प्रा.डा. ताराकान्त पाण्डेय नेपाली साहित्यका विशिष्ट समीक्षक प्रतिभा हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पाण्डेय प्रगतिवादी समालोचकका रूपमा सुपरिचित छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘नेपाली कविताको धारागत सन्दर्भ र प्रगतिवाद’ शीर्षकका इतिहासचेत एवम् वैचारिकचेतसम्पन्न समीक्षा समेटिएको छ ।
– सम्पा. |
१. प्राक्कथन
लेख्य नेपाली कविताको आरम्भ सुवानन्ददासबाटै भएको मान्ने हो भने यसको इतिहासले करिब २३५ वर्षको अवधि पूरा गरिसकेको देखिन्छ । मानवसमाजमा राज्यको उदयपछि कलासाहित्यको इतिहास पनि राज्यको इतिहास र त्यस इतिहासमा घट्ने राजनीतिक, सामाजिक, आर्थिक घटनाक्रमस“गै जोडिएर अगाडि बढ्ने गरेको पाइन्छ (शर्मा र श्रेष्ठ, २०४९ : २६–२७) भने हाम्रो उक्त २३५ वर्षको कविताको इतिहास पनि त्यसरी नै अघि बढेको मान्न सकिन्छ । मार्क्सवादी प्रस्थापनाअनुरूप वर्गोदयपछिको आजसम्मको मानवजातिको इतिहासलाई वर्गसंघर्षको इतिहास मान्दा कविता पनि वर्गसमाजमा यो वा त्यो वर्गका स्वार्थ, चरित्र, आकाङ्क्षा र चाहनाको कलात्मक अभिव्यञ्जक र तिनको सामक कलात्मक उपकरण पनि बन्दै आएको तथ्यलाई अस्वीकार गर्न सकिन्न । नेपाली कविताको इतिहासलाई पनि ठीक यसै परिप्रेक्ष्यमा हेर्न सकिन्छ र हेर्नुपर्ने हुन्छ । कसैले माने नमाने पनि र कवितालाई (कवितामात्रै किन सिङ्गै साहित्यलाई) राजनीतिसँग असम्बन्धित रहने फगत कलारूप घोषणा गरे पनि कविताजस्तो सिर्जनात्मक विधालगायत समीक्षाजस्तो मूल्याङ्कन एवं विचारप्रबल विधा पनि राज्य वा राजनीतिका परिपे्रक्ष्य र परिदृश्यलाई उपजीव्य बनाएरै अघि बढेका छन् र तदनुरूप आफ्नो इतिहासको निर्माण पनि गर्दैगएका छन् ।
परम्पराभिन्नताका सन्दर्भमा यस दृष्टिकोणको कति महत्त्व छ भन्ने कुरा आफ्ना ठाउँमा विचारणीय छँदैछ तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के छ भने समीक्षक श्रेष्ठले चाहे गोपालप्रसाद रिमाललाई ‘वाल्ट ह्वीटम्यान’ बनाएर प्रस्तुत गर्दा होस् चाहे भूपीलाई प्रखर युगबोध र व्यङ्ग्यका ‘लर्ड वाइरन’ले सम्बोधित गर्दा होस्, उनीहरूमा र उनीहरूजस्तै यस अवधिका प्रखर युगबोधी कविहरूमा रहेको प्रगतिवादिता उनलाई दृष्टिगोचर भएन र उनले उक्त पुस्तकमा कही“ पनि नेपाली कविताका सन्दर्भमा प्रगतिवादी धाराको उल्लेख गरेनन् वा गर्न आवश्यक ठानेनन् ।
ठीक यसै परिप्रेक्ष्यमा नेपाली कविताको इतिहासलाई हेर्दा त्यस इतिहासमा देखापरेका विभिन्न प्रवृत्ति र धाराको कुरा गर्दा होस् वा तिनको समीक्षा–मूल्याङ्कन गर्दा होस्, विशेषतः समानान्तर धाराका नेपाली समीक्षकहरूले आधारचाहिँ राजनीतिक आग्रहलाई नै बनाउने गरेका छन् तर व्यवहारमा कलाको कुरा उठाएर एक किसिमको र प्रस्ट शब्दमा उत्पीडित जनताको पक्षधर अर्थात् जनपक्षीय प्रगतिवादी साहित्य–धारालाई साहित्येतिहासमा उल्लेख नै नगर्ने अथवा कतिपयले गरिहाले पनि त्यसका कलात्मक सीमामात्र औंल्याई त्यसको महत्त्वको अवमूल्यन गर्ने प्रयास गर्दैआएको देखिन्छ । वस्तुतः नेपाली समानान्तर समीक्षा र समीक्षकहरूको यसै कृत्यलाई केन्द्रीय पृष्ठभूमि बनाएर यहाँ सिङ्गो नेपाली कविता–साहित्यमा प्रगतिवादी नेपाली कविताको धारागत उपस्थिति र साथै त्यसका हैसियतको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसप्रकारको मूल्याङ्कन गर्दा कलालाई श्रमसँग जोडेर हेर्ने र त्यसको समाजरूपान्तरणकारी भूमिकालाई स्वीकार गर्ने मार्क्सवादी सौन्दर्यचिन्तनका वस्तुवादी धारणालाई आधार बनाइएको छ र केवल कलाको निरपेक्ष स्वायत्तता र सत्ता स्वीकार गरेजस्तो गरेर यथार्थमा यथास्थितिवादी उत्पीडक वर्गका हितको पक्षपोषण गर्ने ‘कलात्मक’ पाखण्ड यहाँ गरिएको छैन ।
२. नेपाली कविताका विभिन्न धाराहरूका परिप्रेक्ष्यमा प्रगतिवाद : समीक्षकहरूका दृष्टिमा
नेपाली कविता (लेख्य कविता)को २३५ वर्ष लामो इतिहासमा नेपाली समाज र यहाँको राजकीय सत्ताको स्वरूपमा आउँदै गएका क्रमिक परिवर्तनहरूकै सापेक्षतामा यसमा विभिन्न धाराहरूको विकास हुँदै गएको पाइन्छ र आजका समयमा पनि विभिन्न धाराहरू अस्तित्त्ववान् छन् । यद्यपि तीमध्ये कुनै उध्र्वमुखी र कुनै ह्रासोन्मुख भने अवश्यै रहेका छन् । नेपाली कविताको विधागत साहित्यिक इतिहासको अङ्कन गर्ने क्रममा नेपाली साहित्यका समानान्तर धाराका समीक्षकहरूले नेपाली कविताका धाराहरूबारे प्रकट गरेका विचारहरू के–कस्ता छन् र त्यस सन्दर्भमा उनीहरूले प्रगतिवादी कविताधारालाई कसरी प्रस्तुत गरेका छन्, यहाँ प्रथमतः त्यसको समीक्षा गरौं ।
रमेश श्रेष्ठ (२०३५)ले प्रवृत्तिलाई नै आधार बनाएर नेपाली कविताको प्रवृत्तिमूलक अध्ययन गरेका छन् । नेपाली कविताका प्रवृत्ति नामक ग्रन्थमा उनले नेपाली कवितामा आधुनिक युगको सुरुवात् हुनुपूर्व क्रमशः वीरकविता, भक्तिकविता तथा श्रृङ्गारकविता अस्तित्त्ववान् रहेको उल्लेख गर्दै तिनका प्रवृत्तिको समीक्षा गरेका छन् भने आधुनिक नेपाली कविताको सुरुवात्मा लेखनाथ र बालकृष्ण समको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै आधुनिककालका दुई जेठा धाराका रूपमा परिष्कारवाद वा शास्त्रीयतावाद र स्वच्छन्दतावादलाई प्रस्तुत गरेका छन् । यसैगरी आधुनिक नेपाली कवितामा ‘वाल्ट ह्वीटम्यान’का रूपमा गोपालप्रसाद रिमालको उदय (१९९२)पछि यसले नयाँ मोड लिएको र समसामयिक नेपाली कविताको जन्म भएको निष्कर्ष श्रेष्ठको रहेको छ (पृ.१५७) । वि. सं. १९९२ यताको मुख्यतः गद्य नेपाली कवितालाई श्रेष्ठले करिब–करिब पश्चिमी आधुनिकतावादी कविताका समकक्षमा राखेर त्यसमा प्रखर युगबोधलगायत नवीन शैलीचेतको समसामयिक प्रवृत्ति प्रकट भएको बताएका छन् । यसरी श्रेष्ठले २०१७ यताको प्रयोगवादी कविताधारासमेतलाई छुट्टै प्रयोगवादी कविताका रूपमा स्वीकार नगरी रिमालेली ‘समसामयिक’ गद्यकवितापरम्पराको निरन्तरताका रूपमा स्वीकार गरेर नितान्त परम्पराभिन्न दृष्टिकोण प्रस्तुत गरेका छन् । परम्पराभिन्नताका सन्दर्भमा यस दृष्टिकोणको कति महत्त्व छ भन्ने कुरा आफ्ना ठाउँमा विचारणीय छँदैछ तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के छ भने समीक्षक श्रेष्ठले चाहे गोपालप्रसाद रिमाललाई ‘वाल्ट ह्वीटम्यान’ बनाएर प्रस्तुत गर्दा होस् चाहे भूपीलाई प्रखर युगबोध र व्यङ्ग्यका ‘लर्ड वाइरन’ले सम्बोधित गर्दा होस्, उनीहरूमा र उनीहरूजस्तै यस अवधिका प्रखर युगबोधी कविहरूमा रहेको प्रगतिवादिता उनलाई दृष्टिगोचर भएन र उनले उक्त पुस्तकमा कही“ पनि नेपाली कविताका सन्दर्भमा प्रगतिवादी धाराको उल्लेख गरेनन् वा गर्न आवश्यक ठानेनन् ।
