हेमनाथ पौडेल (२०१८, साउन २, ह्वाकु ५ तेह्रथुम, तेह्रथुम, सुपुत्रः पशुपति र कृष्णमाया पौडेल) नेपाली साहित्यका मूलत समीक्षा विधामा सुपरिचित प्रतिभा हुन् । २०३४ सालको हिमज्योति पत्रिकामा सरस्वती वन्दना शीर्षकको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका पौडेल नेपाली विषयमा उच्चशिक्षा लिई प्राध्यापन पेसासँगै भाषा र निबन्धका साथै मूलतः समीक्षा क्षेत्रमा निकै सक्रिय देखिन्छन् । नेपाली समीक्षा परम्पराको उत्तरवर्ती चरणका सचेत र सैद्धान्तिक तथा प्रायोगिक समालोचकका रूपमा उनको परिचय निकै बलियो छ । नेपाली समीक्षा परम्परामा माक्र्सवादी समीक्षा चिन्तनलाई मूल केन्द्र बनाउने पौडेल माक्र्सवादी समीक्षककै रूपमा स्थापित छन् । उनका समालोचनात्मक कृतिहरू कृष्णमणि साहित्य पुरष्कारद्वारा पुरष्कृत स्रष्टाहरू (२०६४), भाषा साहित्यका दुई हस्ती (२०६४), सन्दर्भपरक समालोचना (२०७०), भाषाविज्ञान र नेपालका भषाहरू (२०७०) प्रगतिवादी दृष्टिमा कवि र कविता (२०६५), कविता समालोचना (२०७५), प्रगतिवाद र कवितासम्बन्धी मान्यता (२०७६), नपाली प्रगतिवादी कविता इतिहास र प्रवृत्ति (२०७७), समीक्षा र भूमिका (२०७७), पारिभाषिक शब्द परिचय (२०७५) सम्पादनपरक समालोचना जस्ता समालोचना ग्रन्थहरू प्रकाशमा आएका छन् । उनका काव्य अनुशीलन समीक्षासँगै चिन्तन र संस्मरण निबन्ध कृति पनि प्रकाशनको संघारमा रहेको छ । उनको लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच (२०७७) लोकसाहित्यसम्बन्धी कृति पनि प्रकाशित छ । उनले अभिनन्दन, स्मृतिलगायत एक दर्जनअधिक कृतिको सम्पादन गरेका छन् । उनका सम्पादित कृतिहरूमध्ये कृति र कृतित्त्वमा डा. बल्लभमणि दाहाल (२०६३), रमेश विकल विम्ब एक प्रतिविम्ब अनेक (२०६७), जनकप्रसाद हुमागाईँ : स्रष्टा एक द्रष्टा अनेक (२०६७) जस्ता कृतिहरू उल्लेखय छन् । प्रगतिवादी समीक्षा सिद्धान्तसँग प्रभावित समालोचक पौडेलको समालोचना चिन्तन विवेचनात्मक तथा विश्लेषणात्मक ढङ्गले प्रस्तुत हुने गरेको पाइन्छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका वर्तमान प्रज्ञापरिषद् सदस्य पौडेलको साहित्यसागरको प्रस्तुत शृङ्खलामा देवकोटाको कवितायात्रा, प्रवृत्ति र योगदान’ शीर्षकको समीक्षा समेटेको छ । यस समीक्षाले देवकोटाको समीक्षा यात्रालाई वस्तुगत रूपमा समेटेको छ ।
-सम्पा.
१. विषयप्रवेश : प्राक्कथन
लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) आधुनिक नेपाली साहित्यका विशिष्ट एवं बहुमुखी प्रतिभा हुन् । उनले कविता विधाका साथै कविताइतर विधामा समेत मौलिक–अनूदित गरी अनेकौँ कृतिको सिर्जना गरी सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले महत्त्वपूर्ण योगदान दिएका छन् । उनले कथा, उपन्यास, निबन्ध, नाटक र समालोचना समेतमा कलम चलाएका छन् तापनि उनको लेखनको मुख्य विधा भने कविता नै हो । आफ्नो जीवनको ५० बर्से अवधि (१९६६–२०१६) मा ४० वर्ष (१९७६–२०१६) साहित्यसाधनामा लगाएका देवकोटाले कविताको लघुत्तम रूप मुक्तकदेखि बृहत् रूप महाकाव्यसम्मको सिर्जना गरी यस क्षेत्रमा अद्वितीय योगदान पु¥याएका छन् ।
उनका कविताइतर विधामा कथासङ्ग्रह –१, उपन्यास –१, निबन्धसङ्ग्रह –२, नाटक –३, समालोचना सङ्ग्रह –१ र अनूदित कृति –२ रहेका छन् भने कविता विधामा कविता सङ्ग्रह –१४, खण्डकाव्य –३७ (नवरसका ८ र अप्रकाशित समेत गरी) र महाकाव्य – ६ ओटा रहेका छन् । खण्डकाव्य र महाकाव्यलाई छोडेर फुटकर कविताकै मात्र कुरा गर्ने हो भने पनि सङ्ग्रहमा सङ्कलित र असङ्कलित समेत गरी ६५० भन्दा बढी कविताहरू देवकोटाका देखिन आएका छन् । कवितापछिको दोस्रो विधा निबन्ध रहे पनि तुलनात्मक रूपमा कविता विधामा देवकोटाको योगदान सर्वाधिक देखापर्दछ ।
स्वच्छन्दतावादी काव्यधाराको प्रणयन, सम्बद्र्धन र त्यसलाई नेपाली कविताको विकासमा एउटा प्रमुख धाराका रूपमा स्थापित गर्ने केन्द्रीय र सर्वोच्च कवि देवकोटाको वैचारिक विकास स्वच्छन्दतावादी मानवतावादबाट क्रमशः प्रगतिवादलाई आत्मसात् गर्ने तहसम्म पुगेकाले समग्रमा उनी स्वच्छन्दतावादी मानवतावादी प्रगतिशील कविका रूपमा स्थापित हुनपुगेका छन् । नेपाली कविता परम्परामा हालसम्मकै सबैभन्दा बढी कविता–काव्यहरूको सिर्जना गरी आशुकवित्वको कीर्तिमानका साथै सर्वाधिक प्रतिभाशाली र सिर्जना सामथ्र्य भएका कविको सम्मान प्राप्त गर्न सफल देवकोटाको वैचारिक वृत्त मूलतः स्वच्छन्दतावादी रहस्यचेत र प्रकृतिचेतका साथै स्वतन्त्रता, समानता र भातृताको मानवतावादी चेत र जनअधिकारको स्थापना र सामाजिक न्यायको प्रगतिशीलचेतबाट निर्मित रहेको छ । यसै कारण उनका रचनाहरूमा प्राकृत जीवनदृष्टि, देशभक्ति, मानवता, स्वतन्त्रता, मुक्ति, त्याग र बलिदानका भावनाहरू प्रखर रूपमा अभिव्यक्त भएका छन् ।
नेपाली साहित्यमै सर्वाधिक महŒपूर्ण स्थान प्राप्त गर्न सफल देवकोटा र उनका उपर्युक्त काव्यकृति एवम् वैचारिक योगदानका सम्बन्धमा थुप्रै समीक्षक, समालोचक र अनुसन्धाताहरूले आआफ्ना अध्ययन–अनुसन्धान र निष्कर्षहरू प्रस्तुत गर्दै आएका छन् । देशभित्र र बाहिरसमेत विश्वविद्यालयहरूमा एवम् व्यक्तिगत रूपमा समेत प्रशस्त अध्ययन–अनुसन्धान भएका छन् र केही समययता आएर वस्तुपरक मूल्याङ्कन पनि हुँदै आएको छ । प्रस्तुत आलेखमा यिनै सामग्रीहरूमा आधारित भएर महाकवि देवकोटाको कवितायात्रा, प्रवृत्ति र योगदानलाई सङ्क्षिप्त रूपमा केलाउने प्रयास गरिएको छ ।
२. देवकोटाको कवितायात्रा : कवित्वको विकास र चरणविभाजन
लक्ष्मीप्रसाद देवकोटाको सार्वजनिक कवितायात्राको थालनी १९९१ सालदेखि भए पनि उनले दश वर्षकै उमेर (१९७६) बाट कविता लेख्न थालेकाले उनका प्रारम्भिक अवधिका वर्षहरू कवित्वको प्रस्फुटन र पूर्वाभ्यासमा नै बितेका छन् । कवितायात्राको थालनी भएयताका १५ वर्ष अथवा १९७६ देखि १९९० सम्मको अवधि उनको कवितायात्राको पृष्ठभूमि हो । यस अवधिमा उनका कुनै पनि कविताहरू प्रकाशित भएनन् । पहिलो प्रकाशित कविता पूर्णिमाको जलधि (१९९१, मंसिर) र पहिलो प्रकाशित उच्च कविता गरिब (१९९१ फागुन) ले देवकोटाको कवितायात्राको सार्वजनिक प्रकाशन र स्वच्छन्दतावादी धाराको आमन्त्रण गरे पनि यसपूर्व लेखिएका कवितामै स्वच्छन्दतावादी काव्यचेतनाको वीजारोपण र अङ्कुरण भने भइसकेको थियो । यस क्रममा देवकोटाका सम्पूर्ण कविताकाव्यको अध्ययन गरी कुमारबहादुर जोशी (१९४७ : १५०) ले उनको कवितायात्रालाई विभिन्न मोड र उपमोडमा छुट्याउने काम गरेका छन् र यसलाई अरू विद्वान्हरूले पनि समर्थन गर्दै आएका छन् । देवकोटाको वैचारिक विकासको मूल्याङ्कनका सन्दर्भमा समालोचकहरूबीच मतभेद भए तापनि चरणविभाजनका सम्बन्धमा भने मतैक्य नै पाइन्छ । जोशीकै अध्ययनलाई आधार बनाउँदा देवकोटाको कवितायात्राका निम्नलिखत प्रमुख चरण वा मोड देखापर्दछन्—१. पहिलो चरण– १९७६–१९९० (पृष्ठभूमिकाल : कवित्वको अभ्यास र स्वच्छन्दतावादको वीजारोपण)२. दोस्रो चरण – १९९१ – १९९९ (स्वच्छन्दतावादी काव्यधाराको प्रवर्तन र सम्बद्र्धन)३. तेस्रो चरण – २००० – २००३ (स्वच्छन्दतावादी काव्यज्वार र महाकवित्वको विस्तार)४. चौथो चरण – २००४ – २००९ (स्वच्छन्दतावादका साथै प्रगतिशीलताको समेत वरण)५. पाँचौँ चरण – २०१० – २०१६ (स्वच्छन्दतावादका साथै प्रगतिशील प्रगतिवादी कवित्वको उत्कर्षता र परिष्कार) देवकोटाको