प्रा. डा. ज्ञानु पाण्डे (२०१८ असार २९, काठमाडौँ, सुपुत्री पोषण पाण्डे र तीर्थकुमारी पाण्डे) नेपाली साहित्यका समीक्षा क्षेत्रकी विशिष्ट नारीहस्ताक्षर हुन् । उनका विश्वेशवरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद (२०६२), नारी साहित्यकारको विधागत इतिहास (२०६२ सह), विकीर्ण अनुशीलन (२०६८), नेपाली उपन्यासमा लैङ्गिकता (२०६९), नेपाली महिला कथाकार भाग २ (२०७०, सम्पा.), समकालीन पाश्चात्य समालोचना सिद्धान्तका प्रणेताहरू (२०७४, सम्पा) जस्ता कृति प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको पारिजात, शिरीषको फूल र अस्तित्वाद शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले पारिजातको शिरीषको फूल कृतिको अस्तित्ववादी पठन गरेको छ ।
-सम्पा. |
“लगाममा बाँधेर लेखकलाई राख्ने सोचाइ वैज्ञानिक होइन । स्वतन्त्रता केही हदसम्म लेखकलाई हुनुपर्दछ”- पारिजात (जनमत, २०४९)
लेखकको मूल पहिचान भन्नु उसको कृति हो ! उसको कृतित्व हो । दमदार कृतित्वले नै एउटा लेखकको नामलाई अमर श्रष्टाको स्थानमा विराजमान गराउने हो । त्यसो त सस्तो प्रचारबाजीको बलमा पनि कतिपय लेखकहरूकेही कालका लागि चर्चापरिर्चाका विषय बन्न सक्लान्, तर मुख्य कुरा, कृतित्वमा दम नहुने हो भने जति नै बल गरे पनि पाठक मनमातिनले प्रभावको दीर्घकालीन डोब छोड्न सक्तैनन् ।
सस्तो प्रचार-प्रसारका बलमा आफ्नो नामलाई चर्चामा ल्याउने ध्याउन्ना गर्नु भनेको लेखकले आफ्नो कलमको दमप्रति आफैले विश्वास गर्न नसकेको अवस्था त हो नै, साथै सिंगै साहित्य फाँटकै गरिमामा पनि त्यो एउटा नराम्रो धब्बा हो ।
नेपाली साहित्यमा उतिबेला यस प्रकृतिको विकृतिको बिगबिगी शायद थिएन, जतिबेला पारिजात पहिलोचोटि साहित्यमा पदार्पित भइन् र जुन समयभरि उनी साहित्यमा गतिशील रहिन् । उनका समकालीन जीवित स्रष्टाहरूसँग कुरा कोट्याउँदा थाहा पाइन्छ- ‘त्योबेला अर्कै थियो, साहित्यमा आजजस्तो प्रचारबाजीको विगबिगी फस्टाएको थिएन,लेखकहरू समर्पित भावले लेखनमा लागेका हुन्थे र प्रायः लेखकहरूकृतिकै दमले मात्र चर्चामा आउँथे, आउन सक्थे ।’
पारिजात त्यही आदर्शको बाटो हुँदै साहित्यमा अगाडि आएकी हुन् । उनीआफ्नै कृतिको दममा चर्चाको शिखरमा पुग्न सफल भएकी प्रतिभा हुन् । नेपाली साहित्यकी एक अमर स्रष्टा हुन् पारिजात ।
पारिजात (वि.स. १९९०-२०५०)को साहित्ययात्रा २०१३ सालबाट आरम्भ भएको हो । भारतको दार्जीलिङ जिल्लामा जन्मिए पनि आफ्नो साहित्यिक कर्मभूमि नेपालको राजधानी काठमाडौंलाई बनाएकी पारिजातले २०१३ सालमा धरती पत्रिकामा ‘व्यर्थ प्रयास’, ‘आज विदाको दिन हो’ र ‘को हो त्यो’ शीर्षकका तीनवटा कविता एक्कैचोटि प्रकाशित गरी नेपाली साहित्यमा पर्दापण गरेकी हुन् । उनको पहिलो पुस्तकाकार कृति पनि कविता विधामै निस्किएको हो । २०१४ सालमा प्रकाशित उनको पहिलो पुस्तक ‘आकांक्षा’माउनका १५ वटा कविताहरू संकलित छन् । यसरी साहित्ययात्राको आरम्भमा कविता विधामा उदाएकी पारिजातको कलम पछि गएर गद्यविधामा पनि उल्लेखनीय गतिमा चल्न सुरु भएको हो ।
-डा. ज्ञानू पाण्डे
प्रारम्भमा रोमान्टिक भावको कविता लेखनमा रत्तिएको पारिजातको कलम पछि गएर कथा, उपन्यास, निबन्ध, आत्मसंस्मरणका साथसाथै नाटकविधामा पनि चल्न नछुटेको प्रमाण मिल्दछ ।
बहुमुखी प्रतिभाकी धनी स्रष्टा पारिजातका पुस्तकाकार कृति प्रकाशनको क्रमबद्ध सूची यस प्रकारले रहेको पाइन्छ :