अर्का समालोचक एवं नेपाली साहित्येतिहासलेखक तारानाथ शर्मा(२०३९)ले नेपाली साहित्यको इतिहास नामक पुस्तकमा नेपाली साहित्यका विभिन्न समयका विभिन्न विशिष्ट/उल्लेख्य प्रतिभाका नाउँका आधारमा नेपाली साहित्यको युगविभाजन गरेका छन् भने त्यसै सन्दर्भमा नेपाली कविताको आरम्भतिर यसमा वीरधाराको उपस्थिति रहेको (भानुपूर्व युग) र त्यसपछि क्रमशः भक्तिधारा(भानु युग) तथा श्रृङ्गारिक धारा (मोती युग)को विकास भएको उल्लेख गरेका छन् । यसैगरी वि. सं २००७ अघिको समयलाई क्रान्तिपूर्व युग नामकरण गरेर उनी यस युगका कवितामा “चार स्पष्ट हाँगाहरू फाटेको” बताउँछन् (पृ. ८७–८८) । शर्माका अनुसार ती चार हाँगा हुन् : क) पहिलो, संस्कृत छन्द परम्परामा रमाएको हाँगो, ख) दोस्रो, झ्याउरे छन्दलाई अँगालेर बढी सरल, जनपक्षीय र राष्ट्रिय भएको हाँगो, ग) तेस्रो, लयात्मकतामा रमाएको र गीतिमयतालाई अँगालेको हाँगो र घ) चौथो, अन्तर्राष्ट्रिय शैलीको हाराहारीमा फैलिएर गद्यमय हुनपुगेको हाँगो । शर्मा वासुदेव त्रिपाठीले झैं शैली र अन्तर्वस्तुको समग्रताका आधारमा यहाँ परिष्कारवादी, स्वच्छन्दतावादी आदि धाराको स्पष्ट र पृथक् उल्लेख गर्दैनन् तथापि उनले उल्लेख गरेका उक्त चार हाँगामध्ये पहिलो लेखनाथीय परिष्कारवादी धारा नै हो भने दोस्रो र तेस्रोले मुख्यतः तर फरक शैलीका स्वच्छन्दतावादी कवितालाई सङ्केत गर्दछन् । चौथो हाँगो बालकृष्ण सममा परिष्कारवादी स्पर्श लिएर देखापरे पनि समष्टिमा त्योसमेत स्वच्छन्दतावादी धारास“गै ज्यादा सम्बद्ध रहेको छ ।
वि. सं. २००७ सालपछिको युगलाई तारानाथ शर्मा ‘क्रान्तिउत्तर युग’को संज्ञा दिन्छन् । उनका विचारमा “त्यस क्रान्तिले निरङ्कुश राणातन्त्रको हाउलाई सिध्याएकाले राजनैतिक र सामाजिक स्वतन्त्रताका ढोकाहरू उघ्रिए र लेखकले व्यक्तिगत स्वतन्त्रता पाए ”(पृ. १४७) । यसै स्वतन्त्रताका पृष्ठभूमिमा नेपाली कवितामा विभिन्न प्रवृत्तिको विकास भएको विचार शर्माले राखेको पाइन्छ । वि. सं. २००७ सालको घटना र परिवर्तनलाई हेर्ने शर्माको धारणा मार्क्सवादी धारणासँग मेल खा“दैन तथापि यस परिवर्तनका पृष्ठभूमिमा नेपाली कवितामा विभिन्न नयाँ प्रवृत्तिहरूको उदय र विस्तार भएको कुरा भने स्वीकार्य रहेको छ । ती प्रवृत्तिका सम्बन्धमा शर्मा भन्छन् :
अनेकौं राजनैतिक र आर्थिक दर्शनहरू फुक्का रूपले छलफल गर्न पाइने स्वतन्त्र र उन्मुक्त वातावरणमा साहित्यभित्र पनि अनेकौं वादहरू देखापरे । जर्मनेली विचारक कार्ल मार्क्सको साम्यवादी दर्शनलाई मानेर गरिएका सोभियत क्रान्ति र चिनिया क्रान्तिबाट प्रभावित हुनेहरूले मार्क्सवादलाई नेपाली साहित्यमा निम्त्याए र निर्धक्कसित सामन्ती शोषणका विरुद्धमा निम्नवर्गीय प्रगतिवादी साहित्यको निर्माण गर्न थाले । पुरानै परम्परामा चल्नेहरूको एउटा वर्ग छ“दै थियो । त्यो वर्ग पनि मौन बसेन । बरु मार्क्सवादचाहिँ ठाडो राजनीति हो र साहित्यलाई राजनीतिबाट जतिसक्तो टाढा राख्नु पर्छ भन्ने प्रगतिवादविरोधी वर्ग उभियो । यस वर्गले प्रयोगवाद र प्रतीकवादको फलाको उरालेर साहित्य साहित्यकै लागि हुनुपर्छ भन्यो । जीवनवादी साहित्यलाई रुचाउने, जनताको पक्ष लिने तर नारा र फलाकालाई मन नपराउने सा“चो प्रगतिवादी वर्गको विकास पनि यी उग्रपन्थीहरूको तीव्र संघर्षको बीचबाट हुँदैगएको देखिन्छ । यस वर्गले भाषा र शैलीको सौन्दर्यमा ध्यान दिएको छ ।
आधुनिक नेपाली कविताका विभिन्न धाराका सम्बन्धमा त्रिपाठीको यो वर्गीकरण विश्वविद्यालयीय पठनपाठनमा आधिकारिक पाठकै रूपमा लामो समयदेखि प्रयुक्त हुँदै आएकाले यसले नेपाली कविताका अध्येताहरूमाझ एक प्रकारको वैधता पनि पाएको छ भने मार्क्सवाद र प्रगतिवादका मूल मर्मप्रति सचेत नभएकाहरूका लागि यो सत्यजस्तै बन्न पुगेको पनि छ, तर वास्तविकता के हो भने त्रिपाठीको यस वर्गीकरणले मार्क्सवादसम्बद्ध विशुद्ध–स्वायत्त प्रगतिवादी धाराको उद्भव र विकासको तथ्यलाई उपेक्षा गरेको छ ।
शर्माका यी विचारमा सातसालपछि नेपाली साहित्य (र कविता)मा प्रगतिवादी नवीन प्रवृत्ति विकसित भएको स्पष्ट स्वीकारोक्ति छ भने त्यसका समानान्तरमा प्रगतिवादविरोधी स्रष्टाहरूबाट शुद्ध साहित्य, शुद्ध कला, शुद्ध कविताका नाममा प्रयोगवादी, प्रतीकवादी आधुनिक प्रवृत्ति र धाराको विकास भएको र अनि प्रगतिवादकै समानान्तरमा त्यसलाई नरुचाउने परम्परामार्गीहरूको अर्को धारा (जसलाई यथास्थितिवादी–परिष्कारवादी भन्न सकिन्छ) पनि सक्रिय नै रहेको खोलुवा पनि छ । अझ शर्मा विशुद्ध प्रगतिवादी स्रष्टाहरूलाई ‘नारावादी प्रगतिवादी’ अर्थात् साहित्यिक ‘उग्रपन्थी’को पगरीसमेत भिराउँदै प्रगतिवादविरोधी र ‘उग्रपन्थी प्रगतिवादी’का माझबाट कलासौन्दर्यको सुरक्षाप्रति सचेत ‘सच्चा प्रगतिवादी’ स्रष्टाहरूको प्रवृत्ति पनि विकसित भएको आफ्नैखाले तर्क अगाडि सार्दछन् । यस सन्दर्भमा उनी अगाडि भन्छन् : “साम्यवादी फलाकाहरूलाई नाङ्गो भाषामा प्रकट गरेर झ्याउरेले देवीप्रसाद किसानजस्ता लेखकहरूबाट उग्रताको धुरो छोयो । प्यासी र लक्ष्मण लोहनीतर्फ भने झ्याउरेले उग्रताबाट मुक्ति लिएको छ”(पृ. १४९) । शर्माको यस्तो टिप्पणीबाट उनले रचनाधर्मिताका सापेक्षित कलात्मक सीमालाई निहुँ बनाएर विचारमा प्रखर एवं उत्पीडित जनताप्रतिको वर्गीय प्रतिबद्धतामा खरा रहेका प्रगतिवादी स्रष्टाहरूको अवमूल्यन गर्ने र खास प्रगतिवादी धारालाई ओझेलमा पारेर मध्यमार्गी अवसरवादी धारलाई प्रगतिवादका स्थानमा स्थापित गर्ने प्रयास गरेको स्पष्टै अनुभव गर्न सकिन्छ । मार्क्सवादप्रतिका आफ्नै पूर्व सम्मतिको परित्याग गरेर यथास्थितिवादी समानान्तर साहित्यधारामा समाहित भइसकेका शर्माप्रभृति समीक्षकबाट यस्तो मूल्याङ्कन र टिप्पणी गरिनु कुनै अस्वाभाविक कुरा होइन नै तथापि यसबाट साक्ष्यका रूपमा लिन सकिने कुरा के हो भने वि. सं. २००७ सालपछि नेपाली कवितासाहित्यमा प्रगतिवादी धाराको स्वतन्त्र रूपमा विकास भएकै हो र शर्माले भनेजस्तै त्यसका विरोधमा प्रयोगवादीलगायत कथित कलावादी धाराको विकास पनि भएकै हो ।
वासुदेव त्रिपाठी (२०४८ र २०५३) पहिला नेपाली कविताको कालविभाजन गर्दै यसका क) प्राथमिक काल(वि. सं. १८२६ देखि १९४०सम्म), ख) माध्यमिक काल (१९४१ देखि १९७४ सम्म) र ग) आधुनिक काल(१९७५ देखि आजसम्म) गरी तीनकालखण्ड छुट्याउँछन् र त्यसपछि ती प्रत्येक कालमा देखापरेका विभिन्न धाराको उल्लेख गर्छन् । त्रिपाठीका अनुसार नेपाली कविताको प्राथमिक कालका पूर्वाद्र्ध (१८२६ देखि १८७२)मा वीरधारा तथा उत्तरार्ध (१८७२–७३देखि १९४०)मा धार्मिक–आध्यात्मिक धारा अनि माध्यमिक कालमा मुख्यतः श्रृङ्गारिक धारा सक्रिय रहेको छ । त्रिपाठी (२०५३ : ११६) वि.सं. १९७५ देखि आधुनिक नेपाली कविताको सुरुवात भएको दरो अडान राख्दछन् (जुन निकै विवादास्पदसमेत रहेको छ) र यस कालका नेपाली कविताको धारागत स्थितिका बारेमा यस्तो धारणा प्रस्तुत गर्छन् :
निचोडमा आधुनिक नेपाली कविताको पूर्वाद्र्ध(वि. संं १९७५–२०१६)का दुई मुख्य धाराहरू हुन्–(१)परिष्कारवादी धारा(वि. सं. १९७५–१९९०) र (२) स्वच्छन्दतावादी–प्रगतिवादी धारा(वि. सं. १९९१–२०१६) । उक्त स्वच्छन्दतावादी प्रगतिवादी धाराका दुई उपधारा छन्– (क) विशुद्ध स्वच्छन्दतावादी धारा (वि. सं. १९९१–२००३) र (ख) स्वच्छन्दतावादी–प्रगतिवादी धारा(वि. सं. २००४–२०१६) ।
