राजेन्द्र सुवेदी (२००२, पाँचथर, सुपुत्रः पद्मप्रसाद सुवेदी र राधिका सुवेदी) नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको कलम सिर्जना र समालोचना दुवै क्षेत्रमा समानान्तर रूपमा चलेको छ । नेपाली बौद्धिक जगत्ले सुवेदीलाई समालोचकका रूपमा बढी आदर गरेको छ । उनी विशिष्ट निर्णय सामथ्र्य सम्पन्न समालोचकका रूपमा सुपरिचित छन् । त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक सुवेदी सिर्जनाका क्षेत्रमा निबन्धकारका रूपमा सुपरिचित छन् । उनका खाली सिसी पुराना कागज (२०४८), आफ्नै यात्रा आफ्नै परिवेश (२०५३), गुडबाई छोडिजानेहरुलाई (२०६५), म हुँ औँला नकाटिएको एकलब्य (२०६६), सम्राटका सीमा बाहिर भानुभक्त ( २०६९) जस्ता आधा दर्जन अधिक निबन्धसंग्रह प्रकाशित छन् । नेपाली निबन्ध परम्परामा संस्मरण, हास्यव्यङ्ग्य र चिन्तनप्रधान निबन्धहरूनिरन्तर रचिरहेका सुवेदीको निबन्धकार व्यक्तित्वसँग नेपाली साहित्य जगत् तुलनात्मक रूपमा बढी परिचित रहे पनि उनको कवित्व पनि निबन्ध जस्तै सशक्त छ । उनले कविताका फुटकर रूपदेखि काव्य हुँदै महाकाव्यसम्मको सिर्जन यात्रा तय गरिसकेका छन् । उनका आत्मनिर्माण (२०६६) र आरोहण (२०७४ संयुक्त) जस्ता महाकाव्य कृतिहरूप्रकाशित छन् । सयौँको सङ्ख्यामा फुटकर कविताहरूपत्रपत्रिका र सङ्कलनहरुमा छरिएर रहेका छन् । सुवेदी शास्त्रीय छन्दमा सुललित कलासहित उच्च वैचारिक कविता लेख्ने कवि हुन् । नेपाली उपन्यास परम्परामा उनको धितो कोख (२०७६) उल्लेख्य कृतिका रूपमा प्राप्त छ । नेपाली समीक्षा परम्परामा उनको उपस्थिति सशक्त छ । उनका सम्पादनमा समसामयिक साझा कथा (२०४१), दारिमको रुख नेर (२०४१), गौतमका प्रतिनिधि कथा (२०४३), कृष्णचरित्र पद्यकाव्य (२०४३), स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (२०४३), नेपाली हास्यव्यङ्ग्य निबन्ध (२०४६), चालिसको दशकका नेपाली कविता (२०४१), स्नातकोत्तर नेपाली कथा (२०५१), स्नातकोत्तर नेपाली निबन्ध (२०५२), सूक्तिसिन्धु (पुनः सम्पा, २०५५), डिल्लीरमण तिम्सिना स्मृतिग्रन्थ (२०६०), प्रियदर्शिका (पुनः सम्पा २०६३), आधुनिक नेपाली निबन्ध र अन्य विधा (२०६६), रत्न वृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड र प्रायोगिक खण्ड २०६८), डा. वासुदेव त्रिपाठी स्रष्टा एक : द्रष्टा अनेक (२०६९), जुगल सैद्धान्तिक नेपाली समालोचना (२०७०), समालोचकहरुका आँखामा हरिहर खनाल (२०७०), समालोचनावृत्तमा खेमनाथ दाहाल (२०७२), सङ्गीतचन्द्रोदय (पुनः सम्पा, २०७२), उषा चरित्र र मनोद्वेग प्रवाह (पुनः सम्पा २०७२), बुद्धिप्रसाद घिमिरे स्मृतिग्रन्थ (२०७२), स्रष्टा होम : द्रष्टा अनेक (२०७२), भतृहरि निर्वेद (पुनः सम्पा.