कवित्व विकासमा आएको परिवर्तन वा मोड नै उपर्युक्त चरण विभाजनको आधार हो । देवकोटाले कविता लेख्न थालेको सुरु वर्ष (१९७६) देखि सार्वजनिक कवितायात्राको थालनी (१९९१) सम्मको अवधि कवितालेखनको अभ्यासमै बितेकाले यो उनको कवितायात्राको पृष्ठभूमिकाल पहिलो चरण हो भने कवित्वको सार्वजनिक प्रकाशन भएको अवधि (१९९१) देखि महाकाव्य लेखनको सुरुवातपूर्व (१९९९) सम्मको अवधि दोस्रो चरण हो । यो चरण स्वच्छन्दतावादी कविताधाराको प्रवद्र्धन र सञ्चारका दृष्टिले महत्त्वपूर्ण रहेको छ । तेस्रो चरण देवकोटाको सिर्जनात्मक अत्युर्वरता र महाकाव्यात्मक विस्तृतिका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण छ । यो उनी नेपाली भाषा प्रकाशिनी समितिमा जागिरे (२०००) भएयता वनारस प्रवासपूर्व (२००३) सम्मको अवधि हो । २००४ सालपछि देवकोटाले आफ्नो कवित्वमा क्रान्ति, विद्रोह र प्रगतिशीलतालाई आत्मसात् गरेकाले चौथो चरणको सुरुवात भएको छ । यो चरण हास्यव्यङ्ग्यको तीव्रता, गद्यकवित्वको वरण, प्रगतिवादोन्मुख प्रगतिशीलता र सिर्जनात्मक प्राचुर्यका दृष्टिले उल्लेखनीय छ । यसै वर्षदेखि देवकोटाको समग्र कवित्व विकासको उत्तराद्र्ध पनि थालिन्छ । पाँचौँ चरण २०१० देखि देवकोटाको जीवनपर्यन्त अथवा २०१६ सालसम्म हो । यस चरणमा स्वस्फूर्त कवितात्मक प्रयोगभन्दा परिष्कृतितर्पmको सौन्दर्यचेत प्रबल बन्नु र देशविदेशको भ्रमण र राजनीतिक दार्शनिक चेतका कारण वैज्ञानिक समाजवादतर्पm उन्मुख हुनु महत्त्वपूर्ण कारण बनेका छन् ।
डा. वासुदेव त्रिपाठी, दैवज्ञराज न्यौपाने र केशव सुवेदी (२०४७, पृ. १८४) तथा डा. कुमारबहादुर जोशी (२०४८, पृ १५०) लगायतका विद्वान्हरूले देवकोटाको कवितायात्राको पूर्वाद्र्धलाई विशुद्ध स्वच्छन्दतावादी अवधि र उत्तराद्र्धलाई स्वच्छन्दतावादी–प्रगतिवादी अवधि भनेर नामकरण गरेका छन् । विश्वविद्यालयहरूमा पनि यही मान्यतालाई अनुशरण गर्दै पठनपाठन हुँदै आएको छ । सिद्धान्तका दृष्टिले प्रगतिवाद र स्वच्छन्दतावाद भिन्न साहित्यिक सिद्धान्त भएकाले स्वच्छन्दतावादी–प्रगतिवाद पदावलीको प्रयोग विज्ञानसम्मत र उपयुक्त देखिँदैन । प्रगतिवाद माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादमा आधारित वस्तुनिष्ठ चिन्तनप्रणाली हो भने स्वच्छन्दतावादले वस्तुनिष्ठतामा होइन, आत्मनिष्ठतामा, विवेक होइन, भाव र अनुभूतिमा विशेष जोड दिन्छ । प्रकृतितर्पm फर्क, स्वतन्त्रता, समानता र भातृत्वको अवलम्बन गर, हार्दिकता, सहजता र स्वस्फूर्ततामा विशेष जोड देऊ, स्वच्छन्दतावादका मूल दार्शनिक पक्ष हुन् । यसमा रहस्यवाद र आदर्शवादको महत्त्वपूर्ण भूमिका रहन्छ भने प्रगतिवाद यसको ठिक विपरीत वैज्ञानिकतामा विश्वास गर्छ । यस सम्बन्धमा प्रगतिवादी चिन्तक–समालोचकहरूले भने देवकोटाको काव्ययात्राको मूल्याङ्कन अलि भिन्न किसिमले गरेका छन् । प्रगतिवादी सौन्दर्य चिन्तकहरू मोदनाथ प्रश्रित, गोविन्द भट्ट, चैतन्य, निनु चापागाईँ, डा. ऋषिराज बराल, डा. ताराकान्त पाण्डेयलगायतका विद्वान्हरूका धारणाहरू भने मिल्दाजुल्दा छन् । प्रश्रितले आफ्नो वैचारिक विकासका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा (२०३५) पुस्तिकामा देवकोटाका काव्ययात्राको मूल्याङ्कन गर्दै उनको पछिल्लो चरणलाई समाजवादोन्मुख चरणका रूपमा लिएका छन् भने चैतन्यले क्रान्ति र सौन्दर्य (२०६४) मा सङ्कलित ‘देवकोटाको साहित्यिक यात्रा र मूलप्रवृत्तिहरू’ शीर्षकको लेखमा देवकोटाको उत्तराद्र्धको कवित्वलाई पुँजीवादी मानवतावादी सक्रिय स्वच्छन्दतावाद (२००४–२००७), काल्पनिक समाजवाद प्रभावित स्वच्छन्दतावाद (२००८–००९) र वैज्ञानिक समाजवाद प्रभावित क्रान्तिकारी स्वच्छन्दतावाद (२०१०–२०१६) का रूपमा लिएका छन् ।
देवकोटा मूलतः स्वच्छन्दतावादी मानवतावादी कवि हुन् । उनको स्वच्छन्दतावादी कवित्व पछिल्लो अवधिमा समाजवादोन्मुख हुनपुगेकाले त्यसमा प्रगतिवादको संश्लिष्टता पनि छ तर यतिमै उनलाई पूर्णतः प्रगतिवादी कवि भनिहाल्न मिल्दैन किनभने समग्रमा देवकोटा सौन्दर्यचिन्तनका क्षेत्रमा आदर्शवादी नै रहेका छन् । उनले कला र सौन्दर्यलाई ईश्वरीय अभिव्यञ्जनाका रूपमा लिएको तथ्य प्रस्ट नै छ (कला र जीवन–निबन्ध) । देवकोटाको पछिल्लो कवित्वमा प्रगतिवादमा पाइने कतिपय मान्यताहरू संश्लिष्ट रहेका हुँदा समीक्षकहरूले यसमा प्रगतिवादी चिन्तन समावेश भएको मानेका हुन् । त्रिपाठी र अन्य (२०४८, पृ. ३४२) ले पनि देवकोटाका कवितामा पाइने प्रगतिवादलाई माक्र्सवादको प्रतिबद्धता रूपमा नभएर प्रजातान्त्रिक–प्रगतिशील, व्यापक मानवतावादका तात्पर्यमा लिएको बताउनुले पनि यही कुराको पुष्टि हुन्छ । यस सन्दर्भमा प्रगतिशीलता आफैँमा कुनै दार्शनिक सिद्धान्त नभएकाले पनि प्रगतिशीलताका अर्थमा प्रगतिवादको प्रयोग गरेको देखिन आउँछ । यसबाट देवकोटा महान् स्वच्छन्दतावादी मानवतावादी प्रगतिशील कवि ठहर्छन् । समाजविकासका प्रक्रियामा पश्चगतिको विरोध र अग्रगतिको पक्षपोषण गर्ने अवधारणालाई प्रगतिशील धारणा भनिन्छ । देवकोटामा सामन्तवाद तथा साम्राज्यवादविरोधी, देशभक्त, जनवादी एवं क्रान्तिकारी समाजवादी चेत रहेको र उनी उत्पीडित नेपाली जाति र सिङ्गो मानवजातिका उत्थानका पक्षमा रहेकाले प्रगतिशील कवि हुन् ।
देवकोटाको कवितायात्राको उपर्युक्त निरूपण र वैचारिक प्रवृत्तिको मूल्याङ्कनपश्चात् अब उनको कवित्वविकासका चरणलाई तल क्रमशः चर्चा गरिन्छ ।
२.१. पहिलो चरण (१९७६–१९९०) पृष्ठभूमिकाल
देवकोटाले १० वर्षकै उमेरमा १९७६ सालमा लेखेको ‘घनघोर दुःखसागर’ भन्ने दुई पङ्क्तिको कविताबाट उनको कवितायात्राको थालनी भएको हो । पाँच वर्षका उमेरमा अक्षरारभ्म गरी घरको पण्डित–मास्टर वातावरणमा हुर्केका देवकोटाले सुरुमा पिताजीका प्रभावबाट संस्कृतमा र घरपरिवारका महिलाहरूका चिठी लेखिदिने क्रममा नेपालीमा कविता लेखनको अभ्यास गरेको बुझिन्छ तर यी कविता उपलब्ध नभएकाले उनको पहिलो कविता उपर्युक्त दुई हरफको कविता नै हुन पुग्यो । दश वर्षकै बालसुलभ उमेरमा वयोवृद्ध व्यक्तिले झैँ दुःखको अनुभव गरी यस किसिमको (घनघोर दुःख सागर संसार जान भाइ, नगरे घमण्ड कहिले मर्नुछ हामीलाई ।) कविता लेख्नुमा पिताजीकै प्रभाव रहेको निश्चितै छ । देवकोटाका पिता पं. तिलमाधव देवकोटा छोरालाई संस्कृत पढाउन चाहन्थे तर आमा अमरराज्यलक्ष्मी र दाजु लेखनाथका प्रभावबाट उनले अङ्ग्रेजी पढ्न थालेको र पारिवारिक जीवन धान्न ट्युसनवृत्तिमा लागेको पाइन्छ । स्कुल जीवनमा रहँदा उनले निकै कविता लेखेको भए पनि ती उपलब्ध छैनन् । यसपछि पटनाबाट म्याट्रिक पास (१९८२) गरेर त्रिचन्द्र कलेजमा प्रवेश गरेपछि उनको कविताशक्ति बढ्दै गएको बुझिन्छ । पटनामै रहँदा आफ्ना शिक्षक शारदाप्रसाद मुखर्जीको निधनमा उनले अङ्ग्रेजीमा शोककविता लेखेको पाइन्छ । त्रिचन्द्र कलेजमा आइसकेपछि अङ्ग्रेजी कविहरूबाट प्रेरणा प्राप्त गरेर अङ्ग्रेजीमै ‘दि व्यालेट सावित्री एन्ड सत्यवान’ नाटक लेखेको र सेक्सपियरको ‘आएज यु लाइक इट’ का केही अंशको नेपाली रूपान्तर पनि गरेको बताइन्छ । यसवेला उनले नेपालीमा पनि कविता लेखेर साथीहरूलाई सुनाउने गरेका थिए भनिन्छ तर यी कुनै पनि रचना उपलब्ध छैनन् ।
