प्रवेश
एउटा शास्वत र निरन्तर अनि सत्स्वरूप महाकालको शून्यतामा महाँविस्फोटित सूर्य र पृथ्वीको अस्तित्वको समग्र इतिवृत्तलाई आफ्नो विशाल वक्षमा उपस्थित गर्ने काललाई महाँपात्रता प्रदान गरेर लेखिएको भूमिसक्त मदनमणि दीक्षित (१९७९–२०७६) को उपन्यास भनेर लेखिएको चौथो कृति हो । उपन्यास क्षेत्रमा माधवी (२०३९) मेरी नीलिमा (२०५०), त्रिवेदी (२०५०), पछि २०५८ मा प्रकाशित भूमिसूक्तले ‘माधवी’ पछिको चिन्तनगत उच्चतालाई उत्कर्षमा पुर्याउने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाली उपन्यास लेखनमा वैदिक र अझ प्राग्वैदिक विषयवस्तुलाई लिएर कलम चलाउने स्रष्टा मदनमणि दीक्षितको एक्लो कलमले सजीवतापूर्वक आत्मसात् गरेको छ । दीक्षित एकातिर स्रष्टा र अर्कातिर चिन्तकसमेत बनेका उभय मूल्यका व्यक्तित्व हुन् । यसै नाताले उनको सृजना आख्यान र प्रबन्ध क्षेत्रमा विभाजित भएको छ । आख्यानका सन्दर्भमा उपयुक्त उपन्यासहरूका अतिरिक्त कसले जित्यो कसले हार्यो (२०२१), जेडा (२०५२) कथा सङ्ग्रह प्रकाशित भएका छन् । त्यसरी नै चिन्तनगत प्रबन्धमा म रुँदै बिर्सिन्छु (२०२७), दशलाख हिरोसिमातिर (२०४०), चरैवेति (२०४४) निबन्धहरू पाठकसामु आएका छन् । दार्शनिक चिन्तनमा केन्द्रितमा प्राचीन मिथकहरूमा आधारित त्यो युग (२०४६), सीता र द्रौपदी (२०४८), गार्गी (२०४९), आनन्दमय आकाश (२०५२), अमृतत्व र कारुणिकता (२०५३), उद्दाल आरुणि (२०५३) जस्ता चिन्तन प्रधान प्रबन्धहरू पनि प्रकाशमा आएका छन् । लेखनको आरम्भदेखि लिएर प्रकाशनको सूर्यदर्शनसम्मको अवधिमा झण्डै १८ वर्षको अवधि समेटेको भूमिसूक्त (२०५८) उपन्यास प्राचीन आर्ष वाङ्मयको लामो समयावधिका आख्यान कण र सूत्र र कणिकालाई आफ्नो दृष्टिले सिर्जनात्मक कलामा सजाएर औपन्यासीकरण गर्ने प्रयत्नमा तयार भएको छ ।उपन्यासको आख्यानवृत्त
‘ऋग्वेद’ आधारभूमि भएको कथावस्तुका नौओटा सूक्तलाई उपन्यासले आख्यान बनाएको छ । यस उपन्यासका समग्र सूक्त भूमिसूक्तमा केन्द्रित छन् । यी सूक्तहरूमा १. महाकालको वाणी, २. हिमवान्मा जीवन, ३. सप्रहामातृका सूक्त, ४. स्त्रीराज्य सूक्त, ५. मानव सूक्त, ६. मातृशिखर सूक्त, ७. नल र दमयन्ती सूक्त, ८. दिवोदास–शम्बर सूक्त र ९. महालकाल वाणी सूक्त रहेका छन् । यिनै नौओटा सूक्तमा वितरित भएको छ–उपन्यासको कथावृत्त ।
पहिलो सूक्तमा महाकालको समग्र शून्यतामा अनुरेखाङ्कन गर्दै महाविष्फोटबाट सूर्य, पृथ्वी, चन्द्रजस्ता आवधिक मापनका सीमाहरू अखण्डताका बिचमा खण्डीकरण अवस्थाका सूचक तत्त्वको उपस्थापन गरिएको छ । अविनाशी र अक्षर महाकालको निरन्तरतामा खण्डीकृत दशा प्रदर्शित गर्न प्रयत्न गरिएको छ । यी तत्त्वहरूको आविर्भाव भएपछि समय बन्यो । त्यो समय आचन्द्राक, आपृथ्वी, आग्रहजस्ता सावधिक समय मापनका सीमाहरू तयार भएको कुरा यस सूक्तमा उपस्थित भएको छ ।
‘हिमवान्मा जीवन’ शीर्षकको दोस्रो सूक्तमा थिति (स्टेथिस) सागरको पुत्रको रूपमा हिमालयको अविर्भाव भएको आख्यान प्रस्तुत छ । लामो समयसम्मको जलाप्लावित पृथ्वीबाट पूर्वपश्चिम तलको भूधराबाट एउटा पहाड उठ्दै गएर हिमालको रूपमा उपस्थित भएको कथा छ । त्यस पहाडको भूभाग समुद्रबाट उठ्दै जाँदा समग्र जलराशि उत्तरदक्षिणतिर खाँदिन पुगेको र समुद्र निकै टाढा प्रस्थापित बनेको प्रसङ्ग उद्घाटित बनेको छ । हिमालको भूधरामा स्थावर, जङ्गम र चर–अचर समस्त प्रकृति जगत्को सृजना भएको, प्राणीहरूको आरम्भ भएको र क्रमशः महाकाल र सूर्यको सम्वाद, सूर्य र पृथ्वीको प्रणयालाप, कथावाचन र श्रवण, वनस्पति, फलफूल, खाद्य पदार्थ, जाडो–गर्मी जस्ता ऋतुचक्रको व्यवस्थिति बन्दै गयो । सूर्यको पौरुषबीजबाट जीव प्राप्त गरी पृथ्वीको नारीरजबाट मानव सन्तान फैलिदै गएको अवस्था उपस्थित भएको छ । पुरुषबिचको प्राप्तिबाट रजोगर्भा नारीले सृष्टि–परम्परा व्यवस्थित गर्दै गर्दै गएको तथ्य यस सूक्तको कथासूत्र बनेको, मानव अस्तित्वको आदि माताको अस्मिता अदिति परम्परावाद स्थापित बन्दै गएको तथ्य पनि यसै सूक्तमा प्रस्तुत भएको छ ।
‘सप्रमहामातृका’ कथा तेस्रो सूक्तमा वर्णित छ । पृथ्वीरूप आदिमाताको आरम्भ भएको अवस्था पनि यसै सूक्तमा वर्णित छ । सप्तमातृका अदिति, दिती, दनु, दनायु, क्रौधा, प्राधा र सिंहिकाको आरम्भसँगै मातृशक्ति र सत्ताको आविर्भाव भएको पनि यसै सूक्तको कथा बनेको छ । ठूलाको शक्ति र समुदाय विभाजित हुँदै गए पनि आफ्नो समूहमा मातृकाको स्थापना गर्ने प्रचलन कायमै रहेको देखिन्थ्यो ।
भद्रसीमा नदीका फाँटमा अवस्थित ऐलसमूहमा नारीहरू मातृकाको रूपमा स्थापित हुन्थे र महाप्रोहितको रूपमा वरण गरिने युवक कश्यप कहलाइन्थ्यो । विभाजित र विकसित बन्दै गएका नवपरम्परामा पनि मातृकाको प्रस्तुति कायम रहेको देखिन्छ । यस परम्परामा काकी, हलिमा, वैमात्रा, मालिनी, वृहन्ता, पलाला र आर्याको नाम उल्लेख छ । ठूलाहरूको वंशपरम्परा अनुसार ऐल नामबाट परिचित जनसमुदायमा र मातृसभ्यतामा बलिदान गर्नु पर्ने परम्परा निकै कष्टकर बन्दै गएको स्थिति विवस्वान्ले बोध गरेको र सो स्थितिलाई त्याग गर्न मनुले ठूलाजन नै परित्याग गर्न सत्य, न्याय र कल्याणका पक्षमा जनमत तयार गर्न करुष र दिष्ट दुई पुत्रलाई पश्चिम वरुण लोकतिर पठाएका र आफू पूर्वतिर लागेको कथा वर्णित छ ।