१. आकांक्षा (कविता संग्रह, २०१४), २. शिरीषको फूल (उपन्यास, २०२२), ३. महत्ताहीन (उपन्यास, २०२५), ४. आदिम देश (कथासंग्रह, २०२५), ५.बैंसको मान्छे (उपन्यास,२०२९), ६. सडक र प्रतिभा (कथासंग्रह २०३२), ७. तोरीबारी बाटा र सपनाहरू (उपन्यास,२०३३), ८. पर्खालभित्र पर्खालबाहिर (उपन्यास,२०३४), ९.उसले रोजेको बाटो (उपन्यास,२०३४-०३५), १०. अन्तर्मुखी (उपन्यास, २०३५), ११. अनिँदो पहाडसँगै (उपन्यास, २०३९), १२. साल्गीको बलात्कृत आँसु (कथासंग्रह, २०४३), १३. धुपी, सल्ला र लालीगुँरासको फेदमा (निबन्ध कृति, २०४३) १४. पारिजातका कविता (कविता संग्रह २०४४), १५. एउटा चित्रमय सुरुवात (संस्मरणसंग्रह, २०४५ ), १६. परिभाषित आँखाहरू (उपन्यास, २०४६), १७. बोनी (लघुउपन्यास, २०४८), १८. आधी आकाश (लेखनिबन्धसंग्रह, २०४८), १९. बधशालाजाँदाआउँदा (कथासंग्रह, २०४९), २०.बैंसालु वर्तमान (कवितासंग्रह, २०५०), २१. अध्ययन र संघर्ष (आत्मकथा, २०५०), २२. पारिजातका फुटकर लेखहरू (२०५४) २३. जुठी दमिनी (बाल गीतिकाव्य, २०५५) र २४. पारिजातका नाटक (२०६५) ।
पारिजातका यी सबै कृति नेपाली साहित्यका अमूल्य निधि हुन् । विधागत अनुशासनका दृष्टिले मात्र नभई विषयगत गम्भीरता र शैलीगत आकर्षणका दृष्टिले पनि उनका यी कृतिहरू महत्वपूर्ण प्राप्ति हुन् नेपाली साहित्यको ।
पारिजातको साहित्यिकताको मूल्याङ्कनको सवाल
नेपाली साहित्यमा पारिजात आफ्नै विशिष्ट सिर्जनायात्राका कारण उच्च स्थान प्राप्त गर्न सफल हुने स्रष्टाहरूको सूचीमा अग्रपंक्तिमै पर्ने नाम हुन् । उनी नेपाली साहित्यको इतिहासमा सक्रिय नारीस्रष्टाहरूमध्ये त शीर्षस्थ नाम हुन् नै, सिंगै नेपाली साहित्यको परिप्रेक्ष्यमा पनि उनको नाम विशिष्ट प्रतिभाको सम्मानमा बिराजमान छ ।
प्रायः पारिजातको साहित्यिकतालाई एउटा निश्चित खेमामा बन्दी गरेर बुझ्न खोजिएको, बुझाउन खाजिएको देखिन्छ । यसो गर्नु उनको सिंगो साहित्यिक उचाइलाई कदापि न्याय हुन्न भन्ने लाग्छ । बुझ्नु पर्ने कुरा के हो भने पारिजातको साहित्यिकता स्वयंमा अग्लो उचाइको छ, त्यसलाई अग्लो देखाउन कुनै वृत्तबाट पनि अनावश्यक बढाइचढाइ गरिरहनु पर्ने खाँचो छैन ।बस् आवश्यकता हो उनको व्यक्तित्वलाई गहिराइका साथ नियाल्नु, उनको साहित्यिकतालाई समग्रमा परख्नध्येय राख्नु ।
पारिजातको साहित्यिकतालाई समग्रमा परख्नका लागिकेवल उनका प्रकाशित कृतिहरू मात्र पढ्नु कदापि पर्याप्त हुन्न, उनको पारिवारिक तथा व्यक्तिगत जीवन भोगाइ, अध्ययनको दायरा, सामाजिक सम्पर्क, सामाजिक आन्दोलन र अभियानहरूमा उनको संलग्नता र ती सब कुराका पृष्ठभूमिबारे पनि चासोका साथ जान्नु बुझ्नु जरुरी हुन आउँछ । हामीलाई थाहा छ, एउटा लेखकको सिर्जनाको पृष्ठभूमिमा धेरै कुराहरू हुन्छन् । लेखकको बिचार वा दृष्टिकोण विशिष्ट बन्नुमा धेरै पक्षहरूको कारक भूमिका रहन्छ । उसले अध्ययनका आधारमा आर्जन गरेको ज्ञानको महत्व त आफ्नो ठाउँमा छँदैछ, त्यो भन्दा पनि महत्वपूर्ण प्रेरणा हुन्छ उसको व्यक्तिगत जीवन भोगाइको, जीवनका बाध्यताहरूको । र, साथसाथै सामाजिक सम्पर्क, सामाजिक आन्दोलन र अभियानप्रतिको संलग्नताको आयातनले पनि ठूलो माने राख्तछ उसको दृष्टिकोण विशिष्ट बन्नुमा । स्मरणीय छ, व्यक्तिको विचार निर्माणमा उसले घोकेर जानेको पाठको भन्दा उसले भोगेर सिकेकोे ज्ञानको प्रभाव बढी प्रगाढ हुन्छ ।