२०७३) जस्ता कृति प्रकाशित छन् । यी कृतिका भूमिका र सम्पादित सामग्रीहरू नेपाली साहित्यका मानक सामग्री मानिन्छन् । उनका समीक्षातर्फ विषय गहन सतह चिन्तन (२०३८),स्रष्टासृष्टि : द्रष्टादृष्टि (२०४३), समसामयिक साहित्यकारहरुका माझ झपटबहादुर राणा (२०४७), केही समीक्षण : केही विश्लेषण (२०४९) नेपाली उपन्यास परम्परा र प्रवृत्ति (२०५३), सृजन विधाका परिधिमा पारिजात (२०५३), सिर्जनात्मक लेखन : सिद्धान्त र विश्लेषण (२०५७), नेपाली समालोचना परम्परा र प्रवृत्ति (२०६१), काव्य निबन्ध केन्द्रका देवकोटा (२०६६), चलचित्र सिद्धान्त र नेपाली चलचित्र (२०६९), समसामयिक नेपाली उपन्यासका प्रवृत्ति (२०७२), सांस्कृतिक अध्ययन र नेपाली साहित्य (२०७२) जस्ता गहन कृतिहरूप्रकाशित छन् । यी सबै कृतिहरूनेपाली समीक्षा क्षेत्रका आधिकारिक कृतिहरू हुन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा सुवेदीको गुड बाई माधव घिमिरेलाई शीर्षकको संस्मरणात्मक निबन्ध समेटिएको छ । यस निबन्धले माधव घिमिरेका मूल विम्ब र मूल्यहरुलाई समेटेको छ । यस निबन्धले माधव घिमिरेलाई निकै राम्ररी चिनाएको छ ।
-सम्पा.
नेपाली साहित्यले आधुनिक रूप पाउँदै गरेको बेला यस भौतिक संसारमा तपाईंको अवतरण भएको थियो । प्रकृतिको मनोरम छटा र नैसर्गिक कलाकारिताको पृष्ठभूमि बनेका अन्नपूर्ण हिमालको काख नेपाल त्यसमा पनि नेपाली भाषा साहित्य, सांस्कृतिक राजनीतिक दृष्टिले नेपालको आधुनिकताको बीजाधानमा योगदान दिने धर्ती गोर्खाको नजिकैको सुन्दरभूमि लमजुङ तपाईंको जन्मभूमि बन्यो । तपाईं माधवप्रसाद घिमिरे (जन्म १९७६ साल असौज ७ गते, निधन २०७७ भाद्र २ गते) १०२ वर्ष पुग्न ३५ दिन बाँकी रहेकै दिन नेपाली धर्तीबाट महाप्रयाणमा निस्किनुभयो । दर्शन विषयको स्नातक बनेका तपाईंले आफ्नो वैयक्तिक जीवनमा पहिलो विवाह, गौरीसँगको दाम्पत्य र उनको निधनपछि मर्मबोधक स्थितिलाई काव्यिक स्वरूप गौरी र महाकालीसँग जोडिएको दोस्रो दाम्पत्य जीवनमा पनि अघिल्लो सन्दर्भबाट आएको चोटले जन्माएको भाव संवेदनाको प्रतीकका रूपमा गौरी (१०१५) काव्यले तपाईंलाई पारिवारिक तथा मर्मबोधी पतिको रूप प्रदान गर्ने काम गरेको छ ।
पुनर्विवाहपछिको गृहस्थ जीवन, नयाँ घरवारको नयाँ जञ्जाल र पुरानो घरबारका सन्तान शान्ति र कान्तिले जोडेका अनेक आरोह र अवरोहका बीचमा विकसित बनेको तपाईंको पारिवारिक जीवन परबाट देखिने दृश्यमा जीवन समृद्ध र परिपूर्ण स्थिति पनि उपस्थापन भएको सन्दर्भ निकै सफल देखिन्छ । व्यक्तिगत तथा पारिवारिक जीवन व्यावहारिक जीवनका अनुकरणीय पक्ष र केही उपेक्षणीय पक्षहरू सबैका पक्षहरू आआफ्ना स्थितिमा अलग अर्थ लाग्ने किसिमका रहेका हुन्छन् । नेपाली समाजको औसत जीवनको तहभन्दा केही माथिल्लो आर्थिक स्तर तथा शिष्ट व्यवहारको तहमा राखिएका स्थितिलाई विशिष्ट अर्थहरू प्रक्षेपित गर्ने अवस्था देखिन्छ । यस प्रकारको जीवन तपाईंले भोगेको स्थिति सफल देखिन्छ । त्यसो त तपाईंको जीवनमा देखिएका उहापोह पनि जीवनका आफ्नै स्तरअनुसारका रहेका छन् । ती पनि बाहिरबाट देखिने तपाईंको सामाजिक तथा सांस्कृतिक जीवनका निम्ति विशिष्ट संवेदना अनुकरणीय छन् ।
