रत्ननिधि रेग्मी “शुक्राचार्य” ( सुपुत्र : कुलप्रसाद उपाध्याय रेग्मी र कुन्तमाया उपाध्याय रेग्मी, सङ्खुवा–सभा जिल्ला, वाना–७, खप्टुवा) मूलत : कवि एवम् ज्योतिर्विद्का रूपमा परिचित प्रतिभा हुन् । उनले पत्रकारिता, साहित्य, ज्योतिष (स्वाध्यायन), आयुर्वेद आदि विविध विषयको अध्ययन र स्वध्ययन गरेका छन् । उनले पश्चिमी ज्योतिर्विज्ञान, हस्तविज्ञान शास्त्र तथा अन्य विविध विषयको पनि ज्ञान लिएका छन् । शिक्षण, भाषा सम्पादन र ज्योतिष कर्मलाई पेसा बनाएका शुक्राचार्य सामाजिक सेवाका क्षेत्रमा पनि देखिन्छन् । उनले विभिन्न पत्रपत्रिकामा ज्योतिष र अन्य स्तम्भको लेखन गरेका छन् । उनको लेखनयात्रा परोपकार (२०३५), बाट सुरु भई हालसम्म आन्दोलन कविता भाग १ र भाग २, माटोको कथा (२०४७), पुस्तिकाहरू , कविता–कुसुम (२०६३), नेपाली झ्याउरे (२०६५) नेपाली आवाज २०६७) जस्ता कृतिहरू प्रकाशित छन् । उनी ब्रह्मचार्यव्रतमा रही साहित्य सेवामा समर्पित प्रतिभा हुन् । यहाँ उनको देवकोटासम्बन्धी महाकवि देवकोटा कसरी सताइएका थिए ? शीर्षकको रचना समेटिएको छ । यस रचनाले देवकोटाका जीवनका जटिल मोडहरूलाई समेटेको हुँदा यसलाई जीवनीपरक रचनाका रूपमा यहाँ समेटिएको छ । यहाँ केही आक्रोस पनि अभिव्यक्त छ । लेखकका निजी विचारलाई यथा रूपमा प्रकाशन गरिएको छ । यहाँ दिएका प्रमाणहरूमध्ये देवकोटाको उपचारसँग सम्बन्धित तर्क निकै गम्भीर लाग्छ । यसबारे थप अध्ययन हुन सके देवकोटाको जीवनलाई अझ सफासँग र नेपाली राष्ट्रियतासँग जोडेर हेर्न सकिने देखिन्छ ।
-सम्पा.
नेपाली भाषा—साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) एक अनुपम उपलब्धी थिए । उनी नजन्मेका भए हाम्रो भाषा वा साहित्यले आजको उत्तर आधुनिककालको सायदै स्पर्श गर्न सक्थ्यो होला । त्यसमा पनि देवकोटाको उदयले नेपाली साहित्यलाई उर्वरा मात्र बनाएन । विश्वस्तरमा समेत पुर्याइदिएको छ । तथापि आजसम्म देवकोटाबारे गहिराइमा अनुसन्धान हुन सकिरहेको छैन । केवल सतही रूपमा मात्र उनका बारे चर्चा—परिचर्चाहरू हुने गरेका छन् । उनका रचनाको गहिराइ र व्यापकतालाई नबुझी कतिपयले आस्तिक र नास्तिक–वादका अनुयायीका रूपमा व्याख्या गरिएको पाइन्छ । कतिपयले सिद्धान्त र दर्शनमा उनलाई कमजोर व्यक्तित्वका रूपमा चित्रण गर्ने गरेका छन् भने कतिपयले अतिरञ्जनाका साथ देवदूतका रूपमा उनलाई उभ्याएका छन् । वर्षेनी लक्ष्मीपूजाका दिन मात्र उनको सम्झना गर्ने र अरू बेला नसम्झने नेपाली प्रवृत्ति अझसम्म पनि हावी भइरहेको छ । देवकोटाका रचना प्राइमरी तहदेखि विश्वविद्यालयसम्म पढाइन्छन् । उनी सानादेखि ठूला, अपठितदेखि विद्वान्का तहसम्म व्याप्त र पर्याप्त बनिरहेका छन् । उनको प्रतिभाको डाह वा