतिर हामी लाग्यौँ। ती संस्था थिए— हारबर्ड विश्वविद्यालय र म्यासाच्युसेट प्राविधिक संस्थान (म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आइ टी)। चार बजेतिर हामी हारबर्ड विश्वविद्यालय परिसरमा पुग्यौँ। फराकिलो परिसर र विभिन्न फ्याकल्टीको पढाइ हुने भवनहरू र विश्वविद्यालयमा पढ्ने, पढाउने तथा काम गर्नेहरूका लागि व्यवस्थित आवास गृहहरू, पुस्तकालय, सभा कक्षका विभिन्न भवनहरूले भरिएको हारबर्ड परिसर सबै खाने सुविधाले युक्त विश्वविद्यालय गाउँ (युनिभर्सिटी भिलेज) जस्तो रहेछ। ज्ञान प्रदान गर्ने तथा नयाँ नयाँ अनुसन्धानबाट ज्ञानका विविध विधामा नयाँ दृष्टिकोण प्रतिपादन गर्न संसारभरि कहलिएको यो विश्वविद्यालयका सबै फ्याकल्टी चाहर्न हामीसँग समय थिएन। अमेरिकाका अधिकांश राष्ट्रपति र नेता उत्पादन गर्ने हारवर्ड कानुन विद्यालय (हारबर्ड स्कुल अफ ल) लाई चाहिँ गाडीबाटै फन्को मार्न भ्यायौँ। यो विश्व विख्यात विश्वविद्यालयका संस्थापक हारबर्डको प्रतिमा अघि उभिएर यो क्षेत्र भ्रमण गर्ने सबैले फोटो खिचाएर भ्रमणको स्मृति बचाएर राख्दा रहेछन्। हामीहरूले पनि पालैपालो गरी विभिन्न शैलीमा फोटो खिचाएर आजको यो क्षेत्रको भ्रमणको स्मृतिलाई ताजा राख्ने मेलो मिलायौँ।
हारबर्ड परिसरको घुमघाम सकेर हामी एम.आई.टी. तिर लाग्यौँ। विश्वभरि नै प्रविधिका क्षेत्रमा उत्कृष्ट अध्ययन, अनुसन्धान गर्दै शैक्षिक जनशक्ति निर्यात गर्ने एम.आई.टी. मा झिनो सङ्ख्यामा नेपाली शिक्षक र विद्यार्थीको उपस्थिति रहेछ। समयको सीमामा रहेका हामीहरूले कुनै पनि नेपाली शिक्षक र विद्यार्थीसँग भेट्ने मौका पाएनौँ। बरु हारबर्ड परिसरकै एउटा कोठामा आफ्नो फोटो ग्यालरी राखेर त्यता घुम्न आउने नाम चलेका पर्यटकहरूका फोटाहरू खिचेर राख्ने पश्चिम नेपाल (पाल्पा) तिरका विमल नेपालको फोटो ग्यालरीमा गएर हामीहरूले उनको अनुरोधमा विभिन्न पोजमा फोटो खिचेर उपयुक्त ठाउँमा ती फोटो प्रयोग गर्ने अख्तियारी प्रदान गर्दै आफ्ना आकृति उनकै क्यामेरामा छोडेर हामी ग्यालरीबाट निस्क्यौँ। राष्ट्रपति विद्यादेवी भण्डारी पनि बोस्टन घुम्न गएका बखत उहाँका फोटाहरू खिची उनले सुरक्षित राखेका रहेछन्। यस्तै धेरै देशका मान्छेहरूका फोटाहरू खिचेर सुरक्षित रूपमा राख्ने काम उनले गर्ने गरेका रहेछन्। ती सबैखाले फोटाहरू उनले हामीलाई देखाए।
एम.आई.टी. मा मेरो कान्छा सालाको छोरो अध्ययनरत भए पनि अहिले बिदामा नेपाल गएकाले भेट भएन। त्यस्तै वासिङ्टन राज्यको एउटा विश्वविद्यालय अध्ययनरत मेरी कान्छी सालीकी छोरी सुनिता नेपाल गृष्मकालीन विदामा प्रयोगात्मक सिप सिक्न एमआइटी आएकी र अध्ययन सकेर दुई दिनअघि नै छुट्टै राज्यमा रहेको आफ्नो विश्वविद्यालयमा फर्किसकेकाले उनीसँग पनि भेट हुने कुरै भएन। उनीहरूले ज्ञान र सिप लिएको एम.आई.टीका फ्याकल्टी कोठा, विद्यार्थीहरू अध्ययन गर्ने, खेल खेल्ने ठाउँ, पुस्तकालय, चमेना घर घुम्ने रहर सीमित समयमा मैले पूरा गरेँ। साथीहरू भ्रमणको चिनो (सोभेनिर) किन्न यताउता
छरिएको मौका पारी सहयात्री हेमनाथ पौडेल र मैले प्रतिष्ठानको फराकिलो उद्यान अवलोकन गर्न भ्यायौँ।
समय घर्की सकेकाले आयोजक साथीहरू हामीलाई खोज्न आइपुगे। बेलुका ६ बजे भइसकेको र बेलुकाको खाना आयोजक महेश्वर पन्तका घरमा खाने प्रबन्ध भएकाले हामी महेश्वर पन्तजीसँग उनका घरतिर लाग्यौँ। क्यानाडाको टोली पनि होटल आई आफ्नै गाडीमा क्यानाडातिर लाग्यो। यसरी नेपालीहरूले आफ्नो सार्थक उपस्थिति बनाउन लागेको बोस्टन सहरको हाम्रो यात्रा समाप्त भयो ।