तपाईंको सार्वजनिक जीवन शैक्षिक तथा प्राज्ञिक तहमा पनि निकै उदाहरणीय बनेको भानिन्छ । शैक्षिक क्षेत्रमा पनि तपाईको योगदान विशिष्ट रहेको छ । नेपालको प्राज्ञिक क्षेत्रमा र सृजनात्मक क्षेत्रमा विशिष्ट योगदान पनि रहेको छ । यस विषयमा पनि तपाईंको उपस्थिति हस्तक्षेपकारी अवस्था पनि यहाँ पनि सान्दर्भिक बनेको स्थिति देखिन्छ । प्रज्ञा–प्रतिष्ठानको सदस्य, उपकुलपति तथा कुलपतिसम्मको यात्रा पनि तपाईले गर्नुपर्ने स्थिति पनि यहाँ राजपरिवारसँगको सम्बन्ध, नेपाली प्राज्ञिक परिधिमा रहेको विशिष्ट योगदान पनि यहाँ स्मरणीय रहेको स्थिति देखिन्छ । दार्शनिक चेतनाका तहमा रहेको जीवन चिन्तन र विश्वचेतनाका स्थितिहरूको विषय यहाँ यहाँका रचनाका विषयबाट पनि यहाँ आर्य तथा वैदिक सभ्यताको निरन्तरताको श्रृङ्खलाको तहमा जोडिएर आएको स्थितिलाई यहाँका रचनाका उपस्थापन पनि रचनाका सरिधिमा विषय बनेर प्रकटमा आएका छन् ।
तपाईंका सृजनात्मक रचनाका सन्दर्भमा नेपाली साहित्यको कविता, काव्य, नाटक र गीतका क्षेत्रमा राम्रो प्रकारको कला आविष्कृत बनेको अवस्था छ । त्यसो त तपाईं गेय चेतनाको प्रबल प्राप्तिका कारण शास्त्रीय वर्णमात्रिक छन्दका कविता र लोकलयात्मक चेतनाका प्राप्तिलाई विशिष्टता कविताका सन्दर्भमा तपाईंले साहित्यका विधाहरू शास्त्रीय वर्णमात्रिक छन्द, लोकलयात्मक पनि उपस्थापनका पक्षहरू तपाईका रचनाका मर्यादा पनि उपस्थित देखिन्छ । तपाईंका कवितात्मक रचना, गीतिरचना, नाटकीय रचना र निबन्धात्मक रचनाहरूमा तपाईको सर्जक व्यक्तित्त्व वितरित बनेको छ । यसरी विधा अनुशासनमा तपाईंको सर्जक व्यक्तित्त्वलाई वर्गीकरण गर्दा निम्नानुसारका स्थितिमा सामूहीकृत बन्न सक्ने स्थिति देखिन्छ ।
कवितात्मक प्रकरण र मानवीय संवेदनाका तहलाई निरूपण गर्दा नवमञ्जरी (कविता सङ्ग्रह, १९९४), घामपानी (बालगीत–कविता सङ्ग्रह, २०१२), किन्नर किन्नरी (गीतिकविता सङ्ग्रह, २०३३), सुनपङ्खी चरी (बालगीत–कविता सङ्ग्रह, २०५३), बालालहरी (बालगीतसङ्ग्रह, २०५८) लगायतका कविता तथा गीति लयमा लेखिएका बाल तथा वयस्क रचनाहरूको सङ्गह प्रकाशनमा आइसकेका छन् । सृजनामा तपाईंले वर्णमात्रिकदेखि लोकलयात्मक रचनाका सार तत्त्वलाई मानव जीवन, प्रकृति र मानवीय संवेदनाको स्थिति पनि यहाँ सन्दझनु सान्दर्भिक हुन्छ ।