वरुण जनपदमा जेठो छोरो वरुणबलिमा समर्पण गर्नु पर्ने प्रचलन अझैं अवशिष्ट रहेको र सत्यरथ (हरिश्चन्द्र) ले मोहवश पुत्रमेघ नगरी अजिगर्ति ब्रह्मणपुत्र किनेर यज्ञ गर्न लाग्दा त्यहाँ विश्वामित्रले शुनशेपलाई बलि हुनबाट जोगाएको र आफै बाबु अजिगर्तिले मौलोमा बाँधेर पुत्र शुनशेपको शिरोच्छेदन गर्न नपाएको प्रसङ्ग सुनेर दिष्टले सम्पर्क गर्न खोज्दा विश्वामित्र पूर्वतर्फ सिन्धु प्रदेशको वैवस्वत मनुसमाजतिर लागेको कुरा थाहा पाएको सङ्केत भएको छ । प्रचेतसजनको समाज मेरु पर्वतको पाखामा अर्थात् गन्धमादन पहाडमा भारिषापुत्री विरणीमा गर्भाधान प्रदान गर्ने प्रचेताहरूको सन्तान विस्तारित होओस् भन्नेजस्ता आपसी गन्थन पुलस्तले सुनेको प्रसङ्ग, प्राचेतस् नारीहरूको गर्भ नटिक्ने तर भारिषा जनसमाजमा नारीको गर्भ एउटै पनि खेर नजाने र सन्तानोत्पादन भएको प्रसङ्ग पनि उल्लेख भएको छ । विरणी पुत्री भारिषाका छोरा कश्यपले कद्रुबाट नागवंशी, विनताबाट गरुवंशी, आदितिबाट द्वादशादित्य, दितीबाट दैत्य, दनुबाट दानवहरू जन्मेको प्रसङ्ग उल्लेख भएको छ । प्राचेतस समाजका कश्यपवंशीहरूमध्ये दितीका सन्तान दैत्य सेना र अदितीका सन्तान आदित्य (देव) सेनामा विभाजित भएको प्रसङ्ग पनि यसै सूक्तमा उल्लेख छ । मासुको खाद्य आगोमा पोलेर खाने बानी परेका प्राचेतस जनहरू ढुङ्गा तातेर पग्लिई सुन बनेको कुरा थाहा पाउन सफल भए । यिनै समाजमा सुनको आविस्कार भएको पनि उल्लेख भएको छ । गन्धमादनबाट पश्चिमतिर लागेका वरुणहरू सुर संज्ञाबाट सम्बोधित हुन लागेको कथा उपस्थित भएको छ । मनुवंशीहरूले आदिमाताको प्रभावलाई बिस्तारै बिस्तारै त्याग्दै र नारी शक्तिलाई क्षीण बनाउँदै गएको पनि उल्लेख छ ।
अदिती पुत्र आदित्यहरूमध्ये बृहस्पति, अङ्गिरसहरू देवसेना समूहका मूलपुरोहित बन्दै गए । जन्म र मृत्युका बारेमा चिन्तन गर्न लागेका प्राचेतसहरूको विचार गम्भीर बन्दै गएको कथा छ । आफ्नै समाजबाट पलायित पुष्पक ठूल समाजकी महामाता काकीका निम्ति वीर्यदाता बन्न पुगेको कथा, बृषपर्वाकी छोरी शर्मिष्ठा र देवयानी महापुजारिणी मात्रृका बन्ने प्रसङ्गको द्वन्द्वमा अल्झेको कथा, ईसाका सन्ततिसमूह ऐस, ठुलाका सन्ततिसमूह ऐले जस्ता गणहरू जन्मिने चक्र चलिरहेको स्थिति भए पनि रक्तबलि परम्पराबाट मुक्त बन्ने उपायको खोजीमा लागेका मनु यायावरीय जीवन चर्यामा मेरुका अहुरहरूसँग जीवन बिताउन पुगेका छन् । आफ्नो पूर्वकथा सुनाउने मनुका मुखबाट मित्र सूर्यकी पुत्री हैरथको द्वन्द्वमा विजयी बन्नेलाई दिने निर्णय अनुसार नासत्यले उक्त खेल जितेर उर्जानीसँग विवाह भएको प्रसङ्गबाट मातृका गणको समाज पराजित भएको कुरा पनि यसै सूक्तमा समाहित छ ।
चौथो सूक्तको नाम स्त्रीराज्य रहेको छ । मातृकाका नाममा नारी सत्ताको स्थापना र परिवर्तन गरिने परम्परा, असुरसेनाबाट पराजित बन्दै गए पनि देवसेनाले वृहस्पतिपुत्र कचलाई सञ्जीवनीसम्बन्धी ज्ञान प्राप्तिका निम्ति असुरकुलपछि शुक्राचार्य समाजमा पठाइएको प्रसङ्ग, शर्मिष्ठाबाट ययातिले पुत्र जन्माएपछि त्यहाँको मातृसत्ता पनि क्षीण बन्दै गएपछि रुष्ट बनेकी महामाया देवयानी पुत्र यदु र तुर्वसुलाई लिएर पश्चिमतिरको यात्रामा प्रवृत्त भएको प्रसङ्ग पनि यसै सूक्तमा उल्लेख छ । महामातृकाबाट मुक्त भएको उही अघि वर्णित पुष्पक मातृवियुक्त भएपछि भेडा बाख्रा हेर्दै लामो समयको यात्राबाट इन्द्रको समाजमा पुगेर केही दिन बिताएपछि पुनः आफै भेडाबाख्रा भएतिर फर्किएर जान अठोट गर्दागर्दै शुक्रसमाजले अप्सराका सम्मान प्रदान गरेकी काकीले पुष्पकलाई देखेपछि आफ्नो सेवक युवकमा नियुक्त गरिन् । छैटौं गर्भधारण पछि पुष्पकको बलि प्रदान गरेको र महाप्रोहितमा अङ्गिराको स्थापना र परिणाम पनि पुष्पकको जस्तै रूपमा समाप्त भएको अनि यस राज्यमा पनि मातृसत्तात्मक परम्पराको लगभग समाप्तिको स्थिति उद्घाटन भएको छ ।
पाँचौं सूक्त चाहिँ मानव सूक्त हो । सागरको पानीमा तुफान आएको र महाप्रलयको सङ्केत देखिएकाले मनुले बेडामा आफ्नो परिवार, खाद्यवस्तु, आगोलगायतका सामग्रीको संरक्षण गरेर जलयात्रा गर्दा गर्दै हिमालको दक्षिण पश्चिममा पर्ने जनपदमा पुगेको प्रसङ्ग पनि यसैमा उल्लेख छ । पुष्पकको अवसान देखेर भोगेका युवक वरुण काकीको समाजवाद इस्वार्तिको मातृसत्तात्मक जनपदमा पुगेको गैडा पक्डिने काममा जुट्नु परेका पीडाको प्रसङ्ग पनि यसै अध्यायमा उल्लेख छ । बरुणको रामोन समाज अर्थात् अफ्रिका जनसमाजमा उपस्थित भएको र काला समाजमा सेता रामोन जन्म परम्परा बरुणबाट आरम्भ भएको स्थिति उल्लेख भएको छ ।
छैटौं सूक्तमा हरियुपिया र मातृसूक्तको कथा वर्णित छ । वैवस्वत मनुको परम्परा र उनको उपस्थिति, मनुद्वारा मानवधर्मको स्थापना, योग, ध्यान, श्रीयन्त्रहरूको प्रसङ्ग विश्वामित्रको उपस्थिति, मनुपुत्र इक्ष्वाकु र सुगुप्तुको वार्ता प्रसङ्ग अनि हरियुपियाको सभ्यताको प्रसङ्ग गन्दर्भ र प्राणीहरूको चर्चा, नगर जीवनको पर्याप्त विकास, सञ्जीवनको उपस्थिति, शस्त्रास्त्रको आविस्कार, वणिक् व्यवसाय, इन्द्रद्वारा त्रिविष्ट्यबाट गरिने सम्भावित आक्रमण, नून र पानीको सन्तुलित उपयोग जीवनको अमृतत्व प्राप्तिको उपस्थिति, सुनका गहनाको उत्पादन र निर्यात, खाद्यवस्तु र जीवनोपयोगी सामग्रीहरूको स्थापना पनि यस सूक्तको कथा बनेको छ । मेम्फीका रामोनहरूमा रहेको नारीजीवनका पीडाहरू पनि यस सूक्तमा वर्णित छन् । उरार्तु पूर्वको क्यास्पियनसँगरतिर मनुबाट भएको यात्राको प्रसङ्ग पनि देखिन्छ । देवजनसँगको नहुषको युद्धको प्रसङ्ग देवकुल र नागकुलका शस्त्रास्त्रको गुणस्तरीयताको प्रश्न पनि उपन्यासको यस सूक्तमा प्रस्तुत छ ।
सातौं सूक्तमा नल र दमयन्तीको आख्यान उल्लेख छ । महर्षि यमको गुरुकुल परम्पराका शिष्यहरूमा यमायन, देवश्रवाका जिज्ञासाले यमद्वारा नल र दमयन्तीको प्रसङ्ग उठाइएको छ । विदर्भराज भीमरथको गुरु यमपुत्र दमको नियोगबाट भीमरथ पत्नीले दमयन्ती नामकी एक छोरी र दम र दान्त नामका दुईछोरा पाएको, दमयन्तीको बिहा निषध राज नलसँग भएको, द्यूत व्यसनी भएका नललाई उनकै फुपूका छोरा पुष्करले जुवामा हराएर राज्य निस्कासन गराएपछि पुष्करको राज्यमा भएको अनाबृष्टि, दर्मिक्ष तथा अकालको आतङ्क दमयन्ती र नलको दुःखको प्रसङ्ग दमयन्ती आफ्नै ठूलीआमाको दरबारमा गुप्त भेषमा रहेको र पुनः मिलन एवम् राज्य प्राप्त भएको प्रसङ्ग पनि प्रतिपादन भएको छ ।