आधुनिक नेपाली कविताका विभिन्न धाराका सम्बन्धमा त्रिपाठीको यो वर्गीकरण विश्वविद्यालयीय पठनपाठनमा आधिकारिक पाठकै रूपमा लामो समयदेखि प्रयुक्त हुँदै आएकाले यसले नेपाली कविताका अध्येताहरूमाझ एक प्रकारको वैधता पनि पाएको छ भने मार्क्सवाद र प्रगतिवादका मूल मर्मप्रति सचेत नभएकाहरूका लागि यो सत्यजस्तै बन्न पुगेको पनि छ, तर वास्तविकता के हो भने त्रिपाठीको यस वर्गीकरणले मार्क्सवादसम्बद्ध विशुद्ध–स्वायत्त प्रगतिवादी धाराको उद्भव र विकासको तथ्यलाई उपेक्षा गरेको छ । त्रिपाठीले वास्तवमा नेपालमा मार्क्सवादको औपचारिक प्रवेश र त्यसपछि विश्वमा भएका साम्यवादी क्रान्तिका प्रभाव अनि नेपालमै विकसित भएको निरङ्कुशताविरोधी क्रान्तिचेतका पृष्ठभूमिमा २००७ वरिपरिबाट उद्भूत विशुद्ध प्रगतिवादी कविताधारालाई आधार बनाएर यस किसिमको वर्गीकरण गरेका नभई तत्कालीन निरंकुशताविरोधी आन्दोलन र क्रान्तिमय बन्दै गएको नेपाली परिवेशबाट प्रभावित भई व्यङ्ग्यविद्रोही र पछिपछि निकै हदसम्म क्रान्तिकारी बन्न पुगेका स्वच्छन्दतावादी धाराका केन्द्रीय प्रतिभा लक्ष्मीप्रसाद देवकोटा र उनका प्रवृत्तिमा आएको परिवर्तनलाई मुख्य आधार बनाएर उक्त वर्गीकरण गरेका हुन् । के कुरामा शंका छैन भने आफ्नो समयको आन्दोलनमय एवं क्रान्तिमुखी परिवेश, सामाजिक असमानता र अन्यायविरुद्ध आफैमा बढ्दै गएको विद्रोही भावना, सातसालको परिवर्तनका सीमा वा बोक्रेपना अनि समाजवादी विचारधाराको सामीप्यजस्ता पृष्ठभूमिमा देवकोटा विद्रोही–क्रान्तिकारी बनेकै हुन् र प्रगतिवादका निकट पनि पुग्न खोजेकै हुन् तर उनी विशुद्ध प्रगतिवादीचाहिँ कहिल्यै बनेनन् । त्यसैले यदि नेपाली कवितासाहित्यमा विशुद्ध प्रगतिवादी धाराको अस्तित्त्व रहेको छ र त्यसको उद्भव २००७ वरिपरिबाट भयो भन्ने मान्ने हो भने (जुन यथार्थ हो) त्यस धाराको वर्गीकरणमा २००४मा देवकोटाका काव्यप्रवृत्तिमा आएको परिवर्तनलाई मुख्य वा केन्द्रीय आधार बनाउन मिल्दैन । निश्चय पनि २००७ तिर प्रगतिवादी कविताधाराको उद्भवमा पूर्ववर्ती रिमाल, सिद्धिचरणजस्ता क्रान्तिसचेत कविहरूलगायत देवकोटामा आएको उक्त परिवर्तनकै पनि महत्त्वपूर्ण प्रभाव रहेकै छ र त्यसलाई अवमूल्यन वा उपेक्षा गर्न मिल्दैन तथापि विशुद्ध प्रगतिवादी कविताधाराको कुरा गर्दा परिवर्तनमुखी, प्रगतिशील र विद्रोही–क्रान्तिकारी कवितासिर्जनाका पूर्ववर्ती विभिन्न प्रयासहरू(जुन प्रयासहरू प्राथमिक कालकै सन्त कवितासाहित्यदेखि माध्यमिक कालका छिटपुट प्रयास र विशेषतः धरणीधर, महानन्दप्रभृत्ति अन्याय–अत्याचारविरोधी सुधारवादी चेत राख्ने कविहरूका महत् प्रयास हुँदै सिद्धिचरण, गोपालप्रसाद रिमाल र लक्ष्मीप्रसाद देवकोटालगायतका कविहरूबाट भएको छ)–का पृष्ठभूमिमा २००७ सालतिरबाट र अझ सग्लो–सुपुष्ट रूपमा २००८बाट नेपाली कवितामा एउटा बेग्लै धाराका रूपमा प्रगतिवादी कविताको विकास भएको हो । २००८देखि २०१६सम्म सिङ्गो स्वच्छन्दतावादी कविताधाराका कलात्मक प्राप्तिका समकक्षमा उभ्याउनु पर्दा वा त्यससँग दा“ज्दा यसका कलात्मक सीमा टड्कारो देखिएलान् र छन् तापनि यसो भनेर आफ्नै यात्राको यस पहिलो चरणमा प्रगतिवादी नेपाली कविताले उत्पीडित जनताका पक्षमा जुन मुक्तिगीत गाउने प्रयास गर्यो, सदियौंदेखि उत्पीडत एवं अपहेलित जाति र वर्गका स्वप्न, आकाङ्क्षा र अनुभूतिलाई जसरी कवितात्मक वाणी दिने प्रयास गर्यो, जसरी अन्याय र उत्पीडनका कारक शक्तिहरूमाथि धावा बोल्ने काम गर्यो र एउटा सुन्दर भविष्यको क्षितिजतर्फ कविताका माध्यमबाट जसरी यसका पाठक र श्रमशील वर्गलाई उन्मुख बनाउने काम यसले गर्यो, त्यसको उपेक्षा गर्न मिल्दैन । त्यसलाई त केवल प्रगतिवादी कविताको मात्र नभई सिङ्गो नेपाली कविताको महत्त्वपूर्ण प्राप्ति मान्नु पर्दछ । प्रयोगवादी कविताको करिब एक दशकको हल्लीखल्लीले यसको अस्तित्त्वलाई केही ओझेलमा पारेजस्तो गरे पनि प्रयोगवादी कविता नेपाली पाठकमाझ टिक्न सकेन र प्रगतिवादी कविता जनताको लोकप्रिय कलात्मक वस्तु बनिरह्यो र आज यसै धाराले नेपाली कविताको प्रतिनिधित्त्व गरिरहेको छ । तर यस्तो जीवन्त सत्यलाई उपेक्षा गरेर त्रिपाठी स्वच्छन्दतावादभित्रको क्रान्तिकारी प्रवृत्ति(अथवा सिङ्गो स्वच्छन्दतावादभित्रको उत्तरवर्ती सहधारा)लाई नै त्यस समयको मूल धारा बताउँछन् र पछिका समयमा पनि यस धाराको स्वायत्त अस्तित्त्वको अभिलेखाङ्कन आवश्यक देख्दैनन् । निम्न भनाइबाट पनि उनको प्रगतिवाद र स्वच्छन्दतावादप्रतिको उक्त धारणा अझ स्पष्ट हुन्छ । उनी(२०४८ : ३४४) भन्छन् :
स्वच्छन्दतावादसँग हातेमालो गरेर नै नेपाली कविताका सन्दर्भमा प्रगतिवादले कवितासौन्दर्यको खास सिद्धि प्राप्त गरेको देखिन्छ । आधुनिक नेपाली कविताको यस स्वच्छन्दतावादी–प्रगतिवादी चरणमा प्रजातान्त्रिक–प्रगतिशील व्यापक मानवतावादी तात्पर्यमा नै प्रगतिवादी चेतनाको कवितात्मक प्रयोग भएको पाइन्छ ।
यसबाट स्पष्ट हुन्छ–त्रिपाठी सर्वहारा मानवतावादी आदर्शसहित साम्यवादी भविष्यदृष्टि लिएर नेपाली कवितामा उद्भूत भएको विशुद्ध प्रगतिवादी/मार्क्सवादी कविताधारालाई छुट्टै स्वायत्त धाराका रूपमा स्वीकार्न अनिच्छुक रहेका र कलात्मक सौन्दर्यको कुरा उठाई प्रगतिवादको कलात्मक सौन्दर्र्य स्वच्छन्दतावादसँग जोडिएर मात्र प्राप्त हुनसकेको निष्कर्ष दिन खोजिरहेका छन् । त्यतिमात्र होइन प्रगतिवादलाई ‘व्यापक’ (यथार्थमा पु“जीवादी) मानवतावादसँग जोडेर प्रगतिवादभित्रको वर्गीयता र सर्वहारामानवतावादी प्रवृत्तिलाई गौण बनाउने प्रयाससमेत गरेको स्पष्टै छ । समष्टिमा देवकोटाका नेतृत्त्वमा रहेको मूल स्वच्छन्दतावादी धाराभित्र २००४तिर मूलतः देवकोटाकै काव्यप्रवृत्तिमा आएको व्यङ्ग्यविद्रोही एवं क्रान्तिकारी प्रवृत्तिगत परिवर्तनलाई नै धुरी बनाएर त्रिपाठी त्यसलाई प्रगतिवादका रूपमा स्थापित गर्न चाहन्छन्–चाहेका छन् । मार्क्सवादसम्बद्ध विशुद्ध प्रगतिवादले उनका व्याख्यामा छुट्टै हैसियत प्राप्त गर्दैन ।
मोहनराज शर्मा (२०४९)ले नेपाली साहित्यको संक्षिप्त इतिहास नामक पुस्तकमा नेपाली कविताको कालविभाजन गरिसकेपछि नेपाली कवितामा देखापरेका विभिन्न धाराहरूको विवेचना नभई उल्लेख/सङ्केत गरेका छन् । उक्त पुस्तक(पृ. २६)मा शर्माले नेपाली कविताका पा“च कालको उल्लेख गर्दै (१) आदिकाल (१८०१–१८७२)मा वीरधारा, (२) पूर्वमध्यकाल(१८७३–१९४३९)मा भक्तिधारा र (३) उत्तरमध्यकाल (१९४०–१९७४)मा श्रृङ्गारधारा सक्रिय रहेको उल्लेख गरेका छन् भने वि. सं. १९७५ देखि २००७ सम्मको समयलाई (४) प्राक् आधुनिक वा नव्यकालका रूपमा लिई यस अवधिको समष्टि प्रवृत्ति आदर्शवाद रहेको विचार व्यक्त गर्दै व्यष्टिमा भने यस युगका पूर्वाद्र्धमा माध्यमिक कालका निकटवर्ती परिष्कारवादी धारा र उत्तराद्र्धमा आधुनिक कालका निकटवर्ती स्वच्छन्दतावादी धारा विकसित भएको सङ्केत गरेका छन् । शर्माले २००८ पछि (यता)को अवधिलाई आधुनिक कालका रूपमा लिई यस कालका कवितामा कुनै एक वाद र विचार–सम्प्रदायको मात्र प्रभाव नपरी अनेक अन्तर्राष्ट्रिय(विशेषतः पश्चिमी) व्यक्तित्त्व र तिनका विचारको प्रभाव परेको बताउँदै परिणामस्वरूप आधुनिक कवितालाई विभिन्न आधारमा वर्गीकरण गर्न सकिने धारणा व्यक्त गरेका छन् । त्यस क्रममा उनी आधुनिक नेपाली कवितालाई प्रयोगवादी कविता, प्रगतिवादी कविता, प्रतीकवादी कविता, नयाँ कविता, यौनवादी कविता, अस्तित्त्ववादी कविता, विसङ्गतिवादी कविता, आयामेली कविता, राल्फाली कवितालगायतका विभिन्न कोटिमा वर्गीकरण गर्न सकिने धारणा अगाडि सारेका छन् (पृ.५६) । प्रगतिवादी धाराका सम्बन्धमा अत्यन्त सङ्क्षिप्त धारणा राख्दै उनी भन्छन् : “सामाजिक कुरीति र बेथितिउपर कठोर प्रहार गर्दै आर्थिक शोषण र असमानताका विरुद्ध आवाज उठाएर सामाजिक यथार्थलाई अभिव्यक्ति दिने प्रगतिवादी कविताहरूको पनि एउटा वर्ग बनाउन सकिन्छ (पृ. ५८) ।