काव्यका तहमा पनि तपाईंका कृतिहरू प्रशस्तै प्रकाशमा आएका छन् । त्यस्ता कृतिहरूमा राष्ट्रिय संवेदना केन्द्रित काव्यिक भाव संवेगको उचाइ चुम्ने तपाईंको प्रयत्नलाई आजसम्म अन्य कसैले पनि चुनौती दिन सकेका छैनन् । विषयमा रहेको साधारण पक्ष, जीवन र जगत्मा तपाईं हामीले नै प्रत्यक्ष भोगेका यथार्थहरूलाई इतिहाससम्म पनि तन्काउने र इतिहासका विषयलाई वर्तमानको यथार्थसम्म पनि ल्याउने काम तपाईंका रचनाले गरेका हुन्छन् । यिनै विशेषताका कारण तपाई सतत र शाश्वत बन्न सफल हुनुभएको छ । पूर्वीय साहित्यका वैदिक कालदेखि आरम्भ भएर पुराण र इतिहाससम्म आइपुग्दा के कति भावसंवेदना र वस्तुगत यथार्थका स्थितिहरू हाम्रा चेतनामा जोडिन आए तिनको उपस्थिति तपाईं सृजनामा समुचित स्थान लिन आइपुगेका हुन्छन् । तपाईका भावकूपमा घोलिन आएका संवेदनाले प्राप्त गरेको आद्रतामा हाम्रो सम्यता, संस्कृति र इतिहास तथा हाम्रा आर्ष व्यक्तित्त्व र विभूतिहरूको मूर्तता अमूर्तत्त्व र अमूर्तता मूर्तत्त्वमा घोलिएर रचनाको विषय बनेर रहेको स्थिति सहृदयी भावकले सहजै बोध गर्न सक्ने स्थिति देखिन्छ । यस प्रकार तपाईंलाई भासंवेदनाको कुशल शिलपीका तहमा सम्मान गर्नु पर्ने स्थिति देखिन्छ ।
तपाईंका अरू काव्य रचनाहरू नयाँ नेपाल (२०१३), पत्नी निधनको शोकमा केन्द्रित भाव तथा विषयमा आधारित गौरी (२०१५), एक अभिशप्त आमाको पीडामा आधारित पापिनी आमा (२०१७), राष्ट्रिय भाव संवेग तथा जीवनमूल्य र सन्तान र राजमहिषीका मनमा निहित प्रजावत्सलताको संवेगमा आधारित राजेश्वरी (२०१७), राष्ट्रको निर्मितिप्रति समर्पित देशभक्त राजहाको महिमा गानसँगै राष्ट्रिय एकताको गान गरिएको काव्यकृति राष्ट्रनिर्माता (२०३०) हरू पनि यहाँ विशिष्ट विषयका तहमा स्थापित बनेका छन् । राज्य र प्रणयको द्वन्द्वचेतनाका केन्द्रमा रचित काव्य इन्द्रकुमारी (२०५७) पनि तपाईंको स्रष्टा चेतनाले उत्कृष्ष्ट संवेदना प्राप्त गरेको स्थिति छ । यसरी नै जीवन र जगत्का विशिष्ट संवेगलाई पनि यहाँ काव्यिक अवस्था प्रदान गरिएको स्थिति छ । बाल तथा वयस्क चेतनाका तहलाई शिक्षा, मनोविनोद तथा उपदेश आदिको अवस्थालाई रचनाको स्वरूप प्रदान गर्ने काम पनि तपाईका रचनाले सम्पन्न गरेका छन् । त्यस्ता किसिमका कृतिहरूमा बालकुमारी (२०४०), गौँथली र गजधम्मे (२०५७), बोराको पर्दा (२०५७) लगायतका काव्यकृतिहरू प्रकाशमा आएका छन् । यस प्रकारका कृतिका परिधिमा तपाईंको स्रष्टा व्यक्तित्त्व विस्तारित भएको स्थिति पनि सान्दर्भिक देखिन्छ । यिनमा तपाईंबाट भएका राष्ट्रका गौरवगानको स्थितिलाई गम्भीरताका साथ देख्न पाइन्छ ।
