लेखनाथ काफ्ले (सन्. १९७३–०९–०९, गुल्मी, नेपाल, सुपुत्रः देवीप्रसाद काफ्ले र तुलसादेबी काफ्ले) विदेशमा रहेर पनि नेपाली साहित्यमा सक्रिय प्रतिभा हुन् । उनी हाल पिन्गतुंग, ताइवानमा बसोबास गर्छन् । उनी अध्ययनले कृषिविज्ञानका विद्यावारिधि प्रतिभा हुन् र पेसाले नेसनल पिन्गतुंग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा प्राध्यापन गर्दछन् । उनको बिशेषज्ञता भने किट विज्ञनका रुपमा रहेको छ । उनले यस विशेषज्ञतालाई ताइवान र अमेरिकामा बेचिरहेका छन् । उनको साहित्यिक अभिरुचि र खोज निकै लोभलाग्दो छ । उनको प्रयासा प्रयास इ पत्रिका (२८ अङ्क सम्म) प्रकाशन भएको थियो । यसका सम्पादनक उनी स्वयम् हुन् । उनले प्रयासका अतिरिक्त मूलबाटो इ पत्रिका (१० अङ्क सम्म) प्रकाशन भएका छन् । उनका कथा, कविता, लेख र समीक्षा एवम् कार्यपत्रहरू प्रकाशित छन् । उनी एनआरएनए भाषा तथा साहित्य उपसमिति (२०१६–२०२०), nrnaiCC एनआरएन ICC सांस्कृतिक तथा सम्पदा उपसमिति (२०२०), बिश्व नेपाली साहित्य महासङ्घ (२०१३–२०१९) लगायत पेसागत बिभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूमा आबद्ध छन् । उनले साथीहरूसँग मिलेर अन्तर्राष्ट्रिय नेपाली टोपीको दिवस अभियान चलाएका थिए । साहित्यसागरको प्रस्तुत शृड्खलामा उनको ‘नित्यराज पाण्डेले देखेका “महाकवि देवकोटा”समेटिएको छ । यस जीवनीपरक समीक्षाले देवकोटाका जीवनका बहुआयामलाई समेट्न सकेको छ । यो समीक्षा नित्यराज पाण्डेको कृतिको समीक्षाका रुपमा र देवकोटाको जीवनीको सारका रुपमा पनि आएको छ ।
-सम्पा.
नित्यराज पाण्डे, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ र धोबीधारा
दुई बर्षअगाडि नेपाल जाँदा मेरा मित्र ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’सँग भेट भया े। जो महाकवि लक्ष्मीप्रसाद देवकोटाका भक्त नै हुन् र उनकै पथमा झ्याउरेमा नेपाली साहित्यको सेवा गरिरहेका छन् । उनले प्रस्ताव गरे आज म तपाईंलाई लक्ष्मीप्रसाद देवकोटाको घर र एक जना महत्वपूर्ण व्यक्तिसंँग भेट गराउँदछु ।
हामी पुग्यौँ धोबीधारा महाकविको पुरानो घर जहाँ उनका छोरा बस्दछन र सामुन्ने थियो महाकवि देवकोटाका साहित्यिक कला सङ्ग्रहालय प्रतिष्ठान । सायद हामी विना कुनै जानकारी त्यहाँ पुगेकोले होला हामीले बोलाउदा घरमा बस्ने कसैले आवाज त दिए तर तल आउने कष्ठ गरेनन् ।
घरमा बस्ने मानिस तल नओर्लिए पनि कविजीको त्यो स्थान हामीहरूको लागि त तिर्थ नै थियो तर सायद हामी जस्ताहरूको भिडले उनीहरूको दैनिकीमा नकारात्मक असर पनि पर्ने सम्भावना पनि उतिकै थियो । हामीले केही थान फोटो खिच्यौँ र लाग्यौँ कविजीका छिमेकी नित्यराज पाण्डेलाई भेट्न, जो कविजीका सबै कुराहरूका साक्षी थिए एक छिमेकीको रुपमा, एक प्रशासकको रुपमा र एक साहित्यअनुरागीको रुपमा ।
रात परिसकेको थियो, सञ्जोगले त्यो दिन त्यो समयमा त्यो क्षेत्रमा लोडसेडिङ पनि भइरहेको । केही अँध्यारा गल्लीहरू पार गरी हामी पुग्यौं नित्यराज पाण्डेको घर मै, कोठा मै। उनी नातिनातिनाहरूसँग मधुरो प्रकाशमा कुराकानी मै थिए । जब हामी कोठामा प्रवेश गर्यौँ त्यहाँ पनि हामी हामीविना कुनै जानकारी पुगेका थियौँ । हामी कोठामा पुगेपछि उनले थाहा पाएका थिए हामी प्रवेश गरेको ।