शम्बर–दिवोदास युद्ध उपन्यासको आठौं सूक्तमा वार्णित छ । देव र किराँत शक्तिको तानातानीको लामो युद्धको हार र जितको प्रसङ्ग, भाञ्जा दिवोदास, मामा पौरवको बारेमा भरतले गरेको वर्णन, गर्ग, वशिष्ठ र विश्वामित्र आदिका शक्ति प्रसङ्गहरूको उपस्थिति यस सूक्तमा कथा बनेर आएको छ । शम्बर–दिवोदासको पटकपटकको युद्धमा विजयी बनेका दिवोदासका देहावसान र अन्त्वेष्टिको प्रसङ्गद्वारा विश्वामित्रबाट दिवोदासको स्वर्गारोहणको घोषणा, पुनः सुदासको ऐन्द्रभिषेक र सुदेवीसँग बिवाह भएको प्रसङ्ग, किराँत र सुदास बिचमा भएका वैमनस्य र द्वन्द्वका प्रसङ्गहरू रहँदा रहँदै पनि प्राणीहरूमार्फत दुवै पक्षका स्रोत र साधन आदान प्रदान गर्दै र उत्तरपूर्वतिरको यायापरीय जीवन विचरण गर्दै शुष्ण र बर्कु किराँत र तृत्सुहरू, निषाद र ऐलहरू झण्डै मिश्रित रूपमा गङ्गाको परिसरमा आइपुगेपछि नमुचिको आधार क्षेत्र तोरद्रङ्गमा सार्ने प्रसङ्ग पनि यस सूक्तमा वर्णित छ । सुदास र सुदेवीको विवाहपछि सुदास इन्द्रमा स्थापित हुने प्रयत्नमा वशिष्ठ र विश्वामित्रको बिचमा वैमनस्य विकसित भएको तथ्य खुल्दै गएको छ । विश्वामित्रको शुनःशेप मोचन, अहिल्या उद्धारको पुरुषार्थ देखाउने विश्वामित्रले वशिष्ठका विरुद्ध नयाँ स्वर्ग रची सुदासलाई त्रिशङ्कुको रूपमा स्थापित गरेको प्रसङ्गहरू, विपाशा, शतद्रुनामा नदी पर्वतबाट वेगवान् बनेर समुद्रतिर प्रवाहित बनेको प्रसङ्ग बह्श्वपुत्री अहिल्याले गौतमबाट शंतानन्द नामक छोरो जन्माइसकेपछि एक दिन ग्रामीण सरदारले अहिल्यामाथि कामुक दृष्टिले हेरेका कारण गौतमबाट परित्यक्त बन्नु परेको र पछि विश्वामित्रको समावार्ताबाट पुनः देवीमा स्थापित भएको प्रसङ्ग पनि यसै सूक्तमा उल्लेख छ ।
नवौं सूक्त प्रथम सूक्त जस्तै महाकालको वाणीमा केन्द्रित छ । समाज विकासको क्रममा आएको उतार चढाउ, नारी र पुरुष सभ्यताका अनेकौँ आरोह अवरोह र समयको र सन्दर्भका प्रसङ्गहरू, मानव र पृथ्वीलाई नै सुन्दर ठान्ने महाकालको कथन, सिङ्गो सभ्यता खण्डीकरणको सभ्यता निरन्तर गतिवान् रहेको, देव र मत्र्यलोकका अनेक द्वीपका समग्र मातृका गणहरूको र मानव सभ्यताको सन्दर्भका नवनव सूक्तहरू सिर्जित हुँदै जाने सन्देशमा महाकालको निरन्तरता कायम रहेको स्थिति प्रदर्शन गरेर उपन्याको कथावृत्त समाप्त भएको छ ।
उपन्यासको वस्तु
आदि, मध्य र अन्त्यको साक्षी महाकालको गर्भमा सिर्जित सूर्यलगायतका ग्रहपिण्डको उपस्थितिमा पृथ्वीको रूपान्तरण, वनस्पति र प्राणीको आविर्भाव, मानव निर्मित सभ्यता र समाज विकासको क्रम यस उपन्यासको मूल वस्तु रहेको छ । सिन्धु सभ्यता र त्यसपूर्वको समग्र इतिहासको आरम्भ बिन्दुसम्मको इतिवृत्तमा लेखिएको प्रस्तुत उपन्यासमा विक्रमको १८०० सय वर्ष पूर्वको सन्दर्भलाई केन्द्र बनाइएको छ । यसको अर्थ उपन्यासमा अँगालेको वस्तुको समय आजभन्दा लगभग ४००० वर्ष पूर्वको कालावधि हो । यस कालावधिमा पृथ्वीको स्वरूप मानवचेतना र चरित्र, मानव–मानव बिचका आस्तित्विक सम्बन्ध र द्वन्द्वहरूबाट आएका परिवर्तनहरू उपन्यासका वस्तु बनेर वर्णित भएका छन् ।
ब्रह्माण्ड सभ्यताको समग्र कथा यसै धर्तीको कथा हो, महाकालको गर्भमा जन्मेको अनायास विष्फोटबाट तारामण्डल र ग्रहणसँगै सिर्जित पृथ्वीले सूर्यको परिक्रमा गर्दै गरेको दृश्य महाकाल स्वयम्ले देख्यो, अनि उसले अनुभूत गर्यो–समग्र सिर्जित वस्तुको अवधिबोध भयो र मबाटै सबै तत्त्वले क्रियाशीलता प्राप्त गर्दछन् । यसपछि मात्र समय आविष्कार भएको स्थिति प्रतिबादित भयो । बाफ, बादल, वर्षा, हावा, जाडो, गर्मी, ऋतु आदिको उपस्थिति पृथ्वी स्वयम्ले बोध गरेको कालले देख्यो । आफ्ना काखमा रहेका प्राणीकी मातृ रूपमा आफै उपस्थित बनेकी पृथ्वीलाई आमाको रूपमा स्विकार्दै बाँचेका प्राणी जगत्को आचरण पनि महाकालले देख्यो । प्रत्येक सृजनाले आफ्नो प्रेरक र अन्तिम सत्य के हो भनेर आफैमा प्रश्निल अनुहार लिएर टोलाउन थालेको काल स्वयम्ले देख्यो । सिर्जनाले समग्र सत्यको ज्ञाता स्वयम् काल मात्र भएको हो भन्ने कुरा काल स्वयम्ले स्विकार्यो। तर यस्ता रहस्यात्मक प्रश्नको अर्थ नखुलेका बेला समस्त सिर्जनाभन्दा परको सत्य तत्त्व हो भन्ने अर्थ स्विकार्न पुग्यो। ऋत र सत्य बोधको चेतना जागरित गरेर जीवलाई सचेत बनाउने आदि स्वरूप तपाईं नै हो भनेर महिमा गान गर्ने क्रममा पनि समग्र जीव संलग्न भए भन्ने कुरा तलका बुँदाबाट स्पष्ट हुन्छ :
१. अहं सर्वस्यप्रमवो मत्तःसर्वप्रवतते ।
इतिमत्वा भजन्ते माम् बुधा भाव समन्विताः । (महाभारत, भीष्मवर्त, ३४।८)
२. या देवी सर्वभुतेषु मातृरूपेण संस्थिता । नमस्तस्यै…..। (दुर्गासप्रप्तशती ५।७१)
३. अहमेवात्मनात्मानं बेत्थ त्वं पुरुषोत्तम । भूतभावन भूतेश देवोदेव जगत्पते । (महाभारत, पूर्ववत् ३४।१५)
४. अनन्त देवेश जगन्निवास त्वमक्षरं रदसतत्परं यत् । (महाभारत, पूवर्वत्, ३५।३७)
यी उक्तिहरू पनि महाकालले थाहा पायो । मातृरुपिणी पृथ्वीलाई प्रशंसाको गीत गाउन थालेका पुरुषहरूकी आमा हामी तिमी पृथ्वीका सन्तति हौं भन्ने किसिमका गीत प्रथा महाकालले देख्यो । मानव माताको मुख हेरेर भविष्यप्रति आशावादी बन्दै, हामीलाई विगत र वर्तमानको असत्यबाट भविष्यको सत्यतिर लग, अन्धकारबाट प्रकाशतिर लग, मृत्युत्वबाट अमृतत्वतिर लग भन्ने प्रयत्नमा जुटेको देख्यो । यिनै आकांक्षाले व्यक्ति विगतमा विलीन बन्दै र समाज भविष्यको सत् अस्तित्वतिर अग्रसर बन्दै गएको पनि महाकालले देख्यो । व्यक्ति विगतको अन्धगर्तमा विलीन हुँदै गयो ! समाज भविष्यको समुज्ज्वल क्षितिजतिर अभिप्रेरित बन्दै गयो । व्यक्ति मृत्युगर्तको विगततिर धस्तै गयो । समाज भविष्यको अमृत फाँटमा फैलँदै गयो । कालले प्राणी चेतको सल्बलमा पृथ्वीको स्नेह र वत्सलता स्पन्दित भएको पायो । जहाँ धर्म छ, त्यहीँ जय छ भन्ने धारणा स्थापित बन्दै गयो; तर महाकालले उद्घोष गरिरह्यो–म अक्षय काल र स्रष्टा समग्र विश्वलाई आफूमा समाहित गर्ने शक्ति हुँ । महाकालले पृथ्वीलाई भविष्यतिर दृष्टि दिन आग्रह गर्यो– हेर त आदित्य, वसु, रुद्र, आश्वानीकुमार र मरुद्गणहरू तिम्रो भविष्यजगत्मा सल्बलाईरहेछन् । यसरी समग्र विश्वलाई भविष्यतिर उत्प्रेरित गर्ने महाकाल आफ्नो नैसर्गिक धर्मप्रति प्रतिबद्ध थियो– ‘म एउटा महाशून्य हुँ, त्यहाँ सूर्यको प्रकाश, तपन पुग्दैन; चन्द्रमाको शीतलता र प्रकाशन पुग्दैन र अग्निको प्रकाश र ज्वलन पुग्दैन, जुन ठाउँमा पुगेको कुनै वस्तु प्रत्यावर्तित भएर यस दृश्य ब्रह्माण्डमा परिभाषित हुन सक्दैन; त्यही स्थिति म महाकाल हुँ । यसरी उपन्यासको महाकाल सूक्त अर्थात् प्रथम सूक्तले मूल वस्तुको उद्घाटन गरेको छ ।