एकातर्फ शास्त्रीय वर्णमात्रिक छन्दको प्रयोग र अर्कातर्फ लोकलयका विविध छन्दहरूको प्रतिष्ठामा रम्ने तपाईको सृजनधर्ममा नेपालीका अधिकांश स्रष्टा र पाठक विमोहित बनेका छन् । तामाङ गीतको सेलोमा प्रचलित लय, लोकगीतका अनेक शैली तपाईंका रचनामा अभिव्यञ्जित भएका छन् । अनि नेपाली समाजका विभिन्न क्षेत्र र त्यस क्षेत्रमा प्रचलित भाषिक प्रभावका आधारमा निर्मित लय पनि तपाईंका गीतिरचनाले आत्मसात् गरेका छन् । तपाईंका रचनामा नेपाली पहाडका उकाली ओरालीहरू तरङ्गित बन्दछन् । तपाईंका गीतमा द्यौरालीमा पुगेका भरियाले भारी बिसाएर सुसेला हाल्छन् । तपार्इँका लयमा हिमाली हावाले सुरेली खेल्छ । तपाईंका भाकामा पहाडी नदीले तपाईकै कविताबाट इन्द्रेनीको रङ्ग चोर्छ । यस प्रकारको लय सुनेर पहाडी किन्नरी र तराईली थरुनी ताल मिलाएर नाच्छन् । तपाईंको सुरलहरीमा हिमाली भृकुटी र तराईकी वैदेही नृत्यमग्न बन्दछन् । पहाडी गुरुङ्सेनी रोधीमा सप्को फेरेर र बाहुनी वा क्षेत्रिनी सङ्गिनीमा फन्को मारेर नृत्यमुद्रा प्रस्तुत गर्दछन् । यसरी तपाईंको सृजनात्मक लयले सिङ्गो नेपाललाई समीकरण गरेको छ ।
नेपाली प्रकृतिको सुन्दर महिमागान, नेपाली इतिहासको प्रतिष्ठाको प्रशंसा, नेपाली समाज, जाति, धर्मसंस्कृति र भाषाको सम्मान पनि तपाईंका रचनाका विषय बनेका छन् । नेपाली समाजका निर्माता महापुरुषहरूका आप्त वचन तपाईंका रचनाका आधारभूत चिन्तन बनेका छन् । पूर्वीय आर्ष सभ्यताको अविच्छिन्नताका चिन्तनसूत्रलाई तपाईंले विशिष्ट भाव संवेगको तन्तुमा उनेर कविता र काव्यको नाटक र गीतको सृजना भएको स्थिति देखिन्छ । लोकसंवेदनाका तहमा अवतरित नेपाली चाडपर्व, नेपाली उत्सव–महोत्सव, नेपाली संस्कार र संस्कृति आदिका संचेतनाले तपाईंका रचनाको विषय मात्र होइन, कला र दर्शनको पनि स्वरूप प्राप्त गरेका छन् । समग्रतामा तपाईं नेपाली जीवनदर्शनका अग्रणी प्रणेता पनि हुनुहुन्छ । यस दृष्टिले नेपाली चिन्तनका महर्षिको तहमा तपाई सम्मानित र पूजित पनि बन्नुभएको छ । यस प्रकारको चिन्तनदृष्टि तपाईं स्वयंको प्रतिपदानबाट समग्र नेपाली जीवनको सिद्धि बन्न पुगेको छ । यस प्रकारको चिन्तनलाई साक्ष्य गर्ने तपाईका सबैजसौ कृतिहरूको प्रभाव आज नेपाली साहित्यका निम्ति आधारस्रोत बन्न पुगेको स्थिति देखिन्छ ।
काव्य चिन्तनको स्थितिलाई रचनात्मक संवेगमा ढालेर प्रतिष्ठा प्रदान गर्ने तपाईको खुबी प्रत्येक रचनामा प्रकट भएको अवस्था देखिन्छ । यसरी काव्य प्रबन्धको संयमित अवस्था, नाट्याभिनयको कार्यात्मक पक्षप्रकट भएजस्तै आत्मपरक निबन्ध तथा समीक्षात्मक प्रबन्ध, वस्तुपरक निबन्ध सृजनामा पनि तपाईंको कला र विचारको, चिन्तन र भावको प्रबल प्रवेग रहेको देखिन्छ । यस्ता कृतिहरूका हकमा आफ्नै बासुरी आफ्नैगीत (२०३०) र चारुचर्चा (२०५८) कृतिले तपाईंका गद्यमा सहित काव्यिक संवेदना प्रकट गरेको अवस्था छ । यस प्रकारका निबन्ध रचनाहरूमा र कथाका सन्दर्भमा मनचिन्ते मुरली (२०५७) जस्ता कृतिमा र अन्यत्र पनि गद्यमा प्रकट भएका भाव तथा भाषाका आधारमा तपाईंका सृजनाले विशिष्ट स्वरूप प्राप्त गरेको स्थिति देखिन्छ । भाव र कलाको, विचार र शिल्पको समन्वित प्रकटीकरणमा तपाईले विशिष्ट प्राप्ति आत्मसात् गर्नुभएको छ ।