पारिजातको जीवनीबारे अरूले लेखेका सामग्रीहरू, पारिजात स्वयंले लेखेको आत्मसंस्मरणहरू र विभिन्न समयमा आएका उनका अन्तर्वार्ताहरू आदि पढ्दा थाहा पाइन्छ -साठी वषर्ीय आयुभरिको पारिजातको जीवन अपेक्षित अनपेक्षित अनेक रंगका आरोह अवरोहमा गुज्रेको हो । जीवनको ऐकान्तिकता र रिक्तताबोधको चोटसित बाल्यकालमै ठोक्किसकेकी हुन् उनी । अस्तित्वको स्वतन्त्रता र त्यसको चुनौतीप्रति संघर्षशील बन्ने अभ्यासमा उनी कलिलो उमेरबाटै ससचेत लागिसकेकी हुन् ।
सानोमै आमा दिवंगत भएको कारण मातृत्व स्नेहको मिठास अनुभव गर्न पाउनेनैसर्गिक अधिकारबाट बञ्चित भएको हो पारिजातको जीवन । यद्यपि हुर्किने बढ्ने उमेरमा आमाको सानिध्य अनुभव गर्न नपाए पनि साथमा बाबुत सँगै थिएँ उनीसित, तर रुचिगत बिमिलनका कारण तिनसितको पारिजातको सम्बन्ध कहिल्यै न्यानो भएन ।
पेसाले डाक्टर थिएबाबु, त्यसैले बाल्यकालआर्थिक अभावमा गुजार्नु परेन पारिजातले, तर बाबुले आफ्नो रुचिक्षेत्र नबुझिदिनु वा बुझ्न नचाहनु आफंैमा एउटा ठूलो दुख र सकसको कारण बनेको थियो उनलाई । उनी आफूसाहित्यमा डुबेर बाँच्न चाहिन्थिन् , तर यता बाबुचाहिँ उनलाई डाक्टर बनोस् भन्ने चाहन्थे । उनी कल्पनामा उड्न चाहन्थिन् , बाबु उनलाई गणितमा रगडिन बाध्य गराउँथे । अवश्य नै, पारिवारिक परिवेशभित्रको यो द्वन्द्वपूर्ण स्थितिका कारण पारिजातको हुर्कदो उमेर कष्टपूर्ण बितेकोे हो । तर संयोग नै भन्नु पर्छ , उनको उक्त कष्टप्रद बाल्यकालीन परिवेश नै उनको साहित्यिक व्यक्तित्वमा दार्शनिक गहिराइ उभार्न बरदान सिद्ध भयो । अस्तित्वपूर्ण जीवन बाँच्नका लागिे व्यक्तिले जीवनको विसंगतिलाई चिन्नु मात्र काफी हुन्न, त्यससित जुझ्ने साहस पनि आफूमा जागृत गर्न सक्नु पर्छ भन्ने अस्तित्ववादी दर्शनको पाठ पारिजातले आफ्नै जीवन भोगाइबाट सिकेकी हुन् भन्ने प्रष्टै बुझिन्छ ।
राजनारायण प्रधानको केही कृति : केही स्मृति (दो.सं. सन् १९७३) पुस्तकभित्र पारिजात विषयक लेखमा एकठाउँमा भनिएको छ –
‘झण्डै एघार वर्षको उमेरदेखि’ पारिजात विसंगत स्मरण भन्छिन्, ‘आन्तिरिक वेदना र अज्ञात भयहरूलाई कोठाको कुनामा बसेर अभिव्यक्त गर्दा ममा लेखक हुने सपना थिएन । आफूले सिकेसम्मको भाषालाई मिठास दिएर केही कथा केही कविता तयार पारिन्थ्यो , जसलाई ‘टाइप’ अथवा ‘फर्मेशन’ भनिदिए हुन्छ । मेरो घर, साहित्यिक वातावरण र प्रेरणाका निम्ति अध्यारो कुवा, घोप्टिएर म्याथम्याटिक्स सिक्नु अनिवार्य, साँझ महाबुद्ध र राजनैतिक वार्ता सुन्नु अनिवार्य , गीत, संगीत र कविता पाठमा भीषण निषेध । बाहिर भाग लिएको वेला अभिभावकसँग सामना गर्नु एउटा समस्या । प्रेरणा शब्दमा आस्स्था अनास्था दुइटै भएन, यसो भनूँ , मैले त्यो शब्द नै जानिनँ । समयसँग आन्तरिक अवस्थाले विकास गर्दै आयो । हामी स्वतन्त्र अध्ययनका निम्ति बन जंगल पस्थ्यौं । म कथा कविता लेखेर बाकसभित्र लुकाउँने गर्थेँ । दाजुको मृत्युपछि घरको यो विशेष अनुशासनको साङ्लो अचानक तोडियो । हामी आफ्ना सोचाइ, लेख्नलाई, पढ्नलाई फुक्का भयौं, प्रेरणा यद्यपि जन्मेन । कलाप्रतिको यो भयानक नकारात्मकता र यसको मौलिक रूप अभिभावकको तर्फबाट आजपर्यन्त वर्तमान छ परिवर्तनहीन । हामी कहिल्यै भेट हुन सकेनौं त्यसैले स्वतन्त्र छौं एक अर्कादेखि” (पृष्ठ २४१)।
यसैगरी अरू पनि कयौं अन्तर्वार्ताहरू छन् जसमा पारिजातका निजी जीवनका पीडाहरू खुलासा भएको पाइन्छ ।
व्यक्तिमा परिवर्तन आउन सम्भव छ , समाजमा परिवर्तन आउन सम्भव छ भन्ने विश्वास पाठक मनमा जगाउन सक्नु र विद्रोहको चेत नै परिवर्तनको मुख्य हतियार हो भन्ने सन्देशको झन्कारले पाठकलाई सम्मोहन गर्न सक्नु विशिष्ट शक्ति हो पारिजातको लेखनीको सम्पन्न परिवारमा जन्मिएका कारण बाल्यावस्थामा आर्थिक अभावको पोलाइ बेहोनु नपरे तापनि पारिवारिक अनुशासनको कडा घेरोमा उनलेे आफ्नो बाल्यकाल कम उकुसमुकुसको वातावरणमा बाँच्नु परेको होइन । दार्जीलिङबाट काठमाडौ बसाई सरेपछिको समयमा पनि सजिलोसित बितेको होइन उनको जीवन । आर्थिक संकटको अचेट, प्रेममा वियोगको झट्का, अझ त्यतिले नपुगेर असमयमै रोगले जीर्ण भएको शरीर बाँन्चु परेको थियो उनले ।
यथार्थमा दुख्न कतै बाँकी रहेको होइन उनको जीवन । यो कुरा अलग हो कि अध्ययनको विशाल दायरा भएको कारण ज्ञानको उज्यालोको कहिल्यै कमी भएन उनलाई, तर कलिलै उमेरदेखि हाडजोर्नी दुःख्ने रोगको आक्रमणका कारण आफ्नो कुँजो शरीर घिसार्दै स्वाभिमानपूर्ण जीवन बाँच्न कति सास्ती भएको थियो होला उनलाई ? सग्लो शरीर बाँच्न पाउने जीवनको स्वभाविक अधिकार बिनाकारण उनबाट खोसिएको थियो । बिनाअपराधको त्यो दण्ड बेहोर्न उनलाई कति सास्ती परेको थियो होला ? शारीरिक दुर्बलताका कारण पाइला पाइलामा परनिर्भरतामा जीवन बाँच्न बाध्य हुनु पर्दा अस्तित्व स्वतन्त्रताको आफ्नै चेतना कति भारी भएको थियो होला उनलाई जीवनमा ? यो कुरा हामी सहजै अनुमान गर्न सक्छौं ।
अत्यन्त प्रतिकूल आफ्नो शारीरिक अवस्थालाई भोग्दै-बेहोर्दै, प्रत्येक पल जीवनको तीतो विसंगति बोध गर्दै पनि जीवनलाई रोज्न भने छोडिनन् उनले । संघर्ष नै जीवनको अनिवार्य शर्त हो भन्ने तथ्यप्रति उच्च सचेतता राख्दै विभिन्न सामाजिक अभियान र आन्दोलनहरुमा मिसिदै र मुछिँदै अघि बढेकी हुन् पारिजात जीवनमा । यी सबै पृष्ठभूमिको प्रभावबाट उनको साहित्य अछुत रहन सक्ने कुरै भएन । अतः पारिजातको साहित्यिकताको अध्ययन गर्दा वा उनको साहित्यको मूल्याङ्न गर्दा यी सबै पक्षहरूप्रति तटस्थ दृष्टिका साथ ध्यान पुर्याउनु जरुरी छभन्ने लाग्छ।
मूल्याङ्कन मासिक, वर्ष ११, पूर्णांक १२, ०५० मा प्रकाशित एउटा अन्तर्वार्तामा पारिजातबाट यस्तो भनाइ आएको पढ्न पाइन्छ –
“गीतप्रेमी भएको नाताले गीतकै माध्यमबाट रायन र रामेशसँग मेरो चिनजान भयो र दिनदिनै चर्चित हद गएको मेरो नाउँले मेरो सम्पर्क संस्ाार पनि दिन दिनै विशाल हुँदै गयो । यसरी निनु , मंजुल, विमल र अरू केही पनि । हामीमा क्रमशः आत्मीयता बढ्दै गयो । यो त समुहका कुरा भए । तर, एकातिर मेरो व्यक्तिगत जीवन सहज थिएन । म मरूभूमिको पैदल यात्रा गरिरहेकी थिएँ, मेरो कुनै ओयसीस थिएन । मनस्थिति जता छाम्यो उतै रक्ताम्य, जीवन मेरो निम्ति काठको बिछ्यौनामा सुत्नु थियो ।
मेरो यस भीषण मानसिक यातनाको समक्ष मेरो बढ्दो लोकप्रियता मलाई उपहास गरिरहेको जोकर जस्तो लाग्थ्यो । प्रेमको बहाना, विवाहको संकल्प अनि कामुक आँखाहरूको पोलाइ, एक्लै बस्नु डरमर्दो, कतै कसैले इकाएक सकम्बरी तुल्याइदिने हो कि, कुनै इष्र्यालुले सुतिरहेको बेला छुरा धसेर गइदिने हो कि , क्षण क्षणको डर, आर्थिक कष्ट, इर्ष्या, डाह ।
खप्नै नसकेपछि म झन् झन् खुम्चिदै, सानो हुँदै राल्फाभित्र आफूलाई लुकाउदै लगेर सोचेँ – म सुरक्षित हुँदै छु । तर राल्फाभित्र पनि म त्यति सुखी थिइनँ । तनावको फासीमा झुण्एिर बाँचिरहेकी थिएँ । यस्तो मानसिकता लिएर मैले कतिपय घोर विसंगत कविताहरू लेखेँ , कथाहरू लेखेँ । त्यति नै खेर थाहा भयो – मान्छेको जिजीविषा कति प्रबल हुन्छ भन्ने कुरा । विसंगति मान्छेको जीवनको अन्त्य होइन । मभित्रको लागातारको द्वन्द्वले ममा समाजप्रति तीव्र विद्रोहको भाव जाग्न थाल्यो ….।”
