डा. सृजना शर्मा ( ३ जुन सन् १९८२, सुपुत्री तुलसा उप्रेती र देवीप्रसाद उप्रेती) नेपाली साहित्यमा विद्यावारिधि प्राप्त समीक्षक हुन् । उनले नारी विमर्शका दृष्टिले पारिजाका कथाहरूको विश्लेषणात्मक अध्ययन ( सन् २०१७) मा विद्यावारिधि गरेकी छिन् । उनका पारिजात परिशिलन (सन् २०२०) र नारी विमर्श (सन् २०१९) जस्ता कृति प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘पारिजातका कथामा बाल समस्या’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले पारिजातका कथाकृतिमा निहित बाल समस्याहरूको उत्खनन गरेको छ ।
-सम्पा. |
प्रस्तुत लेखमा नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाउने साहित्यकार पारिजातद्वारा लेखिएका प्रतिनिधि चारवटा कथाहरू– (१) ‘मैले नजन्माएको छोरो’, (२) ‘तिउरीको फूल पाइरियाको गन्ध’, (३) ‘देवल’ र (४) ‘साँझ उदास घरको पिँढीमा’मा बाल बालिकाहरूको अस्तित्वबारे अध्ययन गर्ने प्रयास गरिएको छ। पारिजातले शारीरिक अस्वस्थता हुँदाहुँदै पनि ईशाब्द १९९१ मा PAM (Prisoner’s Assistance Mission) वा बन्दी सहायता नियोगकी अध्यक्षसमेत भई नेपालमा विभिन्न बन्दीगृहहरूमा रहेका बन्दीहरूका साथै स्त्री बन्दीसित निर्दोष भएर पनि आमाहरूसितै बन्दीगृहमा बसिरहेका बालबालिकाका निम्ति बचेरा बास समेतको परिकल्पना गर्ने पारिजात एउटी सशक्त मानवतावादी नारी स्रष्टा हुन् (प्रसाई : वि.सं २०५७, पृ ६२)। विभिन्न संस्थाहरूको स्थापना गर्दै बाल बालिका, स्त्री पुरुष सबैका लागि बोल्ने, स्वर उठाउने र सहयोगको हात बढाउने पारिजातले स्याहार नपाएका नानीहरूलाई पात्र-पात्राका रूपमा ग्रहण गरी कथा रचेकी पारिजातका कथामा आधारित बाल समस्याहरूको अध्ययन गर्ने प्रयास यहाँ गरिएको छ।
१.विषय प्रवेश
बाल बालिकाहरू समाजका अभिन्न अङ्ग हुन्। उनीहरूको आफ्नै व्यक्तित्व हुने गर्दछ, तर परिवारका ठूला सदस्यहरूले ती बालबालिकाको अस्तित्वलाई बिर्सन्छन्। यस्तो परिस्थितिमा बालबालिकाको सम्यक् विकास अवरुद्ध हुने गर्दछ। उनीहरू बढी ढिपी गर्ने, विध्वंसक अथवा आत्मकेन्द्री हुनपुग्छन्। यसर्थ बालबालिकाको सम्यक् विकासका लागि परिवार, समाज, परिवेश सबै नै उत्तरदायी हुँन्छन्। बालबालिकामा आर्थिक, सामाजिक, राजनैतिक र पारिवारिक कारणले विभिन्न समस्यामा पर्दछन्। उनीहरूको स्वरलाई उत्ति महत्त्व नदिइनाले उनीहरू जटिल परिवेशमा पर्दछन् । पारिजातले यस्ता समस्या र आधुनिक सभ्यताको विषमताले सिर्जना गरेका जटिल परिस्थितिमा बालबालिकाको सम्यक् विकासका लागि यी अवरोधक हुन् भन्ने भाव व्यक्त गरेकी छन्।