ईष्र्या नगर्ने को होला र ? यस्ता अद्भूत प्रतिभाका धनी महाकवि देवकाटा आङ्खनो जीवनकालमा मात्र होइन आजसम्म पनि कसरी सताइएका छन् भन्ने तर्पm धेरैको चासो गएको पाइँदैन । मित्रजनदेखि विपरित ध्रुवका व्यक्ति र व्यक्तित्वहरूबाट चरम रूपमा उनी सताइएका छन् । ती सताउनेहरू अझ पनि कोही जीवित छन् र कतिपयको अस्तित्व अझ पनि जीवित छ । कतिपय पीडकले ‘राष्ट्रकवि’ को उपाधिसमेत पाइसकेका छन् भने कतिपय पीडकले राष्ट्र नायकसम्मको दज्र्यानी लिएका छन् । भनौं भने उनले पाएको यातनाप्रति हाम्रो बौद्धिक वर्गसमेत मूकदर्शक बनिरहेको छ । यो पनि देवकोटाप्रतिको व्यङ्ग्य नै हो । यी र यस्ता व्यक्तित्वका विषयमा यसपल्ट केही लेख्नु मुनासिव होला जस्तो मलाई लागेको छ ।
(१) देवकोटा कसरी राँची पु याइए ?
महाकवि देवकोटा अङ्ग्रेजीका धुरन्धर थिए । उनले बाल्यकालमा पिता पं. तिलमाधवबाट संस्कृत र जेठा दाजु लेखनाथ देवकोटाबाट अङ्ग्रेजी पढेका थिए । उनले विज्ञानमा आइएस्सी, अर्थ शास्त्रमा बी.ए. र कानूनमा स्नातक पढेका थिए । तत्कालीन समयमा लेखनाथ अङ्ग्रेजी भाषाको ट्युसन पढाएर मनग्ये पैसा कमाउँथे । महाकविकी आमा अमरराज्य लक्ष्मी पनि साहिँला छोराले जेठाले झैँ अङ्ग्रेजी पढेर प्रशस्त पैसा कमाओस् भन्ने चाहना राख्थिन् । यसर्थ देवकोटाले कस्सिएरै अङ्ग्रेजी पढेका थिए । उनी स्कुल पढ्दादेखि नै ट्युसन पढाउँथे । जब उनले कानूनमा बी.एल. गरे, उनको पढाइको चर्चा व्याप्त भयो । राणाकालमा बी.एल. गर्नु साधारण नेपालीको पहुँचबाहिरको कुरा थियो । त्यति धेरै पढ्ने जनताको छोरामा शायद उनी पहिलो भएर उनको डिग्रीको ठूलो चर्चा हुनथाल्यो । राणा दरबारमा पनि यस विषयले अग्रस्थान पायो । त्यतिबेला देवकोटा बबर शमशेरकहाँ अङ्ग्रेजी र नेपालीको ट्युसन पढाउँथे । एकदिन बबर शमशेरको दरबारमा उनका नातिहरूले देवकोटाको डिग्रीको प्रसङ्ग झिके । यो कुराले बबर शमशेरलाई चोट पुग्यो । कारण त्यो दरबारमा त्यति पढ्ने कोही थिएन । कुरैकुरामा बबरले नातिहरूतर्पm कटाक्ष गर्दै ‘नाथे हो ! त्यस्तो जाबो डिग्री त हाम्रो घरमा पालेको कुकुरको पुच्छरमा समेत झुण्डिएको हुन्छ, बडो फूर्ति गर्छौ ?’ भने । यो कुराले अर्को कोठामा ट्युसन पढाइरहेका देवकोटालाई चोट पु¥यायो । उनले तुरुन्तै एम.ए. पनि पढ्ने र फस्ट गर्ने योजना बनाए र केही दिनमै पटना गई एम.ए. को फाराम भरे ।