अस्तित्ववादले भन्छ- विद्रोह अस्तित्वको सम्भावना हो । पारिजातका हरेक कृति पाठकभित्र बिद्रोही चेत जगाउँन सक्षम लाग्छन् । यथास्थितिप्रतिको समर्पण होइन, परिवर्तित परिस्थितिमा रूपान्तरित हुन पाठकलाई ती उत्प्रेरित गर्छन् । व्यक्तिमा परिवर्तन आउन सम्भव छ , समाजमा परिवर्तन आउन सम्भव छ भन्ने विश्वास पाठक मनमा जगाउन सक्नु र विद्रोहको चेत नै परिवर्तनको मुख्य हतियार हो भन्ने सन्देशको झन्कारले पाठकलाई सम्मोहन गर्न सक्नु विशिष्ट शक्ति हो पारिजातको लेखनीको ।
प्रस्टै बुझिन्छ -पारिजातका कृतिहरूमा आएको विद्रोही चेतको स्रोत अरू केही होइन, सिवाय उनको आफ्नै स्वअस्तित्व बोधको प्रेरणा । जीवनका कटु अनुभूतिबारे अभिव्यक्त पारिजातका उपर्युक्त वाणीहरू यही तथ्य बोध गराउँछन् हामीलाई ।
प्रवृत्तिगत दृष्टिले पारिजातको साहित्यलाई अस्तित्ववादी-विसंगतिवादी, सामाजिक यथार्थवादी, समाजवादी यथार्थवादी र आलोचनात्मक यथार्थवादी गरी मूलतः रूपमा चार धारमा विभाजन गरेर हेर्ने गरिएको पाइन्छ ।
र, अस्तित्ववादी-विसंगतिवादी धारको प्रभाव उनको साहित्य यात्राको प्रथम चरणसम्म मात्र सीमित थियो भन्ने तर्क अघिसारिएको भेटिन्छ । तर यथार्थ त्यो भन्दा अलि भिन्नै हो भन्ने कुरा पारिजातको जीवन भोगाइको पृष्ठभूमिको आलोकमा उनका कृतिहरू पढ्दा स्वतः स्पष्टिन आउँछ ।
शायद पारिजात स्वयं नै आफ्ना कृतिहरू त्यसरी नपढिएको भन्ने अनुभूतिले दुःखी थिइन् । कतिपय अन्तर्वार्ताहरूमा उनका अघिल्ला चरणका कृतिहरूबारे सोधिएको प्रश्नहरूमा उनले जसरी जवाफ दिएकी छन् , तिनमा ध्वनित उनको आशयले यही तथ्य बोध गराउँछ हामीलाई ।
पारिजात संकलित रचनाहरू, ग्रन्थ ६ -२०५४).भित्र संकलित ‘विष्णु कुमारी वाइबा कसरी पारिजात बनिन् ?’ शीर्षकको अन्तर्वार्तामा एक प्रश्नको जवाफमा पारिजातले स्पष्टैसित भनेकी छन् :
“प्रगतिशील समीक्षक र पाठकहरूले मलाई मात्र दुई चिरा पारेर हेर्छन् । एक जनविरोधी र दुई प्रगतिवादी । यस्तो हेराई वैज्ञानिक हुँदैन । मेरो लेखन कसरी गतिवान भएर आएको छ , त्यसको मूल्यांकन नगरिदिएकोमा मलाई गुनासो छ ।” (पृष्ठ २८५)
अवश्य नै, पारिजातले आफ्नो साहित्ययात्राको पछिल्लो चरणमा आफू बाँचिरहेको समाजभित्रका समस्या, विकृति बेथिती, लैंगिक विभेद एवं आर्थिक सअमानता, शोषण र अत्यचार लयायतका विकृति विसंगतिका विरूद्धमा धुवादार आवाज उठाउने क्रममा प्रगतिवादी साहित्यसिद्धान्तको मर्म आत्मसाथ गरेकी हुन् , क्रातिकारी परिवर्तनको पक्षमा उनले कलम दौडाएकी हुन् । तर त्यसको मतलब यो होइन कि उनी आफ्ना अघिल्ला कृतिहरूमा आएको जीवनदृष्टिप्रति पूरै विमुख देखिन चाहेकी हुन् अथवा विमुख हुन सकेकी हुन् । पारिजातको उपर्युक्त वाणीमा यही आशय ध्वनित भएको पाइन्छ ।
वास्तवमा भन्ने हो भने अनुभूतिले खारिएको , अध्ययनले चम्किएको पारिजातको अस्तित्ववादी चेत , व्यक्ति अस्तित्वको सीमा र सम्भावनाप्रतिको उनको उच्च सचेतता उनका सिर्जनामा कतै पनि अन्तरतरंगीत हुन छुटेको पाइन्न । उनका सुरुका चरणको सिर्जनामा जस्तै गरी पछिल्लो चरणको सिर्जनामा उक्त चेत प्रकट वाणीमा आएको छैन , यो कुरा बेग्लै हो । तर स्मरणीय कुरा के भने त्यहाँ पनि मन्द ध्वनिमा उनको उक्त चेत अन्तरतंगित हुन छुटेको पाइन्न ।