ईशाब्द १९६४ मा रोचक घिमिरेको सम्पादनमा प्रकाशित द्वैमासिक पत्रिका रचना ( रेखा- ३, विन्दू- १) मा ‘मैले नजन्माएको छोरो’ कथाद्वारा नेपाली कथा साहित्य लेखनमा पारिजातले प्रवेश गरेकी हुन् (रचना स् १९६४० रेखा- ३, विन्दु- १, पृ. ९-१६)। उनका चारवटा कथा-सङ्ग्रहअन्तर्गत ४७- वटा कथा प्रकाशित भइसकेका छन् । पारिजात बाल कथाकारका रूपमा परिचित नभए पनि उनले बचेरा बास जस्तो संस्था खोलेर बन्दीगृहमा बन्दी भएका निर्दोष नानी जो आमा-बाबासित जेलजीवन भोग्न बाध्य छन् अनि स्कुल प्रवेश नपाएकाप्रति संवेदनशील हुने पारिजातका कथाहरूमा यस्ता बालबालिकाबारे आएका सन्दर्भलाई छन् सबाल्टर्न बालबालिकाका समस्यासँग सम्वेदनशील (Sympathy) मात्र होइन, समानुभूति (Empathy) -ले आहत बन्न पुगेका कुरा यहाँ उल्लेख गर्ने काम गरिएको छ।
१.१. पारिजातका कथामा बालबालिकाका समस्या
बाल बालिका समाजका अभिन्न सदस्य हुन्। समाजको कारण, परिवारको आर्थिक पृष्ठभूमिका कारण, त्यही समाजका बालबालिकाहरूले विभिन्न सामाजिक, आर्थिक, मानसिक समस्याहरू भोग्न बाध्य हुन्छन्। अबोध बालबालिकाहरू तिनै आर्थिक, सामाजिक कारणले पीडा भोग्नु परिरहेका कुरालाई कथाकारहरूले आफ्ना कथामा चित्रण गरेका हुन्छन्। पारिजातले पनि आफ्ना कथामा समाजका विपन्न वर्गका बालबालिकाहरूले भोगिरहेका समस्याहरूको बारेमा निम्न कथाहरूमा चित्रण गरेकी छन् –
१.१.१ ‘मैले नजन्माएको छोरो’ मा बाल समस्या
जीवनभर अविवाहित बनेकी आजीवन बिहे नगर्ने पारिजात जैविक रूपमा आमा त बन्न सकिनन्। तर पनि उनको प्रथम कथा ‘मैले नजन्माएको छोरो’ मै आमा हुनुको अनुभूति अभिव्यञ्जित भएको पाइन्छ। यस कथामा बाह्र तेह्र वर्षको स्कुले ठिटोलाई देखेर उनमा जागेको मातृत्वबारे वर्णन गरिएको छ। पारिजातले यहाँ आफू नारी भएकोले मातृत्वलाई म पात्रको माध्यमबाट यसरी परिभाषित गरेकी छन् –“ त्यो मेरो छोरो वा अरू कोही, सोच्छु- शायद त्यो प्रकृतिको वरदान होला, स्वास्नी मानिसको वात्सल्यदेखि वञ्चित रहन नसक्ने। स्वास्नी मानिस हुनुभन्दा जननी पहिले भइहोली। त्यसैले मातृप्रेम धेरै उच्च छ। छोरो, छोरो, छोरो, म जहीँतहीँ छोरो देख्छु। हामी पनि छोरो छोरो भन्दा भन्दै जन्मँदै गएका छोराछोरी हौं। म भन्छु छोरा, सबै छोरा भन्छन्। कल्पना गर्छु, यहाँ सबै छोरैछोरा भए । अनि आफै खिस्स हाँस्छु” (चामलिङ ‘किरण’: १९९७, पृ. २१)। यसका साथै युग, परिवेश र लालनपालनले एउटा शिशु र किशोरमा ल्याएको विकृतिप्रति विक्षोभ पनि व्यक्त गरिएको पाइन्छ। आफूले पुत्रवत् स्नेहसिक्त भई उक्त किशोरलाई माया गरिरहेको तर उसले भने ३५ वर्षकी नारीलाई केवल नारी शरीरका रूपमा हेरेर अश्लील व्यवहार गर्दा र अपाच्य कुरा बोल्दा ऊ स्तब्ध बनेकी अवस्थाको चित्रण गरिएको छ।
पारिजातकी नारी पात्रलाई आफ्नो अस्तित्व र अस्मितामा पति रूपी पुरुषको उपस्थिति स्वीकार्य छैन। ऊ उन्मुक्त हुन नै रुचाउँछे तर उसको मातृत्वले स्त्रीत्वलाई जितेको अनुभव हुन्छ। ऊ सानो होइन बरु यस्तै रहर लाग्दो गतिलो छोरोलाई काखमा राखेर आमा हुनको अनुभव लिन चाहन्छे। अझ छोरोकी आमाहरूले अनुभव गर्ने अनुभूति गर्ने पक्षलाई म पात्रका माध्यमबाट प्रस्तुत गरिएको छ। यसैले त्यस ठिटोले आफ्नो पाठ्यपुस्तक बेचेर चुरोट खाने कुरा थाहा पाएपछि म पात्रले सपनामा देख्छे – “मैले भर्खरै एउटा छोरालाई जन्म दिएकी छु र मातृगर्वले फुलेर दंगदास छु। मेरो छोरो काखमा नअँटाएर पल्टेको छ र मसित चुरोट खाने पैसा मागिरहेको छ। म ब्यूँझन्छु – मेरो आँखा भरिएर आउँछ तर म उसको बदमासी केवल आफैभित्र ढाकछोप गरिदिन्छु र भन्छु, ‘मेरो बाबा! तिमी असाध्य राम्रो छौ’। शायद यसरी आमा भइसकेकाहरूले छोराको बदमाशी लुकाउन कताकता हृदयको अन्तरमा सुरक्षा साँचेका हुँदा हुन् । मायाको बन्धन के विश्वास, साथै के विश्वास आजको युग, नैतिकता र विकास।” यसरी म पात्राले आमा हुने बित्तिकै छोरोको गलत प्रवृत्तिलाई पनि ढाकछोप गर्ने र सुधार्न खोज्ने सपना देखेकी छ अर्थात् पुत्रका लाख कुसङ्गत र कुप्रवृति भए पनि आमाले सदैव माया गरिरहने सत्यलाई यहाँ देखाइएको छ। ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ भन्ने कुरा हुन आएको देखिन्छ।
पारिजातले बिस्तारै आफूले नजन्माएको छोरो (ठिटो) को कुप्रवृति र चर्तिकला देखेपछि आफ्नो पागलपनलाई यसरी अर्थ्याएकी छन् – “प्लास्टिकको गोलीलाई ओथार्न तम्सेकी निर्लज्ज कुखुराको माऊ जस्ती म एउटा कोरा भावनामा आफैलाई पिल्स्याएर हिँड्ने तर कुखुरीको आवेग यौटा सत्यता अनि मेरो कुन्नि सत्य की झुट।” अझ अन्तमा म पात्रले समय र समाजलाई नै दोष दिएको पाइन्छ। उनी भन्छिन् – “कुन्नि कुन आदर्शको आधारमा म धारे हात लाउँदै तम्सिन्छु । म सराप्छु, युग परिवर्तनलाई, शिक्षा पद्धतिलाई, आमाहरूको मायालाई, केबल सराप्दिनँ आफ्नै कायरतालाई। जलन, घृणा र हीनताका अनुभवले