चिनापर्चीका सामान्य औपचारिकता र चियासँगै सुरु भए हाम्रा सामान्य गन्थन । पाण्डे राम्रो अङ्ग्रेजी बोल्दा रहेछन् । बि. स. १९४४ पौष २०, सोमबार नक्शाल, काठमाडौँमा जन्मेर धोबीधारा, काठमाडौँमै बसोबास गरेका उनले नेपाली भाषामा एम. ए. अङ्ग्रेजी र अर्थशास्त्रमा बि.ए. र जनप्रशासनमा स्नातक तथा संस्कृत भाषासमेतको अध्ययन दख्खल हासिल गरी नेपाली प्रशासनमा ४० वर्ष र सहसचिव पदमा मात्रै १७ वर्ष काम गरेको अनुभव गरेका एक कुशल प्रशासक पनि रहेछन् । “महाकवि देवकोटा” पुस्तकका लागि २०१६ मा नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मदन पुरस्कार, साहित्य, समाजसेवा र सरकारी सेवाको लागि विविध पुरस्कार र सम्मान प्राप्त गरेका उनको सबैभन्दा महत्वपूर्ण कृति “महाकवि देवकोटा” नै हो ।
पाण्डेको बारेमा कान्तिपुर (१८ जेठ २०५४) मा यज्ञेश्वर निरौलाले “देशका विशिष्ठ प्रतिभाहरूको जीवनी लेखेर चिनाउने मोतीराम भट्टपछि नित्यराज पाण्डे दोश्रो व्यक्ति हुनुहुन्छ । सर्वप्रथम देवकोटालाई चिनाउने वहाँ नै हुनुहुन्छ” भनेर बिस्तृत लेख नै लेखेका छन् । भेटपश्चात उनबाट मैले तीनवटा कृतिहरू (महाकवि देवकोटा, राजीवलोचन जोशी र केदार कल्प र नित्यप्रकास) उपहार स्वरुप प्राप्त गरँे । “महाकवि देवकोटा” पाण्डेको महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा कमै मात्रै सतहमा आएका बिशेष जानकारीहरू पाइएकाले, तिनीहरू समस्त पाठकहरूमा उपयोगी हुने हुनाले केही अंशहरू यस लेखमा राखिएको छ । यो लेख मूलत उनकै किताबबाट जीवनी भागको केही अंशहरू जस्ताको तस्तै उतारेर तयार गरिएको हो ।
तल्लो भैसोल्यादरा देवकोटगढी
देवकोटाहरूको मूल थलो नेपालको सुदुर पश्चिम अछाम घोडासैन नजिकै तल्लो भैसोल्यादरा देवकोटगढी हो । देवकोटाहरू समयक्रमसँगै बिबिध स्थानमा बसाइँ सर्ने क्रममा बझाङ आएका र पछि बझाङमा वहाँका पुर्बज दानु पाध्या बझाङको मन्त्रीसमेत भएका थिए । पछि अन्त हिँड्ने क्रममा बिबिन्न स्थान हुदै १८२५ मा नेपाल एकीकरणपश्चात महाकवि भन्दा ४ पुस्तामाथिका पण्डित लक्ष्मीधर र विद्याधर काठमाडौँ आएका थिए ।
तीर्थमाधवबाट लक्ष्मीप्रसाद
तिलमाधवकी कान्छी पत्नी अमरारज्यलक्ष्मीदेबीबाट बि. स. १९६६ कार्तिक २७ गते शुक्रबार कृष्णपक्ष अमावाश्या तिथि लक्ष्मी पूजाको दिन विशाखा नक्षत्र तुला राशिमा रातको ९ बजेर ५४ मिनेट जादा धोबीधारा टोलको ब्लक नं २१र५४१को घरमा महाकविको जन्म भएको थियो ।
महाकविको जन्मपत्रिकामा त्यस स्थानको नाम कौमारी खण्ड जन्म साल १९६५ भनी लेखिएको भए पनि नित्यराज पाण्डेले विभिन्न अनुशन्धानमार्फत जन्म मिति बि. स. १९६६ नै भएको निश्चित गरेका छन् ।
लक्ष्मीपूजाको दिनमा लक्ष्मीको पुजा गरिसकेको केही समयमा जन्मेको कारणले लक्ष्मीको प्रसाद मानी नवजात बालकको नाम लक्ष्मीप्रसाद राखे पनि नक्षत्रअनुसारको वहाँको नाम तीर्थमाधव राखिएको थियो र जन्म पत्रिकामा नाम “ती” मात्र उल्लेख गरिएको थियो। सास्कृतिक नियमअनुसार कविले सङ्कल्प आदि गर्दा तीर्थमाधव नै भनिन्थ्यो र कविको अन्त्यपछि वहाँको श्राद्ध आदि सबै कर्म तीर्थमाधव कै नामबाट गरिन्छ ।
छरछिमेकमा उनलाई साइला बाजे वा साहिला दाइ भनेर बोलाईन्थ्यो । ४ बर्षको उमेरमा सिकिस्त बिरामी भै सबैले आश मारे पनि पछि निको भएका थिए । उनी कसरी निको भयो भन्ने बारेमा एउटा कथा नै बनेको र त्यो कथा देवकोटा खलकमा अझै पनि चर्तित छ भनिन्छ ।