यसपछि १९८७ सालमा देवकोटाले चारवटा गीतको रचना गरेको पाइन्छ । १. ‘तोतेबोली नफुट्दैमा’, २. ‘नपाऊँ पोइ घुर्ने, ३. ‘फुल्यो आलुबखडा’ र ४. ‘भो भो दिदी जान्न मता’ शीर्षकका यी गीतमा देवकोटाका पछिल्ला काव्यप्रवृत्तिको वीजारोपण भेटिन्छ । यीमध्ये पहिलोमा वार्णिक लयमा बालविवाह र नारीशिक्षाविरोधी भावनाप्रति असन्तुष्टि व्यक्त गरिएको छ भने दोस्रोमा वर्णमात्रिक लयमा नेपाली युवायुवतीका विकृतिप्रति व्यङ्ग्य गरिएको छ अनि तेस्रोमा लोकलयमा प्रकृति वर्णन गरिएको छ भने चौथोमा गीतिलयमै नारीजीवनका बाध्यता र विवशतालाई प्रस्तुत गरिएको छ । प्रारम्भिक स्तर भए पनि यिनमा सामाजिक सुधारको चेत प्रकट हुनुका साथै रोमान्टिक चेतना पनि व्युँझँदै गएको देखिन्छ । सामाजिक सुधारको भावना र शैलीगत लयात्मक सचेतता देखिए पनि कवितात्मक उचाइ प्राप्त गर्न असमर्थ यी कविताले देवकोटाको औपचारिक कवितायात्राका पूर्वाद्र्ध र उत्तराद्र्ध दुवै चरणका काव्यप्रवृत्तिको भने सङ्केत गरिसकेका छन् ।
यही आभ्यासिक चरणमा देवकोटाले १९८९ मा पटनामा रहँदा भीमसमसेरको मृत्युपश्चात् जुद्धसमसेर प्रधानमन्त्री भएको खुसियालीमा वार्णिक लयमा स्तुतिपरक कविता लेखी छपाएर बाँडेका र जुद्धबाट रु. १०००/– पुरस्कार पाएको पनि सूचना पाइन्छ । यो कविता अङ्ग्रेजी र नेपाली दुवैमा थियो तर हाल यसका दुई श्लोक मात्र उपलब्ध रहेको जोशी (२०४७) ले बताएका छन् । प्रारम्भिक अवस्थाबाटै सामाजिक सुधारको भावना प्रकट गर्ने कवि देवकोटाले किन यसरी जुद्धको स्तुतिमा कविता लेखे त भन्ने प्रश्न पनि उठ्न सक्छ । यस सन्दर्भमा १९८७ सालमा सार्वजनिक पुस्तकालय खोल्ने सन्दर्भमा भीमसमसेरबाट दण्डित भएका देवकोटाको तत्कालीन मनोविज्ञानमा जुद्धसमसेरको उदय खुसियालीको विषय भएको अनुमान गर्न सकिन्छ । अघिल्ला कविताहरूका तुलनामा यस कवितामा उच्च सौन्दर्य चेतना सञ्चारित रहनुमा साथै शासक स्तुतिको प्रवृत्ति पनि नयाँ प्रवृत्तिका रूपमा देखिन आएको छ ।
यस चरणको अन्तिम रचना देवकोटाको कवित्वनिर्माणको एउटा महत्त्वपूर्ण कडी बन्न पुगेको ‘सावित्री सत्यवान्’ नाटक हो । १९९७ सालमा प्रकाशित भएको भए पनि यसको रचना १९९० मै भएको थियो । समेली नाट्यशैलीबाट प्रभावित यस नाटकमा पश्चिमेली स्वच्छन्दतावादी चेतना र त्यसको रवीन्द्रनाथीय पूर्वीकरणको समन्वय पाइन्छ । यसमा पुराकथा वा मिथतिरको प्रथम यात्रा रहनुका साथै प्रकृतिको मानवीकरण, ईश्वरीय आस्था र आदर्शवादी जीवनदृष्टि पनि देखापरेका छन् ।
यसरी सार्वजनिक कवितायात्राको प्रारम्भ हुनुपूर्वको यस आभ्यासिक कालमै लक्ष्मीप्रसाद देवकोटाले आफ्ना काव्यप्रवृत्तिहरूको सञ्चार गरिसकेका छन् । पारिवारिक पृष्ठभूमि, तत्कालीन राजनीतिक–सामाजिक परिवेश, १९८७ सालको लाइब्रेरी पर्व, अङ्ग्रेजी साहित्यको प्रभाव, हिन्दी–बंगला साहित्यको सामीप्यता, घरपरिवारको आर्थिक अवस्था र अभाव आदि कारणहरू देवकोटाको कवित्वनिर्माण र प्रस्फुटनका पर्याधार बनेका छन् । १५ वर्षको यो अवधि देवकोटाको कवितायात्राको पृष्ठभूमि हो र उनले यस अवधिमा प्रशस्त कविताभ्यास गर्नुका साथै प्रवृत्तिगत वीजारोपण पनि गरिसकेका हुनाले यो अवधि उनको कवितायात्राको पहिलो चरण हो ।
२.२ दोस्रो चरण (१९९१–१९९९) स्वच्छन्दतावादी काव्यधाराको प्रवर्तन र सम्वद्र्धन
देवकोटाको कवित्वविकासको दोस्रो चरण १९९१ देखि १९९९ सम्मको अवधि हो । यो अवधि स्वच्छन्दतावादी काव्यधाराको प्रवर्तन र सम्वद्र्धनका दृष्टिले निकै महत्त्वपूर्ण रहेको छ । स्वच्छन्दतावाद शास्त्रीयतावाद र नवशास्त्रीयतावादको विरोध र प्रतिक्रियाका रूपमा विकसित सिद्धान्त हो । यसको थालनी अठारौँ शताब्दीको अन्त्य र उन्निसौँ शताब्दीको सुरुबाट पश्चिमी युरोपका विभिन्न देशमा भएको हो । यस धाराको विकासमा फ्रान्सका मानवतावादी चिन्तक रुसो र जर्मनीका स्लेगललगायतका दार्शनिकहरूद्वारा विकसित आदर्शवादको महत्त्वपूर्ण भूमिका रहेको छ । कविता–काव्यका क्षेत्रमा भने यसलाई उचाइ प्रदान गर्ने काममा वर्डस्वर्थ, कलरिज, किट्स, सेली, वाइरनलगायतका अङ्ग्रेजी कविहरूको विशेष भूमिका रहेको छ । अङ्ग्रेजी साहित्यको अध्ययनका क्रममा देवकोटा यस धाराबाट प्रभावित रहेकाले १९९१ पछि उनले नेपाली कविता–काव्यमा यसलाई भित्र्याउने काम गरे । संस्कृत साहित्यमा निहित स्वच्छन्दतावादी प्रवृत्ति र लोकगीतको रन्कोबाट त देवकोटा प्रभावित नै थिए साथै रवीन्द्रनाथ ठाकुरको बङ्ला स्वच्छन्दतावाद र हिन्दी कविताको छायाँवाद र रहस्यवादबाट पनि उनी प्रभावित रहेकाले नेपाली कविता–काव्यमा यी सबैको समन्वयात्मक प्रभाव भित्रियो ।
देवकोटाको औपचारिक कवितायात्राको प्रारम्भ ‘पूर्णिमाको जलधि’ (गोप, १९९१, मंसिर १५) र ‘गरिब’ (शारदा– १, १, १९९१ फागुन) कविताले गरेका हुन् । यसै वर्ष उनले जन्मोत्सव र मुटुका थोपा सङ्ग्रहमा सङ्कलित ९ वटा कविता र राष्ट्रिय अभिलेखालयमा पाण्डुलिपिका रूपमा सुरक्षित १७ वटा गरी २६ वटा कविता पनि लेखेको पाइन्छ । यीमध्ये अघिल्ला दुईवटा कविताले स्वच्छन्दतावादी काव्यधाराको आमन्त्रण गर्ने काम गरे भने यसपछि १९९२ सालमा प्रकाशित ‘गाइन् तिनले घाँसियागीत’ र ‘शरच्चन्द्र’ फुटकर कविताका साथै नेपाली खण्डकाव्य परम्परामै सर्वश्रेष्ठ ठहरिएको मुनामदनले यस धारालाई चरमोत्कर्षता प्रदान गरे । मुनामदनमा स्वच्छन्दतावादी काव्यधाराका सम्पूर्ण प्रवृत्ति देखापर्नुका साथै खण्डकाव्यीय श्रेष्ठताका दृष्टिले आख्यान र अनुभूतिको सन्तुलन पनि रहेको छ । यस काव्यले देवकोटाको कवित्वविकासलाई फुटकर कविताबाट मध्यम रूपमा विस्तार गर्ने काम पनि ग¥यो ।
कवितायात्राका क्रममा देवकोटाले १९९३ सालमा चौध हरफे (सनेट) ‘बुलबुल गाना’ र ‘सम्झना’ अनि ‘प्रति’ गद्यकविता लगायतका कविताहरू लेखेको पाइन्छ तर यी कविताहरू त्यति स्तरीय छैनन् । यो वर्ष देवकोटाका निम्ति मानसिक चिन्ता र अस्वस्थताको वर्ष पनि रह्यो । यसअघि १९९१ मा आमा र १९९२ मा बाबु र माहिली छोरीको मृत्युको पीडा भोगिरहेका देवकोटामा विस्तारै मानसिक असन्तुलन पनि बढिरहेको थियो र उनी बढी एकान्तप्रेमी र अन्तर्मुखी बन्दै गएका थिए । यसै वेला उनी एम. ए. गर्न भनी कलकत्ता गए तर मानसिक स्थिति सन्तुलित नभएकाले फर्केर घर आई चार महिना यसै वर्ष उपचार गर्न राँची बस्नुपरेकाले एम. ए. गर्ने धोको पूरा भएन । १९९४ साल भने देवकोटाको कवितायात्राका दृष्टिले शून्य वर्षका रूपमा रहेको छ । यसपछि मानसिक स्वस्थताका निम्ति उनले १९९५ मा गोसाइँकुण्ड र हेलम्बुको पहाडी यात्रा गरे । यसबाट उनमा स्थानीय प्रकृति र प्राकृतिक जनजीवनको अत्यधिक प्रभाव परेकाले पछि म्हेन्दु खण्डकाव्य जन्म्यो । यसै साल चाहिँ उनले ‘वृन्दावनमा’, ‘किसान’, ‘बालककाल’, ‘झरना’, ‘रातमा’ तथा ‘घाँसी’ जस्तो उच्च कविता लेखेको पाइन्छ । १९९६ सालमा आएर उनले ‘सन्ध्या’ र ‘प्रश्नोत्तर’ (मार्ग) जस्ता चर्चित कविताका साथै राजकुमार प्रभाकर खण्डकाव्य लेखेका छन् । राजकुमार प्रभाकर मध्यमस्तरको भए पनि अत्यधिक कल्पनाशीलता र पे्रमाकर्षण भएको वर्णमात्रिक लयका दृष्टिले पहिलो काव्य हो । भावगत र प्रवृत्तिका दृष्टिले ‘सन्ध्या’ र ‘प्रश्नोत्तर’ प्रतिनिधि कविता हुन् ।