अब देवकोटाको मनमा एम.ए. पनि फस्ट गर्ने विचार आयो र अक्स्फोर्ड डिक्स्नरी किनेर ल्याए र बेस्सरी घोक्न थाले । उनले बी.एल. मा पनि फस्ट नै गरेका थिए । यसरी बेसुरले पढ्दा उनी एकातिर हिँडेका अर्कातिर पुग्न थाले । खानपिन र घरव्यवहारमा समेत होस रहन छोड्यो । भनिन्छ, उनले अक्स्फोर्ड डिक्स्नेरी सत्तरी प्रतिशत त कण्ठै गरिसकेका थिए । अब उनले एम.ए. पनि फस्ट गर्ने लक्षण देखियो । यसले बबर शमशेर मात्र होइन समस्त राणा परिवारभित्रै ठूलो भूकम्पको महसुस गरायो । जब देवकोटाको परीक्षा नजिकिँदै आयो, तब बबर शमशेरले नयाँ जुक्ति निकाले । एक दिन बबर शमशेरले देवकोटालाई आफूसँगै वीरगञ्ज गइदिन आग्रह गरे । यहाँबाट बबरले भाइ पर्ने ब्रह्म शमशेर र देवकोटालाई साथै लिएर वीरगञ्ज गए । केही दिनपछि रक्सौलतर्फ हानिए र त्यसबीचमा बबरले गुरुलाई भारतका केही सहरहरू घुमाइदिने बाहनामा राँची पुर्याए । जसरी पनि देवकाटाको एम. ए. बिथोल्नु पर्ने बाध्यताले देवकोटालाई राँची अस्पतालमा भर्ना गरियो । त्यहाँ अमेरिकन मनोविशेषज्ञ डा. वर्कले हिल नाम गरेका विश्वका सातौं विशेषज्ञ थिए । उनले जब देवकोटाको सिटिस्क्यान गरे, तब ‘पश्चिममा जन्मनुपर्ने मानिस पूर्वमा जन्म्यो, त्यो पनि नेपालजस्तो सानो देशमा, यो मानिस नेपालको नक्सामै अट्न सक्दैन । यो मानिस पागल होइन, यो जोग्राफिकल मिस्टेक मात्र हो’ भन्ने प्रमाणित गरिदिए । त्यसपछि डा. हिलले ‘यस्तो मानिसको सङ्गत यो शताब्दीमा सम्भव छैन, यस्तो ठूलो व्यक्तिको सङ्गत ईश्वरीय वरदान हो, अतः यी व्यक्तिसित हामीले सङ्गत गर्नैपर्छ’ भनेर दुई महिना राँचीमा राखिदिए । यसरी महाकविको एम.ए. गर्ने योजनामाथि तुषारापात भयो ।
यसबारे स्वयम् देवकोटा लेख्छन् : ‘म भयानक आर्थिक सङ्कटले पिरोलिएको थिएँ, मलाई राँची लगियो र मेरो मस्तिष्कको पूरै भाग जाँच गरियो । पश्चिममा जन्मनुपर्ने मानिस पूर्वमा जन्म्यो, त्यो पनि नेपालजस्तो सानो देशमा, यो नेपालको मानचित्रमा अटाउन सक्दैन, तसर्थ यो मानिस पागल होइन, यो जोग्राफिकल मिस्टेक हो भनेर लेखिदिए, यसपछि मलाई मुक्ति दिन्छन् भन्ठानेको त यति ठूलो मानिसको सङ्गत गर्नैपर्छ भनेर अरू दुई महिना राँचीमा राखिदिए र मेरो एम.ए. पढ्ने धोको अधुरै रह्यो ।’ यसरी देवकोटाले एम.ए. गरेर राणा परिवारको डिग्रीलाई मात गर्छ भन्ने हीन भावनाले ग्रसित कुनै राणा खलकका कारण यति ठूलो लेखक, कवि र विचारकलाई मुफतमा ‘पागल’को आक्षेप लगाइएको देखिन्छ । पछि पनि ‘मानसिक स्वास्थ्यका कारण’ पहाडी क्षेत्रको बसोबासलाई जोडेर लेख्ने गरिन्छ । वास्तवमा कुनै कवि या विचारक प्रकृतिबाट अलग रहन सक्दैन । त्यसमा पनि देवकोटाजस्ता प्रकतिका पूजारीले पहाडी क्षेत्रको भ्रमण गर्नुलाई मानसिक स्वास्थ्यका दृष्टिले हेर्नु उनीमाथि अन्याय गर्नु मात्र हो । उनी कहिल्यै मानसिक रोगी थिएनन् भन्ने उनका विभिन्न कालका रचनाले पनि पुष्टि गर्छन् । बरु शारीरिक रूपमा उनी पहिल्यैदखि हृष्टपुष्ट भने थिएनन् । पटक–पटक आउँ र निमोनियाबाट पीडित भएका अनेकौँ दृष्टान्त सुन्नमा आएका छन् ।
(२) देवकोटालाई कसरी क्यान्सर भयो ?