बस् आवश्यकता हो पारिजातको साहित्यको यस पक्षबारेे -पनि) तटस्थ भावका साथ अध्ययन गर्ने उदारताको । पारिजातलाई विचारको निश्चित सीमामा अड्काएर बुझ्नु वा बुझाउन बल गर्नु उनको साहित्यिकताको विशाल आयामप्रति कदापि न्याय हुन्न भन्ने लाग्छ मलाई । उनको साहित्यिक व्यक्तित्वको समग्रता पहिल्याउनका लागि पारिजात विषयलाई खुला बौद्धिक छलफलमा ल्याउनु जरुरी छ भन्ने ठान्छु म ।
पारिजातको अमर कृति ‘शिरीषको फूल’
बहुमुखी प्रतिभा सम्पन्न स्रष्टा पारिजातको साहित्यिक व्यक्तित्वका विविध आयाममध्ये उपन्यासकार व्यक्तित्व सर्वाधिक प्रसिद्ध मानिन्छ । ‘शिरीषको फूल’ पारिजातको प्रथम प्रकाशित उपन्यास हो र त्यस पछि मात्र उनका अरू नौवटा उपन्यासहरू अगाडि आएका हुन् । दशवटा उपन्यासकी धनी पारिजातको ‘शिरीषको फूल’ सार्वाधिक चर्चित उपन्यास हो । उक्त उपन्यास प्रकाशित हुनुअघिसम्म त्यस समयकी एक सरदर स्रष्टाका रूपमा चिनिदै आएकी पारिजात ‘शिरीषको फूल’ प्रकाशित भएपछि एकाएक प्रसिद्धिको शिखरमा पुग्न सफल भएकी हुन् । यसको मतलब ‘शिरीषको फूल’ पछि प्रकाशित भएका उनका अरू उपन्यासहरू महत्वपूर्ण छैनन् भन्ने कुरा होइन । काव्यिक चेतको प्रचुरताले ओतप्रोत सुन्दरशैलीकी धनी स्रष्टा पारिजातका एक एक उपन्यास चित्ताकर्षक लाग्छन् । पढुँ पढुँ लाग्ने शैलीमा पुस्तकभित्र विषयलाई बगाउन सक्ने उनको कलमको शीपले उनका सबै उपन्यास सिंगारिएका छन्, सजिएका छन् ।
त्यसैकारणले गर्दा पढ्न भनी एकचोटि हातमा उठाइसकेपछि उनका कुनै उपन्यास पनि बीचैमा छोड्न मन मान्दैन पाठकको । तर त्यति हुँदा हुँदै पनि प्रभावको सर्वाधिकताका हकमा’शिरीषको फूल’ को स्थानतुलनात्मक रूपमा सबैभन्दा उच्च रहेको पाइन्छ । प्रकाशनका दृष्टिले मात्र एक नम्बरको उपन्यास होइन यो पारिजातको , अब्बलताको दृष्टिले पनि यही नै एक नम्बरको उपन्यास हो उनको ।
पारिजातले ‘शिरीषको फूल’लाई जलाइ दिए हुन्छ भनेर मनैबाट भनेकी हुन् भन्ने कुरा पत्याउन हामीलाई गारो पर्छ । नेपाली उपन्यासलाई विश्वका उपन्यासको हाराहारीमा देखाउने उत्कट अठोट मनमा पालेर उपन्यासमा कलम उठाएकी हो रहिछन् पारिजातले उनी समर्थित राजनीतिक विचारको पक्ष विपक्षमा नछुट्टकिन विशुद्ध साहित्यिक उच्चताका दृष्टिले मूल्याङ्कन गर्नुपर्दा ढुक्कैसित भन्न सकिन्छ – ‘शिरीषको फूल’ को अब्बलतालाई पारिजातका अरू कुनै उपन्यासले पनि उछिन्न सकेका छैनन् ।
सकम्बरी र सुयोगबीरनामका दुई विशिष्ट चरित्रका पात्रको केन्द्रियतामा बुनिएको यो उपन्यासमा पारिजातलेअनुभूतिले खारिएको अनि अध्ययनलेचम्किएको आफ्नोे अस्तित्ववादी-विसंगतिवादी जीवन दर्शनलाई अत्यन्त कलात्मक शिल्पमा ओच्छ्याएकी छन् । मनोवैज्ञानिक दृष्टिले पनि उत्तिकै विवेचनीय लाग्ने उनको पारिजातको यो उपन्यासको मूल शक्ति भन्नु यसको दार्शनिक ओज नै हो ।
यही ओजले लोकप्रियताको शिखर छुन सफल भएको हो यो उपन्यास । यथार्थमा यो उपन्यास पारिजातको व्यक्तिगत साहित्यिक जीवनको मात्र सर्वाधिक चर्चित कृति होइन, आधुनिक नेपाली उपन्यासको सिंगो इतिहासमै यो एक विशिष्ट प्राप्ति हो । उपन्यासमानयाँ युगको स्पष्ट उद्घोष हो, नयाँ बाटोको पहिल्याई हो । यो नै पहिलो त्यो उपन्यास होे नेपाली साहित्यको जो अंग्रेजीमा अनुवाद भई देशभन्दाधेरै पर विश्वसाहित्यका पाठकसम्म पुग्न सफल भयो ।