आर्थिक अभाव र कठिनाइलाई झेलिरहेका देवकोटाको यही वर्ष दाजुभाइसँग अंशबन्डा भई एकल पारिवारिक जीवन सुरु भएकाले अरू बोझ थपियो । जम्मा नौ सन्तानका पिता देवकोटा यस वेलासम्म पाँच सन्तानका पिता पनि भइसकेका थिए । एकातिर सन्तानहरू थपिँदै जानु र अर्कातिर आर्थिक समस्या बढ्दै जानु देवकोटाका निम्ति समस्याको विषय थियो । आर्थिक अभाव, पारिवारिक पीडा र समस्या अनि थामिनसक्नुको भावावेग र स्फुरणले गर्दा देवकोटा यस वेला पनि विचलित हुनपुगे । उनको स्वास्थ्यस्थितिमा कमजोरी देखिएकाले १९९७ सालमा उनी दुईतीन महिना मामाससुराली मिmल्टुङ (धादिङ) बस्न गए । यसैको प्रभावस्वरूप पछि कुञ्जिनी (२००२) खण्डकाव्य जन्म्यो । १९९७ मा चाहिँ उनले ‘वन’ र ‘भिखारी’ जस्ता मात्रा छन्दको गेयगुण भएका उच्चस्तरका कविताका साथै अरू थुप्रै कविताहरू लेखेको पाइन्छ । यसै वर्ष सहिद काण्ड पनि घटेकाले देवकोटा त्यसबाट प्रभावित भई ‘वन’ र ‘विचित्र रोदन’ जस्ता कवितामा मानवतावादको उद्घोषमार्पmत प्रच्छन्न रूपमा राणाशासनको विरोध पनि गर्दछन् । यसै वर्ष समालोचक रामकृष्ण शर्माले देवकोटा र उनका समकालीन कविहरूप्रति कडा प्रहार गरेर लेख लेखे तर देवकोटा आत्तिएनन् । फलस्वरूप १९९८ सालमा उनको ‘यात्री’, ‘सुन्दरीजल’, ‘गान’, ‘माली’ र ‘जयगान’ जस्ता कविता प्रकाशित भए । यीमध्ये ‘यात्री’ उल्लेखनीय र चर्चित कविता हो । यसै वर्ष प्रसिद्ध प्रबन्धसङ्ग्रह पनि आयो । यस चरणको अन्तिम वर्ष १९९९ सालमा देवकोटाका ‘वीरता’, ‘परमेश्वर’ र ‘सरस्वती बन्दना’ कविता प्रकाशित भए ।
यहाँसम्म आइपुग्दा नेपाली कवितापरम्परामा लेखनाथ लगायतका कविहरूले विकसित गरेको परिष्कारवादी काव्यधाराका सापेक्षतामा एउटा नवीन धाराका रूपमा स्वच्छन्दतावादी काव्यधाराको प्रवर्तन र विकास सशक्त रूपमा भइसकेको छ र यसका केन्द्र भागमा रहेर देवकोटाले महत्त्वपूर्ण योगदान पु¥याइसकेका छन् ।
२.३ तेस्रो चरण (२०००–२००३) स्वच्छन्दतावादी काव्यज्वार र महाकवित्व
देवकोटाको कवित्व विकासको तेस्रो चरण २००० सालदेखि २००३ सालसम्मको अवधि हो । यस अवधिमा देवकोटाको कविहृदयबाट भागिरथी गङ्गाको भेलप्रवाह झैँ कवित्वको स्फुरण भएको छ । यस अवधिमा उनी थुप्रै मध्यमरूपका साथै बृहत् रूपमको सिर्जनयात्रा गर्न सफल भएका छन् । २००० सालमा नेपाली भाषा प्रकाशिनी समितिमा जागिरे भएपछि लेखाइ नै देवकोटाको जागिर हुन थाल्यो र अझै सिर्जनात्मक उर्वरता बढ्यो । वनारस प्रवासपूर्वको यो अवधि स्वच्छन्दतावादी काव्यज्वार र महाकवित्वका दृष्टिले ज्यादै उल्लेखनीय रहेको छ । २००० सालमा देवकोटाले सुषमालोचन महाकाव्य लेख्न प्रारम्भ गरे पनि यो पूरा चाहिँ भएन । यसका केही अंशहरू शारदा (९ : ८) मा प्रकाशित भएका छन् । यसै वर्ष उनले सुनको बिहान (बालकविता सङ्ग्रह–१) र पुतली (बालकविता सङ्ग्रह–२) मा प्रकाशित ३४ वटा बालकविताहरूको सिर्जना गरेको पाइन्छ । सुषमालोचन पूरा नभए पनि उत्तर्वर्ती शाकुन्तल महाकाव्यको पूर्वाभ्यासका रूपमा देखापरेको छ । यसपछि यही चरणअन्तर्गत २००१ सालमा देवकोटाले थुप्रै गीतिकविताहरूका साथै लूनी खण्डकाव्य र भरत मिलाप पद्यनाटकको सिर्जना गरेका छन् । लूनी तामाङ सेलोको लयमा जनजातीय जीवन र संस्कृतिको प्रभावशाली चित्रण भएको खण्डकाव्य हो । २००२ सालमा देवकोटाले दुष्यन्त शकुन्तला भेट र कुञ्जिनी खण्डकव्यका साथै शाकुन्तल र सुलोचना महाकाव्यको सिर्जना गरेको पाइन्छ । यस वर्ष ‘एक डल्लो आलु’, ‘नवभाषोद्गार’ (विभिन्न नौ भाषामा रचित) लगायतका कविताहरू पनि देखापरेका छन् । शाकुन्तल देवकोटाको तीन महिनामा रचना गरिएको पहिलो पूर्ण र उच्च स्तरको महाकाव्य हो भने कुञ्जिनी एकै रातमा लेखिएको उच्च स्तरको खण्डकाव्य हो । सुलोचना चाहिँ शाकुन्तल तीन महिनामै लेखिएको भन्ने कुरामा पुष्कर समसेरले शङ्का गरेपछि कार्यालय समयभित्रै भाषानुवाद परिषद्मा बसेर दसै दिनमा लेखिएको महाकाव्य हो । द्रुततर लेखनले गर्दा शाकुन्तलमा पाइने उचाइ यसमा नरहे पनि देवकोटाको आशुकवित्व र पुष्कर समसेरसँगको प्रतिस्पर्धामा देवकोटा विजयी भएको प्रमाण यसले प्रस्तुत गर्दछ । शाकुन्तल चाहिँ देवकोटाको र समग्र नेपाली साहित्यकै सर्वोच्च महाकाव्य हो । यो आयामका दृष्टिले २४ सर्ग र लगभग २४ सय श्लोकमा लेखिएको बृहत् महाकाव्य हो । छन्दका दृष्टिले यसमा ३१ थरीका विभिन्न वर्णमात्रिक छन्द र २ श्लोकमा मात्राछन्दको प्रयोग रहेको छ । असाधारण भावोच्छल छन्दोमय भएर प्रवाहित भएको यस महाकाव्यमा छान्दिक सहजता र माधुर्य पनि फेला पर्दछ । प्रवृत्तिका दृष्टिले प्रकृतितर्पm र अतीततर्पmको जीवनदृष्टि रहनुका साथै पूर्वीय प्राचीन तपोवन सभ्यता, प्रेमको अमरगाथा र प्रकृतिप्रतिको अभिमुखता रहेको छ । २००२ लाई देवकोटाको चरमोत्कर्ष काव्यज्वारको वर्षका रूपमा लिन सकिन्छ ।
२००३ सालमा देवकोटाले रावण–जटायुद्ध, म्हेन्दु तथा सीताहरण खण्डकाव्य र महाराणा प्रताप, पृथ्वीराज चौहान तथा वनकुसुम महाकाव्यका साथै ‘बाघले बच्चा किन खान्छ ?’ (गद्यकविता), ‘साँढ’े (गद्यकविता), ‘स्वागतगान’ (गीत), ‘समस्यापूर्ति’, ‘भक्तप्रह्लाद’ (अपूर्ण महाकाव्य) लेखेको पाइन्छ । स्तरका दृष्टिले ‘बाघले बच्चा किन खान्छ ?’ ‘साँढे, कविता र महाराणा प्रताप महाकाव्य विशेष उल्लेखनीय छन् । उक्त दुई कवितामा राणाकालीन अन्याय र अत्याचारको भण्डाफोर गरिनुका साथै क्रान्ति र व्यङ्ग्यचेतलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । ‘साँढे, मा त ‘नलडी कोही हुन्न विजेता’ भनेर क्रान्तिको प्रत्यक्ष रूपमा आह्वान् गरिएको छ । महाराणा प्रतापले पनि भारतको मुगलकालीन इतिहासलाई प्रस्तुत गर्दै त्यसका माध्यमबाट भारतीय स्वतन्त्रता सङ्ग्राम र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई उत्प्रेरित गर्ने काम गरेको छ । सीताहरण मात्रा छन्दका दृष्टिले पहिलो काव्य हो भने वनकुसुम लोकदन्त्यकथाका शैलीमा वर्णमात्रिक छन्दमा रचिएको महाकाव्य हो । यसमा दरबारिया सामन्ती सभ्यताको विरोध गर्दै ग्रामीण प्राकृत सभ्यताप्रतिको उन्मुखतालाई प्रस्तुत गरिएको छ । यसमा रुसोप्रेरित प्रकृतिकेन्द्री रोमान्टिक मानवतावादी जीवनदृष्टि प्रकट भएको छ ।
यस प्रकार लक्ष्मीप्रसाद देवकोटाको कवित्वविकासका दृष्टिले तेस्रो चरण अत्यन्त उर्वर, समुन्नत र भागिरथी गङ्गाको भेलप्रवाह झैँ प्रवाहित भएको अवधिका रूपमा रहेको छ ।
२.४ चौथो चरण (२००४–२००९) स्वच्छन्दतावादका साथै प्रगतिशीलताको समेत वरण
चौथो चरणबाट देवकोटाको समग्र कवितायात्राको उत्तराद्र्ध पनि सुरु हुन्छ । यसपछिका रचनामा सशक्त व्यङ्ग्य–विद्रोहका साथै प्रगतिशील स्वरको अभिव्यञ्जना रहेकाले समीक्षकहरूले २००४ सालपछिको देवकोटाको प्रवृत्तिलाई स्वच्छन्दतावादी–प्रगतिवादी नामकरण गरेका हुन् । २००४ सालपछिका देवकोटाका रचनामा वैचारिक दृष्टिले गुणात्मक फड्को भेटिन्छ । २००४ सालमा देवकोटाले त्रिचन्द्र कलेजमा आयोजित साहित्यिक सम्मेलनमा सभापतिको आसनबाट दिएको राणाविरोधी धाराप्रवाह भाषणका कारण उनले भूमिगत हुनुपर्ने अवस्था आएपछि देवकोटा बनारस पुगे । राष्ट्रिय काङ्ग्रेसमा सम्मिलित भई प्रजातन्त्र स्थापनाको अभियानमा लागे । यसपछिका दिनमा देवकोटाले अनेकौं कष्टहरू सहनुप¥यो । काङ्ग्रेसमा लागेको भनी सरकारद्वारा घर तायदात हुनुका साथै प्राध्यापक जागिर पनि खोसियो । यसै वर्ष १५ वर्से माहिला छोरा कृष्णप्रसादको उपचार गर्न नसकी मृत्यु भयो भने आफन्तहरूले समेत राजनीतिक कारण देखाई असयोग गरे । यसवेला उनका जहानपरिवारले भोकभोकै मर्नुपर्ने अवस्था आइलाग्यो । यसबाट देवकोटामा रहेको क्रान्तिकारी, विद्रोही चेतना अभैm मुखरित भयो र त्यो समाजवादोन्मुख हुनपुग्यो । वनारसमा रहँदा