यसरी नेपाली कवितामा विकसित विभिन्न धाराहरूका सम्बन्धमा शर्माका भनाइहरू अत्यन्त सङ्क्षेपमा व्यक्त भएका छन् तापनि प्रगतिवाद आधुनिक नेपाली कविताको एउटा प्रतिनिधि धारा हो भन्ने कुराको साक्ष्य उनका उक्त भनाइहरूमा राम्रैसँग प्रकट भएको छ ।
अङ्ग्रेजीका प्राध्यापक एवं नेपाली साहित्यका स्रष्टा–समालोचक अभि सुवेदीका नेपाली कविताबारे धेरै ठाउँमा प्रस्तुत विचार पनि ध्यानदिनयोग्य छन् । कृष्ण प्रसाईं (२०४८)सम्पादित नेपाली समसामयिक कविताहरूको समीक्षात्मक भूमिका लेख्ने क्रममा सुवेदी(पृ. १०)ले नेपाली कवितामा चिन्तनसम्बन्धी आन्दोलनका मूलतः तीन लहर ठम्याएका छन् : (१) भानुभक्तको रामायण प्रकाशन, (२) दोस्रो आधुनिक कालमा देखापर्ने आधुनिकताको तात्त्विक परिचायक बोकेको आयामेली आन्दोलन र (३) तेस्रो वर्तमान(सम्पादन गर्न लागिएको सम्बद्ध कृतिको समय) काल अर्थात् आधुनिकोत्तर समसामयिक कालको चिन्तन र रचनाधर्मिता । यसरी सुवेदीका आलोचकीय दृष्टिमा नेपाली कविताको आफ्नो इतिहासमा उक्त तीन काल र त्यससँग सम्बद्ध चिन्तन र रचनाधर्मिता नै सर्वाधिक महत्त्वपूर्ण ठहरिएको स्पष्ट हुन्छ । नेपाली कविताले अभिव्यक्ति–सामर्थ्यका साथै कविताको सौन्दर्यसामर्थ्य प्राप्त गर्न नेपाली भाषाकै सामर्थ्य–विकास आवश्यक थियो भन्ने कुरामा दुईमत छैन र यस दृष्टिले भानुभक्तीय रामायणको रचना र प्रकाशनलगायत नेपाली भाषाको साहित्यिक सम्प्रेषण–सामर्थ्यको अभिवृद्धिका लागि गरिएका र भएका अन्य सबै सिर्जनात्मक प्रयासहरू उत्तिकै महत्त्वपूर्ण रहेको कुरामा पनि शंका छैन तर त्यसपछिको र खासगरी रिमालेली क्रान्तिचेतनाको उच्च गद्यकवितात्मक सौन्दर्य–अभिव्यञ्जना र त्यसपछि क्रमशः छिप्पिंदै गएको त्यही क्रान्तिचेतमा मार्क्सवादी युगपरिवर्तनकारी चेतनाको समावेशनपछि (सौन्दर्यचिन्तन एवं सिर्जनात्मक दुवै स्तरमा) विकसित समाजवादी यथार्थवादी (प्रगतिवादी) साहित्यिक आन्दोलन (जसको तीव्र प्रभाव समकालीन रोमाण्टिक कविता–आन्दोलनमा समेत पर्नगयो)–को महत्त्व कम छ भन्नु वा महत्त्व नै नदेख्नु आलोचकीय धर्म हो भन्न कसरी सकिएला ? यसै धर्मको सीमा सुवेदीका उक्त चिन्तन र विश्लेषणमा पाइन्छ । उनी नेपाली कविताले नेपाली भाषामा कलात्मक अभिव्यक्तिको सामर्थ्य प्राप्त गरिसकेपछिका र त्यस स्थितिले परिपक्वता/प्रौढता प्राप्त गरिसकेपछिका अवस्थामा नेपाली कवितामा आधुनिकतावादी(अर्थात् ‘मोडर्निस्ट’ जुन संज्ञा सुवेदी प्रयोगवादी वा आयामेली कवितालाई दिन्छन्) कविता(र तत्सम्बन्धी सौन्दर्यचिन्तन)लाई नै सबभन्दा ठूलो घटना वा लहर मान्छन् । यसपछि अर्थात् आयामेली कविताको शेष वा अवान्तर स्थितिपछि सुवेदी वर्तमानको समसामयिक कविता र यस क्रममा गोचर हुने समसामयिक कविताचिन्तन र रचनाधर्मितालाई अर्को विशिष्ट महत्त्वको परिघटना वा उनकै शब्दमा ‘लहर’ मान्दछन् । यस समसामयिक कविताका सौन्दर्यसामर्थ्य र रचनापद्धतिका वैशिष्ट्य र विशेषतः पूर्ववर्ती (उनकै शब्दमा) ‘मोडर्निस्ट’ कवितासँगका यसका पार्थक्यको सूक्ष्म मीमांसा पनि उनी प्रस्तुत गर्दछन् जसलाई स्वीकार्न त्यति आपत्ति छैन तर विचारणीय कुरा यहाँ पनि के छ भने अन्य समानान्तर समीक्षकले झैं सुवेदीले पनि माकर््सवादी वा प्रगतिवादी कविताधाराको सशक्त उपस्थितिबाट बनेको सिङ्गो समसामयिक कविताबाट प्रगतिवादी कविता र त्यसले सिङ्गो समसामयिक नेपाली कवितामा पारिरहेको चिन्तनगत एवं सौन्दर्यात्मक प्रभावको पूर्णतः उपेक्षा गर्छन् र ईश्वरवल्लभ वा विमल निभा अनि सरुभक्त अथवा पूर्ण विरामलाई एउटै घानमा हालेर समकालीन कविताको प्रवृत्ति र पहिचान औंल्याउँछन् । समकालीनताभित्रै सक्रिय सरुभक्त र पूर्ण विराम वा ईश्वर वल्लभ र विमल निभाका प्रवृत्तिमा समकालीनताका नाताले युगसन्दर्भ एउटै होलान् तर तत्त्वतः ती एकै धारका होइनन् । युगलाई हेर्ने, यसका अतर्विरोधको भेदन गर्ने र भविष्य–चियाउने कुरामा समकालीनताको ठूलो हुलमा भिन्न–भिन्न प्रवृत्ति छन् र भिन्न–भिन्न धारा छन् । तिनलाई पृथक् गर्न नसक्ता (र खासमा नचाहँदा) समकालीन कविताबारे सुवेदीकै निष्कर्षमा पुगिने अवस्था रहनु अस्वाभाविक होइन । सुवेदीकै सम्पादनमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित समकालीन नेपाली कविता(२०५५)मा पनि सुवेदीको यस्तै विश्लेषण प्रस्तुत छ । समानान्तर धाराका धेरैजसो समीक्षकहरूले सचेत रूपमै आज यसो गरिरहेका छन् र विगत समयको प्रगतिवादी कविताको अर्थपूर्ण अस्तित्त्वलाई निषेध गर्नुका साथै वर्तमानमा अर्थात् समकालीनताभित्रै पनि दह्रो उपस्थिति जनाउँदै कविताविधालाई नै अर्थपूर्ण बनाइरहेको यस प्रगतिवादी कवितालाई विस्थापित गर्ने (?)प्रयास गरिरहेका देखिन्छन् ।
मार्क्सवादी अथवा प्रगतिवादी कविताधाराप्रति उपर्युक्त प्रकारको चिन्तन र व्यवहारमा समानान्तर साहित्यका समीक्षकका व्यक्तिगत प्रयासमात्र सक्रिय छैनन् अपितु संस्थागत जिम्मेवारी बोकाएर नेपाली साहित्यलाई कुलीनताको फेरोमा वा अर्को प्रकारले भन्दा राजकीय सत्ताको चरित्र र हितका रक्षामा समर्पित गराउन खटाइएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सक्रियता पनि संस्थागत रूपमै देखापरेको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित चाहे आधुनिक नेपाली कविता(२०२८) वा आजका नेपाली कविता(२०५०) होस्, चाहे पच्चीस वर्षका नेपाली कविता(२०३९) वा समकालीन नेपाली कविता(२०५५) होस्, ती सबैमा प्रगतिवादी कविताप्रतिको निषेधवादी दृष्टि राम्रैसँग प्रकट रहेको छ । त्यसलाई साहित्य, साहित्यकार र साहित्यिक संस्थाको वर्गीय चरित्रकै सबल परिचायक मान्नु पर्छ भन्दा कुनै अत्युक्ति हुने देखिंदैन ।
प्रज्ञा प्रतिष्ठानका त्यस्तै प्रयासमध्ये सबभन्दा पछिल्लो कृत्यका रूपमा यसको पछिल्लो प्रकाशन खगेन्द्र लुइ“टेलकृत कवितासिद्धान्त र नेपाली कविताको इतिहास (२०६०) नामक कृति आएको छ । यो कृति प्रज्ञा प्रतिष्ठानको आफ्नो वार्षिक परियोजनाअन्तर्गत प्रकाशित कृति हो । यसभित्रका विचार लेखकका आफ्ना हुँदाहुँदै र त्यसप्रति लेखकको जवाफदेही हुँदाहुँदै पनि यो प्रतिष्ठानको आफ्नो परियोजनाको परिणाम भएकाले त्यसप्रति प्रतिष्ठानको संस्थागत दायित्त्व पनि रहन्छ नै भन्ने मान्यतालाई आधार बनाएर यहाँ यसभित्र प्रस्तुत विचारको समीक्षा गरिएको छ ।