राँचीको बास र अङ्ग्रेजीमा एम. ए.को सपना
कविका पिताले उनलाई पण्डित बनाउन चाहन्थे तर घर सल्लाहमा संस्कृत घरमै सिक्न सकिने हुनाले उनलाई अङ्ग्रेजी पढाउनु पर्ने निधो भयो। सात कक्षामा नै उनले टुटफुट अङ्ग्रेजी कबिताहरू लेखेका थिए ।
१९८२ मा दश कक्षाको टेस्ट परीक्षामा चौथो भए भने सोही साल पटना प्रथम श्रेणीमा म्याट्रिकुलेशन पास गरे र १९८३ मा त्रिचन्द्र कलेजमा बिज्ञान पढ्न भर्ना भए । कविको पटना विश्वविद्यालयको सन् १९२७ को दर्ता न. ३१ थियो र उनले वि. सं. १९८५ मा आइएस्सीको परीक्षामा दोश्रो श्रेणीमा पास गरे । पछि कविले बिज्ञान छाडी बी. एको कक्षा तिर लागे । १९८६ मा पटना विश्वविद्यालयबाट बी. ए. पास गर्ने एक जन मात्र नेपाली थिए । ती व्यक्ति लक्ष्मीप्रसाद देवकोटा थिए ।
१९९३ मा पटना विश्वविद्यालयमा अङ्ग्रेजीमा एम। ए। को फारम भरी जोडतोडले पढ्ने गरेकोमा स्वास्थसमेत बिग्रिएकोमा परिवारजनले मानशिक सन्तुलन बिग्रेको भन्दै राँची लगेर ४ महिना राखे । जसले गर्दा उनको अङ्ग्रेजीमा एम. ए. गर्ने इच्छा अधुरै रह्यो । कतिपयले कवि साँच्चिकै मानशिक रुपमा असन्तुलित भएको लेखे पनि पाण्डे भने त्यसमा सहमत छैनन् ।
१३ भाषाको ज्ञान
महाकविका पिता पं तिलमाधव पनि एक प्रतिष्ठित पण्डित र साहित्यिक व्यक्तित्व थिए । उनले केही स्त्रोत्र लेखेका र छापिएका समेत थिए । उनले १९७६ मा करिब १० बर्षका हुँदा पहिलो कबिता लेखेका थिए :
घनघोर दुख सागर संसार जान भाई,
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई ।
उनका कविता कति च्यातिए, कति हराए, कति फालिए तर २५ बर्षको उमेरमा “पूर्णिमाको जलधि” १९९१ मार्ग १५ गते शुक्रबारको गोरखापत्रमा प्रकाशित भयो । त्यतिबेला रचना गोरखापत्रमा प्रकाशित हुनु भनेको ठुलो गौरवको बिषय हुने गर्दथ्यो। लगतै १९९१ मै “गरिब” कविता शारदा माशिक पत्रिकामा देखियो। १९९३ सालको कार्तिक महिनामा कविको पहिलो निबन्ध “असार पन्ध्र” शारदामा नै छापिएको थियो ।
देवकोटाले १९९५ को गोशाइस्थानको यात्रामा पखाला लागेर धेरै दुख पाए, सहयात्रीले छाडेरहिडे तर स्थानीय व्यक्तिले जडीबुटी खुवाएर उपचार गरे । सामाजिक–आर्थिक घटना राखेर गोशाइस्थानको यात्रामा देखिएको भोटको चित्रण र अनुभव झल्काइ झ्याउरे छन्दमा मुनामदन र म्हेन्दु लेखेका हुन् । मुनामदन कविले आफूले नै लगानी गरी प्रथम पटक प्रकाशन गरेका थिए । मुनामदनमा कविको घरमा सहयोगीको रुपमा बिरमान तामाङसँगको कुराकानीको पनि प्रशस्तै प्रभाव परेको मानिएको छ ।
१९९५ मा बालकृष्ण समसँग भएको भेटमा बालकृष्ण समले मुनामदनको प्रशंसा गरेन् । देवकोटाले भनेछन् : “हजुरसँग प्रतिस्पर्धा गरेर हिँड्न मन लाग्छ” ।
१९९६ जेष्ठमा कविको “उनको मने” भन्ने प्रथम कथा शारदामा प्रकाशन भएको थियो । १९९७ मा छापिएको राजकुमार प्रभाकर केटाकेटीहरूलाई कथा भन्दाभन्दै तिनै कथाहरूलाई मिलाएर लेखिएको कृति हो । १९९७ मा स्वास्थ्य कमजोर भएपछि २–३ महिनाका लागि आफ्नो मामा ससुरालीको घर प. न. १ झिल्टुङ गए । त्यहाँको पहाडी जीवन, त्रिशुली र कोल्पु नदीको रमणीयताको प्रेरणाले कुन्जनी रचना गरे । कुन्जनी उनले एक दिनमै लेखेका थिए । मुनामदन, कुन्जनी र म्हेन्दु झ्याउरे लयमा लेखिएका कृतिहरू हुन् ।