मेरो अनुहारभरि विकार आउँछ”। यसरी यस कथामा पारिजातका नारी पात्रले आफूलाई आफूले छोरो मानेको मान्छे त सुकुमार, कल्कलाउँदो छोरो नभएर एउटा निकृष्ट, उछृङ्खल र अशिष्ट व्यवहार गर्ने खालको देखिन्छ। पुरुष भएको अनुभव भइसक्दा म पात्राको स्वप्नभङ्ग हुन्छ र उनी यथार्थ धरातलमा ओर्ह्लन पुग्छिन्। यसरी नारीलाई विलासिताको साधन मात्र मान्ने र नारीलाई मांसपिण्ड मात्र देख्ने पुरुष समाज, चाहे उमेरमा सानै भए पनि आफूभन्दा ठूला नारीलाई पनि भोग्या देख्ने विकृत मानसिकता देखेर युगलाई दोष देखाउने म पात्र वास्तवमा युगीन नारीहरूकी प्रतिनिधि पात्रा हुन्। यसरी बालबालिकामा युगले निम्त्याएको दुःसाहस र विकृतिप्रति कथाकार पारिजातले निकै नै गम्भीर चिन्तन गरिरहेकी उनको प्रथम कथाले नै देखाउँछ।
१.१.२. ‘तिउरीको फूल पाइरियाको गन्ध’मा बाल समस्या
‘तिउरीको फूल पाइरियाको गन्ध’ कथामा सडक बालबालिकाप्रति पारिजातको चिन्ता देख्न पाइन्छ। पारिजातका यस कथाका पात्रहरू आर्थिक, सामाजिक, सांस्कृतिक र लैङ्गिक शोषणमा परेका पाइन्छन्। ती वर्गीय चरित्रका रूपमा पनि देखापरेका छन्। ती पात्रहरूले समाजमा व्याप्त नारीको चिन्ताजनक स्थितिको चित्रण गर्न पुगेका छन्। एकातिर आफ्नै छोरोकी विधवा बुहारीलाई रातोदिन बलात्कार गरेर पनि अपराधबोध नगर्ने बूढा ससुराहरू पनि यही समाजमा विद्यमान छन् भने अर्कातिर हाडनाता करणी गर्ने र सौतेनी बहिनीलाई बलात्कार गरी गर्भवती तुल्याउने पुरुषहरू पनि यही समाजमा छन्। तिनका वास्तविक चरित्रगत कमजोरीलाई कथामा मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ। यसरी गर्भवती भई नानी फाल्न पर्ने स्थितिमा परेकी कुमारी आमाहरूले सामाजिक न्याय नपाउनु र उल्टो पिडिता नै जेलमा जाकिनु परेको विसङ्गत स्थिति छ। जस्तै अपराध गरे पनि पुरुषहरू चोखा भई समाजमा खुला रूपले घुम्ने, तर तिनै अपराधीका सिकार बनेका नारीहरूले कि त आत्महत्या गर्नुपर्ने अथवा जेलदण्ड भोग्नुपर्ने वा त सामाजिक बहिष्कार सहनुपर्ने बाध्यता रहेको छ। यसै सन्दर्भमा समाजमा बलात्कारमा परेका महिलाहरूद्वारा जन्माइएका नानीहरू अनैतिक नै ठहरिने हुनाले समाजले तिनीहरूलाई स्वीकार्दैन।