महाकवि देवकोटालाई धेरै जनाबाट चुरोटले क्यान्सर भएको उडन्ते गफ लेखिँदै र ठाउँ–कुठाउँमा भनिंदै आएको छ । पहिलो कुरा, देवकोटा असाध्यै चुरोट पिउँथे भन्ने चाहिँ सत्य हो, तर चुरोट खाएकै आधारमा क्यान्सर हुने भए धेरैलाई क्यान्सर लाग्नुपर्ने हो । वास्तविकता चाहिँ के हो भने २०१४ सालमा डा. के. आई. सिंहको मन्त्रीमण्डलमा महाकवि देवकोटा असारदेखि कात्तिकभित्र ११० दिन शिक्षामन्त्री भए । त्यसबेला नेपालको तराई र कतिपय पहाडी जिल्लामा समेत हिन्दीमा पढाइ हुन्थ्यो । देवकोटाले यो प्रथा मन पराएनन् र उनले ‘अनिवार्य हिन्दी’ को ठाउँमा अनिवार्य नेपाली गरिदिए । यसले हिन्दीका समर्थकहरूको मनमा चोट पर्न जानु स्वाभाविकै थियो । यसै बेला महाकवि देवकोटा टी.बी. को शङ्कामा कलकत्ता मेडिकल इन्स्टिच्युटमा जँचाउन गए । अघिल्लो दिन ‘हेल्थ नर्मल’ रहेको रिपोर्ट दिइयो र भोलिपल्ट एकाएक ४ खण्डको ३ खण्ड पेटे थैली काटियो । यो २०१४ सालको अन्त्यतिरको घटना थियो । पेट काटिएर घर आएका देवकोटालाई अकस्मात् क्यान्सर भयो । पछि बोथ्किन अस्पताल (रुस) का डाक्टरहरूले काट्न नपर्ने पेट काटिएकोमा क्रुद्ध भएका थिए । वास्तवमा देवकोटालाई चुरोटले क्यान्सर भएको थिएन । पेटको क्यान्सर भएको हो । भनिन्छ, नेपाल विरोधी केही इण्डियन डाक्टरहरूले देवकोटाको पेट जानी– जानी काटिदिएका थिए । नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा विकास गर्नु नै क्यान्सरको मुख्य रहस्य बनेको थियो ।
(३) देवकोटा कसरी गरिब बनाइए ?