दोस्रो अध्याय ‘हिमवान्मा जीवन’ संज्ञामा आबद्ध छ । हिमवान् पूर्वदेखि पश्चिमसम्म विस्तारित पहाडमा मावन जीवन विस्तारित बन्दै गएको स्थिति देखिन लागेको अवस्था प्रदर्शित छ । आदिमाता पृथ्वीका रूपमा प्रतिष्ठापित भएपछि क्रमशः मातृसत्तात्मक चेतना आविर्भाव हुँदै जाने स्थिति निर्माण भएको छ । महामातृका पृथ्वी पनि अन्य मातृकामा प्रतिष्ठापित हुँदै गएको र प्राणीजगत्की धारिणी, सृष्टिकी प्रतीक नारीका रूपमा
५. या देवी सर्वभूतेषु चेतनेत्य भिधीयते । नमस्यै…, (दुर्गा सप्तशती ५।१४)
६. द्यावानो अध पृथिवी अनागसो मही त्रायेलं सुविताय मातरा… (ऋग्वेद १०।३५।३)
७. असतोमा सत् गमय, तमसो मा ज्योतिर्गमय, मृत्युर्मा अमृतं गयम् । (ऋग्वेद–९।४१३)
८. अहमेवाक्षयः कालो धाताहं विश्वतोमुखः । (महाभारत, भीष्मपर्व, ३४।३३)
९. पश्यादित्यान् वशुन् रुद्रानश्विनौ मरुतस्था । पूर्ववत्, (३५।६)
१०. नतद्भासयते सूर्यो न शशाङ्को न पावकः । यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम (पूर्ववत, ३९।६)
११. तद्वामृतं रोदसी प्रब्रवीमि जायमानो मातरा गर्भो अत्ति । नाहं देवस्य मत्याश्चिकेतागिन रङ्ग विचेताः स प्रचेता । (ऋग्वेद, पथम मण्डल, सूक्तत ८६, मन्त्र ४)
अदिति आदिमहामाता, दिती, दनु, दनायु, क्रोधा, प्राधा र सिंहिका उल्लेख भएका छन् । यिनै महामातृकाबाट द्वादशादित्य, दैत्य, दानव, वरुण, प्राचेतसहरूको आरम्भ भएको तथ्य उपन्यासको वस्तु बनेर उपस्थित भएको छ । सूर्यपुत्री सूर्याको विवाहको मिथमा द्वैध विवाहको प्रसङ्ग, नासत्यसँग सूर्याको विवाहबाट वैवाहिक परम्पराको प्रारम्भिक सूचना पनि यहाँ वस्तुका रूपमा अगाडि सरेको छ । उपन्यासको पर्यावरण भरी वितरित बनेर रहने नरनारीगत चेतनाको अस्मितावृद्धिको उल्लेख्य वस्तु बनेको छ ।
क्रमशः स्त्रीराज्यको विकास नारी सत्ताको प्रभुत्वको स्थिति पनि उद्घाटित बन्दै गएको प्रसङ्ग, इला र पुष्पकको प्रसङ्ग सभ्यताका अनेकानेक शृङ्खला, ऐल जनहरूको अभिव्यञ्जन तथा स्वर्गको स्थापना र त्यसको उत्कर्षतामा पुग्ने प्रतिस्पर्धामा देवजन अर्थात् शूरजन, दैत्यजन अर्थात् अशूरजनको बिचमा प्रतिद्वन्द्वी स्वभावको आरम्भ यसै स्थितिको वस्तुका रूपमा उद्घाटित बनेको छ । मान्छेका विविध जनसमूहहरू जस्तै हिमवान् मानवहरू, यक्ष, गन्दर्भ, कुवेर, वरुण आदिको उच्चताको स्थापना र महत्त्वाकांक्षा इन्द्र नाममा प्रतिष्ठित बन्न पुग्यो । इन्द्रत्व प्राप्तिका निम्ति हुने सङ्घर्षहरू देवासुरसँग्रामका नाममा अङ्कित बने । कृषि तथा पशुसम्पत्तिको सञ्चय गर्ने सभ्यता, लामो र परम्परित रूप प्राप्त गर्न सक्ने सोचमा व्यक्तिगत सम्पत्ति संरक्षणको आरम्भ, सिन्धुघाँटी भन्दा धेरै पश्चिममा आजको किरगिजस्तानतिरको प्राचीन धर्तीबाट विकसित भएको मानव सभ्यता क्रमशः पूर्व, पूर्वदच्छिण र पूर्व उत्तरतिर बढ्दै गएको स्थितिमा, पूर्वदच्छिणतर्फ लाग्नेले अहुर समाजको सम्पर्क प्राप्त गरेको र पूर्वउत्तरतर्फ लाग्नेले सिन्धु घाँटीको सम्यता प्राप्त गरेको खस, किरात, यक्ष सभ्यताको स्थापना हुँदै गएको र पश्चिम लाग्नेहरू वरुण सम्पर्कमा पुगेको वस्तु उद्घाटन भएको । पश्चिम दच्छिणतर्फ लाग्नेहरू अफ्रिका पुगेको प्रसङ्ग यसको वस्तु बनेर उपस्थित भएको छ । पूर्वतिरको यात्रामा ठूलासन्तति पुष्पक र दश महामाता एवं काकीको प्रसङ्गबाट ठूलामाताहरू आफ्नो आफ्नो गर्भ रहेपछि पतिको बध गरेर योनी पूजामा बलि दिने परम्परामा सम्बद्ध थिए । बाबु बनेर आफ्नो सबै सन्तानको मुख हेर्न पाउने र परिचित हुने पुरुषको हक अरक्षित थियो । पुष्पकको बलिपछि काकीको पति वरणमा वरुणले स्थान पायो । चन्द्रका पूजक ठूलाहरू एलं जनसमुदायबाट परिचित थिए भन्ने तथ्य पनि यहाँ वस्तु बनेको छ । पाचौं गर्भपछि पुष्पकको बलिपछि बलिदानबाट मृत्यु भएको सन्दर्भले त्यस ठाउमा रहेको पुरुष समाज क्षुब्ध बन्दै गएको तथ्य खुल्दछ । क्रमशः मातृसत्ताको परम्परामा प्रश्नहरू थपिदै गए । पुरुष बलिप्रदानको परम्पराबाट पीडित पुरुषहरू नारीसत्ताप्रति उपेक्षाबोध गर्न थालेका तथ्यहरू यसै सन्दर्भमा वस्तु बनेर आएका छन् । काकीको सभ्यतापछि महामातृका गौरीको महाप्रोहितको स्थान अङ्गिराले ग्रहण गरे । नारी सत्तात्मक वस्तु विन्यासको क्षण दुर्बल बन्दै गएको तथ्य यस सन्दर्भको वस्तु बनेको छ ।
‘मानवसूक्त’ संज्ञा रहेका यस अध्यायमा तीर्थाटनको सन्दर्भमा वैवस्वत मनुसँग मनुपुत्र सर्याति, नरिष्यन्त, नाभाग, इक्ष्वाकु, धृष्ठ, प्राम्शु, नृग, करुष र पृषध्र मेरूप्रदेशको किरात भूमिमा प्रवेश गरेका प्रसङ्गबाट उठान भएका मानव कार्यलाई वस्तु बनाइएको छ । देवतालाई अहुर भनेर सम्बोधन गर्ने, इलासन्तति एलम्हरू मनुलाई नुः भनेर चिन्न थालेका थिए । इक्ष्वाकुका आग्रहबाट मेरुमा मनुले आदेश दिएपछि पुरुषधर्म र सत्ताको प्रारम्भ भयो । मनुले आफ्नो पुरुष प्रधान नवधर्मको आरम्भसँगै प्राकृतिक प्रकोपको भीषण आक्रमण सामना गर्नु पर्यो । पुराणले प्रलयको नाम दिएको घटना यसै सन्दर्भमा घटित भयो । सागरको जल बृद्धि, वर्षा र भूकम्पबाट पीडित मानव उपयोगी साधनको संरक्षण गरेर मनुको उफ्फा लामो नौका यात्रामा निस्केको र नौकामै बिरामी परेर औषध सेवन गर्नु पर्ने अवस्थामा पुग्यो । अहुर नारीले वन्य औषधि दिएपछि मनुको बिमार निको भएको प्रसङ्गले किरात प्रदेशमा सञ्जीवनी रहेको उद्घाटन भएको छ । अहुर नारी मज्दा अर्थात् अहुरमाताको कथनमा नारीको धर्म पृथ्वीजस्तै हो भन्ने कुरा मनुपत्नी श्रद्धासँग व्याख्या प्रस्तुत भएको छ । पश्चिमसँगरमा रहेका वरुणहरू क्रमशः अफ्रिकामा पुगेको र नवमानव जगत्मा आफ्नो स्थितिको पहिचान प्रदर्शन गर्न गाह्रो परेको नारी सभ्यताको उच्च महिमा इस्तर्ति महामाताको अस्तित्वबाट प्रस्तुत भएको देख्न पाइन्छ । वरुण अर्थात् अप्पति संज्ञाबाट परिचित समुद्रका मानवहरूलाई इस्तर्तिको समाजमा रामोनहरूसँग सुन खोज्ने र गैंडा पक्डने जस्ता जोखिमपूर्ण काम गर्नु पर्ने स्थितिको वस्तु स्थापित भएको छ । बबुलमण्डल अर्थात् अफ्रिकाको निल (नाइल) नदीको परिवेशमा सुन खानी खन्ने र गैंडा पक्डिने काम गर्ने गोरा वरुणहरूलाई पनि त्यहाँका नारीले प्रोहित बनाएर नियोग विधि सम्पन्न गर्ने गरेको प्रसङ्ग उल्लेख भएको छ । मातृ अर्चनाको अवशेष रहेकै अवस्थामा यादस् अर्थात् वरुणहरू फेरि मनुसन्तति मेट्न पूर्वको यात्रा गरेको प्रसङ्ग र नवस्थितिको उद्घाटन भएको कुरा यस सूक्तमा व्यक्त गर्दा मातृ शिखर र हरियुपियाको प्रसङ्ग पनि उपन्यासको वस्तु बनेर उपस्थित भएको छ ।