१९९८ मा शिव प्रताप शमसेर थापाले भू. पू. प्रधानमन्त्री जुद्दशमसेरको शिकार डायरी लेख्न ३–४ महिना कविलाई आफ्नै घरमा राखी नेपालको भौगोलिक बर्णनसाथ जुद्दशमसेरको १९९०–१९९७ सम्मको चितवन, नयाँ मुलुक, मोरङ, महोत्तरी, सर्लाही, अमलेखगन्ज आदि स्थानको शिकार र तत्कालीन भारतको भाइसरा समेत १ पालि सम्मिलित भएको शिकार बर्णन कविले अङ्ग्रेजीमा गरेका थिए। पछि यो संशोधनसहित ई. ए. स्मिथजीको जिम्मा लगाइयो । पछि स्मिथिजको नामबाट नेपाल शिकार–बर्णन किताब (द्यष्न न्बmभ क्जययतष्लन ष्ल ल्भउब)ि १९९९ सालमा निस्कियो र पुस्तक अनुवाद गरेबापत कविको नाम पनि उल्लेख गरिएको छ, यो काम गरेबापत कविले रु. ४०० पाएका थिए ।
२००२ सालमा तीन महिनामा ५५७ पृष्ठको शाकुन्तल महाकाव्य र १० दिनमा सुलोचना महाकाव्य लेखेका थिए ।
राजा महेन्द्रको २०१२ को भारत भ्रमणको भ्रमण वर्णनको केही अंश पनि कविले अङ्ग्रेजीमा अनुवाद गरेका थिए ।
कवि शिरोमणि लेखनाथ पौड्यालले तरुण तपसीका लागि भूमिका लेख्न अनुरोध गरे पनि कविले समय अभावले लेखेन् तर पछि एउटा समिक्षात्मक लेख “तरुण तपसी(प्रदक्षिणा” भने लेखेका थिए ।
२०१४ अषाढ ९ गते स्थापना भएको नेपाल एकेडमीमा कविको ठुलो देन छ, उनी स्थापना कालदेखि नै सदस्य रहे । उनी बहुभाषिक सामथ्र्यका व्यक्तित्व थिए । कविलाई १३ भाषा संस्कृत, नेपाली, अङ्ग्रेजी, हिन्दी, नेवारी, बङ्गाली, उर्दु, फ्रेन्च, जर्मन, चिनिया, तिब्बती, इटाली र रुसी भाषाको ज्ञान थियो । कविको घरमा सहयोगीको रुपमा बिरमान तामाङ पनि थिए, उनीसँगै कविले तामाङ भाषा सिकेका थिए । कविले एकै समय नेपाली र अङ्ग्रेजीमा कलम चलाउथे ।
ट्युसन, पुस्तक लेखकदेखि प्राध्यापकसम्म धेरै जसो बिषयमा बि। ए। सम्मकालाई दैनिक १५ घण्टासम्म ट्युसन पढाउनु नै कविको अर्थोपार्जनको मुख्य साधन थियो । कविको साहित्यिक गुणले गर्दा २००० साल भाद्र ११ गते ३४ बर्षको उमेरमा नेपाली भाषानुवाद परिषद्मा नेपाली पुस्तक लेखकमा मासिक ७० रु । पाउँने गरी जागिर पाएका थिए ।
२००२ सालमा एक दिन पानी परेको दिन छाता ओढी कार्यालय आउदा तत्कालै सम र अन्य कर्मचारीले कविलाई केही बोल्न भनेछन, कविले पनि आफ्नो हातमा भएको छाताको बारेमा नै १–५ घण्टा बक्तब्य दिएछन। अनि त सबै चकित भएछन् । त्यस्तै एक दिन समितिमा ल्याइएको अनारको बिषयमा कविलाई बोल्न लगाउदा श्रोताहरूले कार्यालय समय सकिसकेको पत्ता न पाउदा पालेले “अब अड्डा बन्द गरु की” भन्नु परेको थियो।
कविको बिलक्षण प्रतिभा देखेर २००३ साल अषाढमा सरकारले त्रिचन्द्र कलेजमा अङ्ग्रेजी र नेपालीको प्रोफेसरमा नियुक्ति दियो। उनको तलब दर्शनभेट रकम ५० काटी गरी ९५।७३ रुपैया मासिक हुन्थ्यो। बि। ए। मात्रै पास गरेका मान्छे त्रिचन्द्र कलेजमा प्रोफेसरमा नियुक्ति हुनु त्यतिबेला ठुलो कुरो थियो ।
कवि देवकोटाका खापपिनको कुरा गर्दा उनी मासुका निकै पारखी थिए, उनलाई थोरै मासुले हुदैन थियो । लतको कुरा गर्दा चुरोट उनको सबै भन्दा नजिकको साथी थियो। तास्कन्दमा रहँदा चुरोट अति नै पिउन थालेपछि साथै रहेका कबि माधब घिमिरेले “तपाईंको स्वस्थ बिग्रेको देखेर मैले चुरोट खान छोडँे, तपाईं पनि नखानुस्” भन्नु परेको थियो तर पनि उनले जीवनको अन्तिम घडीसम्म पनि चुरोट छाडेनन्। कविलाई निद्रा खुब पर्दथ्यो । त्यसैले उनी समय पाउन साथ मस्तसंग सुत्दथे ।