तपाईंले विजय प्राप्त गरेको सबैभन्दा उल्लेखनीय पक्ष चाहिँ के हो भने हाम्रा प्राच्य दर्शनको निरन्तरता तपाईमै नेपालमै पाउनुभएको छ र त्यसमा उर्जा पनि थप्नुभएको छ । नेपाललाई तपाईंले शान्ति र संयमको पवित्र भूमि, महर्षि वाल्मीकि र याज्ञवल्क्यको तपोभूमि, राजर्षि जनक र साङ्ख्यचिन्तक कपिलदेवको साधनाभूमि, स्रम्राट् स्रङ्चङ्गम्पो र अशोकको विचरणभूमि पनि यही धर्तीमा पहिल्याउनुभएको छ । यस प्रकारका विचारलाई पद्य रचनामा जस्तै गद्यरचनामा पनि अत्यन्त प्राञ्जल आधारभूमि प्रदान गर्नुएको छ । तपाईले प्राप्त गरेको विजय पद्य र गद्य दुवै भाषिक सीपमा, त्योभन्दा पनि अधिक प्रभावोत्पादकता नाटकीय गीतिसंवादको प्रस्तुतिमा सबल ढङ्गले प्रकट भएको स्थिति छ । यस प्रकार सहज संवेद्य शैलीमा प्रस्तुत गर्ने क्षमतामा पनि तपाईं अविजेय स्रष्टाका तहमा देखिनुभएको छ ।
तपाईंको सृजनधर्म गीत, कविता/काव्य, निबन्धका अतिरिक्त नाटकीय संरचना र प्रस्तुतिमा पनि विस्तारित भएको छ । यस प्रकारका कृतिका तहमा पनि त्यत्तिकै विशिष्टताका साथ संरचनागत स्वरूपको स्थिति प्रतिपादनमा सफल देखिनुहुन्छ ।
तपाईंबाट रचित नाट्य कृतिहरूमा शकुन्तला (नाटक २०२८), मालती मङ्गले (गीतिनाटक, २०३९), विषकन्या (गीतिनाटक, २०५०), अश्वत्थामा (गीतिनाटक, २०५१), हिमालपारि हिमालपारि (गीतिनाटक, २०५४), देउकी (गीतिनाटक, ३०५५) जस्ता कृतिका अग्रगामी चिन्तन र परिष्कृत शिल्पविन्यासका आधारमा तपाईंका नाट्यकृतिले विशिष्ट योगदान दिएका छन् । गेयता र अभिनेयतामा विषयको सरलताभित्रै भावको गम्भीरता संयोजन गर्ने तपाईको क्षमता अपूर्व रहेको स्थिति देखिन्छ । गीतिनाटक रचनाका माध्यमबाट नेपाली समाजको मध्यकालीन सांस्कृतिक इतिहासका र सामाजिक इतिहासका आवरणमा मौलाएका विकृतिलाई मालती मङ्गले नाटकका माध्यमबाट, संस्कृत साहित्यकालको कथावस्तु शकुन्तला, महाभारतीय उपजीव्यतामा आधारित अश्वत्थामा, विषकन्या जस्ता नाटक पनि तपाईंले विशष्ट संवेदनाका तहमा पुनः सृजन गर्ने र प्रतिष्ठा पनि प्रदान गर्ने काम गर्नुभएको छ । यस्ता नाटक कृतिहरूमा नेपाली समाज पौराणिक तथा प्राकृतिक एवं सांस्कृतिक संवेदनाले रचनात्मकता प्राप्त गरेको अवस्था पनि तपाईंका नाटकहरूमा प्रतिपादन भएको छ ।