सिन्धु घाँटीको सभ्यतालाई मो हेन जोदारो र हरप्पाको नामबाट आज चिन्न गरिन्छ । त्यसको तत्कालीन नाम मातृशिखर र हिरियुपिया नाम रहेको उल्लेख छ । वैवस्वत मनुका छोरा इक्ष्वाकुको सन्तान विकुक्षी, निमी र दण्डका नामबाट यो क्षेत्र प्रशासित रहेको वस्तु यहाँ स्थापित छ । सूर्यवंशी इक्ष्वाकुको पुरुषधर्म परम्परालाई यस क्षेत्रको वि.सं. १७ सयवर्ष पूर्वको स्थितिको पाषण तथा स्थापत्य कला, नगर सभ्यता प्रदर्शित गर्ने तथ्यहरू यहाँ वस्तु छन् । मनुपुत्र इक्ष्वाकु र विश्व मित्रले यस क्षेत्रको भ्रमण गरेको र सुगुप्तको पाहुना भएरसम्मान पाएको स्थिति वस्तुका रूपमा यहाँ वर्णित छ । वैष्णव धर्म र आस्थाको आविर्भाव, सम्पत्तिको आदि स्रोत श्रीयन्त्रको अभ्यर्थना र नारी शक्ति क्षीण, पुरुष शक्ति प्रबल बन्दै गएको स्थिति वस्तुका रूपमा स्थापित भएको छ । किरात र मनुका धार्मिक कृत्यहरू मिश्रण बन्दै र पौरुष विम्ब प्रबल बन्दै गएको अवस्था यस अध्यायमा पुष्टि भएको छ । अङ्गिरा एउटा वंश परम्परा, मनु अर्को वंश परम्परा, जमदग्नि एउटा वंश परम्परा, विश्वामित्र अर्को वंश परम्परा, दिवोदास एउटा वंश परम्परा र इन्द्र एउटा स्थापित परम्परा हुर्कदैं गएको प्रसङ्ग यहाँ आइपुग्दा निकै स्पष्ट भएको छ । दैनिक जीवनका वस्तुको विनिमयको सङ्केतका साधन मुद्रा, पणिहरू व्यवसाय र गोपिथिको आरम्भ पनि यसै सन्दर्भको वस्तु बनेको पाइन्छ । सिन्धुघाँटीबाट एशियाको आजको पूर्वदच्छिणतिर पर्ने अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, बर्मा, थाइलेण्ड, पूर्व उत्तर भागमा पर्ने चीन, मङ्गोलिया, कोरिया, जापाना, दच्क्षिणतिर पर्ने आजको खाडीक्षेत्र, त्यस्तै पश्चिम दच्छिणको भाग समग्र अफ्रिका र उत्तर पश्चिमतर्फ पर्ने युरोपको अधिकांश भूभाग त्यतिखेर उपन्यासले पूरै अनुभूत गरेको भाग हो । यी सबै क्षेत्रमा आयात निर्यातका व्यापारिक कार्य, शस्त्रास्त्रका साधनको विनिमय, खाद्य र परिधेय वस्तुको ओसार पसार, मानवशक्ति र मान्छेको प्रजनन सौर्यको सङ्क्रर्मण र ग्रहण, बीजाणु वपन र उर्जस्वल वीर्य विस्तारका कार्यहरू पर्याप्त प्रस्तुत हुने तथ्य यस सूक्तको वस्तु बनेको छ ।
सिन्धु नदीदेखि पूर्वदच्छिण यात्रासँग जोडिएका यस भूखण्डका सभ्यतामा गङ्गाको पश्चिम र सिन्धुको पूर्वको भूभाग विदर्भ, निषध र कुण्डिनपुरसम्म विकसित भएको मानवसभ्यता र पुरै पुरुष प्रधान समाजको परम्परा कायम भएको स्थिति प्रतिपादन भएको छ । यस प्रसङ्गमा नल र दमयन्तीको मिथकीय प्रसङ्ग सबल रूपमा प्रस्तुत भएको छ । मान्छेका कर्म अनुसारको प्रकृति पनि अनुकूल र प्रतिकूल बन्दछ भन्ने कुरा पुष्करको राज्य कालमा निषधमा परेको अनावृष्टि र दुर्भिक्षले पुष्टि गर्दछ । दशार्ण र ताडकापुरीको अवस्थिति, ऋतुपर्ण (कोशल)को राज्यसम्मको, कैकेय, नाग र गरुडवंशीहरूको अवस्थिति समेतका आफ्ना प्राचीन परम्परा अर्थात् मात्रृसत्तात्मक चिन्ह (टोटेम) मात्रमा सीमित बन्न पुगेको कुरा यहाँ प्रस्तुत वस्तुका प्रसङ्गले पुष्टि गरेको छ । बाभेरु, सुसा, बाबुलमण्डलतिर नौका सार्थहरू जान छोडेका र हरियुपियाको सभ्यताको विनाशपछि मरुकच्छ अर्थात् सिन्धुदेखि कौशिकीसम्मको नयाँ जनपद निर्माण भएको तथ्य यस सूक्तको वस्तु बनेको छ ।
गङ्गा र सिन्धुको बिचको पहाडी घाँटीको उत्तरतर्फ कैलाशको अवस्थिति, त्यसको पूर्वपश्चिम विस्तारित हिमालको उत्तरदच्छिण दुवैतर्फ शम्बरको आधिपत्य रहेका बेला दच्छिणको भागबाट अधिराज्य विस्तारमा जुटेका दिवोदासको राज्यसञ्चालनमा आएको गतिलाई उपन्यासको यस सूक्तले वस्तु बनाएको छ । भारद्वाज र वशिष्ठ, विश्वामित्र र कुत्स लगायतका गुरुवंश परम्पराहरू विस्तार हुँदै गएको र दिवोदासको इतिहासले समग्र जीवन र पौरुष–पराक्रमको स्थापना भएको तथ्य पनि यस सूक्तको वस्तु बनेको छ । किरात–शम्बर र देव दिवोदास उभय सेनाको द्वन्द्वमा मानवोपस्थिति २८०० वर्ष विक्रमपूर्वदेखि नै अर्थात् ५ हजार वर्ष पूर्वसम्मको अवधिबाट नै हुन थालेको हो भन्ने कुरा यस अध्यायले वस्तुको रूपमा समेटेको छ । शम्बरको युद्धमा दशरथ, कैकेयी, विश्वामित्र र यस पूर्वको मिथकीय प्रसङ्ग, सावर्णि नामक मनुको समयको युद्ध र पक्षीहरूबाट दुवै पक्षमा हुने सहयोग, भारद्वाज लगायतका मुनिहरूको प्रयत्नबाट, शतदु्र, विपाशा नदीको काखमा, गङ्गा र वक्षु नदीका फाँटमा, सिन्धु र नील नदीका परिसरमा लामो सभ्यतामा मान्छेले आर्जन गरेको वैयक्तिक अहं र सामूहिक सहयोगको अस्मिता यस अध्यायको वस्तु बनेको छ ।
नवौं सूक्तमा पनि पहिलो सूक्तमाजस्तै महाकालको पृथ्वी लगायत समग्र सृजना आफ्नै स्वजन हुन् भन्ने महावाणी प्रकट भएको छ । उपलब्धि र क्षतिको, आानन्द र बिस्मात्को पीडागत द्वन्द्वमा पिसिएको प्रकृति जगत्को रूप र प्राप्ति प्रमुख विषय बनेको यो अध्याय सत्य र ऋतमा प्रवहमान रहने समय ‘चरैवेति–चरैवेति’ का रूपमा गतिमान् रहेको वस्तु बनेको छ।
उपन्यासमा प्रयुक्त परिवेश