उक्त कृतिमा कवितासिद्धान्तको चर्चा गरिसकेपछि नेपाली कविताको धारागत इतिहासको रेखाङ्कन र विवेचना गरिएको छ । त्यस क्रममा नेपाली कविताको प्राथमिक काल(सुरुदेखि १९४०सम्म)का पूर्वाद्र्ध चरणमा वीरधारा र उत्तरार्ध चरणमा भक्ति धारा (पृ.१६९), माध्यमिक काल(१९४१देख १९९१सम्म)का पूर्वाद्र्धमा श्रृङ्गारिक धारा(१९४१–१९७४) तथा उत्तरार्धमा शास्त्रीयतावादी धारा (१९७५–१९९१) रहेको उल्लेख गरिएको छ भने वि. सं. १९९२यताको अवधिलाई आधुनिक काल मानेर त्यस कालका कविताधाराको उल्लेख गर्ने क्रममा क्रमशः १) स्वच्छन्दतावादी धारा(१९९१–२०१६), २) प्रयोगवादी धारा(२०१७–२०३५) र ३) समसामयिक धारा(२०३६ यता) भनी जम्मा तीनवटा धाराको उल्लेख गर्दै(पृ. २३८) क्रमशः तिनका प्रवृत्ति र प्रमुख कविका कवित्त्वको परिचय दिइएको छ । यसरी वि.सं. १९९१ यताको अवधिका नेपाली कवितामा पाइने विभिन्न धाराको उल्लेख र विवेचना गर्दा नेपाली कवितामा प्रगतिवादी धारा एउटा छुट्टै र स्वायत्त धाराका रूपमा रहेको दह्रो यथार्थलाई यस कृतिमा पनि लेखकले पूरै निषेध गरेका छन् । स्वच्छन्दतावादी धारा र त्यसका प्रवृत्तिको चर्चा गर्ने क्रममा त्यसै धाराभित्र प्रगतिवादी कविता लेखनबारे आफैमा विरोधाभाषी धारणाको उल्लेख गर्ने काम भने भएको छ जसले नेपाली प्रगतिवादी कविताबारे केवल भ्रममात्र सिर्जना गर्न सघाउने काम गरेको छ । स्वच्छन्दतावादी धाराको चर्चा गर्दै भनिएको छ : “यसै क्रममा स्वच्छन्दतावादभित्रै प्रगतिवादी कविता लेखिन थाल्छन् ”(पृ. २४१) । फेरि अगाडि भनिएको छ :
स्वच्छन्दतावाद र प्रगतिवाद परस्पर विरोधी भएकाले ती दुवै एकै ठाउँमा आएको नभई स्वच्छन्दतावादी वा अन्य कविहरूका कतिपय कवितामा छुट्टै तथा स्वच्छन्द ढङ्गले प्रगतिको कामना गरिएको पाइन्छ । यसै सन्दर्भमा नेपालीमा प्रगतिवादलाई स्वच्छन्दतावादसँग जोडेर स्वच्छन्दतावादी–प्रगतिवादी भन्ने गरिएको पाइन्छ(द्रष्टव्य छ वासुदेव त्रिपाठीको विचार–ले.), तर यी दुई एकीकृत रूपमा आउने वाद होइनन्”(पृ. २४१) ।
यसो भनेर लेखकले प्रगतिवाद स्वच्छन्दतावादसँग नजोडिएको, त्यो पृथक् रहेको विचार व्यक्त गरेर त्रिपाठीप्रभृत्ति समीक्षकका धराणाको खण्डन गर्न खोजेजस्तो देखाउने प्रयास गरेका छन् तर वास्तविकता त्यस्तो नभई यहाँ त्रिपाठी–विरोधको भ्रममात्र दिन खोजिएको प्रस्टै छ र त्यो कुरा माथिको पहिलो उद्धरणबाटै स्पष्ट हुन्छ जहाँ उनले प्रस्ट शब्दमा “स्वच्छन्दतावादभित्रै प्रगतिवादी कविता लेखिन थाल्छन्” भनेका छन् । यसपछि लगत्तै तल्लो अनुच्छेदमा उनी स्वच्छन्दतावादकै थप परिचय दिने क्रममा भन्छन् : “….यसरी १९९१ सालमा प्रारम्भ भएको स्वच्छन्दतावादी धारा २००३/२००४ सालसम्म शुद्ध स्वच्छन्दतावादी धाराका रूपमा र त्यसपछि प्रगतिवादी धाराका रूपमा विकसित हुँदै जान्छ र २०१६ सालसम्म नेपाली कविताको मूल प्रवाहका रूपमा रहन्छ”(पृ. २४१) ।
यस भनाइलाई अलिक सूक्ष्मतापूर्वक हेर्दा माथिको कुरा प्रस्ट हुन्छ । लेखकले समष्टिमा १९९१देखि २०१६सम्मको समय स्वच्छन्दतावादी धाराको रहेको र यस समयमा यो नेपाली कविताको मूल प्रवाहका रूपमा रहेको कुरा बताइसकेपछि त्यसभित्र २००४देखि २०१६सम्म प्रगतिवादी धारा स्वच्छन्दतावादविरोधी बेग्लै धाराका रूपमा अस्तित्त्ववान् रहेको कुरा कसरी स्थापित हुन्छ ? अझ माथिको उद्धरण र यसअघि प्रस्तुत त्रिपाठीको विश्लेषणलाई दा“जेर हेरौं त ⁄ त्रिपाठीले पनि विशुद्ध स्वच्छन्दतावाद १९९१देखि २००३सम्म सक्रिय रहेको र त्यसपछि त्यसले प्रगतिवादी प्रवृत्तिलाई आत्मसात् गर्न पुगी २००४देखि २०१६सम्म स्वच्छन्दतावादी–प्रगतिवादी धाराको निर्माण भएको बताउँदै समष्टिमा १९९१देखि २०१६सम्म स्वच्छन्दतावादी धाराकै केन्द्रीयता कायम रहेको बताएका छन् । त्रिपाठीको यो निष्कर्ष र लुइँटेलको उक्त निष्कर्षमा तात्त्विक भिन्नता कहाँ छ त ? लुइ“टेलको उक्त भनाइले पनि प्रगतिवाद पृथक् र स्वायत्त धाराका रूपमा नभई २००४पछि स्वच्छन्दतावादी धारा नै प्रगतिवादका रूपमा विकसित भएको तर समष्टिमा त्यो मूल स्वच्छन्दतावादी वृत्तभन्दा बाहिर नरहेको निष्कर्षलाई नै स्थापित गर्दछ किनभने सुरुमै स्वच्छन्दतावादको मूल समयसीमा (१९९१–२०१६) तोकेर अनि प्रगतिवादलाई त्यसै समयभित्र सीमित र त्यसकै अर्थात् स्वच्छन्दतावादकै विकसित अर्को रूप रहेको मत स्थापित गर्न खोजिरहेको स्पष्टै छ । त्यसैले शब्द र प्रस्तुतिमा केही भिन्नता देखिए पनि प्रगतिवादी कविताधाराबारे त्रिपाठीको ‘स्कुल’भन्दा फरक ‘स्कुल’को मत यहाँ पनि छैन । ‘आधुनिक’ र ‘पूर्वाग्रहरहित तटस्थ’ दृष्टिकोण अँगालेर कृतिको रचना गरिएको तर्क दिने विवेच्य कृतिका लेखकले नेपाली कविताका मुख्य धाराहरूको इतिहास प्रस्तुत गर्ने ‘महत्’ कार्य गर्दा नेपाली कविताका पाठक र नेपाली समाजलाई गम्भीर रूपले प्रभावित र उद्वेलित पार्ने र यहाँको उत्पीडनकारी राज्यसंरचनासमेतलाई ठूलो चुनौती बन्ने हैसियत राख्ने र राख्नेमात्र नभई बनेरै प्रस्तुत हुने प्रगतिवादी नेपाली कवितालाई इतिहासमा उसका स्थानबाट निषेध गर्ने यो प्रवृत्ति तटस्थ प्राज्ञिक प्रवृत्ति त हुँदै होइन, साहित्य र साहित्यचिन्तनसमेत वर्गीय समाजमा वर्गीय प्रकारको हुन्छ र त्यो निवर्गीय हुनु सम्भव छैन भन्ने कुराको सटिक उदाहरणचाहिँ यो पक्कै हो ।
कृतिका लेखकले तर्क गर्ने ठाउँ होला– नेपाली कविताका इतिहासमा पुराना पुस्ताका युद्धप्रसाद मिश्र, केवलपुरे किसान, गोकुलप्रसाद जोशी, आनन्ददेव भट्ट, टी. आर. विश्वकर्मा, मोदनाथ प्रश्रित, रामचन्द्र भट्टराई जस्ता कवि र नयाँ पुस्ताका विमल निभा, पूर्ण विराम, विक्रम सुब्बा र सुकुम शर्मासम्मलाई त समेटिएकै छ र तिनको चर्चा त गरिएकै छ ।
केही प्रगतिवादी कविहरूको यो चर्चासन्दर्भ पनि आफैमा विरोधाभाषी र सत्यलाई भ्रमपूर्ण बनाउने किसिमको छ । त्यसो किनभने अघिल्लो पुस्ताका गोकुल जोशी, टी. आर. विश्वकर्मा, केवलपुरे किसान हुँदै रामचन्द्र भट्टराईसम्मका जति पनि प्रगतिवादी कविको समावेशन त्यहाँ छ, तिनको चर्चा प्रगतिवादी धाराका कविका रूपमा नभई शीर्षकमा स्वच्छन्दतावादी धारा भनेर त्यसअन्तर्गत सबै स्वच्छन्दतावादी कविहरूस“गै गरिएको छ । एउटा धाराका कविलाई अर्कै धाराका कविका रूपमा उभ्याउनुलाई ज्ञानको सीमा मान्ने कि, पूर्वाग्रह मान्ने कि, हेलचेक्र्याइ“ मान्ने ? लेखकले जे लेखिदिए पनि त्यसलाई पाठकले सत्यका रूपमा स्वीकार्न बाध्य बनाउने यो कस्तो प्राज्ञिक अभ्यास हो ? गोकुल जोशी, केवलपुरे किसान, टी. आर. विश्वकर्मा, मोहनविक्रम सिंह, आनन्ददेव भट्ट आदिलाई स्वच्छन्दतावादी कविका रूपमा प्रस्तुत गरेर तिनका कवित्त्वको मूल्याङ्कन गर्दा कविप्रति समीक्षकको कस्तो न्याय होला ? झण्डै यस्तै स्थिति समसामयिक कविहरूको चर्चाका सन्दर्भमा देखापरेको छ । समसामयिकताको समयसीमा कति हो र त्यसमा पनि त्यो आफैमा धारा नै हो कि होइन ? यो प्रश्न महत्त्वपूर्ण रहेको छ तर प्रायःजसो समीक्षकले यसको उपेक्षा गरी २०३० वा २०३५ यताका सबै धारा र प्रवृत्तिका कवितालाई एउटै घानमा हालेर त्यसलाई समसामयिक कविताधाराको नाउँ दिने काम गर्नाले ठूलो खजमज अथवा भनौं क्वा“टी–परिस्थिति सिर्जना भएको छ । यसो गर्नाले सरुभक्त र पूर्णविराम, ईश्वर वल्लभ र विमल निभा अनि इन्दिरा प्रसाईं र कुन्ता शर्मालाई एउटै धाराका कवि मान्नु पर्ने विडम्बना हाम्राअगाडि तेर्सिन्छ, तेर्सिएको छ । अभि सुवेदीदेखि खगेन्द्र लुइ“टेलका उक्त