लोकजीवनलाई गीति संवेदनामा प्रकट गरिरहँदा तपाईका सृजनाले हाम्रै समाज र संस्कृतिका सन्दर्भहरू कथ्यका तहमा राखेर प्रकटमा ल्याएका छन् । मालती मङ्गले गीतिनाटकले राणा कलीन नेपाली सामन्ती व्यवस्थाले प्रदूषित बन्न पुगेको संस्कृतिलाई सुधारात्मक सन्देश दिने दृष्टिले प्रस्तुत गर्नुभएको छ । हिमालपारि हिमालपारि नामक कृतिमा तपाईं नेपालका हिमाली परिवेशका नेपाली जातिका र छिमेकी तिब्बतसम्मको परिवेशका जातिका संस्कतिलाई सम्मानका साथ समन्वित संवेदनाका तहमा राखेर गेय तथा अभिनेय नाटकीकरण गर्नमा सफल देखिनुभएको छ । यस्तै देउकी पनि पश्चिम नेपालको पहाडी क्षेत्रको सामाजिक रूढिलाई नाटकीकरण गर्ने ध्येयले गेय र अभिनेय कलाको स्वरूप तथा शिल्प प्रदान गरेर भाव तथा विषयको समुपस्थापन गर्ने क्रममा तयार भएको गीतिनाटक प्रकाशमा आएको पाइन्छ ।
गीतिनाट्य कृतिका परिधिबाट तपाईं नेपालका जाति, धर्म, संस्कृति र इतिहासका तथा सनातनताका सन्दर्भहरूमा सृजना भएका रचनाहरू अत्यन्त मैत्रीचेतनायुक्त स्रष्टा सिद्ध हुनुभएको छ । रङ्ग, आकृति, क्षेत्र, सम्प्रदाय र जातिभन्दा पनि माथि उठेर विश्वका जुनसुकै सथानमा रहेका समग्र नेपाली महाजातिको समन्वित संवेदनामा सृजना केन्द्रित गर्ने तपाईको योगदान नेपाली साहित्यका सन्दर्भमा हालसम्मका निम्ति अद्वितीय सिद्ध भएको छ ।
नेपालमा तपाईले भाषा, साहित्य, संस्कृति, शिक्षा, पत्रकारितालगायतका क्षेत्रमा सानादेखि ठूलासम्मका काम गर्नुभएको छ । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापना कालदेखिकै सदस्यको रूपमा जोडिन आउनुभएका तपाईंको योगदान २०२८ सालमा आजीवन सदस्यका रूपमा २०३६ देखि २०४५ सालसम्म उक्त प्रतिष्ठानको उपकुलपतित्त्वको समयमा नेपाली बृहत् शब्दकोषको प्रकाशन भएको र उक्त प्रज्ञाप्रतिष्ठानका रजत उत्सव पनि सफलतासाथ सम्पन्न भएको थियो । तपाईंको कुलपतित्त्वको कार्यकाल२०४५/२०४६ मा पनि विभिन्न गहन कार्यहरू सम्पन्न भएका थिए । विशेषतः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले बालचन्द्र शर्मा, केदारमान व्यथित, सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देलसम्मको यात्राको क्रममा त्यस प्रतिष्ठानको धुरी गरिमायुक्त व्यक्तिले नै सर्श गर्दै आएका थिए । त्यो तपाईंले देख्नु नै भएको छ । तपाईं पदमुक्त भइसकेको स्थितिमा भने त्यस धुरीको उचाइ केही होच्याइयो । उपकुलपतिले आरोहण गर्न लायक बनाइयो ।
प्रज्ञाप्रतिष्ठानको संरचनामा नै केही उतारचढाउ देखिए नै । ईश्वर बराल, मदनमणि दीक्षित, वासुदेव त्रिपाठीहरूले त्यस धुरीलाई स्पर्र्श गर्दा प्रज्ञाप्रतिष्ठानको धुरी होच्याइएको भए पनि उच्च नै देखिएको थियो । त्यतिखेर मर्यादामा चढाउकै बोध भएको थियो । तर बीच बीचमा प्रतिष्ठानका मूल्यहरूमा शिथिलता आएको पनि तपाईंले देख्नु नै भएको छ । प्रज्ञाप्रतिष्ठानलाई चिरचार गरेर आरोहीहरूका निम्ति सहज बनाउने काम पनि गरियो । आज तपाईकै सामु उक्त प्रज्ञाप्रतिष्ठानहरूमा बाईसे चौबिसे भुरेटाकुरेहरूले एकै फड्कामा पटक पटक आरोहण गर्न मिल्ने खालको संरचना निर्माण गरिएको छ । तिनै भुरेटाकुरेहरूको हैकम चलिरहेका छ । समाजका बनिबनाउ मूल्यहरू स्खलित हुन बेर लाग्दो रहेनछ । तर स्खलित मूल्यहरूलाई उठाउन भने धेरैले बलिदान गर्नु पर्ने रहेछ ।