उपन्यासले ओगटेको समयको आयतन महाकालको अनन्त गर्भमा सूर्य र पृथ्वीको आरम्भ, ग्रहगण र ताराहरूको अस्तित्वको आरम्भ पृथ्वी पर्यावरणीय दृष्टिले प्राणीका निम्ति अनुकूल बनेका प्रसङ्ग पृथ्वीमा जीवनको आरम्भ, विकास, मानव अस्तित्वको आविर्भाव, मानव समुदायको बनेको प्रसङ्ग पृथ्वीमा जीवनको आरम्भ, विकास, मानव अस्तित्वको आविर्भाव, मानव समुदायको सभ्यता र मातृशक्तिको स्थापना हुँदै विक्रमको १८ सय वर्षपूर्व सभ्यको समय, वैदिक समय उपन्यासको समस्त समय खण्ड बनेको छ । यस खण्डको परिवेश सूचनामा मात्र होइन मञ्चमा नै वर्णित र पात्रहरूले भोगेको भूमिमा देखिएको छ । सिन्धुदेखि पश्चिमको क्षेत्र उत्तरमा क्यास्पियनसागर र दक्षिणमा अरबसागर, पश्चिममा बाभेरु, सुस, उरार्तु र पूर्वमा वामीर पव्यावती मातृशिखर र हरियुपियामा पर्ने केन्द्रीयस्थलमा उपन्यासको आरम्भ र विकास भएको छ । यस स्थितिको समग्र द्रष्टा महाकाल र भोक्ता सूर्य, पृथ्वी, जीवाणु, जीव हुँदै मान्छेसम्मको अस्तित्व रहेको भूमि उपन्यासको पर्यावरण बनेको छ ।
स्टेथिससँगरको गर्भबाट प्रजनित हिमवान्को पश्चिम एसिया माइनरदेखि पूर्वमा बर्मासम्मको पश्चिमोत्तरमा युरोपदेखि एशियाको पूर्वी भागसम्मको उपस्थिति र यस क्षेत्रले जीवनमा पारेको प्रभाव, यस ग्रहमा प्रथम मानव र मानज समुदायको आविर्भाव, एलंम् अर्थात् चन्द्रपुत्री इला मातृगणका सन्तति इलहरूको परिवेश, वंसु र भद्रसोमा नदीका बिचको परिवेशमा तयार भएको देखिन्छ । पुरातन आर्य जनपदहरूको अस्तित्व यसै परिवेशमा भएको ठहर उपन्यासले गरेको छ । यसबाट मायावरीय गतिमा बढ्ने क्रममा वैवस्वत र इक्ष्वाकुहरूको यात्रामा जल र महाभूकम्पको स्थिति सिन्धु–पश्चिम अरबसँगरको भूखण्डमा आइपरेको छ । पश्चिमका वरुणजनहरू
१२. भूमौ च जायते सर्व, भूमौ सर्वं विनस्थति; भूमिप्रतिष्ठा भूतानां, भूमिरेव परायणम् । (महाभारत, भीष्मपर्व, ४।२८)
१३. अयोध्या नगरी रम्यामद्य वै निषधेश्वर; सतऽक्षहृदयं दाता राजाश्व हृदये न वै । (पूर्ववत्,
वनर्पव, ६६।२१)
अर्थात् युरोपीय मानवहरूको पनि पश्चिम दच्छिणको यात्रालाई सङ्केत गर्ने क्रममा नील नदीका बाबुलमण्डल, मेम्फी र सकराको परिवेश अफ्रिकाको संज्ञामा प्रदर्शित भएको छ । वरुण जनपद, इस्तर्ति जनपद, ऐलजनपद मुख्य रूपमा सिन्धु वारिपारिका परिवेशमा उल्लेख भएका छन् । सिन्धुबाट पूर्व बढेका ऐलहरूका समुदायको परम्परामा अहुर र सुर, देवी र माज्दा, पारुहाङ् र महामाया जस्ता नारी शक्तिका सशक्त समाज निर्माणका परिवेशहरू स्थापित छन् । उपन्यासले वितस्ता, असिक्नी र शतदु्रजस्ता सिन्धुका सहायक नदी, विपासा, परुष्णिजस्ता गङ्गाका सहायक नदीका काखमा विकसित भएका परिवेशलाई केन्द्र बनाएको छ । गङ्गाको शिरको उत्तरको पठारमा फैलिएको परतङ्गण अर्थात् स्वर्ग, मेरूपर्वत कैलास, मानसरोवर अमरावती जस्ता क्षेत्रहरू गङ्गाद्वारहरूको उत्तर भूमिका भूपरिवेश उपन्यासमा लिइएको छ । यसभन्दा पूर्वको पहाडी भाग किराँतहरूको भूराज्य र पूर्व दच्छिणको भूभाग अर्थात् स्त्रीराज्य महामाता काकी, गौरा हुँदै ताडका, माज्दासम्मको राज्य परिवेश पनि प्रदर्शित छ । मनुसभ्यता परिवर्तित भएर मुनि सभ्यतामा पुगेको स्थिति देखाउने आर्यवंश परम्परा देवजन र दैत्य जनमा विकास गर्ने पर्यावरण, पृथ्वीलाई उपभोग्य स्थलका रूपमा परिवर्तित गर्ने मानव आचरणले भिन्न रूप प्रदान गर्दै जाँदा आजको सिन्धुदेखि कौशिकीसम्मको भूपर्यावरण उपन्यासको उत्तरकालीन धर्ती बनेर देखापरेको छ । गङ्गापूर्वको भाग मत्स्य, विदर्भ, निषध, दशार्ण, कौशल, मिथिला र कौशिकीसम्मको पर्यावरण समेटेर प्रस्तुत उपन्यास उभिएको छ ।
कतिपय परिवेशहरू सूचना मात्र उपस्थित छन् र कतिपय चाहिँ पात्रकै जीवन–भोगको धर्तीबाट स्थापित भएकाछन् । विश्वामित्रको उपस्थितिले कुशिक परिवेश, गार्गीको प्रसङ्गले मिथिलाको परिवेश, वशिष्ठको र नलको उपस्थितिले कोशलको परिवेश, नल र कर्कोटकको उपस्थितिले निषधको परिवेश उपन्यासको नेपथ्यमा उपस्थित भएको छ । समयको सुदीर्घ काल लगाएर विकसित भएको समाज, धर्म परम्परा र मूल्यलाई अनुकूल पर्यावरण प्रदान गर्न प्रयत्न गर्नाले परिवेशलाई लेखक स्वयम्ले अनुकूलन गर्ने प्रयत्न गरेको छ ।
चरित्रको अनुकूलीकरण र औपन्यासिकता
प्रस्तुत उपन्यासमा जीवनयुक्त पात्रद्वारा र जीवनहीन अमूर्त पात्रद्वारा सहज ढङ्गले पात्रता प्रस्तुत गरेको छ । महाकाल अर्थात् महाशून्य उपन्यासको आरम्भदेखि उपन्यासको अन्तसम्म रहेको छ । यसमा समग्र प्रकृति जगत्का सजीव र निर्जीव सबै तत्त्वगत एकाइको अनुवीक्षण गर्ने काम महाकालबाट भएको छ । महाकालको अनन्तताका बिचमा देखिने पिण्ड सूर्यबाट विभाजित पृथ्वी र अन्य ग्रहगणको उपस्थिति महाकालकै समयातनमा भएको छ । यसरी सिग्रह पिण्डहरूमा परिवर्तन आएको सङ्केत गर्न पृथ्वीमा प्राणीको उत्पत्ति र मङ्गल, बुध, वरुण, शुक्र, बृहस्पति, शनिश्चर, अरूण आदि ग्रहहरूको उपस्थिति उपन्यासमा भएको छ ।
उपन्यासमा प्रयुक्त पात्रका माध्यमबाट दैवी, आसुरी र मानवीय संवेदनाका आचरणमा क्रियाकलाप प्रस्तुत भएका छन् । दैवी भावनाका र मानविकी सद्भावका अनुकूल र असुरी तथा मानवीय दुर्भावका प्रतिकूल पात्रहरूको उपस्थिति पनि प्रत्यक्ष देखा पर्दछ । दैवी भावना अनुप्राणित गर्ने पात्रहरूमा नारी शक्तिको आदि प्रतीक अदिति, दीप्ति, उमा, इला, इशा, विश्वाची, आपगा, उर्वशी, मेना, सूर्या, यमी, गौरा, श्रद्धा, विनता, देवयानी, विश्वा, शाकम्भरी जस्ता पात्रहरू प्रयोग भएका छन् । मातृरूपमा परम्परागत श्रद्धा र आस्था प्राप्त गरेका अनुकूल नारी पात्रहरूमा श्रीदेवी, शयन्ती, शर्मिष्ठा, धान्या, सुलोचना, इन्द्रसेना, सुम्निमा, पारुहाङ, आर्या, अहिल्या, सुनन्दा, देवसुनी, सुदेवी, गार्गी पर्दछन् । प्रतिकूल र लोकपरम्पराका प्रचलनमा स्थापित पात्रहरूमा काकी, विरणी, सुजुर्णी, सुम्न, पलाला, विपला, इस्तार्ते, उषाभिर, चेलना, सरमा, हलिमा, वृंहति, माज्दा मैयात्रा, कटु, कला, दनु, दनायु, क्रोध्रो, प्राधा, सिंहिका, ताडका र कुहू आदि नारी पात्रहरूको उपस्थिति देखिन्छ । दैवी संवेदना बोकेका अनुकूल पुरुषपात्रहरू पनि निम्नानुसार रहेका छन् । त्यस्ता पात्रहरूमा सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र