उनले राष्ट्रिय काङ्ग्रेसको मुखपत्र युगवाणीको सम्पादन गर्दैे आफ्नो साहित्यिक अभियानलाई निरन्तरता दिए । २००४ सालमा देवकोटाका ‘झञ्झावर्णन’, ‘प्रभुजी भेडो बनाऊ’, ‘भाँचु कि मेरो कलम’ जस्ता अनेकौं व्यङ्ग्यधर्मी गद्यपद्य कविता प्रकाशित भएका छन् । यसवेला उनले आनाआनामा कविता बेच्दै जीविका चलाउनुपरेकाले वनारस प्रवासकाल (२००४–००६) ज्यादै कष्टकर बनेको छ । यस क्रममा २००५ सालमा उनले भावना गाङ्गेय, आकाश बोल्छ र छाँगासँग कुरा सङ्ग्रहमा समेटिएका धेरै कविता लेखेका छन् । यसै साल उनको पहाडीपुकार जस्तो प्रगतिशील विचारधारामा आधारित लामो कविता प्रकाशित भयो । मैना सङ्ग्रहमा सङ्कलित सृजामाता, झञ्झावर्णन, मैनालगायतका ८ वटा खण्डकाव्यहरूका साथै वसन्ती, मायाविनी सर्सी, कटक र नवरस खण्डकाव्यहरू पनि यसै वर्ष लेखिएका हुन् । यी काव्यहरूमध्ये कुनै पूर्वीय र कुनै पाश्चात्य पुराकथामा आधारित रहेका छन् । २००६ सालमा भने देवकोटाले ‘चरी’ र ‘नीला पहाड’ जस्ता केही कविताहरू लेखेको पाइन्छ । वनारस प्रवासकालमा लेखिएका उपर्युक्त कविताकाव्यमा एकातिर स्वच्छन्दतावादी काव्यगुणहरू रहेका छन् भने अर्कोतिर मानवीय हक–अधिकारप्रतिको सचेतता, अन्याय–अत्याचार र शोषण–उत्पीडनको विरोध र परिवर्तनप्रतिको चाहना जस्ता प्रगतिशील गुणहरू पनि रहेका छन् । २००६ सालको दसैँताका देवकोटा सपरिवार काठमाडौँ फर्केपछि लेखनका साथै ट्युसनवृत्तिमा लाग्छन् र २००७ सालको परिवर्तनपछि राजनीतिमा पनि सक्रिय हुन थाल्छन् । २००७ सालमा उनले ‘वृक्ष’, ‘सरस्वती पूजा’, ‘मेरो कोठा’ र ‘युद्ध स्वागत’ जस्ता कविता प्रकाशन गर्नुका साथै प्रमिथस महाकाव्यको लेखन प्रारम्भ गरे । २००८ सालमा उनका ‘दालभात डुकु’ ‘पुकार’, ‘हिमाञ्चल’, ‘मीनपचास’ र ‘परिवर्तन’ कविताहरू प्रकाशित भए । यी कवितामा क्रान्तिचेत र व्यङ्ग्यचेतका साथै समसामयिक युगबोध तथा परिवर्तनको चाहना तीव्र रूपमा प्रकट भएको छ । २००९ सालमा देवकोटा सल्लाहकार सभामा नियुक्त भए भने यसै साल उनले लेखनाथ र समसहित दार्जिलिङ, कालिङपोङको भ्रमण गरे । २००९ सालमै जेठा छोरा प्रकाशको उपचारका अभावमा मृत्यु भयो । यी सबै घटनाको प्रभाव यस सालका कवितामा परेको छ । यही प्रभावस्वरूप देवकोटाका ‘बाघपर्वतको एक प्रभात’ र ‘एक वियोगी पिताप्रति’ कविता देखापरेका हुन् । ००७ सालबाट लेखन सुरु गरिएको मानवतावादी प्रगतिशील महाकाव्य प्रमिथसको लेखन पनि यही साल पूरा भएको छ । यी सबै कारणले गर्दा देवकोटाको कवित्व विकासको चौथो चरण महत्त्वपूर्ण बन्न गएको हो । यही चरणमा अधिकांश खण्डकाव्य र प्रमिथस जस्तो उत्कृष्ट महाकाव्य लेखिएको छ । यस चरणमा देवकोटाले धेरै व्यङ्ग्यात्मक गद्य कविता लेख्नुका साथै ११ खण्डकाव्य र एउटा महाकाव्यको सिर्जना गरेकाले आशुकवित्व र द्रुतलेखनका दृष्टिले निरन्तरता रहनुका साथै वैचारिक दृष्टिले पनि महत्त्वपूर्ण बन्न गएको छ ।
२.५.पाँचौँ चरण (२०१०–२०१६) स्वच्छन्दतावादका साथै प्रगतिशील कवित्वको उत्कर्षता र परिष्कार
देवकोटाको कवित्व विकासको पाँचौँ वा अन्तिम चरण २०१० सालदेखि जीवनपर्यन्त अथवा २०१६ सालसम्म हो । यो चरण देशविदेशको भ्रमण, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्पर्क, राजनीतिक क्रियाशीलता एवं प्रगतिशील वैचारिकताको सशक्त अभिव्यञ्जना र कविता–काव्यको परिष्कृतिका दृष्टिले महत्त्वपूर्ण रहेको छ । देवकोटाको यस चरणलाई माक्र्सवादी सौन्दर्य चिन्तकहरू (प्रश्रित, २०३५, पृ. ६४ र चैतन्य, २०६४, प.ृ ११८) ले समेत क्रमशः समाजवादोन्मुख र वैज्ञानिक समाजवाद प्रभावित अवधि मानेका छन् । २०१० सालमा प्रगतिशील मानवतावादी महाकाव्य प्रमिथसको आंशिक प्रकाशन र उत्कृष्ट एवं चर्चित व्यङ्ग्य–विद्रोही कविता ‘पागल’ लगायतका रचना प्रकाशित भएपछि यस चरणको सुरुवात भएको हो । यसै वर्ष देवकोटा हंगेरी, रुमानिया, रुस, चीन लगायतका देशको भ्रमणमा गए र कम्युनिस्ट विचारधाराबाट प्रभावित भई फर्के । यसपछि प्रकाशित उनका रचनामा क्रान्ति, विद्रोह र मुक्तिका साथै समाजवादको पक्षपोषण गरिएको पाइन्छ । कवितामा मात्र होइन, यस अवधिमा प्रकाशित देवकोटाका निबन्ध, लेख, र गीतिनाटकले समेत यस विचारधारालाई पक्षपोषण गरेका छन् । अन्तर्राष्ट्रिय विषयवस्तुलाई अँगालेर लेखिएको नेपाली साहित्यकै प्रथम गद्यमहाकाव्य प्रमिथसमा अभिव्यञ्जित क्रान्ति र मुक्तिको उदात्त आदर्श र २०१० सालमा प्रकाशित ‘माओत्सेतुङ’, ‘पागल’, ‘दमाईँ दाइ’, ‘जाग’, ‘किसान’ लगायतका कविताले देवकोटाको समाजवादी यथार्थप्रतिको झुकावलाई प्रस्ट पार्दछन् ।
२०११ सालमा देवकोटा सल्लाहकार सभा पुनर्गठित हुँदा पुनर्नियुक्ति भई विरोधी दलको नेतामा चुनिए भने यसै साल नेपाली पाठ्यपुस्तक निर्धारण समितिको निम्तामा दार्जिलिङ गए अनि यसै साल नेपाली लेखक सङ्घको पुनर्गठन हुँदा शीर्षस्थ समितिमा छानिए र यसै साल एसियाली जनसम्मेलनमा भाग लिन दिल्ली गए र फर्र्कंदा आगराको ताजमहलको भ्रमण गरे । यसकारणले यो वर्ष विदेश भ्रमण र राजनीतिक व्यस्तताले गर्दा देवकोटाको ‘सरस्वती वन्दना’, ‘वसन्त’ र ‘उजाड देश’ तीनवटा कविता मात्र प्रकाशित भए । २०१२ सालमा भने ‘कामीदाइलाई’ ‘पूर्णाचाकी स्वास्नी मरी’, ‘ढुङ्गा, फोर्दीलाई’ र कृषिबाला गीतिनाटक लगायतका थुप्रै रचनाहरू प्रकाशित भएका छन् । यी रचनाहरूमा अन्याय–अत्याचार र शोषणका विरुद्ध विद्रोह रहनुका साथै निम्नवर्गीय जीवनप्रतिको सहानुभूति भेटिन्छ । प्रवृत्तिका दृष्टिले यी कविता प्रगतिवादका नजिक छन् । कृषिबाला, गीतिनाटकलाई त नेपाली किसान क्रान्तिको एक उत्कृष्ट साहित्यिक अभिव्यञ्जना नै मानिएको पाइन्छ (चैतन्य, २०६४, पृ. १२३) । यसै साल तीन–चार महिनाजति देवकोटाले कमर्स कलेजमा प्राध्यापन पनि गरे र त्रिभुवन विश्वविद्यालय कमिसनको सदस्यमा नियुक्त पनि भए । २०१३ सालदेखि २०१५ सालसम्मको अवधि देवकोटाको जीवनमा सर्वाधिक महत्त्वपूर्ण अवधिका रूपमा रहेको छ । नेपाल काव्य प्रतिष्ठानको अध्यक्षता (नेपाल एकेडेमीको पूर्व रूप) इन्द्रेणी पत्रिकाको प्रकाशन, दिल्लीमा भएको एसियाली लेखक सम्मेलनको नेतृत्व, २०१४ मा स्थापना भएको नेपाल एकेडेमीको सदस्य, चारमहिने केआई सिंह मन्त्रीमण्डलमा शिक्षा तथा स्वायत्त शासनमन्त्री र २०१५ सालमा अफ्रो–एसियाली लेखक सम्मेलनमा भाग लिन रुसको तासकन्द भ्रमण जस्ता घटनाले देवकोटाको व्यक्तित्वलाई चरमोत्कर्षता प्रदान गरेका छन् । अफ्रो–एसियाली लेखक सम्मेलनमा देवकोटाले नेपाली साहित्यका बारेमा प्रवचन गर्दैै जुन विचारलाई प्रस्तुत गरे त्यसले उनको सौन्दर्यशास्त्रीय विचारलाई नयाँ उचाइ प्रदान गर्नुका साथै उनी प्रस्ट रूपमै समाजवादका समर्थक रहेको प्रस्ट पारेको छ । सृजनाका दृष्टिले २०१३ सालमा देवकोटाले विभिन्न कविता सङ्ग्रहमा सङ्कलित १४७ वटा कविताहरूको रचना गरेको पाइन्छ । यीमध्ये ‘हुरीको गीत’, ‘शाहजहाँको इच्छा’, ‘ज्वरशमना प्रकृति’, ‘इन्द्रेनी’, ‘झञ्झाप्रति’, ‘गौँथली र देवकोटा’, ‘दार्जिलिङको बाघचुलीमा’, ‘एक सुन्दरी वेश्याप्रति’ लगायत डेढ दर्जन जति कविता उत्कृष्ट र चर्चित रहेका छन् । यो वर्ष देवकोटाको कवितायात्राका दृष्टिले सर्वाधिक फुटकर कविता सृजना भएको वर्ष हो र गुणस्तरका दृष्टिले पनि महत्त्वपूर्ण रहेको छ । यसलाई इन्द्रेणीकाल पनि भनिन्छ । २०१४ सालका भने देवकोटाका कुनै पनि रचनाहरू फेला परेका छैनन् । २०१५ सालमा उनले कृषिबाला गीतिनाटकको परिष्कार र मुनामदनको परिवद्र्धित संस्करण तयार पार्नुका साथै मनोरञ्जन कविता सङ्ग्रहभित्रका हास्यव्यङ्ग्य कविता र लक्ष्मी कविता सङ्ग्रहअन्तर्गत तरङ्गका गरी थुप्रै कविताहरूको रचना गरेका छन् । यसै साल नयाँ सत्यकली संवाद खण्डकाव्य पनि लेखिएको पाइन्छ । यसपछि स्वास्थ्यस्थिति खराब हुँदै गएपछि २०१६ सालमा शान्तभवन अस्पतालमा लेखिएको ‘प्रलय वेदना’ (भदौ ९), मोती जयन्तीमा सुनाउन तयार पारिएको ‘सङ्कल्प हाम्रो फलोस्’ (भदौ १६) र ‘संसाररूपी सुख स्वर्गभित्र’ (शून्यमा शून्यसरी ) (भदौ १९) अन्तिम कविता हुन् । अन्तिमका पनि अन्तिमको कवितालाई छोडेर ०१० सालदेखि २०१५ सालसम्मका रचनाले देवकोटाको पाँचौँ वा अन्तिम चरणलाई उत्कर्षता नै प्रदान गरेका छन् र खास गरी यस चरणमा प्रगतिशील–प्रगतिवादी काव्यसौन्दर्यतर्पmको उत्तरोत्तर आरोहणले देवकोटालाई समाजवादी–यथार्थवादका नजिक पु¥याएको वस्तुगत यथार्थ हो । २०१६ साल भदौ २९ गते देवकोटाको जीवनयात्रा समाप्त भएपछि उनको कवितायात्राले पनि विश्रान्ति लियो ।