सभ्रान्त मानिएको समाजमा अनैतिक सम्बन्धको परिणति स्वरूप जन्मेका यस्ता नानी र कुमारी आमाले जन्माउने अलपत्र परेको नानीहरू रछ्यान, नाली, सडक र अस्पतालमा फालिएका सत्य कुरा प्रकाशमा ल्याएकी पाइन्छ। कोही मर्छन्। कतिजना सडक बालबालिकाका रूपमा रही अभिसप्त जीवन जिउन बाध्य छन्। न त उनीहरूको घर परिवार हुन्छ, न त नाम, थर, गोत्र, चिनारी नै। यसरी बेटुङ्गो जन्मनेहरू बेटुङ्गै मर्छन् । अझ ती किशोरी वा नारी भए त वरिपरिका पुरुषहरू फोहोरमा झुत्तिने कुकुरसरह झुत्तिन्छन्। सफा लुगा लगाउने, सामाजिक सुरक्षाको दायित्व बोकेकाहरू, नाइके भइटोपलेकाहरू प्रायः सबैले ‘तिउरीको फूल पाइरियाको गन्ध’ कथाकी नायिका लाटीलाई लुछेसरी लुछ्न सदैव तत्पर रहन्छन् भन्ने भाव कथामा पाइन्छ। यसरी नारीहरू कहीँ कतै पनि सुरक्षित छैनन् भनी पारिजात समाजमा नारीको स्थितिको यथार्थ अङ्कन गर्ने क्रममा सडक बालबालिका बारे लेखिएका कथामा चिन्तित देखिन्छिन्। सडकमा आजीवन अफालिएका यस्ता बालबालिकाको मानवअधिकार समेत हनन भएको देखेर नै पारिजातले ‘तिउरीको फूल पाइरियाको गन्ध’की लाटी जस्ता कालजयी पात्रको माध्यमबाट समाजमा अवहेलित यस्ता बेटुङ्गे शिशुहरूबारे चिन्तन गर्न सबैलाई प्रेरित गरेको देखिन्छ। सवाल्टर्न दृष्टिले यी बालबालिकाहरू निमुखा छन् किनभने यिनका अधिकारबारे कसैले बोलिदिनै पर्छ, नत्र यिनीहरूको स्वर सत्ता र समाजमा स्वतः संचारित भइपुग्दैन। तर यिनीहरू पनि समाजकै अभिन्न अङ्ग हुन्, यिनका निर्माता नागरिक स्वयं हुन्छन् भन्ने पारिजातको धारणा छ।
१.१.३ ‘देवल’ कथामा बाल समस्या
नेपाली कथा लेखनमा जीवनको आधा भाग सुम्पने कथाकार पारिजातले समस्याग्रस्त मानव जीवनको वर्तमानलाई कथामा उतार्ने क्रममा विसङ्गत, विक्षोभ र विकृत कैशोर्य अवस्थालाई पनि देखाएकी छन्। उनको एउटा सशक्त कथा हो – ‘देवल’। यस कथामा एउटा देवलवासी भिखारी नारीको किशोर छोराबारे कथावाचक म पात्रले गरेका वर्णनद्वारा समय र परिवेशले कसरी एउटा सामान्य किशोरलाई पनि बिस्तारै विकृतितिर धकेलिरहेको छ भन्ने देखाएको छ । यस कथामा चरम विसङ्गत स्थितिलाई देखाउन अरू लोग्नेमान्छेले झैँ आफ्नै छोरोले पनि आमालाई सम्भोग गर्ने दुस्साहस गरेको देखाउनु पारिजातले निकै ठूलो साहस जुटाउनु परेको देखिन्छ। यस कथाबारे ताराकान्त पाण्डेको कथन छ – ‘तिउरीको फूल पाईरियाको गन्ध’ कथामा विरूपा लाटीसँग सम्भुक्त भएको पुरुष पात्रको पतनभन्दा पनि चर्को पातक स्थिति र चरित्र यहाँ उभ्याइएको छ। आमाप्रति छोरोको यो दृष्टिकोण र व्यवहार हाम्रो सामाजिक यथार्थको विरूप र विकृत चित्रण हो’ (पारिजात, पूर्ववत्, पृ. १०४०)