कविलाई पासा खेल्नु अर्को मन पर्ने बानि थियो। पासा खेल्न थाले पछि रातका रात पासा खेल्ने बानि थियो। जुवाकै खेलको आधारमा १६ पृष्ठको “जुवा” निबन्ध लेखेका थिए ।
राणा र बनारस
राणा शासन विरोधी आन्दोलनमा सहभागी हुन कबि कांग्रेसमा सम्मिलित भएको र बनारस पुगेको (२००४ साल श्रावण ३ गते) थाहा पाए पछि कविको जागिर त गयो नै आर्थिक अवस्था त नाजुक नै भयो । घर, संपत्ति सरकारले रोक्का गरिदियो । माहिला छोरा कृष्णप्रसाद टाइफाइडले २००४ आश्विन २० मा मृत्यु हुदा राणाका डरले इस्टमित्रहरू, छिमेकी र नातेदारहरूसमेत टाढा भएकोले दिनभरि छोराको लाश उठाउँने मान्छेसमेत नपाएर बेलुका ४ बजे कुनै एकजना दयालुको सहयोगमा अन्तिम संस्कार गर्नु परेको थियो।
पछि आफै बेसरी थालिए पछि र बज्यै (कविकी श्रीमती मनदेबी देवकोटा) ले सडकमा मागेर जीविका चलाउनुपर्ने पर्ने भएको अवस्था थाहा पाएपछि नेपाल सरकारले नै कविलाई नेपाल झिकाउन उनका भाईलाई बनारस पठाएको थियो ।
डा। के. आइ. सिंह नेपाल फर्के पछिको पहिलो आमसभाको सभापति कबि नै भएका थिए। २०१४ सालमा डा. के. आइ. सिंहको छोटो समयको मन्त्रिमन्डलमा कबि शिक्षा तथा स्वायत्त शासन मन्त्री पनि बने। त्रिभुवन बिश्वबिध्यालय स्थापना हुनु र विद्यालय तहमा नेपाली भाषाको अध्यापन हुनुमा कबि कै ठुलो हात छ।
विदेश र बेइमानी
२०१० श्रावण १४ गते कबि चौधौं विश्व युवक महोत्सवमा भाग लिन स्विट्जरल्यान्ड गए, त्यहाँबाट हंगेरी र रोमानियाको राजधानी बुखारेस्ट पुगे। बुखारेस्टमा २० दिन बसी भाद्र ८ गते रुसको राजधानी मास्को पुगेर २ दिन घुमे। त्यसपछि त्यहीबाट उनी आश्विन १५ गतेको चिनिया राष्ट्रिय दिवस मनाउन चीन पुगे। चिनिया रेडियोमा पनि कविले बोले। २०१५ साल आश्विनमा कविलाई अफ्रोएसियाली लेखक सम्भेलनमा भागलिन ताशकन्दबाट निमन्त्रणा आयो। बज्यैले कविको स्वस्थ असाध्यै नराम्रो रहेकोले नजान वा हेरबिचारको लागि आफु पनि सँगै जाने कुरा बताएपछी ताशकन्दबाट दुवै जनाको लागि व्यवस्था भएको थियो। तर पछि घर ब्यबहार चलाउनका लागि ब्यबस्था गर्न र राहदानी बनाउन समय अभावले धौ भए पछि दिल्लीबाट झटाझट जेट चढी आश्विन ११ गते उजबेकिस्तानको राजधानी ताशकन्द बज्यैका पुगेका थिए।
कविले ताशकन्दमा सुनाउन एकै पृष्ठमा एकातिर नेपाली र अर्को कुनामा अङ्ग्रेजीमा कबिता लेखेका थिए। ताशकन्दमा कविको कबिता, विचार र प्रतिवेदनलाई उच्च मूल्यांकन गरियो। पत्रकार माझ कविको छबि केन्द्र मै रह्यो।
तर त्यहाँ कबि बिरामी परे र उनी मास्को अस्पतालमा २८ दिन बस्नु पर्यो। उक्त सम्भेलनमा कविले नेपालको गौरब र नेपाली साहित्यिकको रुप संसार समक्ष झल्काउए। अन्य देशका मानिसहरू नेपाली र अङ्ग्रेजी साहित्यिकमा कविको दखल देखेर चकित भए। तर काठमाडौंमा कविका विरोधीहरूले सोधपुछ नगरी तास्कन्द गएको भनि पोल लगाएर एकेडेमीबाट आउने मासिक तलब नै रोकिदिए।
कवि सिकिस्त बिरामी भएर पैसाको अभाव झेल्दै गर्दा पनि एकेडेमीबाट आउने मासिक तलब आएन तर कविका बिरोधीहरूले लगाइएको आरोप झुठ रहेछ भन्ने प्रामाणित भए पछि ८ महिना मध्ये सात महिनाको तलब पाए। एक महिनाको तलब चाहिँ अनुमतिविना ताशकन्द गए बापत कविलाई अनुशासनमा राख्न भनि रोकेरै राखियो।
गरिबी र विषका कुरा