यसरी १९७६ सालबाट थालिएको आफ्नो ४० बर्से कवितायात्रा खासगरी २५ बर्से सार्वजनिक यात्रामा देवकोटाले ६५० भन्दा बढी फुटकर कविता, ३७ वटा खण्डकाव्य र ६ वटाभन्दा बढी (अप्रकाशित पनि छन्) महाकाव्यहरू दिएर नेपाली साहित्यको भण्डार भरिदिएका छन् । आधा शताब्दी मात्र बाँचेर पनि एउटा सिङ्गै युगको प्रतिनिधित्व गर्दै स्वच्छन्दतावादी काव्यधारामा प्रगतिशीलतालाई समेत संश्लिष्ट गर्दै जुन उचाइ प्रदान गरेका छन् त्यो अद्वितीय योगदानका रूपमा रहेको छ।
३. देवकोटाको प्रमुख कवितात्मक प्रवृत्ति र योगदान
लक्ष्मीप्रसाद देवकाटाले उपर्युक्त चालिस बर्से कवितायात्रा, खासगरी पच्चिस बर्से सार्वजनिक यात्रा र साधनाका क्रममा अनेकौँ पूर्वीय र पाश्चात्य विषय र प्रवृत्तिलाई आत्मसात् गर्दै मूलतः स्वच्छन्दतावादी काव्यधारालाई नेपाली साहित्यमा प्रवर्तन, प्रवद्र्धन र चरमोत्कर्षता प्रदान गर्ने काम गरेका छन् । यस धाराको केन्द्रीय प्रतिभाका रूपमा रहेर देवकोटाले पच्चिस बर्से (१९९१–२०१६) सार्वजनिक कवितायात्राका क्रममा कविताको लघु रूपदेखि बृहत् रूपसम्मका उपविधामा आफ्नो जुन किसिमको प्रतिभाज्वार र उर्वरतालाई प्रस्तुत गरेका छन् त्यसमा स्वच्छन्दतावादी कवित्वको आधारभूत निरन्तरता रहनुका साथै थप प्रवृत्तिगत परिवर्तनको अन्तर्विकास समेत देखा पर्दछ । अङ्ग्रेजी साहित्यको रोमान्टिक धाराबाट प्रत्यक्ष प्रभावित एवं संस्कृत साहित्य र नेपाली लोकधारा तथा हिन्दी–बंगलाका रोमान्टिक जागरण र छायाँवादी–रहस्यवादी धारासँग प्रशस्त परिचित देवकोटाको कवितायात्राको पूर्वाद्र्ध (१९७६–२००३) स्वच्छन्दतावादी–मानवतावादी रहेको छ भने उत्तराद्र्ध (२००४–२०१६) मा प्रगतिवादी चेतलाई समेत वरण गर्दै अगाडि बढेको र वैज्ञानिक समाजवादको नजिक पुगेकाले प्रगतिवादको नजिक पुगेको छ । यी दुई आधारभूत मुख्य प्रवृत्तिभित्र अनेकौँ महत्त्वपूर्ण प्रवृत्तिहरू उनका कवितामा कथ्य, अर्थ वा अन्तर्वस्तुका पक्षसित सम्बन्धित भएर आएका छन् । यस क्रममा प्रकृति, जगत् र जीवनका विविध अनुभव सन्दर्भ, पूर्वीय सभ्यता–संस्कृति, नेपालको राष्ट्रराग र नेपालीपनको सञ्चेतना, सामाजिक जडताविरुद्धको क्रान्ति र सुधारको चेत, आर्थिक–सामाजिक न्याय र राजनीतिक सन्दर्भसँग सम्बद्ध प्रजातान्त्रिक चेत, अन्तर्राष्ट्रिय सचेतता र समानताका साथै भातृत्वका आदर्शमा आधारित मानवतावाद एवं पूर्वी–पश्चिमी तथा पुरातन–नवीन अनेक दार्शनिक सन्दर्भ आदिको विराट सेरोफेरोमा देवकोटाका विपुल भावजगत् निर्मित भएको छ (त्रिपाठी र अन्य, २०५३, पृ. १०९) । यही विपुल भावजगत्का कारण उनका कवित्वविकासका अन्तर्यात्राका क्रममा पूर्वाद्र्धका तीन चरण र उत्तराद्र्धका दुई चरणभित्र पनि अन्तर्वस्तु र रूपका विविध पक्ष र पाटाहरू विकसित छन् । देवकोटाको उच्च प्रतिभा कल्पनाशक्तिले ग्रहण गरेको असीम विषयवस्तु, रचनाधर्मिता, विश्वबोध, युगबोध र सामाजिक–राजनीतिक अन्धर्विरोधका चापबाट प्रस्फुटित उनको प्रतिभाज्वारबाट निर्मित कवित्वलाई केलाउँदा उनका मुख्य कवितात्मक प्रवृत्तिहरू निम्निलिखित देखापर्दछन् ।
स्वच्छन्दतावादी देवकोटाको कवितात्मक प्रवृत्तिमध्येको एक मूलभूत प्रवृत्ति आत्मपरक वा वैयक्तिक अभिव्यजना हो । कवि देवकोटा वस्तुतामा भन्दा हार्दिकतामा बढी रमाउँछन् । उनका कविता–काव्यमा वस्तुको वस्तुताभन्दा वस्तुबाट वैयक्तिक हृदयमा पर्ने प्रभावको अभिव्यक्ति बढी पाइन्छ । चेतनाको नियन्त्रणभन्दा अवचेतनको भावप्रवाहलाई स्विकार्ने हुँदा उनका रचनामा भावको विविधता र विचित्रताका साथै विलक्षणताको रसोदे्रक भएकाले रमरम बौद्धिकता मात्र पाइन्छ यही नै स्वच्छन्दतावादी काव्यधर्म पनि हो । देवकोटाका पूर्वाद्र्धका रचना ‘पूर्णिमाको जलधि’ (र अझै त्यसभन्दा पनि अघि) बाट मुनामदन हुँदै शाकुन्तलसम्म आइपुग्दा आत्मपरक अभिव्यक्ति ज्यादा देखापर्दछ भने कवितायात्राको चौथो र पाँचौँ चरणमा चाहिँ उनीभित्र बढ्दै गएको सामाजिक चैतन्य र यथार्थप्रतिको रुचिले गर्दा वस्तुतातिर पनि आकर्षित भएका पाइन्छन् तापनि आत्मपरक वा वैयक्तिक अभिव्यञ्जना नै कवि देवकोटाको रचनात्मक प्रवृत्ति हो ।
देवकोटा मूलतः भावप्रधान कवि हुन् । उनका विचारमा भावनाको हार्दिक कोमलता नै कविता भएकाले विवेकको नियन्त्रण र भावनासँग बौद्धिकतालाई गाँस्नेतर्पm उनी त्यति चासो दिँदैनन् । सहज स्वच्छन्द अभिव्यक्ति र सौन्दर्यतर्फ नै उनको रुचि छ । उनले ‘कवि बोलोस्, जसरी चराहरू बोल्छन् नकि वस्तादहरू कसरत गर्दछन् ……’ भनेर सहज प्राकृत कलातर्पm जोड दिएका छन् । अत्यन्त भावुक एवं तीव्र संवेदनशीलता र उच्चतर कल्पनाशीलता भएका कारण देवकोटाका कविता–काव्यमा भावनाको अत्यधिक वेगप्रवाह रहेको छ र त्यो आशुलेखन वा द्रुतलेखनका रूपमा अर्को कवितात्मक प्रवृत्ति बनेको छ । तीनमहने शाकुन्तल, दशदिने सुलोचना र एकराते कुञ्जिनी यसका प्रमाण हुन् । तीव्र प्रतिभाज्वार, स्वस्फूर्त सृजनशीलता, असंयमित र अपरिमार्जित कवित्वको निर्झर प्रवाह स्वच्छन्दतावादी भावुक कवि देवकोटाका परिचायक प्रवृत्ति हुन् ।
स्वच्छन्दतावादी आदर्शबाट प्रभावित देवकोटाको वैचारिक धरातल भने मूलतः मानवतावादी जीवनदृष्टिमा आधारित छ । चिन्तन वा विचारको कुनै परिधिभित्र नबाँधिने र विवेकको नियन्त्रण नस्विकार्ने भावप्रबल कवि देवकोटा कुनै पनि एउटा चिन्तन वा दर्शनमा आधारित छैनन् । उनी कतै अध्यात्मवादी, कतै शून्यवादी, कतै भौतिकवादी, कतै वेदान्ती, कतै नास्तिक र कतै आस्तिक भएर देखापरेका छन् तापनि मानवतावादी चिन्तन उनका कवितायात्राका सबै चरणमा प्रबल रूपमा देखापर्दछ । देवकोटाको मानवतावादी चिन्तन महान् दार्शनिक रुसोद्वारा प्रतिपादित स्वतन्त्रता, समानता र भ्रातृत्वमा आधारित रहेको छ । उनका पूर्वाद्र्धका ‘यात्री’, ‘भिखारी’ र मुनामदन जस्ता रचनामा र उत्तराद्र्धका प्रमिथस एवं इन्द्रेणी कालीन रचनामा मानवतावादको प्रशस्त वकालत गरिएको छ । उनको मानवतावादको स्रोत पूर्वाद्र्धमा प्रकृति र ईश्वरीय चैतन्यमा आधारित छ भने उत्तराद्र्धमा सामाजिक–राजनीतिक सचेतता र आर्थिक न्यायप्रतिको संवेदनशीलतामा आधारित छ । देवकोटाका विचारमा प्रकृति र मान्छेमा ईश्वर व्याप्त छ । उनले यी तीनबिचको सम्बन्धलाई देखाउँदै आधुनिक कृत्रिम सभ्यताको विरोध र परम्परित रीति–रिवाज र संस्कृतिप्रति आस्था प्रकट गरेका छन् । प्राचीन ऋषिमुनिका आदर्शमय सभ्यतालाई स्विकार्ने देवकोटाका निम्ति भौतिक जीवन आडम्बर मात्र हो । उनका विचारमा विशुद्ध ग्रामीण सभ्यता वा प्राकृत जीवनमा नै मानवता बाँच्दछ । उनले आफ्ना थुप्रै फुटकर कविता र खण्डकाव्यमा समेत यही विचारलाई प्रस्तुत गरेका छन् । यसरी देवकोटाले पूर्वाद्र्धका रचनामा प्रकृति, ईश्वर र मानवको त्रिपक्षीय सम्बन्धमा आधारित मानवतावादी चिन्तनलाई जीवनदृष्टिको मूल आधार बनाएका छन् ।