कृतिसम्म यही स्थिति रहेको छ । लुइ“टेलको उक्त कृतिमा समसामयिकतालाई समय नभई धाराका रूपमा ग्रहण गर्नाले परस्पर भिन्न र विरोधी प्रवृत्तिका कविलाई एउटै धाराका कविका रूपमा उभ्याइएको छ जसले गर्दा प्रगतिवादी कविहरू आफ्नो प्रगतिवादी विशिष्ट धारागत पहिचान लिएर त्यहाँ आएका छैनन् । व्यक्तिको चर्चा गर्दा तिनमा पाइने प्रगतिवादी प्रवृत्तिको चर्चाले कविताको धारागत इतिहासको सन्दर्भलाई कुनै सघोट पुगेको छैन बरु धारागत इतिहासचाहिँ निषिद्ध नै हुनपुगेको छ । यो स्थिति समसामयिकतालाई धाराका रूपमा स्वीकार गर्नु र यस समयका खास र स्थापित धारालाई पृथक् रूपमा स्वीकार गर्न नचाहनुको परिणति नै हो । समसामयिक अवधिको सिङ्गो नेपाली कवितालाई धारागत आधारमा छुट्याउन सकिन्छ र त्यसमा पनि प्रगतिवादी कविता आज आफ्नो विशिष्ट दार्शनिक एवं सिर्जन–कलात्मक पहिचान लिएर अग्रगामी यात्रामा अघि बढिरहेकै छ र सिङ्गो समकालीनताभित्र आफ्नो दह्रो उपस्थिति जनाएर यथास्थिति र त्यसका पोषक वर्ग, संयन्त्र र चिन्तनलाई चुनौती दिइरहेको छ । त्यसैले यस यथार्थलाई उपेक्षा गरेर वा निषेध गरेर (जुन गर्न खोजेर पनि सम्भव छैन) गरिने कुनै मूल्याङ्कन आफैमा तटस्थ, वस्तुवादी एवं प्राज्ञिक प्रकारको हुनसक्छ भन्ने कुरामा विश्वास गर्न सकिन्न । यसरी मूल्याङ्कन गर्दा खास–खास धारामा उल्लेख्य योगदान दिने स्थापित प्रतिभाहरू चर्चामा परेका छैनन् भने कति स्थापित प्रतिभाको नाउँ सूचीकृतसमेत गरिएको छैन ।
३. प्रगतिवादी नेपाली कविताधाराको आरम्भ, विकास र वर्तमानता तथ्यको सङ्क्षिप्त अवलोकन
प्रगतिवाद मार्क्सवादी दर्शनमा आधारित साहित्यिक चिन्तनविशेष र त्यसको सिर्जनात्मक अभिव्यक्तिसमेत हो भन्ने कुरालाई यहाँ दोहोर्याइरहन नपर्ला । बीसौं शताब्दीका आरम्भतिरबाटै विश्वव्यापी उपस्थिति एवं पहिचान प्राप्त गरेको यो प्रगतिवादी साहित्य वर्गीय सौन्दर्यचिन्तनमा आधारित छ र यसले समाजवादी–साम्यवादी भविष्यदृष्टि अँगालेर आफूलाई कुनै पनि प्रकारको सामाजिक संरचनामा दह्रो ढङ्गले प्रस्तुत गर्दै आएको छ । साम्यवादी स्वप्न र चिन्तनसँग सम्बद्ध भए पनि यो आदर्शवादी नभई युगको यथार्थ र त्यस युगमा विद्यमान अन्तर्विरोधहरूको वस्तुसम्मत वैज्ञानिक विश्लेषण–अवलोकनको पद्धति र त्यसका पृष्ठभूमिमा निर्मित हुने साहित्यिक कलारूपसमेत हो । त्यसैले यो कही“ र कुनै पनि भूमिमा कुरूपता, विद्रूपता एवं यथास्थितिका विपक्षमा उभिन्छ र सधैं सुन्दर तथा अग्रगमनका पक्षमा प्रस्तुत हुन्छ ।
नेपाली साहित्यमा प्रगतिवादी कविताधाराको आरम्भ कसरी भयो भन्ने विषयमा यहाँ लामो चर्चा सम्भव छैन । यस विषयमा जगदीशचन्द्र भण्डारी (२०५५) तथा ताराकान्त पाण्डेय(२०५६)का प्रगतिवादी नेपाली कवितासँग सम्बद्ध विद्यावारिधि शोधप्रबन्धहरूको अध्ययन बढी उपयोगी हुनेछ । यिनका निष्कर्षलाई सङ्क्षेपमा राख्न खोज्दा भण्डारी(२०५५)ले प्रगतिवादी नेपाली कविताको आरम्भ गोपालप्रसाद रिमालबाट भएको र रिमाल नै पहिला प्रगतिवादी कवि रहेको निष्कर्ष दिएका छन् भने पाण्डेयले रिमालबाट प्रगतिवादी कविताको उद्भवले अत्यन्त महत्त्वपूर्ण पृष्ठभूमि प्राप्त गरेको र श्यमाप्रसाद शर्मा, ह्दयचन्द्रसिंह प्रधान आदिका फुटकर प्रयास हुँदै कृष्णचन्द्रसिंह प्रधानको प्रगतिवादको घोषणापत्रसहित आएको भञ्ज्याङ्निरै (२००८) बाटै औपचारिक रूपमा प्रगतिवादी कविताधाराको आरम्भ भएको निष्कर्ष प्रस्तुत गरेका छन् । रिमालमा क्रान्तिचेतको सर्वोच्चता(त्रिपाठी, २०३२ : १७२) पाइए पनि मार्क्सवादी प्रतिबद्धताका सन्दर्भमा अस्पष्टताको स्थिति र निकै मात्रामा रोमाण्टिक आदर्शवादी चेतको प्रबलतासमेत रहेका परिप्रेक्ष्यमा रिमाललाई विशुद्ध प्रगतिवादी कविका रूपमा स्वीकार्ने–नस्वीकार्ने कुरामा मतमतान्तरहरू रहनु स्वाभाविक छ तापनि मकै पर्वबाट उद्भूत निरङ्कुश यथास्थितिविरोधी चेत धरणीधरको ‘नयपाली ठिटो’ (वि. सं १९७७) हुँदै ‘आमाको सपना’(२०००)मा उत्कर्षमा पुगेको कुरा हाम्रो इतिहासमा अङ्कित भइसकेको तथ्य हो भने विक्रमको यस शताब्दीका आरम्भतिरबाटै रिमाल र अन्य स्वतन्त्रताप्रेमी एवं परिवर्तनकामी कविहरूका सिर्जनात्मक प्रयास अनि सोभियत तथा चिनियाँ क्रान्तिका प्रभाव र कम्युनिस्ट पार्टीको स्थापना(२००६)स“गै नेपालमा भित्रिएको मार्क्सवादी–साम्यवादी विचारधाराका पृष्ठभूमिमा २००७ वरिपरिबाट नै नेपाली कवितामा प्रगतिवादी प्रवृत्तिले एउटा स्वायत्त धाराको अस्तित्त्व र हैसियत प्राप्त गरेको तथ्यलाई धेरैजसो समीक्षक–चिन्तकहरूले स्वीकार गरेका छन् ।
उक्त सन्दर्भमा ऋषिराज बराल (२०५२ : ५०५) भन्छन् :
प्रगतिवादी नेपाली काव्यिक आन्दोलनको मूल चरित्र वर्गसंघर्षका विविध रूपहरूसित कवि र कविताको तादात्म्यता हो र सामन्तवाद, साम्राज्यवाद र पु“जीवादी अमानवीयता र शोषणविरुद्ध जनमुक्ति र सर्वहारा मानवताको आह्वान यसको मूल स्वर हो । २००७ सालपछि यो विभिन्न मोड र गतिका साथ क्रियाशील भएर वर्तमानसम्म आइपुगेको छ । खासगरी २०३६पछि प्रगतिवादी काव्यआन्दोलनले वस्तु र रूप दुवैमा उच्चता कायम गरेको छ ।
यसैगरी नरेन्द्र चापागाईं(२०५२ : १४९) भन्छन् :
सातसालको जनक्रान्ति सफल भएपछि र प्रजातन्त्रको उदय भएपछि केही मात्रामा कविस्रष्टाहरूले आफ्ना विद्रोहात्मक तथा क्रान्तिकारी भावचेतनाहरू अभिभव्यक्त गर्न थाल्ने क्रमस“गै २००८सालदेखि नेपाली कविताको मूलधारा प्रगतिवादी बन्न पुग्यो । यसोभन्दै सातसालसम्म मूल धाराका रूपमा प्रवाहित हुँदै आएको क्रान्तिकारी स्वच्छन्दतावादी धारा (जसलाई त्रिपाठीप्रभृतिले स्वच्छन्दतावादी प्रगतिवादी भनेका छन् –ले.) पूर्ण रूपले बन्द भइहाल्यो भन्न खोजेको होइन । यो धारा पनि सहधाराका रूपमा चलिरह्यो ।
चापागाईंको उक्त भनाइ र अन्य समीक्षकका माथि उद्धृत भनाइमा तात्त्विक भिन्नता छ । अरूले २००४पछि (यसरी २००४पछि भन्नुका पछाडि देवकोटाले व्यङ्ग्यविद्रोही कविता लेख्न यही समयदेखि सुरु गरेको सन्दर्भलाई उनीहरूले आधार बनाएका छन्, कुनै प्रस्ट मार्क्सवादी परिघटनासन्दर्भ त्यहाँ छैन) विशुद्ध स्वच्छन्दतावादी धाराभित्रै स्वच्छन्दतावादी प्रगतिवादी धाराको विकास भएको स्थापित गर्न खोजेका छन् भने चापागाईंले स्वच्छन्दतावादभित्रको क्रान्तिकारी धारा अर्थात् स्वच्छन्दतावादी क्रान्तिकारी(अथवा त्रिपाठीका शब्दमा स्वच्छन्दतावादी प्रगतिवादी) धारा सहधारा रूपमा कायम रहँदै गरेका परिप्रेक्ष्यमा २००७बाट विशुद्ध प्रगतिवादी धाराको विकास स्वायत्त रूपमा भएको र त्यही त्यतिबेला(अर्थात् २००७–२०१६)को मूल धारा बन्न पुगेको धारणा अघि सारेका छन् । वास्तवमा सुल्टो कुरा यही हो तर समानान्तर धाराका स्थापित समीक्षकहरूले यस सुल्टो कुरालाई उल्टो बनाएर स्वच्छन्दतावादभित्रै प्रगतिवादलाई गर्भस्थ गराई यसको धारागत स्वायत्तताको इतिहासलाई निषेध गर्ने प्रयास गरेका छन् । पूर्ववर्ती अग्रज समीक्षक हुँदै लुइ“टेलसम्म आइपुग्दा यही प्रयासले निरन्तरता पाएको कुरा माथिका तथ्यले बताइरहेका छन् । अझ रमेश श्रेष्ठ र अभि सुवेदी प्रभृत्ति एकथरी समीक्षकले त सहधारा वा अन्तर्धाराको सन्दर्भसमेतलाई पन्छाएर प्रगतिवादी धाराको स्वायत्त इतिहासलाई पूर्णतः निषेध गर्ने प्रयास गरेको पनि स्पष्टै देखिएको छ ।