सारै दुः ख परेको बखत कविले बज्यैलाई “छोराछोरीलाई समाजको जिम्मा लगाएर छोडिदिउ, तिमी र म सुत्ने बखतमा बिष खाएर संसार त्यागौं” भनि बारम्बार भन्ने गर्दथे। उनीसँग एक पटक राम्रो धोति समेत नभएकोले “लगौटी मात्र लागाएर निर्लज्ज भै बाहुनिका अगाडी म भात खान्न, म मुर्दा हु” भनेर ३ घण्टा सम्म खाना नखाई बसेका थिए ।
ताशकन्दबाट फर्केपछि उनलाई पेटको क्यान्सरले झन च्याप्यो। नेपालको उपचारले नसकिने भए पछी कलकत्ता जाने योजना बन्यो तर पैसा थिएन। पछि बिभिन्न संघ सस्था र व्यक्तिहरूले स्वस्फूर्त रुपमा चन्दा र आर्थिक सहयोग गरेका थिए। अन्त्यमा उनी कलकत्ता जाने भए र उता जानु अघिल्लो दिन २०१६र३र५ मा जनसमूहलाई धन्यवाद दिँदै प्रकाशित वक्तव्य यस्तो थियो :
“म पेटको रोगले अतिग्रस्त भएको बेलामा बिशेष विद्यार्थी र साहित्यिक बन्धुहरूले जो मउपर हार्दिक सहानुभूति राखेर अर्थको र अरू सहायता गर्ने प्रयास गर्नुभयो त्यसकालागि म हार्दिक कृतज्ञता ज्ञापन गर्न उत्कष्टित छु। बिशेष कलामन्दिरका सदस्यहरूले स्वविवेकले आमजनताबाट हिजो जो करिब ९० रु। चन्दा दिनुभयो त्यो मैले सहस्र सम्झी स्वीकार गरेँ। त्यस्तै कान्तिपुर नगरपालिकाका अध्यक्ष र सदस्यहरूले जो ५०० भा. रु. प्रदान गर्नु भयो त्यसका लागि उहाँहरूप्रति र मेरो दशाले मन दुःखेका जनताप्रति पनि हार्दिक कृतज्ञता अभिव्यक्त गर्दछु। त्यस्तै नेपाल–भारत मैत्री सङ्घले मेरो उपचारार्थ ५०० भा. रु. प्रदान गरेकोमा म सो संस्था र त्यसको अध्यक्षप्रति मेरो धन्यवाद छ । बिध्यार्थी वर्गले विशेष गरी मेरो अस्वस्थतामा चिन्तित भएकोमा र सहायता गर्न परिश्रम गरेकोमा म अतिशय ऋणी छु । विद्यार्थीबृन्दमा परेको चेतनाको तीव्रता बढेको देखेर खुब हर्षित पनि भएँ । आमजनताबाट चन्दा माग्ने काम स्थगित गरिदिनोस भनि मैले सबै वर्गसंग प्राथना गरेको छु। किनभने राष्ट्रपिता श्री ५ बाट मलाई अस्ति बेलुका मेरो बिन्तीपत्रको प्रतिउत्तरमा उपचारार्थ २००० भा. रु. बक्सेको छ । माननीय मन्त्री गणेशमानज्यूले पनि स्वंय आज वा भोलि कलकत्ता उडेर जानु, पछिलाई नपुगेको हामी जसरी पनि तपाईंले लेखिपठाए पुर्याइदिउँला भनी आश्वासन दिएकोले म यथासम्भव भोलिसम्ममा कलकत्ता उड्ने चाँजो मिलाइरहेको छु। जय नेपाल।”
कविका सहयोगी एकेडेमीका सदस्यहरूले पनि कविलाई प्रत्येक सदस्यको १५ दिनको तलब कविका निम्ति प्रदान गर्दा ३१५० रु. जम्मा भएको थिया े। श्री ५ ईश्वरीराज्यलक्ष्मीबाट ५००० रु. कविलाई सहयोग प्राप्त भएको थियो।
कलकत्तामा उनलाई एस. एस. के. एम. अस्पातलमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनी नेपाल फर्की शान्त भवनमा भर्ना भए । क्यान्सरको पीडाले ग्रस्त भएपछि कविले अस्पतालमा ईश्वरको सम्झनामा भक्तिरसको “प्रलय बेदना” कविता लेखेका थिए । कविताका अन्तिम दुई लाइन :
अब यसलाई केही छैन गयो कहाँ यो पुग्यो कहाँ
केवल बिषको थोपा पिउँदै अझ जल्दै छ बसी यहाँ ।
कविको अन्तिम समयतिर भेट्न आउने व्यक्तिसँग “मेरो मित्र हुनुहुन्छ भने मलाई पोटासियम साइनाइड, ओपिएट आदि बिष दिनुहोस्” भनी हृदयविदारक स्वरले कराउँथे उनले भन्थे “क्यान्सरको बिरामीलाई निको पार्नुभन्दा बिष दिनु धेरै असल” साथै, “म स्वर्ग भन्दा ठुलो ठाउँमा जन्मे तर आज यहीको आकास कराही घोप्टेझैँ अन्धकार पार्न लागिरहेछ” भन्थे ।
२०१६ भाद्र १६ गते कविले “म खुब बाँचे तीन हप्ता नत्र भने त्यसअगाडि नै‘” भनी आफ्नो अन्तिम समय आएको बताएका थिए। कविलाई मृत्युको त्रास थिएन त्यसैले कविले भेट्न जानेहरूलाई “मृत्युपछि के हुन्छ? म अनुशन्धान गर्छु” भन्दथे।