तपाईंले देशका विभिन्न ठाउँ, व्यक्ति वा संस्थाबाट अभिनन्दन र समभिनन्दन प्राप्त गर्नुभएको छ । यस कार्यप्रति हामीले गौरव बोध गरेका छौँ । तपाईं पूजित र सम्मानित हुँदा हामी स्वयं पूजित र सम्मानित भएको अनुभव गरिरहेका छौँ । अनि तपाईं त्रिमूर्ति निकेतनका सस्थापक दम्पत्ति नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको एक्लो प्रयत्नबाट तपाईंले राष्ट्रकविको सर्वोच्च सम्मान प्राप्त गर्नु भएको छ । तपाईं राष्ट्रकविको पद्वीबाट विभूषित हुँदा हाम्रो मुहार गर्वले मुस्काएको छ । यस गरिमाले तपाईंको मात्र होइन, विश्वभरि छरिएर बसेका नेपालीको छाती गर्वले चौँडा भएको छ । यस प्रकारको गौरवशाली काव्य शिखरको सम्मानमा आज महाप्रयाणको सन्दर्भमा गुड बाई भन्न लाग्दा मेरो गला भित्रैदेखि अवरुद्ध भइरहेको छ । यस दुःखद घडीमा म खै कति मात्र र के मात्र सम्झना गरूँ र ? विगतका विभिन्न पक्षहरू धुमिल स्मृति बिम्ब बनेर तपाईंको अनुहारमा मिसिएर आइरहेछन् । तिनलाई सम्भव भएसम्म खुट्याएर हेर्न प्रयत्न गरिरहेछु ।
अन्तमा मलाई खट्किएको कुरा मेरा स्मृतिमा आइहाल्यो । टाटा ! भन्नुभन्दा पहिले त्यो पनि भनिहालौँ कि जस्तो लाग्यो । दुइटा गल्ती भए तर कसरी भए ? त्यो त मलाई थाहा भएन ! मैले देख्दा एउटा गल्ती तपाईंतिरबाट नै भएको लाग्यो मलाई ! त्यो भने तपाईले प्राप्त गरेको राष्ट्रकविको उपाधिलाई नेपालका प्रधान सेनापतिले सलाम टक्र्याएको देखेको थिएँ । पछि फेरि तपाईंलाई सेनाकै कुनै सानोतिनो पद दिएर प्रधान सेनापतिले पहिले टक्र्याएको सलामी असुलेको पनि मैले नै देखेँ । यो किन भयो त्यो चाहिँ म यसै हो भन्न सक्तिनँ ।
अर्को गल्ती पनि भयो घिमिरेज्यू, त्यो चाहिँ कहाँबाट त्यो पनि म भन्न सक्तिन तर गल्ती चाहिँ साँच्चै भएकै हो । तपाईं जस्तो राष्ट्रनिर्माता काव्यका सर्जक र अघि माथि उल्लेख भएका समन्वित संवेदनाका उच्च स्रष्टालाई यस देशले पृथ्वी प्रज्ञापुरस्कार प्रदान गर्न लायक पात्र ठानेन । यसको छिनोपानो चाहिँ भविष्यले गर्ला नै । अहिले तपाईं बाटा लागिसक्नु भयो । हामीलाई खल्लो लागिरह्यो ।
यस हतारको घडीमा तपाईं निकै परै पुगिसक्नुभयो । तपाईंका श्रव्य इन्द्रियहरूसम्म पुग्ने गरी म ‘गुड बाई राष्ट्रकविलाई’ भनिरहेछु ! टाढा टाढा हुँदै गएको तपाईं भौतिक आकृति धमिलो धमिलो हुँदै गइरहेछ । यता तपाईंका काव्यकृतिहरू जीवन्त बनेर उभिएका छन् । मचाहिँ भनिरहेछु— लौ त गुड बाई, राष्ट्रकविलाई !!
(rsubedi09@gmail.com)