प्रगतिवादी नेपाली कविताको ऐतिहासिक सिंहावलोकन गर्ने क्रममा रविलाल अधिकारी (२०४४ : ६२–६३)ले २००७ साल वरिपरिबाट मुक्ति, स्वातन्त्र्य एवं जागरणमुखी विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रियघटनासन्दर्भहरू, नेपालमै कम्युनिस्ट पार्टीको स्थापना(२००६) र मार्क्सवादी चेतनाको प्रवेश तथा राणा–निरङ्कुशताविरोधी संघर्षका पृष्ठभूमिमा प्रगतिवादी नेपाली कविताको जन्म भएको बताएका छन् भने २००८ सालपछि(२००९मा) प्रगतिशील लेखक संघको स्थापना भएको र त्यससँग सम्बद्ध रहेका कवि केवलपुरे किसान र गोकुलप्रसाद जोशीले प्रगतिवादी कविताको स्पष्ट बाटो छुट्याएको उल्लेख गरेका छन् । त्यसपछि २०१६मा पुनः प्रलेसको पुनर्गठनका साथै त्यसमा अवसरवादीहरूको प्रवेशले संगठनको शिथिलता, केही प्रतिबद्ध प्रगतिवादी स्रष्टाहरूको चिन्तन, संघर्ष र सिर्जनामा भने निरन्तर सक्रियता, २०२५ मा सम्पन्न मेची अञ्चलस्तरीय साहित्य सम्मेलन, २०३५/०३६को परिवेशमा विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना र मुख्यतः प्रलेक संघका रूपमा प्रलेसको पुनर्गठनजस्ता प्रयासहरूबाट प्रगतिवादी कविताधाराले आफ्नो इतिहासलाई निरवच्छिन्न रूपमा अगाडि बढाइरहेको निष्कर्ष पनि अधिकारीले प्रस्तुत गरेका छन् ।
उपर्युक्त सन्दर्भहरूले प्रगतिवादी कविता आफ्नो उद्भवदेखि नै नेपाली कवितासाहित्यमा एउटा पृथक् र स्वायत्त धाराका रूपमा अघि बढिरहेको कुरा स्पष्ट भइसकेको छ । निश्चय पनि यो धारा आफ्नो उद्भव र विकासका आरम्भिक चरणमै कलात्मक सौन्दर्यले सम्पन्न बनिसकेको छैन र समाजवादी याथार्थवादी चिन्तनकै कसीमा पनि यस अवधिका प्रगतिवादी कविता अब्बल दर्जाका ठहरिन्छन् भन्ने दावी गर्न मिल्दैन । यसबारे निनु चापागाईं(२०५१ : ८८–८९)का निम्न भनाइ महत्त्वपूर्ण छन् :
२००७–२०१७का बीचको अविध प्रगतिवादी साहित्यमा भेलको अविध थियो । समाजवादी चिन्तनबाट अभिप्रेरित साहित्यकारका तुलनामा त्यहाँ पातलो जनवादी मानसिकताका अधिकांश लेखकहरू क्रियारत थिए । मात्रात्मक रूपमा रचनाशीलता त्यो अविधको विशेषता रह्यो । …. २०२६/२०२७को अवधिपश्चात् २००६ सालयताको उपलब्धिलाई ग्रहण गर्दै नेपालमा समाजवादी यथार्थवादलाई सचेत रूपबाट अङ्गीकार गर्ने प्रयत्नको थालनी भएको हो । २०३६को आन्दोलनले त्यसमा बल प्रदान गरेको छ भन्ने मलाई लागेको छ ।
प्रगतिवादी समीक्षक एवं चिन्तक चापागाईंका यी भनाइले आरम्भिक चरणको सिंगो समाजवादी यथार्थवादी अर्थात् प्रगतिवादी साहित्यका सीमालाई इमानदारीपूर्वक औंल्याएको छ तर यसको अर्थ नेपाली साहित्यमा यस धाराको उपस्थिति अर्थपूर्ण छैन भन्ने होइन । वि. सं. २०२६/०२७ र ०३५/०३६ हुँदै २०५०को दशक पार गरिसक्दा यो धारा र यस धाराका कविताले समाजवादी यथार्थवादी सौन्दर्यचिन्तनलाई नेपाली परिप्रेक्ष्यमा श्रेष्ठतापूर्वक लिप्यङ्कन गरिरहेको कुरा साक्ष्यहरूले राम्रैसँग इङ्गित गरिरहेका छन् ।
जहाँसम्म सिङ्गो समकालीन नेपाली कविताको ठूलो आयामभित्र प्रगतिवादी नेपाली कविताको हैसियतको कुरा छ, यसबारे प्रगतिवादी समीक्षकहरूले विविध आलेख एवं दस्तावेजहरूमा अभिमत एवं विश्लेषणहरू प्रस्तुत गर्दैआएका छन् । यसै सन्दर्भमा यहाँ, यसै लेखकको साहित्यसन्ध्या(पू. १०, २०५८, पृ. २४–३७)मा प्रकाशित “उत्तरआधुनिकताको परिप्रेक्ष्य र समकालीन कविताको दिशाबोध” शीर्षकको लेखमा प्रस्तुत विचारको सारलाई उद्धृत गर्नु उपयुक्त हुने ठान्दछु । त्यस लेखमा पर्याप्त साक्ष्यहरू प्रस्तुत गर्दै भनिएको छ :
समकालीन नेपाली कविताको अग्रगामिता दृष्टिगोचर हुने प्रगतिवादी कविताचाहिँ सूचनासाम्राज्यमाथि ढलीमली गर्दै सत्यको भ्रमपूर्ण अभिव्यक्तिस“गै देखापरिरहेको उत्तरआधुनिकतालाई चिर्दै आफ्नो प्रखर यथार्थवादी पहिचानसहित अघि बढिरहेको छ । सांस्कृतिक साम्राज्यवादले सूचना–सञ्जालको दुरूपयोग गरेर जसरी यथार्थवाद र खासगरी समाजवादी यथार्थवादमाथि हमला बोलिरहेको छ, त्यसका विरुद्ध सिर्जना र विचारका क्षेत्रमा प्रगतिवादी धारा क्रियाशील छ । शैलीका क्षेत्रमा यसले पनि जडतालाई स्वीकार गर्दैन । कम्तीमा चालीसको दशक र विशेषतः पचासकोे दशकयताको प्रगतिवादी नेपाली कविता शैलीगत दृष्टिले पनि निकै परिष्कृत र परिपक्व बनिसकेको छ भने जीवनप्रतिको प्रतिबद्धता, समाजप्रतिको प्रतिबद्धता र जीवनसंघर्षको चापका दृष्टिले पनि यस धाराको कविता सर्वाधिक समाज–सपृक्त, सजग–सचेत र सबल–सशक्त रहेको छ । प्रगतिवादी कवितामा पाइने जीवनबोध कथित उत्तरआधुनिकतावादी कविताको जीवनबोधभन्दा कता–कता महत्तम र उदात्त छ अनि त्यत्तिकै वैज्ञानिक पनि ।
यो निष्कर्ष त्यसै निकालिएको होइन । वास्तवमै समकालीन प्रगतिवादी कवितामा जीवनको नयाँ मूल्यबोधस“गै वर्तमानका यथार्थ र तिनकाबीचको अन्तर्विरोधको वैज्ञानिक दृष्टिसहित सूक्ष्म अन्तर्भेदन तथा सामाजिक रूपान्तरणका सन्दर्भमा नयाँ तथा स्पष्ट दिशाबोधसमेत प्रकट भइरहेको छ । त्यसैले आजको प्रगतिवादी कविता समकालीन नेपाली कविताका अग्रमोर्चामा उभिएको छ ।
उक्त कुराको पुष्टिका लागि पर्याप्त मात्रामा साक्ष्यहरू प्रस्तुत गर्न सकिन्छ तर यहाँ स्थानाभावले त्यसो गर्नु सम्भव छैन तथापि केहीमात्र शक्तिशाली साक्ष्यको प्रस्तुति उक्त प्रस्थापनाका लागि अपरिहार्य नै हुने देखिन्छ । सुन्दर कविताहरूमध्येको एक ‘एउटा सुन्दर मनुष्यको अनुरोध’मा कवि गङ्गाको निर्माण हेरौं :
सपनाको वसन्त उजाडेर
जब विपनामा शिशिर भोग्न बाध्य भयो
दर्जनौं पटक मृत्युले गिजोलेर पनि
जब ऊ जीवित नै रहिरह्यो
तब उसको परिचय मेरा लागि नौलो भयो
(जूनको देशबाट, पृ. २१)
मान्छेको सुन्दरतालाई बेग्लै ढङ्गले परिभाषित गर्दै उही कवितामा गङ्गा पुनः लेख्छन् :
मैले हुरी निल्ने आँट नगरेको भए
आगो पचाउने साहस नगरेको भए
म ठोकेर भन्न सक्छु
आज म यति सुन्दर हुन सक्ने थिइन ।
(उही, पृ. २२)
समकालीन नेपाली राजनीतिको विडम्बनापूर्ण यथार्थलाई कवि विमल निभा ‘मेरो सांसद मित्र’ शीर्षकको कवितामा यसरी उद्घाटित गर्छन् :
‘खसीको बडेमानको टाउको झुन्ड्याएर
कुकुरको मासु होइन
हामीहरू मान्छेको मासु बेच्छौं’
ऊ सिंहदरबारअअघिको सडकमा उभिएर
बेस्सरी हाँस्न थाल्यो
… …. …..
पहाडको मेरुदण्ड भाँच्चियो
बादलहरू पराइ भए
लाहुर गएको महाकाली फर्केर आएन
यस्तोमा पोलिटब्युरोका सदस्यहरू
अमेरिकातिर उडे
(एउटा बाहुला नभएको बुसर्ट, पृ. २७)
प्रगतिवादी कविहरू कुरूप यथार्थलाई भ्रमका पर्दाले छोप्दैनन्, त्यसलाई कलात्मक माध्यमले नङ्ग्याएर पाठकलाई सचेत बनाइदिने महत् प्रयास गर्छन् । कवि अमर गिरीले ‘अमलेखगञ्ज’ कवितामा यस्तै प्रयास गरेका छन् । अमलेखगञ्ज राणाशासक चन्द्र शमशेरद्वारा मुक्त घोषित गरिएका दासहरूलाई बसोबास गरँइएको ठाउँ(वीरगञ्जनजिक)–लाई दिइएको नाउँ हो– एक प्रकारले मुक्तिको प्रतीक । तर यथार्थमा प्रजातन्त्र नाउँ दिइएको आजका युगमा पनि अमलेखगञ्ज(अर्थात् नेपाल) मुक्त हुन नसकेको कुरूप यथार्थ कविलाई यसरी बिझाएको छ :
पीडाको पहाड टुट्यो कि?
दुःखको भारी घट्यो कि?