टङ्कविलास भार्यासँगको सहकार्यमा सोन्द्रा जेडनस्टेनले ०२९ सालमा ‘शिरीषको फूल’ अंग्रेजीमा ‘ब्लु मिमोजा’ शीर्षकमा अनुवाद गरी आफैले प्रकाशन समेत गरेकी हुन् । मदन पुरस्कारले समेत पुरस्कृत हुन सफल भएको पारिजातको यो उपन्यासले अंग्रेजीमा अनुवाद भएपछि अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्याक्रममा समेत प्रवेश पाएको हो ।
यसरी ‘शिरीषको फूल’ उपन्यास अगाडि आएपछि पारिजात परिचयले एकाएक सर्वव्याप्ती भएको हो , यही उपन्यासको माध्यमबाटउनको नाम विश्वसाहित्यका पाठकहरूसम्म फैलिन सफल भएको हो ।
हुन त, ‘शिरीषको फूल’ उपन्यासलाई लिएर पारिजातले प्रशस्त प्रशंसा र स्यावासी पाउनुका साथसाथै कतिपयबाट तीखो आलोचना पनि खेप्नु नपरेको होइन । खास गरी यस उपन्यासको बैचारिक पक्षलाई लिएर प्रगतिवादी धारका कतिपय विद्वान् एवं वरिष्ठ लेखक समालोचकहरूले उनको लेखनीको निन्दा गरेका हुन् ।
चूडामणि रेग्मी कृत पारिजात : परिचय र मूल्याङ्कन (प्र.सं.२०५०) नामको पुस्तकभित्र ‘शिरीषको फूल’ बारे विभिन्न प्रतिक्रिया’ शीर्षकको एक लेख समाविष्ट छ । त्यो एउटा मात्र लेख पढ्ने हो भने पनि वामपन्थीधारका लेखक स्रष्टाहरूबाट पारिजातको ‘शिरीषको फूल’ लाई लिएर कति हदसम्म नकारात्कमक टिप्पणी भएको रहेछ भन्ने कुरा बुझ्न गारो पर्दैन ।
कतिसम्म भने कतिपयले त ‘पारिजात स्वयंले नै ‘शिरीषको फूल’ लाई जलाइदिए हुन्छ भनेकी छन्’ भन्ने कुरा अघि सारेर पनि यो उपन्यास उनका अन्य उपन्यासका तुलनामा कमजोर उपन्यास हो भन्ने आफ्नोतर्कलाई पुष्टि गर्न खोजेको पाइन्छ ।
तर, यसमा घोत्लिनु पर्ने कुरा के भने के पारिजातले साच्चै नै महत्वहीन कृति मानेर ‘शिरीषको फूल’ लाई जलाइ दिए हुन्छ भनेकी होलिन् त ?
पारिजात : संकलित रचनाहरू ग्रन्थ ६ (०५४) भित्र संकलित एक अन्तर्वार्तामा ‘शिरीषको फूल’को रचनागर्भबारे पारिजातले यसरी कुरा खुलाएकी पढ्न पाइन्छ :
“…कविताभन्दा मलाई उपन्यास लेखनमा बढी रुचि थियो । स्नातकको शिक्षा लिँदासम्ममा मैले विशेष रसियाली, भारतीय र फ्रान्सेली उपन्यासहरूको प्रशस्त अध्ययन गरेँ । म नेपाली उपन्यासविधासँग पटक्कै सन्तुष्ट हुन सकिनँ । मभित्र एउटा बेजोड उपन्यास लेख्ने महत्वाकांक्षाको राक्षसले शीर उठाउन थाल्यो र आ.ए. देखि बि.ए. पास भईसक्ता जम्मा चार वटा उपन्यासका ठेली लेखेँ । -‘संघर्ष’ , ‘मानव अन्तर्यामी, र्’शारदा’ र र्’वर पीपल’ चित्त नबुझेपछि सुकन्याको आँखा छलेर सबै जलाईदिएँ । महत्वाकांक्षाको त्यो राक्षस अझ प्रबल हुदैँ गयो । यता एउटा बेजोड उपन्यास लेख्न नपाउँदै अर्को बेजोड राक्षस रोगले मलाई तीन वर्ष बिछ्यौनामा कैद गरिदियो । त्यसै राक्षस महत्वाकांक्षाको परिणति हो ‘शिरीषको फूल’…”(पृष्ठ २८२-२८३)।
उपर्युक्त हरफहरू पढ्दा पारिजातले ‘शिरीषको फूल’लाई जलाइ दिए हुन्छ भनेर मनैबाट भनेकी हुन् भन्ने कुरा पत्याउन हामीलाई गारो पर्छ । नेपाली उपन्यासलाई विश्वका उपन्यासको हाराहारीमा देखाउने उत्कट अठोट मनमा पालेर उपन्यासमा कलम उठाएकी हो रहिछन् पारिजातले ।
सोचे अनुसारको उपन्यास नबनेको लाग्दा आफूले लेखेको चार/चारवटा उपन्यासलाई जलाइदिन पनि पछि परेकी होइन रहिछन् उनी । जब पाँचौंपटकको प्रयासमा आफ्नो कलमबाट ‘शिरीषको फूल’ जन्मियो, त्यो भने आफूले चाहेजस्तै बन्यो भन्ने लागेपछि मात्र बल्ल त्यसलाई प्रकाशनको उज्यालोमा ल्याएकी हो रहिछन् उनले ।
यतिविधि मिहिनेतका साथ आफूले लेखेको उपन्यासलाई केही मानिसहरूबाट आलोचनाको स्वर आयो भन्दैमा सजिलै लत्याउन कसरी उनको मन मानोस् ?अझ , त्यसमाथि पनि त्यो उपन्यासले लोकपि्रयताको शिखर चुमिसकेको अवस्थामा !