महाकवि देवकोटा एक सम्पन्न परिवारका सदस्य थिए । पिता पं. तिलमाधव त्यस बेला राणा परिवारका पुरोहित रहेका र धन र मानले पनि सम्पन्न भएकाले देवकोटाले राणा परिवारले पढ्न पाउने स्कुलमा समेत पढेका थिए । श्री ३ जुद्ध शमशेर प्रधानमन्त्री भएका बखत पं. तिलमाधवको राम्रै पहुँच थियो । अन्य राणा परिवारमा समेत राम्रो सम्पर्क थियो । यसकारण पनि देवकोटा परिवार उच्च शिक्षाले सुशोभित थिए ।
देवकोटाले पैतृक सम्पत्ति जम्माजम्मी १९ सय नगद पाएका हुन् । उनले एक वर्ष ट्युशन पढाएर मैतीफाँटको घर र साढे सात रोपनी जग्गा किनेका थिए । पछि पं. तिलमाधव स्वर्गे भएपछि कोशी टप्पूबाट प्राप्त २० बिघा जग्गा तथा जमल र अन्य ठाउँको गरी १० रोपनी जति जग्गा रहेको देखिन्छ । त्यो बेला उनको ट्युसन खुब चलेको थियो । राणा कालको जमानामा पनि उनी प्रतिमहिना रु. ३००० कमाउँथे रे ! देवकोटाका घरमा २ जना भान्से बाहुनी र २ जना भैंसी हेर्ने मानिस राखिएका हुन्थे । भनिन्छ, देवकोटाका घरमा हप्तामा २ दिन त भोज मात्रै चल्ने गथ्र्यो । उनी पैसा आएका दिन टोलभरिका मानिसलाई डाकेर मस्त मासुभात खुवाउँथे । देवकोटाको बानी के थियो भने धन जम्मा गरेर नराख्ने । उनी खर्च गरेर मानिसको स्वभाव तौलन्थे । यो प्रवृत्तिले देवकोटा महादानीको श्रेणीमा दरिएका थिए । यस घटनाले काठमाडौँका घरानियाँ मानिसलाई धेरै दिक्क तुल्यायो । जब २०१५ सालमा राजा महेन्द्रले तासकन्द गएको र आफूलाई नलगेको रिसमा ‘कम्युनिष्ट भएको’ आरोप लगाई पाकेको पारिश्रमिक रोकिदिए ।
यतिखेर देवकोटालाई क्यान्सर भइसकेको थियो । आमदानीको स्रोत सुकिसकेको अवस्था थियो । यसबेला भने देवकोटाले नराम्रोसित आर्थिक सङ्कट झेले । यतिसम्म कि मर्ने बेला अघिसम्म पोटासियम साइनेड देऊ भन्दै कराउने बनायो । त्यसैलाई लिएर आफूलाई खानदानी हौँ भन्नेहरूले देवकोटा गरिब थिए भन्ने अफवाह पैmलाए । देवकोटाको आर्थिक अवस्था जम्मा डेढ वर्ष मात्र बिग्रेको हो । यतिलाई नै गरिबीको कुरा गर्ने हो भने भिन्नै कुरा । होइन भने देवकोटालाई गरीब भन्नेहरूसित उनको सम्पत्तिको १ चौथाई पनि सम्पत्ति भएको देखिँदैन ।
पछि राणा र शाह परिवारले साधारण कुलको मानिस महाकवि भएको पटक्कै सहेनन् र हियाएर देवकोटालाई गरिब भन्न थाले । योबाहेक देवकोटासित गरिबीको कुनै प्रमाण भेटिँदैन । यसरी अरूलाई गरीबको बिल्ला भिराएर बिनासित्तिको अपमान गर्नेलाई कसैले पनि सजाय किन दिएन ?
(४) के देवकोटा लहडी थिए ?