भोक घट्यो कि/ शोक घट्यो कि
चन्द्र शमशेर त इतिहास भए
तर चन्द्र शमशेरको जस्तै
बन्दुकको शासन घट्यो कि?
होइन भने कसरी अमलेख हुन्छ अमलेखगञ्ज ?
(झिसमिसे, पू. ३६, २०५८)
हाम्रो वर्तमान मुक्त छैन र हामी मुक्त छैनौं । यो हाम्रा लागि महत् चासोको विषय हो । साथै, भविष्य पनि प्रगतिवादी कविहरूका लागि एउटा महत्त्वपूर्ण विषय हो । वर्तमानका विद्रूपताको अनावरणमात्र साध्य होइन प्रगतिवादी कविताको, प्रगतिवादी कवितामा विद्रूप वर्तमानको भेदनस“गै सुन्दर र स्पष्ट भविष्यबोध पनि हुन्छ, हुनै पर्छ । समकालीन प्रगतिवादी कविहरूका कवितामा त्यसको कलात्मक अङ्कन कसरी भएको छ, त्यो पनि हेरौं । ‘भविष्यका लागि’ शीर्षक–कवितामा मातृका पोखरेल लेख्छन् :
जहिलेसम्म रगत रहन्छ शरीरमा
हामी लडिरहन्छौं भविष्यका लागि
कोही जुलुस भएर लड्छौं,
कोही नारास“गै लड्छौं
या कविता भएरै लड्छौं
मानौं हामी लड्नै जन्मिएका हौं
हामी भविष्यका लागि लड्छौं ।
(यात्राको एउटा दृश्य, २०६०, पृ. ४०)
यसैगरी कवि जगन्नाथ खतिवडा आतङ्कको लादेन र त्यस्तो लादेन जन्माउने साम्राज्यवादको लेथ्नो काढ्छन् र स्वतन्त्रता तथा विद्रोहको लादेनलाई स्वागत गर्दै भविष्यतिर यसरी चियाउँछन् :
मनवताको अवसान
र सभ्यताहरूको अवसान भएको सभ्यताभित्र
म खोज्दैछु लादेन सभ्यतालाई
…. …. ….
एक मुठी विद्रोहको अग्राख पलाएको लादेन जिन्दावाद ⁄
मानवताविरुद्धको अणुबम–लादेन मूर्दावाद ⁄
…. …. …..
लादेन चिद्वैषम्य हो मेरो आस्थाको
अपार घृणा गर्दागर्दै पनि उसको
म सधैँ सधैँ उपासना गर्छु ।
(‘लादेन उपासना’, वेदना, पू. ६८, पृ. २७–२८)
प्रगतिवादी कविको उपासनायोग्य लादेन अमेरिका आफैद्वारा निर्मित र पोषित कुरूप लादेन होइन, उत्पीडक सभ्यताविरुद्धको विद्रोहका अग्रमोर्चामा उभिने र जीवन तथा मृत्युलाई नयाँ आयाम दिने सुन्दर लादेन हो । समकालीन प्रगतिवादी कविहरू नयाँ सभ्यता र सुन्दर भविष्यको महत् उद्देश्य बोकेर जीवन र कविताकै पनि अग्र मोर्चामा उभिंदै सुन्दर कविताको निर्माण गरिरहेका छन् ।
४. निष्कर्ष
प्रस्तुत छलफलबाट के निष्कर्षमा पुग्न सकिन्छ भने नेपाली कविता–परम्परामा मार्क्सवादी/साम्यवादी चेतनायुक्त (र चेतनानिकट) प्रगतिवादी/प्रगतिशील कविताधाराको जन्म वि. सं. २००० वरिपरिबाट भयो र २००७–००८तिरबाट यो एउटा स्वायत्त–पृथक् धाराका रूपमा विकसित भयो । उद्भवका आरम्भताका समाजवादी यथार्थवादी(प्रगतिवादी) सौन्दर्यमूल्य र मानदण्डप्रतिको गम्भीर चासो र त्यसको कलात्मक साधना यस धाराका कवितामा कलिलै रहेको हो र करिब २०२०को दशकतिर र त्यसका पनि उत्तरार्धतिर आइपुग्दा यसमा उक्त प्रकारको चासो र साधनाले विशेष सक्रियता प्राप्त गर्नथालेको हो । वि. सं. २०३० को दशकमा खासगरी २०३५–०३६को आन्दोलनकारी परिवेशबाट पर्याप्त ऊर्जा प्राप्त गर्दै २०४०का दशकमा यसले आफ्नो सुदर बैंस देखाउन थालेको हो र पचासको दशकमा यसले आफ्नै राष्ट्रिय–अन्तर्राष्ट्रिय तीव्र अन्तर्विरोधी द्वन्द्वमय परिवेशबाट आवश्यक सम्बल प्राप्त गर्दै वर्तमान दशकमा आफ्नो पुष्ट बैंस लिएर समकालीन कविताका भीडमा एउटा छुट्टै पहिचानसहित यो देखापरिहेको छ । विशिष्ट सामाजिक उत्तरदायित्त्व बोकेको यस धाराका कवितामा जीवन र जगत्लाई हेर्ने वैज्ञानिक एवं उदात्त दृष्टिकोण छ र ती कविता सुन्दरको स्थापनार्थ सामाजिक रूपान्तरणको आन्दोलनका अग्रमोर्चामा उभिएका छन् । यही अन्य धाराका कवितासँगको यसको पार्थक्यको आधार पनि हो । तर आफूलाई नेपाली साहित्यको केन्द्र ठान्ने समानान्तर धाराका साहित्यकार विशेषतः समालोचकहरूले उक्त तथ्यलाई यो वा त्यो नाउँमा इतिहासमा स्थान नदिने र इतिहासको गलत र भ्रमपूर्ण प्रस्तुति गर्ने प्रयास गरिआएका छन् । माथि रमेश श्रेष्ठदेखि खगेन्द्र लुइ“टेलसम्मका पछिल्ला कार्यले त्यसै प्रयासलाई उद्घाटित गरेको स्पष्ट भएको छ ।
कलात्मक स्थिति जे–जस्तो रहे पनि २००७–००८ तिरबाट नेपाली कविताको एउटा पृथक् धाराका रूपमा जन्मिएको प्रगतिवादी कविताको प्रभाव २००७का दशकमा स्वच्छन्दतावादी धारामा परे पनि र स्वच्छन्दतावादी धाराको प्रभाव यस धारामा परे पनि यी दुवै एकै समयमा पृथक् अस्तित्त्व बोकेका कविताधारा हुन् । वि. सं. २०१७ पछि स्वच्छन्दतावादी धाराको अवसान भए पनि प्रगतिवादी धारा आफ्नो बैंस लिएर विकसित हुँदै गयो र जीवनसँग जोडिएको तथा वैज्ञानिक चेतनाको अनुगामी भएको हुनाले यो अद्यापि विद्यमान छ र नयाँ–नयाँ कलात्मक सम्भावनासहित विकसित हुँदो छ । यसका बेग्लै प्रवृत्तिगत पहिचान भएकाले समकालीन कविताकै हुलमा पनि यसलाई बेग्लै धाराका स्तरमा राखेर नहेर्ने हो भने त्यो हेराइ वस्तुनिष्ठ हुनेछैन । वस्तुतः समकालीनता वा समसामयिकता आफैमा धारा नभएको यथार्थलाई ह्दयङ्गम गर्दै समसामयिक कवितालाई विभिन्न धारामा बाँडेर हेर्दा पनि एउटा प्रगतिवादी(वा समाजवादी यथार्थवादी) र अर्को यथास्थितिवादी धाराको अस्तित्त्व रहेको मान्नुपर्ने हुन्छ भने यिनका बीचमा कहिले यथास्थितिउन्मुख र कहिले निकै आलोचनात्मक हुने यथार्थवादी वा नवस्वच्छन्दतावादी धारा रहेको मान्न सकिने आधार समकालीन नेपाली कविताले दिएको कुरालाई स्वीकार गरेर अगाडि बढ्दा नै नेपाली कविताप्रतिको हेराइ वस्तुगत हुनसक्छ । समानान्तर धाराका समीक्षका समीक्षामा यसै हेराइको कमी छ भन्ने कुरा यस छलफलबाट सिद्ध भएको छ, अस्तु ।
सन्दर्भ सामग्री सूची
अधिकारी, रविलालल (२०४४), प्रगतिवादी नेपाली कविता, पोखरा : लेकाली प्रकाशन ।
चापागाईं, नरेन्द्र (२०५२), आमुख, काव्यसमालोचना, सम्पा. नरेन्द्र चापागाईं र दधिराज सुवेदी, विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान ।
चापागाईं, निनु (२०५३), यथार्थवादी रचनादृष्टि र विवेचना, काठमाडौं : दिल वरदान र महिम चापागाईं ।
त्रिपाठी, वासुदेव (२०३२), नेपाली कविताको सिंहावलोकन, (प. सं. २०२७), काठमाडौं : साझा प्रकाशन ।
_ _ _ , वासुदेव, (२०४८), नेपाली कविता भाग २, काठमाडौं : साझा प्रकाशन ।
_ _ _ , वासुदेव (२०५३), “नेपाली कविताको विकासक्रमको रूपरेखा”, वासदेव त्रिपाठी र अरूहरूद्वारा सम्पादित नेपाली कविता भाग ४, काठमाडौं : साझा प्रकाशन ।
पाण्डेय, ताराकान्त(२०५६), “प्रगतिवादी नेपाली कवितामा अभिव्यञ्जित यथार्थ”, विद्यावारिधि शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय, काठमाडौं ।
_ _ _, ताराकान्त (२०५८), “उत्तरआधुनिकताको परिप्रेक्ष्य र समकालीन कविताको दिशाबोध”, साहित्यसन्ध्या, (पूर्णाङ्क १०, भाद्र, २०५८), पृ. २४–३७ ।
बराल, ऋषिराज(२०५२), “सौन्दर्यशास्त्र र प्रगतिवादी काव्यिक आन्दोलन”, काव्य समालोचना, सम्पा. नरेन्द्र चापागाईं र दधिराज सुवेदी, विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान ।
भट्टराई, गोविन्दराज (२०४९), काव्यिक आन्दोलनको परिचय, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
भण्डारी, जगदीशचन्द्र (२०५५), “प्रगतिवादी नेपाली कविता : आरम्भ र विकास”, विद्यावारिधि शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय, काठमाडौं ।
लुइटेल, खगेन्द्र (२०६०), कवितासिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
सुवेदी, अभि (२०४८), “नेपाली भाषाका समकालीन कविताका सन्दर्भमा”, कृष्ण प्रसाईंद्वारा सम्पादित नेपाली समसामयिक कविता, सिक्किम : भक्त राई स्मृति मण्डप ।
सुवेदी, अभि (२०५५) “नेपाली कविताको आधुनिकता र समकालीनता”, अभि सुवेदी अरूहरूद्वारा सम्पादित समकालीन नेपाली कविता, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।