पक्कै पनि ‘शिरीषको फूल’ जलाइदिए हुन्छ भन्ने वाणी पारिजातको आत्माको बोली थिएन होला, बरू आफूप्रति निरन्तर आलोचनाको औंला उठाइरहेकाबामपन्थी मित्रबन्धुहरूको लखेट्याइबाट पार पाउन मात्र त्यसो भन्दिएको हुनुपर्छ उनले ।
अर्को एक अन्तर्वार्तामा पारिजातले भनेकी छन्
“…त्यसपछि म बिरामी भएँ । विरामी भएपछि म निराश किसिमको कविता लेख्थेँ मेरो आफ्नै चारित्रिक विशेषता रहेछ । त्यसको पनि मूल्याङ्न हुनुपर्छ । खोजी हुनुपर्छ । अनि ‘शिरीषको फूल’ लेखेँ । …त्यसलाई म आफैले जनविरोधी उपन्यास भनेर घोषणा गरिसकेकी छु । यसको अस्तित्व नभए पनि हुन्छ तर त्यो अहिले मरेको छैन ” (ऐजन, पृष्ठ३०६-३०७) ।
यहाँ आएको “..तर त्यो अहिले मरेको छैन” भन्ने लबजले ‘शिरीषको फूल’ प्रतिको पारिजातको माया संकेतित हुन्छ ।
‘शिरीषको फूल’ उपन्यासको बौद्धिकतालाई त्यसको कमजोरी औल्याउन खोज्ने आशयको एउटा प्रश्नप्रति पारिजात कसरी जवाफिएकी छन् , पढौं :
“…मैले तपाईलाई अघि भनिसकेँ होला , अर्थात् म कसैप्रति सचेत नभई लेख्छु । म आफैलाई यो बौद्धिक पराकाष्टामा पुगेको जस्तो लाग्दैन । कारण यस्तै उपन्यासमा मलाई रुचि छ । उपन्यास बौद्धिक पनि त हुनुपर्छ । के बौद्धिकता साहित्यको दोष हो ? … ” (ऐजन, पृष्ठ २६५)।
वास्तवमा ‘शिरीषको फूल’को बैचारिक पक्षलाई लिएर पारिजातले जनविरोधी उपन्यास लेखेको तर्क अघिसार्दै त्यसलाई उनैको मुखबाट महत्वहीन उपन्यास सावित गराउनका लागि उनी समर्थित राजनीतिक वृत्तबाट जति नै बल गरिएको भए तापनि र पारिजातले पनि मुखले त्यसो भनिदिएकी भए तापनि यथार्थमा उनको हृदयमा आफ्नो यो उपन्यासप्रति माया थियो । यो कुरा बुझ्न उनका उपर्युक्त वाणीहरूमा घोत्लिए काफी हुन्छ भन्ने लाग्छ ।
रोचक कुरा, ‘शिरीषको फूल’ उपन्यासका कारण पारिजातले एकै समयमा एउटा कुनाबाट निरन्तर रूपमा आलोचनाका स्वरहरू आएकोे सुन्नु परिरह्यो भने अर्कोतिरबाट त्यही उपन्यासका कारण उनको नामलाई निरन्तर रूपमा प्रशंसा र स्यावासीको धाप मिलिरह्यो ।
एउटै कृतिबारे यसरी जमेरै परस्पर विपरीत स्वरकाप्रतिक्रिया आउनुएकातिर आफैमा एउटा रोचक घटना त हो नै, साथै त्यो अवस्था सिर्जना भैदिनुले पनि पारिजातको ‘शिरीषको फूल’ को चर्चा परचर्चामा व्याप्ती थपिन बल पुग्नु स्वभाविक भयो । त्यसमाथियो उपन्यास स्वयंमा त उसै पनि उच्च गुणयुक्त थियो नै ।
निचोडमा भन्नुपर्दा, पारिजात नेपाली साहित्यकी एक अद्वितीय प्रतिभा हुन् । आफ्नो साहित्यिक जीवनमा उनले जति पनि कृतिहरू लेखिन् ती सबै आ-आफ्नो ठाउँमा दमदार छन् । तर, पनि उपन्यासभित्र अन्तर्निहीत विशिष्ट शक्तिका कारण उनको ‘शिरीषको फूल’सबैभन्दा उच्च कोटीको हो । बौद्धिक उचाइ,वैचारिक गहिराई, काव्यिक भाषाको स्वच्छन्द प्रवाह, साहित्यिक मिठासको एकछत्त झन्कार र मुख्य कुरा, मनुष्य अस्तित्वको विडम्बनापूर्ण यथार्थलाई जस्ताको तस्तै देखाइ दिए पनि, जीवनमा यतै दुःख छ उतै दुःख छ भन्ने तीतो सत्य उद्घाटित गरिदिएको भए पनि जीवनप्रति विमुख हुन उक्साउने उपन्यास होइन ‘शिरीषको फूल’ ।
जीवनमा जिउनुलाई नै रोज्नबाट हत्तपत्त पन्छन सक्तैन कोही । पन्छन हुन्न पनि भन्ने अस्तित्ववादी सत्यलाई पात्रको विशिष्ट चरित्रको माध्यमबाट (सुयोगबीरको चरित्रबाट) उच्च वाणी दिनु, वाणी दिनसक्नु पारिजातको यो उपन्यासको ठूलो शक्ति हो ।
वास्तवमा नेपाली उपन्यासको इतिहासमै नयाँ मोड ल्याउन सक्ने एक अत्यन्त महत्वपूर्ण कृति हो ‘शिरीषको फूल’ । अझ, नेपाली उपन्यास साहित्यको मात्र होइन, सिंगै नेपाली साहित्यकै यो एक कालजयी कृति हो ।