देवकोटाको जीवनदृष्टिको अर्को पाटो प्रगतिशील–प्रगतिवादी मानवतावाद हो । २००४ सालपछि वा कवितायात्राको उत्तराद्र्धमा आएर उनले क्रमशः आफ्नो चिन्तनमा परिवर्तन गर्दै लगेका छन् । सुरुदेखि नै सामाजिक–राजनीतिक परिवर्तनका पक्षमा रहेका स्वाभिमानी देवकोटा आफ्नो जीवन र समाजमा घटेका घटना र सङ्घर्षपूर्ण जीवनस्थितिका कारण पछिल्ला चरणमा क्रान्त्रिकारी–विद्रोही बन्दै गएका छन् र पाँचौँ चरणमा उक्लँदा समाजवादी–यथार्थवादको नजिक पुगेका छन् । उनका जीवनमा आएका सङ्कट, पारिवारिक अन्तव्यस्तता एवं लाइब्रेरी पर्व, सहिद काण्ड, राणाविरोधी आन्दोलन, २००७ सालको राजनीतिक परिवर्तन र एसियामा आइरहेको जागरणको लहर अनि उनले गरेको देश–विदेशको भ्रमण र समाजवादी मुलुकसँगको सम्पर्कका कारण उत्तराद्र्धको उनको कवित्व प्रगतिशील–मानवतावादी जीवनदृष्टिबाट अनुप्राणित हुनपुगेको छ । इन्द्रेणीकालीन कतिपय कवितामा प्राचीन संस्कृतिप्रतिको अनुराग देखिए पनि यस चरणको मूल स्वर भनेको सामाजिक–राजीतिक परिवर्तनसहितको प्रगतिशील मानवतावाद नै हो । यस चरणका कविताकाव्यमा सामाजिक सचेतता र राजनीतिक जागरुकताका साथै अन्याय–अत्याचार र शोषणविरुद्धको मानवीय हक र आर्थिक न्यायका पक्षमा वकालत गरिएको पाइन्छ । उत्तराद्र्धको उनको यो दृष्टिचैतन्य मूलतः व्यङ्ग्यलाई उपकरणका रूपमा लिँदै क्रान्ति र विद्रोहको आह्वान्का साथ नवनिर्माणका निम्ति अगाडि बढेको छ तापनि यसले परम्पराको पूर्ण ध्वंश होइन, रचनात्मक सीमासम्म मात्र क्रान्ति र विद्रोहलाई स्वीकार गरेको छ । त्यसैले देवकोटाको जीवनदृष्टि र स्वर व्यापक मानवतावादका तात्पर्यमा प्रगतिवादी रहेको छ ।
देवकोटाका कविता–काव्यमा पाइने अर्को महत्त्वपूर्ण प्रवृत्ति देशभक्ति र राष्ट्रियता हो । उनका सबै चरणका रचनामा कहीँ न कहीँ यसले प्रश्रय पाएकै छ । त्यसमा पनि काव्ययात्राका पछिल्ला चरणहरूमा क्रमशः यो घनीभूत हुँदै प्रबल राष्ट्ररागका रूपमा विकसित भएको छ । देवकोटाले आफ्ना कविता–काव्यमा अँगालेको विषयवस्तु कल्पनाप्रसूत, लोकप्रसिद्ध, इतिहासप्रसिद्ध, शास्त्रप्रसिद्ध र पुराणप्रसिद्ध अनि पूर्वीय–पाश्चात्य जे भए पनि त्यसको नेपालीकरण र मौलिकीकरण एवं प्रकृतिचेत र सांस्कृतिक चेतभित्र देशभक्तिको भावनाले स्पर्श पाएको हुन्छ । उनले पछिल्ला चरणमा साम्राज्यवाद, उपनिवेशवाद विरोधी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिएर र सामाजिक–राजनीतिक एवं शैक्षिक क्षेत्रका पुराना रूपरेखा र सम्बन्धहरूलाई परिवर्तन गरेर नेपाली समाज र राष्ट्रलाई स्वाभिमानी, समृद्ध र आत्मनिर्भर बनाउने जुन प्रयास गरेका छन् यसमा पनि उनको प्रबुद्ध नागरिक राष्ट्रवादी चेतनाले उत्प्रेरित गरेको प्रस्टै छ । उनले आफ्ना कविता–काव्यमा जुन किसिमको राष्ट्रिय स्वतन्त्रता र एकताको भावनालाई प्रस्तुत गरेका छन् त्यो देशभक्ति र राष्ट्रियताका दृष्टिले कम महत्त्वको छैन । नेपाली जातित्वबोध, राजनीतिक स्वतन्त्रताबोध, सांस्कृतिक–प्राकृतिक एवं आत्मिक स्वत्वबोध पनि यसैका उदाहरण हुन् ।
लक्ष्मीप्रसाद दवकोटाको अर्को मूलभूत प्रवृत्ति आत्मपरक प्रकृति चित्रण हो । प्रकृति चित्रणका दृष्टिले देवकोटा नेपाली साहित्यमै महान् कविका रूपमा देखिन्छन् । अन्य नेपाली कविका तुलनामा देवकोटाको प्रकृति ग्रहण र चित्रण विशिष्ट र विराट किसिमको छ । उनी प्रकृतिको शान्त, सौम्य र सुन्दर मनोरम रूपलाई मात्र होइन, भाषिक, भीषण, भयावह र रौद्ररूपलाई समेत प्रयोग गर्छन् । वस्तुपरक प्रकृति चित्रण नगरी प्रकृतिद्वारा उद्दीप्त भावलाई आत्मपरक ढङ्गले प्रकट गरेर पनि कविता–काव्यको पूर्ण संरचना प्रस्तुत गर्नु देवकोटाको विशेषता हो । उनका ‘घाँसी’, ‘हुरीको गीत’, ‘ज्वरसमना प्रकृति’, ‘झञ्जावर्णन’ जस्ता उत्कृष्ट कविताकाव्यमा प्रकृतिको इन्द्रिय संवेद्यतालाई प्रकट गरिएको छ भने ‘चारु’, ‘बादल’, ‘सन्ध्या’, ‘वन’ लगायतका कैयौँ फुटकर कविता र कुञ्जिनीलगायतका प्रबन्धकाव्यमा प्रकृतिको मानवीकरण र मानवको प्रकृतिकरण गरिएको छ । प्रकृतिलाई ज्ञानको पाठशाला वा मान्छेको गुरु, मानवीय संस्कारको स्रोत र आदर्शको मूल मान्ने देवकोटा प्रकृतिबाटै जीवन पूर्ण हुन्छ भन्ने ठान्छन् र आफ्ना सुख–दुःखका अनुभूतिलाई प्रस्तुत गर्न प्रकृतिलाई उत्प्रेरक तत्त्वका रूपमा लिन्छन् । प्रकृतिबाट विभन्न विम्बहरू टिप्दै प्रकृति र प्राकृतिक परिवेशबाट उद्वेलित भएर काव्यकलाको सिर्जना गर्नु देवकोटाको प्रकृतिप्रयोगको मूलमर्म हो । यसरी मन्मय प्रकृति चित्रणका दृष्टिले देवकोटा पहिलो र विशिष्ट कवि बनेका छन् ।
लयविधान पनि देवकोटाले कवितात्मक प्रवृत्तिको एउटा महत्त्वपूर्ण पक्ष हो । प्रथमतः वर्णमात्रिक, मात्रिक र वार्णिक लय हुँदै गद्यकवितासम्म आपूmलाई विस्तारित गर्ने देवकोटाको लयविधान पनि कुनै निर्माणकलासँग सम्बन्धित नभएर झर्नाको सहज, प्राकृत सङ्गीतजस्तो भएर प्रवाहित छ । उनले चारैथरी लयमा फुटकर कवितादेखि मध्यम रूपसम्मका कविताकृतिहरूको सिर्जना गरेका छन् । महाकाव्य पनि मात्रा लयमा बाहेक अरू तीन लयमा सिर्जित छन् । कुनै पनि छन्दले उनको भावप्रवाहमा अवरोध उत्पन्न गरेको छैन बरु भावको बिजुलीवेगी प्रवाहसँगै छन्द पनि अन्तर्घुलित भएर प्रवाहित भएको छ । यसले गर्दा उनको कवित्व ध्वनिमय, नादमय र सङ्गीतमय बन्नपुगेको छ । छन्दसिद्धिका दृष्टिले सबै छन्दमा उनको सामथ्र्य झल्कन्छ तापनि वार्णिक र मात्रिक छन्दमा उनको गीतिचेत बढी तीव्रतर बनेको छ । स्वच्छन्दतावादी कविताको एउटा विशेषता गीतिमय चेतना पनि हो । यस दृष्टिले देवकोटाले वर्णमात्रिक, मात्रिक र गद्यलयलाई समेत गीतिमय बनाएको पाइन्छ । वर्णमात्रिक लयप्रयोगका दृष्टिले देवकोटा शक्तिशाली ठहरिए पनि लेखनाथ र घिमिरेको उचाइ उनलाई प्राप्त नहुन सक्छ तर लोकलय र मात्रा छन्दका अनेकौं लयलाई लिएर उनले जुन उचाइ प्राप्त गरेका छन्, त्यो अतुलीय देखापर्छ । लोकलयलाई त उनले मुनामदन र कुञ्जिनीमार्पmत उच्च शिखरमै पु¥याएका छन् भने मात्रा छन्द र गद्यलय वा मुक्तलयको साङ्गीतिक रम्यता पनि कम उत्कृष्ट बनेको छैन । यसरी लयप्रयोगका दृष्टिले अत्यन्त उर्वर देखिने देवकोटाका कवितामा विविध लयको सफल प्रयोग छ तापनि तुलनात्मक रूपमा उनी लोकलयमा बढी उत्कृष्ट देखापरेका छन् ।
