हिक्मतथापा विदेशमा रहेर साहित्य साधना गरिरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलाा समेटिइसकेको छ । यहाँ उनको ‘अफ्रिकामा नेपाली भाषा साहित्य’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले अफ्रिकामा नेपाली भाषा साहित्यको अवस्था कस्तो रहेको छ भन्ने पक्ष उद्घाटन गरेको छ । सूचनामूलक मात्र भए पनि यस समीक्षाले नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तारको एउटा महत्वपूर्ण पाटो उजागर गरेको छ ।-सम्पा. |
नेपालीहरू सन् १९८० देखि अफ्रिका बस्ने गरी आउन थालेको तथ्याङ्क भए पनि कम बसोबास भएको कारणले नेपाली साहित्यका गतिविधिहरू अहिलेसम्म उल्लेख्य देखिएका छैनन् । छोटो समयको लागि संयुक्त रास्ट्र सङ्घीय वा अन्य मिसनमा आउने लेखकहरूले यहाँको बसाइको क्रममा भने केही कथासङ्ग्रह,
नियात्रासङ्ग्रहलगाएतका कृतिहरू प्रकाशन गरेका छन् । त्यै पनि गैरआवासीय नेपाली सङ्घको सन २००८ देखि अफ्रिकन मुलुकहरूमा स्थापना हुने क्रम चलेपछि साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुन थाले । गैरआवासीय नेपाली सङ्घका नाइजेरिया, युगान्डा, घाना र केन्यालगाएतका एनसीसीहरूले बेला बखत साहित्य र संस्कृति सम्बन्धी कार्यक्रमहरू आयोजना गरिरहेका भने छन् ।
सन् २०१६ मा तान्जानियाको दारए सलाममा आयोजित गैरआवासीय नेपाली सङ्घको दोस्रो क्षेत्रीय बैठकमा नेपाल अफ्रिका साहित्य समाजको बिधिवत स्थापना भइ सङ्घ र समाजको आयोजनामा साहित्यिक कार्यक्रमको आयोजना भएको थियो ।
दक्षिण अफ्रिकाका लागि तत्कालीन नेपाली राजदूत अमृत राई, सङ्घका पूर्व सभापति एवम् लेखक जीवा लामिछाने, हिक्मत थापा , रमेश कँडेल , कवि तथा पत्रकार सुवास ढकाललगायत एक दर्जनभन्दा बढी कविहरूले रचना वाचन गरेका थिए । त्यसै गरी उक्त कार्यक्रममा जीवा लामिछानेको सरसर्ती संसार पुस्तकको अफ्रिकामा विमोचन पनि गरिएको थियो ।
यसअघि सङ्घको नाइजेरिया राष्ट्रिय समन्वय समितिले नेपालका दुई लेखकहरू साम्ब ढकाल र कृष्ण कँडेलका कृतिहरू प्रकाशन गरेको थियो ।
सङ्घको युगान्डामा सन् २०१८ मा आयोजना भएको तेस्रो अफ्रिका क्षेत्रीय बैठकमा विशेष साहित्य गोष्ठीको आयोजना भएको थियो । जसमा हिक्मत थापाको कवितासङ्ग्रह चिवोकका केटीहरूको अफ्रिकामा विमोचन सम्पन्न भएको थियो । कार्यक्रममा इजिप्टका लागि नेपाली राजदूत झबिन्द्र अर्यालका साथै एन.आर.एन.एका तत्कालीन अध्यक्ष भुवन भट्ट, जीवा लामिछनेलगाएतले मन्तव्य राख्नुका साथै रमेश कँडेल, कृष्णदत्त भट्ट, गोपर्मा शेर्पा , हिक्मत थापालगायत एक दर्जनभन्दा बढी अफ्रिकाका स्रस्टाहरूले रचना वाचन गर्नुभएको थियो ।
हाल आएर बढ्दो नेपालीको सङ्ख्यासँगै साहित्यिक र नेपाली संस्कृतिसम्बन्धी कार्यक्रमहरूको आयोजना हुने क्रम बढिरहेको छ । संस्कृतिसम्बन्धी कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकारहरू ल्याएर नाइजेरिया र युगान्डामा साङ्गीतिक कार्यक्रमहरू वर्षेनी हुने गरेका छन् । साहित्यका विविध विधामा पनि कार्यक्रमहरू बढ्दै जाने अपेक्षा गरिएको छ ।