महाकवि देवकोटालाई कतिपयले लहडी र लापर्वाह थिए भनेर लेख्ने गरेका छन् । कुनै कवि वा लेखकले ध्यान वा चिन्तामग्न हुनु स्वाभाविकै हो । झन् देवकोटाजस्ता बहुमुखी प्रतिभामा त्यस्तो हुनु बिल्कुल जायज पनि हो । कतिपयले देवकोटालाई उडन्ते, मगन्ते, ढुलमुल चरित्रको भनी उल्लेख गरेका छन् । तर उनका रचनामा ती आरोपहरू प्रमाणित हुँदैनन् । बरु अरू साहित्यकारका तुलनामा देवकोटा बढी विचारवान्, क्षमतावान् र कुशल प्रस्तोताका रूपमा देखापरेका छन् । उनले दशै वर्षको उमेरमा ‘घनघोर दुःख सागर संसार भाइ……’ तथा म त अभागिनी पो भएँ…… जस्ता पङ्क्तिबाट शुरु गरेर ‘म प्रमिथसजस्तो आँसुमा आँसु डुबाएर मर्न चाहन्छु ।’ भन्ने अन्तिम कविता लेखी बिदा भए । उनले यहाँ प्रमिथसजस्ता वीर मानवको उपमा हालेका छन् । उनले आफ्ना काव्यकृतिहरूमा ऐतिहासिक वीर र योद्धाहरूका जीवन गाथालाई मुख्य चरित्र बनाएका छन् । यसबाट देवकोटाले आफूलाई प्रमिथसको अनुयायीका रूपमा हेर्ने गरेका छन् । देवकोटा लापर्वाह पनि होइनन् । उनी दैनिक १६ घण्टा ट्युशन पढाउँथे । घरमा ४ जना काम गर्ने मानिस, आफू र पत्नी मनदेवी, ८/९ जना छोराछोरी गरी १३/१४ जनाको जहानको लालन पालन र हेरविचार गर्थे । ती सबै उनीमाथि नै आश्रित थिए । त्यति भ्याएर पनि उनले झन्डै ८१ वटा कृति जाबो ५० वर्षको छोटो जीवनमा नेपाली भाषालाई दिएका छन् । त्यसमा पनि देवकोटाले युरोपमा चलेको रोमान्टिक धारा वा स्वच्छन्दता वादलाई नेपाली साहित्यमा भित्र्याउने ठूलो क्रान्ति नै गरेका थिए । देवकोटाको दैनिक जीवनलाई नजिकबाट हेर्ने हो भने उनी मात्र यस्ता लेखक हुन् —जो कुराअनुसारको काम गर्थे र कामअनुसारको कुरा । उनको आदर्श नै यी सबैका प्रश्नहरूलाई राम्रो जवाफ बन्न सक्छ । यस्ता अन्तराष्ट्रिय युगपुरुषलाई जे मन लाग्यो त्यही लेख्नेहरूले मान मर्दन गरेका छन् । यो पनि दरिद्रताको एउटा उदाहरण नै हो ।
(५) के देवकोटा स्त्रीलम्पट थिए ?
आजकाल आफूलाई साहित्यकार भनाउन रुचाउने एक सामाजिक पत्रु व्यक्तिले देवकोटालाई ल्युदमिला अगानिना र देवकुमारी थापाप्रति आशक्ति देखाएको वर्णन छपाउँदै हिँड्ने गरेका छन् । उनले यस्तो मनगढन्ते किस्सा पहिले अन्नपूर्ण दैनिकमा र हाल अन्यत्र पनि छपाएको देखिन्छ । विशेष गरी महेन्द्रवादी मण्डले वा पञ्चायतको स्तुति गाउने कुन्डलेले आफ्नो कुरूप छविलाई देवकोटामा लगेर जोडेका छन् । ल्युदमिला देवकोटाको ओजस्वी भाषणबाट प्रभावित रुसी विदूषी हुन् । यतिसम्म कि देवकोटाले दिएको धाराप्रवाह भाषण सुनेर नेपाली भाषामा यस्ता विराट् व्यक्तित्व पनि रहेछन् भने त्यो भाषा कति धनी होला भन्ने लागेर उनी नेपाल आइन् र नेपाली भाषामा विद्यावारिधि पनि गरिन् । यी घटनाहरू देवकोटा दिवङ्गत भैसकेपछिका हुन् । देवकोटासित उनको खासै अन्तरङ्ग सम्बन्ध थियो भन्ने पनि देखिँदैन । यदि थियो भने त उक्त मण्डलेले फोटो वा अन्य कुनै प्रमाण पेश गर्न सक्थ्यो । केवल उसले आफ्नो मनमा जे आयो त्यही मात्र लेखेको देखिन्छ ।