देवकोटाको अर्को महत्त्वपूर्ण कवितात्मक प्रवृत्ति अकृत्रिम सहज एवं प्राकृत भाषाशैली हो । बौद्धिकताभन्दा हार्दिक भावाभिव्यक्ति र निर्मित (कृत्रिम) शिल्पसज्जाभन्दा सहज, प्राकृत, स्वस्फूर्त शिल्पसज्जा स्वच्छन्दतावादी देवकोटाको मूल काव्यमर्म भएकाले अनायास फक्रेका पूmल झैँ अनेकौँ अलङ्कारद्वारा विभूषित पद–पदावलीको प्रयोग उनका कविता–काव्यमा भएको पाइन्छ । ‘म कुनै शैलीका निमित्त लेख्दिन …. प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुब्यो झल्काझल्की फेला प¥यो उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत प्रयासले मनुष्यको कला बिग्रन्छ । …….. वनावटी कलाभन्दा प्राकृतिक कला रोचक हुन्छ’ (श्री गणेशाय नमः –निबन्ध) भन्ने उनको मान्यता रहेको छ । उनले भाषाका निम्ति भाव होइन, भावका निम्ति भाषाको प्रयोग गरेका छन् तर त्यो भाषा पनि जतिखेर जस्तो प्राप्त हुन्छ त्यसैमा आपूmलाई प्रवाहित गर्ने काम गरेकाले प्रवाहज्वारको कारण कहिलेकाहीँ त्यो रुखो र दुर्बोध्य लाग्ने खालको पनि हुन पुगेको छ । यद्यपि द्रुततर भावप्रवाहलाई धान्ने खालको भाषिक क्षमता भने उनमा छ । भाषाको मर्दपनभन्दा पोथीपन मन पराउने देवकोटा भाषालाई युद्धक्षेत्र सम्झँदै अवचेतनमा उठेका आवेगका ज्वारलाई सुकुमार कोमल शब्दावलीको प्रचुर प्रयोगद्वारा काव्यसिर्जना गरेका छन् । उनको कल्पना वायुपङ्खी घोडाझैँ धर्ती–आकाश एक बनाएर दौडिएको छ तापनि स्वाभाविक रूपमै उनको भाषा विषयवस्तुअनुरूप प्रयुक्त भएको छ । फुटकर कविताभन्दा माथिल्ला रूपहरूमा पात्रको स्तर, मानसिकता र परिवेशअनुरूपकै भाषाको प्रयोग भएको भेटिन्छ । लोकप्रसिद्ध विषयवस्तु भएका काव्यमा लोकजीवनकै भाषाको प्रयोग भेटिन्छ भने इतिहास र पुराणसँग सम्बन्धित काव्यमा सोही अनुसारको ओजस्वी भाषाको प्रयोग भेटिन्छ । विम्ब, प्रतीक र अलङ्कारको प्रयोग पनि उनी शिल्पचमत्कारका निम्ति होइन, भावोष्कर्षताका निम्ति गर्छन् । पछिल्लो वा पाँचौँ चरणमा आएपपछि भने उनी संयमित र अनुशासित किसिमले परिष्कृत भाषाशैलीको प्रयोग पनि गर्न पुग्छन् तापनि समष्टिगत रूपमा भने देवकोटाको भाषाशैली सहज, प्राकृत र स्वस्फूर्त किसिमको नै रहेको छ ।
देवकोटाको उपर्युक्त समग्र कवितायात्रा र प्रवृत्तिलाई लिएर उनको मूल्याङ्कन गर्दा नेपाली कवितापरम्परामा देवकोटाको योगदान धारागत प्रवृत्तिगत र विषय–विचार हरेक हिसाबले अधिक महत्त्वको ठहर्छ । नेपाली कविताका पूर्ववर्ती प्राथमिककालीन वीर र भक्तिधारा एवं माध्यमिक कालको शृङ्गारिक धारा र आधुनिक कालको पहिलो प्रहरको परिष्कारवादी धाराका तुलनामा देवकोटाले नेतृत्व गरेको स्वच्छन्दतावादी–मानवतावादी धारा रचनापरिमाण र गुणस्तर दुवै दृष्टिले प्राप्तिपूर्ण रहेको छ । परिष्कारवादी धाराका प्रमुख कवि लेखनाथको परिष्कारवादी कवित्व उच्च गुणस्तरको भए पनि पूर्वीय–प्राचीन विषय र विचारमै सीमित रहेको र कविताको रूपगत दृष्टिले समेत वृहत् रूपसम्म विस्तारित हुन नसकेको परिप्रेक्ष्यमा देवकोटाले अधुनातन विषय र विचारलाई अङ्गीकार गर्दै लघुत्तम रूपदेखि बृहत् रूपसम्मको यात्रा गरी गुणस्तरीय रचनाहरूमार्फत प्रगतिवादी काव्यधारालाई समेत सहयोग पु¥याउँदै स्वच्छन्दतावादी धारामा जुन उचाइ प्रदान गरे । त्यो सर्वाधिक महत्त्वको रहेको छ । उत्तर्वर्ती प्रयोगवादी धारा र समसामयिक भनिने समकालीन युगमा पनि देवकोटालाई उछिन्ने किसिमको प्रतिभा देखापरेको छैन । स्वच्छन्दतावादी मानवतावादी धाराभित्रै पनि सिद्धिचरण, माधव घिमिरे र गोपालप्रसाद रिमाल लगायतका कविहरूका तुलनामा देवकोटा अग्रणी र केन्द्रीय प्रतिभा रहेका हुँदा त्यस धाराको प्रवर्तन, प्रवद्र्धन र चरमोत्कर्षताका निम्ति देवकोटाको सर्वोच्च भूमिका हुनु नै उनको सर्वाधिक महत्त्वपूर्ण योगदान हो ।
परिमाणका हिसाबले पनि देवकोटाले जति अरू कुनै नेपाली कविहरूले फुटकर कविता, खण्डकाव्य र महाकाव्यको सृजना गरेको पाइन्न । यद्यपि यति धेरै परिमाणमा रचित देवकोटाका सबै रचनाहरू गुणस्तरीय र त्रुटिरहित भने छैनन् तापनि उत्कृष्ट ठहरिएकाहरूकै मात्र तुलनामा पनि देवकोटा बराबरको अर्को कवि नेपाली कविताका क्षेत्रमा देखापरेको छैन । यसबाट स्वच्छन्दतावादी धारामा मात्र होइन, समग्र नेपाली कवितापरम्परामै सर्वाधिक प्रतिभाशाली र सृजनशील सामथ्र्य भएका महान् कविका रूपमा देवकोटालाई लिन सकिन्छ । यही नै उनको योगदान र मूल्याङ्कन पनि हो ।
४. निष्कर्ष
उपर्युक्त अध्ययनबाट देवकोटाको ५० बर्से जीवनावधिमा ४० वर्ष उनको कवितासाधनाको अवधि रहेको र यस अवधिमा पनि औपचारिक कवितायात्रा २५ वर्षको मात्र रहेको देखिन्छ । यस २५ बर्से कवितायात्रालाई मूलभूत प्रवृत्ति र त्यसले ल्याएको मोडका आधारमा पूर्वाद्र्ध (१९९१–२००३) र उत्तराद्र्ध (२००४–२०१६) एवं प्रवृत्तिगत अन्तर्विकासका दृष्टिले समग्र कवितायात्रालाई पाँच चरणमा विभाजन गर्ने गरिएको पाइन्छ । देवकोटाको कवित्व विकासको पूर्वाद्र्ध स्वच्छन्दतावादी मानवतावादी रहेको छ भने उत्तराद्र्धमा उनले प्रगतिवादलाई समेत संश्लेषित गर्दै अगाडि बढेकाले समाजवादी यथार्थवादको नजिक पुगेको छ । देवकोटाको चालिस बर्से कविता साधनाका प्रारम्भिक १५ वर्ष वा पहिलो चरण कविताभ्यासमै बितेको र बाँकी २५ वर्षका चार चरणमा उनले कविताका लघुतम रूपदेखि बृहत् रूपसम्मको सृजनयात्रा गरी आपूmलाई सर्वाधिक प्रतिभाशाली र सृजनसामथ्र्य भएको नेपाली कविका रूपमा स्थापित गरेको पाइन्छ । ६५० भन्दा बढी फुटकर कविता, ३७ वटा खण्डकाव्य र ६ वटा महाकाव्यको उनको विपुलरचना परिमाण र प्रतिभाज्वारबाट स्वस्फूर्त रूपमा उत्पन्न उच्च कवित्व प्राप्ति र योगदानका हिसाबले महत्त्वपूर्ण रहेको छ । उनका ६५० भन्दा बढी फुटकर कवितामध्ये ३२ वटा उत्कृष्ट, ३७ वटा खण्डकाव्यमध्ये ६ वटा उत्कृष्ट र ६ वटा महाकाव्यमध्ये ३ वटा उत्कृष्ट रहेका पाइन्छन् । यस किसिमको उत्कृष्ट रचना परिमाणले नै पनि देवकोटालाई अद्वितीय नेपाली कविका रूपमा स्थापित गरेको निश्चितै छ । उनका समग्र रचना र जीवनचरित्रको अध्ययन गर्दा पनि उनी शब्द र कर्ममा तादात्म्य सम्बन्ध राख्ने कवि हुन् भन्ने देखिन्छ । उनले नेपाल राष्ट्र र नेपाली जनताका पक्षमा रहेर नै आफ्ना कविता–काव्यको सृजना गरेका छन् ।
निष्कर्षमा अन्याय–अत्याचार र शोषणको विरोध, क्रान्ति, परिवर्तन र नवनिर्माणको चाहना राख्ने एवं देशभक्ति र स्वाभिमानका पक्षधर देवकोटाका रचनामा मूलतः समानता, स्वतन्त्रता एवं त्याग र बलिदानका मूल्य र आदर्शहरू अभिव्यञ्जित रहेकाले उनी नेपाली राष्ट्र र जनताका महान् कवि हुन् ।
मुख्य सन्दर्भसामग्री
चैतन्य (२०६४). क्रान्ति र सौन्दर्य. काठमाडौँ : प्रगतिशील अध्ययन केन्द्र
जोशी, कुमारबहादुर (२०४७). देवकोटाका कवितायात्राको विश्लेषण र मूल्याङ्कन. काठमाडौँ : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान
जोशी, कुमारबहादुर (२०४८). देवकोटाका प्रमुख कविताकृतिको कालक्रमिक विवेचना. काठमाडौँ : सिद्धार्थ वनस्थली प्राज्ञिक परिषद्
त्रिपाठी, वासुदेव, न्यौपाने, दैवज्ञ र सुवेदी, केशव (२०४७). नेपाली कविता भाग ४. काठमाडौँ : साझा प्रकाशन
देवकोटा, लक्ष्मीप्रसादका सम्पूर्ण कविता–काव्यहरू
पाण्डेय, ताराकान्त (२०५८). देवकोटाको व्यङ्ग्य कवित्व. काठमाडौँ : शीला योगी
पौडेल, हेमनाथ (२०६५). प्रगतिवादी दृष्टिमा कवि र कविता. काठमाडौँ : पैरवी प्रकाशन
पौडेल, हेमनाथ (२०७५). प्रगतिवाद र कवितासम्बन्धी मान्यता . काठमाडौँ : पैरवी प्रकाशन
पौडेल, हेमनाथ (२०७५). कविता समालोचना. काठमाडौँ : पैरवी प्रकाशन
प्रश्रित, मोदनाथ (२०३५). वैचारिक विकासका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा. काठमाडौँ : गुनिलो प्रकाशन
बन्धु, चूडामणि (२०३६). देवकोटा. काठमाडौँ : साझा प्रकाशनभट्ट, गोविन्द (२०५५). गोविन्द भट्टका समालोचना. काठमाडौँः बगर फाउन्डेसन