यसरी पारिजातले उक्त कथामा देवलवासी आमालाई दिनरात पुलिस, ‘देवल’को नाइके, ‘देवल’को महारोगी, ‘देवल’को आश्रित साधु तथा सेता पहिरनधारी भद्रभलाद्मी मानिनेहरूले दिनरात बलात्कारमा पार्ने गरेको देख्दा कलिलो किशोर छोरामा मनोवैज्ञानिक रूपमा परेको प्रतिकूल असर पनि देखाइएको छ। उक्त किशोर छोरोले रगतका टाटाहरू लागेका लुगाहरू धुनुपर्ने बाध्यता अनि खुलेआमा तेल घस्न बसेकी आमाको कलिलो आङ अरू दशजना लोग्नेमान्छेसँग लागेर भोगिदिने ९पारिजात, पूर्ववत्, पृ. १०४० किशोरको बाध्यताले नै उक्त किशोरमा चरम विसङ्गति र विकृत मानसिकताको विकास भएको देखाएको कुरा कथाकारले उल्लेख गरेकी छन्।
१.१.४ ‘साँझ उदास घरको पिँढीमा’ कथामा बाल समस्या
किशोरका समस्याले ग्रस्त पारिजातको कथा हो ‘साँझ उदास घरको पिँढीमा’। यस कथामा पनि पैसा रुपिञाको अभाव खेपेकी कमलीले किशोर हुने बित्तिकै आफ्नो शरीरलाई कमाइको सजिलो साधन बनाउँछे। उसका बाध्यताहरूले उसलाई निकै दुःसाहसी बनाउँछ। उसका अनाधिकृत रहरहरूले गर्दा ऊ आफ्नै हाकिमसित रात बिताउन जान्छे। “ए कमली १ तँ त छोरी मान्छे नखाए पनि हुन्छ। यी हेर् आज भात पुगेन भाइहरूले मात्र खाउन्” (पारिजात, पूर्ववत्, पृ. १०४० भनी आफ्नै जन्मदातृ आमाले उसलाई कतिपल्ट भोकभोकै सुताएकी छ। यसरी चरम आर्थिक अभावमा हुर्केकी कमली आफ्नो थाङ्ने ओछ्यानमा निदाउने प्रयत्न गर्दै आफ्नो विगत यसरी सम्झन्छे– “गरिबी कस्तो नाचेको छ उसको शरीर र मनलाई एकसाथ कुल्चीमिल्ची गर्दै। कुनै समय झण्डै लाज पनि ढाक्न नपाएकी उसले” (पारिजात, पूर्ववत्, पृ. १०४० स्त्रीसुलभ लाज, घीन, र रहरलाई सानैदेखि चरम आर्थिक अभावको जाँतोमा पिँधेर नै कमली अन्तमा आफ्नो शरीरलाई नै सुलभ बेच्ने जिनिस बनाउँछे र यसको प्रयोगद्वारा एक खुड्किलो मास्तिर उक्लने प्रयास गर्छे। किशोर किशोरीका विभिन्न समस्या र सामाजिक समस्याहरूतिर पारिजातले ध्यान पुऱ्याएकी छन्। समाजमा बालबालिका र किशोर किशोरीहरूबारे सबैले सचेत भएर उचित अवसरको व्यवस्था मिलाउनु पर्ने स्थितितिर कथाकारले इङ्गित गरेको देखिन्छ।
पारिजातले आफ्ना कथामा बेबी, कमली, सोफिया, बोनी जस्ता छोरीहरू अर्थ ९पैसाको० को अभावमा, निर्धनताले गर्दा पुरुषहरूद्वारा मनोरञ्जनको साधन बन्छन् र केही क्षणको भौतिक सुख, लिपस्टिक-गाजल, वाइन र चिकन अनि र पहिरन जस्ता पश्चिमी सतही अनुकरणमा लागेर आफ्नो अस्मिता लोप गराइरहेका छन् भन्ने समस्याग्रस्त समाजको चित्रण गरेकी छन्। यी पात्राहरू कोही बेला अलिकति पैसा कमाउने, सहर हेर्ने अनि आफ्ना किशोरसुलभ रहरहरू पूरा गर्ने