अर्को कुरा उक्त पतित मण्डलेले देवकोटाको दार्जिलिङ्की साहित्यकार देवकुमारी थापासित प्रगाढ सम्बन्ध थियो भनेर सिद्ध गर्न कोसिस गरेको देखिन्छ । उसले लेखेको छ कि ‘देवकोटा प्रेमिका देवकुमारी थापालाई भेट्न बरोबर दार्जिलिङ् गइरहन्थे, देवकुमारीका हातले पकाएको कुखुराको मासु खुब मीठो गरी स्वाद मानेर खान्थे ।’
वास्तवमा देवकोटा, सम र लेखनाथलाई सुधपाको समितिले दार्जिलिङ्मा पाठ्यक्रम निर्धारण समितिमा राखेकाले त्यसको मिटिङ्मा गइरहनु पथ्र्यो । यसरी जाँदा, आउँदा दार्जिलिङ्सित देवकोटाको सम्बन्ध बढ्नु अस्वाभाविक थिएन, कतिपयले ठूला व्यक्तिसित बसेर फोटो खिचाउने चाहना राख्छन् । त्यतिबेला देवकुमारी प्रतिष्ठित नभैसकेको अवस्थामा उनले त्यस्तो चाहना राखेकी मात्र हुन् । यस्तो नाथे कुरालाई पत्रु मण्डलेले प्रेमै भएको देख्नु उसको आँखामा फुलो पर्नुबाहेक अरू केही देखिँदैन । मनभित्र विकृति र कुण्ठा पालेर बसेको व्यक्तिले देवकोटालाई आक्षेपै लाग्ने गरी तल झार्न लेखेको लेखलाई सुझ न बुझ प्रकाशित गरिहाल्ने हाम्रा प्रकाशकहरू पनि त्यो अपराधमा सामेल भएको देख्ता भने बडो अचम्म लाग्छ ।
साँच्चिकै देवकोटाको यी दुई नारी पात्रसित त्यस्तो व्यक्तिगत सम्बन्ध भएको भए त्यतिबेलै छापामा समाचार बनेर आउँथे । अझ यस्तो लेख्ने उक्त पत्रु लेखक देवकोटा दिवङ्गत हुँदा भ्रुणबाट भर्खर जन्मेको मात्र थियो । त्यस्ताले लेखेको हावादारी गफ प्रकाशित गरेर देवकोटाको चरित्रहत्या गर्ने मनसायको के कहिल्यै क्षतिपूर्ति सम्भव होला ?
महाकवि देवकोटाबारे अरू पनि थुप्रै यस्ता मनगढन्ते लेखहरू नेपाली छापामा देखिएका छन् । विश्वका ठूला लेखकहरूले भने देवकोटाको उच्च मूल्याङ्कन गरेका छन् । वास्तवमा नेपालभित्रकै नेपालीबाट देवकोटा जसरी सताइए, मृत्युपर्यन्त पनि त्यत्तिकै सताइएकै छन् । उनका रचानाका बारेमा कमैले लेखेका छन् ।
डा. कुमारबहादुर जोशी, नित्यराज पाण्डे, चूडामणि बन्धू, डा. दुर्गा अर्यालजस्ता आधा दर्जन नेपाली विद्वान्हरूले मात्र देवकोटाको केही मूल्याङ्कन गर्न भ्याएका छन् । यीबाहेक छिटपूmट व्यक्तिहरूले देवकोटाबारे आ–आफ्नै तरिकाले अध्ययन गरिरहेका पनि छन् । तैपनि देवकोटाको सर्वाङ्गीण मूल्यको चर्चा हुन अभैm सकिरहेको छैन । देवकोटाका नाममा सङ्घ–संस्थाहरू खोलिए पनि ती प्रायः कमाइ खाने भाँडो मात्र सावित भइरहेका छन् । केही सुनकोशी साहित्य प्रतिष्ठानजस्तै इमान्दार देखिएनन् । यसर्थ पनि आज देवकोटाबारेका नचाहिँदा अफवाहलाई सामना गर्न नितान्त एउटा मजबूत सङ्गठनको खाँचो देखापरेको छ । देवकोटाका समर्थक असङ्ख्य छन्, तर छरिएर रहेका छन् । आशा गरौँ ती सबैलाई समेट्ने सङ्गठन अवश्य जन्मनेछ ।