शनिश्चर, वरुण, अरूण, वसु, आदित्य, अश्विनीकुमार, मरुत्, प्रचेतस्, इन्द्र, पुरुखा, देवजन, कुवेर, यम, परीचि, कुतु, अङ्गिरा, अत्रि, पुलह, यमदग्नि, भरद्वाज, कार्तिकेय र वशिष्ठजस्ता पात्रहरू यथा सन्दर्भ र स्थानमा उपस्थित भएका छन् । त्यस्तै पारम्परिक संस्कारबाट अनुकूल रूपमा उपस्थित भएका पात्रहरूमा पुरुष पंक्तिमा ऐल, ऐस, ययाति, मनु, इक्ष्वाकु, खस, दरद, विवस्वान्, कच, विश्वरथ (विश्वामित्र), प्रियव्रत, एलम्, सर्याति, नामाग, नरिष्यन्त, नृग, स्वयम्भू, ऋतुवर्ण, पृथु, बाहुक, अमिताभ, नाग, चित्ररथ, पणि, चारुदत्त, गाधि, भीमरथ, नल, सुदेव, भृम्पश्व, सुगुप्त, सुदास र परुच्छेप जस्ता पात्रहरू उल्लेखनीय रहेका छन् । त्यसरी नै उपन्यासमा उल्लेखनीय र प्रतिकूल आचरण रहेका पुरुष पात्रहरू, असुर, अहुर, रामोन, बेन, करुष, नार्मेर, कालकेय, मय, पुष्कर, सङ्कुशुक, सुष्प, वर्चि, शम्बर, पिप्रु, नमुचि, बर्कु आदि । यस्ता पात्रहरूमा कोही वंश परम्पराका संवाहक र कोही व्यक्तिगत जिम्मेदारी मात्रका संबाहक देखा परेका छन् । विश्वामित्र, वशिष्ठ वंश परम्पराका संवाहक पात्र हुन् भने ऐल, रामोन, ऐश, नाग, पनि, देवजन समुदाय परम्पराका संवाहकका रूपमा पनि उपस्थित भएका छन् । यिनै पात्रहरूका आचरणमा उपन्यासले सिङ्गो मानव समाजको विकास परम्परालाई पूर्ण रूपमा निर्वाह गरेको छ ।
उपन्यासमा पात्रले समाज र परम्परागत जीवनको यथार्थतलाई वहन गरेको हुन्छ । औसत मानवको सत्यलाई भोग्ने क्रममा पात्रले साझा र मानवीय शास्वतता बेहोरेको हुन्छ । यस बेहोराइको प्रदर्शन उपन्यासभित्रका जीवनको आयतनमा वितरित भएको हुन्छ । यस दृष्टिले उपन्यास भित्रको सत्य अन्वेषण गर्ने क्रममा पाठकले समाज र जीवनका संरचनाहरू प्रतिस्थापित भएको देख्छन् । प्रस्तुत क्रममा नै उपन्यासमा महाकालको नायकत्वमा समग्र विश्व सञ्चालित छ । महाकालदेखि र जीवन र मानव सम्मको अनन्तमा अन्य समग्र पात्र वा समय, सभ्यता वा कालखण्डका बिन्दुहरू कालावधिक र भोक्ता बनेर उपस्थितित भएका हुन्छन् । महाकालका साक्ष्यमा सूर्य र पृथ्वीको रोमान्सेली सृजना प्रसङ्ग र यस ब्रह्माण्डको सृजन परम्पराको रजोबीज रेचन र सेचनका प्रसङ्गहरू अनि तिनका प्रभावमा सिर्जित प्राणीहरूको जीवन क्रमको निरन्तरतामा सम्भोग व्यापारको परम्परा, योनितन्त्र र नियोगविधिको स्थापना लगायतका आचरणहरू सिर्जित जीवहरूमा रहेको कुरा उपन्यासबाट प्रतिपादित बनेको देखिन्छ ।
मात्रृसत्ता समापनका सन्दर्भमा पृथ्वी, महामाया, जस्ता आदि मातृ विम्ब, चेतना र मातृरुपिणी नारी शक्तिको स्थापना अनि नारीसत्ता सञ्चालनको परम्परा उपयुक्त ढङ्गले कायम हुँदै गएको देखापरेको छ । सप्त मातृका, द्वादस मातृका र समाज संस्कार र परम्परा मुताबिकका अनेक मातृका गणलाई उपन्यासमा चरित्र निर्बाहको जिम्मा दिइएको छ । सानोतिनो तर समाजको सङ्गठक शक्तिको उपस्थितिमा नारीसक्ताका रूपमा उपन्यासकारले ऐल समूहकी माता इलालाई अगि सारेको छ । इला सन्तति ऐलहरूको स्थापनाबाट ऐलम् र पुष्पक, मनु र इश्वा वंश परम्पराको स्थापना र इलामा मातृसत्तात्मक नारी गुणको उच्च स्थापना हुँदा हुँदै पनि इल समाजमा वैवस्वत मनुले क्रमशः नारी सत्तात्मक गुण र आचरणको उच्च स्थापना गर्ने सन्दर्भमा पुत्र नरिष्यन्तलाई सत्ताको उत्तराधिकार दिएर आफू पूर्वतिर गरेका देखाइनाले पुरुष सत्ता र पौरुष चरित्र उत्थान हुँदै गरेको पुष्टि हुन आउँछ ।
अफ्रिकामा पुगेका वरुणहरूको दयनीय अवस्थाबाट त्यहाँ पुगेका बाह्य समाजका पुरुषहरूले पशुवत् जीवन यापन गर्नु पर्ने र नारीहरूले पुरुषमाथि जताउने हैकमको स्थिति, महामाताको रूपमा स्थापित इस्तार्तेको आचरण शासनविधि र अर्को समाजबाट आएका व्यक्तिको बिचमा हुने भेदभाव, मानवदास राख्ने परम्पराको उद्घाटन पनि देखिन्छ । सुन जस्ता बहुमूल्य खनिजको खोजी र गैंडाको खाग जस्ता बहुमूल्य जैविक पदार्थको खोजी आदि कार्यमा रामोनहरूले गर्ने गरेको निगरानी, साहसिक कार्य र त्यस्ता कार्यमा बाह्य समाजबाट आइपुगेका व्यक्तिहरूलाई अनायासै होमिदिने प्रचलन वरुणहरूलाई गैँडा पक्डिने कार्यमा झोसिदिएको कुरा उपन्यासले स्थापित गरेको छ ।
इलजनपदबाट पलायित पुष्पक काकीको महाप्रोहितमा वरण भएपछिका वर्षमा भोगेको सहजीवन र छैटौं गर्भसम्मको सन्तान प्रजनन कार्यको स्थितिमा पुरुष बलिको प्रकरण र पुष्पकका मानवीय संवेदना काकीका अतिमानवीय आचरणको योनिकुण्डमै ध्वस्त गरेका तथ्यले महिला समाजको चरित्रगत मानवीयताको पुष्टि हुन थालेको छ । अन्वेषण हुन अँझ बाँकी रहेका मानवीय संवेदनाका पक्षहरू मनु विवस्वान् र इक्ष्वाकुका धारणाले स्वीकार गरेको छ । अफ्रिकाको रामोन समुदायदेखि इलजन र काकीको सभ्यतासम्मका समाजमा नारी–पुरुषका सहजीवनका बिचमा विकसित हुन नसकेका मानवीय संवेदनाको द्रष्टा विश्वामित्रले नारी उत्थानका अथक प्रयत्नबाट खाँदै गएको स्थिति पनि देखा परेको छ । मातृशिखर र हरियूपियाको समाजमा आर्यहरूका बिचमा आएको विभाजित दशा अहुर र सुर, माज्दा र इसासम्मका संस्कारगत आचरण आफ्नो रूपमा प्रवर्तित बन्न लागेको स्थिति पनि उपन्यासले प्रतिपादन गरेको छ ।
विश्वामित्र एउटा प्रवृत्तिगत चरित्र हो; पुस्तौँ पुस्ता चलिआएको अहंको रूप हो । बसिष्ठ अर्को त्यस्तै प्रवृत्तिको आचरण हो र पुस्तौं पुस्ता चलि आएको अहंको समन हो । दनुका आचरणका द्वन्द्वमा नारीसत्तात्मक अहंमूर्त रूपमा आएर मानव पुरुषको आविर्भाव भएको र मनुका आचरणबाट पौरुष अहं मूर्त रूपमा आएर मानव पुरुष सत्ताको आविर्भाव भएको तथ्य उपन्यासको चरित्र बनेर उपस्थित बनेको छ । शम्बर र दिवोदासको युद्धमा पुरुष शक्तिको साम्राज्य अभिव्यञ्जित भएको छ । त्यस्तै नल र दमयन्तीको प्रसङ्ग, ऋतुपर्ण र भीमरथको प्रसङ्ग अहिल्या र गौतमको कथा क्रमशः पुरुषस्पद्र्धा चरित्रगत मूल्य स्थापनाको प्रवृत्तिगत विम्ब हो । विश्वामित्र विश्वरथबाट विश्वामित्र बनेको कथा प्रवृत्तिको रूपान्तरणात्मक विम्ब हो । कच र देवयानीको कथा, सञ्जीवनी विधा ग्रहणको कथा पनि प्रवृत्ति रूपान्तरणको कथा हो । त्यसरी नै शम्बर र दिवोदासको युद्धको जय र पराजयको कथा पनि प्रवृत्तिगत रूपान्तरणको कथा हो । उपन्यासमा यस्ता अनेक रूपान्तरणकारी चरित्रको मूल्य प्रदर्शित भएको छ । अहिल्याको परत्याग र परिग्रहण, शुनसेप र विश्वामित्रको संझौता र मुक्ति उपन्यासमा समन्वयमूलक चरित्रको अन्वेषणमा टिकेका प्रसङ्गहरू छन् । अथवा महाकालको अनन्त गर्भमा समायोजित बनेका यी कृत्यहरू समन्वय भएको देखाउँदै समग्र मानव चरित्र गतिमान् बन्दै गएको कुरा उपन्यासले प्रदर्शित गरेको छ ।