सपना साँचेर ल्वाँगे घर्ती र लहरे जस्ता बिचौले र मानव तस्करहरूको जालमा परेर बम्बई, बिहारका वेश्यालयहरूमा पुऱ्याइन्छन्। उनीहरूलाई बलपूर्वक गणिका बनाइन्छ भन्ने यथार्थको चित्रण गरेका छन्। अल्पपठित वा अपठित, आर्थिक रूपमा दुर्बल र असचेत किशोरीहरूको स्थिति देखाउँदै यस्ता समस्याहरू किशोरीको जीवनमा सजिलै आउनसक्ने गर्दछ भन्ने पनि देखाएकी छन्। यसरी मानव तस्करी र बेचविखन आधुनिक विश्वकै एउटा विकराल समस्या हो र यसका सम्भावित सिकार किशोरीहरूको नारकीय जीवनका लागि जिम्मेवारी एक हदसम्म समाज र सामाजिक नै हो भन्ने पनि यी कथाहरूमा देखाइएको पाइन्छ।
२.निष्कर्ष
पारिजातका कथाहरूमा बालमनोविज्ञानलाई पनि यसरी विकृति र विसङ्गतिको कारकका रूपमा उभ्याएको देखिन्छ। वर्तमान परिवेशमा बालबालिकाको उचित लालन पालन नभए एउटा विकृत, विसङ्गत समाज मात्र भविष्यमा देखिने छ भन्ने तिर पनि कथाकारले सङ्केत गरेकी छन्। बाल्यावस्थाको परिवेश र समाजका विभिन्न कारणले व्यक्तित्वनिर्माण हुने गर्दछ। यसर्थ प्रतिकूल परिवेश, घरपरिवारमा कलह, खण्डित गृह, पतिपत्नीमाझमा विरोधाभासले निम्त्याउने द्वन्द्व र पारपाचुके अथवा एकल जीवनशैलीले पनि बालबालिकामा प्रतिकूल असर पर्दछ। यसरी नै उच्च शिक्षाका लागि गाउँ छोडेर नगर पस्ने किशोर किशोरी, सुलभ जीवनको खोजमा सहरतिर पस्ने परिवारमा सरल पद्धतिले पैसा कमाउने भनी सजिलो मार्ग अप्नाउन किशोरीहरूले आफ्ना शरीरलाई माध्यम बनाउँदा पनि समस्यामा पर्दछन् भनी देखाइएको छ। यसरी नै पुरुषहरूको कुदृष्टिले पनि किशोरीहरू बलात्कारमा पर्ने, वेश्यालयसम्म पुऱ्याइने र अपमानित हुने गर्दछन् । अझ कुमारी आमा बनेर समस्यामा पर्दछन्। यसरी नारीहरूलाई विशेषगरी कैशोर्य अवस्थामा निकै समस्याग्रस्त देख्ने पारिजातले उनीहरूको स्थितिबारे पनि कथामा स्वर उठाएकी छन्। अझ कोहीबेला आमाद्वारा संस्काररूपमै पनि कतिपय किशोर किशोरीहरूले उचित शिक्षा नपाउँदा, संस्कार नपाउँदा पनि नानीहरूमा विसङ्गत स्थितिको सामना गर्नु परिरहेको पनि यी कथाहरूमा पारिजातले देखाएकी छन्।
सन्दर्भ ग्रन्थ
नरेन्द्रराज प्रसाई, वि.सं २०५७, पारिजातको जीवनकथा, काठमाडौं स् एकता प्रकाशन।
पवन चामलिङ ‘किरण’, (सम्पा.), १९९७, पारिजातका संकलित रचनाहरू, ग्रन्थ – ३, सिक्किम : निर्माण प्रकाशन।
पारिजात, ‘मैले नजन्माएको छोरो’, १९६४, रचना, (रेखा -३, विन्दु -१, असोज- कार्तिक, टङ्काल।
पूर्वोत्तर क्षेत्रीय भाषा केन्द्र, गुवाहाटी