भाद्र १९ दिउँसो कविले उपचारमा संलग्न डा. मिलरलाई दिन अङ्ग्रेजीमा इश्वर प्रति” र भाद्र २१ साँझ ६ बजे अर्को अङ्ग्रेजी कविता “Promothean pain I bear with tear on tear” लेखेर दिए। यो कबिता नै कविको अन्तिम कबिता हो।
जीवनका अन्तिम दिनहरू
कविको शरीरमा रगतको कमी हुदै जाँदा युवक पद्मनाथ देवकोटा र भोलामानसिंहले रगत प्रदान गर्नुभयो तर डा. मिलरले कविको अन्त्य नजिक छ भन्ने सङ्केत गरेपछि भने कविले मानव रक्त नलिने अठोट गरे र २०१६ र ५, २६ शुक्रबार हालखबर पत्रिकालाई यस्तो पत्र पठाए :
श्री सम्पादकज्यू
हालखवर, काठमाडौँ, नेपाल।
महाशय,
तपाईंले शुरुदेखि अहिलेसम्म मेरो उपर देखाउनुभएको सहानुभूतिका निमित्त म तपाईंलाई धन्यवाद नदिइरहन सक्तिन । अब म मानवरक्तले जीवन ८र १० दिन लम्ब्याउन अति बेदना सम्झंछु । मलाई दिइने रगत अरू कुनै बाँच्न सक्ने रोगीलाई दिएमा त्यसको सदुपयोग हुनेछ । दुई साहसी युवक भतिजा पद्मनाथ देवकोटा र भोलामानसिंहले मलाई रक्त प्रदान गरी दुईचार दिनदेखि आजसम्म जिलाए । उनीहरू चिरायु हुन् । अब म मानवरक्त लिन्न र दिन चाहने व्यक्तिलाई धन्यवाद दिन्छु।
भवदीय
लक्ष्मीप्रसाद देवकोटा
शान्तभवन
२६,५, २०१६
२९ गते अन्तिम दिन बिहान कविले श्रीमतीलाई सोधे “बज्यै ! तिमीसँग अब कति पैसा छ?” बज्यैले “बुबाहजुर ! १०० – २०० छ” भनिछन् । अनि कविले “म तीन चार दिन बाँचे भने तिनीले खान दिन सक्दिनौ। यति भए मेरो अन्तिम संस्कार गर्न पुगिहाल्छ, भैगो” भनेका थिए। त्यही बिहान मन्त्री गणेशमान सिंह भेट्न जानुभएको थियो । कविले उनीसँग “म माटोमा मिले पनि नयाँ नेपालको निर्माण होस, प्रजातन्त्र फलोस–फुलोस, मर्न नपाओस् भनेका थिए भने अति पीडाले गर्दा गणेशमान सिंहसँग “मलाई ५ ग्रेन मर्फिन, ३ ग्रेन सुत्ने औषधी दिइयोस् र घर बेचेर पनि मेरो ऋण तिरियोस” भनेका थिए ।
कविले सारा जनता सम्झेर “ममा कसैप्रति रिसराग, असन्तोष छैन। प्रत्येक नेपाली र विश्वका प्रत्येक मानव मेरा आजन्म मित्र हुन् । सबैबाट मैले जीवनपयर््न्त सहानुभूति र सहायता पाएँ, हालमा पनि पाउदैछु । यसका निमित्त सबैमा मेरो हार्दिक धन्यवाद छ। अन्तिम नमस्कार टक्र्याएको छु” भन्दै हिन्दु आदर्शअनुसार अन्तिम संस्कार हो् भन्ने भावना व्यक्त गरेका थिए ।
अन्तिम स्वास गन्दै गर्दा पनि मृत्यु हुनुभन्दा २ घण्टा अगाडिसम्म पनि उनीमा चेनता थियो। कवि गते अनुसार ४९ बर्ष १० महिना ३ दिन र तिथि अनुसार ४९ बर्ष १० महिना १३ दिन पुगी भाद्र शुल्क त्रयोदशी तिथिमा पशुपति आर्यघाटमा २०१६ भाद्र २९ सोमबार साँझ ६ बजेर १० मिनेटमा कबिसारा देशवासीलाई रुवाएर पञ्चतत्त्वमा मिले । पशुपतिको भस्मेश्वरमा राति १ बजे कविको अन्तिम संस्कार भयो ।
“उदेश्य के लिनु ? उडी छुनु चन्द्र एक” लेखेका कविले मृत्युको दिन बिहान २ र ४२ मा नै मानव इतिहासमै पहिलो पल्ट सोभियत रकेट चन्द्रमामा पुगेको खबर पाएका थिए।
कविको मृत्युमा राजा महेन्द्रले पनि एक गहिरो र मर्मस्पर्शी सन्देश दिएका थिए। त्यस्तै गरी प्रधानमन्त्री वी.पी कोइरालाले पनि एक छोटो तर भावुक मन्तव्य दिएका थिए ।
सरकारले ऋण तिर्न २२,००० रु, अन्त्यष्ठी गर्न ३,००० र दुई छोरा बालिग नभएसम्म मासिक १०० र १०० का दरले भत्ता दिएको थियो ।
कविका किताव