उपन्यासको सार कथ्य
महाकालको अनारी र अनन्त आयतनमा एउटा महापिण्डको विस्फोटनबाट परिभाषित भएको सूर्य, पृथ्वी र अन्य ग्रहको सृजना एवं समययात्राको सीमाबाट आरम्भ भएको समाज विकासको इतिहासलाई उपन्यासकारले स्थापित गरेका छन् । प्राग्वैदिक र वैदिक कालमा केन्द्रित यस उपन्यासले कथ्य बनाएको र त्यसभन्दा पूर्वको अवस्थालाई पनि उपन्यासको कथ्यमा समेटेको छ । दीक्षितको पहिलो उपन्यास माधवीमा ध्वस्त भएको नारी अस्मिताको क्षतिपूर्ति यस उपन्यासमा पुरुष अस्तित्वको ध्वस्तताबाट चुक्ता हुन खोजेको छ । यसै उपन्यासमा पुरुष अस्मिताको चेतना केही हदसम्म जुर्मुराउन खोजेको स्थिति पनि सहजै बोध गर्न सकिन्छ । महाकालको अनन्त आयतनको गर्भभित्र समग्र ब्रह्माण्डको उपस्थिति र त्यस ब्रह्माण्डको प्राणी जगत्को उपस्थिति, त्यसको विकासक्रम, प्राणीहरूको आविर्भाव र तिनको विकास, त्यस विकासमा मानव र मानव समाजको उद्भव, विकास र त्यसले प्राप्त गरेका उपलब्धिहरूलाई उपन्यासले सार वस्तुका रूपमा उपस्थित गराएको छ ।
महाकालको आशय र कथनमा उल्लेख भएअनुसार उसको अक्षरत्व र व्यापकताको प्रस्तुति उपन्यासको सन्दर्भमा प्रस्तुत भएको छ । स्टेथेस सागरको विस्थापन र हिमालयको आविर्भाव, त्यसमा जीवको आरम्भ, विकास र मानव जीवन र समुदायको आरम्भ, मानवीय सद्वृत्ति र दुर्वृत्तिको आरम्भ विकसित र मानवजीवनको परम्परागत प्रवृत्ति निर्माण यस उपन्यासमा कथ्य बनेर रहेको छ । त्यस्तै मातृसत्तात्मक सभ्यताको आरम्भ, सङ्गठन र त्यसको उत्कर्ष जस्ता पक्षलाई प्रस्तुत गर्नु पनि यस उपन्यासको कथ्य बनेर उपस्थित भएको छ । यस कथनभित्र आजको मानव समुदाय प्रारम्भमा नारीसत्तात्मक उपस्थितिबाट कथ्यका रूपमा स्थापित बनेको कुरा सिद्ध भएको छ । यस्ता सत्ताहरूको आविर्भाव हुँदै जाँदा नारी मातृसत्ताको सञ्चालिका, सन्तानको पिताकी उद्घोषिका र समग्र समुदायकी मातृका बन्दै गएको कथ्यले समाज विकासको जग नारी अहंको धरातलबाट उठ्दै आजको स्थितिसम्म आइपुगेको कुरा पुष्टि गर्दछ । सपृमातृका सूक्तका माध्यमबाट उठेको मातृका गण समुदायको सङ्गठित परम्परा यस उपन्यासको कथ्य विषय बनेको छ । मानव समुदायमा पुरुष सत्ताको अवतरण र हरियुपियाको नव निर्माणमा नयाँ–नयाँ मूल्यको आविर्भाव, अख्य, ग्राम, नगर हुँदै समग्र समाजले राज्यसम्मको सङ्गठनमा रूपान्तरित हुँदै जाने परम्पराको प्रस्तुति पनि उपन्यासको कथ्य बनेर रहेको छ । अग्रिर सुन हुँदै अयससभ्यतामा पुगेको, शिकार, कन्दमूल हुँदै अन्न सभ्यतासम्म पुगेको विकसित मानव पनि यस उपन्यासको कथ्य बनेर उपस्थित भएको छ ।
मानवीय संवेदनाको अन्वेषणमा मनु सभ्यताको आरम्भ र मानव–मानवका बिचको वैचारिक अस्तित्वको सङ्घर्ष, प्रवृत्ति र आस्थाका दृष्टिले मानवीय संवेदनाको विलयन, मूल्य ह्रासका अनेकानेक विसङ्गतपाटाहरू उपन्यासको कथ्यभित्र उपस्थित भएका छन् । समग्र मूल्यका कणदेखि पुञ्जसम्मका स्थितिलाई युद्ध र मिलनका द्वन्द्वमा मुखरित भरिएको छ । जीवन सृजना पनि हो र विनाश पनि हो । द्वन्द्व पनि हो र संझौता पनि हो । जीवन आदि पनि हो र अन्त्य पनि हो । यिनै आदि र अन्त्यका समग्र सत्वलाई उपन्यासको महाकालनामक वस्तु, काल र पात्रका गर्भमा सबै तत्त्वका पक्षहरू प्रदर्शित भएका छन् । यिनै तथ्यहरू नै उपन्यासका कथ्य बनेर उपस्थित भएका छन् ।
पूर्वीय दर्शनको ठोस अध्ययन भएका उपन्यासकार मदनमणि दीक्षितको प्रस्तुत कृतिमा परिवेश विकीर्ण रूपमा उपस्थित बनेको छ । कथावस्तुको उपस्थिति विकीर्ण ढङ्गले भएको छ । सङ्गठन अझ विकीर्ण बन्न पुगेको छ र कथातन्तु विकीर्ण जालमा बुनिएको छ । द्वन्द्वात्मक भौतिकवादी चिन्तनको परिवृत्तमा उपस्थित भएको माक्र्सवादी चिन्तन र यसको परिधिमा अडेका यस उपन्यासको समग्र सञ्जाल आफै किसिमको र आतपरक ढङ्गबाट भएको छ । आज देखिने समग्र भौतिक विश्व विकास र गतिको रूपान्तरित परिणति हो र त्यस रूपान्तरित जगत्को एउटा जीव मानिस विश्वको भौतिक रूपान्तरणको परिणाम रुवरूप संवेदना र चिन्तनमा समेत रूपान्तरित मूल्य बहन गर्दै जाने प्राणी हो भन्ने निष्कर्षमा पुगेर उपन्यासको कथ्य अवसानको बिन्दुमा तिरोहित बनेको छ ।
वस्तुको वितरण र सङ्गठन योजना दुर्बल बन्दा–बन्दै पनि भाषिक सिप र तत्कालीन पर्यावरण, कथ्य र प्रस्तुतिको अनुकूलन अवस्था प्रतिपादन गर्नु पनि उपन्यासकारको प्राप्ति बनेर अडेको छ । प्रस्तुत कृति सार्वजनिक प्रकाशनमा आउनुपूर्व नै पठन, लेखनको अवसर लाभ गर्न पाउने विद्वान् देवीप्रसाद सुवेदी, कमलराज रेग्मी, घनश्याम कँडेल, दयाराम श्रेष्ठ र नरहरि आचार्यहरूको अभिमतको उच्चाइ र पूर्णता आफ्नो आफ्नो ठाउँमा अवश्य होला; तैपनि यस छोटो विचारका संवाहक लेखले व्यक्त गरेको समीक्षात्मक अभिमत भने अझैं पनि अपूर्ण र अधूरो नै छ । अझ पूर्णता र उच्चाइको दिशा अन्वेषण गर्नु पर्ने स्थितिको बोध गर्दै यो लेखलाई यहीं स्थितिमा अन्त्य गर्नु उपयुक्त हुन्छ ।
सन्दर्भ सामग्री
प्रधान, कृष्णचन्द्र सिंह (२०३७). नेपाली उपन्यासकार. ललितपुर : साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५६). उपन्यास सिद्धान्त र नेपाली उपन्यास. ललितपुर : साझा प्रकाशन ।
सुवेदी, राजेन्द्र (२०६३) .नेपाली उपन्यास : परम्परा र प्रवृत्ति. ललितपुर : साझा प्रकाशन ।
राई, इन्द्रबहादुर (२०३१). नेपाली उपन्यासका आधारहरू. दार्जिलिङ्ग : साहित्य सञ्चयिका ।