कवि देवकोटालाई होहल्ला र कोलाहल वा केटाकेटीहरूको उफ्राई वा बुइ चढाइले पनि लेख्न केही फरक पर्दैनथ्यो। उनले एक डोका रचना ने. भा. प्र. समितिलाई हस्तान्तरण गरेका थिए भने एक डोका जति घरमै रहेका थिए । कविले कम्तिमा पनि १०० वटा किताब लेखेको अनुमान छ ।
देवकोटाका रचनाहरू कति हराए, कति जले, कति चुरोटसँगै सल्किए। बज्यैले पनि “डोको न डालोको काम गरी न पेट भर्ने, न काम टर्ने के लेखिरहेको” भनेर बेलाबेलामा करकर गर्दथिन् र झर्को मानेर यताउता फालिदिन्थिन् । त्यसो भए पनि उनले लेख्न छाडेनन् ।
कविता माग्न आउनेलाई आफूले भन्ने र लेख्नेलाई कलमले लेख्न लगाउथे। त्यसो गर्दा उनी थाक्दैनथिए तर लेख्ने थाकेर आफै अब पुग्यो भन्दै जान्थे। त्यस्ता रचनाहरू कहाँ छन, कोसँग छन् तिनको कुनै गन्ति नै छैन।
देवकोटाले लेखिरहँदा उनीसँग सिसाकलम तास्ने साधन कहिल्लै हुदैनथ्यो, त्यसैले चुलेसी वा नङ वा दाँतले सिसाकलम तास्ने गर्दथे ।
कविले १९९१ –२०१६ सम्म २५ बर्ष साहित्यको सेवा गरे। त्यो २५ बर्षमा १०० बर्षमा विभिन्न कविहरूले पनि गर्न नसकेको साहित्यको विकास भयो ।
कवि लक्ष्मीप्रसाद देवकोटा नोबेल पुरस्कारका लागि समेत योग्य थिए तर त्यसको पहल कहिल्लै गरिएन। त्यसैले कहिँ कसैले भनेका थिए कवि लक्ष्मीप्रसाद देवकोटा गलत भूगोलमा जन्मे ।
र अन्तमा
महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा धेरैले आ–आफ्नो व्यक्तिगत विचारलाई प्रधान बनाएर विविध लेखहरू सयाँैको संख्यामा लेखेहोलान, कसैले उनी व्यवस्थापनमा कमजोर भएको हुनाले पैसा बचाउन सकेनन् भनेर लेखे, कसैले कम्न्युष्ट भए देखे, कसैले काङ्ग्रेस, कसैले उनले राजाको प्रशंसा गरेको देखे, कसैले आस्तिक, कसैले नास्तिक। सबैले आ–आफ्नो सीमाबाट उनलाई हेरे, तर उनी तिनीहरूले भनेजस्ता एकै किसिमका थिएनन। उनी बहुआयामिक, बहुप्रतिभाशाली एक असामान्य मानव थिए जसलाई तत्कालीन समयले चिनेन। नित्यराज पाण्डेले लेखेको किताबमा कविका भित्रिकुराहरू गहनताकासाथ जीवन्तरुपमा प्रस्तुत भएका छन् । सायद त्यसैले होला, २०१६ सालको मदन पुरस्कार समेत प्राप्त गरेको थियो । तर एउटा विडम्वना महाकवि लक्ष्मी प्रसाद देवकोटाले मदन पुरस्कार पाएनन् तर उनी बितेको वर्ष नै उनकै बारेमा नित्यराज पाण्डेले लेखेको किताब “महाकवि देवकोटा” ले उक्त पुरस्कार प्राप्त गरेँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीलाई जान्न र राम्ररी बुझ्न यो किताब पढ्नु जति जरुरी छ त्यति नै यो किताबको प्रचार प्रसार गर्नु पनि । नित्यराज पाण्डेसँग अझै पनि पुस्तकमा नपरेका कतिपय तथ्य र विविध जानकारी रहेछन् त्यो कुरा मैले छोटो कुराकानी र भेटमा बुझँे। बाहिर सतहमा नआएका महाकबि लक्ष्मीप्रसाद देवकोटाबारेका तथ्यहरू र नित्यराज पाण्डे कै बारेमा पनि थप जान्नको लागि उपयुक्त समयको प्रतिक्षामा छु । कहिले आउला त्यो दिन ?
प्रमुख सन्दर्भ सामाग्री
पाण्डे, नित्यराज (२०६६). महाकवि देवकोटा. काठमाडौँ : साझा प्रकाशन ।
Kharel, Yadav (2064) Laxmi Prasad Devkota, The Great Poet. KathNepal Culture Association, Nepal
विभिन्न वेबसाइट र पत्रपत्रिकाहरू
पहिलो प्रकाशनः “प्रयास“ इ पत्रिका को १८ औं अङ्क, २०१२) पुनः प्रकाशनः नेपाल प्लस अक्टोबर २३, २०१४) र यो परिमार्जित एवम् परिवर्तित प्रस्तुत लेख ।